निर्णय नं. ४५८ – थैली बुझाई पाउँ
निर्णय नं. ४५८ ने.का.प. २०२६ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री न्यायाधीश श्री लोकराज जोशी सम्वत् २०२४ सालको दे.फु.नं....
निर्णय नं. ४५८ ने.का.प. २०२६
फुल बेञ्च
प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह
न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री
न्यायाधीश श्री लोकराज जोशी
सम्वत् २०२४ सालको दे.फु.नं. ७५
निवेदक : पाँचथर सेजैपा बस्ने जयनारायण न्यौपाने
विरुद्ध
विपक्षी : ऐ.ऐ. बस्ने असलबहादुर तामाङ्ग
मुद्दा : थैली बुझाई पाउँ
(१) म्यादभित्र धरौटी राख्न पर्ने नराखेमा–म्याद नाघेको धेरै दिनपछि थैली दाखिल गर्न अड्डाले सुनाउनुपर्ने र अड्डाले सुनाएको ३५ दिनभित्र थैली धरौट राख्न ल्याए राख्न पाउनेसमेत ऐनमा व्यवस्था नभएमा–यसरी पछि धरौट दाखिल गराएको कानूनअनुरुप नहुने ।
प्रतिवादी परेपछि प्रतिउत्तर परेको ३५ भित्र वादीले थैली धरौट राख्नु पर्ने नराखेको सो म्याद गुज्रेको धेरै पछि त्यस्तो थैली दाखिल गर्न ल्याउनु भनी अड्डाले सुनाउनु पर्ने र अड्डाले सुनाएको ३५ दिन भित्र थैली धरौट राख्न ल्याए राख्न पाउनेसमेत ऐनमा व्यवस्था भएको नदेखिएकोले अञ्चल अदालतले आदेश गरी धरौट दाखिल गराएको कानूनअनुरुप नहुँदा त्यसप्रकार पछी धरौट राखेकोलाई मान्यता दिन मिल्ने देखिन आएन ।
(प्रकरण नं. १६)
निवेदक तर्फबाट : अधिवक्ता श्री ठाकुरप्रसाद खरेल
विपक्षी वादीतर्फबाट : अभिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल
फैसला
१. प्र.प्रसादको र मसमेतको जिजु अैमानसिंको छोरा ७ भाइमा जेठा मेरो बाजे नारायण प्रसादको बाजे साहिंला धनराज हुन् । ५० साल जाँचपछि चरंध्वोज जिम्मा रु.२।१२ काँईला बाजेको छोरा कुलमान तामाङ्गका नाउँमा दर्ता भएको रु.१। लाग्ने घर सहितको रैकर बारी र पछि बिराएको रैकर खेत समेतको कित्ता १ को रु. १।१३ लाग्ने रैकर बारी र पछि
बिराएको रैकर खेत समेतको कित्ता १ समेत कित्ता २ दर्तावाला छउन्जेल निजले र निज
मर्दा प्रसादको बाजे धनराजले भोगी आएको निजको छोरासमेत मरेबाट अन्यायको जय नारायणप्रसादसमेत मिली हामी हकवालालाई थाहा नदिई २०२०।६।२८ गते प्रसाद दिने जय नारायण लिने भई इलाका मालमा राजीनामा गरी लिए दिए छन् । २०।८।२ गते सुनेबाट गई के कति थैली हो ? निखनी लिन्छु भन्दा थैली नबताई निखन्न दिन्न भनेकोले म्याद भित्र फिराद गर्न आएको छु । थैली यति हो भन्ने टुड्डो नभएकोले राजीनामा दाखिल गरेका बखत ऐनको म्यादभित्र दाखिल गर्ने छु । सो जग्गा निखनाई निजकको हकदार हुँदा निखन्न पाउँ भन्ने २०२०।८।२५।४ को फिराद ।
