March 7, 1969
Created by nepalarchives

निर्णय नं. ४७० – अंश मानाचामल

निर्णय नं.  ४७०    ने.का.प. २०२६ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री रत्नबहादुर बिष्ट न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह सम्वत् २०२५ सालको फु.नं. ३७...

निर्णय नं.  ४७०    ने.का.प. २०२६

फुल बेञ्च

प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह

न्यायाधीश श्री रत्नबहादुर बिष्ट

न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

सम्वत् २०२५ सालको फु.नं. ३७

निवेदक : काठमाडौं ठहिटी काबहाल बस्ने रजिबक्स मियाँ

विरुद्ध

विपक्षी : ऐ.ऐ.बस्ने हलिमा विवि

मुद्दा : अंश मानाचामल

(१)   प्रचलित मुलुकी ऐन, लोग्ने स्वास्नीको ४ नं. स्वास्नीले लोग्नेका अंशबाट आफ्नो अंश छुट्याई लिन पाउने व्यवस्था ।

            प्रचलित मुलुकी ऐन लोग्ने स्वास्नीको ४ नं. मा हेर्दा सासु ससुरासमेत भई वा लोग्नेले मात्र खान लाउन नदिई घरबाट निकाला गरेको वा बराबर कूटपिट गरी दुःख दिने गरेको वा लोग्नेले अरु स्वास्नी ल्याए वा राखेकोमा त्यस्तो स्वास्नीले लोग्नेका अंशबाट आफ्नो अंश छुट्याई लिन पाउँछे भन्नेसमेत प्रष्ट उल्लेख भएकोबाट वादीले प्रतिवादीबाट अंश पाउने नै देखिन्छ ।

 (प्रकरण नं. १४)

(२)   बकपत्र गर्दा साक्षीहरूलाई कुनै फाईदा हुने नदेखिएकोमानिज साक्षीहरूले गरेका बकपत्र सद्दे साँचो देखिन आउने ।

            यही वादीको प्रतिवादीसँग विवाह भएको अवस्थामा गहनाहरू नदिएको भए ती साक्षीहरूले उक्त उल्लेख गरिएबमोजिम बकपत्र गर्नुपर्ने अवस्था थिएन र त्यसरी बकपत्र गरेमा निजहरूलाई कुनै फाइदा हुने कुरा पनि देखिंदैन । त्यसकारण ती साक्षीहरूले सद्दे साँचो कुरा नै बकपत्र गरेको भन्ने देखिन आउँछ ।

 (प्रकरण नं. १५)

(३)   जातीय परम्परा मुताविक स्वास्नीलाई छाडेमा लोग्नेले स्वास्नीलाई मेहर वापत रुपैंयाँ पछि दिने शर्तमा विवाह गरेमावैवाहिक सम्बन्ध बिच्छेद नभई मेहरवापत रुपैंयाँ निज पत्नीले नपाउने ।

            जातीय परम्परा अनुसार मलाई छाडेमा मेहरवापत रु.१०००। अन्यायले दिने शर्तमा अन्यायसँग मेरो विवाह भएको भन्ने उल्लेख भएको छ । निजहरूको रीतिथिति अनुसार मेहर तुरुन्तै दिने वा पछि दिने किसिमको हुने भएकोले वादी लेख बमोजिम निजले दावी गरेको मेहर पछि दिने शर्त भएको भन्ने कुरा प्रष्ट छ । यस्तो पछि दिने मेहरको दावी निजहरूको रीतिथिति अनुसार सम्बन्ध बिच्छेद भइसकेपछि मात्र माग गर्न पाउने भन्ने कुरा हुन आउँछ । तर सम्बन्ध बिच्छेद भएको भन्ने वादीको दावी छैन । यसको विपरित वैवाहिक सम्बन्ध कायम रहिरहेकै अवस्था देखाई अंशमा समेत निजले दावी गरेको देखिएबाट र अंश पाउने ठहरेकाले वादी दावी बमोजिमको मेहर पाउँ भन्ने उजूर लाग्न नसक्ने भएको हुनाले सो मेहरवापत रु.१०००। डिभिजनले दिलाउने गरेको निजहरूकै रीतिथिति अनुसार मिलेको देखिएन ।

(प्रकरण नं. १७)

निवेदक तर्फबाट : वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी,  अधिवक्ता कृष्णप्रसाद घिमिरे

