May 10, 1968
Created by nepalarchives

निर्णय नं. ४२१ – जग्गा बाली

निर्णय नं.  ४२१     ने.का.प. २०२५ फुल बेञ्च प्रधान न्यायधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री मीनबहादुर थापा न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह ०२४ सालको दे.फु.नं. ४५ निवेदक     ...

निर्णय नं.  ४२१     ने.का.प. २०२५

फुल बेञ्च

प्रधान न्यायधीश श्री भगवतीप्रसाद सिंह

न्यायाधीश श्री मीनबहादुर थापा

न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

०२४ सालको दे.फु.नं. ४५

निवेदक      : कृष्णमान सिंहको मुद्दा सकार गर्ने पत्नी गणेशकुमारी राजभण्डारी

विरुद्ध

विपक्षी : सु.तिलकमानसिंह समेत

मुद्दाः जग्गा बाली

(१)   काजक्रियामा लागेको खर्च ज्यूनी जग्गाको बालीबाट भर्ना गर्ने भन्ने लिखत शर्त नभएमा काजक्रियाको खर्च पूर्ति नगरी बाली समेतमा विपक्षीको हक नलाग्ने जिकीर उचित मान्न नमिल्ने।

            आमा लक्ष्मीदेवी परलोक भएपछि क्रियाकाज गर्दा रु. ४४।४५ सो खर्च लगाई काजक्रिया गरेकोले खर्च पूर्ति नगरी बाली समेतमा वादीको हक पुग्न नसक्ने भन्ने प्रतिवादी सु.तिलकमान सिंहको मुख्य जिकीर भएको हकमा आमाको काजक्रियामा लागेको खर्च सो ज्यूनी जग्गाको बालीबाट भर्ना गर्न भन्ने लिखत शर्त नभएकोले सो अभावमा निज प्रतिवादी सु.तिलकमान सिंको उपरोक्त जिकीर उचित मान्न मिलेन । 

 (प्रकरण नं. १५)

(२)   काज क्रियामा भएको खर्चको हिसाब विपक्षीले थाहा पाउन सक्ने नभएमालिखत शर्त र मञ्जुरी नभएमाउक्त खर्च अंश ज्यूनी जग्गाको पछिको बालीबाट लिन नहुने क्रिया खर्चको फाँटवारी अंश नखुलाई नालेस गरेमा प्रतिवादी गर्न पाउने समेत अवस्था भएमा विपक्षीले फाँट खोली नालेस गर्नुपर्छ भन्न नमिल्ने ।

            एक त आमाको क्रियाकाज गर्दा प्रतिवादी सु.तिलकमान सिंले के कति सबै लगाएको हो ? वादीलाई यकिन थाहा हुनसक्ने अवस्थाको कुरा नभएको र दोश्रो लिखत शर्त र मञ्जुरी बेगर खर्च भएको अंश ज्यूनी जग्गाको पछिपछिको बालीबाट हात हाली लिनु नहुने समेत हुनाले प्रतिवादी सु. तिलकमान सिंले क्रियाखर्चको फाँट अंश खुलाई नालेस गरेमा प्रतिवादी गर्न पाउने समेत अवस्थाको यस्तो कुरामा वादीले फाँट खुलाई नालेस गर्नुपर्छ भन्न नमिल्ने प्रष्टै छ ।

(प्रकरण नं. १६)

निवेदक, वादी तर्फबाट : वरिष्ठ अधिवक्ता श्री देवनाथप्रसाद बर्मा

फैसला

      १.     अलौको कृष्णकुमारबाट आमा लक्ष्मीदेवीको नाममा खरीद भएको जग्गा बिगाहा १०। श्री माताजीको शेषपछि क्रिया श्राद्ध गरी दुवै भाइले बाली खानु भनी आमाको ज्यूनी रहेको माताजी १७।२।३२ गते परलोक हुनु भई क्रिया श्राद्ध सिध्याए पछि आधी जग्गा मेरो हुन आएको दर्ता गरी छुट्ट्याई देउ भनी कान्छा तिलकमान र पटवारी समेतलाई भन्दा नछुट्याई भाग अनुसार गर्दा भएको छैन । प्र. नाथुसाहले जग्गा बिगाहा २ धान ४५ दरले बुझाउने गरी जोतेको १७ सालको आधी कामलाई बुझाउनु नपर्ने किष्णमानलाई बुझाए भनेको र हदनम्बर पटवारीले छुट्याई नदिएबाट नम्बर पत्ता लाग्न नसकेको । १८।१९ सालको बाली समेत नाथु लक्ष्मी हिराबाट तिलकमानले बुझी लिएकोले धान मन ६७।। को मन १ के रु. १६ ले बिगो रु. १०८०। नाथुसा तिलकमान जसबाट पाउने हो भराई आधी जग्गा ५ऽ२।। कुन नम्बर हदको रहेछ पटवारी खुलाई दर्ता गराई जग्गा चलन चलाई पाउँ भन्ने समेत वादी ।

