December 20, 1968
Created by nepalarchives

निर्णय नं. ४६६ – अंशदपोट

निर्णय नं.  ४६६     ने.का.प. २०२४ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री न्यायाधीश श्री लोकराज जोशी सम्वत् २०२५ सालको फु.नं....

निर्णय नं.  ४६६     ने.का.प. २०२४

फुल बेञ्च

प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह

न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री

न्यायाधीश श्री लोकराज जोशी

सम्वत् २०२५ सालको फु.नं. ४१

निवेदक : का.ई.बागबजार बस्ने मेहरमान खड्गी

विरुद्ध

विपक्षी : ऐ बस्ने हिरामान खड्गीसमेत

मुद्दा : अंशदपोट

(१)   अदालतले वादी प्रतिवादी दुवैसँग अंशबण्डा गर्नुपर्ने श्रीसम्पत्तिको तायदाती मागेमादुबैले तायदातीमा अंशबण्डा गर्नुपर्ने चल अचल सम्पत्ति लेखी नदिएमाएकपक्ष (प्रतिवादी) मात्र अंशबण्डा गर्नुपर्ने सम्पत्ति दाबाउने व्यक्ति भन्न नमिल्ने ।

            त्यस्तो घर जग्गा बण्डा गर्नुपर्ने भएको कुरा वादीलाई थाहा हुनु स्वभाविकै थियो र अदालतले वादीसँग पनि आफ्ना जिम्माको श्रीसम्पत्ति के कति छ ? अरु चल धनमाल जो जति छ, बण्डा गर्नुपर्ने श्रीसम्पत्तिको तायदाती मागेको हुनाले वादीले तायदातीमा खुलाई लेखिदिन पर्ने नै थियो । त्यसबखत वादीले पनि तायदातीमा खुलाई लेखी नदिएकोले दबाउने कसूरदार प्रतिवादी मात्र हुन भन्न भएन ।

(प्रकरण नं. २२)

(२)   तत्काल प्रचलित साहू आसामीको ३७ नं.मानु छुट्टिएपछि आर्जन गरेको सम्पत्तिमा आर्जन गर्नेकै हक लाग्ने, मानु छुट्टिनु अघिको अंशियारहरूको हक नलाग्ने (बण्डा गर्नु नपर्ने) ।

            सो घर जग्गा मानु छुट्टिएपछिको प्रतिवादीको आर्जन भई तत्काल प्रचलित साहू आसामीको ३७ नं. ऐनले बण्डा गर्नु नपर्ने । पछि आर्जन गर्नेकै मात्र हक हुने समेत देखिंदा प्रतिवादीले अंशदपोट गरे, एकलौटी दिलाई पाउँ भन्ने वादी निवेदक मेहेरमानको दावी जिकिर पुग्न नसक्ने भनी डिभिजन बेञ्चले निणर्य गरेको मुनासिव देखिन आयो ।

 (प्रकरण नं. २२)

(३)   तत्काल प्रचलित अंशबण्डाको ४६ नं.सगोल बण्डा गर्नुपर्ने आर्जन (मानु छुट्टिनु अघिको) भन्ने कुरामा वादी प्रतिवादीको मुुख मिलेमाउक्त आर्जनमा आफ्नो (वादी वा प्रतिवादी) भाग जति छुट्याई लिन पाउने ।

            घर जग्गाहरू मानु छुट्टिएको ठहरेको मिति १९८२।५।२९ भन्दा अघिको आर्जन भई सगोलको बण्डा हुने चिज हो भन्ने कुरामा वादी प्रतिवादीको मुख मिलेकोले त्यस्मा वादीले पनि तत्काल प्रचलित अंशबण्डाको ४६ नं. बमोजिम आफुले पाउने अंश जति छुट्याइ लिई चलन गर्न पाउँछ ।

 (प्रकरण नं. २३)

(४)   अंशबण्डा भइसकेकोमा पनि केही बण्डा गर्नुपर्ने बाँकी भएमा उक्त बाँकी अंश मुद्दाको ठहर अनुसार भाग लगाई छुट्याई दिन मिल्ने ।