फैसला

      १.     मेरो विवाहको निमित्त आमा बद्रु मिसा विविले अन्याय रजिबक्सलाई ल्याई जातीय परम्पराअनुसार मलाई छाडेमा मेहर वापत रु.१०००। अन्यायले दिने शर्तमा रजिबक्ससँग मेरो विवाह भई बसी आएकै थिएँ । त्यसपछि मेरो बज्यैबाट आमाले पाउनुभएको घरमा समेत एकाधिपत्य जमाउने कुनियत लिई अन्याय रजिबक्सले हामी जातीय पर्दाको बन्धनमा बाँधिएकाहरूलाई ललाई फकाई उक्त आमाको दाइजो पूर्व सडक पश्चिम भिमसिन मानन्धरको बारी र समीको घर उत्तर भिमसिन मानन्धरकै घर दक्षिण समीको घर यती चार किल्ला भित्रको का.ई.ठहटी क्वाबहालको १ नाले ५ कवले ४ तले कर्कटपाता छाना भएको पूर्व मोहडा र उत्तर दक्षिण लंगको लगापात र अरु चल सम्पत्तिसमेत मेरो नाउँमा शेषपछिको बकसपत्र पास गराउनु भनी अड्डामा लगी अन्यायले आफ्नो र मेरो नाउँसमेत आधा आधा पारी ०१८।८।१९ गते शेषपछिको बकसपत्र पास गराएछन् । आमा परलोक हुनुभयो । आमाले दिनुभएको सुन तोला ४ को मुन्द्री, मारवाडी र अरु धनमालसमेत जबरजस्ती लिएका, अधिकार जमाई मलाई खान लाउन र बस्नसमेत नदिई दुःख पिर पिराउ लिई मैपा चुरौटिनी सौता ल्याई मारपिट आदी अनेक गरी नै रहेको २०१९ साल पाल्गुण ७ गते सौता लोग्ने समेत भई मेरै आमाको घरमा बसी श्रीसम्पत्तिमा अधिकार जमाई मलाई कुटपिट गरी आधा घरमासमेत खिचोला गरी अन्याय गरे । मेरो दाइजोको सुन तोला ४ को मुन्द्रि र मारवाडी मुन्द्री समेतको दर तोला १ को रु.२००। ले रु. ८००। आठसय २०१९।११।७ देखि २०२०।११।६ तक साल १ को दिन १ को चामल माना ।.।२ को दर माना १ को रु.।६५ ले रु.१।३० दाल नुन तरकारी तेल मसला दाउरा आदी के रु. १। समेतले दिनको रु.३। का दरले महिना १ को रु.९९। तद्अनुसार बर्ष १ को ११८८। साल १ को लुगा जुत्ता जोर २ के रु.१००। मेहर वापतको रु. १०००। समेत जम्मा दाइजो मेहर र मानाचामलसमेतको बिगो रु.२०८८। दिलाई भराई बकसपत्र बमोजिम मेरो आधी घर छुट्याई अंशसमेत दिलाई पाउँ भन्नेसमेत वादी ।

      २.    वादीसँग लोग्ने स्वास्नी भई बसी बन्द व्यापार गरी खाई जिविका चलाइआएको, भएको आफ्नो घर बेचबिखन गरी आएको, रुपैंया र लटीपटी समेत लिई ससुराली घरमा डोलाजी बस्न आयो । वादीको आमा सासुलाई स्याहार सम्भार गरेबाट वादी स्वास्नीलाई र मलाई उक्त सासुको शेषपछि वादी र मैले आफुखुशी गर्न पाउने गरी शेषपछिको बकसपत्र लेखी दिनु भएको झुक्याई शेषपछिको बकसपत्र लेखी लेखाई लियो भनी मोहन शम्शेरका प्रधान मन्त्रीकालमा निवेदन दिई मलाई झिकाई कारबाही समेत गरी निजको उजूरी सदर कायम नभई मैले नसिहद पाएको दण्ड जरिवानासमेत तिर्नपर्ने गरी अनेक दःख गरी रोजगारमासमेत दखल पुर्‍याउने दुःख टण्टा दिई मुद्दा मामिला लगाएको, बिपक्ष बौलाहा भई भएमासमेत हेरचाह गर्न र बिहान बेलुकासमेत मानो पकाई ख्वाउने मानिस नभएबाट कान्छी स्वास्नी विहे गरी बिपक्षलाई औषधी उपचारसमेत गरी आएको, मेरो औकात आमदको हैसियतले लाउन ख्वाउन दिएकै छु । १ दफामा उल्लेख भएको घर बेगर अरु कुनै पनि नभएको, अचल आयस्ता आउने जग्गा केही नभएको, विपक्षलाई मेरो आमदअनुसार भन्दा बढी लाउन ख्वाउन असमर्थ छु । इज्ज्त आमद अनुसार ख्वाई आएकोमा खाई पाई आएको छैन भनी झुठ्ठा फरेवी नालेस गरेमा वादीलाई सजाय गरी उजूर खारेज गरी वादीका दावीबाट अवकास पाउँ भन्नेसमेत रजिबक्स समेतको प्रतिवादी ।

