November 15, 1968
Created by nepalarchives

निर्णय नं. ४६२ – जग्गा

निर्णय नं.  ४६२     ने.का.प. २०२६ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री मीनबहादुर थापा न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह २०२५ सालको दे.फु.नं. ९३ पुनरावेदक...

निर्णय नं.  ४६२     ने.का.प. २०२६

फुल बेञ्च

प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह

न्यायाधीश श्री मीनबहादुर थापा

न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

२०२५ सालको दे.फु.नं. ९३

पुनरावेदक : खुदा बगर लोहरौली डुबीहवा बस्ने श्यामबिहारी पाण्डे

विरुद्ध

विपक्षी       : ऐ ऐ. बस्ने सुखु चमार

मुद्दा : जग्गा

(१)   जग्गा मिच्नेको १४ नं. लगाई सजाय गरेको केशमा पुनरावेदन लाग्न सक्ने ।

            उखडा सम्बन्धी ऐन, २०२१ को दफा ८ को उपदफा (२) ले पुनरावेदन नलाग्ने गरी बन्देज गरेको भित्र यो मुद्दा पर्न नआएको र उखडा सम्बन्धी ऐन, २०२१ को दफा ६ को उपदफा (१)(२) बमोजिम सजाय गरेबाहेकको बिषयमा बिषेश अदालत ऐन, २०१३ को दफा ८ बमोजिम पुनरावेदन लाग्न सक्ने सिद्धान्त कायम गरी निवेदक जगदम्बाप्रसाद विपक्षी उखडा ट्राइबुनल नं.१ भैरहवा समेतको परमादेशको आदेश जारी गरिपाउँ भन्ने रि.फु.नं.४ को केशमा २०२३।९।२९।६ को फुल बेञ्चको बहुमतबाट फैसला भइराखेको समेत देखिएकोले यस्तो जग्गा मिच्नेको १४ नं. लगाई सजाय गरेको केशमा पुनरावेदन लाग्न सक्ने नै देखियो ।

(प्रकरण नं. ९)

(२)   अधिकार क्षेत्र बाहेकको मुद्दा हेरे छिनेमाअ.बं.३५ नं. बमोजिम बदर गराउन कानूनअनुसार पुनरावेदनको मार्ग अपनाउनु पर्ने ।

            २ जना मात्रै सदस्य रही गरेको फैसला कानूनबमोजिम भएको मान्न नमिल्ने भएकोले यस्तो फैसला उपर पुनरावेदन गर्न पाउने कुराको प्रश्नै उठ्न नसक्ने भन्ने निवेदक कल्पराज बनिया विपक्षी उखडा ट्राइबुनल समेतको रि.फु.नं.१३ समेतको केशमा २०२४।८।२६।३ को फुल बेञ्चको बहुमतबाट निर्णय भइराखेको भन्ने हकमा अ.बं.३५ नं. मा गैरअड्डाले कानूनबमोजिम आफुले हेर्न हुने मुद्दा बाहेक अरु मुद्दा हेर्न हुदैन । हेरी छिनेको भए पनि बदर हुन्छ भन्ने व्यवस्था भएको, यदी कुनै अड्डा अदालतले आफ्नो अधिकार क्षेत्र बाहेकको मुद्दा हेरे छिनेको छ भने उक्त अ.बं.३५ नं. बमोजिम सो बदर गराउनलाई कानूनबमोजिम पुनरावेदनको बाटो अपनाउनु पर्ने ।

(प्रकरण नं. ९)

फैसला

            १.     सुफु चमारले दाखिल गरेको विवरण पत्रमा लेखिएको जग्गा मेरो सिरको जग्गा हो, निजले मेरो मञ्जुरीमा हरूवाइ काम गर्ने भएकोले हरूवाइ काम गरेको हो, उखडामा जोतेको होइन भन्नेसमेत वादी स्यामबिहारी पाण्डेको बयान ।

