January 29, 1969
Created by nepalarchives

निर्णय नं. ४६९ – ज्यान

निर्णय नं.  ४६९     ने.का.प. २०२६ फुल बेञ्च माननीय का.मु.प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. २०२५ सालको फौ.फु.नं....

निर्णय नं.  ४६९     ने.का.प. २०२६

फुल बेञ्च

माननीय का.मु.प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट

माननीय न्यायाधीश श्री हेरम्बराज

माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी.

२०२५ सालको फौ.फु.नं. २४

निवेदक : का.इ.गोकर्ण थली सिंखडा बस्ने गोविन्द भन्ने कृष्णप्रसाद सिंखडा समेत

विरुद्ध

विपक्षी : श्री ५ को सरकार

मुद्दा : ज्यान

(१)   धेरै होसियारसाथ छानविन गरेर मात्र ज्यादै कम उमेरका कलिला केटाकेटीहरू (जसको सम्झना शक्ति र बिषय बुझ्ने शक्ति कम हुनु हुदैन) को बचनलाई प्रमाण लिन हुने ।

            ज्यादै कम उमेरका कलिला केटाकटीको बचनलाई भर गरी प्रमाण मान्न सारै कठिन हुन जान्छ । बिषयअनुसार त्यस्ताहरूले भनेको कुरालाई बिल्कुल नामञ्जुर गर्न पनि सकिंदैन । धरै नै होसियारसाथ छानविन गरेर मात्र बालकहरूको बचनलाई प्रमाण लिइने हो । साक्षीहरूको बकपत्र गराउँदा धर्म भकाउनु पर्ने हुँदा बालकहरूको सम्झना शक्ति र बिषय बुझ्ने शक्ति कम रहेछ भने निजहरूको बचन विश्वास मान्न हुदैन ।

(प्रकरण नं. १६)

(२)   ज्यान सम्बन्धीको ऐनमा रहेको व्यवस्थाकुटपिटको चोटले नभई कुटपिटको चोटबाट अरु केही भएर मृत्यु भएमा कर्तव्य गरी ज्यान मार्नेको पुरा सजाय नहुने ।

            ज्यान सम्बन्धीको ऐनमा रहेको व्यवस्थाबाट कुटपिटको चोट नै मृत्युको कारण भएमा कर्तव्य गरी ज्यान मारेको मानिने र सो कुटपिटको चोटद्वारा अरु केही हुन आएमा कर्तव्य गरी ज्यान मार्नेको पूरा सजाय हुदैन ।

 (प्रकरण नं. १८)

निवेदक तर्फबाट : अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल, अभिवक्ता श्री नन्दिकेशर

श्री ५ को सरकारकोतर्फबाट : सरकारी अधिवक्ता श्री रतनलाल कनौडिया

फैसला

      १.     गोविन्द सिंखडा र नाम थाहा नभएको अर्को १ जना समेत २ जनाले मेरा काका नाता पर्ने बर्ष ६७ का हाकुचा श्रेष्ठलाई भैंसीले बजेनी खेतको गँहु खायो भनेर खेतको माटोको डल्ला लाठीले पिटी बेहोस भई खेतमा लडिरहेका गोठाला गएका केटाकेटीले गाउँमा आई भनेबाट म समेत हेर्न जाँदा निज काका बेहोस भई कुटिएको चोटबाट खेतमा लडिरहेको, धुकधुक मात्र बाँकी रहेको, निज गोविन्देलाई खोज्दा भेटिएन । म समेत पुग्दा निज गोविन्देको दाजु कृष्ण भन्ने र सानोबाबु भन्ने उक्त खेतमा थिए । बुढो मान्छे कान्लाबाट लडेछन् । घर लैजाउँ भनी कृष्णले भने । अं. ४ बजेको थियो । घरमा ल्याउँदा बीच बाटैमा मरे । देख्ने केटाकेटी रामबाबु कामी १ कामीको छोरो कान्छो १, काले कामीकी छोरी भोटेनी १, कुलबहादुर श्रेष्ठकी छोरी विष्णुमाया १ समेतलाई सोध्दा नाम भन्न नसके पनि मान्छे देखे चिन्ने हुँदा ऐनसवाल बमोजिम गरिपाउँ भन्ने बुद्धनारान श्रेष्ठको २०१९।१।१४ को दरखास्त ।