            प्रस्तुत मुद्दाबाटै उक्त घरजग्गा छुट्याई दिलाई दिनालाई अरु बण्डा भइसकी केही बाँकी रहेको सम्म भए अंश मुद्दाको ठहर बमोजिम भाग लगाई छुट्याई दिन मिल्ने थियो ।    

(प्रकरण नं. २३)

(५)   दावी बेगरको कुरामा निर्णय दिन नमिल्ने ।

            प्रस्तुत मुद्दामा अंश छुट्याई पाउँ भन्ने वादीको दावी नभएकोले फिराद दावी बेगरको कुरामा त्यसरी निर्णय गर्न मिल्ने देखिएन ।

(प्रकरण नं. २३)

निवेदक तर्फबाट : अभिवक्ता श्री लवदेव भट्ट

फैसला

      १.     अन्यायवालाहरू समेतसंगका अंश मुद्दामा यस अड्डाबाट गरेको फैसला उपर अपील दिइसकेको छु । अन्यायवालाहरूले दिनुपर्ने अंशको फाँट नदिई श्री ३ सरकार गुठी तहसीलमा मेरो बाबु कृतिमानका नाउँमा मोहियानी दर्ता भएको सो अड्डामा सालको तिरो रु.१।७२ बुझाउन पर्ने का.ई.बागबजारको खेत रोपनी ।। र सोही जग्गामा बनेको मोल रु.३००। जाने ५ कवले २ नाले ३ तले पक्की झिंगटी घर समेतको कित्ता १ ऐ.का नाउँमा श्री ५ को सरकार गुठी तहसीलमा मोहियानी दर्ता भएको सो अड्डामा सालको तिरो धान ।१० गहुँ ।.।१।७ को नगदी रु.३।१४ बुझाउन पर्ने ऐ.ऐ.के तर्फले खेत ।१।२।४ को जग्गा र सो जग्गामा बनेको मोल रु.३००। जाने ५ कवले ३ तले २ नाले ब्लक नं. १२/६०६१ को पक्की टायल छानो ऐ.१ ऐ.के नाउँमा का.पहिला मालमा मोहियानी दर्ता भएको सो मालमा सालको तिरो धान ३।५ घ्यू ३५ समेतको नगदी रु.२०।३१ बुझाउनु पर्ने १४०८ नं. मौजे देउपाटन का.इ.वानेश्वरको माटो मुरी ।१३।१८।६ को जग्गा र सो जग्गामा बनेको मोल रु.१००। जाने २ नाले २।। तले ३ कवले पक्की टायल छानाको ऐ.ऐ.कै नाउँमा श्री पशुपति महास्नान गुठीमा दर्ता भएको सालको तिरो रु.।२८।८५ बुझाउनु पर्ने नं. ३६१ को खेत रोपनी ६ को कित्ता १ दपोट गरिराखेको माल बुझिएकोले फेरि नालेस गरेको छु । दपोट गरी आएको लेखिएबमोजिमको घर जग्गा एकलौटी मलाई दिलाई पाउँ भन्नेसमेत वादी ।

