April 15, 1969
Created by nepalarchives

निर्णय नं. ४७७ – अंश

निर्णय नं.  ४७७    ने.का.प. २०२६ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री रत्नबहादुर बिष्ट न्यायाधीश श्री नयनबहादुर खत्री २०२५ सालको दे.फु.नं. ५४ निवेदक...

निर्णय नं.  ४७७    ने.का.प. २०२६

फुल बेञ्च

प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह

न्यायाधीश श्री रत्नबहादुर बिष्ट

न्यायाधीश श्री नयनबहादुर खत्री

२०२५ सालको दे.फु.नं. ५४

निवेदक : बिजुली बुढाथोकीनी क्षेत्रीनी सल्यान ५ गाँउ मार्के

विरुद्ध

विपक्षी : प्रचण्डप्रताप सिंह बुढाथोकी क्षेत्री ऐ.ऐ.

मुद्दा : अंश

(१)   अंश मुद्दा चल्दा चल्दैको अवस्थामा गरिदिएको छोडपत्र लिखत सदर हुने ।

            छोडपत्र लिखत यो अंश मुद्दा चल्दा चल्दैका अवस्थाको भएकाले सदर हुने नहुने के हो ? भन्ने तर्फ हेर्दा मुद्दा फैसला नहुदै अंश दिने पाउने पक्षहरू बीचमा केही अंश लिनु दिनु समेत गरी यस्तो लिखत पास गरी लिनु दिनु गर्न नहुने, कानूनले बन्देज गरेको देखिन आएन । वादी सतमाया ज्यापुनी प्रतिवादी लक्ष्मीदेवी तुलाधर्नी समेतको दे.फु.२१३ को अंश मुद्दामा पनि मुद्दा चलिरहेकै अवस्था वादी पक्षले गरिदिएको छोडपत्र लिखत सदर हुन्छ हुदैन भन्ने यस्तै प्रश्न उठेकोमा मुद्दा परिरहेको अवस्था यस्तो लिखत गर्न हुँदैन भन्ने कानूनी व्यवस्था नभएकोले उक्त छोडपत्र लिखतलाई कानूनले सदर मान्नु पर्ने देखिन्छ भन्ने ठहर गरी ०१९।१२।९।६ को फुल बेञ्चबाट निर्णय भइराखेको देखिएको, त्यसमा असहमती हुने ठोस कारण कुनै देखिन नआएको समेत हुँदा उक्त छोडपत्र लिखत सदर नहुने भन्न भएन ।

(प्रकरण नं. ११)

(२)   तत्काल अंशबण्डाको ५१ नं.अंशमा चित्त नबुझ्नेले लिखत पास भएको ३ महिनाभित्र छुट्टै उजूर गर्नुपर्ने व्यवस्था चित्त नबुझेको भन्ने बिरोध दर्शाउँदै अंशबाट त्यसतर्फ विचार गर्न  नमिल्ने ।

            उक्त छोडपत्र लिखतबाट अंशमा घटिबढी परेको अथवा अन्य कुनै कारणले अंशमा चित्त नबुझेको समेत भए तत्काल प्रचलित अंशबण्डाको ५१ नं. बमोजिम उक्त लिखत पास भएको मितिले तिन ३ महिनाभित्र छुट्टै उजूर गर्नुपर्ने कानूनी व्यवस्था भइराखेको कुरामा चित्त बुझेन भनी यो मुद्दामा बिरोधसम्म दर्शाउँदैमा त्यसतर्फ यस मुद्दाबाट विचार गर्न मिल्ने पनि देखिंदैन ।

(प्रकरण नं. १२)

उल्लेखित मुद्दा : सतमाया वि.लक्ष्मीदेवी तुलाधर्नी, मुद्दा : अंश (सि.नं.१ दे.फु.मु.नं.१२३ फु.बे.)