२. प्रसादको बाजे धनराजको पालादेखि नै बन्धकीमा लिई भोगी आएको अघिको बन्धकी थैलीमा थप बढसमेत लिई प्रतिवादी प्रसाद तामाङ्गले २०।६।२७ गते रु.१००८०। मा राजीनामा लेखिदिएबाट ऐ २८ गते पास भएको हो । वादीको एकाघरको बाबु प्रमान सिंले ०२०।७।१९ मा इलाम मालबाट राजीनामा नक्कल समेत सारी लिएको २०२०।८।२५ मा मात्र वादीले फिराद दायर गरेकोले लेनदेन व्यवहारको ११ नं. को म्याद भित्र नपरेको हुँदा खारेज गरिपाउँ भन्नेसमेत जयनारानको प्रतिवादी ।
३. प्रसाद तामाङ्गले प्रतिवादी नदिई म्याद गुजारेको ।
४. प्रमान सिंले ०२०।७।१९ गते राजीनामा नक्कल सारी लगेको भनी इलाम मालले जवाफ दिएको र बाबुसँग १० सालमा छुट्टिएको बण्डापत्र पास नभएको भन्ने वादीको बहस भएको, पास नभएको बण्डापत्र सदर नहुने, लेनदेन व्यवहारको ११ नं. ले घरको मुख्यले थाहा पाएपछि सगोलकाले थाहा पाएको ठहर्ने, थाहा पाएको ३५ दिन भित्र उजूर नगरी हदम्याद गुजारी ३७ दिनका दिन फिराद दर्ता भएको देखिनाले लेनदेन व्यवहारको ११।१६ नं. अनुसार खारेज हुने ठहर्छ भन्ने फिदिम इलाका अदालतको ०२१।३।१९ को फैसला ।
५. १० सालमा बाबुसँग भिन्न नभएको भए १० सालको बण्डापत्रले मेरो हक हुनआई ०१९।२।१५ मा जयनारानको भतिजो मनरथलाई बन्धकी लिखत गरी दिंदा बाबु प्रमान सिंह साक्षी बस्नु नपर्ने र सो रुपैंया ०१९।१०।९ मा तिरी पिठ बन्धकीगरी लिंदा बिपक्ष जयनारानसमेत साक्षी बसेको छ । म बाबुसँग अमेल भई छुट्टी बसेको र बाबु प्रतिवादी पक्षका हुँदा नक्कल सारेको मलाई थाहा दिएन । मैले ०२०।८।२ मा मात्र थाहा पाएको हुँदा मेरो उजूर खारेज हुन नपर्ने भन्ने वादीको पुनरावेदन ।
६. वादीले १० सालमा बाबुसँग बण्डा भएको भनी अपीलमा जिकिर लेखी बण्डापत्र दाखिल गरे पनि पास नभएको र मनरथ साहू यै वादी असलबहादुर आसामी भएकोमा रु.६६५। को २०१९।२।१५ को भोगबन्धकी लिखतमा बाबु पनि बृद्ध अवस्था भई छुट्टी हाम्रो हक हुन आएको भन्ने बोली लेखिएको लिखतको रुपैंया ०१९।१०।९ मा बुझाई दरपीठ भएको कागजमा र मनरथ साहू पहलमान मीनबहादुर तामाङ्ग आसामी भएको भा.रु.६८५ को ०१९।२।१५ को लिखतको रुपैंया ०१९।१०।९ मा बुझाई दरपीठ भएको कागजको दरपीठमा यै वादी जयनारान साक्षी बसेको असलबहादुर आसामी भएको तमसुकमा बाबु बृद्ध अवस्था भई छुट्टी हाम्रो हक भन्ने लेखिएकोमा छुट्टी भन्ने अक्षर थपिएको हुनाले रीतपूर्वकको अंशबण्डा भइसकेको प्रमाण वादीले दिन नसके पनि सो कागजहरूबाट व्यवहार छोराहरूले गरेको देखिन आयो । असलबहादुरको बाबुले इलाम मालबाट सो राजीनामाको नक्कल लिंदा वादी पनि साथमा फिदिमबाट इलाम गएको मिसिलबाट देखिन आउँदैन । पाँचथर फिदिमबाट इलम लगभग १०।१२ कोष फरकको बाटो भएको र प्रमान सिंले इलाममा थाहा पाएकै मिति कायम मानेको खण्डमा पनि फिदिममा रहे भएका जहानले थाहा पाउन बाटाको म्याद राख्नु पर्ने, २–३ दिन बाटाको म्याद लाग्ने भई नक्कल लिएकै मितिको हिसावबाट पनि इलामबाट फिदिम पुग्न बाटाको म्याद राखिएमा इलाममा बाबुले नक्कल लिएको मितिले ३७ दिनका दिन छोराको नालेस परेको र निजले फिरादपत्रमा २०।८।२ गते थाहा पाएको भन्ने लेखिएको हुँदा खारेज गर्ने गरेको इ.अ.को रायमा सहमत भएन । वादीले निखन्न पाउने ठहर्छ भन्ने २०२२।३।१३।१ को मे.अं.अदालतको फैसला ।