      २.    गोविन्देभन्ने कृष्णप्रसाद१, कृष्णप्रसाद १, सानोबाबु १ समेत ३ जनाउपर ज्यान सम्बन्धी को २६ नं.अन्तर्गत कारबाही गर्नुपर्ने पव्लिक प्रोसिक्युटर तथा पुलिसको २०१९।१।१७।४को रिपोर्ट ।

      ३.    २०१९ साल वैशाख १३ गते अं.१ बजे मेरो बजेनी खेतको गँहु बाली गाई भैंसीले खाइराखेको देखी खेतैमा गई धपाउन लाग्दा हाकुचा गोपाल्चा खेतमा आई पुगी गाई भैंसी छेक्न थाले । मैले हाँकी ल्याउन लागेको, हाकुचा बुढो मानिस हुँदा खेतको कान्लाबाट खसेछ । मलाई थाहा भएन । गाई भैंसी छाडिदिई घर आएँ । हाकुचा मरेको सर्जमिनमा सुनें । मैले कुटी कान्लाबाट घचेटेकोबाट हाकुचा मरेको होइन भन्नेसमेत गोविन्देले कृष्णप्रसादको पुलिसमा ठाडो कागज र म ग्यारिजै पल्टनमा नोकरी भई सुन्दरीजल पावर हाउसमा काज खटिएको र पालो समेत हुँदा २०१९ साल वैशाख १३ गते विहान पालो बदली भात खान घरमा आउँदा दाजु र मेरी स्वास्नी समेत घर थिएन । भात खाई विहान ९।१५ मा हिंडी १०।। बजे पावर हाउसमा पुगी १ बजेपछि लालबहादुरसँग पालो बुझी ३ बजेसम्म पालो बसी त्यसपछि नाम नजानेका भोटेलाई पालो बुझाई जंगलमा गई दाउरा खोजी ४ बजे फर्की भात पकाई खाएको हुँ । वारदात भएको भनेको टायम पावर हाउसमा पालो बसेको छु । मैले हाकुचालाई कुटे वा मारेको समेत होइन । हाकुचा के भई मरे थाहा छैन । म १३ गते विहान घरमा भात खान आउँदा दाजुसमेत मल बोक्न गएका रहेछन । सो वैशाख १३ गते हाकुचाको भैंसीले मेरो बाली खाएको छैन । पुलिसमा मलाई कुटपिट समेत गरेका र मैले नभनेको कुरा कागजमा लेखेका रहेछन् भन्नेसमेत निजको अदालतमा बयान ।

      ४.    २०१९।१।१३ गते का.प.इ.वेवर बस्ने मामा कान्छा सापकोटाको घरमा श्राद्ध हुँदा वैशाख १० गते गएको विरामी भई २०१९।२।१६ गते घर फर्केको हुँ । म वारदातमा थिइन । मैले कसूर गरेको छैन भन्नेसमेत साहूबाबु भन्ने टेकनाथको अदालतमा बयान ।

      ५.    दिदी विरामी छन् भन्ने सुनी सो वैशाख १० गते सिन्धु गाँउ गएको मलाई पनि ज्वरो आई ऐ.जेष्ठ १७ गते मात्र घर फर्केको हुँ मैले कसूर गरेको छैन भन्नेसमेत कृष्णप्रसादको अदालतमा बयान ।

      ६.    मौकामा देख्ने भनेका नावालकहरूको बकाईसमेतका प्रमाणबाट हाकुचाको गाई भैंसीले गँहु खाएको कुराबाट साधारण हात लपेटाले कुटी कान्लाबाट खसाली दिएकोसमेतले प्रतिवादी तिनैजनाको कर्तव्यबाट हाकुचा मरेको ठहर्छ । प्रतिवादी ३ जनालाई ज्यान सम्बन्धीको २६ नं. अनुसार जनही बर्ष २०। का दरले कैद हुन्छ भन्नेसमेत फौ.इ.अ.को १९।११।१।४ को फैसला ।

      ७.    हाकुचा कसैैको कर्तव्यबाट मरेको होइन कालगतिले मर्न गएको हो हामीहरूको कर्तव्य ठहराई कैद २० बर्ष दरले गर्ने गरेको इन्साफमा चित्त बुझेन भन्नेसमेत अभियुक्त तिनै जनाको पुनरावेदन ।

