निर्णय नं. ४८० – डाँका
निर्णय नं. ४८० ने.का.प. २०२६ फुल बेञ्च न्यायाधीश श्री रत्नबहादुर बिष्ट न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह न्यायाधीश श्री हेरम्बराज २०२४ सालको फौज्दारी फु.नं. १७ निवेदक :...
निर्णय नं. ४८० ने.का.प. २०२६
फुल बेञ्च
न्यायाधीश श्री रत्नबहादुर बिष्ट
न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
न्यायाधीश श्री हेरम्बराज
२०२४ सालको फौज्दारी फु.नं. १७
निवेदक : जि.वा.रा.प्र वरियापुर मौजे भवानिपुर बस्ने लक्ष्मणराउत अहिरसमेत
विरुद्ध
विपक्षी : श्री ५ को सरकार
मुद्दा : डाँका
(१) वारदात भएको भनी गरेको जाहेरी मौका सर्जमिनबाट समर्थित हुनाको साथै घा जाँचबाट सो प्रमाणित भएमा–वारदात भएकै ठहरिने ।
२५ जनाको जमात भई धारिलो हतियारले मेरो हातको बुढी औला र चोर औंलामा काटी लाठी फट्टाले कुटपिट समेत गरी वारदात भए गरेको भन्ने निज रामचन्द्रको जाहेरी भएको सो कुरा मौका सर्जमिनबाट समर्थन भएकै र निज रामचन्द्रको घा जाँच हुँदा काटिएको घाउ समेत भए परेको देखिएको प्रमाण समेतबाट डाँकाको वारदात भएकै सिद्ध हुन्छ ।
(प्रकरण नं. ३५)
(२) सरकारी मुद्दा सम्बन्धी ऐन, २०१७ को दफा ३(४)–वारदात भएको व्यहोरा प्रहरीलाई ज्ञान भएपछि यथाशीघ्र मौका तहकिकात हुनसक्ने ।
डाँकाको वारदात भएको व्यहोरा देखाई रामचन्द्रले दरखास्त गरेको ढिलो भयो भन्ने बहस गरेकोमा जाहेरवालाले दरखास्त गर्नेबारेमा यति समय भित्र जाहेर गर्नुपर्छ भन्ने सरकारी मुद्दासम्बन्धी ऐन,२०१७ मा लेखेको देखिंदैन, जतिसक्यो उतिचाँडो प्रहरीहरूले खवर पाएमा मात्र यथाशीघ्र मौकातहकिकात उक्त ऐनको ३(४) बमोजिम हुनसक्छ ।
(प्रकरण नं. ३७)
(३) जाहेरवालाको सुरु दरखास्तमा नै सबूद प्रमाण खुलाउनु पर्ने ।
जाहेरवाला मुख्य गवाहको सुरु दरखास्तमा सबूद प्रमाण खुलाई लेखेको हेरी मौका तहकिकात गर्ने हुनाले दरखास्तवालाले सुरु दरखास्तमै खुलाउनु पर्ने कुरा उक्त ऐनको दफा ३ (१) मा प्रष्ट छ ।
(प्रकरण नं. ३८)
(४) निर्णयकोलागि प्रमाण संकलन, जाँच अदालत आफैले गर्नसक्ने ।
त्यस्तो प्रहरीहरूले गरेको सर्जमिनहरूमा अदालत रहेको हुँदैन । अदालतले आफूले ठहर गर्न आफैले प्रमाण संकलन, जाँच गर्नसक्छ ।
(प्रकरण नं. ३९)
(५) अदालतबाट गवाही पठाउना निम्ति लेख्दा सर्जमिनमा बकिसकेको भन्ने जवाफ पठाएमा–प्रमाण पुर्याउन आनाकानी गरेको देखिने ।
श्री ५ को सरकारतर्फबाट अभियुक्तहरूले अदालतमा मुद्दा के के बाट पुष्टि हुन्छ, त्यस्ता व्यक्ति वा चिज सामान पनि अदालतलाई जाँच्न दिनुपर्छ । त्यस्तो नगरी अदालतले गवाही पठाई दिनु भनी लेखेकोमा पनि अघी सर्जमिनमा बकी सकेको भनी जबाफ पठाएकोले प्रमाण पुर्याउन आनाकानी गरेको देखिएकै छ ।
(प्रकरण नं. ४०)
(६) विशेष गरी फौज्दारी मुद्दामा अभियुक्तले घटना गरेको भन्न निज घटनामा उपस्थित रहेको भन्ने वादीले प्रमाणित गर्नुपर्ने ।
अभियुक्तलाई घटनामा सामेल थियो भनी प्रमाण पेश गर्नुको मतलव नै अरु ठाउँमा थिएनन भन्ने हो । अभियुक्तहरूले घटना गरेका हुन भन्न अभियुक्त घटनामा सामेल छन् भनी देखाउनु पर्छ । त्यस्तो उपस्थिति वादीले खासगरी फौजदारी मुद्दामा प्रमाणित गर्नुपर्छ ।
(प्रकरण नं. ४१)
(७) सरकारी मुद्दा सम्बन्धी ऐन, २०१७ को दफा ३ को उपदफा ६ मा पुनः तहकिकात गरी मुद्दा चलाउनु हुने ठानी अ.बं.८८ र १३९ नं. ले व्यवस्था गरेमुताविक प्रहरी प्रतिवेदन पर्नसक्ने र पेटबोलीबाट बुझ्नसक्ने अवस्था बाहेक पुनः तहकिकात नगरी प्रहरी प्रतिवेदनमा मुद्दा चलाउने भनिएको व्यक्ति उपर अदालतबाट मुद्दा चलाउन नहुने ।
सरकारी मुद्दा सम्बन्धी ऐनको दफा ३ को उपदफा ६ मा पुनः तहकिकात गरी मुद्दा चलाई इन्साफ गर्न पाउने देखी अ.बं.८८ नं. बमोजिम प्रहरीप्रतिवेदन पर्नसक्छ वा अदालत मा कारवाही गर्दागर्दै अ.बं.१३९ नं. बमोजिम पेटबोलीबाट बुझ्न सकिन्छ । यस्तो अवस्था नपरी पुरा तवरले इन्साफ गर्न पुनः तहकिकात नगरी प्रहरी प्रतिवेदनमा मुद्दा नचलाउनाले भनिएका व्यक्तिउपर अदालतबाट मुद्दा चलाएको मनासिव देखिँदैन ।
(प्रकरण नं. ४२)
(८) सर्जमिनले चिनेको भन्दा ती चिनेकाहरूको नाम खुलाउन नसकेमा पहिलेको आफ्नो भनाईलाई पछिल्लो आफ्नै भनाईले समर्थन नगरेमा–निजहरूले लेखिदिएको कुरा प्रमाणिक मान्न नहुने ।
ती सर्जमिनहरू मध्ये रामऔतार काउँको हकमा चिनें भनेको ९ जना को को हुन नाम खुलाउन नसकेको र जगरनाथ रमेशर दुईजनाको हकमा यस अदालतमा बकपत्र गर्दा हामीले देखे चिनेको होइन सर्जमिनमा सिकाई लेखाएको हो भनी सर्जमिनले आफ्नो भनाईलाई आफैले समर्थन नगरेको हुँदा निजहरूले सर्जमिनमा लेखिदिएको कुरा प्रमाणिक मान्न भएन ।
(प्रकरण नं. ४४)
(९) गुजे्रको म्याद थामी दिन भएको हुकुम प्रमांगीको तामेलीभन्दा अघि माथिल्लो अदालतबाट फैसला गरेमा–शुरुको इन्साफमा पुनरावेदन नगरेको भन्न नहुने ।
पुनरावेदन दिने म्याद गुज्रेको थामी पाउँ भनी निजहरूले श्री ५ महाराजाधिराजका हजुरमा चढाएको निवेदनपत्रमा म्याद गुज्रेको ७५ दिनभित्र दोश्रापटकको यो निवेदन दिएकोमा रु.४ का दरले जरिवाना गरी म्याद थामी जनाउ दिई अपील लिई ऐनबमोजिम गर्नु भन्ने ०२१।३।१२।५ मा हुकुमको प्रमांगी बक्स भएको सो प्रमांगीको जनाउ तामेल गर्न ०२१।११।८ मा मात्र अ.रुद्रप्रसादलाई बुझाएको तामेली नआउदै ०२१।११।२०।४ मा नारायणी अं.अदालतबाट फैसला भएको समेत देखिएकोले यस स्थितिमा निजहरूले सुरुको इन्साफमा पुनरावेदन नगरेको भन्ने तर्क उठाउनु मनासिव देखिँदैन ।
(प्रकरण नं. ४६)
निवेदकहरू तर्फबाट : अधिवक्ता श्री कुसुम श्रेष्ठ, व.अ.श्री कृष्णप्रसाद भण्डारी,
अधिवक्ता श्री कृष्णप्रसाद पन्त अधिवक्ता श्री रामराजा प्र.सिंह
जाहेरवाला तर्फबाट : अधिवक्ता श्री मुकुन्द रेग्मी
श्री ५ को सरकारको तर्फबाट : का.मु.सरकारी अधिवक्ता श्री षडानन्द उपाध्याय
फैसला
मा.न्या. रत्नबहादुर बिष्ट