७. बण्डापत्र भनेको कागज बाबु छोरासमेत मिली बनाएको पास नभएकोले प्र्रमाण नलाग्ने बन्धकी थैली बुझी दरपीठ गरिदिएको भन्नेमा एकाघरको जुनसुकैलाई पनि बुझाउन पठाउन सक्ने कुरा हो । बाबु छँदै छोरालाई निखन्न दिनु अ.बं.८२ को प्रतिकुल हुनजान्छ । लेनदेन व्यवहारको ११ नं. ले थाहापाएको ३५ दिन भित्र उजूर गर्ने व्यवस्था छ । बाटाको म्यादलाई बेग्लै सुबिधा दिएको छैन । वादीलाई निखन्न दिने गरेको इन्साफमा चित्त बुझेन भन्नेसमेत प्रतिवादी जयनारानको पुनरावेदन ।
८. वादी असलबहादुर तामाङ्ग निजको बाबु प्रमान सिंसँग छुट्टी अलग रहेको भन्ने कुराको ऐन बमोजिमको प्रमाण देखिन नआएको र यो थैली बुझाई पाउँ भन्ने रजिष्ट्रेशन पास भएको लिखतको नक्कल वादीको बाबु प्रमान सिंले २०।७।१९ मा सारी लिएको भन्ने मिसिलबाट देखिनआएकोले लेनदेन व्यवहारको ११ नं. ले म्याद नाघेको देखिंदा छलफलमा अ.बं.२०२ नं. बमोजिम वादीलाई झिकाई पेश गर्ने भन्ने डिभिजन बेञ्चको ०२३।१।३०।५ को आदेश ।
९. असलबहादुर निजको बाबु प्रमान सिंसँग एकाघर सगोलमा २० साल मार्ग २५ गते थियो थिएन ? नभए प्रमान सिंसँग के व्यहोराले छुट्टै बसेको छ, कागज प्रमाण छ छैन भनी प्रमान सिंलाई सोधी निजले पेश गरेका सबूदसमेत लिई कागज गरी पठाई दिनु । निजलाई तारिखमा राख्नु पर्दैन भनी पाँचथर जि.अ.लाई लेखी पठाई आएपछि पेश गर्नु भन्ने डिभिजन बेञ्चको ०२३।८।२६।१ को आदेश ।
१०. इलाम मालबाट २०२०।७।१९ मा राजीनामा नक्कल सारी लिने भनेको बाबु प्रमान सिंसँग १० सालमैै भिन्न भई छुट्टिसकेको भनी वादीले पेश गरेको १०।३।१५।१ को बण्डापत्र ऐनबमोजिम रजिष्ट्रेशन पास भए गरेको नदेखिए पनि निज वादीबाट पेश हुन आएको भनी मनरथ जैशीलाई वादी असलबहादुर र सुकदल समेतले हाम्रो हक हुन आएको भनी ६ कित्ता जग्गा बन्धकी लेखिदिएको १९।२।१५ को बन्धकी तमसुकमा वादीको बाबु प्रमान सिं भाइ पहलमान र १९।१०।९।३ मा सो तमसुक बमोजिमको रुपैंया बुझी साहू मनरथले गरिदिएको दरपीठमा प्रतिवादी जयनारानसमेत साक्षी रहे बसेको र जयनारान साहू प्रमान सिं आसामी भएको ०५।१२।४।५ को तमसुकमा सो तमसुक बमोजिमको रु.६००। असल बहादुर तामाङ्गहरू ४ भाइबाट बुझी लिएँ भन्ने १९।१०।९।