      २.    म समेतले दपोट गर्‍यो भनेका घर जग्गा मध्ये पशुपति मेडिकल निरको घरको हकमा ५ बण्डा गरी १ बण्डा भागमा परेको चाहीं मेरै भोग र निज वादीको भागको निजैले भोग गरेकै छ । माइलो भाइ श्रीमान्को भाग ९९ सालमा निजले मेरो स्वास्नी विष्णुमायालाई रजिष्ट्रेशन पास गरी फार्छे गरी विक्री गरेको र उजिरमानको भाग निज मरी मैले काजक्रिया गरेको वापत निजकी स्वास्नीले मलाई छाडी पोइल गएकीले मैले ९० साल अघिदेखि नै भोग गरेको पान्दचाको भागमा परेको खण्ड पनि मैले बाबुको ऋण तिरी सवैबाट छोडपत्र गराई लिएको, न्हुछेमान मानन्धरको घरनिरको वादीले दपोट भनेको घर निज पान्दचालाई सट्टाभर्ना दिई पान्दचाको भाग पनि मैले नै लिई एकलौटी भोग गरिआएको, न्हुछेमान मानन्धरको घर निरको २१/६०६१ को घर पनि बाबु कृतिमानले अघि ऋण लिएको, यो ऋण मैले एकलौटी तिरी दिएवापत सो घरमा भाग पर्ने निज वादीसमेत सवै अंशियारले छोडपत्र गरिदिएको हुनाले मेरो एकलौटी भोग भई मैले उपरोक्त पान्दचालाई मेडिकलनिरको निजको भागको सट्टामा दिई ८४ सालदेखि नै पान्दचाले भोग गरी आएको र वानेश्वरको घर जग्गा पनि मानबहादुर गुरुङबाट ९८ सालमा मैले राजीनामा गरी लिएको ।३० मुरी मध्ये माटो मुरी ।४।५।५ र बिज्यूबाट २००० साल वैशाख २९ मा रजिष्ट्रेशनमा राजीनामा गरिलिएको हुनाले ८२ सालदेखि यताको हुनाले बण्डा गरिरहनु नपर्ने र धोबी खोलाको जग्गा मध्ये ६ मुरीमा आधा, ३ मुरी काका मानवीरको भागमा परी बाबुको भागको ३ मुरीमध्ये १ मुरीसमेत वादीले र १ मुरी पान्दचा १ मुरी भोग गरे निज वादीको भागपछि बालुवाले पुरेकोले मैले निजलाई मोरु १। दिई निजबाट लिखत गराई २००। रुपैंया लगाई बालुवा फाटी भोग गरेको छु । दपोट गरेको छैन भन्नेसमेत हेरामानको प्रतिवादी ।

      ३.    हामीले दपोट गरेको छैनौ । निजसँग अघि नै बण्डा हुँदा हामीहरूको आफ्नो भाग हामीहरूले आफुले खाएको कुरा अघि अंश मुद्दामै लेखिदिएकोले त्यो बाहेक हामीले अरु बण्डा गर्नुपर्ने बाँकी राखी दबाएको छैनौ । पशुपति मेडिकल हलनिरको घर मेरो भागको हेरामानलाई सट्टाभर्ना गरी न्हुछेमान मानन्धरको घर बाबुको ऋण तिरेकोले हामी सवैले हेरामानलाई छोडपत्र गरिदिएकोले हिरामानको हक हुन आएको सो घर मैले लिएको, सो घर हिरामानले साहू तिरी एकलौटी गरेको बण्डा नहुने कुरा अंश मुद्दामा लेखिदिएकै छौं । मैले सट्टा लिएको नै सो घर जग्गा हाल किर्तिमानको भनी ९३ सालदेखि मबाट बाली असूल गरी राखेको छु । वानेश्वरको घर जग्गाको हकमा ८२ सालदेखि यताको ९८ सालमा हेरामानले मानबहादुर गुरुङसँग राजीनामा लिएको जग्गा बिज्र्यूबाट हेरामानले पास गरी लिएको जग्गा र धोबी खोलाको रोपनी ६ को हकमा पनि आधी हाम्रो बाबुकै पालामा बण्डा भई न्यायालय लगायत अपील परी कारवाही भएको हाम्रो भागमा ३ रोपनी परी निजसमेतले एकलौटी लिई खाएको अघिको प्रतिवादी उत्तरमा लेखेकै छ भन्नेसमेत पान्दचाको प्रतिवादी ।

      ४.    जालसाज गरेमा निजहरूलाई सजाय गरी राजीनामा रद्द गरिपाउँ भन्नेसमेत पूर्ण खड्गीको बयान ।