१. ०१९ साल जेष्ठ २७ गते ७ का राती छोरा बिरामी भएकोले घरका मानिसहरू जागै बस्ने गरेको करिब १ बजे दक्षिण मुखको बन्द गरेको ढोका बाहिरबाट मानिसको जमातले जवरजस्ति सके खोल्न ढोकामा धक्का दिएको आमाले चाल पाई ढोका खोल्न नपाओस भनी भित्रबाट आड दिनु भनी भएको आवाजले निद्रा टुटी मैले पनि आड दिंदा ढोका समात्नेको हात बुढी औंला र चोर औंलाका जरामा धारिला हतियारले काटी दिएबाट उक्त पल्ला मैले रोक्न नसक्दा ढोका हटाई भित्र पस्नासाथ मलाई पक्री धमाधम ३।४ चोट लाठी फट्टाले कुट्दा मसँग शेफको साँचो लिई १ जनाले मलाई पक्री ६।७ जना घर भित्र र ६।७ जना बाहिरपट्टि घरका पल्ला खोली तिजोरिमा रहेको धनमाल र ट्रंक बाकस समेत लिई डाँका दल पश्चिम तर्फ गएपछि हेर्दा तपसील बमोजिमको धनमाल डाँका भएको निश्चित भएको र डाँका दलको छुट्न गएको १ हात लामो फलामे सुईरो जस्तो खन्ती फेला परेको छोरा कुरिरहनु परेकोले घर भित्र बाली राखेको लालटेनको र डाँका दलले नै बालेको टर्चलाईटको उज्यालोले गाउँको लक्ष्मणराउत अहिर सुकदेवराउत अहिर काशी राउत अहिर लगन राउत अहिर मखु भन्ने सबर मिया, सहमत मिया, आसिम मिया, कौवा भन्ने दिनदयाल राउत अहिर समेत ९ जनालाई मौकैमा म र प्रमाणका मानिसले चिन्यौं चिने नचिनेका गरी अन्दाजी २५ जना थिए । पछि ती चिनेका मानिसका घरमा बुझ्न पठाउँदा खानपिन गरी सुत्ने टायममा १०–१०।। बजेसम्म घरैमा थिए । अहिले छैनन् भन्ने बुझिएको सो टायम देखि अहिलेसम्म बेपत्ता भैरहेका लेखिएका विपक्षहरू खराव आचरणका र लगनले लिएको कर्जा नतिरी नालेस दिंदा डिग्रि गराई निजको घर घडेरी लिलाम हुँदा मैले नै सकार गरी लिएको रिसले धनजनको क्षती पुर्याउने हाँक दिंदै आएको समेतबाट निज लगन समेत भई डाँका गरेको निश्चय हुन आएकोले आङ्गमा भएको घा चोट जाँच गराई नखुलेको नाम निजहरूबाट खुलाई तपसील बमोजिम ने.रु.९८९२।८१।२ को धनमाल डाँकाबाट दिलाई ऐनबमोजिम सजाय गरिपाउँ भन्नेसमेत सरकारी गवाहा रामचन्द्रको ०१९।२।३१।४ को दरखास्त ।
२. खहेरु महत्वले मलाई झुठ्ठा पोल गरेको हो, उजूरवालाको घरमा म समेत भई डाँका गरेको होईन वारदात परेका रात यसै थानामा हाजिर भएको यस थानाको चौकिदारी हाजिर किताबबाट देखिन्छ । खहेरुले ईबिबाट झुठ्ठा पोल गरेका हो भन्नेसमेत सुवा हजराको पानामा भएको कागज उजुवालाको घरमा डाँका गर्न गएको कुनै कुरा होईन । खहेरुले म उपर धानको बिउ बारेमा झगडा भएको ईविले झुठ्ठा पोल गरेको हो भन्नेसमेत सुरत महतो कोईरीको कागज ।
३. सबूद प्रमाणबाट प्रतिवादी लक्ष्मण, काशि लगन, मखु सहमत, समेत जना ५ को हकमा मुद्दा चल्ने भन्ने पुलिस र अ.प.प्रो. समेतको १९।३ को रिपोर्ट
४. डाँका वारदात भए परेकैमै चलेको डाँका मुद्दामा उजूर दरखास्तमा सरजमिनले समेत चिने पहिचान गरेको अपराधी उपर मुद्दा नचल्ने भनी रिहाई गरी अन्याय भयो । मिसिल जाँच भई निजहरू उपर पनि मुद्दा चलाई पाउँ भन्ने दरखास्तवाला रामचन्द्रको निवेदनमा कानूनबमोजिम गर्नु होला भन्ने सिंगलबेञ्चको ०१९।४।२३ को आदेश ।
५. पुलिसको रिपोर्ट बेगर निजहरू उपर मुद्दा चलाउन हुने नहुने सो समेतको उचित निकाशा पाउँ भन्नेसमेत कलैया इलाका अदालतको रिपोर्टमा मुद्दा चलाउन सबूद नपुग्ने देखि पुलिस तथा प्र.प्रो.ले छोडेका अभियुक्तलाई पछि अदालतले खोजेका बखत उपस्थित हुने गरी हाजिर जमानिमा छोड्नु पर्ने कुरा सरकारी मुद्दा सम्बन्धी ऐन, २०१७ को दफा ४ को उपदफा ५ मा व्यवस्था भएकोले पुलिस तथा प्र.प्रो.ले छोडेका अभियुक्तलाई अदालतले चाहिने देखेमा खोजी उपस्थित गराई कारवाई गर्नसक्ने नै कुरामा अरु स्पष्टताको आबस्यकता छ भन्न नमिल्ने र पुलिस प्र.प्रो.का तर्कहरू अदालतले बेमुनासिव देखेछ भने त्यस्तोमा आवस्यकता अनुसार कानूनबमोजिम गरी पुरा तवरले इन्साफ गर्न कुनै कुराले बाधा पुर्याएको मान्न नपर्ने बिषय सोही ऐनको ६ दफामा समेत प्रष्ट हुनाले अदालतले मुद्दा चलाउन पर्ने देखेकालाई चलाउन सक्ने नै हुँदा प्रस्तुत बिषयमा निकाशा चाहियो भनी रिपोर्ट गर्नु पर्दैनथ्यो कानूनबमोजिम गर्नुहोला भन्नेसमेत ०१९।७।१।२ को वीरगन्ज जिल्ला अदालतको तोक आदेश ।
६. सो आदेशबमोजिम सुकदेव असिम कौवा लक्ष्मी समेत ४ जना उपर मुद्दा चल्ने भन्नेसमेत कलैया इलाका अदालतको ०१९।७।१० को आदेश ।
७. वारदातको रात भारती चम्पारन थाना आधापुर मौजे भलुवोही बस्ने कमल राउत अहिरसँग बहिनीको विवाह भएकोले जेष्ठ २६ गते शुक्रबार गई सोमबार मात्र बहिनी लिई फर्केको हुँदा २७ गते रात म लुबौहीमा छु । अरु प्रतिवादीहरूसँग भेटघाट छैन । रामचन्द्रको घरमा मैले डाँका गरेको छैन । उजूर झुठ्ठा हो । असभगीनीले रामचन्द्रको काका भोला साहू उपर दिएका खुन मुद्दामा मेरो जेठा बाबु गोबरधनले भोलालाई गडाउ गरी बकेकोमा चलाई फसाउन निमित्त सर सल्लाह गर्दा सर्वोच्चमा ०१५।५।९ मा र मध्यमाञ्चलमा ०१८।८।७ मा मैले निवेदन दिएको रिसले झुठ्ठा डाँकाको आरोप लगाएको हो भन्नेसमेत र सर्जमिनका भिकारी उजूरवाला रामचन्द्रको हटपे खलिल नोकर शिवनन्दन बैटदार हरीहर रामचन्द्रको बनिहारी गर्ने जगरनाथ रामऔतार कर्जा खाने आसामी भएबाट रामचन्द्रका पक्षमा लागी झुठ्ठा पोल गरेका हुन भन्नेसमेत ०१९।४।२३।३ को लक्ष्मणराउत अहिरको इन्कारी बयान ।
८. उजूरवाला रामचन्द्रका घरमा मैले डाँका गरेको छैन । मलाई पेटमा आउँ परी पातलो दस्त भएकोले ०१९ साल जेष्ठ २२ गतेका दिन हिंडि २३ गते चकियाको अस्पतालमा जँचाई औषधी गराई १२ दिन बसी आराम भएपछि आफ्नो घर आएको हुँ । रामचन्द्रसँग तमसुक फट्टा गरी नदिएमा झगडा गरेको रिसले झुठ्ठा उजूर गरेको र सरजमिनका भिकारी रामचन्द्रको धान तौल्ने हटपे खलिल रामचन्द्रको नोकर अरु गफमेलमा कर्जा खाने भएकोले निजहरू रामचन्द्रको पक्षमा लागी झुठ्ठा पोल गरेका हुन भन्नेसमेत ०१९।४।२४।४ को मखु मिया भन्ने भवल मियाको इन्कारी बयान ।
९. उजूरवालाको घरमा मैले डाँका गरेको छैन । जि.वारा प्र.प्र.दोस्तिया मौजे पौटियामा बस्ने खुवलाल राउत अहिर मेरो मामा भएकोले जेष्ठ २५ गते मामा विरामी छन् हिड् भनी बोलाउन आएका दशै राउतसँग म समेत गई बसी मामाको सेवा गरी आराम भएपछि ऐ ३२ गते घर आएको हुँदा २७ गते पोटियाहीमा छु । मेरो सगोलको काका चलितरले रामचन्द्रसँग ३०० कर्जा लिई १० कठ्ठा जग्गा बन्धकी लेख्न खोज्दा ५ कठ्ठा मात्र लेख्नु भनी मैले भन्दा रामचन्द्रले पख भनी भनेको थियो । सोही इविले म उपर झुठ्ठा पोल गरेको र सर्जमिनका भिकारी रामचन्द्रको धान तौल गर्ने हपटे खलिल रामचन्द्रको नोकर र अरु रामचन्द्रको खेत जोत्ने कर्जि खाने भएकोले पक्षमा लागी झुट्टा उजूर गरेका हुन भन्नेसमेत ०१९।४।२४।४ को कसि राउत अहिरको इन्कारी बयान ।
१०. रामचन्द्र साहू कलवारको घरमा मैले डाँका गरेको छैन । जेष्ठ २६ गते विहान जैनुल मियासँग आप बोकी भारत मुजफरपुर मौजे बसविटामा गएको र पर्सिपल्ट फर्की आएकोले जेष्ठ २७ गते बसबिटामा छु । मैले रामचन्द्रलाई भोगबन्धकी दिएको घडेरी चलन नदिदा मुद्दा परी झगडा भएको इविबाट र सरजमिनका भिखारी रामचन्द्रको धान तौल गर्ने हटपे रामचन्द्रको जग्गा जोत्ने सिउनन्दन र अरु कर्जि खाने आसामी समेत भएकोले पक्षमा लागी झुठ्ठा उजूर गरेकाहुन भन्नेसमेत ०१९।४।२४।४ को सहमत मियाको इन्कारी बयान ।