      २.    तिमीले जोतेको जग्गा मध्ये नं.१३१ को आमाको ज्यूनी जग्गा हुँदा काजक्रिया गरी बाँकी रहेको बाँडी लिनु भनी लेखिएको क्रिया खर्च नदिएकोले सो जग्गा बाली सोह्रै आना र अरु जम्मै जग्गा मेरो अंश भागमा परेकोले मलाई नै बुझाउनु भनी सु. तिलकमान सिंले भन्दा १७।१८ सालको बाली निजलाई बुझाई सकेको र १९ सालको बाली खेतैमा छ भन्ने समेत नाथुसा लक्ष्मी साहिरासाको प्रतिवादी ।

      ३.    नाथुसाले जातेको जग्गा २।।। हो । त्यसमध्ये नं.१३१ को १।१ आमाको ज्यूनी र १। मेरो अंशमा परेको जग्गा हो । ज्यूनी बहेक अंशमा परेको जग्गा दर्ता दाखिल भई २ नं. रसिद समेत पाईसकेको छु । पटवारीले जग्गा छुट्ट्याई दिएन भन्ने भएपछि वादीले आफ्नो जग्गा चिनीसकेकै नभई बेपत्तै कुरा गरेको देखिन्छ । नाथुले जोतेको जग्गा मध्ये १३१ नं र मुखाले जोतेको ११८ नं. को जग्गा बिगाहा १।१ आमाको शेषपछि सोही जग्गाबाट काजक्रिया गरी बाँकी रहेको दुवै भईले बाँडी लिनु भनी लिखत भएको आमा मेरै साथमा रहनु भएको स्वर्गे भएपछि ४४/४५ सय लगाई मैले क्रिया गरेको सो रुपैंयाँ पूर्र्ति नहुन्जेल लिखतबमोजिम जग्गामा वादीको हकै नपुग्ने भन्ने समेत सु.तिलकमानको प्रतिवादी ।

      ४.    ज्यूनीको जग्गा नं.११८।१३१ को २।।२।३ मा आमा स्वर्गीय भईसकेकोले सो जग्गामध्ये पूर्व पट्टि ११८ नं.को १।१ मेरो नाउँमा दर्ता गरी देउ भनी दर्खास्त दिएको दुवै भाइको मञ्जुरी नभई दर्ता गर्न हुँदैन भनी जवाफ दिएको । सोही कुरामा रिसाई झुट्टा नालेस गरेको भन्ने समेत सु.सूर्यनारायणको प्रतिवादी ।

      ५.    ज्यूनी जग्गा नं. १३१।११८ को २।।२।३ शेष पछि क्रिया गरी खाने भन्ने लेखिएको क्रिया खर्च पछि क्रिया गरी खाने भन्ने लेखिएको क्रिया खर्च ४४।४५ सय प्र.तिलकमानले लगाउनु भएको भए दुवै भाइको मञ्जुरीले लगाउन वा मञ्जुर नगरे फाँट खोली उजुर दिई भराई लिनुपर्ने सो नगरी हचुवा लेखाईबाट खर्च भएको भन्ने लेखी बालीबाट भर्ना गर्दै रहेको भन्ने प्र.को दावा गल्ती हुने भई बण्डापत्रबमोजिम आमाको शेषपछि बाँकी देखिएको बिगाहा २।।२।३ बाट आधी १।१८४ वादीका नाउँमा दर्ता र चलन भोग गर्न पाउने बालीतर्फ नाथु समेतबाट १७।१८ सालको सु.तिलकमानले लिएको निजबाट रु.४१६ र १९ सालको नाथु समेतबाट रु. २०८ र रु. ४५६ बढी पक्रेको समेत भरी पाउने ठहर्छ भन्ने विरजगन्ज ई.अ. २०।१।१८ को फैसला ।

      ६.    क्रियामा लागेको खर्च पूरा नभई ज्यूनी जग्गा दर्ता चलान र बाली भराई दिने समेत गरेकोले चित्त बुझेन भन्ने समेत प्र.तिलकमान सिंको पुनरावेदन ।

