निर्णय नं. ४७५ – जारी चोरी
निर्णय नं. ४७५ ने.का.प. २०२६ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह न्यायाधीश श्री हेरम्बराज २०२५ सालको फौ.फु.नं. २७ निवेदक :...
निर्णय नं. ४७५ ने.का.प. २०२६
फुल बेञ्च
प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह
न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
न्यायाधीश श्री हेरम्बराज
२०२५ सालको फौ.फु.नं. २७
निवेदक : जुम्ला शान्ती दरा उज्याला गाउँ बस्ने लालबहादुर शाही
विरुद्ध
विपक्षी : ऐ. मालकोट गाउँ बस्ने लालबहादुर शाहीसमेत
मुद्दा : जारी चोरी
(१) कसै (स्वास्नी मानिस) को विवाह कसै (लाग्ने मानिस) सँग भएको भन्ने एकजना साक्षीको बकाई भए तापनि अरु साक्षीहरूले निज (लोग्ने मानिस) सँग निज (स्वास्नी मानिस) को विवाह नभएको भनेमा–निज महिलाले पनि पुरुषसँग विवाह भएको भन्ने कुरा अस्विकार गरेमा–निज पुरुषले आफूसँग निज (महिला) को विवाह भएको तथ्य प्रमाण दिन नसकेमा–निज स्त्रीको निज पुरुषसँग विवाह भएको भन्न नमिल्ने ।
वादीको साक्षी जगेबहादुर १ जनाले २०१९ साल वैशाख १२ गते प्र.मोतीलाई वादीले विवाह गरी ल्याएको भन्ने बकेको भए पनि प्रतिवादीका साक्षी दलवीर वटालासमेतका ४ जनाले ०१८ साल फाल्गुण २५ गते प्र.लालबहादुरले विवाह गरी ल्याएको भन्ने बकेकासमेत देखिएकाले वादीको शिर्फ १ जना साक्षीको बकाईका भरमा वादीकी स्वास्नी कायम गर्न नमिल्ने र वादीले मसँग विवाह भएको भनेको प्र.मोतीले प्र.लालबहादुरसँग नै विवाह भएको हो । वादीसँग विवाह भएको होइन । वादीले विवाह गर्न माग्न आएकोमा मञ्जुर नगरेको रीसले झुठ्ठा उजूर गरेको हो भन्नेसमेत इन्कार लिएकी, निज मोतीको आफूसँग विवाह भएको हो भन्ने कुराको अरु तथ्य सबूद प्रमाण वादीले गुजार्न सकेको देखिएन ।
(प्रकरण नं. १३)
निवेदक वादीतर्फबाट : अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल
प्रतिवादी तर्फबाट : अधिवक्ता श्री कृष्णप्रसाद पन्त
फैसला
१. देवु शाहीकी छोरी गोरु शाहीकी बहिनी अन्यायकी मोती ठकुरानी मेरी विवाहीते स्वास्नी हो । हामी दुवैको मञ्जुरीले २०१९।१।१२ मा विवाह भएको हो । २०२१।९।२४ गते जेठान गोरु शाहीले लिन आएबाट गहनासमेत लगाउन दिई माइती घर पठाएको ऐ.फाल्गुण ४ गते लिन जाँदा २०२१।१०।२८ गते लालबहादुरसँग पोइल लगाए लगे गएको थाहा भएकोले उजूर गरेको छु । पोइल लगेमा जार लालबहादुरलाई कैद बर्ष ५ पोइल गएमा स्वास्नी मोतीलाई कैद बर्ष १।३ र पोइल लगाएमा गोरु शाहीसमेतलाई ऐनबमोजिम सजाय गरी गहनाको बिगो ५४० भराइपाउँ भन्नेसमेत वादी ।
२. म मोती ठकुर्नी वादीको विवाहिता स्वास्नी होइन । २०१८ साल फाल्गुणमा विवाह गर्ने कुरा भई प्र्रतिवादी लालबहादुरसँग ऐ.फाल्गुण २५ गते पुरोहित विष्णुशरण पाध्याय र धना शाही दलु शाही दलवीर वडालासमेत भलादमी र पुर्जे दमाईसमेतका मानिस बाजा बजाउने भई म मोतीको विवाह भएको भन्ने मोतीको सो अनुसार मैले विवाह गरेको मेरो विवाहिता स्वास्नी हो भन्ने लालबहादुरसमेतको प्रतिवादी ।
