May 13, 1969
Created by nepalarchives

निर्णय नं. ४८१ – जग्गा आयस्ता दिलाई पाँउ

निर्णय नं.  ४८१     ने.का.प. २०२६ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री हेरम्बराज सम्वत् २०२५ सालको फु.विविध नम्वर ७५...

निर्णय नं.  ४८१     ने.का.प. २०२६

फुल बेञ्च

प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह

न्यायाधीश श्री नयनबहादुर खत्री

न्यायाधीश श्री हेरम्बराज

सम्वत् २०२५ सालको फु.विविध नम्वर ७५

निवेदक      : का.पा.जि. देउपुर हुलेदे गाउँ बस्ने ईश्वरबहादुर वस्ताकोटी क्षेत्री समेत

विरुद्ध

विपक्षी : ऐ.बस्ने केशवमाया बस्ताकोटिनी

मुद्दा : जग्गा आयस्ता दिलाई पाँउ

(१)   बेदाममा जग्गा हडप गरे भन्ने गुनासो विद्यमान भएमा पनि भएको हुकुम प्रमांगीमा सवै मुद्दा हेर्नु भन्ने नभएमा र जग्गाको हक बेहकको निर्णय गरी जालसाजीमा सजाय गर्न माग निवेदनमा अंकित नभएमाबाली दिलाउने र जग्गा चलन (मोही निष्काशन) बिषय जिल्ला अदालतको अधिकार क्षेत्र बाहिर हुने ।

            त्यस्तै ०२३।२।२७ गतेमा दिएको निवेदनमा भएको हुकुम प्रमांगी बमोजिम जो भूमिसुधार बिषेश अदालतबाट कारवाई भएकोछ, त्यसमा केही फरक छ कि भनी हेर्दा वास्तवमा वादीको जग्गा वेदाममा हडप गरे भन्ने गुनासो नै देखिएको छ तापनि सवै मुद्दा हेर्नु भन्ने हुकुम प्रमांगी पनि नभएको र जग्गासमेत हकबेहक छुट्याई जालसाजीमा सजाय गरिपाउँ भन्ने निवेदनमा उल्लेख पनि नभएकोले समेत प्रस्तुत मुद्दा धान मकै बाली दिलाउने र जग्गा चलन (मोहि निष्काशन) बिषय जिल्ला अदालतको अधिकारक्षेत्रमा नपर्ने देखिएकैछ ।

(प्रकरण नं. १७)

(२)   जग्गा भोगबन्धकीको थैली नबुझाएसम्म जग्गा आसामीले कमाई आयस्ता बाली साहूलाई बुझाउने र नबुझाए सो जग्गा भोगबन्धकी तमसूकसरह साहूले उपभोग गर्नपाउने मिलापत्र (अड्डा अदालतमा नभएको) शर्तको आधारमा सो बोल कबोल अनुसार बाली (मकै धान) को दावी लिएमा उक्त मुद्दा भू.सु.विशेष अदालतको अधिकारक्षेत्र भित्र पर्ने ।

            भोगबन्धकीवाला साहू भूमिसम्बन्धी ऐन, २०२१ को दफा २ बमोजिम बन्धकीमा भोग चलन गरुन्जेल जग्गावाला सरह हुनजाने र जग्गा कमाउने आसामी मोही हुनआउने हुँदा त्यस्तो थैली र बाली तिर्ने शर्त भएको मिलापत्र भनेको आधार लिई कवुल बमोजिमको धान मकै पाउँ भन्ने किसिमको दावी गरेको यो मुद्दा भूमिसुधार विशेष अदालतको अधिकार क्षेत्र भित्र पर्न आउने प्रष्टैछ ।

(प्रकरण नं. १८)

(३)   भूमिसुधार विशेष अदालतले राजीनामा र भोगबन्धकीको लिखत बदर गरेमाअधिकार क्षेत्र नाघेको हुने ।

            अतःप्रस्तुत मुद्दामा निवेदनमा उल्लेखित दावी बाहिर समेत गई राजीनामा र भोगबन्धकीको लिखतबदर गर्ने गरी गरेको भूमिसुधार विशेष अदालतले अधिकार क्षेत्र नाघी गरेको ठहराए को दावीबमोजिम बाली भराइदिने गरेको उक्त वि.अ.ले गरेको सदर ।

(प्रकरण नं. १९)

केशवमाया तर्फबाट : वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी

इश्वरबहादुर तर्फबाट : अधिवक्ता श्री कुलराज

उल्लेखित मुद्दा :