३ मा दरपीठ जनिएको समेत उक्त लिखतहरू प्रति प्रतिवादी जयनारानले कुनै बिरोध गर्न नसकेकोले वादी असलबहादुर निजको बाबु प्रमान सिं समेत एकाघर सगोल भईरहे बसेको नभई छुट्टै बसी छुट्टै व्यवहार गरी आएको भन्ने कुरा उक्त लिखतहरूबाट प्रष्ट हुन आउने, यस स्थितिमा लेनदेन व्यवहारको ११ नं. बमोजिम बाबु प्रमान सिंले राजीनामा नक्कल सारी लिएको मिति २०।७।१९ मै वादीले थाहा पाएको कायम हुन्छ भन्न नमिल्ने र वादीले निखन्न नपाउने अरु कुनै तथ्य कारण देखाउन प्रतिवादी जयनारानले नसकेको समेत हुँदा वादीले निखन्न पाउने ठहराई मेची अञ्चल अदालतले २२।३।१३।१ मा छिनेको इन्साफ उपरोक्त कारणहरूबाट मुनासिवै ठहर्छ भन्ने डिभिजन बेञ्चको ०२४।२।२५।५ को फैसला ।
११. उक्त इन्साफमा चित्त बुझेन दोहर्याई पाउँ भन्ने जयनारायन न्यौपानेको निवेदन परेकोमा न्यायिक समितिबाट यस्मा कानूनले प्रतिवादी परेको मितिले ३५ दिन भित्र थैली धरौट राख्न बाध्य गरेको कुरामा सो मुद्दा सुरु अदालतबाट खारेज भए उपर वादीको अपील परी गएपछि मे.अं.अ.ले मिति ०२१।११।२४ मा ३५ दिनको म्याद दिई थैली धरौटराख्न लगाएको कानूनी भन्ने नहुँदा सर्वोच्च अदालतले निखन्न पाउने ठहराएको निर्णय मिलेको देखिएन । दोहर्याउने आदेश बक्सनु पर्ने भनी सिफारिस गरेको जाहेर हुँदा श्री ५ महाराजाधिराजबाट नेपालको संविधानको धारा ७२ को (ख) अनुसार उक्त मुद्दा दोहर्याइदिनु भन्ने हुकुम बक्सेकोछ भन्ने मौसुफका प्रमुखसचिवालयबाट लेखिआएको हुकुमप्रमाङ्गी ०२४।१२।१६।६ को ।
१२. बक्स भइआएको हु.प्र.बमोजिम गर्ना निमित्त नियमको रीत पुर्याई लगतमा दर्ता गरी मिसिल झिकाई दुवेै पक्ष राखी फुल बेञ्चमा पेश गर्नु र त्यसको अन्तीम निर्णय भएपछि त्यस्तो निर्णयको २ प्रतिलिपि जाहेर गर्न श्री ५ महाराजाधिराजका प्रमुख सचिवालयमा जनरल विभाग मार्फत पठाई दिनु भन्ने ०२४।१२।१९।२ को माननीय प्रधान न्यायाधीश ज्यूको आदेश ।
१३. यसमा दुबै पक्षका वारिसहरू रोहवरमा रही ०२५।३।८।६ मा नियमबमोजिम पेश भई निवेदक प्र.जयनारानकोतर्फबाट विद्वान अभिवक्ता ठाकुरप्रसाद खरेलले र विपक्षी वादी असलबहादुरकोतर्फबाट विद्वान अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्यालले गर्नुभएको बहससमेत सुनी आजको निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत मुद्दामा बाबुले नक्कल सारी लिएको मितिले म्याद नाघी परेको फिरादपत्रबाट निखनी लिन पाउँ भनी ठहर गर्नु कानूनी व्यवस्थाको प्रतिकुल छ र लेनदेन व्यवहारको १६ नं. बमोजिम प्रतिउत्तर परे पछि थैली थाहा पाएको भई सो मितिले ३५ दिन भित्र थैली धरौट राख्नु पर्ने, राख्न सक्नु नभएकोले वादीको दावा नै पुग्न नसक्ने भन्नेसमेत निवेदकको मुख्य जिकिर भएकोले सर्वप्रथम त्यसतर्फ नै विचार गर्नुपर्ने हुन आयो ।