३. अरुले म्याद गुजारी प्रतिवादी नदिएको ।
४. मोती ठकुर्नीले लगाई गएको भन्ने गहनामा सरजमिनको फरक फरक भनाई भएकोले सरजमिनले साँचो बकेका रहेछन भन्ने पत्यार नपरेको । सरजमिन ३४ र साक्षी जवान ४ ले मोती सरालाई प्रतिवादी लालबहादुरले विवाह गरेको भनी लेखिदिएको वादीको साक्षी १ र सरजमिन जवान २२ ले मोती सरालाई वादीले विवाह गरेको हो । हामी जन्ती गएका थियौं । गरगहना वादीले दावी गरे भन्दा धेरै लगेको थियो भनी लेखिदिएको छलफलमा वादीसँग गहना सोद्धा लेखिए भन्दा धेरै तल माथि परेको, जन्ती ६ जना लगेको भन्ने वादीको भनाई र साक्षी सरजमिनको बोली नमिलेकोसमेत प्रमाणबाट वादीले झुठ्ठा उजूर गरेको ठहर्छ भन्ने जुम्ला तिभ्रिकोट तथा मुगु जि.अदालतको २०२४।३।१८ को फैसला ।
५. चस्मदिद देख्ने भनेको गोरु पाध्या विष्णुशरण पाध्या बुझेमा साँचो कुरा आउनेमा निजहरूलाई बुझ्दै नबुझी हराई दिएकाले चित्त बुझेन भन्नेसमेत वादीको पुनरावेदन ।
६. वादीको १ जवान साक्षी जयबहादुरको मात्र बकपत्र भएको सो बकाइले वादी दावीलाई समर्थन गरेको भन्न नहुने साक्षी बाहेक सर्जमिन मध्ये २२ जनाले वादी दावीलाई आंशिक रुपमा सर्मथन गरी बकेको देखिन्छ । तर निजहरूको बकाई वादीको दावीसमेतलाई विश्लेषण गर्दा वादीले दावी नै नगरेको कम्पनीको माला नथुनी कानमा लगाउने बालकी १ बुलाकि १ समेत भिन्न गहनाहरूको भाउ बकी लेखाएको र वादी लालबहादुरले प्र.मोती सरालाई २०१९ साल वैसाख १२ गतेमा विवाह गरेको भनी लेखेकोमा सर्जमिनमा बक्ने १ जना व्यक्तिले पनि यो मितिलाई समर्थन गर्ने गरी बकेको नभई २०१८ साल माघमा वादीले मोती सरालाई विवाह गरेको भनी बकी लेखाई दिएको प्रष्ट देखिएको छ । प्रतिवादीतर्फका साक्षी मध्ये ३ जनाले प्रतिवादी मिलान भएको सर्जमिन बक्ने ३४ जना प्र.मोती सराको विवाह प्र.लालबहादुरसँग नै भएको छ, वादीसँग विवाह भएको छैन, प्र.लालबहादुरले जारी चोरी गरेको होइन भनी प्रतिवादीलाई पूर्णत सर्मथन गर्ने गरी किटानसाथ बकी लेखाई दिएकोबाट प्र.मोती ठकुर्नीको विवाह प्र.लालबहादुर शाहीसँग भएको प्रमाणित हुनआएकोले वादी दावीबमोजिम म प्रतिवादी लालबहादुर शाही समेतले जारी चोरी गरेको भन्नु ठहराउनु नमिल्ने हुँदा जुम्ला तिभ्रिकोट तथा मुगु जिल्ला अदालतले गरेको इन्साफ मनासिव ठहर्छ भन्नेसमेत कर्णाली अं.अ.को ०२४।७।१९।१ को फैसला ।
७. २१ जना सर्जमिनको भनाई समेतबाट मोती सरालाई म वादीले विवाह गरी दावीमा लेखिएको गहना लगाउन दिएको चोरी चोराई पोइल लगी गएको समेत देखिएकै छ । इन्साफमा चित्त बुझेन भन्नेसमेत वादीको पुनरावेदन ।