      ७.    बण्डापत्रबाट हक हुन आएको आफ्नो हकको जग्गाको नम्बर नखुलाई जग्गा कसको अंश फाँटको यकिन हुन नसक्ने र वादीले लेखेको थौहडी २०००।२।११ का बिक्री लिखतमा मिल्न नआएको वादीका हकको जग्गाको बाली प्र.लेखाएको प्रमाणिक सबुद वादीले नसकेकाले वादीले झुट्टा वादी लिएको र शुरुले केही गल्ती इन्साफ गरेको ठहर्छ भन्ने विरजन्ज जि.अ.को ०२१।३।५।५ को फैसला ।

      ८.    ज्यूनी जग्गा बण्डापत्रमा दुवै भाइले बाँडी लिने लेखिएको प्रतिवादी तर्फबाट मात्र क्रिया खर्च भएको भए सो व्यहोराको लिखत कागज हुन पर्ने केही नभएको समेत हुँदा इन्साफमा चित्त बुझेन भन्ने समेत वादी मुद्दा सकार गर्ने गणेशकुमारीको पुनरावेदन ।

      ९.    नाथुसाले कमाएको जग्गाको बाली आफू लेखाएमा प्रतिवादी तिलकमान सावितै र आमाको ज्यूनी जग्गामा वादीको हकै नपुग्ने भनी निजले लेख्न नसकेकोले अ.बं. २०२ नं. बमोजिम विपक्षीहरूलाई छलफलमा झिकाई पेश गर्न भन्ने डिभिजन बेञ्चको २२।३।१।५ को  आदेश ।

      १०.    अंशको जग्गा दर्ता गरी दिएन भन्नेतर्फ शुरुले जग्गाको हद नम्बर खुलाई नालेस नगरेकोले जग्गा छुट्ट्याई दर्ता गरी दिन नपर्ने ठहराई फैसला गरे उपर वादीको पुनरावेदन नपरेकोले विचार गरी रहनु परेन । आमा लक्ष्मीदेवीको ज्यूनी जग्गा २।।२।३ को हकमा १७।११।३ को बण्डापत्र नक्कल हेर्दा, शेषपछि दुवै छोराले काजक्रिया गरी बाँकी रहेको आधी आधी गरी लिने गरी ज्यूनी राखेको देखिएको । सो जग्गा वादीको बण्डा लाग्ने होइन भनी प्र.तिलकमानले भन्न नसकी क्रिया खर्च वापत सो जग्गाको बालीबाट भर्ना गरेको भन्नेसम्म जिकीर लिएको जिन्दगी पछि दुवै भाइले काजक्रिया गरी बाँडी लिनु भन्ने दाताकै इच्छा हुनाले नं. १३१ को १।१।३ नं. ११८ को १।१ समेत बराबर बाँडी चलन चलाई दिनु पर्ने र वादीले कलैया इ.अ.मा १७।८।१५।४ मा दिएको फिरादपत्रमा आमा क्रिया सुनको चुुरा बिक्री गरी आएको रु. १२५४। बाट रु. १०१४ खर्च भई रु. २४० कान्छा भाइ जिम्मा बाँकी नै रहेको भन्ने उल्लेख भएको सो कुरा हालको फिरादपत्रमा जिकीर लिन नसकेकोले किटानी उजुर बेगर यसबाट क्रिया खर्च यतिकै हो भन्न नमिल्ने हुँदा क्रियामा कति खर्च भएको छ ? उक्त ज्यूनीको जग्गाको बादीबाट प्रतिवादीले कति घटि बढी खाएको छ ? ३५ दिन भित्र फाँट खोली नालेस दिएमा ठहरेबमोजिम हुनेछ भनी पुनरावेदकलाई सुनाई दिने र वादी दावी झुट्टा ठहराएतर्फ जि.अ.को र बाली भराउने गरेको शुरुको इन्साफ केही गल्ती ठहर्छ भन्ने समेत डिभिजन बेञ्चको २२।१०।२५।२ को फैसला ।