१४. सो थैली धरौट राख्ने बिषयमा भएको कानूनी व्यवस्था हेर्दा रजिष्ट्रेशनको ३५ नं. को देहाय २ मा निखन्न पाउने व्यक्तिले निखन्न खोज्दा दिनुपर्ने व्यक्तिले बाधा अड्काउ उपस्थित गरेमा निजलाई बुझाउन पर्ने थैली निखन्न पाउने व्यक्तिले निखन्न रजिष्ट्रेशन भएको वा साहू रहेको इलाकाको रजिष्ट्रेशन गर्ने अड्डामा धरौट राखी पाउन दरखास्त दिन हुन्छ भन्नेसमेत उल्लेख भएको र लेनदेन व्यवहारको १६ नं. का ऐनमा थैली तिरी निखनी लिन पाउने गैर कुरामा निखनाइ पाउँ भनी अड्डामा उजूर गर्न आउँदा थैली थाहा भएकोमा थैलीसमेत ल्याइ धरौट राख्नु पर्छ । थैली थाहा नभएकोमा प्रतिउत्तर परी मुख मिलेकोमा सो प्रतिउत्तर परेको ३५ दिन भित्र र मुख नमिलेकोमा बुझाउन पाउने ठहरी फैसला भई अपीलको तहसम्मबाट फैसला भएपछि वा ऐनले अपील नलाग्ने अवस्था पुगेको ३५ दिन भित्र सो तिर्नु पर्ने थैली अड्डामा धरौट राख्नुपर्छ । सो म्यादभित्र थैली धरौट राख्न ल्याएन भने आसामीले नै बन्धकी निखनी लिने बाहेक अरुले अरु निखनी लिने कुरा निखनी लिन पाउँदैन । लिए दिएको पक्का हुन्छ भन्नेसमेत व्यवस्था भएको पाइन्छ ।
१५. वादी असलबहादुरले नालेस गर्दा थैली थाहा नभएको भनी नालेससाथ थैली धरौट नराखेको हुँदा प्रथमतः उपरोक्त रजिष्ट्रेशनको ३५ नं. को देहाए २ बमोजिम रजिष्ट्रेशन भएको अड्डामा कारवाही गर्न गएको भए त्यहीं थैली पनि थाहा भई हाल्ने र कानूनको मनसाय बमोजिम थैली धरौट रही कारवाही गराई मान्नु पर्ने, दोश्रोः उक्त लेनदेन व्यवहारको १६ नं. बमोजिम प्रतिउत्तर परेपछि थैली थाहा पाउने प्रयास गरी थाहा पाई मुख मिलेमा सो प्रतिउत्तर परेका ३५ दिन भित्र थैली धरौट राख्नु पर्ने कर्तव्य वादीको नै हुन आउने हुँदा साहू जयनारायनको ०२०।१२।९ मा प्रतिउत्तर परी साथै सो राजीनामा लिखतको नक्कल समेत पेश हुन आएको भई ०२०।१२।१७ देखि वादी प्रतिवादी जूटी एकसाथ तारिख लिएको देखिएको थैली घटि बढी पारेको भई थैलीमा मुख नमिलेको भए त्यसतर्फ वादीको उजूर जिकिर हुनुपर्ने सुरुबाट किनारा गरेपछि त्यसउपर दिएको पुनरावेदनमा समेत त्यस किसिमको जिकिर नभएकोले लिखत बमोजिमको थैलीमा वादीको मुख मिलेकै भन्नु पर्ने र उक्त लेनदेन व्यवहारको १६ नं. बमोजिम प्रतिउत्तर परेको ३५ दिन भित्र थैली धरौट राख्न सक्नु पर्ने सो म्यादभित्र थैली धरौट राख्न सकेको देखिएन।
१६. आजका ३५ दिनका दिन रु.१००८०। लिई हाजिर हुन आउनु, अपीलाटलाई तारिख तोक्नु भन्ने मेची अञ्चल अदालतबाट अडरसिटमा २०२१।११।२४।१ मा आदेश गरी रु.१००८०। लिई आउँला भन्ने वादी असलबहादुरलाई तारिख तोकिएको तारिखमा वादीले ल्याएको थैली रु.१००८०। मेची अञ्चल अदालतबाट इलाम जिल्ला अदालतमा २०२१।१२।२९।१ मा धरौट आम्दानी बाँध्न पठाएको देखिएकोमा माथि उल्लेख भएबमोजिम प्रतिवादी परेपछि प्रतिउत्तर परेको ३५ दिन भित्र वादीले थैली धरौट राख्नु पर्नेे नराखेको, सो म्याद गुज्रेको धेरैपछि त्यस्तो थैली दाखिल गर्न ल्याउनु भनी अड्डाले सुनाउनु पर्ने र अड्डाले सुनाएको ३५ दिन भित्र थैली धरौट राख्न ल्याए राख्न पाउने समेत ऐनमा व्यवस्था भएको नदेखिएकोले अञ्चल अदालतले आदेश गरी धरौट दाखिल गराएको कानून अनुरुप नहुँदा त्यस प्रकार पछि धरौट राखेकोलाई मान्यता दिन मिल्ने देखिन आएन ।