      ५.    जालसाजी भनेमा निज वादीलाई नै सजाय गरिपाउँ भन्नेसमेत हिरामानको बयान।

      ६.    जालसाज गरेको छैन भन्नेसमेत नरबहादुरको बयान ।

      ७.    सद्दे कागज हो जालसाज गरेको हैन भन्नेसमेत हर्कनारायणको बयान ।

      ८.    यो राजीनामा मैले गरिदिएको पनि हैन जग्गा मेरो हकको पनि हैन, लेखिएबमोजिम झुक्याई मेरो दायाँ बूढी औंलाको सही गराएको भन्नसमेत मानबहादुर गरुङको बयान ।

      ९.    ब्लक २१/६०६१ को घर र जग्गासमेत ८ साल माघ २० गते प्र.न्या.का फैसला बमोजिम मेरो एकलौटी हकको हो भन्नेसमेत लक्ष्मीदासको बयान ।

      १०.    रोपनी ६ मध्ये रोपनी ४ अंशबाट मैले भोगिरहेको छु भन्नेसमेत अष्टमायाको बयान ।

      ११.    पहिलो कित्ताको रोपनी ।द्र। को जग्गा र त्यसमा बनेको घरसमेत प्रतिवादीहरूले दपोट गरेकोले नदबाउनेले एकलौटी खान पाउने ठहर्ने अब दोश्रा कित्ताको टुफले खेत ।१।२।४ को हकमा आधा जग्गा र सो जग्गामा बनेको घर २१।६० को घर मानवीरको हकको भई निजले म हरिनानीलाई राजीनामा दिएको सदर ठहराई आजको मितिमा मि.नं.४९८।६३० नं.को मुद्दा यसै अदालतबाट किनारा भएकोले सो टुफले खेत १।२।४ को आधी जग्गा र त्यसमा बनेको ब्लक नं. २१/६० को घर प्रतिवादीहरूको हकको नभएबाट निजहरूले दपोट गरेको नठहर्ने, बाँकी आधा जग्गा र त्यसमा बनेको २१/६१ को घरको हकमा १ खण्ड लक्ष्मीदासले १९६८ सालको निजको बाबु मानवीरसमेतको अंशबाट पाएको उपरोक्त मि.नं.४९।६३० को मिसिल कागजपत्रबाट देखिएकोले निजको भाग भनी दबाएको नठहर्ने । बाँकी १ भागमा प्र.पान्दु बसेको भनी रोहवरमा निजै प्र. पान्दुसमेतले भनेको हुँदा सो घर जग्गा अघि अंश पर्दा तायदातीमा दिनुपर्ने नदिएकोले दबाएको भई नदबाउनेले एकलौटी खान पाउने ठहर्ने । तेस्रो कलमको जग्गाको हकमा सो जग्गा बिज्र्यु ठहरिबाट २००० सालमा माटो मुरी ।२५।१४।२।। को जग्गा रु.२२५। मा र मुरी माटो ४।५।५ को जग्गा मोरु ९९ मा ९८ सालमा मानबहादुरबाट प्र.हिरामानले राजीनामा लिएको भन्ने कागजबाट देखिएको । राजीनामासमेत सद्धे साँचो भई सो रु.९९। को लिखततर्फ वादीले झुठ्ठै उजूर दावी गरेको र सो जग्गा प्र.को मानु छुट्टिएपछि खरिद गरेको प्र.को आयस्ता आर्जनको हुँदा दपोट नठहर्ने । आखिरी कित्ता श्री पशुपति महास्नान गुठीमा दरियाको रोपनी ६ को जग्गाका हकमा रोपनी ३ मा लक्ष्मीदासको हक ठहरी फैसला भएको प्रतिवादीको हक नदेखिने, बाँकी ३ रोपनीका हकमा प्र.हरूले दबाएको नै भई नदबाउनेले एकलौटी खान पाउनेसमेत ठहर्छ भन्नेसमेत काठमाडौ देवानी इ.अ.को फैसला ।