११. रामचन्द्रको घरमा मैले डाँका गरेको छैन । मेरो पेट झर्ने बेरामी भएकोले औषधी गराउन फुपाजूको घरमा छोरा भाइ बृछा राउतकहाँ जि.पर्सा प्र.सिघमास मौजे सवेरुवामा जेष्ठ २६ गते गई औषधी गर्ने मानिस फेला नपरेकोले २९ गतेसम्म बसी सो दिन घर आएकोले २७ गते विहान छु । रामचन्द्रसँग पानीको बिषयमा झगडा भएकोले लेनदेनमा नालेस गरी मेरो घर लिलाम गराएको र झगडा भएको रिसले पोल गरेको र सर्जमिनका भिखारी रामचन्द्रको धान तौल गर्ने हटपेशी बाहेक अरु रामचन्द्रको कर्जि खाने आसामी भएकोले पक्षमा लागी म उपर झुठ्ठा पोल गरेका हुन भन्नेसमेत ०१९।४।२५ को लगन राउत अहिरको इन्कारी बयान ।
१२. रामचन्द्रको घरमा मैले डाँका गरेको छैन । जि.बारा प्र.टोकनी मौजे मुरली बस्ने कुलफत मिया ससुरा भएकोले स्वास्नी ससुराकै घरमा भएको हुँदा बेरामी भएको खवर आएकोले २६ गते को दिन साँझ मुरली तर्फ हिडी ताहाँ पुगी स्याहार गर्दा आराम भएकोले ३० गते घरमा आएको हुँ । असभगिनीले उजूर गरेको खुन मुद्दामा मेरो बाबु औकिलले रामचन्द्रको काका भोलासालाई सर्जमिनमा गढाउ बकेकोले र सर्जमिनका भिखारी हटपे बटेदार नोकर कर्जि खाने भएको समेत झुठ्ठा उजूर गरेका हुन भन्नेसमेत ०१९।९।११।४ को आसिम मियाको इन्कारी बयान।
१३. रामचन्द्रको घरमा मैले डाँका गरेको छैन । ०१९।२।२७ गतेको रात म र छोरा सुकलदेव आफ्ना घर गाँउमै छौं । छोरा लक्ष्मण भारत भलुओहीमा मेरो छोरीकहाँ गएका थिए । वादी असभगिनी प्र.मौलासाको खुन मुद्दामा सरजमिन हुँदा दाजु गोबर्धनले रामचन्द्रको काका भोलालाई धान तौल गर्न हटपे खलिल हरिहर नाकर जगन्नाथ रामचन्द्रका बटेदार हुँदा रामचन्द्रको पक्षमा लागी मेरो विरुद्ध झुठ्ठा उजूर गरेका हुन् भन्नेसमेत ०१९।९।१२।५ को कौवादिनदयालको इन्कारी बयान ।
१४. उजूरवाला रामचन्द्रको घरमा मैले डाँका गरेको छैन । ०१९।२।२७ गतेको रात म र बाबु गाँउ घरमै छौं । दाजु लक्ष्मण भारत मलुवोही मौजामा दिदीकहाँ गएका थिए । वादी असभगिनी प्र.भौला भएको भजन मरेको खुन मुद्दामा सरजमिन हुँदा मेरो जेठा बाबु गोबर्धनले भोलाको गडाउ बकेको रिसले झुट्टा पोल गरेको र सरजमिनका भिखारी रामचन्द्रको हटपे खलिलराम आज्ञा नोकर र अरु बटेदार आसामी भएकोले रामचन्द्रको पक्षमा लागी झुट्टा पोल गरेका हुन भन्नेसमेत ०१९।९।१३।६ को सुकदेव राउतको इन्कारी बयान ।
१५. रामचन्द्रको घरमा मैले डाँका गरेको छैन । ०१९।२।२६ गते पुरानो घर खेत भएको बिसम्भरपुर गई २९ गते फर्की आएको हुँ । बिसम्भरपुर र बिजुलपुर २ कोस फरकमा पर्दछ । रामचन्द्रले चुन भनेको चेतवनलाई नचुनी मुरत महत्वलाई पञ्च चुनेको रिसले रामचन्द्रले र सरजमिन मध्ये खहेर उपर मेरो ससुरा सिउ महत्वले चोरी मुद्दा दिई सरजमिन गराएको भिखारी रामचन्द्रकै धान तौल गर्ने हटपे सिउनन्दन जगरनाथ रामऔतार समेस्वर समेत रामचन्द्रको बटेदार हुँदा रामचन्द्रको पक्षमा लागी झुट्टा पोल उजूर गरेका हुन भन्नेसमेत ०१९।९।१६।६ को लक्ष्मीमहत्व कोइरीको ईन्कारी बयान ।
१६. सत्यनारायण जनकधारी समेतले अराष्ट्रिय तत्वमा मिली नेपाल अधिराज्य भित्र बिप्लव मचाउने काममा सहयोग गर्यौं भन्ने कच्चौरवा थानाको स.ई.सुन्दरप्रसाद समेतको ०१९।४।१२।२ को रिपोर्टबाट गंजभवानीपुर बस्ने रामचन्द्र कलवारको घर डाँका गरे तर्फ समेत यस ट्रिवुनलबाट कारवाई गर्ने गरी रिपोर्ट पेश गर्नुभएको निज रामचन्द्र कलवारको घर डाँका परे तर्फ स.ई.सुन्दरप्रसादको रिपोर्ट पर्नु भन्दा अगावै ०१९।२।२७ गते डाँका परेको भनी घर धनीले कलैया थाना मार्फत मुद्दा चलाएको देखनाले पहिले परेको उजूरीबाट हेर्न पर्ने हुँदा कानूनबमोजिम जे जो गर्नुपर्छ भनी बिगो ट्रिबुनलबाट वीरगञ्ज डि.एस.पी. अफिसलाई ०२०।५।७ मा लेखेको लेखोट ।
१७. गञ्जभवानीपुरको निजक पश्चिम सरहेमा बसेको मौका भवानीपुरबाट लक्ष्मण अहिर समेत सो ठाँउमा पुगेपछि हामी सवै हिंडी नाउँ नजानेको भवानीपुरको कलवारको घरमा डकैती गरे भन्ने जनकधारी सत्यनारायणको कागजमा भएको ०१९।२।२७ गते भवानीपुरमा अन्त डाँकाको वारदात नभएको गञ्जभवानीपुरको रामचन्द्रको घरमा ०१९।२।२७ गते डाँका परेको निजहरूले पोलेका लक्ष्मण उक्त मुद्दामा प्रतिवादी भई मुद्दा चली रहेकै र सरजमिन मुचुल्कामा ०१९ साल जेष्ठ महिनामा गञ्जभवानीपुरतर्फबाट भागी आई सत्यनारायण जनकधारीले शंकरकै घरमा राखी रातभर विदेशतर्फ पठाएको र उनि गएको विहान गञ्जभवानीपुरमा डाँका परेको थियो भन्ने मुखन समेतले लेखाई दिएकोबाट समेत पनि अरु वारदातहरू भवानिपुरमा नभई गञ्जभवानीपुरको रामचन्द्रको घरमा भएको भन्ने सिद्ध हुन आउँछ । उक्त प्र.सत्यनारायण र प्र.जनकधारी उपर मुद्दा चलाउनलाई निजहरू आफू सावित भई कागज गरिदिएको दूवैले वाराम झरीयाको शंकर अहिरलाई पोलेको सरजमिनमा पनि जनकधारीले शंकरकै घरमा राखी रात विदेश तर्फ पठाएको रातकै बखत हामीहरूले देखेको भन्ने कुरा मुखन मियाँ समेतको सरजमिनबाट देखिएको प्रमाणबाट निज शंकर जनकधारी सत्यनारायण उपर मुद्दा चलाउन सबूद पुगेकाले मुद्दा चलाउने भन्नेसमेत ०२०।७।२१।२ को अ.प.प्रो. समेतको राय ।
१८. तपाई भेट गर्न आउनु होस् भनी अराष्ट्रिय तत्वका अघि देखि जान पैचान भएका भागवत यादव तेजबहादुरले खबर पठाएकोले भेट गर्न जान तयार भएको बेला साथी सत्यनारायण पनि आई संगै भेट हुँदा तिमीहरू हाम्रो पार्टिमा मिल अनि राम्रो हुन्छ र डकैती गरी धन पनि हात लाग्छ आफ्नो साथी समेत भई मद्दत गर्नोस भनी आजको ६ दिन वाद तेलकवाको आँपको बगैचामा तिमीहरू पनि हतियार साथ जम्मा हुनु हामी पनि हुन्छौ भनी भागवत तेजबहादुरले भन्दा हुन्छ भनी जेष्ठ २७ गते सत्यनारायणलाई साथ लिई जाँदा भारत छौदादानीको मौला महत्व कोईरी राजाराम कोईरी माधौवा दुसाद घुमलाल अहिर जगदिस अहिर ठेठा रौनियार लक्ष्मणप्रसाद, रामअधिस, सर्वजित रजवा उचदुवा अलिसन्तली मोर्चलक्षु राउतको छोरा तपेश्वरलख राउत, राउत शंकर समेत बसेका रहेछन् र जम्मा भई भवानीपुर तिरबाट लक्षुमणले ८।९ जना जति नचिनेका डाँका ल्याई जम्मा ५० जना जति भई गई ११।१२ बजे तिर गञ्जभवानिपुर नाम नजानेकै कलवारको घरमा पुगी ढोका तोडी बाकस समेत लिएको म समेत बाहिर बसें, अरु भित्र गई धनमाल करीव १।१।। घण्टा जति डकैती गरी ७।८ हजारको धनमाल डकैती गरी गएको जम्मै घर अफिसमा राख्नु पछि भाग लिउँला भनी भागवतले भनेको अहिलेसम्म पाएको छैन भन्ने थानामा ०१९।४।११।४ मा साबिति कागज र ०१९।२।२७ गते अगावै जरो आई बिरामी भई सुती रहेकोले लेखिएका कसैसँग भेटघाट छैन र मैले डाँका गरेको पनि छैन पुलिसमा गराइएको साबिति कागज कस्का जाल पेचबाट मलाई फसाउनलाई डर त्रास देखाई मलाई नसुनाई गरेका हुन् सत्यनारायणलाई चिनाजानी थिएन हाल जेलमा मात्र चिनेको हुँ भन्नेसमेत ०२०।८।१३ मा अदालतमा इन्कारी बयान जनकधारी राउत अहिरको ।