      ११.    सो उपर चित्त बुझेन । दोहर्‍याई पाउँ भन्ने वादी कृष्णकुमारीको सकार गर्न गणेशकुमारीको निवेदन परेकोमा न्यायीक समितिबाट यसमा विपक्षी तिलकमानले क्रिया खर्चको रुपैंयाँ भर्ना नपाएकोले बाली खाएको हुँ भनी लेखेको क्रिया खर्च गरेको भए पाउनु पर्ने अंक कति हो खुलाई नालेस गर्नुपर्ने जबरजस्ती हात हाली लिन नपाउने कानूनी व्यवस्था र साहु आसामीको १६ नं.को व्यवस्था समेतले पनि दर्शाई रहेको र प्रचलित मुलुकी ऐन ८२, नं. ले पनि जसको जुन कुरामा हकदैया पुग्छ, उसैले उजुर गर्नुपर्ने देखाएको र यो बाली म वादीको हक पुग्ने प्रतिवादी हक पुग्ने प्रतिवादीको हक नपुग्ने भन्ने कुरा प्रतिवादीको लेखाईबाटै सिद्ध हुन आएको त्यस्तो कुरामा क्रियाखर्चमा दावा गर्ने प्रतिवादी नालेस नगरी इन्कार गर्न वादीले नालेस गरी यकिन गराएपछि मात्र बाली पाउने नपाउने निर्णय गर्न बालिका झगडाको ऐनको तात्पर्यको पनि प्रतिकूल हुन जाने देखिन आएको समेत प्रमाणबाट क्रिया खर्च पट्टी वादीले नालेस गरेको बखत बालीको समेत निर्णय हुने गरी वादी गणेशकुमारीले क्रिया खर्च पछि नालेस गर्नु भनी सुनाएको सर्वोच्च अदालतको निर्णय मिलेको नदेखिँदा दोहर्‍याउनु आदेश बक्सनु पर्ने भनी समितिबाट सिफारीस गरेको जाहेरहुँदा श्री महाराजाधिराजबाट नेपालको संविधानको धारा ७२ को (ख) अनुसार उक्त मुद्दा दोहर्‍याई दिनु भन्ने हुकुम बक्सेको छ भनी मौसुफका प्रमुख सचीवालयबाट लेखी आएको ०२४।४।१०।३ को हुकुम प्रमांगी ।

      १२.   बक्स भई आएका हु.प्र. बमोजिम गर्ना निमित्त कानूनको रीत पुर्‍याई लगतमा दर्ता गरी मिसिल झिकाई दुवै पक्ष राखी फुल बेञ्चमा पेश गर्नु र त्यसको अन्तिम निर्णय भएपछि त्यस्तो निर्णयको २ दुई प्रतिलिपि जाहेर गर्न श्री ५ महाराजाधिराजका प्रमुख सचीवालय राजदरवारमा रजिष्टार अफिस मार्फत् पठाई दिनु भन्ने माननीय का.मु.प्र. प्रधान न्यायाधीश ज्यूको २४।४।१६।२ को आदेश ।

      १३.   यसमा तारेखमा रहेको दुवै पक्षको बारेस रोहवरमा रही २५।१।२१।६ मा पेश भई निवेदक, वादी तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री देव नाथप्रसाद बर्माले गर्नु भएको बहस समेत सुनी आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा बालीको दावीतर्फ क्रियामा कति खर्च भएको छ । ज्यूनी जग्गाको बालीबाट प्रतिवादीले के कति घटिबढी खाएको छ ? फाँट खोली ३५ दिन भित्र नालेस दिएमा ठहरेबमोजिम हुनेछ भनी वादी कृष्णमानको सकार गर्न गणेशकुमारीलाई सुनाई दिने ठहराएको डिभिजन बेञ्चको इन्साफमा चित्त बुझेन भन्ने निज गणेशकुमारीको निवेदन जिकीर भएकोले त्यतिसम्म कुरामा यस बेञ्चबाट निर्णय दिनु पर्ने हुन आएको छ ।

      १४.   प्रमाणमा पेश भईराखेको वादी सु.कृष्णमान प्रतिवादी सु.तिलकमान समेतको १६।९।१३।२ को बण्डापत्र नक्कल हेर्दा, आमा लक्ष्मीदेवीको ज्यूनी राखेको नं.१३१।११८ को बिगाहा २।।२।३ को हकमा आमाको शेषपछि दुवै छोराहरूले क्रियाकाज गरी बाँकी रहेको आधी आधी गरी बाँडी लिनु भन्ने उक्त बण्डापत्रमा लेखिएको पाइन्छ ।