      १२.   हक इन्साफ गरिपाउँ भन्नेसमेत हेरामानको पुनरावेदन ।

      १३.   मेरो घर सदर गरी हक इन्साफ हुन पाउँ भन्नेसमेत पान्दाचाको पुनरावेदन ।

      १४.   अंश मुद्दामा प्रतिवादी हिरामानले प्रतिवादी दिंदा आफ्नु अंशबाट हक भएको र वादीतर्फबाट बन्धक लिएको समेतबाट हक भई भोग गरेको हुँदा अंश दिनुपर्ने होइन भनी मौकैमा प्रतिवादी दिई मुद्दा चल्दैआएको कुरामा प्रतिवादीहरूले दवाई दपोट गरेको हो भनी इन्साफ दिन मनासिव हुँदा सुरुले कृतिमानका नाउँमा दर्ता भएको खेत ।.। र टुफले खेत ।१।२।४ र पशुपति महास्नान गुठीको रोपनी ३ जग्गासमेत दपोट ठहराएको सुरुको इन्साफ गल्ती ठहर्छ । वादी अपील जिकिर पुग्न सक्तैन । अरु इन्साफ सुरुको मनासिव छ भन्नेसमेत बागमती अञ्चल अदालतको फैसला ।

      १५.   इन्साफ जाँची पाउँ भन्नेसमेत वा. पूर्ण खड्गीको निवेदन ।

      १६.    इन्साफ जाँच गरी दिने निस्सा गरिदिएको छ भन्नेसमेत स्टेण्डिङ्ग कमिटिको निर्णय ।

      १७. वादीको दावी बमोजिमका सवै घर जग्गाहरू अरु नै मिसिल लिखतबाट हक पुर्‍याइ प्रतिवादीले यो किसिमबाट खाए पाएको भनी प्रतिवादीहरूले अंश मुद्दाको प्रतिउत्तरपत्रमा प्रष्ट खोली प्रतिउत्तर दिएको, उक्त प्रमाण निमित्त आएको अंश मुद्दाको मिसिलबाट देखिएकोले समेत वादी दावी न्यायसंगत छ भन्न मिल्ने । त्यसकारण वादीको दावा पुग्न नसक्ने ठहराई छिनेको बाग्मती अञ्चल अदालतको इन्साफ मनासिव ठहर्छ भन्नेसमेत डिभिजन बेञ्चको फैसला ।

      १८. मुद्दा दोहर्‍याई हेरी दिनु भन्ने हुकुम प्रमांगी पाउँ भन्नेसमेत मेहेरमान खड्गीको निवेदन ।