फैसला

     प्र.न्या. श्री भगवतीप्रसाद सिंह

      १.     विपक्षीहरू समेतले मलाई सालको धान १६ र मकै मुरी १ दिन्छु भनी मलाई कागज समेत गरिदिएको हुँदा आजसम्म दिएनन भनी ०२३।२।९।१ मा (क) ८१० को निवेदन दिएको कानूनबमोजिम गर्नु भनी हूकुम प्रमांगी भई बागमती गएको र अदालतले आजसम्म कारवाई नगरिदिएको हुनाले फेरि निवेदन गर्न आएको छु । इश्वरबहादुर, उदयनारायण, रत्नप्रसादहरूलाई बागमती अञ्चलाधीशबाट ठाडै कारवाई गरिदिनु भन्ने आदेश पाएँ बिपक्षहरूले म अजनालाई कबुल बमोजिमको धान मकै नदिएकोले ठाडै झिकिदिनु भन्ने प्रमांगी पाउँ भन्नेसमेत केशवमायाको बिन्तिपत्रमा श्री का.जी.अ. व्यहोरा साँचो हो भने बुझी कोर्टफी राख्न सक्ने नसक्ने बुझी राख्न नसक्ने भएमा समेत ऐनले उजूर लाग्ने कलम भए ठाडै बुझी ऐनबमोजिम गर्नु भन्ने हुकुम प्रमांगी ।

      २.    प्रकाशित गजेटले कुत बाली मुद्दा यस अदालतबाट कारवाई गर्न बाधा भई भू.सु.वि.अ.बाट हेर्न पर्ने देखिएको व्यहोरा जाहेर गरेको छु भन्नेसमेत का.जि.अ.को प्रतिवेदनमा श्री भू.सु.वि.अ.पूर्व १ नम्बर यसै साथरहेको क १२६० नं. का निवेदनमा भइगएका हु.प्र. बमोजिम निवेदकलाई झिकाई त्यस अदालतले कारवाई गर्नु भन्नेसमेत हकूम प्रमांगी ।

      ३.    जिल्ला अदालतमा परेका जग्गा हक बेहक जालसाजी गरी राजीनामा गरायो भन्ने मुद्दा किनारा नलागी बालीको ठेगान लगाउन मुलुकील पर्ने हुँदा जिल्ला अदालतमा परेको मुद्दा किनारा भएपछि मात्र कारवाही गर्ने के हो ? अडबड परेकाले निकासा भएबमोजिम गर्ने ठहराई जाहेर गरेको छु भन्नेसमेत भू.सु.वि.अ. काभ्रेपलान्चोक सिन्धुपाल्चोकको प्रतिवेदनमा जि.अ.मा परेको मुद्दा नछिनी यो मुद्दा छिन्न नमिल्ने भए ताकेता गरी जिल्ला अदालतको मुद्दा छिन्न लगाई यो मुद्दामा भएका हु.प्र. बमोजिम गर्नु भन्ने हुकुम प्रमांगी ।

      ४.    इश्वरबहादुर १ रत्नप्रसाद १ उदयनारायण १ समेत ३ जनाले ०२२ साल वैशाख १८ गते ६ मा मलाई रु.१३००। र सालको धान मुरी १५। र मकै मुरी १ दिने कागज गरिदिएको छ तापनि मैले रुपैंया नै नदिई रु.५०००। मा रत्नप्रसाद र उदयनारायणलाई मेरो हक भोगको जग्गा जमीन २० साल चैत्र ७ गते करकापमा पारी राजीनामा गरी पास गरिदिएको र सोही जग्गा जमीन इश्वरबहादुरले रत्नप्रसाद र उदयनारायण सँग रुपयाँ नै नदिइ २०२० साल चैत्र १२ गते लिएको छ तापनि सवै काम कुरा जालसाजी मात्र भएको र मैले रुपैँयामा पैसा केही नपाएको मेरो जग्गा प्रतिवादीहरू ३ जना मिली त्यसैलाई दिएकोले मेरो जग्गा फिर्ता गराई सो जग्गाको आयस्ता ०२१ सालदेखि ०२३ साल तकको इश्वरबहादुरका कागज बमोजिम साल १ को धान मुरी १५ ले जम्मा धान मुरी ४५। को धान मुरी १ को रु.६०। ले रु.२७००। मकै मुरी ३ को मकै मुरी १ को रु.८०। ले रु.२४०। समेत जम्मा रु.२९४०। इश्वरबहादुरबाट दिलाईपाउँ भन्नेसमेत केशवमायाको बयान ।

