निर्णय नं. ४२५ – : जिरायत जग्गा
निर्णय नं. ४२५ ने.का.प. २०२५ फुल बेञ्च न्यायाधीश श्री रत्नबहादुर बिष्ट न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री हेरम्ब राज २०२३ सालको दे.फु.नं. १६२ निवेदक :...
निर्णय नं. ४२५ ने.का.प. २०२५
फुल बेञ्च
न्यायाधीश श्री रत्नबहादुर बिष्ट
न्यायाधीश श्री नयनबहादुर खत्री
न्यायाधीश श्री हेरम्ब राज
२०२३ सालको दे.फु.नं. १६२
निवेदक : धनचन्द्र राई समेत
विरुद्ध
विपक्षी : मुनीलाल गोल्छा माडवारी
मुद्दा : जिरायत जग्गा
(१) आफूतर्फको दर्तामा परेको श्रेस्ता सबुद वादीले देखाउन नसकेकमा–प्रतिवादी तर्फबाट मौजामा रैतानी दर्ता भएकी देखाएमा–वादीको भोग नदेखिने ।
नक्सा हदबाट तथ्यमा पुग्नमा सहायक प्रमाण हुन आएको अर्को कुरा भोग हो । भोग कसले गरेको भन्नेतर्फ वादीले आफूले वा आफ्नो दाताले सो जग्गा भोग गरेको भई आफूतर्फको दर्तामा परेका श्रेस्ता सबुद देखाउन नसकेको र त्यसको विपरीत प्रतिवादीको तर्फबाट १५ नं. मौजामा रैतानी दर्ता भएको देखिएकोले वादीको भोग पनि देखिएन ।
(प्रकरण नं. १२)
प्रतिवादी निवेदक तर्फबाट : वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी
फैसला
१. मोरङ प्रगन्ना भाला भलेनी मौजे ८ नं. रामागन्ज झोरा (क) ब्लक लगत कं रु.९७९ (ख) ब्लक लगत कं.रु.५३२।२ को मेठाई र त्यसको जिरायत नं.११०। पश्चिम कमिशन उत्तर सडक दक्षिण टेंग्रा खोला ५८।११७ के जग्गा बिगाहा १६।।।४।१ नं. ११२ पूर्व जिरायत पश्चिम टेंग्रो खोला उत्तर सडक दक्षिण मालबाट ९०।१०।४ के जग्गा बिगाहा २२।३ कमिशन समेत ११।७।२२।१ मा खरिद गरी चलानी पुर्जि लिई जिम्दारी चलन गर्न जाँदा १५ मेठाई भित्रको हो भनी १५ नं.का मेठ रैतीले चलन गर्न दिएन । जग्गा लापता गरी दिएको मेठ बन्दि भिडाई जाँची छुट्ट्याई चलन चलाई पाउँ भनी मुनीलालले दिएको निवेदन र सो निवेदन मिलानको २०१२।२।६ को निवेदकको बयान ।
२. वादी दावीको जग्गा ८ (क) (ख) नं. मा दर्ता भए पनि हाम्रो १५ नं. ब्लकको मेठ बन्दि भित्र परी नापी भई रैतीका नाउँमा नम्बरी भई ८९ सालदेखि रैतीले भोग तिर गरी आएका छन । साविक हेतु माझीले चलन गरेको थिएन । सो (८) (क) (ख) नं.दोहरा दर्ता भएको पूर्व टेंग्रा खोला र ८ नं. झोरा पश्चिम चिम्टी माल उत्तर २३।२६ नं.ब्लक दक्षिण १४ नं. ब्लक समेत हद सिमानामा पर्छ । चतुरभूज थापा क्षेत्री समेत २५।३० जना रैतीका नाउँमा अन्दाजी ५०।५५ बिगाहा जग्गा भोग गरी आएका छन् । वादीले जग्गा छुट्ट्याउनु पर्यो भनेकाले दुवै मौजाका जिम्दारी पटवारी बसी नाप जँच हुँदा २ ब्लक मा एउटै जग्गा नापी भएको कुरा थाहा हुन आयो । वादीले भोगे बाली लगाएको समेत छैन भन्ने समेत बद्रीप्रसादको प्रतिवादी बयान ।