८. देवु शाहीकी छोरी मोती ठकुर्नीलाई २०१९ साल वैशाखमा मैले विवाह गरेको हुँ भनी वादीले फिरादपत्रमा लेखेकोमा वादीले विवाह गरेको हो भनी सर्जमिनमा लेखी दिनेहरूले २०१८ साल माघमा विवाह गरेको भनी लेखाएकोबाट फरक परेको र पुरोहित दमाई र अन्य व्यक्तिसमेतका धेरै सर्जमिनले वादीले विवाह गरेको हैन, प्रतिवादी लालबहादुरले विवाह गरेको हो भनी लेखाइ दिएको, अरु पक्का प्रमाण पनि केही दिन नसकेबाट वादीको विवाहता स्वास्नी मोती ठकुर्नी हो भन्ने प्रमाण नपुगेकोले पुनरावेदन जिकिर पुग्न सक्तैन । इन्साफ जुम्ला तिब्रिकोट तथा मुगु जि.अ.ले छिनेको सदर गरी कर्णाली अञ्चल अदालतले २०२४।७।१९।१ मा छिनेको मुनासिव छ भन्ने डि.बे.को २०२५।१।१३।५ को फैसला ।
९. सो इन्साफमा चित्त बुझेन इन्साफ दोहोराइ पाउँ भन्ने वादी लालबहादुरको निवेदन परेकोमा न्यायिक समितिबाट यस्मा प्रतिवादीको कुरा साँचो भए मोती सराको दाज्यु, बाबु, भाउजूले म्याद गुजारी बस्न नपर्ने, वादीले झुठ्ठा उजूर गर्नुपर्ने कारण रीसइवी प्रतिवादी लालबहादुरले देखाउन नसकेको वादीसँग दाजु, भाउजू, ससुरा मिलेको भए सो कुरामा प्रतिवादी मोती सरा समेतले उजूर गर्नु वा यसै मुद्दामा प्रतिवादीमा यी कुरा लेखी सबूद प्रमाण गुजार्न सक्नुपर्ने नसकेको, वादीको बाबुले केटी माग्न आउँदा बाबा देवुले कन्याको खुस छ, म दातव्य गर्न सक्तिन भनेका र हामी ३ जना बहिनीहरूलाई सोधेमा विवाह गर्न मञ्जुर नगरेको हुँदा अपमान गरे भन्ने रीस र पैसा झारी खाने नियतले उजूर गरेको भन्ने मोतिको लेखाई साँचो देखिन नआउने, वादी दावी झुठ्ठा थियो भने एकाकी स्वास्नीलार्ई मेरी स्वास्नी हो भनेमा छुट्टै मुद्दा चलाउन सक्नुपर्ने नसकेको, फाल्गुण २५ गते कुरा छिनी सोहि दिनमै लगन ठहराई सोहि दिनमै जन्ती गएको हो वा के हो सो प्रष्ट नभएको प्र.लालबहादुरले विवाह गरेको भन्ने कुरामा बाबुसँग मात्र कुरा गरी छिनेकोमा मञ्जुर गरेको भनाई र वादीसंगको विवाह कुरामा बाबु पन्छिनु केटीसँग मात्र कुरा भएको भन्नु परस्पर बिरोधाभाष देखिनुका साथै २०२४।१।२२ मा सरजमिन हुनु, सो सरजमिन मुचुल्कामा लेखिनुपर्ने प्रतिवादी पक्षको विवाह गराउने भनेको माहानन्द पाध्याको उसै दिन मैले विवाह गराएको भन्ने छुट्टै ठाडो कागज गराउने इत्यादी कुराबाट वादीको कुरा साँचो र प्रतिवादीको कुरा बनावटी देखिन आएकोसमेत प्रमाण परिबन्दबाट सर्वोच्च अदालतको निर्णय मिलेको देखिएन । दोहर्याउन आदेश बक्सनु पर्ने भनी समितिबाट सिफारिस गरेको श्री राजप्रतिनिधी परिषदमा पेश हुँदा श्री अध्यक्षबाट नेपालको संविधानको धारा ७२ (ख) अनुसार उक्त मुद्दा दोहर्याई दिनु भन्ने हुकुम बक्सेको छ भन्ने सचिव राजप्रतिनिधी परिषदबाट लेखी आएको ०२५।८।६।५ को हुकुम प्रमाड्डी ।
१०. बक्स भइआएका हुकुम प्रमाड्डी बमोजिम गर्ना निमित्त नियमको रीत पुर्याई लगतमा दर्ता गरी मिसिल झिकाई दुवै पक्ष राखी फुल बेञ्चमा पेश गर्नु र त्यस्को अन्तिम निर्णय भएपछि त्यस्तो निर्णयको २ प्रतिलिपि जाहेर गर्न श्री ५ महाराजाधिराजका प्रमुख सचिवालय राजदरवार जनरल विभाग मार्फत पठाई दिनु भन्ने ०२५।८।१०।२ को माननीय श्री प्रधान न्यायाधीशज्यूबाट भएको आदेश ।