      ५.    रुपैंया नदिई जग्गा पास गराई लिएको होइन ०२० साल चैत्र ७ गते मैले रु.२४००। नगद केशव भाइलाई रजिष्ट्रेशन गर्ने माल कार्यालय बाहिर डिल्लीबजारमा दिई बाँकी रु.२६००। उदयनारायणले पछि दिने गरी कपाली तमसुक गरिदिएबाट रु. ५०००। मा केशवमायाको देहायको जग्गा जमीन ०२० साल चैत्र ७ गते रजिष्ट्रेशन गराई राजीनामा लिएको हुन । मैले रु.२४००। इश्वरबहादुरसँग फिर्ता लिई उदयनारायणले गरेको रु.२६००। को लिखत च्याती दिई इश्वरबहादुरले रु.२६००। मा केशवमायाको जम्मै घर जग्गा र अरु आफ्नो ३ कित्ता जग्गासमेत थपी केशवमायालाई भोगबन्धकी ०२१ साल मार्ग ४ गते रजिष्ट्रेशन गरिदिएकोले मैले केशवमायासँग लिएको उक्त जम्मै जग्गा २०२० साल चैत्र १२ गते रु.५०००। अंश राखी इश्वरबहादुरलाई राजीनामा पास गरिदिएको छु । पहिले रु.२६००। दिने गरी कपाली तमसुक भएकोमा केशवमायाको दौडाहामा उजूर पर्दा हामीले रु.२६००। को बन्धकी इश्वरबहादुरबाट केशवमायाको नाउँमा गराई उदयनारायणको नामबाट भएको कपाली तमसुक च्याताई आयस्ता सालको धान मुरी १५ र मकै मुरी १ निज इश्वरबहादुरले दिने गरी मिलाई दिएको हो तापनि सो भन्दा अगाडि हामीले सो बमोजिम मिलाइसकेको र इश्वरबहादुरबाट मैले रु.२६००। को आयस्ता वापत धान मुरी १४ र मो.रु.१००। समेत दिलाइसकेको थियो । सो मिलापत्र भएको दिनमा पनि रु.२५०। केशवमायालाई दिलाउँला भनी कागज निज उदयनारायणले गरिदिएकोमा सो रु.२५०। मध्येबाट भू.सु.कार्यालय काभ्रेपलान्चोक मार्फत निज केशवमायालाई रु.१२५। उदयनारायणको नाउबाट कागज भएको भए पनि इश्वरबहादुरले बुझाएको छ । बाँकी रु.१२५। भू.सु.कार्यालय काभ्रेपलान्चोकमा बुझाउँला भनी पर्चामा हस्तबहादुरले लेखेको छ । ०२२ साल र ०२३ सालको आयस्ता बुझाएको छैन भन्नेसमेत रत्नप्रसादको बयान ।

      ६.    केशवमायाको जम्मै घर जग्गा आधा मैले र आधा रत्नप्रसादले लिएकोमा जम्मै इश्वरबहादुरलाई हामी दुवैले राजीनामा गरी एउटै तमसुकबाट ०२० साल चैत्र १२ गते दिएको हो भन्नेसमेत उदयनारायणको बयान ।

      ७.    मैले रु.२४००। रत्नप्रसादलाई दिई बाँकी रु.२६००। केशवमायालाई दिने गरी बन्धकी पास गरी जम्मा रु.५०००। रत्नप्रसाद र उदयनारायणबाट ०२० साल चैैत्र १२ गते केशवमायाको घर जग्गाहरू पास गरी राजीनामा लिएको हो । रुपैंया नदिई घर जग्गा लिएको होइन भन्नेसमेत इश्वरबहादुरको बयान ।

      ८.    वादीलाई अनुचित प्रभावमा पारी विक्री गर्न जरुरत नै नपरेको घर जग्गा रुपैंया लिएको हो भन्न लगाई राजीनामा गराई माल कार्यालयलाई समेत झुक्यानमा पारी लिखत पास भएको देखिन आएको र त्यस्तो माल कार्यालयलाई समेत झुक्यानमा पारी रजिष्ट्रेशन भएको लिखत न्यायको दृष्टिबाट बदर गरिदिनुपर्ने देखिन आएमा पनि बदर गर्न हुदैन भन्ने कुनै नेपाल कानून नभएकोले विद्वान प्लिडर श्री सुधानाथले गरेको बहस यो अदालत समर्थन गर्दछ । वादी केशवमायाबाट रत्नप्रसाद र उदयनारायणले ०२० साल चैत्र ७ गते गराएको राजीनामा त्यसै बदर भइसकेकोले ०२० साल चैत्र १२ गते वादीको घर जग्गा हाली इश्वरबहादुरले रत्नप्रसाद र उदयनारायणबाट पास गराएको राजीनामा र ०२१ साल मार्ग ४ गते इश्वरबहादुरबाट वादी केशवमायाले गराई लिएको भोगबन्धकीको लिखत बदर हुने ठहर्छ । उक्त राजीनामाको जग्गा केशवमायाको हकको जग्गा ठहर्छ । केशवमायाको हकको जग्गा भोग चलन गरेकोमा र ०२१ सालदेखिको वादीको जग्गाको आयस्ता नबुझाएमा र सालको धान मुरी १५ र मकै मुरी १ बुझाउने कवुलियत गरेमा इश्वरबहादुर सावितै हुँदा दावीबमोजिम आयस्ताको बिगो रुपैंया २९४०। वादी केशवमायाले इश्वरबहादुरबाट भरी पाउने ठहर्छ भन्ने भू.सु.बि.अ.काभ्रेपलान्चोक सि.पा.को फैसला।

