January 3, 1969
Created by nepalarchives

निर्णय नं. ४६७ – मोहियानी कायम गरिपाउँ

निर्णय नं.  ४६७    ने.का.प. २०२६ डिभिजन बेञ्च न्यायाधीश श्री रत्नबहादुर बिष्ट न्यायाधीश श्री वासुदेव शर्मा सम्वत् २०२५ सालको दे.फु.नं. २६४८ पुनरावेदक : जि.सुनसरी प्र.बेली...

निर्णय नं.  ४६७    ने.का.प. २०२६

डिभिजन बेञ्च

न्यायाधीश श्री रत्नबहादुर बिष्ट

न्यायाधीश श्री वासुदेव शर्मा

सम्वत् २०२५ सालको दे.फु.नं. २६४८

पुनरावेदक : जि.सुनसरी प्र.बेली मौजे चानवेला बस्ने पुरन चौधरी थारु

विरुद्ध

विपक्षी : ऐ.प्र.बेली मौजे एकम्बा बस्ने मनिलाल दास थारु समेत

मुद्दा : मोहियानी कायम गरिपाउँ

(१)   भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३१ (क) (पछि थप भएको) बमोजिमको मुद्दा मोहियानी हकको प्राप्ती वा मोहियानी हकको (तेरो मेरो सम्बन्धी) हेर्न उक्त ऐनको दफा २ को अधिकार प्रयोग गरी श्री ५ को सरकारले सूचनाद्वारा तोकिदिएको अदालतले हेरे छिनेको मुद्दामा सोही ऐनको दफा ५५ अनुसार अन्तिम हुनेत्यसउपर पुनरावेदन नलाग्ने ।

     भूमिसम्बन्धी (प्रथम संशोधन) ऐन, २०२२ को दफा ७ ले मुल ऐनको दफा ३१ (क) थपेको, जो निम्न प्रकारको छ । ३१. (क) मोहियानी हकको प्राप्ती वा तेरो मेरो सम्बन्धी मुद्दा कुनै जग्गाको सम्बन्धमा परिच्छेद बमोजिमको मोहियानी हकको प्राप्ती वा मोहियानी हकको तेरो मेरोको कुरामा झगडा पर्न आएमा त्यस्को निर्णय तोकिएको अदालतबाट गरिनेछ ।भूमिसम्बन्धी ऐन, २०२१ को दफा २ (ञ) ले श्री ५ को सरकारलाई सूचित आदेश निकाल्ने अधिकार भएको सोही दफा २ (ञ) ले दिएको अधिकार प्रयोग गरी सरकारले २०२४।१०।९ को राजपत्रमा सूचना प्रकाशित गरेको देखियो । उक्त २०२४।१०।९ को राजपत्रमा दफा ३१ (क) को मुद्दा हेर्न जि.अ.लाई तोकेको देखियो । त्यस्तो तोकिएको अदालतले हेरे छिनेको मुद्दा भू.सं.ऐन, २०२१ को दफा ५५ ले अन्तिम हुने देखिएकोले प्रस्तुत पुनरावेदन लाग्न नसक्ने हुँदा खारेज हुने ठहर्छ ।

(प्रकरण नं. ६)

सरकारी अधिवक्ता श्री रतनलाल कनौडिया

 

फैसला

      १.     विपक्षी मध्ये मनिलालको नाउँमा दर्ता भएको ऐ.मौजा बिश्रामपुर गछमडरीयाको लक्ष्मीपुरको ऐ.वडा नं. ७ मा पर्ने हद नं. थाहा छैन, पूर्व मखिलाल पश्चिम मनिलाल उत्तर दुखी दक्षिण बन्हु यो ४ किल्लाको ।।२ कठ्ठा धेरै बर्षदेखि बाबु र बाबु पछि नजोती आई भू.सु.लागू भएपछि मोहीसमेत लेखाई लिएको आफ्नो अंश हक लाग्ने भएकोले भुलबाट आफ्नो भनी लेखाए तापनि जग्गा मनिलालको दर्ताको हो । यो २०२४ साल सर्भे नापीमा मेरो नाउँमा नापी भएको छ । उक्त जग्गामा रोपा गर्न थालेको बेलामा २०२४ साल श्रावण ३ गते विपक्षीहरू आई मलाई रोपा गर्न नदिई हटक गरेकोले अन्यायमा परी भूमीसम्बन्धी ऐन, २०२१ प्रथम संशोधन सहितको दफा ३१ (क)अनुसार फिराद गरेकोछु । साक्षी सरजमिन प्रमाण समेत बुझी हक इन्साफ भई मोहियानी कायम गरी विपक्षीहरूलाई सजायसमेत गराई पाउँ भन्नेसमेत २०२४।५।६।३ को फिराद दावी ।

      २.    वादीले दावी गरेको जग्गा धेरै बर्षदेखि कमाई आएको छु । भू.सु. लागू भए पछि मोहियानी लेखाई साल सालको बचत पनि दिदै आएको छु । उक्त जग्गाको हद वादीले लेखेको हद नभई पूर्व देखी पश्चिम जानकी उत्तर दुखी दक्षिण बन्हु ४ किल्ला भित्रको ।।।४ कठ्ठा चानचुन जग्गा पर्छ, जग्गा धनीको प्रमाण समेत मेरै हुँदा उक्त जग्गा म मुनिलालका नाउँमा कायम राखी सवै सबूद प्रमाण बुझी मोहियानी श्रीलालको नाउँमा कायम गरी झुठ्ठा उजूरी गरेमा वादीलाई सजाय मिलोस भन्नेसमेत प्रतिउत्तरपत्र ।