            २.    प्रतिवादी सुफु चमारले २०२२।१०।२२।६ मा तामेल भएको म्यादमा हाजिरै हुन नआई गुजारी बसे तापनि किसान सुफु चमारलाई जग्गा जोत्न दिएको छैन भन्ने वादीको भनाई नभई जग्गा जोत्न दिएमा सावित भएको र काम गरे वापत माफिमा दिएको लिखत सबूद पेश हुन नआएको हुँदा किसानले उखडामा जोतेको जग्गालाई उखडा होइन भनी वादीले झुठ्ठा दावी गरेको ठहर्छ भन्नेसमेत २०२२।११।४ को उखडा ट्राइबुनल नं. २ को फैसला ।

            ३.    जिल्लाको चलन अनुसार उखडा जमीन जोत्नेले रसिद लिने र रसिद नपाएमा उजूरी गरी धरौट राखेको हुनुपर्ने सो गरेको छु भनी विपक्षले भन्न आएको छैन तापनि सुरुबाट उखडा उठाएकोमा चित्त बुझेन भन्नेसमेत वादी पक्षको पुनरावेदन ।

            ४.    पुनरावेदक श्यामबिहारी पाण्डेलाई रोहवरमा राखी प्रस्तुत हुन आएको यस मुद्दामा पुनरावेदक तर्फका विद्वान वकिल प्लीडर सुधानाथले गर्नुभएको बहस सुनी निम्न लिखत विभिन्न राय व्यक्त भएको ।

            ५.    उखडा सम्बन्धी ऐन, २०२१ को दफा ७ बमोजिम गठित ३ जना सदस्य भएको रुपन्देही उखडा ट्राइबुनलले १ जना सदस्यको अनुपस्थिति भई अध्यक्ष र एकजना सदस्य समेत २ जना सदस्य भएको अवस्थामा प्रस्तुत मुद्दा पेश भई फैसला गरेको देखियो । सो फैसला उपर श्यामबिहारी पाण्डेको पुनरावेदन परी प्रस्तुत हुन आएको यो मुद्दामा दुई सदस्यको मात्र उपस्थितिमा मुद्दा हेरी फैसला गरेको मान्यता दिन हुन्छ हुदैन ? यदी यस्तो फैसला नै कानूनी दृष्टिबाट अमान्य हुने हो भने त्यसउपरको यो पुनरावेदन हेरी इन्साफ गर्नुपर्ने प्रश्नै आउदैन । अतः पहिले यो फैसलालाई कानूनी मान्यता दिन हुने नहुने के हो ? भन्ने तर्फ विचार गर्न पर्ने हुन आयो ।

            ६.    यदी मुद्दा जस्तै रुपको निवेदक कल्पराज बनिया विपक्षी कपिलबस्तु उखडा ट्राइबुनल नं. ३ समेत भएको केशमा २०२४।८।२६।३ मा फुल बेञ्चबाट निर्णय हुँदा २०२४।३।९।६ को फुल बेञ्चबाट किनारा भएको निवेदक बुद्धिमान थारु विपक्ष त.ना.सु. वीरबहादुर समेत भएको रि.पु.नं.७ को र २०२४।५।२३।६ को फुल बेञ्चबाट किनारा भएको निवेदक बुद्धिमान थारु विपक्ष वंशराज चमार त.ना.सु. वीरबहादुर समेत भएको रि.फु.नं. १४ को उत्प्रेषणको आदेश जारी गरिपाउँ भन्ने केशहरूमा ३ तीन जनाको ट्राइबुनलमा २ जना मात्रले गरेको फैसला उपर पुनरावेदन गर्न पाउने भन्नेसमेत उक्त फुल बेञ्चबाट भएको निर्णयलाई स्वीकार नगरी ३ जना सदस्य भएको ट्राइबुनलमा २ जना सदस्यमात्र रही गरेको सम्बन्धित फैसलालाई कानूनबमोजिम भएको मान्न नमिल्ने भएकोले उत्प्रेषणको आदेश द्वारा बदर गर्ने ठहराएको देखिएकोले फुल बेञ्चबाट सिद्धान्त प्रतिपादन भइसकेको र प्रस्तुत मुद्दामा पनि रुपन्देही उखडा ट्राइबुनल नं. २ ले १ सदस्यको अनुपस्थितिमा एकजना अध्यक्ष र एकजना सदस्य समेत जम्मा दुइजना सदस्य मात्रको उपस्थितिमा २०२२।११।२६।४ गते फैसला भएकोले तदनुसार अनधिकृत फैसला हुँदा कानूनी मान्यता दिन नहुने भएकोबाट बदर हुने ठहरेकोले त्यसउपरको पूनरावेदन हेरी कारबाही गर्न नमिल्ने हुँदा खारेज हुने ठहर्छ । उक्त फैसलाले श्यामबिहारीलाई गर्ने गरेको जरिवाना रु.६६२। र झगडा गरेको जग्गा उखडा ठहराई प्रतिवादी सुखु चमारका नाउँमा दर्ता गर्ने गरेको समेत लगत काटी दिन सहयोगी माननीय न्यायाधीश श्री राजा इश्वरी जंगबहादुर सिंहसँग राय नमिलेकोले फुल बेञ्चमा पेश गरी निर्णय भईआएबमोजिम गर्नु भन्ने मा.न्या. श्री हेरम्बराजको राय ।