      ९.    सो फैसला बदर बातिल गरिपाउँ भन्नेसमेत प्रतिवादीहरूको पुनरावेदन ।

      १०.    रत्नप्रसाद उदयनारायणले इश्वरबहादुरलाई गरिदिएको राजीनामा र इश्वरबहादुरले वादी केशवमायालाई गरिदिएको बन्धकी लिखत बदर गर्ने र जग्गा हक बेहक गर्ने अधिकारै नभएकोमा जग्गा हक बेहक गरी वादीको हक समेत ठहराएको भू.सु.वि.अ. काभ्रेपलान्चोक सिन्धुपाल्चोकको इन्साफ गल्ति ठहर्छ । वादी केशवमायालाई धान मुरी १६ मकै मुरी १ र २६००। मध्ये आधी १३००। दिई १३००। मा अन्न मुरी ८ दिने र पालन तालन गर्ने गरेपछि काजकृया गर्ने गरी र नदिए भोगबन्धकी तमसुक बमोजिमको जग्गा भोग गर्ने गरी मिलापत्र भएको देखिएको मिलापत्र बमोजिम नदिएको भए मिलापत्र बमोजिम गरिदिनु भन्ने हु.प्र.बक्स भइआएको हुनाले र ०२२ साल वैशाख १८ गते मिलापत्र भएको ०२१।०२२।०२३ साल ३ को वादीको आयस्ता बाली वादीले प्रतिवादी इश्वरबहादुरबाट पाउने ठहराएको इन्साफ भू.सु.वि.अ.का.प. सिन्धुपाल्चोकको इन्साफ मुनासिवै र सो बाली नदिएको हुनाले वादीले मिलापत्र बमोजिम जग्गा आफैले भोग गर्ने वा याम टायममा पजनीसमेत गर्न पाउनेमा पजनी गर्न नपाउने गरेको र लिखत बदर नहुनेमा बदर गर्ने गरेको उक्त अदालतको गल्ति ठहर्छ भन्नेसमेत डिभिजन बेञ्चको फैसला ।

      ११.    इन्साफमा चित्त बुझेन फुल बेञ्चबाट इन्साफ जाँच गरिदिनु भन्ने आदेश पाउँ भन्नेसमेत इश्वरबहादुर समेतको निवेदन ।

      १२.   मेरो मुद्दामा मलाई अन्यायसँग बेदाममा मेरो जग्गा खाएको प्रष्ट देखिएकोले फुल बेञ्चबाट मिसिल झिकी हेरी मुद्दा दोहर्‍याई पाउँ भन्नेसमेत केशव भाइ भन्ने केशवमाया बस्ताकोटीको निवेदन ।