      १९.    न्यायिक समिति राजदरवारको संख्या २०२५।२६।२३ मिति २०२५ साल श्रावण ४ गते रोज ६ को पत्रमा उल्लेख भएको वादी मेहरमान खड्गीको र प्रतिवादी हिरामान खड्गीसमेतको अंशदपोट मुद्दामा सर्वोच्च अदालत डिभिजन बेञ्चबाट भएको २०३२।२।३।२को फैसला दोहर्‍याई पाउँ भन्ने मेहेरमान खड्गीको निवेदन पर्न आएको न्यायिक समितिबाट यस्मा तायदाती नदिई दपोट गरेको घर जग्गा एकलौटी दिलाई पाउँ भन्ने वादी ८२ सालमै छुट्टी भिन्न भइसकेको कुरा अघिकै अंश मुद्दाको प्रतिउत्तरमा उल्लेख गरिसकेकोले दपोट गरेको छैन भन्नेसमेत प्रतिवादी भएकोमा अघि वादी प्रतिवादीको बण्डापत्र भई बाँड्न बाँकी १ घर भनी बण्डापत्र गरेको कायम गरी वादीले प्र.हिरामानलाई ०८।१०।२८ मा भोगबन्धकी दिएको, ८२ सालमै बण्डा भई आफ्नो आफ्नो भोग गरिआएको कलममा २९।३० बर्षको मिति हाली कागज गरायो भनी करकाप मुद्दा दिएको करकाप नठहरेको ८२ सालको बण्डापत्र कायम मानी मेरो अंश भागको घर जग्गा भनी भोगबन्धकी दिएको अघि अंश मुद्दाकै प्रतिउत्तरमा समेत उल्लेख गरिरहेकोले दपोट नठहर्ने भनी बागमती अञ्चल अदालतले इन्साफ गरेको मनासिव छ भनी सर्वोच्च अदालतले इन्साफ गरेको देखियो । उक्त उल्लेखित ठहरबाट अंशबण्डा भइसकेको आधारमा दपोट नठहराएको देखिन आउँछ । तर वादीले करकाप भनेको लिखत करकापबाट गराएको नठहरी अदालतको फैसलाबाट मञ्जुरीले गरिदिएको प्रमाणित भए पनि सो लिखत रजिष्ट्रेशन पास भएको नभई घरसारको लिखतसम्म देखिएको, दाखिल खारीज गर्नुपर्ने, अचल घरजग्गा अंश भागको लिखत १९७९ साल वैशाख १ गते पछि रजिष्ट्रेशन पास नगरेकोमा तत्काल प्रचलित रजिष्ट्रेशनको ७ नं. ले सदरै नहुनेमा पनि अघि परेको अंश मुद्दामा यी वादी प्रतिवादीहरूको नीतिपूर्वक अंशबण्डा नभएको भनी ८२।५।२९ गतेलाई मानो छुट्टिएको मिति कायम गरी अघिल्लो दिनसम्मको तायदाती लिने निर्णय भएको, सोउपर प्रतिवादीले अपील उजूर गर्न नसकी तत्कालिन जिल्ला अदालतबाट मुद्दा अन्तिम भइसकेको यस्तो स्थितिमा सो अन्तिम फैसलासमेत काटिने गरी अघि नै बण्डापत्र भई भागबण्डा छुट्टिएको भन्ने बुँदा लगाएको मिलेको देखिएन । तसर्थ उक्त उल्लेखित १९८२।५।२९ र ०८।१०।२८ का लिखत समेतबाट सम्पत्ति जनाई देखाइसकेको कुरामा प्रतिवादीले दपोट गरेको भन्नेसम्म नमिल्ने, अंशबण्डाको ४६ नं. ले दपोट नगर्ने सवै अंशियारले बण्डा गरी खान पाउने नै भएकोमा तत्कालिन जिल्ला अदालतको अन्तिम निर्णय काटी बण्डा भइसकेको भनी वादीले नपाउने र प्रतिवादीले मात्र पाउने गरेको सर्वोच्च अदालतको निर्णय मिलेको देखिएन । दोहर्‍याउने आदेश बक्सनु पर्ने भनी समितिबाट सिफारिस गरेको जाहेर हुँदा श्री ५ महाराजाधिराजबाट नेपालको संविधानको धारा ७२ को (ख) अनुसार उक्त मुद्दा दोहर्‍याई दिनु भन्ने हुकुम बक्सेको छ भन्ने हुकुम प्रमांगी ।

      २०. फुल बेञ्चमा पेश गर्नु र त्यस्को अन्तिम निर्णय भएपछि त्यस्तो निर्णयको २ प्रति हुकुम प्रमांगी बमोजिम जाहेर गर्न पठाई दिनु भन्नेसमेत प्रधान न्यायाधीश ज्यूको आदेश ।

      २१. तारिखमा रहेका निवेदक मेहरमानलाई र बिपक्ष वारेससमेतको हिरामानलाई रोहवरमा राखी निवेदकतर्फबाट वकिल विद्वान अभिवक्ता श्री लवदेव भट्टले गर्नुभएको बहससमेत सुनी आज निर्णय सुनाउने तारिख तोकिएकोले प्रस्तुत मुद्दामा अंश मुद्दा पर्दा अंश दिनुपर्ने घर जग्गाहरूको तायदाती फाँट दिनुपर्ने कर्तव्य भएका प्रतिवादीले तायदाती फाँट नदिई दवाएको ४ कलम घर जग्गा अंश बण्डाको ४६ नं.ऐनबमोजिम मलाई एकलौटी दिलाई पाउँ भन्ने वादीको दावी नपुग्ने ठहराई स. अ.डिभिजन बेञ्चबाट २०२३।२।३।२ मा फैसला भएकोमा दोहर्‍याई दिनु भन्ने श्री ५ महाराजाधिराज सरकारबाट हुकुम प्रमांगी बक्स भइआएकोले निर्णय दिनुपर्ने निम्नलिखित प्रश्नहरू यस बेञ्चसमक्ष उपस्थित भएको छ :