१९. छौडादानाबजार जाँन लाग्दा जनकधारीकहाँ गई जनकधारीले भनेको भागवतले बोलाएकोछ भन्दा संगै गई भेट गरी हामीहरूकासाथ अराष्ट्रियतत्वमा लाग भनी भनेकोले हुन्छ भनी अरु जनकधारीकै व्यहोराबमोजिम भई रामचन्द्रको घरमा डकैती गरी धनमाल डाँका गरी ल्याएको हो भन्ने पुलिसमा सावित कागज र ०१९।२।२७ गते भन्दा १५।१६ दिन अगावै बेरामी परी घरैमा छु रामचन्द्रको घरमा मैले डाँका गरेको छैन पुलिसमा भएको साविति कागज मैले जाने बुझी राजीखुसिले गरेको होइन के व्यहोराको कागज लेखी डर त्रास देखाइ सही गराएका हुन भन्नेसमेत ०२०।८।१३ मा सत्यनारायणको इन्कारी बयान ।
२०. वादी रामचन्द्रको घरमा मैले डाँका गर्न नगएको ०१९।२।२७ गते परदेश जि.जम्मारान थाना घोडा साहन मौजे बुलुवामा बहिनी भेट गर्न गई जेष्ठ ३० गते घर फर्की आएको हुँ भन्नेसमेत ०२०।८।८।१३ को शंकर राउतको इन्कारी बयान ।
२१. प्रतिवादीहरूले डाँकाको वारदात भएको होइन भन्न नसकी प्र.मध्येका शुकदेव कौवा मेजे दिनदयाल दुईजना बाहेक वारदात हुँदाका बखत गाँउ घरमै थिएनौं भनी इन्कारी बयान गरेका र जालसाजी मुद्दा दायर गरेका भए पनि आजकै मितिमा खारेजी फैसला भएको निजहरूले प्रमाण दिएकाबाट १।२ जना साक्षीले प्रतिवादी मिलान जस्तो गरी बकेका छन् तापनि प्र.हरूले दायर गरेको जालसाजी मुद्दाको फिरादमा लक्ष्मण दिनदयाल सुकदेव आफ्ना घरमै रहे भएको भनी लेखेको हुनाले डाँका मुद्दामा इन्कारी र साक्षीका बकपत्र सत्य साँचो भन्न नमिल्ने ६।७ कोस भन्दा टाढा थियौं भनी कसैले भन्न लेख्न नसकेको रेल मोटर आदी साधन भएको ठाउँमा आउन जान सक्ने प्रमाणीक सबूद बेगर डाँका गरेको रहेनछ भन्न नमिल्ने मुखले डाक्टरको सर्टिफिकेट पेश गरेको छ तापनि सरकारी हस्पीटलमा भर्ना भएको नभई औषधीसम्म गराएको भन्ने लेखेको त्यस्तो सर्टिफिकेटको भरले डाँका गर्दा देख्ने त्यतिका सरजमिनको भनाई झुठ्ठा रहेछ भन्न नमिल्ने, दरखास्तमा नामै किटान गरिदिएको ९ जना र नचिनेका १५।१६ जना समेत भई कुटपिट गरे भन्ने दावी लिएको छ । जाँच फारममा भर्ने सम्भव छ भनी डाक्टरले लेखिदिएको मोकैमा भएको सरजमिन मध्ये कसैले ९ जवानलाई र कसैले तिनै मध्येका कसैलाई देख्यौं चिन्यौ डाँका गरेकै हुन भनी किटानीसाथ बकी लेखिदिएका डाँका नगरेको भए ती सरजमिनले खराव चाल चलनका मानिस हुन भनी लेखी दिनु नपर्ने समेतबाट अराष्ट्रिय तत्वका जनकधारी समेत र दरखास्तमा पोलिएका प्रतिवादी समेत भई रामचन्द्रका घरमा डाँका गरेको रहेछ र शंकरले डाँका गरी ल्याएको धन बण्डा गरी खाएको भन्ने कुरा प्रष्ट देखिन ठहर्न आउँछ भन्नेसमेत ०२०।९।३० को कलैया इलाका अदालतको फैसला ।
२२. उजूरवाला सरजमिन समेतका भनाई झुठ्ठा सावित हुन आउनेमा मलाई डाँका गरेको ठहराई गरेको फैसलामा चित्त बुझेन भन्नेसमेत कौवा भन्ने दिनदयाल राउत अहिरको पुनरावेदन ।
२३. खलिल आफुले भिखारीमा सुतीरहेको अवस्थामा देखें भनी ९ जना संख्यामात्र भनी केवल ३ जनाको नाउँ मात्र किटान गरेको उता विधिचन्द्र तेलीले आफुलाई भिखारीमा सुतेको नभनी खलिल र आफु समेत घर भित्र सुतेको भनी भनेकोले यसबाट पोल उजूर र सरजमिन भनाई झुठ्ठा सावित हुन आउनेमा मलाई डाँका गरेको ठहराएको इन्साफमा चित्त बुझेन भन्नेसमेत आंसि मियाको पुनरावेदन ।
२४. माल धनी सरजमिन अरु कसैको पोल उजूर सुधा शंका समेत कतैबाट नभएको खाली पुलिसले जोरजुलुमसँग गराएको साबिति कागजका भरले डाँका गरेको ठहराएको इन्साफमा चित्त बुझेन भन्नेसमेत जनकधारी अहिरको पुनरावेदन ।
२५. हामीहरूले वारदातमा सामेल भई डाँका गरेको भए माल धनी सरजमिनको पोल हुनुपर्ने सो नभई खाली पुलिसमा भएको साबिति कागजको आधारले मात्र डाँका गरेको ठहराएको इन्साफमा चित्त बुझेन भन्नेसमेत सत्यनारायण शंकर राउतको पुनरावेदन ।
२६. जनकधारी सत्यनारायणको साबिति कागज गराउनु पर्ने कारण अवस्था प्रष्ट खुल्न नआएकोले निज जनकधारी सत्यनारायणको इन्कारी र निजहरूले पोलेको शंकरको इन्कारी बयान साँचो नभई सत्यनारायण जनकधारी शंकरको हकमा इन्साफ सुरुको मुनासिव छ । सरकारी गवाहले पुलिसमा दिएको दरखास्तमा ९ जवानको नाउँ सुरुमा लेखे पनि पेटबोलीमा प्र.लक्ष्मीको नाउँ नलेखेको सरजमिनको व्यहोरा एकरुप देखिन नआएको प्र.दिनदयाल शुकदेव लक्ष्मण एकाघरका बाबु छोरा डाँका गर्न गए हुन भन्न तथ्य सबूद बेगर नमिल्ने, सरजमिन श्रीलाल समेतको लेखाईबाट पञ्चायती भएको भन्ने देखिएकोले पञ्चायती हुनु नपर्ने प्र.हरूका साक्षीले सफाई दिई बकेका वारदातमा हल्ला भएको भन्ने नदेखिएको समेतबाट प्र.लक्ष्मण सवल, काशी शहमत लगन, शुकदेव, लक्ष्मी, आसिं, दिनदयाल समेत ९ जनाले डाँका गरेको ठहर्दैन भन्नेसमेत ०२१।११।२० को नारायणी अञ्चल अदालतको फैसला ।
२७. हामी उपर सुरुमा दरखास्तवालाको पोल सरजमिन समेतको पोल नभएको बिप्लव मचाउने अभियोगमा थुनिएकोमा जवरजस्ती कुटपिट गरी पुलिसले गराएको साबिति कागजका आधार लिई खास दरखास्तवाला सरजमिनले वारदात गर्दाका अवस्था देखे चिनेको भनी नाम किटि पोलेका लक्ष्मी समेतका नौ जनाले डाँका गरेको नठहराई शिर्फ हामीहरूले मात्र डाँका गरेको ठहराउनु न्यायोचित फैसला भन्नै नहुने भे.अञ्चल अदालतको इन्साफमा चित्त बुझेन भन्नेसमेत जनकधारी सत्यनारायण शंकर समेतको पुनरावेदन ।
२८. दरखास्तवाला रामचन्द्रका घरमा डाँका भएको निर्बिवाद छ जनकधारी सत्यनारायण साबित छन् र शंकरले डाँका नगरी ल्याएको धन बण्डा गरी खाएमा दुबै अदालतबाट ठहर भएको छ । जाहेरी दरखास्तमा सिरपट्टी ९ जनाको नाम प्रष्ट लेखिएको छ र पेटबोलीमा पनि ८ जनाको नाम लेखी समेत ९ जनाको नाम प्रष्ट लेखिएको छ र पेटिबोलीमा पनि ८ जनाको नाम लेखी समेत ९ जना भन्ने लेखिएकोबाट पनि दरखास्तमा कुनै गल्ती देखिंदैन, भिखारी र सिउनन्दनको भनाईमा वास्तविक कुरा फरक परेको पनि देखिँदैन । एकाघरका बाबु छोराले डाँका गरेका हुन भन्न मिल्ने कुरै होइन । डाँका भएमा पञ्चायती नगराउनु भन्ने कुरा केही छैन । प्रतिवादीहरूका साक्षीले प्रतिवादीका पक्ष लागी बक्ने कुरा अस्वाभावीक भन्न मिल्दैन । साबिती जनकधारी समेतले पोलेका सरजमिनले किटानसाथ लेखाएका र चाल चलन खराव भन्ने देखिन्छ । जालसाजीमा उजूर गरेकामा नठही हारेका छन । डाँका मुद्दामा ठोस सबूद केही छैन । सुरुले ठहराएका ९ जना ७ जनाको अपील परेको छैन । सुरुले ठहराएको व्यक्तिको अपील नपरी सफाई दिन मिल्ने कुरै हैन । मालधनीले मौकामा देखे चिनेको भनी नाम किटान गरेको मुख्य प्रमाणका मानिसले चस्मदिद देखेको भनी बकी लेखिदिएको अरु सरजमिनले पनि गराउने गरेका साबिति समेतले बोलेको अवस्थामा प्रतिवादीहरूलाई सफाइ दिने गरेको उक्त अदालतको इन्साफ न्यायसंगत नहुनाले प्रस्तुत मुद्दामा दरखास्तबालाले नाम किटान गरेका लक्ष्मण समेत ९ जना प्रतिवादीहरूलाई पनि कसूरदार ठहराई कानूनबमोजिम सजाए दिने समेतको हक इन्साफ हुन सादर अनुरोध गरिन्छ भन्नेसमेत श्री ५ सरकार तर्फको पुनरावेदन ।