            ७.    ३ जना सदस्य भएको रुपन्देही उखडा ट्राइबुनल नं. २ मा २ जना सदस्य मात्र भई हेरी फैसला गरेको प्रस्तुत मुद्दामा सो फैसला उपर वादी श्यामबिहारीको पुनरावेदन पर्न आएको देखियो ।

            ८.    उखडा सम्बन्धी ऐन, २०२१ को दफा ७ को प्रतिकुल अध्यक्ष र १ जना सदस्य भई २ जना सदस्यले मात्र गरेको रुपन्देही उखडा ट्राइबुनल नं. १ को २०२२।११।२६।४ को फैसला अमान्य हुने हुँदा त्यसउपरको पुनरावेदन नै हेर्न नपर्ने भनी सहयोगी मा.न्या.श्री हेरम्बराजले राय व्यक्त गर्नुभएकोमा म सहमत छैन । किनकी तल्लो अड्डा अदालतहरूले गरेको निर्णय अधिकृत हो वा अनधिकृत हो भन्ने कुरा यस सर्वोच्च अदालतमा कुनै माध्यमद्वारा प्रस्तुत हुन आएर नै जानकारी हुन आई त्यसै माध्यमद्वारा त्यसको निर्णय गर्नुपर्ने हुन आउँछ र कुनै अदालतले आफुलाई कुनै प्रकारको निर्णयले हानी पुर्‍याएकोमा त्यसउपर पुनरावेदन गर्न पाउने नपाउने भन्ने कुरा पनि कानूनद्वारा निर्धारण गरिएको छ । तदनुरुप त्यसउपर उपचारको सुविधा लिन पाउने सम्बन्धित पक्षहरूको अधिकार हुन आउँछ । प्रस्तुत मुद्दामा ट्राइबुनलको निर्णय स.अ.समक्ष राख्न पक्षले पुनरावेदन गर्ने सुविधा सम्बन्धित पक्षलाई कानूनले दिएको छ छैन? भन्ने तर्फ नै हेर्नु पर्दछ । रुपन्देही उखडा ट्राइबुनल नं. २ ले फैसला गर्दा जग्गा मिच्नेको १४ नं. लगाई फैसला गरेको देखिंदा उखडा सम्बन्धी ऐन, २०२१ को दफा ८ को उपदफा (२) को परिधिभित्र पर्न नआएकोले यो फैसलाउपर सम्बन्धित पक्षको पुनरावेदन गर्न पाउने हक कानूनले दिएको छ भन्ने कुरालाई विशेष अदालतको अधिकार प्राप्त भई विशेष अदालत ऐनबमोजिम २ सदस्य भई गरेको फैसला मान्यता रहेको यस्तै कतिपय मुद्दाहरू फैसला भइरहेको र बि.अ.ऐन, २०१३ को दफा २ ले २ सदस्य भएमा पनि हेरी आएको देखिन्छ । तर फुल बेञ्चले २ सदस्य भएको फैसला अमान्य ठहर्छ भन्ने निर्णय भए तापनि पुनरावेदन हेरी निर्णय गर्नुपर्ने कुरालाई यस्तै मुद्दा निवेदक सदस्य त.