      ८.    मर्ने हाकुचा कर्तव्यबाट मरेको भन्ने सरजमिनका व्यक्ति घटना देख्नेको भनाई र लास पोष्टमा मार्टमबाट देखिन आएको र मृत्यु हुनुभन्दा अगाडि मर्ने हाकुचा स्वस्थ शरीर रहेको गाई भैंसी चराउन गई प्र.गोबिन्दे भन्ने कृष्णप्रसादको गँहु बाली भैंसीलेसमेत खाएकोमा बाली चर्ने बस्तुहरू पक्राउ परेपछि मर्ने हाकुचाको र प्रतिवादी गोबिन्द भन्ने कृष्णप्रसादसमेत विवाद भई मैले गोबिन्द भन्ने कृष्णप्रसादले हाकुचालाई कुटेको र पछि प्रतिवादी तिनै जनाले कुटेको कारणबाट घट्नास्थलमै हाकुचा बेहोस भई तत्काल मरेको देखिन आएकोले इन्साफ सुरुले ठहराएको मुनासिव छ । निज अभियुक्तहरूलाई हालको ज्यान सम्बन्धीको १४ नं. बमोजिम कैद बर्ष १०। पुनरावेदन गरेमा दस्खद थप कैद बर्ष १ समेत कैदबर्ष ११ दरले हुन्छ भन्नेसमेत ठहर गरी अ.बं.१८३ नं. बमोजिम जाहेरी फैसला गरेको छु भन्नेसमेत उल्लेख गरी बागमती अं.अ.बाट २०२३।८।२३।५ को जाहेरी फैसला ।

      ९.    हाम्रो इविवालाहरूका नावालक छोराहरूको बकाइको भर समेतबाट हाम्रो कर्तव्य ठहराई इन्साफ भएकोले चित्त बुझेन भन्नेसमेत अभियुत्त तिनै जनाको पुनरावेदन ।

      १०.    ज्यान लिने इविलाग मनसाय नभई बस्तुले बाली खाइदिएको कुरामा पुनरावेदकहरूले गरेको कर्तव्यले मानिस मर्ला भनेजस्तो नदेखिएको कामकुरा गर्दा हाकुचा मर्नगएको, ज्यान सम्बन्धीको ५ नं.को अपराध कायम गरी ऐन ६ नं. बमोजिम सजाय गर्नु उपयुक्त देखिएकोले छलफलकोनिम्ति अधिवक्ता खटाइपठाउनु भनी अ.बं.२०२ नं. बमोजिम म.न्या. को कार्यालयलाई सूचना दिई नियमबमोजिम पेशगर्नु भन्ने डि.बे.को २०२३।११।५।६ को आदेश ।