      १३.   पहिले ०२२।३।२०।१ मा चढाएको निवेदन र सो मुताविक गरेको बयानमा मलाई ललाई फलाई प्रभावमा पारी ठगी व्यहोराले खान लागे बन्धकी पास गरिदिएको जग्गाको मकै मुरी १ धान मुरी १५ दिने गरी मिलापत्र गरिदिएको भन्ने र पछि ०२३।२।२७मा चढाएको निवेदनमा सालको धान १६ र मकै १ मुरी दिन्छु भनी विपक्षहरूले कागज गरिदिएको आजसम्म दिएनन् भनी ०२३।२।९।१ मा (क) ८१० को निवेदन दिंदा कानूनबमोजिम गर्नु भन्ने हु.प्र.भई बागमती गएको भनी सवै कुरा दर्शाइ नलेखेकोबाट का.जि.अ.का नाउँमा हुकुम प्रमांगी बक्स भई गएको र वास्तबमा मुख्य दावी र निर्णय दिनुपर्ने एकै किसिमको कुरामा दुइतर्फ मुद्दा चलेको देखिन्छ । का.जि.अ.ले जाहेर गरेको प्रतिवेदनमा कूत बालीको बिषय देखाई भू.सु.वि.अ.बाट हेर्नु पर्ने भनी जाहेर गरेकोमा भू.सु.वि.अ.का.प.सि.पा.का नाउँमा कारवाही गर्ने ०२३।४।१८।३ मा हुकुम प्रमांगी बक्सेको र जग्गैमा झगडा परी हक नपुग्ने जग्गाको बाली खाएको मुद्दा जिल्ला अदालतले नै हेर्नुपर्ने जिल्ला अदालतमा परेको जग्गा हक बेहक जालसाज गरी राजीनामा गरायो भन्ने मुद्दा किनारा नलागी बालीको ठेगान लाउन मुस्किल पर्ने भनी भू.सु.वि.अ.का.प.सि.पा.ले ०२३।४।२७।५ मा जाहेर गरेकोमा जिल्ला अदालतमा परेको मुद्दा नछिनी यो मुद्दा छिन्न नमिल्ने भए ताकेता गरी जिल्ला अदालतको मुद्दा छिन्न लगाई यो मुद्दामा भएको हु.प्र.बमोजिम गर्नु भनी हुकुम बक्सेको छ भनी ०२३।५।१७।६ मा वि.जा.वि.बाट लेखी गएको देखिएकोले कसो हो भन्नलाई वादी निवेदिकालाई ०२३।२।२७ मा दिएको निवेदनमा सवैकुरा खुलाई दिएको भए का.जि.अ.मा हुकुम प्रमांगी बक्सने अवस्थै थिएन र का.जि.अ.ले पनि कूत बालीको बिषय भू.सु.वि.अ.ले हेर्नु पर्ने भनी जाहेर गर्नुपर्ने अवस्था पर्ने थिएन । निवेदिकाले उक्त उल्लेखित सवै कुरा नदर्शाई विन्ती चढाउँदा का.जि.अ.मा प्रमांगी बक्सेको र का.जि.अ.ले पनि अन्दाजबाट कूत बालीको कुरा भू.सु.वि.अ.ले हेर्नु पर्ने भनी जाहेर गर्दा भू.सु.वि.अ.का नाउँमा प्रमांगी बक्सेको र त्यसका अतिरिक्त भू.सु.वि.अ.ले जाहेर गर्दा पनि का.प.जि.अ. मा परेको हक बेहक मुद्दा नछिनी यो मुद्दा छिन्न अडबड परेको भनी दुईतर्फ दूई किसिमको मुद्दा परेको जस्तो देखाई जाहेर गरेकोबाट उक्त उल्लेखित जिल्ला अदालतको मुद्दा नछिनी छिन्न नहुने भए छिन्न लगाई हुकुम प्रमांगी बमोजिम गर्नु भन्ने तोक प्रमांगी बक्सेको देखिएकोले बिन्ति चढाउने निवेदिकाले र प्रतिवेदन गर्ने अदालतले सवै कुरा यथार्थ नदेखाई जाहेर गरेकोबाट त्यस किसिमको प्रमांगी बक्सेको देखिंदा जिल्ला अदालतबाट पहिले बक्सेको हुकुम प्रमांगीको प्रतिकुल पर्ने गरी भू.सु.वि.अ.बाट हेर्ने दोश्रो प्रमांगी बक्सेको भन्न नमिल्ने र मुद्दाको हकमा उक्त उल्लेखित पटकपटक दिएका निवेदनमा कुनै जिल्ला अदालत र कुनै भू.सु.वि.अ.का नाउँमा प्रमांगी बक्से पनि उक्त उल्लेखित अवस्थामा प्रमांगी बक्सेको र वास्तवमा मुल कुरा पक्ष विपक्ष समेत एउटै भएको दावीमा जग्गा लेनदेन शर्त आयस्ता बाली दिलाइभराई जालसाजीमा सजाय गरिपाउँ भन्नेभएको सुरु हु.प्र. बमोजिम बुझी जिल्ला अदालतले पहिल्यै बयान गराई कारबाही चलाइसकेको कुरामा विशेष अदालतले बेग्लै मुद्दा जस्तो गरी शरु प्रमांगीको विपरित शर्तनामा मिलापत्रको कागज व्यवहार देखि बाहिर गई चलाएको कारवाई प्रचलित कानून र हुकुम प्रमांगीको अनुकुल भन्न मिलेन र साथै पहिलेको निवेदन प्रमांगी र मिलापत्र कागजसमेतका रुपबाट देखिने जून बाली र निष्कासनको बिषय छ सो भूमीसम्बन्धी ऐनअन्तर्गतको जग्गावाला र मोहीका बीचको मोही तलसिंको मुद्दा नभई जग्गावाला प्र.इश्वरबहादुर र जग्गा भोगबन्धकीमा लिने साहू वादी केशवमायाको लेनदेन व्यवहारको कुरामा भएको शर्त मिलापत्र बमोजिम दिएन दिलाई पाउँ भन्ने निज वादीको निवेदनमा मिलापत्र बमोजिम नदिएको भनेजतिमा बुझिदिनु भन्ने प्रमांगी बक्सेको यस्तो केश भूमीसम्बन्धी ऐन, २०२१ अन्तर्गत नपरी न्यायप्रसाशन (विविध व्यवस्था) ऐन, २०१८ को दफा ४ ले जिल्ला अदालतकै अधिकार क्षेत्र भित्र पर्न आउने देखिंदा भू.सु.वि.अ.का.प.सि.पा.ले हेरे छिनेको कायम गरेको सर्वोच्च अदालतको निर्णय मिलेको देखिएन । दोहर्‍याउनु पर्ने आदेश बक्सनु पर्ने भनी समितिबाट सिफारिस गरेको जाहेर गर्दा श्री ५ महाराजाधिराजबाट नेपालको संविधानको धारा ७२ को (ख) अनुसार उक्त मुद्दा दोहर्‍याई दिनु भन्ने हुकुम बक्सेको छ भन्ने ०२५।९।१९।५ को श्री ५ महाराजाधिराजका प्रमुख सचिवालयबाट लेखी आएको ।