ना.सु. वीरबहादुर विपक्षी बुद्धिमान थारु भएको उत्प्रेषणको रिट २०२४।३।९।६ मा फुल बेञ्चमा पेश हुँदा ३ जना सदस्य भएको ट्राइबुनलमा २ जना मात्र सदस्यले गरेको फैसला बदर गरिपाउँ भन्ने माग भएकोमा निवेदक जगदम्बाप्रसाद विरुद्ध उखडा ट्राइबुनल नं. १ को परमादेश जारी गरिपाउँ भन्ने मुद्दामा फुल बेञ्चबाट उखडा ट्राइबुनल ऐन, २०२१ को दफा ६ को उपदफा (१) (२) बमोजिमको सजाय गरे बाहेकको बिषयमा सोही ऐनको दफा ८(२) लगाई अपील म्याद नदिएको मिलेको नदेखिएकोले पुनरावेदन म्याद दिने निर्णय भएको देखिन्छ । उक्त बेञ्च सित यो बेञ्च पनि सहमत भएकोले उखडा ट्राइब्युनलको जुन फैसला बदर गरिपाउँ भनेको छ सो फैसलाले उखडा ऐनको दफा ६ (१) (२) लगाई सजाय गरेको नभई कीर्ते कागजको ऐन र जग्गा मिच्नेको ऐन लगाई सजाय गरेको देखिनाले पुनरावेदन लाग्ने भन्ने प्रष्ट छ । अतः पुनरावेदन लाग्ने देखिएकोले पुनरावेदन नलाग्ने गरी निवेदकको पुनरावेदन पाउने हक अवरुद्ध गरेको देखिंदा पुनरावेदनको म्याद दिनु भनी रुपन्देही उखडा ट्राइब्युनल नं.१लाई परमादेशको आदेश जारी गर्नुपर्ने ठहर्छ भन्ने भएको निर्णयले पुरा सर्मथन गरेको छ र कानूनले पुनरावेदन पाउने हक प्राप्त सम्बन्धित पक्षले पुनरावेदन दिए पछिमात्र सोहि माध्यमबाट त्यस्तो फैसला सदर बदर गर्नुपर्ने र अन्य असाधारण रुपबाट सो सदर बदर गर्न नपर्ने भन्ने सिद्धान्तको प्रतिपादन भएको हुनाले प्रस्तुत मुद्दामा कानूनले दिएको हक अनुसार पक्ष श्यामबिहारीले दिएको पुनरावेदन नै हेरी सो फैसलाको निर्णय गर्नुपर्ने ठहर्छ । सहयोगी न्यायाधीशले पुनरावेदन खारेज गर्ने गरेको कानूनी सिद्धान्तमा मिल्न आउदैन । राय सहमत नभएकोले फुल बेञ्चमा पेश गरी निर्णय भएबमोजिम गर्नु भन्ने मा.न्या.श्री राजा इश्वरी जंगबहादुर सिंहको राय भएको २०२५।३।४।२ को डिभिजन बेञ्चको फैसला ।