१७. तसर्थ प्रतिउत्तर परेको ३५ दिन म्याद भित्र थैली धरौट राख्न नल्याएकोमा निखनी लिन पाउँदैन भन्ने उक्त लेनदेन व्यवहारको १६ नं. मा प्रष्ट उल्लेख हुनाले प्रस्तुत मुद्दामा अरु कुरा विचार गरी रहनु नपरी उपरोक्त कारणबाट निखनाई पाउँ भन्ने वादीको उजूर खारेज हुनेमा निखनाइ दिने गरी मे.अं.अ.बाट भएको फैसलालाई सदर गरी ०२४।२।२५।५ मा डिभिजन बेञ्चबाट भएको निर्णय मिलेको देखिएन । अरु तपसील बमोजिम गर्नु ।
तपसील
प्रतिवादी जय नारायन न्यौपाने के मेची अञ्चल अदालतको ०२२।३।१३।१ को फैसलाले गरेको जरिवाना रु.२५२। नलाग्ने हुँदा तिरी बुझाई सकेको कानूनको रीत पुर्याई फिर्ता दिनु भनी जि.अ. फिदिमलाई लेखी पठाउन का.श्रे.अ.त.मा लगत दिनु………………..१
वादी असलबहादुर के फिदिम इ.अ.को ०२१।४।२१ को फैसलाले गरेको जरिवाना रु.२।५० मेची अं.अ.को ०२२।३।१३।१ को फैसलाले नलाग्ने फिर्ता दिने गरेकोमा उक्त अं. अ.को फैसला बमोजिम गर्नु पर्दैन सुरु फैसला बमोजिम लगत कायमै राख्नु भनी ऐ ऐ………………….२
प्रतिवादी जयनारायण न्यौपानेको वादी असलबहादुरबाट धरौटीरहेको थैली रु.१००८०।मेची अं.अ.को ०२२।३।१३।१ को फैसलाले निज प्रतिवादीलाई फिर्ता दिने गरेकोमा सोअनुसार गर्नुपर्दैन उक्त अं.अ.को फैसलाबमोजिम प्रतिवादी जयनारायणलाई फिर्तादिने गरेको कलम लगत काटिदिनु भनी फिदिम जि.अ.लाई लेखी पठाउने ऐ………………३
प्रतिवादी जय नारायण के अं.अ. उपर पुनरावेदन गर्दा २०२२।४।६।४ मा इलाम जि.अ.मा दाखिल गरेको कोर्टफी रु.६३।४८ को.फी.ऐन, ०१७ को दफा १९(३) र दफा १८(४) बमोजिम वादी असलबहादुरबाट भरी पाउने हुँदा सो रु.६३।४८ र निज प्रतिवादीतर्फबाट रहेको विद्वान अभिवक्ताको सर्वोच्च अदालत नियम २४ बमोजिम पाउने वकिल फी.रु १५। समेत जम्मा रु.७८।४८ वादी असलबहादुरबाट भराइपाउँ भनी कोर्ट फि ऐन ०१७ को दफा १५(११) बमोजिम ५ बर्ष भित्र दरखास्त दिएमा दस्तुर केही नलिई भराई दिनु भनी ऐ………………….४
वादी असलबहादुरले २०२१।१२।२९ मा इलाम जिल्ला अदालतमा धरौटी दाखिल गरेको थैली रु.१००८०। निखनी लिन नपाउने भएकोले सो धरौटी रुपैंया निज असलबहादुरले फिर्ता पाउने हुँदा निजले फिर्ता लिन आएमा कानूनबमोजिम फिर्ता दिनु भनी ऐ…………………. ५
मे.अं.अ.का अञ्चल न्यायाधीश चन्द्रप्रसाद श्रेष्ठको इन्साफ उल्टिएको रेकर्डराख्न जनरल विभागमा सूचना दिनु..६
नियमबमोजिम मिसिल बुझाइ दिनु……………………७
इति सम्वत् २०२५ साल आषाढ १५ गते रोज ६ शुभम् ।