      ११.    मौका तहकिकात मुचुल्का र लासजाँच पोष्टमार्टम हुँदा देखिएको घाउसमेत लासको प्रकृति समेतबाट निज हाकुचा कर्तव्यबाटै मरेको भन्ने कुरा सिद्ध भइरहेकै देखी त्यसतर्फ अरु शंका गरिरहनु परेन । हामीहरूले कुटपिट गरेकोसमेत होइन भन्ने पुनरावेदक प्रतिवादीहरूको जिकिर भएतर्फ विचार गरेमा मौका घटनास्थलमा देख्ने भनेका रामबाबु सुनार, भोटेनी कमेनी, कान्छो कामी छुने कमेनी, बिष्णुमाया श्रेष्ठनीसमेत ६ बर्षदेखि १० बर्षसम्म मात्र उमेरका जो की शंकै उपर कुनै कुराको रीस द्वेषसमेत रहन नसक्ने अवस्थाका नाबालखहरूले मौका तहकिकात र अदालतमा उपस्थित भई बकपत्र गर्दासमेत मर्ने हाकुचाको गाई भैंसीले गँहु बाली खाई दिएको भन्ने कुरामा निजलाई प्रतिवादीहरूले कुटिपिटि कान्लाबाट खसाली दिएकोसमेत देखेको भनी र अरु मौका तहकिकातका सरजमिन मध्ये गोफलचा श्रेष्ठ कान्छा श्रेष्ठ माइला भन्ने कृष्णबहादुर, कुलबहादुर समेतले पनि प्रतिवादी ३ जनाकै कर्तव्यबाट मर्न गएको हो भनी किटानीसाथ भनी बकी दिएकोसमेत देखिन्छ । हामीहरू अन्यत्रै थियौं भन्ने प्रतिवादी पुनरावेदकहरूको जिकिर भए पनि सो वैशाख १३ गते बिहान ९।१५ बजे घरबाट हिंडि १०।। बजे सुन्दरीजल पावर हाउसमा पुगी दिउँसो १ बजे लालबहादुरसँग पालो बुझी ३ बजेसम्म पालो बसी त्यसपछि नाम नजानेको भोटेलाई पालो बुझाएको भन्ने गोबिन्द भन्ने कृष्णप्रसादको भनाई भएकोमा म र गोबिन्द भन्ने कृष्णप्रसाद सो १३ गते विहान ६।७ बजे देखि भोलिपल्ट ९ बजेसम्म पालो परेकोले पालोमा छौं भन्ने लालबहादुर र सो १३ गते दिउँ्रसो १ बजे मैले गोविन्द भन्ने कृष्णप्रसादलाई पालो बुझाएको हुँ भन्ने डम्वरबहादुर तामाङ्गसमेत निजकै साक्षीले बकपत्र गरेको भई परस्पर कुरा नमिली बाझिएको र दिदी बिरामी भएकी खवर पाएकोले सो वैशाख १० गते नै सिन्धु गाउँ गएको भन्ने कृष्णप्रसादको भनाई भएकोमा निजकै भाइ गोविन्द भन्ने कृष्णप्रसादले अदालतमा बयान गर्दा सो वैशाख १३ गते बिहान म घर पुग्दा दाजुसमेत खेतिको मल बोक्ने घाँस काट्ने काममा गएका रहेछन् भनेकोबाट २ भाइकै कुरा मिल्न नआएको वैशाख १३ गते का.प.इ.बेवर कान्छा मामा सापकोटाको घरमा श्राद्धलाई वैशाख १० गते गएको भन्ने सानुबाबु भन्ने टेकनाथको भनाई भएकोमा १३ गतेको श्राद्धलाई वैशाख १० गते नै गएको भन्ने कुरा स्वभाविक नदेखिनेसमेत हुँदा उक्त जिकिर समर्थित हुन आएन । गोबिन्द भन्ने कृष्णप्रसादको हकमा पुलिसमा कागज गर्दा सो वैशाख १३ गते अं. १ बजे मेरो बजेनी खेतको गहुबाली गाई भैंसीले खाइराखेको देखी खेतमा गई धपाउन लाग्दा हाकुचा गोपालचा खेतैमा आईपुगी भैंसी छेक्न थाले । मैले हाँकी ल्याउन लागेको हाकुचा बुढो मानिस हुँदा खेतको कान्लाबाट खसेछ भन्ने लेखेकोसमेत देखिएको पछि अदालतमा बयान गर्दा पुलिसमा कुटेका र नभनेको कुरा लेखिएको कागजमा सही गराएका भन्ने जिकिर लिएको भए पनि पुलिसले त्यस्तो गर्नुपर्ने तथ्य कारण खुलाउन र कुट पिट समेतमा उजूर गर्न सकेको समेत नदेखिएकोले मौकामा भएको उक्त पुलिस कागजलाई त्यसै अमान्य सम्झन नहुनेसमेत उपरोक्त प्रमाणबाट मार्ने हाकुचा अभियुक्त ३ जनाको कर्तव्यबाटै मर्न गएको सिद्ध हुन आएको, निजहरूको कसूर ठहराएको इन्साफ र निज हाकुचाको गाई भैंसीले आफ्नो खेतको गहुँ बाली खाई दियो भन्ने कुराबाट उसै मौकामा उठेको रीसथाम्न नसकी साधारण हातको लपेटाले कुटेको हो, बाट मर्नगएको यस्तो कसूर ज्यानसम्बन्धीको १४ नं. अन्तर्गत नै पर्नआउने हुनाले अभियुक्तहरूलाई उक्त १४ नं. बमोजिम कैद बर्ष १०।दरले गर्नेगरेको सजायसमेत बा.अं.अ. ले २०२३।८।२२।५ मा छिनेको मनासिवै ठहर्छ भन्ने २०२३ साल २०१२।११।६ को डि.बे.को फैसला ।

