May 24, 1968
Created by nepalarchives

निर्णय नं. ४१२ – अंश

निर्णय नं.  ४१२     ने.का.प. २०२५ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री रत्नबहादुर बिष्ट न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री लोकराज जोशी न्यायाधीश...

निर्णय नं.  ४१२     ने.का.प. २०२५

फुल बेञ्च

प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह

न्यायाधीश श्री रत्नबहादुर बिष्ट

न्यायाधीश श्री नयनबहादुर खत्री

न्यायाधीश श्री लोकराज जोशी

न्यायाधीश श्री राजा ईश्वरी जंगबहादुर सिंह

०२३ सालको दे.फु.नं. ५७

निवेदक      : सिउप्रसाद अहिर

विरुद्ध

विपक्षी : बाबादिन अहिर

मुद्दा : अंश

१.    बाजे (प्रतिवादीको) को प्रकाश गरी राखेको स्वास्नीबाट वादी जन्मेको प्रमाणित भएको र वादी प्रतिवादीको बाबु दुवै बाजे (प्रतिवादीको) को दुई स्वास्नीतर्फका छोरा समान हकका अंशियार देखिन आएमा वादीले अंश नपाईसकेको भए अंश पाउनु पर्ने देखिन आउने ।

                        रामचरणको छोरा कायम गरी पाउँ भनी वादी सिउप्रसादले प्रतिवादी बाबादिन उपर दिएको जालसाजी मुद्दा पट्टि आजै यस बेञ्चबाट भएको फैसलाबाट वादी सिउप्रसाद रामचरणको प्रकाश गरी राखेको स्वास्नीबाटै जन्मेको छोरा ठहर भएकाले अंशियारै होइन भन्ने प्रतिवादीको उपरोक्त जिकीर समर्थित हुन आएन । वादी सिउप्रसाद र प्रतिवादी बावादीनको बाबु गुलाम दुवै जना रामचरणका २ स्वास्नी पट्टिका छोरा समान हकका अंशियार देखिन आएको र वादीले अंश लिई पाइसकेको भन्ने प्रतिवादीको जिकीर नभएकाले समेत वादीले प्रतिवादीबाट अंश पाउनै पर्ने देखिन्छ ।

(प्रकरण नं. १२)

२.    मानो छुट्टिएको मिति कुन दिन कायम गर्ने ? मानो छुट्टिएको मिति भनेर वादीले एक दिन देखाएको र प्रतिवादीले वादी अंशियार नै होइन भनेर जिकीर लिई प्रतिवादीको मुख नमिलेर मानु छुट्टिएको ऐनबमोजिम रीतपूर्वकको लिखत सबुद पनि नभए वादीले नालेस गरेको दिनको अधिल्लो दिनलाई मानु छुट्टिएको कायम गर्नुपर्ने ।

                        वादीले ०१७ साल कार्तिक ३० गतेको मिति देखाएकोमा प्रतिवादीले अंशियारै नहुँदा अंश दिनु नपर्ने कुराको जिकीर लिएको भई सो मितिमा मानो छुट्टिएको भन्ने कुरामा प्रतिवादीको मुख नमिलेको र मानु छुट्टिएको ऐनबमोजिम रीतपूर्वकको लिखत सबुद पनि नभएकोले यस स्थितिमा वादीले नालेस गरेको ०१७।८।७।३ को अधिल्लो दिन ०१७।८।६।२ लाई नै मानु छुट्टिएको मानि कायम मान्नु पर्ने हुन आएको छ ।

(प्रकरण नं. १३)

वादी तर्फबाट  : वरिष्ठ अधिवक्ता श्री देवनाथप्रसाद वर्मा

प्रतिवादी तर्फबाट : अधिवक्ता श्री ठाकुरप्रसाद खरेल

फैसला

      १.     प्रतिवादी बावादीनको बाजे रामचरण मेरा बाबु हुँदा प्रतिवादी मेरो भतिज हो । हामी सगोलमा बसी आएको हाल अमेल भई चल धनमाल र घर समेत अंश दिसकेको जग्गाको बण्डा नदिएकोले आधा जग्गा दिलाई मेरा नाउँमा दाखेल खारेज गराई पाउँ भन्ने वादी ।