३. रामागन्ज १५ नं. गिलावारी झोरामा मेरा नाउँमा २४ बिगाहा चानचुन नम्बरी खरिद गरी भोगी आएको छु भन्ने चतुरभुजको बयान ।
४. मेरो नाउँमा ७।।४।।।३ खरिद गरी ६ सालदेखि भोगेको भन्ने गर्नमा मेरो ७।।।२।३ मध्ये ३।३ प्रेमधारीलाई बिक्री गरी बाँकी ४।।४।३ र काजिमानसँग १।।३ खरिद गरी भोगेको भन्ने भक्तबहादुर, सुन्दर नेवारबाट ६।७ खरिद गरेको भन्ने दक्षध्वज रैनसिं राईबाट ६ सालमा २।२।।२ खरिद गरेको भन्ने पद्मबहादुर, शुभकन्याबाट २।३ खरिद गरेको भन्ने कुलबहादुरको सकारवाला ध्योजबहादुर जलेश्वरबाट २००७ सालमा ७।।।२।४ खरिद गरेको भन्ने चन्द्रबहादुर भन्ने कोदो भन्ने नेवारबाट २ खरिद गरको भन्ने मानबहादुर, लोग्नेका नाउँमा ११।।०।।१ नम्बरी भएका जग्गा भोगको भन्ने सुमित्रा नेवारनी बाबु सुन्दरका नाउँको ८।३।।२ मेरो नाउँमा दर्ता भई भोगेको भन्ने घुर्ताबातर बाबु मरी मेरो नाउँमा ६।।४।।१ दर्ता भई भोगेको भन्ने समेत छेडिंमा बातर समेत जवान ११ को कागज ।
५. उक्त जग्गा ८ नं. झोरातर्फ जिरायत कमिसन र १५ नं. तर्फ रैतिहरूका नाउँमा दोहर्याई दर्ता भईरहेको देखिएबाट ८ नं. झोरातर्फ जिम्दारी जिरायत छुट्ट्याउन नहुने भएकाले १५ नं तर्फका रैतिले दर्ता तिरो गरी खाएको भए पनि ८ नं. झोरातर्फको जिरायत वडा मिलेको कमिशनबाट केही ८ नं. झोरातर्फको कायम गरी बाँकी कमिसन जग्गा रैतीको कायम राखी ८।१५ नं. ब्लक समेतको दोहरा दर्ता भएको जग्गा लगत कट्टा गर्न ठहराई २०१४।७।१४।४ मा मोरङ विराटनगर मालबाट जाहेरी फैसला गरे उपर दुवै थरको अपील पर्दा शुरु मालको इन्साफ सदर गरी मोरङ विराटनगर गोश्वाराले फैसला गरे उपर दुवै पक्षको अपील परेकोमा तेरो मेरो भन्ने देखिएको माल गोश्वाराले कानून विरुद्ध गरेको हुँदा यसै मिसिलबाट जो बुझनु पर्ने बुझी किनारा गर्नु भनी मिसिल धरान जिल्ला अदालतमा पठाई दिनु भन्ने २०१७।३।३।५ को पूर्वाञ्चल उच्च अदालतको फैसला ।
६. भई आएका नक्सामा भिडाई हेर्दा, ८ नं. (क) ल्बकको पश्चिम सिमाना चिठ्ठी जाने बाटोबाटै टेंग्रा खोलासम्म भएको र १५ नं.मौजाको पूर्वसिमाना टेंग्रा खोला र ८ नं. झोरा लेखिएकोबाट १५ नं. को पूर्व सिमाना टेंग्रा खोला कायम भएपछि त्यस भन्दा पूर्वतर्फको जग्गा पनि प्रतिवादी दर्ताभित्रको भन्नलाई साविक ८ नं. झोराको मेठ हेतु माझीका नाउँमा जिरायत जग्गा बिगहा १६।।।४।१ कमिसन नम्वरी बिगाहा २०२३।१।