२९. लक्ष्मण राउत अहिर १ मखु भन्ने प्रदल मियाँ १ काशी राउत अहिर १ सहमत मियाँ १ लगन अहिर १ आसिं मियाँ १ दिनदयाल राउट १ शुकदेव राउट अहिर १ लक्ष्मी महतो कोइरी १ समेत ९लाई वारदात गरेको मौकामा देख्यौ चिन्यौं भनी सरजमिनका अधिकांश व्यक्तिले भनेको तथ्यपूर्ण सबूद देखिएको र उक्त जवान ९लाई कसूरदार ठहराई सुरुले छिने उपर कौवा भन्ने दिनदयाल र आंसि बाहेक अरु ७ जनाले अपील नगरी चित्त बुझाई बसेको तिनिहरू समेतलाई सफाई दिएको मिलेको नदेखिएको र प्रतिवादी जनकधारी सत्यनारायण शंकर अहिर ३ जना उपर मुख्य गवाहको उजूर दरखास्त नपरेको मौका तहकिकातमा बुझिएका सरजमिनले पनि देख्यौ नभनेको निजहरूले यो रामचन्द्रको घरमा डाँका गरेकै हुन भन्ने प्रमाणित सबूद केहि नभएकोमा अराष्ट्रिय तत्वको शंकाले पक्राउ गरेको ११ दिन पछि यो डाँका वारदातमा साबिति कागज भएको समेत कुरा देखाई भाद्र ४ गते सरजमिन बुझ्दामात्र डा्रका वारदात गरेको कुरा देखाई बक्ने सरजमिनको भनाई प्रस्तुुत डाँका वारदातको निमित्त लायक प्रमाण हो भन्न नमिल्ने भई सो डाँका गरेको हुन् भन्ने साबिति आकाट्य प्रमाण नभएको भई निजहरूलाई कसूरदार ठहराएको नमिलेको समेत देखिंदा अ.बं.२०२ नं. र स.अ. नियमावली बमोजिम उपरोक्त उल्लेखित प्रतिवादी लक्ष्मण राउत समेत ९ जनालाई छलफको नोटिस पठाई र जनकधारी समेत ३ जनालाई कसूरदार ठहराएको तर्फ बहस गर्न पठाई दिनु भनी एटर्निजनरल अफिसरलाई समेत सूचना दिई सो बमोजिम भईआएपछि नियमबमोजिम पेश गर्नु भन्ने ०२३।१।२७।२ को डिभिजन बेञ्चको आदेश ।
३०. गवाह घर धनीरामचन्द्रको घरमा ०१९।२।२७ गते वारदात भएको होईन भन्न र त्यसतर्फको सबूद प्रतिवादीहरूले दिनसकेको नदेखिएकोले उक्त मितिमा रामचन्द्रका घरमा डाँका परेकै रहेछ भन्ने सिद्ध हुन आयो । अब डाँका को को भई गरेको रहेछन् त भन्ने हकमा प्रतिवादी लक्ष्मण राउत अहिर शुकदेव राउत अहिर लगन राउत अहिर मखु भन्ने भवल मियाँ, सहमत मियाँ, आसिं मियाँ, कौवा भन्ने दिनदयाल राउत अहिर शुकदेव राउत अहिर लगन राउत अहिर लक्ष्मी महती कोइरी समेत ९ जनाले हामीहरूले रामचन्द्र सा कलवारका घरमा डाँका गरेको छैन भनी इन्कारी बयान गरे तापनि घर धनी मुख्य गवाह रामचन्द्र सा कलवारले यी प्रतिवादीहरू ९ जनाको नाउँ थर किटान गरी वारदात भएकै मौकामा देखें चिनें भनी उजूर गरेको सरजमिनका अधिकांश व्यक्तिले निज प्रतिवादीहरू ९ जनालाई वारदातमा देख्यौ चिन्यौं भनी किटानसाथ लेखाई दिएको ती सरजमिनले झुठ्ठा कुराको सरजमिन गरिदिनुपर्ने अवस्थाको सबूद निज प्रतिवादीले गुर्जान सकेको नदेखिएकोमा पनि यिनै प्रतिवादीहरू नौ ९ जवानले रामचन्द्र समेत उपर जालसाजी गरेकै हो भनी ठहराउन नसकी अञ्चल अदालतसम्मबाट खारेज भएको पुनरावेदन नगरी अन्तिम गराई बसेका इन्कारी बमोजिम सफाइको तथ्यपूर्ण सबूद प्रमाण गुजार्न सकेको नदेखिनाले र अरु सुरुका फैसलामा लेखिएको बुँदा प्रमाण समेतबाट निज प्रतिवादीहरूले रामचन्द्रका घरमा डाँका गरेका रहेछन भन्न नमिल्ने हुँदा निजहरूलाई सफाई दिने ठहराएको नारायणी अञ्चल अदालतको इन्साफ मिलेको देखिएन, सुरुकै सदर छ । पुनरावेदक प्रतिवादी जनकधारी राउत अहिर १ सत्यनारायण राउत अहिर १, शंकर राउत अहिर १ समेत ३ जनाका हकमा विचार गर्दा मुख्य गवाह घर धनीरामचन्द्र सा कलवारले निज प्रतिवादीहरूलाई वारदातमा देखें चिनें भन्न र शंका पनि गरेको नदेखिएको ०१९।३ रु.३१।४ मा भएको मौका तहकिकात सरजमिनमा पनि सरजमिनका कुनै व्यक्तिले निज प्रतिवादीहरू डाँका वारदातमा थिए भनी लेखाएको नदेखिएको अराष्ट्रिय तत्वको मुद्दामा ०१९।४।१ गते पक्राउ भई ०१९।४।११ गते भएको मौका कागजमासम्म साबित भई कागज भएको देखिएता पनि त्यसपछि सोही अराष्ट्रिय तत्वको मुद्दामा वीरगञ्ज गोस्वारा ट्राइबुनलमा बयान गर्दा र यस डाँका मुद्दामा अदालतमा बयान गर्दा समेत इन्कार भई सो मौका कागज कुटपिटबाट गराएको हो भनी बयान गरेको देखिएको र निजहरूका साक्षीहरूले सफाई दिई बकेको समेतबाट निज जनकधारी सत्यनारायण अहिर समेत २ जनाले रामचन्द्रको घरमा डाँका गरेको भन्ने प्रमाणिक सबूद बेगर नहुने हुँदा निजहरूले डाँका गरेको र शंकर अहिरले डाँका गरेको माल राखी बण्डा खाएको ठहराएको सुरुको सदर गरेको नारायणी अञ्चल अदालतको मिलेको देखिएन । कैद जरीवाना असूल भए फिर्ता र नभए लगत काटी दिनु भन्नेसमेत डिभिजन बेञ्चको ०२४।४।६।६ को फैसला ।
३१. उक्त डाँका मुद्दामा सर्वोच्च अदालतबाट ०२४।४।६।६ मा भएको निर्णय फैसला दोहर्याई पाउँ भन्ने प्रतिवादी कौवा भन्ने दिनदयाल राउत अहिर समेत ९ जनाको निवेदन परेकोमा न्यायिक समितिबाट प्रस्तुत केशमा मौकामौकैमा सोध्नु बुझ्नु पर्ने आवस्यक कुरा बुझिए सोधिएको बुझिदैन । गवाह रामचन्द्रको उजूरी दरखास्त ४ दिन पछि मात्र परेको छ सो कुरा दरखास्तमा खुलाईएको छैन । डाँका परेको होइन भन्ने कसैको लेखाई छैन तापनि उल्लेखित अवस्था बिना सबूद तिनीहरूले नै डाँका गरेका भन्न प्रमाण पुग्न आएको नदेखिएको र प्रतिवादीहरूले जुन कुराको आधारमा इन्कारी गरेका हुन सो कुराको साक्षी सबूद गुज्रन आएको दखिएको समेत प्रमाण परिवन्दबाट नचिनेका मानिसले गरेको डाँकामा रीसइवीको कारणले यी प्रतिवादीका नाममा कल्पित पोल उजूर गरेको र त्यसकै आधारमा सहायक सरकारी अधिवक्ता समेतले आरोप लगाई मुद्दा दायर गरेको देखिएको समेत प्रमाण परिवन्द निवेदक लक्ष्मण समेतलाई कसूरदार सावित ठहराएको सर्वोच्च अदालतको निर्णय मिलेको देखिएन, दोहर्याउने आदेश बक्सनु पर्ने भनी समितिबाट सिफारिस गरेको जाहेर हुँदा श्री ५ महाराजाधिराजबाट नेपालको संविधानको धारा ७२ को (ख) अनुसार उक्त मुद्दा दोहर्याई दिनु भन्ने हुकुम बक्सेको छ भन्ने ०२४।११।१६।४ को हुकुम प्रमांगी ।
३२. बक्स भइआएका हुमुम प्रमांगी बमोजिम गर्न निमित्त नियमबमोजिम लगतमा दर्ता गरी मिसिल झिकाई पेशीको सूचना महान्यायाधीवक्ताको कार्यालयमा दिई दुबै पक्ष राखी फुल बेञ्चमा पेश गर्नु र त्यसको अन्तिम निर्णय भएपछि त्यस्तो निर्णयको २ प्रतिलिपि हुकुम प्रमांगी बमोजिम जाहेर गर्न श्री ५ महाराजाधिराजका प्रमुख सचिवालय राजदरवारमा जनरल विभाग मार्फत पठाई दिनु भन्नेसमेत ०२४।११।१६।४ को माननीय प्रधान न्यायाधीश ज्यूको आदेश ।