      १२.   का.जि. गोकर्ण सिंखडा गाँउ घर भई हाल सदर कारागारमा रहेका गोविन्दकृष्ण सानुबाबु टेकनाथ समेत ३ जनाका हकमा निवेदन गर्ने का.जि. गोकर्ण बुझ खेत बस्ने हरिप्रसाद पुडासैनीले स.अ.ले मुद्दा किनारा गरेको ३५ दिन भित्रै निवेदनमा रु.५ को टिकट टाँसी दिएको ३१९।९९९ को निवेदनमा न्यायिक समितिबाट दोहोरिन नसक्ने भनी ०२४।९।२१।६ मा सूचना पाएकोले बारबार सरकारमा निवेदन गर्दा पनि मुद्दा दोहोराइ नपाउने भएकोले पुनः बिन्ती चढाउन आएको छु । सर्वोच्च अ.फु.बे.बाट एकपटक मुद्दा दोहराई हेरी दिनु भन्ने किटानी हुकुम प्रमांगी बक्स पाउँ भनी मिति २०२५।६।२२ मा विशेष जाहेरी विभाग मार्फत श्री ५ महाराजाधिराज सरकारका हजुरमा चढाएको निवेदनमा व्यहोरा साँचो हो र एकपटक पनि फुल बेञ्चबाट नदोहोरिएको मुद्दाहरू रहेछन् भने फुल बेञ्चबाट दोहर्‍याई हेरी रुल नियमबमोजिम गरी निर्णय गरिदिनु । निवेदकहरूलाई पनि सूचना दिनु भनी त्यहाँ पठाउने हुकुम बक्सेको छ भनी २०२५।६।११।५ मा भइआएको हुकुम प्रमांगीमा छुट्टै लेखी २०२५।६।२५।५ मा दर्ता हुन आएको हुकुम प्रमांगी र हरिप्रसाद पुडासैनीले चढाएको निवेदनपत्रसमेतको व्यहोरा पेश भयो । यस्मा बक्स भैआएको हुकुम प्रमांगी बमोजिम गर्नानिमित नियमको रीत पुर्‍याइ लगतमा दर्ता गरी मिसिल झिकाई दुवै पक्ष राखी फुल बेञ्चमा पेश गर्नु भन्ने २०२५।६।२८।१ को श्री माननीय प्रधान न्यायाधीशको आदेश ।

      १३.   बक्स भइआएका हु.प्र. बमोजिम पेश हुन आएको प्रस्तुतमुद्दामा निवेदक प्रतिवादीहरू गोबिन्दभन्ने कृष्णप्रसाद सिंखडा१ सानुबाबुभन्ने टेकनाथ सिंखडा१ कृष्णप्रसाद सिंखडासमेत बन्दी जवान ३ लाई रोहवरमा राखी निजतर्फबाट बहसपैरवी गर्न उपस्थित हुनुभएका विद्वान अ.श्री लक्ष्मणप्रसाद अर्याल र वि.अधिवक्ता श्री नन्दीकेसर सिवाकोटी र वादी विपक्षी श्री ५ को सरकारकोतर्फबाट बहसपैरवी गर्न खटिआउनु भएका वि.स.अधिवक्ता श्री रतनलाल कनौडियासमेतको बहससमेत २०२५।१०।११।६ मा सुनी आज निर्णय सुनाउने तारिख तोकिएकोमा निर्णयतर्फ हेर्दा हाकुचा काल कर्तव्य के भई मरेको हो र कर्तव्यपरी मरेको भए अभियुक्तहरू दोषी छन् र निजहरूलाई कुन सजाय हुने हो भनी निर्णय दिनु परेकोछ ।

      १४.   प्रतिवादीहरूलाई वारदातमा थिएनन् भनी बकपत्र गर्ने साक्षीहरूको बकपत्र हेर्दा अर्जुन सुवेडीले गोबिन्दलाई पोष्टमा बसी रहेको अन्दाजी ५।। बजे देखेको छ । यो वारदातको समयमा अन्दानी ४ बजे लेखिएको छ । निज अर्जुनले १३ गतेका दिन ६ बजे देखि ९ बजेसम्म पालो बसी रहेकोमा गोबिन्दलाई देख्दैन । जुन कुरा अर्को साक्षी लालबहादुरले वैशाख १३ गतेका दिन बिहान ६।७ बजे देखि अर्को दिन बिहान ९ बजेसम्म पालोमा छ भनेको छ । डम्वरबहादुरले भने निजलाई ११ बजे पालो सुम्पिएको छ । साक्षी सेरबहादुरको बकपत्रमा वैशाख १३ गते बिहान ९ बजे देखि १४ गते बिहान ९ बजेसम्म पालोमा देखेको छ । नरबहादुरले पनि गोविन्दसँग आफू पालोमा बसेकोछ भनी बकेकोले गोविन्द भन्ने कृष्णप्रसाद अन्त छु भनेको प्रमाणित हुँदैन ।