      १५.   आमा लक्ष्मीदेवी परलोक भएपछि क्रियाकाज गर्दा रु. ४४।४५ सय खर्च लगाई काजक्रिया गरेकोले सो खर्च पूर्ति नगरी बाली समेतमा वादीको हक पुग्न नसक्ने भन्ने प्रतिवादी सु.तिलकमान सिंको मुख्य जिकीर भएको हकमा आमाको काजक्रियामा लागेको खर्च सो ज्यूनी जग्गा बालीबाट भर्ना गर्न भन्ने लिखत शर्त नभएकोले सो अभावमा निज प्रतिवादी सु.तिलकमान सिंको उपरोक्त जिकीर उचित मान्न मिलेन ।

      १६.    निज प्रतिवादी सु.तिलकमान सिंको भनाईअनुसार यदि आमाको क्रिया काज गर्दा निजले मात्र खर्च लगाएको र वादीको भाग निजबाट आफूले भर्ना पाउनु पर्ने समेत भए हकदैया पुग्नेले नालेस उजुर गर्नुपर्ने तत्काल प्रचलित अ.बं. १०६ नं. को व्यवस्था समेतबमोजिम निज प्रतिवादी सु.तिलकमान सिं आफूले नै आफ्नो खर्च भएको फाँट वादीबाट भर्ना पाउनु पर्ने, अंश समेत खुलाई दावी गरी कानूनबमोजिम नालेस दिई भराई दिनु पर्ने कुरा हो । एक त आमाको क्रिया काज गर्दा प्रतिवादी सु.तिलकमानसिंले के कति खर्च लगाएको हो ? सो वादीलाई यकिन थाहा हुन सक्ने अवस्थाको कुरा नभएको र दोश्रो लिखत शर्त र मञ्जुरी बेगर सो खर्च भएको अंश ज्यूनी जग्गाको पछिपछिको बालीबाट हात हाली लिनु नहुने समेत हुनाले प्रतिवादी सु. तिलकमानसिंले क्रिया खर्चको फाँट अंश खुलाई नालेस गरेमा प्रतिवादी गर्न पाउने समेत अवस्थाको यस्तो कुरामा वादीले फाँट खुलाई नालेस गर्नुपर्छ भन्ने नमिल्ने प्रष्टै छ ।

      १७.   तसर्थ, उक्त ज्यूनी जग्गा मध्ये नं ११८ को मुखासाले कमाएको भन्ने कित्ताको १७ सालको बाली विगो यिनीहरूकै अर्र्को मुद्दाबाट भरी पाउने ठहरी विरगन्ज इलाका अदालत र तत्कालीन विरगन्ज जिल्ला अदालतबाट फैसला भईराखेको प्रमाण मिसीलाट देखिएको समेत हुँदा नं. १३१ को नाथुसाले कमाएको भन्ने कित्ताको हकमा उपरोक्त उल्लेखित कारणहरू समेतबाट १७।१८ सालो बाली बिगो रु.४१६ प्रतिवादी सु.तिलकमान सिंले खाएका निजसँग रु. १९ सालको बाली बिगो रु. २०८। प्रतिवादी नाथुसासँग वादीले भरी पाउने ठहराई विरगन्ज इलाका अदालतले २०।१।१८।४ मा छिनेको इन्साफ मनासिव ठहर्छ । क्रियामा कति खर्च भएको छ ? ज्यूनी जग्गाको बालीबाट प्रतिवादीले के कति घटी बढी खाएको छ ? फाँट खोली ३५ दिन भित्र नालेस दिएमा ठहरेबमोजिम हुने भनी वादी कृष्णमानको सकार गर्ने गणेशकुमारीलाई सुनाई दिने गरेकोसम्म ०२२।१०।२५।२ को डिभिजन बेञ्चको इन्साफ मिलेको देखिएन । अरु तपसीलबमोजिम गर्नु ।

 

तपसील

वादी सु.कृष्णमानसिं राज भण्डारी के गर्ने गरेकै देहायबमोजिम नलाग्ने हुँदा देहायबमोजिम गर्न का.श्रे.अ.त.मा लगत दिनु………………….. १

जिल्ला अदालत विरगन्जको २१।३।५।५ को फैसलाले गर्ने गरेको जरिवाना रु. ६२।४० नलाग्ने हुँदा लगत कट्टा गरी दिने कलम १ डिभिजन बेञ्चको २२।१०।२५।२ को फैसलाले गर्ने गरेको जरिवाना रु. ६।२४ निजले २१।६।१२।१ मा रौतहट जि.अ.मा धरौट राखेको सदर स्याहा गर्ने गरी लगत दिएको सो लगत काटी सो रु. ६।२४ निजक कृष्णमान भण्डारी मरी सकेको हुँदा निजको मुद्दा सकार गर्ने गणेशकुमारीलाई फिर्ता दिने ऐ १