३ समेत राजीनामा गरी वादीले लिएको झगडा परेको जग्गा नम्वरी कायम दर्ता जिमिनदारी नाङ्गो हुन जाने हुनाले सो कुरा अदालतले ठहराउन साहु आसामीका ३९ माल सवाल ७२ दफाले नहुने वादी दावीको जिमिदारी साथको जोत जिरायत जग्गा कायम ठहर्न र १५ नं.मौजामा १९९९ साल कै झोरा नापीदेखी रैतिको नाउँमा दर्ता तिरो भोग भएको दोहरा दर्ता भन्ने देखिनाले प्रतिवादीको जग्गा कायम रहेछ भन्न नहुँदा दर्ताको लगत काट्ने ठहराई २०१०।२।२५।२ को धरान जिल्ला अदालतको जाहेरी फैसला ।
७. हाम्रो जग्गा दोहरा पारी ८ नं. तर्फ जिरायत कमिसनमा दर्ता भए पनि आजसम्म भोग खिचोला समेत गर्न नसकेको बेदाममा वादीले राजीनामा गरी लिए–दिए पनि हाम्रो दर्ताको घरबास दिई थातबास मेट्न हाम्रो बेप्रामाणिक गरेको इन्साफमा चित्त बुझेन भन्ने समेत २०१९।३।१८।२ को घनचन्द्र राई समेत १८ जवानको र झगडा परेको जग्गा मेरो ठहरेपछि मेरो दावीबमोजिमको जग्गा चलन चलाई दिने फैसला उल्लेख हुनुपर्ने नभएको भन्ने समेत २०१९।४।१८।५ को वादी मुनिलाल समेतको पुनरावेदन ।
८. नम्बरी कमिसन समेत जम्मा जग्गा बिगाहा ४०।२।१ साविक मेठ हेतु माझीले वादी मुनिलाललाई २०११।७।२३।२ मा राजीनामा पास गरी मौजा बिक्री गरेको हद किल्ला नक्सामा भिडाउँदा ८ नं. मौजा झगडा परेको जग्गामा मिल्न भिड्न आएको २०१८।१।१६ को नक्सामा हाम्रो दर्ताको भनी ३७ नं. देखि ७१ नं. तकको जग्गा दावी गरेको कित्ता–कित्ताको जग्गाको हद किल्ला ८ नं. मौजाभित्रको भए ८ नं. मौजा भित्र हद किला मिल्नुपर्ने कुनैको कित्ताको हद नमिलेको प्रतिवादीले दावी गरेको ३६ नं. देखि ७१ नं. तकका कित्ताहरू प्रतिवादीकै १५ नं. मौजाभित्रकै हद किल्ला नं. रही दर्ता भएको झोरा नापीको ९९ सालको नापी खेस्रा नक्कलबाट देखिएको ८ नं. मौजा परिधिभित्रको हद नं. समाती दर्ता भएको नभएपछि प्रतिवादीको जग्गा वादीको ८ नं. मौजा भित्र दर्ता भएको रहेछ भन्न सबुद बेगर नमिल्ने भएकोले समेत झगडा परेको जग्गा वादीको ठहराई छिनेको इन्साफ धरान जिल्ला अदालतको मुनासिव छ । प्रतिवादी जिकीर जग्गा १५ नं.मौजाभित्रकै हद किल्ला नम्बर समेत रही १५ नं.मौजा भित्र नै दर्ता भएको ठहरेकाले लगत काटी रहन आवश्यक नपरेको ऐनको म्याद भित्र चलन चलाइ पाउँ भन्ने वादीको दर्खास्त परे चलन चलाइ दिनु भनी मिसिल विराटनगर ई.अ. मा पठाइ दिनु भन्ने समेत २०२०।१।१५।१ को डिभिजन बेञ्चको फैसला ।