      २.    वादी मेरा बाजे रामचरणको छोरा र मेरा बाबुको भाइ होइनन । निज सहत्ती अहिरका छोरा हुन । सहत्तीका २ छोरामा जेठो दुवर कान्छो वादी भई वादी र दुवर सगोलमा छन । मेरो अंशियार नहुँदा वादीलाई अंश दिनु नपर्ने भन्ने समेत प्रतिवादी ।

      ३.    वादीलाई सहत्तीको छोरा भनी प्रतिवादीले लेखेको कुरा साक्षीको ०१७।११।५ मा बकसपत्र हुँदा रोहवरमा भएको वादीले थाहा पाएपछि समयमै उजुर गरी रामचरणको छोरा कायम गराउनु सक्नु पर्ने नसकेकाले समेत वादीले झुठ्ठा उजुर गरेको ठहर्छ भन्ने बाँके इलाका अदालतको फैसला ।

      ४.    सहत्ती मरेपछि मेरी आमालाई बाबा राचरणले चुरीया पैराई स्वास्नी बनाई राखेपछि रामचरणको विर्यबाट उहाँकै घरमा म जन्मी सँगै एका सराकतमा बसी आमाबाबु परलोक भएपछि जेठो बाठो दाजु गुलामका नाउँमा र निज दाजु गुलाम परलोक भएपछि उनको छोरा विपक्षीको नाउँमा दर्ता गराई सगोलबाट भोग चलन गरी आएको छौं । मलाई सहत्तीको छोरा भनी विपक्षीले लेखेको अघि ज्ञान नभएको फैसला भएपछि हाल नालेस पनि दिइसकेको हुँदा शुरु इन्साफमा चित्त बुझेन भन्ने समेत वादीको पुनरावेदन ।

      ५.    सरजमिन बुझ्ने जि.अ.नेपालगन्जबाट ०२०।६।१५।३ मा आदेश भई सरजमिन समेत बुझिएको ।

      ६.    सरजमिन मुचुल्काको हकमा यो मुद्दा सरकार वादी बाहेकको देवानी हुनाले प्रमाण लिन नमिल्ने र जग्गा बाहेक अरु अंश पाईसकेको निजकै साक्षी वकाई समेतबाट नदेखिएको।  फिरादीको आमा विधवा भएपछि प्र.को बाजे रामचरणले चुरीया पैराई आफ्नो घरमा लगेको समेत देखिन नआई फिरादीकै साक्षीले जालसाजी मुद्दामा बकेका बकसपत्रबाट विधवा भई लोग्नेकै घरमा बसेकी फिरादीकी आमाले धारणा गरेकी गर्भबारे सोधपुछ हुँदा रामचरणको भन्ने निज र मेरो भनी रामचरणले सकार गरेको । सो गर्भबाट यी वादीको जन्म भएको देखिनाले त्यस किसिम प्रकाश नगरी राखेकी स्वास्नी र त्यसबाट जन्मेका सन्तानले लोग्ने बाबुका शेषपछि अंशमा दावा गर्न ऐनले नपाउने हुँदा इन्साफ शुरुको मुनासिव ठहर्छ भन्ने समेत नेपालगन्ज जिल्ला अदालतको ०२०।११।२९।५ को फैसला ।

      ७.    पञ्चायतमै बाबु रामचरणले मेरो गर्भ भनी भनेकै बखत प्रकाश भईसकेको देखिने हुँदा प्रकाश नगरी राखेको हुन नसक्ने हुनाले समेत जि.अ.नेपालगन्जको फैसला उपर चित्त बुझेन भन्ने वादीको पुनरावेदन ।