      ३.    लोग्ने सौतासँग बराबर कलह झगडा भइरहने गरेको र यस अघि पनि मुद्दा मामिला परी प्रतिवादीले सजाय पाइरहेको यस्तो पूरा इवि परिरहेको अवस्थामा वादीबाट प्रतिवादीले खान लाउनाको सवै हेर विचार गरिरहेको भई वादीले अंश नपाउने भन्न नमिली तायदाती लिई फाँट दाखिल भएको हुँदा अंशबण्डाको १० नं. बमोजिम वादीले प्रतिवादीबाट अंश भरी पाउने ठहर्छ । वादी उपर सौता ल्याई खाना लाउन नदिई छोडेको समेत ठहरेकोले सो छोडे वापत प्रतिवादीले वादीलाई रु. १०००। तिर्नुपर्ने समेत यो कलम र वादी दावी बमोजिमको सुन तोला ४ को गहना प्रतिवादीले लिएको ठहर्ने भई त्यसको बिगो रु. ८००। पनि प्रतिवादीले वादीलाई तिर्नु बुझाउनु पर्ने ठहर्छ । अंश नै पाउने ठहरेपछि फेरि मानाचामल भरी भराई दिनु पर्छ भन्न मुनासिव नभएकोले मानाचामल भराइपाउँ भन्ने तर्फमा वादीको दावी पुग्न सक्दैन । नगर पञ्चायतद्वारा मोल निर्धारित गराई आएको मोल रु.३७८२।७७ को वादी दावीबमोजिम मिसिल सामेल रहेको वादीको आमाले गरिदिएको बकसपत्रबाट वादीको हक ठहर्न आएको घर जग्गा पाताल बारीको आधा मोल बिगो रु.१८९१।३८ को घर पाताल बारी वादीको एकलौटी हक र आधा सो बकसपत्रैबाट प्र.रजिबक्सको हक ठहर्न आएको घर पाताल बारीको मोल बिगो रु.१५९१।३८ र तायदाती बमोजिम चल मालको बिगो रु.२०।५० समेत जम्मा रु.१९११।८८ मा विवाह खर्च पर सार्नु पर्ने जवान १ को हुने विवाह खर्च ९५।५४ कटाई बाँकी रु. १८१६।३४ को ४ खण्डको १ खण्ड रु. ४५४।१० वादीलाई र सो कटाई बाँकी ३ हिस्सा १३६२।२४ प्रतिवादी रजिबक्स मैया चुरेटीनी छोरा मुन्नासमेत ३ जनाको ३ हिस्सा बण्डा गरिदिनुपर्ने ठहर्छ भन्नेसमेत काठमाडौं जि.अ.को फैसला ।

      ४.    मैले मानाचामल पाउनुपर्ने हो भन्नेसमेत वादीको पुनरावेदन ।

      ५.    मैले अंश दिइरहनु नपर्ने भन्नेसमेत प्रतिवादीको पुनरावेदन ।

      ६.    चुरा धागोको व्यापारबाट खाई जीविका गरेको छु भन्ने प्रतिवादी जिकिर समेत देखिनाले मानाचामल खर्च भराई पाउनुपर्ने भन्ने हलिमाको पुनरावेदन जिकिर मुनासिव देखिएन । अंश दिलाई दिने ठहराएको इन्साफ सुरुको जि.अ.को इन्साफ मुनासिव छ । अंश दिने कर नलागोस भन्ने प्रतिवादीहरूको पुनरावेदन जिकिर मुनासिव देखिन आएन । इन्साफ सुरु जि.अ.को मनासिव ठहर्छ भन्नेसमेत बागमती अञ्चल अदालतको फैसला ।

      ७.    मानाचामलको साथै बकसपत्रमा उल्लेख गरिएकै सम्पत्ति नै पाउनुपर्ने भन्नेसमेत वादीको पुनरावेदन ।

      ८.    छोरी १ को विवाह खर्च पाउनुपर्ने सो कुरा फैसलामा उल्लेख छैन भन्नेसमेत प्रतिवादीको पुनरावेदन ।