      १४.   बक्स भइआएका हुकुम प्रमांगी बमोजिम गर्न निमित्त लगतमा दर्ता गरी मिसिल झिकाई दुबै पक्ष राखी फुल बेञ्चमा पेश गर्नु र निर्णयको २ प्रतिलिपि ०२१।४।१३।३ का हुकुम प्रमांगी बमोजिम जाहेर गर्न श्री ५ महाराजाधिराजका प्रमुख सचिवालय राजदरवारमा जनरल विभाग मार्फत पठाईदिनु भन्नेसमेत माननीय प्रधान न्यायाधीश ज्यूको आदेश ।

      १५.   तारिखमा रहेको निवेदकहरूलाई रोहवरमा राखी केशवमायातर्फको विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारीले र इश्वरबहादुरतर्फको विद्वान अधिवक्ता श्री कुलराजले गर्नुभएको बहससमेत सुनी निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत मुद्दामा निर्णयतर्फ हेर्दा केशव भाइको घर जग्गा १ र बारी खेत समेत जम्मा ४ कित्ता जग्गा ०२० साल चैत्र ७ गते रु.२४००। नगद र रु.२६००।उदयनारायणको कपालीतमसुक गराई जम्मा रु.५०००।मा रत्नप्रसाद समेतले राजीनामा गरी लिएको भनेको केही दिनवाद रु.२४००।इश्वरबहादुरबाट लिई रु.२६००।को हकमा इश्वरबहादुरको केशवमायाका नाउँमा भोगबन्धकीको लिखतगरी रत्नप्रसाद उदय नारायण र इश्वरबहादुरले लेखिएबमोजिम गरी केशवभाइको घरजग्गा लिई दिंदा मेरो घर जग्गा पैसा नै नदिई ललाइफकाई झुक्याई घरबास उठाए भन्ने किसिमसँग वादी केशवभाइले पटकपटक श्री ५ महाराजाधिराजमा दौडाहामा र अञ्चलाधीशमा निवेदन गरिरहेको देखिएको छ । निवेदन परिरहेबाट अञ्चलाधीशबाट प्रतिवादीहरूलाई पक्राउ भई केही कारवाई हुन खोजेको पनि देखिन्छ । यसै बीच ०२२।१।१८ मा घरसारमा मिलापत्र पनि भएको रहेछ ।

