निर्णय नं. ४६३ – ज्यान
निर्णय नं. ४६३ ने.का.प. २०२६ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री मीनबहादुर थापा न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह २०२५ सालको फौ.फु.नं. २९...
निर्णय नं. ४६३ ने.का.प. २०२६
फुल बेञ्च
प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह
न्यायाधीश श्री मीनबहादुर थापा
न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
२०२५ सालको फौ.फु.नं. २९
प्रतिवादी : नेवालालको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
विपक्षी : जि.पु. सर्लाही मौजे गोर्खा बस्ने रामऔतार समेत
मुद्दा : ज्यान
(१) साक्षीहरूको बयान बाझिएमा–सुनेको आधारमा सर्जमिनले शंका गरेमा–प्रत्यक्षरुपमा वारदात भएको देख्ने साक्षीको कमी भएमा–आरोपित कसूर (ज्यानमाराको कसूर) गरेको नठहर्ने ।
त्यस्तो फरक फरक बयान कागज गर्ने जनक वाशुदेवको कुरा सुनी प्रतिवादी राम औतार उपर शंका गर्ने सरजमिनको भनाईलाई विश्वास लायकको सम्झनै नमिल्ने देखिंदैन । अतः साक्षीहरूको कुरा आफुमा बाझिएको र सरजमिन सुनेको भरमा शंका गरेको देखिएको र प्रत्यक्षरुपबाट वारदात भएको कुरा देख्ने साक्षीको अभावमा उपरोक्त उल्लेख गरिएका कारणहरूबाट प्रतिवादीलाई सफाई दिई छिनेको सुरु सर्लाही जिल्ला अदालत र जनकपुर अञ्चल अदालतको इन्साफ सदर ठहराएको मा.न्या.श्री बब्बरप्रसाद सिंहको राय मुनासिव छ ।
(प्रकरण नं. १७)
वादी श्री ५ को सरकारका तर्फबाट : सरकारी अधिवक्ता श्री प्रचण्डराज अनिल
प्रतिवादी तर्फबाट : अधिवक्ता श्री कृष्णकुमार बर्मा
फैसला
१. २०१८।५।३१ गते राती अं.८ बजेको टायममा भिन्न भई बेगल बसेको भाइ गेनाराय यादब भात खाइ गाउँदेखि दक्षिण तर्फ दिसा बस्न गएको थियो । सो गएको केही छिनबाद मलाई छुरीले हान्यो । दगुर्न भनी निज भाइ गेनाले कराएको आवाज सुनी म र गाउँकै बाबुदेव रायसमेत भई दगुर्दै जाँदा गाउँ देखि दक्षिण लखनदेहीको पुरानु धारमा रहे भएको पुल नेर बाटो भई निज भाइ लडी रहेको के भयो ? भनी सोध्दा बेहोस भइरहेकोले कुनै कुरा बताउन भन्न सकेन तापनि हेर्दा बायाँतर्फ पेटमा घाउ भएको रगत छ्यालव्याल भइरहेको थियो । निजलाई म र वाशुदेवले बोकी घर ल्याउँदा गाउँले धेरै मानिसहरू जम्मा भएपछि सोधपुछ गर्दा पनि कुनै कुरा भन्न नसकेको काहारमा उठाई मलंगवा अस्पताल ल्याउँदा अन्दाजी ५ बजे भोरसम्म स्वास चलेको थियो । केहीबेर वाद प्राणान्त भएकोले दरखास्त दिन आएको छु भन्नेसमेत २०१८।६।११ को नेवालालको दरखास्त ।
२. मैले गेनालाई छुरा रोपेको होइन । निजसँग मेरो कुनै किसिमको इवि अदावत समेत छैन । मेरो धोतिमा लागेको सानो ठुलो गरी ८ वटा बुट्टा रगतको दाग मछडले टोकेकोले मछड मार्दाको अवस्थामा लागेको मछडको रगत हो भन्नेसमेत राम औतारको कागज ।