      ९.    लोग्ने स्वास्नीको ४ नं. ले अंश हुनसक्ने हुनाले निवेदनपत्रको मिति २०२०।८।२९ मा मानु छुट्टिएको कायम गरी वादीले अंश पाउने ठहराएको मनासिव हुँदा अंश दिन नपर्ने भन्ने प्रतिवादीको पुनरावेदन मनासिव देखिएन । मानाचामल तर्फ अंशबण्डा भएकोले नपाउने ठहराएको ईन्साफ मनासिव छ । वादीको पुनरावेदन मनासिव देखिएन । वादीले गहनाको दावी गरेकोमा पनि आमाले दिएको सुन तोला ४ को गहनामा वादी प्रतिवादीका साक्षीसमेतको विचार गरी वादीले पाउने ठहराएको मनासिवै छ । मेहरवापतको रु.१०००। को दावीगरेकोमा विवाहका समय केटातर्फबाट दिइने दस्तुर हुनाले वादीलाई दिएको प्रमाण नभएको हुनाले रीतबमोजिम दिनुपर्ने कुरामा प्रतिबन्ध लाग्नसक्ने कारण केही नदेखिएकोले भराउने गरेको इन्साफ मनासिव छ भन्नेसमेत डिभिजन बेञ्चको फैसला ।

      १०.    मुद्दा दाहोर्‍याई फु.बे.बाट हकइन्साफ गरिदिने प्रमांगी पाउँ भन्नेसमेत प्रतिवादीको विन्तिपत्र ।

      ११.    सो मेहेर वापतको रुपैंया विवाहका समयमा केटातर्फबाट दिइने दस्तुर शर्त भए सो दस्तुर लिएपछि मात्र वादी प्रतिवादी विवाह हुनुपर्ने विवाहको समय केटातर्फबाट दिइने दस्तुर भन्ने वादीको फिराद लेखाई नभई केवल जातीय परम्परा अनुसार मलाई छाडेमा रु. १०००। दिने शर्तमा विवाह भएको भन्ने लिखत बेगरको फिराद लेखाई सम्म देखिन्छ । अंशमा दावा गरेको अंश लिई छुट्टी भिन्न भएकालाई सम्बन्ध बिच्छेद गरेको (छाडेको) भन्न नमिल्ने, त्यस्तो लोग्ने स्वास्नीको सम्बन्ध कायम छँदै अंश पनि दिलाउने, छाडेवापतको भनी रु.१०००। पनि दिलाउने भन्न नमिल्ने हुँदा अंश मेहर दुवै दिलाउने गरेको सर्वोच्च अदालतको निर्णय मिलेको देखिएन । देहोर्‍याउने आदेश बक्सनु पर्ने भनी समितिबाट सिफारिस गरेको जाहेर हुँदा श्री ५ महाराजाधिराजबाट नेपालको संविधानको धारा ७२ को (ख) अनुसार उक्त मुद्दा दोहोेर्‍याई दिनु भन्ने हुकुम बक्सेको छ भन्नेसमेत श्री ५ महाराजाधिराज सरकारका प्रमुख सचिवबाट लेखी आएको ।

      १२.   बक्स भइआएका हुकुम प्रमांगी बमोजिम गर्ना निमित्त नियमको रीत पुर्‍याई लगतमा दर्ता गरी मिसिल झिकाई दुवै पक्ष राखी फुल बेञ्चमा पेश गर्नु र त्यसको अन्तिम निर्णय भएपछि त्यस्तो निर्णयको २ दुई प्रतिलिपि हुकुम प्रमांगी बमोजिम जाहेर गर्न श्री ५ महाराजाधिराजका प्रमुख सचिवालय राजदरवारमा पठाइदिनु भन्नेसमेत माननीय प्रधान न्यायाधीश ज्यूको आदेश ।

      १३.   तारिखमा रहेका निवेदक रजिबक्स मियालाई र विपक्षी हलिमा विविलाई रोहवरमा राखी निवेदक तर्फको विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरेले र विपक्षीतर्फको विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारीले गर्नुभएको बहससमेत सुनी आजको निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत मुद्दामा निम्नलिखत कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।

(१)    वादी दावी अनुसार वादीले प्रतिवादीबाट अंश पाउने नपाउने के हो ?

(२)   दाइजोको सून तोला ४ को मुन्द्री र माडवारी समेतको रु.८००। वादीले पाउँछ     पाउँदैन ?

