July 2, 1968
Created by nepalarchives

निर्णय नं. ४१५ – अदालत अपहेलना

निर्णय नं.  ४१५     ने.का.प. २०२५ फुल बेञ्च प्रधान न्यायधीश श्री भगवतीप्रसाद सिंह न्यायधीश श्री रत्नबहादुर विष्ट न्यायधीश श्री मीनबहादुर थापा सम्वत् २०२५ सालको फौ.फु.नं. २७...

निर्णय नं.  ४१५     ने.का.प. २०२५

फुल बेञ्च

प्रधान न्यायधीश श्री भगवतीप्रसाद सिंह

न्यायधीश श्री रत्नबहादुर विष्ट

न्यायधीश श्री मीनबहादुर थापा

सम्वत् २०२५ सालको फौ.फु.नं. २७

निवेदक      : श्री सर्वोच्च अदालत फुल बेञ्च

विरुद्ध

विपक्षी : वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी

मुद्दा : अदालत अपहेलना

(१)   कस्तोमा अदालतको अपहेलना सम्बन्धमा कारवाई गर्न नपर्ने ?

                        आज एक्स्पर्ट न्यायाधीश हुनु भएको भए मेरो शारीरिक अवस्थामा विचार गरी मुद्दा स्थगीत गरिने थियो । शारीरिक विज्ञानको ज्ञाता विशेषज्ञ न्यायाधीश भएको भए यस प्रकारको शारीरिक कमजोरी विद्यमान हुदाहुदै पनि बहस गर्न वाध्य गरिने थिएन भन्ने मेरो मनमा त्यसबेला सम्झिएको मनसाय हो । मैले अभिब्यक्त गरेको वाक्यांश अपहेलनाजन्य छैन । ती शब्दहरू मैले दर्शाएअनुसारको सन्दर्भ, पृष्टभूमि तथा विषयमा उल्लेखित अनुसार उच्चारण गरेको हुँ । त्यो मेरो मनोवैज्ञानिक कारण, उद्वेग अभिव्यक्ति हो । ती शब्दहरू मैले होच्याउने प्रवृतिले भनेको होइन । मबाट अदालतको अपहेलनाको क्रिया भएको छैन । अपहेलनाजन्य क्रिया मबाट न कहिल्यै भएको छ, न कहिल्यै हुने नै छ भन्ने समेत लेखिएको र प्रतिवादीतर्फको विद्वान अधिवक्ता श्री रामराजाप्रसाद सिंहले आफ्नो बहसको सिलसिलामा पनि शारीरिक कमजोरीले असमर्थताको आफ्नो अवस्था हुँदा एक्सपर्ट न्यायाधीश भएको भए भन्ने वाक्य प्रयोग भएको शारीरिक विज्ञानको ज्ञाता विशेषज्ञ न्यायाधीश भएको भन्ने मनसायले हो । सर्वोच्च अदालतको अपहेलना गर्ने नियतले भनेको होइन भनी भन्नु भएकोले यसमा अदालतको अपहलनातर्फ कारवाई गर्नु पर्दैन ।

(प्रकरण नं. १)

प्रतिवादी तर्फबाट : अधिवक्ता श्री रामराजाप्रसाद सिंह

आदेश

      १.     ०२५।२।१५ मा पेश भई विद्वान वकिलहरूको बहस नटुङ्गिई बाँकी रहेकोबाट आज यस बेञ्चमा पेश हुन आएको वादी श्री ५ को सरकार निर्माण सन्चार तथा यातायात मन्त्रालय प्रतिवादी भु.पू. सहसचीव श्री वेदप्रसाद लोहनी समेतको सरकारको नोक्सानी पारे भन्ने मुद्दामा प्रतिवादी वेदप्रसाद लोहनी तर्फबाट बहस गर्न उपस्थित हुनु भएका वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारीले आज अन्यत्र जान परेको छ, अर्को दिन मात्र बहस गर्छु भन्नु भएकोमा मुद्दा स्थगीत गर्न मिल्दैन, बहस गर्नुहोस । आज बहस गर्न नपाउने भए लिखित बहस नोट पेश गरे पनि हुन्छ भनी बेञ्चबाट भनेपछि बहसै गर्छु भनी मुद्दाको बहस गरी एक्सपर्ट न्यायाधीश भए यसरी मलाई आज बहस गर्न कर लगाउने थिएनन भनी यस बेञ्चलाई सम्बोधन गरी भन्नु भएकोले यस्तो वाक्य प्रयोग गरी सर्वोच्च अदालतको अपहेलना गरेमा तपाई उपर कानूनी कार्यवाही किन नगर्नु ? ३ दिनभित्र लिखित जवाफ पेश गर्नु होला भनी बरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारीलाई सूचना तामेल गरी जवाफ लिई निजलाई समेत राखी पेश गर्नु भन्ने ०५५।२।२२।३ का सर्वोच्च अदालत फुल बेञ्चको आदेशानुसार तामेल भएको सूचनाबमोजिम पेश गरेको वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारीको लिखित जवाफमा मुख्यतः फुल बेञ्चलाई सम्बोधन गरी प्रयोग गरिएको वाक्य एक्सपर्ट न्यायाधीश भए यसरी मलाई आज बहस गर्न कर लगाउने थिएनन भन्ने सम्बन्धमा मेरो शारीरिक अवस्था यति कमजोर छ, आज एक्सपर्ट न्यायाधीश हुनु भएको भए मेरो शारीरिक अवस्थामा विचार गरी मुद्दा स्थगीत गरिने थियो । शारीरिक विद्वानको ज्ञाता विशेषज्ञ न्यायाधीश भएको भए यस प्रकारको शारीरिक कमजोरी विद्यमान हुँदा हुदै पनि बहस गर्न बाध्य गरिने थिएन भन्ने मेरो मनमा त्यतिबेला सम्झिएको मनसाय हो । मैले अभिव्यक्त गरेको वाक्यांश अपहेलनाजन्य छैन । ती शव्दहरू मैले दर्शाएअनुसारको सन्दर्भ, पृष्टभूमि तथा विषयमा उल्लेखितानुसार उच्चारण गरेको हुँ । त्यो मेरो मनोवैज्ञानिक कारण, उद्देग अभिव्यक्ति हो । यी शव्दहरू मेले होच्याउने प्रवृतिले भनेको होइन । मबाट अदालतको अपहेलनाको क्रिया भएको छैन । अपहेलनाजन्य क्रिया मबाट न कहिल्यै भएको छ नकहिल्यै हुनेनैछ भन्ने समेत लेखिएको र प्रतिवादीतर्फको विद्वान अधिवक्ता श्री रामराजाप्रसाद सिंहले आफ्नो बहसको सिलसिलामा पनि शारीरिक कमजोरीले असमर्थताको आफ्नो अवस्था हुँदा एक्सपर्ट न्यायाधीश भएको भए भन्ने वाक्य प्रयोग भएको शारीरिक विज्ञानको ज्ञाता विशेषज्ञ न्यायाधीश भएको भए भन्ने मन्सायले हो । सर्वोच्च अदालतको अपहेलना गर्ने नियतले भनेको होइन भनी भन्नु भएकोले यसमा अदालतको अपहेलनातर्फ कारवाही गर्नु पर्दैन । यो मिसिल तामेलमा राखिदिनु ।

 

इति सम्वत् २०२५ साल आषाढ १९ गते रोज ३ शुभम् ।