९. सर्वोच्च अदालत डिभिजन बेञ्चको निर्णय दोहर्याइपाउँ भन्ने प्रतिवादी धनचन्द्र समेतको निवेदनमा ३६ नं. देखि ५९ नं. कित्ताको लगत कट्टा भई जिरायतका जग्गामा दर्ता वादतर्फको कायम भए पनि भोग चलनतर्फ झोरा खुलेका सालदेखि प्रतिवादी तर्फबाटै भए रहेको देखिएकाले निजहरूले मोहियामा भोगचलन गरी खान पाउने हुँदा झगडा परेको जग्गा वादीको मात्र हकभोग ठहराई सर्वोच्च अदालत डिभिजन बेञ्चबाट भएको निर्णय मिलेको नदेखिएकाले मुद्दा दोहर्याउन आदेश बक्सनुपर्ने भनी न्यायीक समितिबाट सिफारिस गरेको जाहेरी हुँदा श्री ५ महाराजाधिराजबाट नेपालको संविधानको धारा ७२ को (ख) अनुसार उक्त मुद्दा दोहर्याइदिनु भन्ने २०२३।३।२०।३ को हुकुमको प्रमांगी ।
१०. बक्स भई आएका हुकुुम प्रमांगीबमोजिम गर्न निमित्त नियमको रीत पुर्याई लगतमा दर्ता गरी मिसिल झिकाई दुवै पक्ष राखी फुल बेञ्चमा पेश गर्नु र त्यसको अन्तिम निर्णय भएपछि त्यस्तो निर्णयको २।२ प्रतिलिपि जाहेर गर्न श्री ५ महाराजाधिराजका प्रमुख सचीवालयमा रजिष्ट्रार अफिसमार्फत पठाइदिनु भन्ने माननीय प्र.न्या.ज्यू. बाट भएको २०२३।३।१२।२ को आदेश ।
११. वादीपट्टि मोरङ प्र.भाला मलेनी मौजे ८ नं. रामगञ्ज झोरा (क) त्यसको नं. ११०।१११।११२।११३ को र प्रतिवादीपट्टिको ऐं मौजे १५ नं.रामगञ्ज गेलावारी झोराको नं. ३७ देखि ७१ तक कित्ताको साविक ८८।९९ र हाल २००५ साल समेतको नापीको साविक गोद्रार हालको त्यसको कित्ता झोरा दर्तामा लेखिएको साथ दुवै मौजाका मेठबन्दिको किल्लाहरू समेत कुन–कुन हो चिमडी मौजा हाल झगडा परेको जग्गा कतापट्टि कहाँनिर पर्छ । ८ नं. रामगञ्ज झोराको मेठबन्दिमा उक्त किल्लामा २६ नं. सिमानादेखि पूर्व तर्फबाट टेंग्रा खोलासम्म गएको छ छैन माल जिमदारी पटुवारी समेतसँगको श्रेस्ताहरू झिकाई हेरी माथि उल्लेख भएको सबै कुरा प्रष्ट देखिने गरी खुलाई अ.बं. १७१ नं. को रीत पुर्याई अर्को नक्सा गरी पठाई दिनु भनी सुनसरी जि.अ. लाई लेखी लेखिएबमोजिम नक्सा भई आएपछि पेश गर्नु भने २०२३।९।२२।६ को फुल बेञ्चको आदेश ।
१२. यसमा तारेखमा रहेका दुवै थर रोहवरमा रही २०२५।२।११।६ मा पेश भई प्रतिवादी निवेदक तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारीले गर्नुभएको बहस र वादी तर्फबाट पेश भएको बहस नोट समेत सुनी हेरी आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत मुद्दामा वादीले ८ नं. रामगञ्ज झोराभित्रको भनी उजुर गरेको र प्रतिवादी तर्फबाट १५ नं. गोलाबारीको भनेको भई झगडा परेको २०२४।१२।४।