३. मुद्दा चलाउ नै पर्ने ठहराई रिपोर्ट गरेको छु भन्नेसमेत प्रहरी प्रतिवेदन ।
४. नमालुम कसले हो कर्तब्य गरी मारे भन्ने सुनेको हुँ । यस्ले मारेको भन्ने मलाई थाहा छैन । भाद्र ३१ गते शनिबारको दिनको ४ बजेको टायममा मलंगवा आएको थिएँ । सोहि रातमा चक्कुले रोपी मारेको भन्ने कुरा भोलिपल्ट आश्विन १ गतेको विहान मलंगवामा सुनेको हुँ भन्नेसमेत रामऔतारको बयान ।
५. २०१८।५।२२ गतेका दिन भाउजू बोलाउन भनी ससुराल जिल्ला सितामढी लेठमा मौजे हलोकु बारीमा गएको आश्विन २ गते मात्र घर फर्केको हुनाले सो भाद्र ३१ गते औतार बृछ समेतसँग भेटघाट भएन । ससुरालीबाट फर्केपछि भेलहीमा खुन भयो रे भन्ने कुरा गाँउघरमा हल्ला सुनेको सम्म हुँ भन्नेसमेत गंगाबहादुरको बयान ।
६. मैले कसूर गरेको छैन । २०१८।५।३० गते हाम्रै गाँउको माहाजन रुदल धानुकको बहिनी विवाह गरी पठाएकोले निजलाई पुर्याउन भनी गाउँदेखि १० कोष फरक विदेश सीतामढी देखि पूर्व मझ्यौलिया भन्ने गाँउमा गएको पर्सिपल्ट आईतबार बेलुका घरमा आई पुगेको हुँ भन्नेसमेत वृछाप्रसादको बयान ।
७. मार्नु पर्नेसम्मको इवि अदावत नदेखिएको कुनै लालचबाट मार्यो भन्ने मिसिलबाट नदेखिएको यो खुन निजैले गरेको हो भन्ने सबूद बेगर शंकै शंकाको आधारमा ज्यान खुुन जस्तो कडा सजाय हुने कुरामा अपराधी ठहराई सजाय दिन उचित देखिंदैन । बुझिएसम्को उपरोक्त कारणबाट प्रतिवादीले खुन गरेको ठहर्दैन । पछि अपराधी पत्ता लागेका बखत कारवाही गर्ने गरी हाल मुल्तवीमा राख्ने समेत इ.अ. सर्लाहीको फैसला ।
८. ज्यान सम्बन्धीको २५ नं. बमोजिम सजाय हुनुपर्ने भन्नेसमेत श्री ५ को सरकारको पुनरावेदन ।
९. अभियुक्तहरूले छुरीले रोपेको देखेको हौं भनी कुनै सरजमिनले किटानीसाथको बकाई देखिन नआएको समेतबाट शंकैको भरले यी अभियुक्तहरूले कसूर गरेको ठहर्नै पर्ने भन्ने अपीलाटको जिकिर पुग्न सक्दैन । सुरु फैसलामा लेखिएका बुँदा प्रमाणबाट अभियुक्तलाई सफाइदिने ठहराएको इन्साफ सुरुको मुनासिव ठहर्छ भन्ने जनकपुर अं.अदालतको फैसला ।
१०. सो फैसलामा चित्त बुझेन भन्नेसमेत श्री ५ को सरकारको पुनरावेदन जिकिर ।
११. मर्ने गेना मसमेत दुवैजना दिसा बस्न भनी गई पुलदेखि दक्षिण तर्फ गेना दिसा बस्न गए । पुल वारी बाटाको किनारामै दिसा बसीरहँदा रामऔतार समेत पुल वारी गईसकेपछि गेनाले मरें मरें भनी कराए भनी जनक ग्वारले के भयो ? भनी सोध्दा औतार दुसादले छुरा मारी भागे भनी भन्यो त्यति भन्नासाथै बेहोस भयो भन्नेसमेत वाशुदेवले सरजमिनमा लेखिदिएको देखियो । तर ती व्यक्तिहरूलाई सुरु अ.