फैसला

     मा.न्या. रत्नबहादुर बिष्ट

      १.     ससुरा जहरसिंह परलोक हुनु भएको निजकी माहिली स्वास्नी पदमकुमारीका छोरा जेठा प्रचण्डप्रताप माईला हुकुम सिंह, साईला रुद्र सिंह, कान्छा तोलासिंह एकासगोलमा रहेकोमा मेरा खसम हुकुम सिंह २००९ सालमा परलोक भई बिधुवा भएपछि निजहरूकै साथ सगोलमा बसेको थिएँ । ०१३ सालमा अंशबण्डा गरी सासु पद्मकुमारी र माहिला कान्छा देवर बेग्लै बसेका र जेठाज्यू प्रचण्डप्रताप सिंहले मलाई सगोलमा राखी व्यवहार चलाइरहेको मलाई खान लाउनको राम्रो हेरविचार नगरी २०१८ साल जेष्ठदेखि निक्लि भनेकाले अंश देउ भन्दा टारवार गरी अंश दिन्न भनी जवाफ दिएकोले मैले पाउने अंश आधि दिलाई पाउँ भन्नेसमेत बिजुली क्षेत्रीनीको २०१५।६।२१ को फिराद ।

      २.    आफ्नै घरमा बसी सम्पत्ति वा लापरवाही नगर्ने गरी लागेको ऋण धन सवै फिरादीलाई अंशबण्डा गरी दिन मेरो मञ्जुर छ । अंश दिन्न भनेको र घरबाट निकालेको समेत होईन स्वार्थसिद्ध गर्नकोलागि निजको बावुको भनाईमा लागी झुठ्ठा उजूर गरेका हुन भन्नेसमेत प्रचण्डप्रताप सिंह क्षेत्रीको प्रतिवादी ।

      ३.    हाल अंश बुझी वादीले छोडपत्र गरिदिएको भन्ने प्रतिवादीले हुलाकद्वारा सक्कल छोडपत्र निवेदनसाथ पठाएकोलाई मुद्दा पर्दा पर्दैको व्यवहार सदर हुन नसक्ने समेत हुँदा वादीले रु.१८४३७।७७ को चल अचल श्रीसम्पत्ति प्रतिवादीबाट अंश पाउने ठहर्छ भन्नेसमेत सल्यान इलाका अदालतको २०२१।५।२२।१ को फैसला ।

      ४.    वादीले अंश बुझी लिई छोडपत्र गरी दिइसकेकोले यो मुद्दाबाट निजलाई फेरि अंश दिने ठहराई सुरुले गरेको ईन्साफमा चित्तबुझेन भन्नेसमेत प्रचण्डप्रताप सिंहको पहिलो अपील ।

      ५.    अंश मुद्दा मुल्तवी रहेको अवस्थामा तपाई जेठाज्यू प्रचण्डप्रताप सिंहसँग बण्डा गरी मैले पाउने अचल घर जग्गा र श्रीसम्पत्ति गैह्रमा मेरो अंश हक दावी छोडी दिन्छु भनी भन्दा सो बमोजिम गर्नमा तपाईको मञ्जुर भई तपसीलका घर जग्गा मलाई दिई अंशको कागज लेखी दिनु भएकोले अरु श्रीसम्पत्ति गैह्रमा मेरा अंश हक दावी छाडी दियाँ, लागेको ऋण कर्जि समेत तपाईले नै तिरी एकलौटी भोग चलन गर्नु, पछि मेरो अंश बाँकी छ भनी मैले र खतिउपति बेहोर्नु पर्छ भनी तपाईसमेत हामीसमेत कसैले उजूरगर्न पाउने छैनौ, गरे यसै कागजले बदर गरिदिनु भनी अंश हक छोडेका छोडपत्र लेखी का. रजिष्ट्रेशन मार्फत २०१९।१०।६।४ को छोडपत्रबदर हुन्छ वा सदर हुन्छ कानूनी व्यवथा पाईंदैन तापनि साविक अंशबण्डाको ५१ वर्तमान अंशबण्डाको ३२ नं. ले चित्त नबुझे ३ महिनाभित्र उजूरी गरी बदर गराउन पर्ने बदर गराएको पनि देखिनआएन । उक्त लिखत गरिदिएको छैन भनी विपक्षीले भन्न नसकेकोमा सुरुले जालसाजी ठहराएको र अघिको तायदातीबमोजिम वादी अंश भराई दिनेगरी छिनेको गलतठहर्छ भन्नेसमेत ०२२।४।१८।२ राप्ती अं.अदालतको फैसला ।

      ६.    ऐन विरुद्धको छोडपत्र लिखत प्रमाण लिन नहुनेमा लिई अन्यायपूर्ण फैसला भएको समेत हुँदा अञ्चल अदालतको ईन्साफमा चित्त बुझेन भन्ने वादीको पुनरावेदन ।