      ८.    बाबु रामचरणको २ स्वास्नीमा जेठीतर्फको छोरा वादीको बाबु गुलाम र कान्छीतर्फको छोरा म हुँ भनी बाबु दाजु समेतको शेषपछि १७ सालमा मात्र ३५ वर्ष उमेरको वादीले भतिजा नाताको प्रतिवादी उपर अंशमा दावा गरी उजुर गरेको देखियो । वादीमा उल्लेख गरे बमोजिम प्रतिवादीले चल धनमाल र घर समेतको अंश दिसकेको भन्ने कुराको र आफू रामचरणको प्रकाश भईसकेको स्वास्नीबाट जन्मेको छोरा हुँ भन्ने कुराको समेत पक्का सबुद कुनै दिन पेश गर्न समेत वादीले नसकेको र यिनै वादी प्रतिवादीको जालसाजी मुद्दामा वादी सिउप्रसाद रामचरणको प्रकाश नगरी राखेकी स्वास्नीबाट जन्मेको छोरा ठहराएको समेत जि.अ.नेपालगन्जको इन्साफ सदर भई आज यस बेञ्चबाट फैसला भएकोले समेत अंशमा दावी गरेको वादीले उजुर झुठ्ठा ठहराएको शुरु बाँके ईलाका अदालतको सदर गरी नेपालगन्ज जि.अ.ले छिनेको इन्साफ मनासिवै ठहर्छ भन्ने समेत डिभिजन बेञ्चको ०२१।११।१०।१ को फैसला ।

      ९.    सो उपर चित्त बुझेन । दोहर्‍याई पाउँ भन्ने वादीको निवेदन परेकोमा न्यायीक समितिबाट यसमा जालसाजी मुद्दाबाट वादीलाई रामचरणको छोरा ठहराएकोमा प्रतिवादीको निवेदन पर्न आएको देखिएन । जालसाजी मुद्दामा वादी सिउप्रसाद प्रकाश गरी राखेकी स्वास्नीबाट जन्मेका छोरालाई बेप्रसंगमा वादी प्रतिवादीहरूको दावी जिकीर नभएको प्रकाश अप्रकाशको प्रश्न उठाई दिएको निर्णय युक्तिसंगत नदेखिएकोले वादी प्रकाश नगरी राखेको स्वास्नीबाट जन्मेको छोरा ठहर्छ भनी गरेको सर्वोच्च अदालतको निर्णय मिलेको नदेखिँदा दोहर्‍याउने आदेश बक्सनु पर्ने भनी आजैका मितिमा सिफारिस जाहेर गर्ने निर्णय भएकोले अंश पाउने वादीलाई प्रकाश नगरी राखेको स्वास्नीबाट जन्मेको वादीले अंश नपाउने ठहराई वादीको दावी झुठ्ठा ठहराएको सर्वोच्च अदालतको निर्णय मिलेको नदेखिँदा दोहर्‍याउने आदेश बक्सनु पर्ने भनी समितिबाट सिफारिस गरेको जाहेर हुँदा श्री ५ महाराजाधिराजबाट नेपालको संविधानको धारा ७२ को (ख) अनुसार उक्त मुद्दा दोहर्‍याई दिनु भन्ने हुकुम बक्सेको छ भनी मौसुफका प्रमुख सचीवालयबाट लेखी आएको ०२२।८।९।४ को हुकुम प्रमांगी ।

      १०.    बक्स भई आएका हुकुम प्रमांगी गर्न निमित्त कानूनको रीत पुर्‍याई लगतमा दर्ता गरी मिसिल झिकाई दुवै पक्ष राखी फुल बेञ्चमा पेश गर्नु र त्यसको अन्तिम निर्णय भएपछि त्यस्तो निर्णयको २ प्रतिलिपि जाहेर गर्न श्री ५ महाराजाधिराजका प्रमुख सचीवालय राजदरवारमा रजिष्ट्रार अफिस मार्फत पठाई दिनु भन्ने माननीय प्रधान न्यायाधीशज्यूबाट भएको ०२२।८।१६।४ को आदेश । जालसाजी मुद्दामा झगडियालाई छलफलमा झिकाउने आदेश भएकोले यसमा अ.ब.२०२ नं. बमोजिम छलफलको निमित्त झिकाई पेश गर्नु भन्ने फुल बेञ्चको ०२४।९।१८।३ को आदेश ।