            ९.    दुवै पक्ष राखी २०२५।७।२०।३ मा विद्वान वकिलहरूको बहस भई आज निर्णय सुनाउन तारिख तोकिएको प्रस्तुत मुद्दामा वादी श्यामबिहारी पाण्डेको पुनरावेदन हेर्न मिल्ने नमिल्ने के हो ? भन्ने बिषयमा मुख्य निर्णय दिनुपर्ने देखिन्छ । रुपन्देही उखडा ट्राइबुनलको २०२२।११।२६।४ को फैसला हेर्दा वादी श्यामबिहारी पाण्डेलाई जग्गा मिच्नेको १४ नं. लगाई सजाय गरेको देखिएकोले उखडा सम्बन्धी ऐन, २०२१ को दफा ८ को (२) ले पुनरावेदन नलाग्ने गरी बन्देज गरेको भित्र यो मुद्दा पर्न नआएको र उखडा सम्बन्धी ऐन, २०२१ को दफा ६ को उपदफा (१) (२) बमोजिम सजाय गरे बाहेकको बिषयमा बिषेश अदालत ऐन, २०१३ को दफा ८ बमोजिम पुनरावेदन लाग्न सक्ने सिद्धान्त कायम गरी निवेदक जगदम्बाप्रसाद विपक्षी उखडा ट्राइबुनल नं. १ भैरहवासमेतको परमादेशको आदेश जारी गरिपाउँ भन्ने रि.फु.नं.४ को केशमा २०२३।९।२९।६ को फुल बेञ्चको बहुमतबाट फैसला भइराखेको समेत देखिएकोले यस्तो जग्गा मिच्नेको १४ नं.लगाई सजाय गरेको केशमा पुनरावेदन लाग्न सक्ने नै देखियो । २ जना मात्रै सदस्य रही गरेको फैसला कानूनबमोजिम भएको मान्न नमिल्ने भएकोले त्यस्तो फैसलाउपर पुनरावेदन गर्न पाउने कुराको प्रश्नै उठन नसक्ने भन्ने निवेदक कल्पराज बनिया विपक्षी उखडा ट्राइबुनल समेतको री.फु.नं.१३ समेतको केशमा २०२४।८।२६।३ को फुल बेञ्चको बहुमतबाट निर्णय भइराखेको भन्ने हकमा अ.बं.३५ नं. मा गैह्अड्डाले कानूनबमोजिम आफुले हेर्न हुने मुद्दा बाहेक अरु मुद्दा हेर्न हुदैन, हेरी छिनेको भए पनि बदर हुन्छ भन्ने व्यवस्था भएको, यदि कुनै अड्डा अदालतले आफ्नो अधिकारक्षेत्र बाहेकको मुद्दा हेरी छिनेको छ भने उक्त अ.बं.३५ नं. बमोजिम सो बदर गराउनलाई कानूनबमोजिम पुनरावेदनको बाटो अपनाउनु पर्ने र प्रस्तुत मुद्दामा प्रश्न उठेको २ जना सदस्य मात्रले गरेको फैसला कानूनबमोजिम भएको मान्न मिल्ने नमिल्ने कुराहरू पुनरावेदन तहबाट पनि निर्णय हुनसक्ने नै देखिएको र निवेदक समझा अहिर्नी विपक्षी रुपन्देही उखडा ट्राइबुनलसमेतको री.फु.नं.१० को केशमा २ जना सदस्य मात्र रही गरेको फैसलालाई कानूनबमोजिम मान्न नमिल्ने भएकोले त्यस्तो फैसला उपर पुनरावेदन गर्न पाउने कुराको प्रश्नै उठ्न नसक्ने भन्ने २०२४।८।२६।३ को फुल बेञ्चको बहुमतसँग सहमत नभई पुनरावेदन लाग्ने नै र २ जना सदस्य मात्र रही गरेको कायम हुने नहुने कुरा पुनरावेदन तहबाटै निर्णय हुनसक्ने भन्नेसमेत ठहर भई २०२५।५।२२।६ को फुल बेञ्चको बहुमतबाट निर्णय भइराखेको देखिएकोले समेत २ जना सदस्यमात्रले गरेको फैसला उपर पुनरावेदन नलाग्ने भन्न मिल्ने देखिएन । तसर्थ उपरोक्त उल्लेख भएबमोजिम कारणहरूबाट वादी श्यामबिहारी पाण्डेको पुनरावेदन कायमै राखी निर्णय गर्न ठहराई २०२५।३।४।२ को डि.बे.मा मा.न्या. श्री राजा इश्वरी जंगबहादुर सिंहले व्यक्त गर्नुभएको राय मनासिव छ । परेको पुनरावेदन कानून बमोजिम गर्न लगतमा दर्ता गरी डि.बे.मा पेशगर्न मिसिल सम्बन्धित फाँटमा बुझाईदिनु ।

 

इति सम्वत् २०२५ साल कार्तिक ३० गते रोज ६ शुभम् ।