      ७.    वादी र प्रतिवादीहरू एकासगोलका जेठाजू बुहारी हुन र अंश पाउने अधिकार पनि थियो भन्ने कुरामा वाद विवाद नरही मुख्य विवाद अंश मुद्दा दायर भएपछि अंश लिन भरपाई गरिदिएको सदर हुन्छ हुँदैन भन्नेसम्म देखिएकोले सो प्रश्नको निर्णय दिनु पर्ने हुन आयो । त्यसतर्फ जेठाजु प्रचण्डप्रताप सिंहबाट अंश दिलाई पाउँ भनी १५।६।२३ मा प्रस्तुत नालेश परेको निर्णय नहुँदै मैले पाउने अंश मध्ये चल जति मेरो अंश भाग बण्डा गरी बुझी लिइसकेको र अचलमा तपसीलको घरजग्गामात्र अंश लिई अरु ऋण धनमा दावी छोडी दिएँ भनी मिति २०१९।१०।३।४ मा काठमाडौं रजिष्ट्रेशन अड्डामा पास गरी वादीले प्र.लाई अंशको छोडपत्र कागज हुनु गर्नु अवैधानिक भन्नभएन र त्यस्तो वैधानिक देखिएको सो कागज झुक्याई वा कुनै किसिमले वादीको मञ्जुरी र इच्छा बेगर भएको भए ऐनबमोजिमको उजूर हुनुपर्ने, सो नभएकोले दुवै थरको मञ्जुरीले भएको पनि सिद्ध हुन आयो । सो कागजमा चल धनमालको फाँट जग्गाको ४ किल्ला नखुलेकोले बेरीतको कागज सदर नहुने भन्ने वादीपक्षका वि.वकिलले बहस गर्नुभएकोछ तापनि त्यस किसिमको कानूनी व्यवस्था नभएको बहस तथ्यपूर्ण भन्न नमिल्नेसमेत भई २ थरका मञ्जुरीले पास गरिलिए दिएको कागज बदर हुन नसक्ने र सो कागजबाट वादीले पाउने अंश लिइसकेको देखिएकाले पुनःवादी दावीबमोजिम अंश दिलाउन भराउन नपर्ने हुँदा अंश दिलाउन नपर्ने गरी छिनेको इन्साफ अं.अ.को मुनासिवछ भन्ने डि.बे.को ०२३।१।३०।५ को फैसला ।