३३. मुख्य गवाह रामचन्द्र शाहको दरखास्तमा र थानाको रिपोर्टमा लेखिएको गवाहहरूलाई झिकाउने गरी कलैया इलाका अदालतबाट ०१९।११।२६ गते आदेश गरेकोमा भिखारी सा कानु समेत ३ ले सरजमिनमा नै बकी सकेको हुनाले फेरि साक्षी बस्न नपरोस भनी दरखास्त गरेको भनी अ.ग.प्र.अ.प्र.प्र. अफिस कलैयाले इ.अ.कलैयालाई अनुरोध गरी पठाएकोमा प्रहरी प्रतिवेदनमा लेखिएको साक्षी नबुझी मुद्दा किनारा गर्न अङ्ग नपुग्ने कारवाईको सिलसिलामा बकाउनु पर्ने साक्षी नबकाउन उचित नपर्ने हुनाले तपसील बमोजिम गरी साक्षी उपस्थित भएपछि बुझी आएपछि नियमबमोजिम पेश गर्नु र ०२५।६।९।३ का हुकुम प्रमांगी बमोजिम श्री ५ महाराजाधिराजका हजुरमा नतिजा जाहेर गर्न बिषेश जाहेरी बिभागमा लेखी पठाई दिनु भन्ने माथि सिर व्यहोरामा र भिकारी सा कानु १ खलिल मिया १ खहरू महतो कोईरी १ सिउनन्दन अहिर १ हरिहर सा कानु १ जगरनाथ साह तेली १ रामऔतार कानु १ रामआज्ञा महतो १ र मेसैर साह कलुवार १ समेत प्रहरी प्रतिवेदनमा लेखिएका देखाएका साक्षीहरूलाई बकपत्र गराउन निमित्त यो आदेश दाखिल भएको ३० दिन भित्र यस अदालतमा उपस्थित गराउनु भनी महान्यायाधीवक्ताको कार्यालयमा लेखी पठाउनु भन्ने तपसीलको १ दफामा र मिश्रीलाल कानु १ मौजे हाल कानु १ अजिम देवान १ सुखल देवान १ लेखाउन महरा चमार १ लक्ष्मण साह तेली १ जानकी साहू १ दोस महमद १ वैजनाथ साह तेली १ विश्वनाथप्रसाद १ भोला साह कलवार १ कर्ण महतो १ हरूलाई यथाशिघ्र उपस्थित गराउनु भनी अभियोक्ताको कार्यालयलाई लेखी झिकाई खुलाउन पर्ने देखिन आएको कुरामा जिरह समेत गरी यो आदेश दाखिल भएको ३० दिन भित्र बन्दसवाल तामेल गरी पठाउनु भनी नारायणी अं.अ.मा बन्दसवाल र मुद्दाको आवश्यक व्यहोरा देखाई पत्र लेखी पठाउनु भन्ने तपसीलको २ दफा र डा.राम सालुलाई कानूनबमोजिम समाव्हान पठाई खुलाउनु पर्ने देखिन आएको कुरा जिरह समेत गरी यो आदेश दाखिल भएको ३० दिन भित्र बन्दसवाल तामेल गरी पठाउनु भनी ना.अं.अ.मा बन्दसवाल र मुद्दाको आवश्यक व्यहोरा देखाई पत्र लेखी पठाउनु भन्ने तपसीलको ३ दफामा उल्लेख भएको ०२५।६।२७।३ को फुल बेञ्चको आदेश ।
३४. जाहेरवाला रामचन्द्रको घर आँगन र निजको धान भकारी रामरुप साहूको गोलाबाट देखिन्छ देखिँदैन बीचमा अरुको घर छ छैन रामचन्द्रको घर आँगनबाट रामरुपको गोला कति टाढा पर्दछ ०१९ साल जेष्ठमा त्यस ठाउँको नक्शा प्रकृति कस्तो थियो रामचन्द्रका घरको रुप कस्तो थियो र ढोका कतातर्फ थियो सवै प्रष्ट देखिने गरी ऐनको रीत पुर्याई नजिकको ओभरसियर वा इन्जिनियरबाट नाप नक्शा गरी गराई पठाई दिनु भनी बारा जि.अ.लाई लेखी पठाई आएपछि नियमबमोजिम पेश गर्नु भन्ने ०२५।११।२४।६ को फुल बेञ्चको आदेश ।
३५. यस्मा केन्द्रीय कारागार कार्यालयबाट झिकाई आएका थुनुवा निवेदक लक्ष्मण राउत, शुकदेव राउत, काशी राउत, लगन राउत, दिनदयाल राउत, आसिन मिया र जाहेरवाला रामचन्द्रको वा.गोपालकृष्ण रोहवरमा रही ०२५।१२।२६ र ०२६।१।३ मा पेश भई निवेदक लक्ष्मणकोतर्फबाट विद्वान अधिवक्ता श्री कुशुम श्रेष्ठ, शुकदेवकोतर्फबाट विद्वान अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी काशी राउतकोतर्फबाट विद्वान अधिवक्ता कृष्णप्रसाद पन्त लगन राउतकोतर्फबाट विद्वान अधिवक्ता श्री राम राजाप्रसाद सिंहहरूले र जाहेरवाला रामचन्द्रकोतर्फबाट विद्वान अधिवक्ता मुकुन्द रेग्मी वादी श्री ५ को सरकारतर्फबाट विद्वान का.मु.सरकारी अधिवक्ता श्री षडानन्दप्रसाद उपाध्यायले गर्नुभएको बहससमेत सुनि आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत मुद्दामा मुख्य गवाह रामचन्द्रको घरमा ०१९।२।२७ गते डाँकाको वारदात भए नभएको के रहेछ भन्ने तर्फ सर्वप्रथम हेरेमा २५ जनाको जमात भई धारिलो हतियारले मेरो हातको बुढी औला र चोर औंलामा काटी लाठी फट्टाले कुटपिट समेत गरी वारदात भए गरेको भन्ने निज रामचन्द्रको जाहेरी भएको, सो कुरा मौका सर्जमिनबाट समर्थन भएकै र निज रामचन्द्रको घर जाँच हुँदा काटिएको घाउ समेत भए परेको देखिएको प्रमाण समेतबाट डाँकाको वारदात भएकै सिद्ध हुन्छ ।
३६. को को भई सो डाँकाको वारदात गरेका रहेछन भन्ने तर्फ अभियुक्त निवेदक लक्ष्मण राउत, शुकदेव राउत, लगन राउत, मखु भन्ने भवलमिया, सहमत मिया, असिम मिया, कौवा भन्ने दिनदयाल राउत, लक्ष्मीमहतो कोइरी, काशी राउत समेत ९ जनाको हकमासम्म निजहरूले कसूर गरे नगरेको अहिले यस बेञ्चबाट मुख्यतया विचार गर्नुपर्ने भएको छ ।
३७. यस्मा ०१९।२।२७ मा डाँकाको वारदात भएको व्यहोरा देखाई रामचन्द्रले दरखास्त गरेको ढिलो भयोभन्ने बहस गरेकोमा जाहेरवालाले गर्ने वारेमा यति समयभित्र जाहेर गर्नुपर्छ भन्ने स.मु.स.ऐन, २०१७ मा लेखेको देखिंदैन, जतिसक्यो उतिचाँडो प्रहरीहरूले खवर पाएमा मात्र यथाशीघ्र मौका तहकिकात उक्त ऐनको ३(४) बमोजिम हुनसक्छ । चोरीको ७ नं. को ऐनमा ७ दिनभित्रको म्याद लेखिएको छ, सो म्याद भित्रै उक्त दरखास्त परेको देखिन्छ ।
३८. जाहेरवाला मुख्य गवाहको सुरु दरखास्तमा सबूद प्रमाण खुलाई लेखेको हेरी मौका तहकिकात गर्ने हुनाले दरखास्तवालाले सुरु दरखास्तमै प्रमाण खुलाउनु पर्ने कुरा उक्त ऐनको दफा ३(१) मा प्रष्ट छ ।
३९. जाहेरवाला रामचन्द्रको दरखास्तमा जिकिर गरेको कुरालाई नै प्रमाण मान्ने हो भने जाहेरवाला मुख्य गवाह र श्री ५ को सरकार त्यसैको आधार लिई वादी बनेपछि जाहेरवालाको भनाईमा नै निजले भनेजस्तै हुने हुन्छ । त्यतिमा मात्र यो सीमित नरही जाहेरवालाले भनेको बिषयबस्तु समर्थन गर्न निमित्त मौका तहकिकात हुनजान्छ । त्यस्तो प्रहरीले गरेको सर्जमिनहरूमा अदालत रहेको हुँदैन । अदालतले आफुले ठहर गर्न आफैले प्रमाण संकलन जाँच गर्नसक्छ । प्रहरी प्रतिवेदनको गवाहलाई अदालतले बुझ्नु पर्ने तरिका अ.बं.को १४१ नं. मा लेखिएको छ । उक्त ऐनअनुसार डाँका मुद्दामा देख्ने गवाहलाई अदालतमै ल्याई बकाउनु हुन्छ । त्यस्ता प्रमाण नबुझेर किनारा भएकोले तहतह पिच्छे बेगल बेगल बुँदामा लक्ष्य राखेर यस मुद्दामा फैसला भएकोले शुद्ध न्याय गर्ना निमित्त यस फुल बेञ्चबाट पनि सबूद संकलन गर्नु परेको छ । अघिल्ला तहबाट प्रमाणको आवस्यकता र महत्व बुझेको भए मुद्दाको निर्णय शिघ्र हुने आशा थियो । प्रमाण बारे जाहेरी दरखास्त मौका तहकिकातको मुचुल्का अरु भेटेसम्मका चीज र प्रमाणबाट तथ्य पत्ता लगाउनु पर्ने हो प्रमाण भनी देखाएको सो कुरा नै मुख्य प्रमाण होे भनी अन्तिम निर्णयमा मान्न भन्न सकिन्छ पहिले नै तहकिकातमा प्रमाण संकलन गर्न केही संकोच मान्नु हुँदैन ।