७ को नक्सामा ३७ नं. देखि ७१ नं. तकको कित्ता कुन मौजातर्फको सिमाना भित्र पर्नेरहेछ भनी हेरिएमा नक्सा मुचुल्कामा ८ नं. रामगञ्जको पश्चिम किल्ला टेंग्रा खोला र १५ नं. गेलाबारीको पूर्वकिल्ला ८ नं. रामगञ्ज र टेंग्रा खोला हद लेखिएको रहेछ । नक्सा रुपबाट पूर्वपश्चिम रहेको दुवै मौजाको आपसमा हद लेख्दा एकै मनसाय हुने लेखिनु पर्नेमा १५ नं. ले टेंग्रा खोला र ८ नं. मौजा तथा ८ ८ नं. ले टेंग्रा खोला लेखेको ८ नं. ले पश्चिमतर्फ १५ नं. गेलावरी नलेखेकोबाट मेठबन्दिमा किल्ला कायम गरेको भित्रपट्टि कुन जग्गा परेको हो भनी दोविधा पर्न गयो । नक्सा हदबाट तथ्यमा पुग्नमा सहायक प्रमाण हुन आएको अर्को कुरा भोग हो । भोग कसले गरेको भन्नेतर्फ वादीले आफूले वा आफ्नो दाताले सो जग्गा भोग गरेको भई आफूतर्फको दर्तामा परेको श्रेस्ता सबुद देखाउन नसकेको र त्यसको विपरीत प्रतिवादीको तर्फबाट १५ नं. मौजामा रैतानी दर्ता भएको देखिएकोले वादीको भोग पनि देखिएन । वादीको भनाइबमोजिम जिरायत हो कि भन्न पनि निजले पेश गरेको २०११।९।२९ का बहालीमा १६।।।४।१ जग्गा जिरायत लेखिएको सोही जग्गामै झगडा परेको हो भनी भन्न नसकेकोले समेत वादी दावी पुग्न सक्दैन । डिभिजन बेञ्चको ठहरसँग सहमत भएन । अरु तपसीलबमोजिम गर्नु ।
तपसील
वादी मुनीलाल गोल्छा माडबारी के झुट्टा उजुर गरेको ठहरेकाले तत्काल प्रचलित जग्गा मिच्नेका २७ नं. ले तजबिजी रु. ५ जरिवाना हुन्छ । निजलाई जिल्ला अदालत धरानको २०१९।२।१५।१ मा फैसलाले लिने गरेको सलामी रु. १ नलाग्ने हुँदा सो रु. १ कट्टा गरी बाँकी रु.४। असुल गर्ने वारेस हुँदा का.श्रे.अ.त.मा लगत दिनु…१
प्रतिवादी निवेदक देहायका मानिस के डिभिजन बेञ्चका २०२०।१।१५ का फैसलाले लिने गरेको जरिवाना रु. २ नलाग्ने हुँदा असुल भएजति फिर्ता र बाँकीको लगत कट्टा गरी दिने ऐ.ऐ……………..२
धनचद्र राई १, नकछेडी वातर १, सुमित्रा नेवारनी १, सितल साहु तेली १, चतुरभुज थापा क्षेत्री १, कालु नेवार १, बिष्णुमाया तमाङ्नी १, भक्तबहादुर देवान १, भक्तबहादुर चुहान १, काजीमान नेवार १, राजेन्द्रप्रसाद रौनिहार १, ध्योजबहादुर खड्का क्षेत्री १, धुर्ता बातर १, प्रतिपाल राई १, पद्मबहादुर थापा क्षेत्री १, दखमोचन कलुवार १, गोविन्दप्रसाद रौनियार १, शेरबहादुर बुढाथोकी १ समेत १८
माथि २ दफामा उल्लेख गरिएका प्रतिवादीहरूको मुद्दा दोहर्याउँदा २०२३।३।२३।५ मा सर्वोच्च अदालतमा दाखिल गरेको कोर्टफी रु.५०। कोर्टफी ऐन, २०१७ को दफा १९ (३) ६ दफा १८ (४) बमोजिम वादी मुनीलाल गोल्छा माडवारीबाट भराई पाउँ भनी सोही ऐनको दफा १५ (११) बमोजिम ५ वर्ष भित्र दर्खास्त दिएमा दस्तुर केही नलिई भराइदिनु भनी ऐ.ऐ……………३
अञ्चल न्यायाधीश त्रैलोक्य राजको इन्साफ उल्टी भएको हुनाले रेकर्ड राख्न स.अ. जनरल विभागमा सूचना दिनु..४
नियमबमोजिम मिसिल बुझाइदिनु …………………..५
इति सम्वत् २०२५ साल आषाढ १ गते रोज ६ शुभम् ।