      ८.    सो इन्साफमा चित्त बुझेन दोहर्‍याई पाउँ भन्ने वादीको निवेदन परेकोमा न्यायिक समितिबाट जालसाजी मुद्दामा अपील परी आएको अवस्था अंश छोडपत्र भएको जुन २०१९।१०।३ को छोडपत्रको प्रश्न छ, त्यसमा निवेदक वादीले चित्त बुझाएको देखिएन । मुद्दा दायर रहेको बखत अंश लिनु दिनु छोडपत्र गराउनु हुँदैन भन्ने ऐनमा नलेखिएको भन्ने हकमा त्यस किसिम मुद्दा दायर रहेको बखत सोही मुद्दाभित्रको बिषयमा असर पर्ने गरी मुद्दा परिरहेको अदालतको क्षेत्र बाहिर कागज गराउनु हुन्छ भन्ने पनि ऐनमा व्यवस्था भएको पाइदैन । अंश मुद्दा नै दायर छंदैछ भने अर्को उजूर गरी रहन जरुरत नपरी जुन कागजमा चित्त बुझेको छैन सो कागजलाई बिरोध दर्शाई दिए पुग्नेमा मुद्दा नछाडी बिरोध दर्शाइरहेकै देखियो । त्यसकारण फेरि छुट्टै उजूर गरी रहने अवस्था पनि देखिंदैन । उक्त छोडपत्रमा रीतपूर्वक सवै ऋण धन देखाएको छैन । यस्तो कागजलाई रीतपूर्वकको वा मिल्दोजुल्दो अवस्थामा भएको कागज हो भन्न मिलेन । अंशबण्डाको ३२ नं. मा अंशबण्डा गर्दा ऐनबमोजिम गरिदिनुपर्छ घटी बढी गर्नु हुँदैन भन्ने लेखिएको छोडपत्रको व्यवहारबाट घटी बढी भन्ने प्रष्ट देखिएकै छ । धेरै सम्पत्तिमा थोरै दिई छोडपत्र गराएकोबाट नरम गरम मिलाएको भन्न भएन । घर जग्गाको चौतर्फी किल्ला उब्जनी मोल बिगो इत्यादि खुलाउनु पर्ने सो पनि खुलाएको देखिंदैन । जालसाजी मुद्दामा तायदातीमा नभएको साहू देखाई जलसाजी साहू देखाएकै ठहरी अञ्चल अदालतले गरेकोमा प्रतिवादीको पुनरावेदन सर्वोच्च अदालतमा दायर रहेको बखत सो छोडपत्र लिखत गरेको त्यसले जालसाजी मुद्दामा भएको निर्णयलाई असर पारेको देखिन आएको समेतबाट सम्बन्धित मुद्दाहरू दायर छंँदै सो कुरा दबाई परिरहेको मुद्दामा असर पारी बेरीतसँग गरेको छोडपत्रलाई अदालतमा भएको मिलापत्र सरह वादीले पाउने अंश लिइसकेको कानूनी नै हो, सर्वोच्च अदालतको निर्णय मिलेकै छ भन्न कानूनी र न्यायिक दृष्टिबाट समेत मिल्ने देखिएन । दोहर्‍याउन आदेश बक्सनु पर्ने भनी सिफारिस गरेको जाहेर हुँदा श्री ५ महाराजाधिराजबाट नेपालको संविधानको धारा ७२ को (ख) अनुसार उक्त मुद्दा दोहर्‍याई दिनु भन्ने हुकुम बक्सेको छ भनी मौसूफका प्रमुख सचिवालयबाट लेखी आएको ०२५।२।२७।१ को हुकुम प्रमांगी । बक्स भइआएका हु.प्र.बमोजिम गर्ना निमित्त नियमको रीत पुर्‍याई लगतमा दर्ता गरी मिसिल झिकाई दुवैपक्ष राखी फू.बे.मा पेशगर्नु र त्यसको अन्तिम निर्णय भएपछि त्यस्तो निर्णयको दुइप्रतिलिपि जाहेर गर्न श्री ५ महाराजाधिराजका प्रमुखसचिवालय राजदरवारमा जनरल विभागमार्फत पठाइदिनु भन्ने ०२५।३।३।१ को मा.प्र.न्यायाधीशज्यूबाट भएको आदेश ।

      १०.    यसमा तारिखमारहेका निवेदकवादीको वा. ज्ञानेन्द्रबहादुर र विपक्षीप्रतिवादी प्रचण्डप्रताप सिं बुढा रोहवरमा रही ०२५।१२।२२।६ मा पेशभई निजहरूको जिकिर समेत सुनि आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत मुद्दामा अंश मुद्दा चल्दाचल्दै अंशको छोडपत्र लिखतपास गराई लिए दिएको सदर हुन्छ हुदैन भन्ने मूल प्रश्न उपर नै विचार गर्नु परेको छ ।

      ११.    वादी विजुलीले प्रतिवादी प्रचण्डप्रताप सिंबाट केही अंश लिई अरुमा दावी छोडी ०१९।१०।१।२ मा घरायसमा छोडपत्र लिखत खडा गरी ०१९।१०।३।४ मा रजिस्ट्रेशन पास भए गरेको भन्ने जुन लिखत पेश हुन आएको छ, त्यसलाई उसबखत आफ्नो समेत मञ्जुरीबाट भए गरेको भन्ने कुरा वादीले पनि स्वीकारै गरेको देखिन्छ । उक्त छोडपत्र लिखत यो अंश मुद्दा चल्दा चल्दैका अवस्थाको भएकाले सदर हुने नहुने के हो ? भन्ने तर्फ हेर्दा मुद्दा फैसला नहुदै अंश दिनेपाउने पक्षहरूकै बीचमा केही अंश लिनुदिनु समेत गरी यस्तो लिखत पास गरी लिनु दिनु गर्न नहुने कानूनले बन्देज गरेको देखिन आएन । वादी सतमाया ज्यापुनी प्रतिवादी लक्ष्मीदेवी तुलाधर्नी समेतको दे.फु.नं.२१३ को अंश मुद्दामा पनि मुद्दा चलिरहेकै अवस्था वादी पक्षले गरिदिएको छोडपत्र लिखत सदर हुन्छ हुदैन भन्ने यस्तै प्रश्न उठैकोमा मुद्दा परिरहेको अवस्था यस्तो लिखत गर्नहुँदैन भन्ने कानूनी व्यवस्था नभएकोले उक्त छोडपत्र लिखतलाई कानूनले सदर मान्नु पर्ने नै देखिन्छ भन्ने ठहर गरी ०१९।१२।९।६ को फुल बेञ्चबाट निर्णय भइराखेको देखिएको त्यसमा असहमती हुने ठोस कारण कुनै देखिन नआएको समेत हुँदा उक्त छोडपत्र लिखत सदर नहुने भन्न भएन ।