११. यसमा तारिखमा रहेका पक्षहरू रोहवरमा रही ०२५।१२।१९।३ मा पेश भई निवेदक वादीतर्फबाट विद्वान अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्यालले र प्रतिवादीतर्फबाट विद्वान अधिवक्ता श्री कृष्णप्रसाद पन्तले गर्नुभएको बहससमेत सुनी आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत मुद्दामा प्रतिवादी मोती ठकुर्नी वादी लालबहादुर शाहीको विवाहीते स्वास्नी हो होइन भन्ने प्रश्न उपर नै सर्वप्रथम विचार गर्नुपर्ने भएको छ ।
१२. प्र.मोतीलाई ०१९ साल वैसाख १२ गते मैले विवाह गरेको मेरो विवाहिते स्वास्नी हो भन्ने वादीको दावी भएको सरजमिनमा वादीको पक्षमा बक्ने पहलमान शाही समेतका २२ जनाले ०१८ साल माघमा वादी लालबहादुरले विवाह गरेको भनी लेखिदिएको समेत भई मुख्य विवाह गरेको भन्ने मितिमै वादी दावीसँग ती सरजमिनहरूको भनाई मेल नखाएको र अरु पुरोहित दमाई समेतका धेरै सरजमिनले प्रतिवादी लालबहादुर शाहीले नै ०१८ साल फाल्गुणमा विवाह गरी ल्याएको हो भनी किटान साथ लेखिदिएका समेत देखियो ।
१३. साक्षीहरूको बकाइतर्फ हेर्दा वादीको साक्षी जगेबहादुर १ जनाले २०१९ साल वैशाख १२ गते प्र.मोतीलाई वादीले विवाह गरी ल्याएको भन्ने बकेको भए पनि प्रतिवादीका साक्षी दलवीर बटाला समेतका ४ जनाले २०१८ साल फागुन २५ गते प्र.लालबहादुरले विवाह गरी ल्याएको भनी बकेका समेत देखिएकाले वादीको शिर्फ १ जना साक्षीको बकाईका भरमा वादीकी स्वास्नी कायम गर्न नमिल्ने र वादीले मसँग विवाह भएको भनेको प्र.मोतीले प्र.लालबहादुरसँग नै मेरो विवाह भएको हो, वादीसँग विवाह भएको होइन, वादीले विवाह गर्न माग्न आएकोमा मञ्जुर नगरेको रीसले झुठ्ठा उजूर गरेको हो भन्नेसमेत इन्कार लिएकी निज मोतीको आफुसँग विवाह भएको हो भन्ने कुराको अरु तथ्य सबूद प्रमाण वादीले गुजार्न सकेको देखिएन ।
१४. तसर्थ उपरोक्त कारणहरूबाट प्र.मोती वादी लालबहादुरको विवाहिते स्वास्नी भन्ने प्रमाणित हुन नआएकोले काल्पनिक तर्कसम्मका आधारमा कसूर ठहराउन नमिल्ने समेत हुँदा जारी र धनमाल समेतमा वादी दावी पुग्न नसक्ने ठहराएको सुरु र कर्णाली अञ्चल अदालतको सदर गरी २०२५।१।१३।५ को डिभिजन बेञ्चले छिनेको इन्साफ मुनासिवै ठहर्छ ।
१५. अव झुठ्ठा पोल उजूर गरेमा जारी तर्फ वादीलाई के कति सजाय हुने हो भन्ने हकमा मेरी बिवाहिते स्वास्नी पोईल लगेमा प्र.लाबहादुर शाहीलाई जारीको २ नं. बमोजिम कैद बर्ष ५। र मेरो सत्य डगाई पोइल गएमा मोती ठकुर्नीलाई जारीको ४ नं. बमोजिम कैद बर्ष १।३ गरिपाउँ भन्ने दावी लिई कसूर ठहरेमा प्रतिवादी लालबहादुर मोतीलाई जारीको २।४ नं. बमोजिम छुट्टा छुट्टै सजाय हुने कुरामा वादीले झुठ्ठा पोल उजूर गरेको देखिन्छ । जारलाई हुने कैद पर्ष ५ मध्येमै दामाशाहीले केटीलाई सजाय हुने होइन । दण्डसजायको १८ नं. मा झुठ्ठा पोल उजूर गर्नेलाई पोलेको कुरा ठहरेको भए पोलाई माग्नेलाई हुने सजायको आधा सजाय गर्ने व्यवस्था गरिएकोसमेत हुनाले जारीको २।४ बमोजिम पोलाई माग्ने प्रतिवादी मोतीलालबहादुर दुवैलाई छुट्टा छुट्टै हुने जम्मा कैद बर्ष ६।३ को उक्त दण्डसजायको १८ नं. ले आधी कैद बर्ष ३।१।१५ गर्नेगरेको बेमुनासिव भन्न भएन । अरु तपसीलबमोजिम गर्नु ।