      ३.    मोहियानी प्राप्त गरेको ५ नं. फारममा पनि भूलबाट आफ्नो भनी लेखाएको छु । जग्गा धनी मनिलाल हो भनी वादीले लेखेको फिरादमा र फाराममा पनि आफ्नो भन्ने लेखिएको त्यस्तो आफुले प्राप्त गरेको फाराममा जग्गा वा मोहीमा कुनै हेरफेर हुन गए ३५ दिन भित्र लिखित सूचना स्थानीय पञ्चायतमा दिनुपर्छ भन्ने भूमिसम्बन्धी नियम, २०२१ को दफा (१०) को उपदफा २ मा उल्लेख भएको सो बमोजिम गरेको वादी लेखबाटै नदेखिएकोले उल्लेख गरिएका परिवन्दबाट इन्साफ गरी दिन नमिल्ने भएकोले वादी दावा खारेज हुने ठहर्छ भन्नेसमेत २०२५ साल जेष्ठ ६ गतेको सुनसरी जि.अ.को फैसला ।

      ४.    सो इन्साफमा चित्त बुझेन भन्नेसमेत पुरन चौधरी थारुको २०२३।७।५ को पुनरावेदन जिकिर ।

      ५.    श्री ५ को सरकार भूमिसुधार कृषि तथा खाद्य मन्त्रालयको सूचना नेपाल राजपत्र खण्ड १७ अतिरिक्तांक ३५ मिति २०२४ साल माघ ९ गते प्रकाश भएकोमा यो अधिकारले सो सूचनामा लेखिएको अदालतहरू तोक्ने काम भएको हो भनी खुलेको देखिएन । उक्त अधिकार खुलाई पठाई दिनु भनी मन्त्रालयलाई लेखी जवाफ आएपछि पेश गर्नु भन्ने २०२५।४।१४।२ को डिभिजन बेञ्चको आदेश ।

      ६.    प्रस्तुत मुद्दामा सरकारी विद्वान अधिवक्ता रतनलाल कनौडियाको बहस सुनी बहस ईन्साफतर्फ विचार गर्दा चारकिल्ला भित्रको जग्गा विगहा ।।२ कठ्ठा २०२४ सालको सर्भे नापीमा आफ्नो मोहियानी हक लेखाई जोती आएकोमा विपक्षीले मोहीमा हटक गरायो भन्नेसमेत वादीको मुख्य दावी भएको देखियो र उक्त जग्गा मैले नै कमाइआएको सर्भे नापीमा मोहियानी हक लेखाएको साथै वादी लेखाइको किल्ला र जम्मा जग्गाको अंकसमेत नमिलेको भन्ने प्रतिवादीको मुख्य जिकिर भएको । वादी प्रतिवादीको लेखबाट प्रस्तुत मुद्दा मोहियानी हकको तेरो मेरो देखिन आएको छ । भूमिसम्बन्धी (प्रथम संशोधन) ऐन, २०२२ को दफा ७ ले मुल ऐनको दफा ३१ (क) थपेको, जो निम्न प्रकारको छ : ३१. (क) मोहियानी हकको प्राप्ती वा तेरो मेरो सम्बन्धी मुद्दा : कुनै जग्गाको सम्बन्धमा परिच्छेद बमोजिमको मोहियानी हकको प्राप्ती वा मोहियानी हकको तेरो मेरोको कुरामा झगडा पर्न आएमा त्यसको निर्णय तोकिएको अदालतबाट गरिने छ ।भूमिसम्बन्धी ऐन, २०२१ को दफा २ (ञ) ले श्री ५ को सरकारलाई सूचित आदेश निकाल्ने अधिकार भएको, सोही दफा २ (ञ) ले दिएको अधिकार प्रयोग गरी सरकारले २०२४।१०।९ को राजपत्रमा सूचना प्रकाशित गरेको देखियो । उक्त २०२४।१०।९ को राजपत्रमा दफा ३१ (क) को मुद्दा हेर्न जि.अ.लाई तोकेको देखियो । त्यस्तो तोकिएको अदालतले हेरे छिनेको मुद्दा भू.सं.ऐन, २०२१ को दफा ५५ ले अन्तिम हुने देखिएकोले प्रस्तुत पुनरावेदन लाग्न नसक्ने हुँदा खारेज हुने ठहर्छ । सुन्सरी जि.अ.का न्यायाधीश जगदानन्द मिश्रले अपीलको म्याद नदिनुपर्नेमा अपीलको म्याद दिएकोले रेकर्ड राख्न स.अ.जनरल विभागमा सूचना दिनु । मिसिल नियमबमोजिम गरी बुझाई दिनु । फैसला भएको जनाउ पुनरावेदकलाई दिनु ।

 

इति सम्वत् २०२५ साल पौष २० गते रोज ६ शुभम् ।