ले बयान गराएको नदेखिएको र अ.बं.१४१ नं. मा राजगद्दी राजपरिवारको गाथमा राजकाज सम्बन्धी वा ज्यान सम्बन्धी मुद्दामा वारदात भएको देख्ने साक्षीलाई जुन अड्डामा मुद्दा परेको छ उसै अङ्गमा झिकाइ बकाउनु पर्छ भन्नेसमेत उल्लेख भएको हुँदा मिसिलबाट खुलाउन पर्ने कुराहरू खुलाउन समेत उक्त जनक ग्वार वासुदेवलाई र प्रतिवादी राम औतारलाई दिन ७ को म्याद दिई झिकाइ आएपछि पेश गर्नु भन्ने डिभिजन बेञ्चको आदेश ।
१२. वादी श्री ५ को सरकार देखिंदा रोहवर गराउन निमित्त सरकारी वकिललाई समेत झिकाउन महान्यायाधीवक्ताको कार्यालयमा सूचना गरी २०२४।३।२६।२ का डि.बे.को आदेशबमोजिम बयान गराउना निमित्त पेश गर्नु भन्ने डिभिजन बेञ्चको आदेश ।
१३. गेनाले राम औतारले छुरा मारी भाग्यो भनी म पुगेपछि भनेको हो भन्नेसमेत जनक ग्वारको बयान ।
१४. नेवालाल र म बसेका थियौं जनक पुल नजिक गेनालाई मारे भनी कराएको सुनी हामी २ जना दौडी पुलबाट तरी पारी गएपछि गेनासँग भेट भयो । औतार दुसादले छुरा हानी भागी गयो भने पछि नेवालाल पुगे, नेवालाई पनि औतार दुसादले छुरा हानी भागी गयो भनी निजलाई पनि भन्यो भन्नेसमेत वाशुदेवको बयान ।
१५. मनेृ गेनालाई राम औतारले छुराले हानी मारे भनी मर्ने गेनाले भनेको भई जनक र वाशुदेवले भनेको भन्ने सरजमिनका मानिस र जनक वाशुदेवको सरजमिन कागज भएको निजहरूको कागजको एकै मिलान नभई फरक परेको जाहेरवालाको दरखास्तमा मर्ने गेनालाई राम औतारले छुरा मार्यो भन्ने नलेखिएको जनक वाशुदेव र जाहेरवालाको दरखास्त फरक देखिएको सरजमिनमा गरेको कागज र यस अदालतमा बयान गर्दा वासुदेव जनकको बयान फरक फरक बयान गरेका त्यस्ता व्यक्तिको भनाई सुनी प्र.राम औतार उपर शंका गरी बक्ने सरजमिनले बकेको कुरा पनि साँचो नदेखिने अभियुक्त राम औतारले इन्कारी गरी बयान गरेको समेत देखिएकोले प्रतिवादीलाई सफाई दिई अपराधी पत्ता लागेमा कारवाई गर्ने ठहराई छिनेको सुरुको इन्साफ मनासिव गरी जनकपुर अञ्चल अदालतको इन्साफ मुनासिव ठहर्छ भन्ने मा.न्या.श्री बब्बरप्रसाद सिंहको राय ।
१६. मौका तहकिकात सरजमिन मुचुल्कामा जनक ग्वारको व्यहोरामा मर्ने गेना र म समेत २ जना २०१८।५।३१ गते राती अं. ८ बजेको टायममा दिसा बस्न भनी गाउँदेखि दक्षिण पश्चिम लखनदेही नदीको धारमा भएको पुल नेर गई पुल मुनि दक्षिण तर्फ गेना दिसा बस्न गए । म पुल वारी नै बाटो किनारमै दिसा बसी रहँदा बाटो बाटै ३ जना मानिस कुरा गर्दै जाँदै थिए । १ जना राम औतार दुसादलाई चिनें अरु २ जनालाई चिनिन । निजहरू पुल पारी गई सकेपछि गेनाले मरें मरें भनी कराएबाट दौडि जाँदा गेना समेत वायाँ पट्टि पेटमा छुरा रोपिएको घाउ र रगत बगीरहेको देखि