(३)   मेहर वापतको रु.१०००। वादीले पाउन सक्छ सक्दैन ?

      १४.   पहिलो प्रश्न तर्फका हकमा रजिबक्ससँग मेरो विवाह भई बसी आएकै थिएँ । मलाई खान लाउन र बस्न समेत नदिई दुःख पिर पिराउ दिई मैया चुरौटीनी सौता ल्याई मारपीट आदि व्यवहार गरी नै रहेका भन्नेसमेत वादीको भनाई लेखाई भएकोमा प्रतिवादीले प्रतिबाद गर्दा वादी मलाई विवाह गरिदिएको हुनाले लोग्ने स्वास्नी भई बसी आएको मलाई अनेक व्यहोराको दुःख गरी मुद्दा मामिला लगाएको मेरो औकात आमदको हैसियतले लाउन ख्वाउन दिएकै छु । विपक्षी बौलाहा भई खिलाउने मानिस नभएबाट विपक्ष माथि कान्छी स्वास्नी विहे गरी ल्याई बसी जेठी स्वास्नीलार्ई कान्छी स्वास्नीले सौता समेतलाई हेरचाह गर्न दिइआएको भन्नेसमेत लेखिएको देखिएबाट प्रतिवादीले वादीलाई स्वास्नी होइन भन्न नसकी स्वास्नी हो भन्ने कुरामा प्रतिवादी सावितै भएको र वादीउपर सौता ल्याएको भन्ने कुरामा पनि प्रतिवादीले स्वीकार गरेकै देखियो । खान लाउन दिएकै छु भन्ने प्रतिवादीको भनाई तर्फको हकमा यदी प्रतिवादीले वादीलाई खान लाउन दिएकै भए वादीले यस किसिमको नालेस उजूर दिई मुद्दामा चलिरहनु पर्ने थिएन । उस्मा पनि प्रतिवादीकै प्रतिउत्तरपत्रमा मुद्दा मामिला लगाएको भन्ने लेखाई हुँदा त्यसरी झगडा परी अमेल रही इवि भएका वादीलाई प्रतिवादीले खान लाउन दियो होला भनी भन्न सम्झन मिल्ने देखिंदैन । प्रचलित मुलुकी ऐन, लोग्ने स्वास्नीको ४ नं. मा हेर्दा सासु ससुरा समेत भई वा लोग्नेले मात्र खान लाउन नदिई घरबाट निकाला गरेको वा बराबर कुटपीट गरी दुःख दिने गरेको वा लोग्नेले अरु स्वास्नी ल्याए वा राखेकोमा त्यस्तो स्वास्नीले लोग्नेकै अंशबाट आफ्नो अंश छुट्याई लिन पाउँछे भन्नेसमेत प्रष्ट उल्लेख भएकोबाट वादीले प्रतिवादीबाट अंश पाउने नै देखिन्छ । अतः वादीले अंश पाउने ठहराएको डिभिजन बेञ्चले गरेको इन्साफ मुनासिवै छ ।

      १५.   दोश्रो प्रश्नको हकमा वादी मलाई विवाह गरिदिएको हुनाले वादीसँग लोग्ने स्वास्नी भई बसी आएको र वादीको आमा सासुको छोरा नभएको वादी छोरी मात्र भएको भन्नेसमेत प्रतिवादीको प्रतिउत्तरपत्रमा लेखाई देखिएबाट वादीलाई वादीको आमाले विवाह गरी दिंदा कुनै गहना दाइजो दिएको होइन छैन भनी प्रतिवादीले आफ्नो प्रतिउत्तरपत्रमा इन्कार लिनसकेको पनि छैन । वादीको साक्षी केशवलाल नै वादीको कानमा माडवारी र ढुंग्री समेत सुनको गरगहनाहरू समेत दाइजो दिई भनी र मोतिमायाले कानमा सुनको माडबारी गहनाहरूसमेत लगाई माइतीले विवाह गरिदिएकोभन्ने मलाई थाहाछ भन्ने र ठुलै हैसियतदार हो भन्नेसमेत केशरबहादुरले बकपत्रगरेको देखियो । यदी वादीको प्र.सँग विवाह भएको अवस्थामा गहनाहरू नदिएको भए ती साक्षीहरूले उक्त उल्लेख गरिएबमोजिम बकपत्र गर्नुपर्ने अवस्था थिएन र त्यसरी बकपत्र गरेमा निजहरूलाई कुनै फाइदा हुने कुरा पनि देखिंदैन । त्यसकारण ती साक्षीहरूले सद्दे साँचो कुरा नै बकपत्र गरेको भन्ने देखिन आउँछ । अतःवादीदावीबमोजिम माडवारी मुन्द्रि समेतको बिगो रु. ८००। वादीले पाउने नै देखियो । तसर्थ यस कलमको हकमा पनि डिभिजन बेञ्चले पाउने ठहराएको मनासिवै छ ।