(१)    वादीको दावीबमोजिमको घर जग्गा प्रतिवादीहरूले अंशदपोट गरी खाएको हो होइन?

(२)   अंशदपोट नठहरेमा वादी दावीको घर जग्गा यसै मुद्दाबाट अंशबण्डा छुट्याई दिन मिल्छ, मिल्दैन ?

      २२.   यिनै वादी प्रतिवादीको अघि अंश मुद्दा पर्दा १९८२।५।२९ मा अंशबण्डा भइसकेको भनी बण्डापत्र समेत प्रमाण दिई प्रतिवादी परेको, प्रतिवादीले देखाएको बण्डापत्र र वादीले गरिदिएँ भनेको भोगबन्धकी लिखतसमेतलाई करकापसँग गराई लिएको भनी वादीले उजूर गर्दा करकाप नठहराई छिनिएको भए पनि अचल घर जग्गाको बण्डापत्र रजिष्ट्रेशन पास गर्नूपर्ने, सो नभएको प्रमाणले अंशबण्डा भइसकेको भन्न नमिल्ने दर्शाई मानु छुट्टिएको मिति १९८२।५।२९ कायम गरी आफ्ना आफ्ना जिम्माको र अरुसमेत बण्डा गर्नुपर्ने चल अचलको फाँटमा खुलाई तायदाती ल्याउनु भनी पर्चा गरी तायदाती माग गर्दा अंश गर्नुपर्ने चल अचल यो यति छ भनी वादी प्रतिवादी दुबैथरले लेखी नदिएको कारणबाट अंशबण्डा गर्न नमिलेको भनी भएको फैसला अन्तिम भइरहेको रहेछ । त्यस मुद्दामा प्रतिवादीले बण्डापत्र देखाएको र कुनै घर जग्गा मेरो अंशमा परेको भनी वादीले नै भोगबन्धक लेखिदिएको त्यस्तो घर जग्गा बण्डा गर्नूपर्ने भएको कुरा वादीलाई थाहा हुनु स्वभाविकै थियो र अदालतले वादीसँग पनि आफ्ना आफ्ना जिम्माको श्रीसम्पति के कति छ ? अरु चल धन माल जो जति छ, बण्डा गर्नुपर्ने श्रीसम्पत्तिको तायदाती मागेको हुनाले वादीले तायदातीमा खुलाई लेखी दिन पर्ने नै थियो । त्यसबखत वादीले पनि तायदातीमा खुलाई लेखी नदिएकोले दबाउने कसूरदार प्रतिवादीमात्र हुन भन्न भएन । उस्मा पनि मिसिलमा देखाउँदै नदेखाएकोलाई दपोट भन्नु पर्ने हो । यस्मा अंश गर्नूपर्ने चीज यो यति गरी लिई दिइसकेको र विक्री व्यवहार भएकोसमेत भनी प्रतिवादीले बण्डापत्रसमेत प्रमाण दिएको र वानेश्वरको घर जग्गा बिज्र्युबाट २०००।१।२९ मा रजिष्ट्रेशन पास गरी र मानबहादुर गुरुङबाट १९८२।७।२७ मा रु.९९ मा राजीनामा गरी लिएको मेरो एकलौटी हक हुने भन्ने प्रतिवादीको भनाई भएकोमा मानबहादुरको राजीनामा जालसाजी हो भन्ने सबूद प्रमाण नभई सद्दे साँचो देखिन आएबाट सो घर जग्गा मानु छुट्टिएपछिको प्रतिवादीको आर्जन भई तत्काल प्रचलित साहू आसामीको ३७ नं. ऐनले बण्डा गर्नु नपर्ने । पछि आर्जन गर्नेकै मात्र हक हुने समेत देखिंदा प्रतिवादीले अंशदपोट गरे एकलौटी दिलाई पाउँ भन्ने वादी निवेदक मेहेरमानको दावी जिकिर पुग्न नसक्ने भनी डि.बे.ले निर्णय गरेको मुनासिव देखिन आयो