      १५.   कृष्णप्रसादलाई भिमकुमारीको घरमा देखेको भन्ने खिलप्रसादले १० गते नै आएको मर्‍यो भन्ने छ, निज गए भनेको भिमकुमारीको घरको व्यक्तिलाई साक्षी राख्न नसकेकोले र १३ गते श्राद्धमा सानुबाबुलाई १० गते नै आएको भनी हरिकृष्ण घिमिरेको बकपत्र भएको त्यति लामो समयसम्म निम्ता मान्नु पर्ने कुरा केही नदेखिएकोले यस्मा बिश्वास नगर्न सकिदैन । यस कुरामा निज कृष्णप्रसाद र सानुबाबुलाई सुरु जाहेरीमा नै वारदातमा थियो भनेकालेसमेत निज कृष्णप्रसाद र सानुबाबु वारदातमै भएको सिद्ध हुन्छ ।

      १६.    प्रमाणमा आएका लिखत साक्षीहरूलाई अदालतमा पेश गर्नलायक मानेपछि तिनीहरूको मान तुलना र संघर्षबाट जुन गौरवशाली हुन आउँछ, त्यही प्रमाणले निर्णय गर्न सकिने हो, मन सन्तुलित अवस्थामा नरहे रोगी वा उमेरको प्रभावले प्रमाण हुन नसक्ने, जस्तै ज्यादै कम उमेरका कलिला केटा केटीको बचनलाई भर गरी प्रमाण मान्न सा;्रै कठिन हुन जान्छ । बिषय अनुसार त्यस्ताहरूले भनेको कुरालाई बिलकुल नामञ्जुर गर्न पनि सकिंदैन । धेरै नै होसियारीसाथ छानविन गरेर मात्र बालकहरूको बचनलाई प्रमाण लिने हो । साक्षीहरूको बकपत्र गराउँदा धर्म भकाउनु पर्ने हुँदा बालकहरूको सम्झना शक्ति र बिषय बुझ्ने शक्ति कम रहेछ भने निजहरूको वचन विश्वास मान्न हुदैन । यस मुद्दामा हाकुचा स्वस्थ शरीरको भई बस्तु चराउन अभियुक्तको जग्गा नजिकै गएको छ । निजलाई अरु प्रकारसँग चोट लागेको कतैबाट देखिंदैन । लासजाँच मुचुल्कामा र रहेको सुजहरू अस्पतालमा जाँच गर्दा देखिएको छैन र लास सड्न लागेको भने लेखेकोछ । दुबै जाँचबाट देखिएको सुज र छाला खुइलेको घाउहरूको अन्जाम गर्दा त्यस्तो ठाँउमा लागेकोबाट त्यस्तो मानिस मर्नसक्छ भन्ने कल्पना हुँदैन, त्यो चोट बाहेक अरु नै केही कारणले यस्को मृत्यु भएकोछ । सो घाउहरू कसरी परेछ भनी वादीतर्फको साक्षीहरूको बकपत्र हेर्दा रामबाबुसमेत ५ जनाले घटना भएको ठाउँबाट १७५ फिट टाढा अग्लो ढिस्कोबाट देखेकोभनी जाँच मुचुल्कामा लेखाएका छन् । संगै बसी देख्ने मध्ये रामबाबुको बकपत्रमा नखुलेको कान्छाको बकपत्रमा लेखिएको कृष्णले हाकुचालाई छातीमा एकबाजी हिर्कायो । सानुबाबुले हाकुचालाई चाकको फिलामा हिर्कायो भन्ने लेखिएको छ । भोटिनी कमिनीको बकपत्रमा भने घोक्रामा हाकुचालाई समाएँ, छुने कमिनीको बकपत्रमा गोविन्दले तिघ्रामा समेत कुटे भन्ने र विष्णुमायाको बकपत्रमा भने ३ जनाले कपालमा कुटे भनी लेखेकोबाट विभिन्नता पाइएको छ । कुट्नलाग्दा मर्नेले १० पाथी गहुँ तिर्छु भनी रामबाबुले सुनेको जस्तैगरेर अरुले नसुनी भोटिनी कमिनिले भने मेरो बस्तुले खाएको बाली म दिइहाल्छु भनेको सुनेकोछु । त्यसबाट पनि यसप्रकारबाट कुटेको भनी निस्चयगर्न सकिदैन । कान्ला बाट खसाल्यो भनेकोमा किस्नेले १हातले पाखुरामा समाउने सानुबाबुले अर्को हातको नारीमा समाउने भनी छुने कमिनीको बकपत्रमा छ । भोटिनी कमिनीले भने घोक्रामा समाई खसालेको भनेकोले कान्लाबाट खसालेको कुरामा पनि किसिमकिसिमको भनाई लेखी नाबालख साक्षीको बकपत्र विश्वासमान्न गाहे भएकोछ, तैपनि निजको मृत्यु भएको  छ ।