तपसील
वादी लालबहादुर शाहीके इन्साफ दोहर्याएमा डिभिजन बेञ्चको २०२५।१।१३।५ को फैसलाले गर्ने गरेको कैद महिना ।१।२६। जरिवाना रु.१३।७५ को अ.बं.२०४नं. ले दसौंद कैद दिन ।।५।२६ पाँच दिन छतिस घडी र जरिवाना रु.१।३८ एक रुपैंया अठतिस पैसा थप हुन्छ । वारेस हुँदा का.श्रे.अ.त मा लगत दिनु ………………………….१
नियमबमोजिम मिसिल बुझाई दिनु …………………………….२
मा.प्र.न्या.श्री भगवतीप्रसाद सिंहको उपरोक्त रायसँग सहमति राय
२०२५।१।१३।५ को म समेतको डिभिजन बेञ्चबाट भएको फैसलामा मेरो राय व्यक्त भएको त्यसलाई खण्डन गर्ने ठोस सबूदप्रमाण केही देखिन नआएकोले उपरोक्त रायसँग मेरो सहमतछ ।
मा.न्या.श्री हेरम्बराजको राय
प्रतिवादी लालबहादुरको स्वास्नी मोती ठकुर्नी ठहराएको कुरामा डिभिजन बेञ्चको राय बदर गर्ने प्रमाण मिसिलमा नदेखिएकोले अन्यथा गर्न मिलेन । स्वास्नीको साथमा जारले लगेको धनमाल चोरीको रुपका रहने भएकोले पोलाहालाई पनि चोरीको १२ नं.दण्डसजायको १८ नं. बमोजिम सजाय हुने हो । दण्डको ४२ नं. मा चोरीको १० नं.हरूले जस्तै कैद गराउनेमा साधुले खाना खर्च दिनुपर्ने दखिदैन । तर जारी खतमा सजाय हुने कुरा साधुको इच्छामा रही विवाह खर्च लिने वा ५ बर्षसम्म कैद गराउने भनी प्रचलित जारीको ऐनमा व्यवस्था छ । पुरानो मुलुकी ऐन जारीको महलमा जारी खतलाई राजखत भित्र नपारी पोलाहालाई पनि जारलाई हुने सजायको आधा हुने व्यवस्था गरेको थिएन । राजखतमा जस्तै सजाय दिने अधिकारीले ऐनको बन्देजमा रही सजाए दिने व्यवस्था जारीमा देखिदैंन । साधुले चाहे जती कैद गराउने व्यवस्था देखिन्छ । यस कारणले राजखतमा सजाय लाग्ने जस्तै गरी पोलाहालाई आधा सजाय गर्ने फरक गरी राजखत र साधुको खतलाई एकै स्तरमा राख्न उचित पर्दैन । पोलाहालाई सजाय गर्ने हकमा दण्डसजायको १८ नं. ले हुने सजाय भन्दा बेग्लै सजाय हुनै पर्ने हो । यस कुरामा ऐनमा राजखत र साधुको खतको भेद गरेको नदेखिएकोले सजायतर्फ पनि केही विचार गरी रहनु परेन । जारलाई हुने सजायको दामाशाहीले स्वास्नीलार्ई सजाय लाग्ने हुनाले जारलाई हुने सजायको मात्र आधी पोलाहालाई सजाय गर्नुपर्छ । अभियुक्तहरू सवैलाई हुने सजायको आधा पोलाहालाई गरेमा दोहोरो सजाय पर्न जान्छ । जारलाई हुने सजाय बर्ष ५ को आधी बर्ष २।। र चोरीतर्फ बिगोको आधी रु.२७०। र कैद दिन ।.।१५ जारीको २ नं. चोरीको १२ नं. दण्डसजायको १८ नं. बमोजिम गर्नुपर्ने देखिन्छ ।
इति सम्वत् २०२५ साल चैत्र २९ गते रोज ६ शुभम ।