४०. श्री ५ को सरकारतर्फबाट अभियुक्तहरूले अदालतमा मुद्दा के केबाट पुष्टि हुन्छ त्यस्ता व्यक्ति वा चीज सामान पनि अदालतलाई जाँच्न दिनुपर्छ । त्यस्तो नगरी अदालतले गवाही पठाई दिनु भनी लेखेकोमा पनि अघि सर्जमिनमा बकी सकेको भनी जवाफ पठाएकोले प्रमाण पुर्याउन आनाकानी गरेको देखिएकै छ ।
४१. अभियुक्तहरू मध्ये भलुवाईमा थिएँ भनी लक्ष्मण राउतले चकिया अस्पतालमा थिएँ भनी मखुले पोटायाहीमा थिएँ भनी काशीले बसबिटामा थिएँ भनी सहमतले भैरहवामा लगन राउतले, मुरलीमा आशानले, विश्वम्बरपुरमा लक्ष्मी महतो काइरीले, र गाँउ घरमा दिनदयाल र शुकदेवले वारदातको समयमा थिएँ भनेकाले घटनास्थलमा थिएनौं भनी इन्कार गरेका छन । एकैसमयमा दुइ ठाउँमा एकै व्यक्तिको उपस्थिति रहनसक्दैन, अभियुक्तलाई घटनामा सामेल थियो भनी प्रमाण पेश गर्नुको मतलव नै अरु ठाँउमा थिएनन् भन्ने हो अभियुक्तहरूले घटना गरेका हुन भन्न अभियुक्त घटनामा सामेल छन भनी देखाउनु पर्छ । त्यस्तो उपस्थिति वादीले खासगरी फौजदारी मुद्दामा प्रमाणित गर्नुपर्छ । त्यहाँ थिएन भनी अनुपस्थिति अभियुक्तले देखाएकोमा अन्यत्र कतै म थिएँ भनी भनेको हुन्छ र अन्यत्र कहाँ रहेछन् वा घटनामा सामेल रहेछ नै भनी २ ठाउँ देखाए पनि घटनामा थिए वा थिएनन् भनी निर्णय हुन्छ । अन्यत्र थिएँ भनी अभियुक्तले भनेकोमा सावित गर्ने प्रमाणमा हानी भयो भने वारदातमा थियो भन्ने प्रमाणमा पुष्टि हुनजान्छ
४२. स.मु.स.ऐन, २०१७ को दफा ३ अनुसार प्रतिवेदन पर्न आएकोमा प्रहरी र अभियुक्तको राय मिलेको देखिएन भने पुनः तहकिकात गर्नलाई उक्त ऐनको नियमा ११ मा लेखिएको छ । सरकारी मु.स.ऐनको दफा ३ को उपदफा ६ मा पुनः तहकिकात गरी मुद्दा चलाई इन्साफ गर्न पाउने देखि अ.बं.८८ नं. बमोजिम प्रहरी प्रतिवेदन पर्नसक्छ वा अदालतमा कारवाई गर्दा गर्दै अ.बं.१३९ नं. बमोजिम पेटबोलीबाट बुझ्न सकिन्छ । यस्तो अवस्था नपरी पुरा तवरले इन्साफ गर्न पुनःतहकिकात नगरी प्रहरी प्रतिवेदनमा मुद्दा नचलाउने भनिएका व्यक्तिउपर अदालतबाट मुद्दाचलाएको मनासिव देखिँदैन । जुन कागज सबूदबाट अभियुक्तहरूले एकैमत गरी मुद्दा नचलाउने भनेकै हुन्छ, त्यसैबाट अदालतले मुद्दा चलाएको रहेछ ।
४३. निजहरू ९ जनाको हकमा भित्र बालेको लाल्टेन र डाँका दलले बालेको टर्चको उज्यालो समेतबाट मौकैमा चिनेको भन्ने मुख्य गवाह रामचन्द्रको जाहेरी र वारदात भएको ठाँउमा सुतेको रामरुपको गोलाबाट १०।११ हात फरकमा हुँदा आफ्नो हातमा भएकोलाईट बाली हेर्दा पहिचान गरें भन्ने भिरवारि सा कानु, भरवारचन उजूरवालाका धानको भखारीमा सुती रहेको, लक्ष्मण, मखु कौवाले हामीहरूलाई घेरा दिई राखेका थिए । लाल्टेन बाली रहेकोबाट चिन्यौं पछि डाँका भाग्ने टायममा मटुकको घरनिरबाट हेर्दा ९ जनालाई चिन्यौं भन्ने खलिल मियाँ डाक्टरलाई बोलाउन आएको उजूरवालाको घर पछाडि आउँदा धेरै उज्यालो देखी डरले रामरुप सा तेलीको दोकानको दक्षीण तर्फ देवे सुवा दुसाद, लक्ष्मी सुरत कोईरीलाई डाँकाहरूकोलाईटको उज्यालेले चिनें भन्ने खटेरु कोइरी डाक्टर राम बाबुकहाँ दबाई दिन गएको उजूरवालाको घर नेर पुगेपछि प्रतिवादी सवैलाई चिनें भन्ने शिवनन्दन अहिर, म हल्ला सुनी रामचन्द्रको बसारमा आएँ, लक्ष्मणलेलाईट बाली डाँका गरेको सामान साथीहरूलाई देखाउन लागेको उसैले बालेकोलाईटको उज्यालाले मखु मिया सहमत मिया, कौवा राउत, काशी राउतलाई चिनें भन्ने हरिहर सा कानु, डाँकाको हल्ला सुनी लक्ष्मीप्रसादको घर ढोका नेर पुग्दा फाटकबाट टर्च बाली हेर्दा सवै प्रतिवादीहरूलाई चिनें भन्ने जगरनाथ सा तेली ९ जनालाई चिनें भन्ने रामऔतार कानु, डाँका परेको हल्ला सुनी आउँदा लक्ष्मणको वा.शुकदेवालाई लक्ष्मणले बालेकोलाईटको उज्यालोबाट चिनें भन्ने राम आज्ञामहतो, काशी लगन लक्ष्मीलाई चिने भन्ने रामेश्वर साहू भोलीपल्ट विहान पञ्चायती हुँदा लक्ष्मण राउत, लगन राउत, काशी राउत, सहमत मिया, मखु मिया ५ जवान डाँका गर्न गएको भनी उजूरवालाले भनेको भन्ने मिश्रीलाल भौजीलाल कानु, अजिम देवान, शुखल देवान, खेलावन महता लक्ष्मण समेतले मौका सर्जमिनमा लेखिदिएको समेत रहेछ ।
४४. ति सर्जमिनहरू मध्ये रामऔतार काउँको हकमा चिने भनेको ९ जना को को हुन नाम खुलाउन नसकेको र जगरनाथ रमेसर २ जनाको हकमा यस अदालतमा बकपत्र गर्दा हामीले देखेचिनेको होइन सर्जमिनमा सिकाई लेखाएको हो भनी सर्जमिनको आफ्नो भनाई लाई आफैले समर्थनगरेको हुँदा निजहरूले सर्जमिनमा लेखिदिएको कुरा प्रमाणिक मान्न भएन ।
४५. अब मुख्य गवाहा र अरु सर्जमिनहरूको भनाईमा के कति सत्यता छ भन्ने कुरा हेर्न पर्यो, भिखारी साहू, खेटरु महतो, शिवनन्दन अहिर, हरिहर सा कानुहरूले यस अदालतमा बकपत्र गर्दा समेत मौकामा देखे चिनेको भनेको भए पनि शिबनन्दनको हकमा सर्जमिनमा छोरा बेरामी भएकोले डा.रामबाबु कहाँ दवाई लिन गएको भनेको यस अदालतमा बकपत्र गर्दा छोरी बेरामी भएकोले दवाई लिन आएको भनेको र हरिहर साको हकमा सर्जमिनमा म हल्ला सुनी रामचन्द्रको बसारामा आएँ, लक्ष्मणलेलाईट बाली डाँका गरेको सामान आफ्नो साथीहरूलाई देखाउन लागेको उसैले बालेको टर्चको उज्यालोले चिनें भनेको यस अदालतमा बकपत्र गर्दा डाँकुहरू पश्चिम द्वारबाट बाहिर निस्कि सकेका थिए, द्वारको भित्र सामान उठाउन लागेको बेला लक्ष्मण र अरु १।२ जना मानिसले बालेको टर्चको उज्यालोले पहिचान गरें भनेको समेत भई निजहरूको आफ्नै भनाई मेल नआई परस्पर बिरोध भएको पाइन्छ । खटेरुको भनाईमा म डाक्टरलाई बोलाउन आई रहेको उजूरवालाको घर पछाडि आउँदा धेरै उज्यालो देखी डरले रामरुप साको दोकानको दक्षिण तर्फ दवे भन्ने छ । त्यस्तो धेरै उज्यालो हुने अरु कुनै बत्ति बालेको थियो भन्ने अरु कतैबाट देखिएको छैन । हरिहर सा रामआज्ञा समेतको भनाईमा हामी हल्ला सुनी आएको भन्ने भएको तर सो डाँकाको वारदातमा घरधनी समेत कसैले कराई चिच्याई त्यस्तो हल्ला भए गरेको थियो भनी अरु कसैले भनेको पाईंदैन । डाँकाहरूले बालेको उज्यालोबाट डाँकाहरूलाई चिनेको भने मुख्य गवाह रामचन्द्र र खेटेरु हरिहर सा समेतको भनाईका हकमा पनि पानी परिरहेको भन्ने भएको अध्यारो रातको टायम त्यसरी डाँकाहरूले नै बालेकोलाईटको उज्यालोबाट डाँकाहरूलाई चिन्न सकिने अवस्था देखिन आउँदैन । भिखारीले राम सरुपको गोला घरको बसरा बाहिर सडकको बगलमा थिएँ भनेको छ । नक्सा हेर्दा गोलाघरको पूर्वतर्फ मात्र खुला भई बसारा रहेको देखिन्छ । निजको बकपत्रको ५ सवालको जवाफमा निज सुतेको गोलाघर देखि रामचन्द्रको घर १०।