के भयो ? भनी सोद्धा मलाई राम औतारले को हो भनी सोद्धा म जो भए पनि तँलाई के वास्ता भनी छुराले हानी भाग्यो भनी भन्यो वाशुदेवका भनाईमा छुरा मार्यो भन्ने र गेनालाई छुरा मार्यो भनी हल्ला सुनी जाँदा गेनासँग सोद्धा औतार दुसादले छुरा मारी भाग्यो भन्ने र पलटराय यादबको व्यहोरामा मेरो परवाको खेती रखवारी बसेको थिएँ । पुल नेर हल्ला भयो भनी गर्वातर्फ ३ जना मानिस दुगुर्दै गएको देखेको हो भनी हेर्दा अघिल्लालाई चिनिन रामबृक्ष औतर भन्ने थियो भन्नेसमेत उल्लेख भएको यही राम औतारले छुरा मारेको नभए उक्त व्यक्तिहरूले त्यसरी लेखाई दिन नपर्ने, मर्ने गेनाले नै रामऔतारको नाम बताएको भन्ने प्रष्ट उल्लेख गरेको र राम औतारले बयान गर्दा भाद्र ३१ गते शनिवारको दिनको ४ बजेको टायममा म मलंगवा आएको, रत्नदुसादको घरमा रातमा बास बसेको भन्दै इन्कार लिएको साक्षी रत्न दुसादको बयानमा राम औतार सो दिन विहान ९ बजे मेरो घरमा आई भन्नेसमेत उल्लेख गरेको देखिएबाट फरक परेको देखिएबाट राम औतारको इन्कारी तथ्य सावित हुन आएन । लासजाँच मुचुल्काबाट बायाँपट्टि कोखामा १। इँचि लंवा ।।। पौने इन्ची चौडा भुँडिभित्रसम्म छेडिएको घाउ भन्ने देखिएको र सरजमिन मुचुल्काबाट चोरीमा सजाय पाएको बदचलनको मानिस भन्ने पनि देखिएकोले समेत निज रामऔतारले छुरा रोपी खुन गरेकै ठहर्छ । अरु प्रतिवादीले खून गरेको नठहराएकोसम्म सुरु र अं.अदालतको मुनासिव छ । निज राम औतारलाई ज्यान सम्बन्धीको १३ नं. अनुसार जन्म कैद हुनेमा को हो भनी सोद्धा उठेको रीसले गेनालाई छुराले हानी आफू बच्न पनि हुनसक्ने हुनाले र मर्नेको कागज पनि हुन नपाएको हुनाले जम्मा कैद बर्ष १० गर्ने गरी अ.बं.१८८ बमोजिम राय समेत त्येक गरेको छु । साक्षी रत्न दुसाद दरवारी दुसादलाई रु.२३०। दरले जरिवाना गर्ने र सहयोगी साथी मा.न्या.श्री बब्बरप्रसादको रायमा मेरो सहमत नहुँदा निर्णयको निमित्त फुल बेन्चमा पेशगर्ने भन्नेसमेत मा.न्या.श्री राजा इश्वरी जंगबहादुर सिंहको राय फैसाला ।
१७. यस्मा डिभिजन बेञ्चका २ जना न्यायाधीशहरूको राय सहमत नभई निर्णयको निमित्त प्र.राम औतार दुसादलाई रोहवरमा राखी पेश हुन आएको प्रस्तुत मुद्दामा वादी श्री ५ को सरकारतर्फबाट खटी आउनु भएको विद्वान सरकारी अधिवक्ता श्री प्रचण्डराज अनिलले गर्नुभएको बहस र प्रतिवादी राम औतारतर्फबाट विद्वान अधिवक्ता श्री कृष्णकुमार बर्माले गर्नुभएको बहससमेत सुनी निर्णयतर्फ हेर्दा मर्ने गेनाको दाजु नेवालालको दरखास्त जाहेरीमा दिसा बस्न गएको भाइ गेनाले छुरा मार्यो दगुर्नु भनी कराएको सुनी जाँदा बेहोस भैरहेको भन्ने लेखिएको, यसले छुरा मार्यो भनी सो दरखास्तमा लेखिएको