      १६.    मानाचामल नपाउने ठहराएको मनासिव छ भन्ने डिभिजन बेञ्चको निर्णय उपर वादीले मुद्दा दोहर्‍याउने तर्फ उजूर नगरी चित्त बुझाई बसेको देखिन्छ ।

      १७.   मोहर वापतको रु.१०००। वादीले पाउने नपाउने के हो ? भन्नेतर्फ हेर्दा वादी दावीमा जातीय परम्परा अनुसार मलाई छाडेमा मेहरवापत रु.१०००। अन्यायले दिने शर्तमा अन्यायसँग मेरो विवाह भएको उल्लेख भएको छ । निजहरूले रीतिथिति अनुसार मेहर तुरुन्तै दिने वा पछि दिने किसिमको हुने भएकोले वादी लेख बमोजिम निजले दावी गरेको मेहर पछि दिने शर्त भएको भन्ने कुरा प्रष्ट छ । यस्तो पछि दिने मेहरको दावी निजहरूको रीतिथिति अनुसार सम्बन्ध बिच्छेद भइसकेपछि मात्र माग गर्न पाउने भन्ने कुरा हुन आउँछ । तर सम्बन्ध बिच्छेद भएको भन्ने वादीको दावी छैन । यसको बिपरीत वैवाहिक सम्बन्ध कायम रहिरहेकै अवस्था देखाई अंशमा समेत निजले दावी गरेको देखिएबाट र अंश पाउने ठहरेकाले वादी दावी बमोजिमको मेहर पाउँ भन्ने उजूर लाग्न नसक्ने भएको हुनाले सो मेहर वापत रु. १०००। डिभिजनले दिलाउने गरेको निजहरूकै रीतिथिति अनुसार देखिएन । देहायका कलममा देहाय बमोजिम गर्नु ।

 

तपसील

वादी हल्लिना विविकै काठमाडौं जि.अ.का. २०२३।३।५ को फैसलाले प्रतिवादीहरूबाट भराउने गरेको बिगो

रु.१०००। भरी भराई गर्न पर्दैन । व्यहोरा जनाई लगत काटी दिनु भनी का.श्रे.त.मा लगत दिने………………..१

प्रतिवादी रजिबक्समियां के रु.१०००। तिर्न नपर्ने हुँदा र सुरु कोर्टफी.रु १६८।४४ मिति २०२३।१०।१७ मा का.श्रे.अ.त.मा बुझाई सकेको देखिएकोले उक्त रु.१०००। को सुरु कोर्टफी रु.५०। सुरु उपर पुनरावेदन गर्दा लागेको रु.७।५० सर्वोच्च अदालतमा पुनरावेदन गर्दा लागेको रु.७।५० र मुद्दा दोहरिएकोमा उक्त बिगो तर्फ लागेको रु.५। समेत जम्मा कोर्टफी रु.७०। प्रतिवादीले वादीबाट भरी पाउँ भनी कोर्टफी ऐन, २०१७ को दफा १५ को (११) बमोजिम ५ बर्ष भित्र दरखास्त परेमा कानूनको रीतपुर्‍याई वादीबाट भरीभराउ गरिदिनु भनी ऐ………२

प्रतिवादी रजिबक्समियां के अंश तर्फ कोर्टफी रहेको हुँदा केही गर्न परेन ………………..३

२०२५।४।२५ का माननीय प्रधान न्यायाधीशज्यूका आदेशबमोजिम निर्णयको २ प्रतिलिपि श्री ५ महाराजाधिराजका प्रमुख सचिवालय राजदरवारमा जनरल विभाग मार्फत पठाई दिनु …………..४

केही उल्टीमा देहायका मानिसको रिकर्ड राख्न जनरल विभागमा लेखी पठाई दिनु …………….५

बागमती अञ्चल अदालतका अञ्चल न्यायाधीश बृषबहादुर १ काठमाडौं जि.अ.का मु अ. न्या. टूंगध्वज १

मिसिल नियमबमोजिम बुझाइ दिनु ……………६

 

इति सम्वत् २०२५ साल फाल्गुण २४ गते रोज ६ शुभम् ।