      १२.   उक्त छोडपत्र लिखतमा रीतपूर्वक सवै ऋणधन नदेखाइएको, बण्डागर्दा घर जग्गाको चौतर्फी किल्ला उब्जनी मोलबिगो इत्यादि खुलाउनुपर्ने नखुलाइएको, जालसाजी मुद्दामा तायदातीमा नभएको साहू देखाई जालसाजी गरे भन्ने दावी लिएकोमा जालसाजी साहू देखाएकै ठहरी अञ्चलअदालतले फैसला गरेकोमा प्रतिवादीको पुनरावेदन स.अ.मा दायर रहेकाबखत गरेको सो छोडपत्रले जालसाजी मुद्दामा भएको निर्णयलाईसमेत असरपारेको भन्ने न्यायिकसमितिबाट उठाइएको तर्कहरूका हकमा पुरै अंश लिई बण्डापत्र खडा भए गरेको नभई लिने दिनेको सुविधा मञ्जुरीअनुसार केही मात्र अंश लिई अरुमा दावी छोडी छोडपत्र भएगरेको यस्तो लिखतमा सवै ऋणधन देखाउनै पर्ने कानूनी बाध्यता र ४ किल्ला मोल नखुलाएको भए पनि त्यत्तिकै कारणले पास भइसकेको लिखतबदर हुनसक्ने कानूनी आधार औ घरायसमा व्यवहार मिलाई त्यस्तो छोडपत्र लिखतपास भएगरेको कुराले जालसाजी मुद्दापट्टि भएको निर्णयमा असर पर्नजाने खास कारणसमेत केही देखिन आएन । उक्त छोडपत्र लिखतबाट अंशमा घटीबढी परेको वा अन्य कुनैकारणले अंशमा चित्त नबुझे को भए तत्कालप्रचलित अंशबण्डाको ५१ नं. बमोजिम उक्त लिखतपास भएको मितिले ३ महिनाभित्र छुट्टै उजूर गर्नुपर्ने कानूनी व्यवस्था भइराखेको कुरामा चित्त बुझेन भनी यो मुद्दामा बिरोधसम्म दर्शाउँदैमा त्यसतर्फ यस मुद्दाबाट विचार गर्न मिल्ने पनि देखिंदैन ।

      १३.   तसर्थ उपरोक्त उल्लेखित कारणहरूबाट दुवैथरका मञ्जुरीले पास समेत भइसकेको उक्त छोडपत्र लिखत कायम नै रहने भएकोले यस मुद्दाबाट पुनः अंशबण्डा गराई बण्डा दिलाई दिइरहनु नपर्ने समेत हुँदा वादी दावीबमोजिम अंश दिलाउनु नपर्ने गरेको राप्ती अञ्चल अदालतको सदर गरी २०२३।१।३०।५ को डिभिजन बेञ्चले छिनेको इन्साफ मुनासिव ठहर्छ कोर्टफी राखेको हुँदा निवेदक वादीलाई मुद्दा दोहर्‍याएमा अरु सजाय गर्नु परेन नियमबमोजिम मिसिल बुझाइदिनू ।

 

मा.प्र.न्या.श्री भगवतीप्रसाद सिंह र मा.न्या. श्री नयनबहादुरको समर्थन

 

उपरोक्त रायसँग हामीहरूको सहमत छ ।

 

इति सम्वत् २०२६ साल वैशाख ३ गते रोज ३ शुभम् ।