      १६.    प्रस्तुत मुद्दामा यिनै वादीले विपक्षहरूले कवुलीयत बमोजिम धान मकै नदिएकाले ठाडै झिकी दिनु भन्ने प्रमांगी पाउँ भनी ०२३।२।२७ मा श्री ५ महाराजाधिराजका हजुरमा चढाएको निवेदनमा का.जि.अ.मा यस्मा व्यहोरा साँचो हो भने बुझी कोर्ट फि राख्न सक्ने भएमा समेत ऐनले उजूर लाग्ने कलम भए ठाडै बुझी ऐनबमोजिम गर्नु भन्ने हुकुम प्रमांगी भएको र कुत बाली मुद्दा यस अदालतबाट कारवाई गर्न बाधा भई भूमिसुधार विशेष अदालतबाट हेर्नु पर्ने देखिएको व्यहोरा जाहेर गरेको छु भन्ने काठमाडौं जिल्ला अदालतको प्रतिवेदनमा पछि फेरि भू.सु.बि.अ.पूर्व १ नम्वर यसैसाथ रहेको क १२६० नं.का निवेदनमा भई गएका हुकुम प्रमांगी बमोजिम निवेदकलाई झिकाई त्यस अदालतले कारवाई गर्नु भन्ने हुकुम प्रमांगी बमोजिम उक्त विशेष अदालतले निवेदकलाई बुझी ठाडै बुझ्नु भन्ने हुकुम प्रमांगी भई काभे्रपलान्चोक जिल्ला अदालतमा पनि मामिला दायर भएको छ भन्ने केशवभाइको भनाई छ । जिल्ला अदालतमा परेको जग्गा हक बेहक जालसाज गरी राजीनामा गरायो भन्ने मुद्दा किनारा नलागी बालीको ठेगान लगाउन मुस्किल पर्ने हुँदा जिल्ला अदालतमाा परेको मुद्दा किनार भएपछि मात्र कार्यवाही गर्ने के हो अडबड परेको भनी भूमिसुधार विशेष अदालत काभ्रेपलान्चोक सिन्धुपाल्चोकले प्रतिवेदन जाहेर गर्दा जिल्ला अदालतमा परेको भुद्दा नछिनी यो मुद्दा छिन्न नमिल्ने भए ताकेता गरी जिल्ला अदालतको मुद्दा छिन्न लगाई यो मुद्दामा भएका हुकुम प्रमांगी बमोजिम गर्नु भन्ने ०२३।५।१७।६ मा हुकुम प्रमांगी भइआएका र उपरोक्त प्रतिवेदनमा उल्लेख भएको हुकुम प्रमांगी बमोजिम का.प.जि.अ.मा पनि मामिला दायर छ भनेको मुद्दाको मिसिल हेर्दा व्यहोरा साँचो भए मिलापत्र बमोजिम नदिएको भनेजतिमा ठाडै बुझी कानून र मिलापत्र बमोजिम गर्नु भन्ने ०२२।५।२१ मा र त्यसपछि हाल कोर्टफी नलिई पछि ठहरे बमोजिम हुने गरी अघिका हुकुम प्रमांगी बमोजिम म्याद थाम्न पर्ने भए थामी कानूनबमोजिम कारवाई गर्नु भन्ने २०२२।९।१५ मा भइआएको हुकुम प्रमांगी बमोजिम कारवाई भई उदयनारायणले रु.२५०। तिर्ने कुरा सो मिलापत्रमा नलेखिएको जालसाज गरे गराएको भन्ने तहकिकात गर्न बक्स भएका प्रमांगीले नै नमिल्ने भई लेखिएका २ बिषयमा यो मुद्दा खारेज हुने र धान मकै दिलाई पाउँ भन्ने (कुत बाली सम्बन्धी) बिषय तर्फ र जग्गा चलन चलाई पाउँ भन्ने (मोही निष्कासन) बिषय तर्फ समेत हेरी किनारा लगाउन यो मिसिल भूमिसुधार विशेष अदालतमा पठाई दिने भन्नेसमेत फैसला भएको र बागमती अञ्चल अदालतबाट पनि सो सदर भए पछि भूमिसुधार विशेष अदालतले छिन्ने तर्फ कारवाई उठाइ वादी केशवभाइको बयान गराएको र सो बयानमा ०२३।२।२८।६ मा बक्स भएको प्रमांगी सहितको निवेदनमा नलेखिएको र भूमिसुधार विशेष अदालतको अधिकार क्षेत्र नभएको कुरा मेरो जग्गा प्रतिवादीहरू ३ जना मिली त्यसै लिई दिएकोले मेरो जग्गा फिर्ता गराई पाउँ भन्नेसमेत पारी बयान गरेबाट भूमिसुधार विशेष अदालतले जग्गा हक बेहक देखि लिएर बाली लगायत सम्पूर्ण कुरामा निर्णय गर्न मिल्ने भनी निर्णय गरेको सो निर्णय उपर परेको पुनरावेदनमा ०२२ साल वैशाख १८ गते मिलापत्र भएकोले ०२१।०२२।०२३ साल ३ को वादीको आयस्ता बाली वादीले प्रतिवादी इश्वरबहादुरबाट पाउने ठहराएको भूमिसुधार विशेष अदालत काभ्रेपलान्चोक सिन्धुपाल्चोकको ईन्साफ सदर गरी र सो बाली नदिएको हुनाले वादीले मिलापत्र बमोजिम जग्गा आफैले भोग गर्ने वा याम टायममा पजनी समेत गर्न पाउनेमा पजनी गर्न नपाउने गरेको र लिखत बदर नहुनेमा बदर गर्ने गरेको उक्त अदालतको गल्ती ठहराई डिभिजन बेञ्चबाट ०२५।१।१६ मा फैसला भएको देखिएको र सो फैसला उपर न्यायिक समितिमा निवेदन परी दोहर्‍याई दिनु भन्ने बक्स भइआएका हुकुम प्रमांगी बमोजिम यो मुद्दा यस बेञ्च समक्ष पेश हुन आएको रहेछ ।

      १७.   प्रस्तुत मुद्दामा मुख्यतया भूमिसुधार विशेष अदालतको अधिकार क्षेत्र भित्र पर्छ पर्दैन भन्ने कुरामा हेर्नु पर्ने हुन आएको छ । मूल कुरा पक्ष बिपक्ष समेत एउटै भएको दावीमा जग्गा लेनदेन शर्त आयस्ता बाली दिलाई भराई जालसाजीमा सजाय गरिपाउँ भन्ने भएको सुरु हुकुम प्रमांगी बमोजिम बुझी जिल्ला अदालतले पहिले बयान गराई कारवाई चलाइसकेको भन्ने तर्क उपस्थित छ । ०२२ साल भाद्र २० गतेमा दिएको निवेदनबाट भएको कारवाईमा जग्गाको हक बेहक गरिपाउँ भन्ने माग नभई जालझेल गरेमा सजाय गरिपाउँ भन्नेसमेत बयान भएको भए तापनि आखिर निवेदनपत्रमा लेखिएको कुरामा भएको हुकुम प्रमांगीमा लेखिएबमोजिम नै कारवाई हुनुपर्ने हुनाले माथि उल्लेख गरिएबमोजिम सुरु हुकुम प्रमांगीमा मिलापत्रबमोजिम नदिएको भने जतिमा ठाडै बुझी कानून र मिलापत्रबमोजिम गर्नु भन्नेसम्म मात्र भएको जग्गा लेनदेन जालसाजीमा सजाय गर्ने बिषय इत्यादी नभई बयानमा उल्लेख भए पनि त्यसतर्फ काभ्रेपलान्चोक जिल्ला अदालतले उजूर खारेज गरेको र अञ्चल अदालतले पनि सोही सदर गरी फैेसला गरेकोछ । त्यस्तै ०२३।२।२७ गतेमा दिएको निवेदनमा भएको हुकुम प्रमांगी बमोजिम जो भूमिसुधार विशेष अदालतबाट कारवाई भएको छ त्यस्मा केही फरक छ कि भनी हेर्दा वास्तवमा वादीको जग्गा बेदाममा हडप गरे भन्ने गुनासो नै देखिएको छ तापनि सवै मुद्दा हेर्नु भन्ने हुकुम प्रमांगी पनि नभएको र जग्गासमेत हक बेहक छुट्याई जालसाजीमा सजाय गरिपाउँ भन्ने निवेदनमा उल्लेख पनि नभएकोले समेत प्रस्तुत मुद्दा धान मकै बाली दिलाउने र जग्गा चलन (मोहि निष्कासन) बिषय जिल्ला अदालतको अधिकार क्षेत्रमा नपर्ने देखिएकै छ ।