      २३.   दोश्रो प्रश्न तर्फ माथि प्रकरणमा उल्लेख भएको वानेश्वरको घर जग्गा बाहेक वादी दावीको अरु घर जग्गाको हकमा सुरुको फैसलामा उल्लेख भएको विभिन्न निर्णयले अर्कै व्यक्तिको ठहरिसकेको बाहेक अरु खुद वादी प्रतिवादीको हक भएको का.ई.बागबजारको खेत रोपनी ।द्र। को जग्गा र त्यस्मा बनेको घर समेत, दोश्रो कित्ताको टुफले खेतमा बाँकी घर जग्गा १ भाग र आखिरी कित्ता श्री पशुपति महास्नान गुठीमा दरियाको रोपनी ६ मध्ये ३ रोपनीसमेतको घर जग्गाहरू मानु छुट्टिएको ठहरेको मिति १९८२।५।२९ भन्दा अघिको आर्जन भई सगोलको बण्डा हुने चिज हो भन्ने कुरामा वादी प्रतिवादीको मुख मिलेकोले त्यस्मा वादीले पनि तत्काल प्रचलित अंशवण्डाको ४६ नं. बमोजिम आफुले पाउने अंश जती छुट्याई लिई चलन गर्न पाउँछ । प्रस्तुत मुद्दाबाटै उक्त घर जग्गा छुट्याई दिलाई दिनालाई अरु बण्डा भइसकी केही बाँकी रहेकोसम्म भए अंश मुद्दाको ठहर बमोजिम भाग लगाई छुट्याई दिन मिल्ने थियो । तर यी वादी प्रतिवादीहरूको अंश मुद्दामा तायदाती नआएको कारणबाट अंशबण्डा गर्नु नपरी अंशियार र विवाह खर्च पाउनेहरूको समेत टुंगो नलागी फैसला भएकोले अंशियार को को भई के कति भाग लाग्ने हो ? १९८२ सालमा छुट्टिएपछि भएका लिखतले आफ्नु हक लाग्ने भनी प्रतिवादीले भनेको बिषयमा तथ्य के हो ? ती प्रश्नहरूकोसमेत टुंगो लगाई अंश मुद्दाकै रीतअनुसार निर्णय गर्नूपर्ने हुन आउँछ । प्रस्तुत मुद्दामा अंश छुट्याई पाउँ भन्ने वादीको दावी नभएकोले फिराद दावी बेगरको कुरामा त्यसरी निर्णय गर्न मिल्ने देखिएन । तसर्थ अंशबण्डाको ४६ नं. ऐनबमोजिम नदबाउने अंशियार वादी प्रतिवादीसमेतले बण्डा गरी खान पाउने उक्त घर जग्गाको वादीले अंश पाउने जति चलन गर्नू, चलन गर्न दिनु । नदिए आफ्नु हक जतिमा कानूनबमोजिम नालेस गरी छुट्याई लिनु भनी सुनाइदिनु । इन्साफ सदर भएकोमा राखेको कोर्टफी जफत हुने हुँदा अरु केही गर्नू पर्दैन । मिसिल नियमबमोजिम बुझाईदिनु । आदेशबमोजिम फैसलाको प्रतिलिपि प्रमुख सचिवालय राजदरवार पठाई दिनु ।

 

इति सम्वत् २०२५ साल पौष ६ गते रोज ६ शुभम् ।