१५ हात उत्तरमा पर्छ भनेको नक्साबाट गोलाघरको उत्तरमा मटुकको घर र त्यसदेखि उत्तर रामचन्द्रको घर देखिन आएको त्यसबाट निजको भनाई भन्दा बढता दुरीमा उक्त घर भएको प्रष्ट हुने हुनाले बीचमा मटुकको घरले छेकी राखेको समेत त्यस्तो ठाउँबाट हेरी भाग्न लागेको डाँकाहरूलाई देखे चिनेको भन्ने कुरा प्रतितलायक मान्न सकिन्न । मुख्य गवाह रामचन्द्रको दरखास्तमा डाँकाहरूलाई लखेट्दा पश्चिम तिर भागे भन्ने भएको, तर अरु कसैको भनाईमा पनि डाँकाहरूलाई लखेट्दै गएको भन्ने देखिएको र डाँकाहरूले लिएका हान्ने हतियार र मुखमा कालो लगाएको भन्ने बिषयमा बिभिन्न पृथक पृथक भनाई भई मिल्न नआएको । भोलिपल्ट बिहान पञ्चायती हुँदा लक्ष्मण, लगन, काशी सहमत मखु ५ जनाको नाम उजूरवालाले भनेको थियो भन्ने मिश्रिलाल, मौजीलाल अजिम, सुखल खेलावन, लक्ष्मण समेतले मौका सरजमिनमा लेखिदिएको हकमा पछि अदालतमा बकपत्र गर्दा मौजलाल, सुखल, खेलावन ३ जनाले पञ्चायत भएको थाहा छैन भनेको र मिश्रिलाल, लक्ष्मण २ जनाले पञ्चायत भएकोसम्म भने पनि उजूरवालाले ५ जनाको नाम भनेको थियो भन्न नसकेकोबाट निजहरूले सरजमिनमा लेखिदिएको कुरा निजहरूकै बकपत्रबाट समर्थित नभएकोलेसमेत र जाहेरवाला रामचन्द्रको दरखास्तमा मौकामा देख्ने भनी प्रमाण खण्डमा लेखेको बिबिचन सा तेलिले लक्ष्मण अहिर शुकदेव, दिनदयाल अहिर लक्ष्मी कोइरीले डाँका गरेको देखिन भनी अदालतमा बकपत्र गरेको समेत कारणहरूबाट मुख्य गवाह रामचन्द्र र अरु सरजमिन समेतको उपरोक्त मलाई सत्य साँचो देखिन आएन ।
४६. अभियुक्त लक्ष्मण, मखु भन्ने मवल, शुकदेव, काजी राउत, लगन राउत, सहमत मियाँ, लक्ष्मी महतो कोइरीहरूले सुरुले कसूरदार ठहराएको इन्साफमा पुनरावेदन नगरी चित्त बुझाई बसेका भन्ने हकमा पुनरावेदन दिने म्याद गुज्रेको थामिपाउँ भनी निजहरूले श्री ५ महाराजाघिराजका हजुरमा चढाएको निवेदनपत्रमा म्यादगुज्रेको ७५ दिनभित्रको दोश्रो पटकको यो निवेदन दिएकेमा रु.४ का दरले जरिवाना गरी म्याद थामी जनाउ दिई अपील लिई ऐनबमोजिम गर्नु भन्ने ०२१।३।१२।५मा हुकुमको प्रमांगी बक्सभएको सो प्रमांगीको जनाउ तामेल गर्न ०२१।११।८ मा मात्र अ. रुद्रप्रसादलाई बुझाएको तामेली नआउदै ०२१।११। २०।४ मा नारायणी अञ्चल अदालतबाट फैसला भएको समेत देखिएकाले यस स्थितिमा निजहरूले सुरुको इन्साफमा पुनरावेदन नगरेको भन्ने तर्क उठाउनु मुनासिव देखिँदैन ।
४७. तसर्थ उपरोक्त उल्लेख गरिएको कारणहरूबाट निवेदक अभियुक्त लक्ष्मण राउत, शुकदेव राउत, लगन राउत, मखु भन्ने मवल मियाँ सहमत मियाँ, आसिन मियाँ, कौवा भन्ने दिनदयाल, राउत, लक्ष्मी महतो कोइरी, काशी राउतसमेत ९ जनाको हकमा निजहरूले डाँका गरेको प्रमाणित हुन नआएको हुँदा निजहरूलाई रिहाई दिनेगरी ०२१।११।२०।४ मा नारायणी अञ्चल अदालतले छिनेको इन्साफ मुनासिव ठहर्छ । निजहरूको कसूर ठहराएको सम्म ०२४।४।६।६को डि.बे.को इन्साफ मिलेको देखिएन । अरु तपसीलबमोजिम गर्नु ।
तपसील
देहायका मानिस कै कलैया ईं.अ.को ०२०।९।३०।३ का फैसलाले जनही कैद वर्ष ६ दण्ड रु. १४८३९।२३ का दरले सो दण्ड कैद नारायणी अञ्चल अदालतको ०२१।११।२४।४ का फैसलाले नलाग्ने लगत कट्टा गरी दिने गरेकोमा डिभिजन बेञ्चको ०२४।४।६।६को फैसलाले उक्त अञ्चलका फैसला बमोजिम लगत काट्नु पर्दैन सुरुको फैसला बमोजिम लगत कायम राख्नु भनी लगत दिएकोमा उक्त डिभिजन बेञ्चको फैसला बमोजिम गर्नु पर्दैन । ०२१।११।२४।४ को नारायणी अञ्चल अदालतको फैसला बमोजिम सुरु फैसलाको लगत काटी दिनु भनी वारा जि.अ.मा लेखी पठाउन समेत का.श्रे.अ.त.मा लगत दिनु …………………१
लक्ष्मण राउत अहिर १ शुकदेव राउत अहिर १ लगन राउत अहिर १ कौवा भन्ने दिनदयाल राउत १ लक्ष्मी महतो कोइरी १ मखुभन्ने मवल मियाँ १ काशि राउत अहिर १ सहमत मियाँ १ आसिन मियाँ १
मुख्य गवाह रामचन्द्र कलबार के डिभिजन बेञ्चको ०२४।४।६।६ को फैसला बमोजिम प्रतिवादी लक्ष्मण राउत अहिर १ शुकदेव ऐ १ काशी १ ऐ लगत ऐ १ मखु भन्ने मवल मियाँ १ सहमत मियाँ १ आसिन मियाँ १ कौवा भन्ने दिनदयाल राउत १ लक्ष्मी महतो कोइरी १ समेत ९ जनाबाट भराई दिने गरेको बिगो रु.९८९२।८१।२ भराउन नपर्ने हुँदा लगत काटी दिनु भनी ऐ………………२
हाल का.का.मार्फत थुनामा रहेको देहायका प्रतिवादीहरूलाई तुरुन्त छाडीदिनु भनी उक्त का.लाई लेखी पठाइदिनु …..३
कौवा भन्ने दिनदयाल राउत १ लक्ष्मण राहत आहिर १ कासी राउत अहिर १ लक्ष्मी महतो कोइरी १ लगन राउत अहिर १ शुकदेव राउत अहिर १ आसिन मियाँ १
देहायका साक्षीहरू कै कलैया ई.अ.को ०२०।९।३०।३ का फैसलाले जनही रु.१५०। का दरले गरेको जरिवाना नारायणी अञ्चल अदालतको ०२१।११।२०।४ को फैसलाले नलागे लगत कट्टा गरी दिने गरेकोमा सो बमोजिम गर्नु पर्दैन सुरु फैसला बमोजिम लगत कायम राख्नु भनी डिभिजन बेञ्चको ०२४।४।६।६ को फैसला बमोजिम लगत दिएकोमा उक्त डिभिजनको फैसला बमोजिम गर्नु पर्दैन । नारायणी अञ्चलको ०२१।११।२०।४ को फैसला बमोजिम सुरु फैसलाको लगत काटी दिनु भनी का.श्रे.अ.त.मा लगत दिनु …………….४
जि. वारा. प्र.वनियापुर मौने गञ्ज भवानीपुर बस्ने काशीस मियाँ देवान १ ऐ ऐ बस्ने मुगालाल तेली १ ऐ ऐ मौजे मलहनी बस्ने मंगलप्रसाद कानु १ ऐ ऐ मौजे गञ्जभवानीपुर बस्ने शुकदेव राय कलवार १ ऐ ऐ बस्ने बन्हुराम कलवार १ ऐ ऐ बस्ने लाल अहमद मियाँ १ ऐ ऐ जतुल देवान १ ऐ ऐ मौजे दहियार बस्ने नारायण सोनार १ ऐ ऐ मौजे जन्जभवानीपुर बस्ने रुदल सा कलवार १ ऐ ऐ बस्ने जसुकानु १ ऐ ऐ बस्ने लाखी अहिर १ ऐ प्रखे मौजे बिसम्भपुर बस्ने रामजिवन कोहरी १ ऐ बस्ने शुकदेव कोइरी १ ऐ प्र.ठो मौजे मुडली बस्ने जोखुमियां धामी १ ऐ ऐ बस्ने नैबुदिन मियाँ भन्ने ठाहो मियाँ १ ऐ ऐे बस्ने राजमहमद मियाँ १ जि. प्र.प.सी. मौजे मलुऔहिया बस्ने श्यामलाल यादव १
देहायका साक्षीहरूकै झुठ्ठाबकेमा अ.बं.१६९नं. बमोजिम जनही रु.५। का दरले जरीवाना हुन्छ असूल गर्ने ए ऐ…..५
जि.वारा प्र.बरियापुर मौजे गञ्जमवानिपुर बस्ने भिखारी साहू१ ऐ खेश्रा मौजे विजुलपुर कोइरिया बस्ने भिखारी साहू१ ऐ बरियातुर मौजे गञ्जभवानीपुर मौजे गञ्जभवानीपुर बस्ने शिबनन्दन अहिर१ ऐऐ बस्ने हरिहर साकानु १
बक्स भइरहेको हु.प्र.बमोजिम नतिजा जाहेर गरी नियमबमोजिम मिसिल बुझाई दिनु………………….६
मा.न्या.श्री धनेन्द्रबहादुर सिंहको सर्मथन
म सहमत छु ।
मा.न्या.श्री हेरम्बराजको सर्मथन
म सहमत छु ।
इति सम्वत् २०२६ साल वैशाख २४ गते रोज ३ शुभम् ।