नदेखिएको मर्ने गेनासँग साथै गई पुल पारी र वारी बाटोको छेउमा अर्थात नक्साबाट देखिएकोले अन्दाजी १३।। जंजीर वरपर दिसा बस्ने जनकले सर्जमिनमा गरेको कागजमा मरें मरें भनी कराए, म गई सोद्धा मलाई रामऔतार दुसादले मैले को हो ? भनी सोद्धा म जो भएपछि तँलाई के वास्ता भनी छुराले हानी भाग्यो भनेको र यस अदालतमा बयान गर्दा राम औतरले छुरा मारी भागे भनी मार्यो मार्यो भनी कराउँनासाथ म पुगेको थिएँ भनी बयान गरेको देखिएको, मर्ने गेनाले रामऔतारलाई को हो ? भनी सोद्धा छुराले हानेको भए केही वरपर दिसा बस्ने जनकले रातको समय त्यति निजकमा भए परेको कुरा केही सुन्नसक्नु पर्ने सो मर्ने मार्नेको बीच भएको कुरा सुनेको नभनी पछि गई सोद्धा थाहा पाएको भनी लेखेको जाहेरवालासँग साथ जाने वाशुदेवले सर्जमिनमा गरेको कागजमा के भयो ? भनी सोद्धा औतार दुसादले छुरा मारी भागे भनी मर्यो, त्यति भन्नासाथै बेहोस भयो भनी लेखेको यस अदालतमा बयान गर्दा गेनासँग भेट भयो । औतार दुसादले छुरा हानी भागी गयो भनेपछि नेवालाल पुगे । नेवालाललाई पनि औतारदुसादले छुरा हानी भागी गयो भनी निजलाई पनि भन्यो । कहिले होस कहिले बेहोस हुन्थ्यो भनी बयान गरेको देखिएको संगसाथ जाने भनेको वासुदेवले मर्नेको दाजु जाहेरवालालाई मौकैमा सोही कुरा भनेको अथवा निजको बयान बमोजिम नेवालाल पनि मर्ने गेनाले भनेको कुरा सुनेको भए नेवालालले आफ्ना २०१८।६।१ गतेदेखिको जाहेरीमा सो औतार दुसादले नै छुरा मारेको भनी लेखिनु स्वाभाविकै थियो । उपरोक्त लेखिएबमोजिम मौकामा मर्ने गेनाले भनेको सुनी भनेको हो भन्ने वासुदेवको कुरा र राम औतारले छुरा मारेको भनी मर्नेले भनेको भनी जनकको कुरासमेत मौकैमा मर्नेको दाजु नेवालाललाई भनेको भन्ने कुरा मिसिलबाट देखिन नआएको आश्विन ७ गतेको सर्जमिनमा ८ दिन पछि मात्र सो कुरा भनेको भन्ने सर्जमिनमा लेखाएका कुरालाई निजहरूको यस अदालतमा गरेको बयानबाट मिल्न आएको देखिएन । त्यस्तो फरक फरक बयान कागज गर्ने जनक वाशुदेवको कुरा सुनी प्रतिवादी रामऔतार उपर शंका गर्ने सर्जमिनको भनाईलाई विश्वास लायकको सम्झ नै मिल्ने देखिंदैन । अतः साक्षीहरूको कुरा आफुमा बाझिएको र सरजमिन सुनेको भरमा शंका गरेको देखिएको र प्रत्यक्षरुपबाट वारदात भएको कुुरा देख्ने साक्षीको अभावमा उपरोक्त उल्लेख गरिएका कारणहरूबाट प्रतिवादीलाई सफाई दिई छिनेको सुरु सर्लाही जि.अदालत र जनकपुर अञ्चल अदालतको इन्साफ सदर ठहर्न आएको मा.न्या. श्री बब्बरप्रसाद सिंहको राय मुनासिव छ । श्री ५ को सरकारको पुनरावेदन हुँदा जरिवाना गर्न परेन । नियमबमोजिम गरी मिसिल बुझाई दिनु ।
इति सम्वत् २०२५ साल मार्ग २५ गते रोज ३ शुभम् ।