      १८.   काभ्रेपलान्चोक जिल्ला अदालतबाट गरिएको तर्कबमोजिम बाली भराइपाउँ र जग्गा चलन चलाई पाउँ भन्ने भएको जग्गा चलन चलाई पाउँ भन्नु मोही निष्कासन गरिपाउँ भन्ने नै हुनाले यस्तो मुद्दामा भूमिसुधार विशेष अदालतबाट हेर्ने भनी फैसला गरेको र मिलापत्र बमोजिम बाली दिएन दिलाई पाउँ भन्नेमा उक्त मिलापत्र मुद्दा मामिला परी अड्डा अदालतमा भएको मिलापत्र नभई इश्रबहादुरले केशवभाइलाई भोगबन्धकी लेखिदिएबाट सो भोगबन्धकीबाट उत्पन्न थैली बुझाउने र नबुझाएसम्म जग्गा आसामीले नै कमाई साहूलाई थैली नबुझाएसम्म जग्गाको आयस्ता बाली बुझाउने किसिमको र आयस्ताबाली पनि नदिएमा ०२१।८।४।५ को भोगबन्धकी तमसुक बमोजिम भोग गर्ने इत्यादी कुरा मिलाएको बोल कबोलको रुपको कागज देखिने सो भोगबन्धकीवाला साहू भूमिसम्बन्धी ऐन, २०२१ को दफा २ बमोजिम बन्धकीमा भोगचलन गरुन्जेल जग्गावाला सरह हुन जाने र जग्गा कमाउने आसामी मोही हुन आउने हुँदा त्यस्तो थैली र बाली तिर्ने शर्त भएको मिलापत्र भनेको आधार लिई कबुल बमोजिमको धान मकै पाउँ भन्ने किसिमको दावी गरेको यो मुद्दा भूमिसुधार विशेष अदालतको अधिकार क्षेत्र भित्र पर्न आउने प्रष्टै छ ।

      १९.    अतः प्रस्तुत मुद्दामा निवेदनमा उल्लेखित दावी बाहिर समेत गई राजीनामा र भोगन्धकीको लिखत बदर गर्ने गरी गरेको भूमिसुधार विशेष अदालतले अधिकार क्षेत्र नाघी गरेको ठहराएको दावीबमोजिम बाली भराई दिने गरेको उक्त विशेष अदालतले गरेको सदर गरी र आफैले भोग गर्ने वा याम टायममा पजनी समेत गर्न पाउने भनी ठहराएको डिभिजन बेञ्चको इन्साफ मुनासिव छ । पुनरावेदक रत्नप्रसाद, उदयनारायणलाई लिखत सदर भएकोले केही गर्न परेन भनी डिभिजन बेञ्चले फैसलामा बढी कुरा लेखेको देखियो । अरु तपसील बमोजिम गर्नु ।

 

तपसील

इश्वरबहादुर के भूमिसुधार विशेष अदालत काभ्रेपलान्चोक सिन्धुपाल्चोकको ०२४।४।१३।६ को फैसलाले लाग्ने गरेको रु.१४९। नलाग्ने भएकोले असूल भए फिर्ता नभए व्यहोरा जनाई लगत काटी दिनु भनी काभ्रेपलान्चोक जिल्ला अदालतलाई सूचना गर्न का.श्रे.अ.त.मा लगत दिनु ………….१

निवेदक इश्वरबहादुर के डिभिजन बेञ्चका ०२५।१।१६ का फैसलाले गर्न गरेको २०।७० जरिवाना नलाग्ने हुँदा कानूनको रित पुर्‍याई फिर्ता दिनु भनी का.श्रे.अ.त.मा लगत दिनु…………..२

माननीय प्रधानन्यायाधीश ज्यूको ०२५।९।२० को आदेशबमोजिम निर्णयको २ प्रतिलिपि श्री ५ महाराजाधिराजका प्रमुख सचिवालय राजदरवारमा जनरल विभाग मार्फत पठाई दिनु………………३

मिसिल नियमबमोजिम बुझाई दिनु………………..४

 

इति सम्वत् २०२६ साल वैशाख ३१ गते रोज ३ शुभम् ।