      १७.   लासजाँचबाट निजको मृत्यु मुटुको गति रोकिन गई भएकोभन्ने हुनाले यो प्रकारको चोटले मरेको भन्ने देखिएन । यसरी कुटपिटको अलावा अरु कुरा हुन गई मरेकोलाई भनी त्यसको संज्ञा दिन सकिन्छ । प्रतिवादीसँग हाकुचालाई हान्ने हातहतियार थियो भनी लेखाई छैन । मार्नुपर्ने अघिको रीसइवी पनि रहेनछ । बस्तुले बाली खाएको कुरामा यो वारदात भएको हो । वारदातअनुसार जन्मकैदको सजाय दिन अवैध हुन्छ । यही चोटले मरेको नभई कान्ला बाट खसाल्दा आफुले चराउन लगेका बस्तुहरू समाल्न नसकेको भई त्यसै कुरामा प्र.हरूले साधारण चपेटा मुक्काले हाने पनि मनमा झस्को पर्नगई यो मृत्युभएको देखिन्छ ।

      १८.   सानुबाबु र कृष्णको भनाईले हाकुचाले लास बोकी लगेको भन्ने सुरु जाहेरीमा हुनाले कर्तव्य गरी मरेको भए त्यस्को रुपले रीस देखाएको हुने थियो । सहानुभूति भन्नु र गरेकोबाट कर्तव्य गरेको देखिंदैन । ज्यान सम्बन्धीको ऐनमा रहेको व्यवस्थाबाट कुटपिटको चोट नै मृत्युको कारण भएमा कर्तव्य गरी ज्यान मारेको मानिने र सो कुटपिटको चोटद्वारा अरु केही हुन आएमा कर्तव्य गरी ज्यान मार्नेको पूरा सजाय हुदैन । अभियुक्तहरूलाई कसूरदार ठहराएको डिभिजन बेञ्चको राय मनासिव भए पनि सजायतर्फ तपसील बमोजिम गर्नु ।

 

तपसील

देहायका प्रतिवादीके तत्काल प्रचलित ज्यान सम्बन्धीको ३२ नं. ले बर्ष ६ सम्म कैद हुनसक्ने भए पनि केही फौजदारी मुद्दा खारेजगर्ने र दण्डसजाय मिन्हा दिने ऐनको व्यवस्थाले वर्तमान मुलुकी ऐन ज्यानसम्बन्धीको ६ नं. को दोहराए (४) बमोजिम बर्ष २ कैद लाग्छ । थुनामा परेकोले भुक्तान भइसकेको हुँदा थुनाबाट मुक्त गरिदिनु…१

गोविन्दप्रसाद १ सानुबाबु १ कृष्णप्रसाद १

देहायका लगत कट्टा गर्नु भनी का.श्रे.अ.त.मा लगत दिनु ……………..२

बा.अं.अ.को स.अ. डि.बेञ्चको २०२३।८।२३ गतेको फैसला २०२३।१२।११ को फैसलाले लागेको गोविन्दप्रसाद के बर्ष ११।६

मिसिल नियमबमोजिम बुझाइ दिनु …………………….३

 

इति सम्वत् २०२५ साल माघ १६ गते रोज ४ शुभम् ।