देहायका मानिसके शुरु विरगन्ज इ.अ.को २०।१।१८।४ को फैसलाले गर्ने गरेको देहायबमोजिम विरगन्ज जिल्ला अदालतको २१।३।५।५ को फैसलाले नलाग्ने गरी असुल भईसकेको भए फिर्ता बाँकी भए लगत कट्टा गरी दिनु भनी लगत दिएकोमा सोअनुसार गर्नु पर्दैन उक्त विरजगन्ज जि.अ.को फैसलाबमोजिमको लगत काटी विरगन्ज ई.अ.को २०।१।१८।४ को फैसलाबमोजिमको लागत कायमै राख्नु भनी हालको पार्सा जि.अ.लाई लेखी पठाउने ऐ……………………२

प्रतिवादी सु.तिलकमानसिं के दण्ड रु. ६२।४० को कलम १ प्रतिवादी प्र.सूर्यनारायणलाल के दण्ड रु. १। को कलम १

वादी सु. कृष्णमान सिं राजभण्डारी के विजरगन्ज इलाका अदालतको २०।१।१८।४ को फैसलाबमोजिम प्रतिवादी सु.तिलकमानसिंबाट भराई दिने गरेको बिगो र ४१६ र प्रतिवादी नाथुसाबाट भराई दिने गरेको बिगो रु. २०८। विरगन्ज जिल्ला अदालतको २१।३।५।५ को फैसलाले लगत कट्टा गरी दिेने गरेकोमा उक्त विरगन्ज जि.अ.को फैसलाबमोजिम गर्नु पर्दैन इ.अ.विरगन्जको २०।१।१८।४ को फैसलाबमोजिमको लगत कायम राख्नु भनी ऐ ऐ …………….३

वादी सु.कृष्णमानसिं विरगन्ज इ.अ.को २०।१।१८।४ को फैसलाबमोजिम लिने गरेको जीताउरी रु. ६।२४ सलामी रु. १। विरगन्ज जि.अ.को २१।३।५।५ को फैसलाले नलाग्ने लगत काटी दिने गरेकोमा उक्त विरजन्ज जि.अ.को फैसलाबमोजिम गर्नु पर्दैन । विरगन्ज इ.अ.को फैसलाबमोजिम लगत कायमै राख्नु भनी ऐ ऐ…..४

विरगन्ज जि.अ.को २१।३।५।५ को फैसलाले विरगन्ज ई.अ.को न्यााधीश जहान सिंको इन्साफ केही उल्टीको रैकर्ड राख्ने गरेकोमा सो रेकर्ड राख्नु पर्दैन भनी हालको नारायणी अञ्चल अदालत र सर्वोच्च अदालत जनरल विभाग समेतमा लेखी पठाई दिनु………………..५

वादी कृष्णमानसिंको मुद्दा सकार गर्न गणेशकुमारी राजभण्डारी के प्रतिवादी सु.तिलकमान सिंबाट भरी पाउने देहायबमोजिम भराई पाउँ भनी कोर्टफी ऐन, ०१७ को दफा १५ (११) बमोजिम ५ वर्ष भित्र दर्खास्त दिएमा दस्तुर केही नलिई भराई दिनु भनी का.श्रे.अ.त.मा लगत दिनु …………६

निज तर्फबाट रहेका वरिष्ठ अधिवक्ताको सर्वोच्च अदालत नियमावली, ०२१ को नियम २४ बमोजिम भरी पाउने वकिल फी ३० निजले मुद्दा दोहर्‍याउँदा २४।५।१८।१ मा सर्वोच्च अदालतमा दाखेल गरेको कोर्टफी ऐन, ०१७ को दफा १९ (३) र १८ (४) बमोजिम भरी पाउने कोर्टफी रु. ९।१५

झगडा परेको नं. १३१।११८ को जग्गा बिगाहा २।।२।३ को ०२४ सालको धान बाली श्री रजिष्टारको २४।५।२३ को आदेशबमोजिम रोक्का रहेको भए वादी कृष्णमानको सकार गर्ने गणेशकुमारी प्रतिवादी सु.तिलकमानसिंलाई आधी आधीको हिसाबले कानूनबमोजिम फुकुवा गरी दिनुभनी पर्सा जि.अ.लाई लेखी पठाई दिनु …………….७

नियमबमोजिम मिसिल बुझाई दिनु…………………८

 

इति सम्वत् २०२५ साल वैशाख २८ गते रोज ६ शुभम् ।