      ११.    यसमा तारेखमा रहेका दुवै पक्षका वारेस रोहवरमा रही २०२५।२।८।३ मा पेश भई निवेदक, वादी तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री देवनाथप्रसाद बर्माले र प्रतिवादी तर्फबाट विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेलले गर्नु भएको बहस समेत सुनी आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा निवेदक, वादीले प्रतिवादीबाट अंश पाउने नपाउने के हो ? भन्ने कुराको निर्णय दिनु पर्ने भएको छ ।

      १२.   वादी सिउप्रसाद मेरो बाजे रामचरणको छोरा नै होइन । अंशियारै नहुँदा अंश दिनु नपर्ने भन्ने समेत प्रतिवादीको मुख्य जिकीर भएकोमा रामचरणको छोरा कायम गरी पाउँ भनी वादी सिउप्रसादले प्रतिवादी बावादीन उपर दिएको जालसाजी मुद्दापट्टि आजै यस बेञ्चबाट भएको फैसलाबाट वादी सिउप्रसाद रामचरणको प्रकाश गरी राखेको स्वास्नीबाटै जन्मेको छोरा ठहर भएकोले अंशियारै होइन भन्ने प्रतिवादीको उपरोक्त जिकीर समर्थित हुन आएन । वादी सिउप्रसाद र प्रतिवादी बावादीनको बाबु गुलाम दुवै जना रामचरणका २ स्वास्नी पट्टिका छोरा समान हकका अंशियार देखिन आएको र वादीले अंश लिई पाइसकेको भन्ने प्रतिवादीकै जिकीर नभएकोले समेत वादीले प्रतिवादीबाट अंश पाउन पर्ने देखिन्छ ।

      १३.   अब मानो छुट्टिएको मिति कुन कायम हुने हो ? भन्नेतर्फ हेरेमा वादीले ०१७ साल कार्तिक ३० गतेको मिति देखाएकोमा प्रतिवादीले अंशियारै नहुँदा अंश दिनु नपर्ने भन्ने कुराको जिकीर लिएको भई सो मितिमा मानो छुट्टिएको भन्ने कुरामा प्रतिवादीको मुख नमिलेको र मानु छुट्टिएको ऐनबमोजिम रीतपूर्वकको लिखत सबुद पनि नभएकोले यस स्थितिमा वादीले नालीस गरेको ०१७।८।७।३ को अघिल्लो दिन १७।८।६।२ लाई नै मानु छुट्टिएको मानी कायम मान्नु पर्ने हुन आएको छ ।

      १४.   तसर्थ, उपरोक्त उल्लेखित कारणहरूबाट वादीलाई अंश दिनु नपर्ने भन्ने समेत प्रतिवादीको जिकीर पुग्न सक्दैन । वादीले प्रतिवादीबाट वादी दावीबमोजिम ०१७।८।६।२ को मितिसम्मको अचल जग्गामा २ भागको १ भाग अंश पाउने ठहर्छ । शुरु तहदेखि नै अंश नपाउने ठहर हुँदै आएको भई अंशबण्डा गरी दिनु पर्ने अचल जग्गाको तायदाती फाँट नलिईएको हुँदा अब ०१७।८।६।२ लाई मानो छुट्टिएको मिति कायम गरी दुवै पक्षबाट कानूनबमोजिम रीत पुर्‍याई तायदाती फाँट लिई कोर्टफी ऐन, २०१७ बमोजिम लाग्ने कोर्टफी समेत असुल गरी वादी प्रतिवादी २ जनाको २ भाग लगाई कानूनबमोजिम बण्डा गरिदिनु भनी शुरु मिसिल बाँके जिल्ला अदालतमा पठाई, अरु तपसीलबमोजिम गरी नियमबमोजिम रेकर्ड मिसिल बुझाई दिनु ।

 

तपसील

प्रतिवादी बावादीन अहीरकै तायदाती फाँट लिई अंशबण्डा गरी दिँदा कोर्टफी लिने कुरा माथि नै ठहर उल्लेख भएकोले अंश दिनु नपर्ने भनेमा अहिले अरु सजाय गर्नु परेन ……………..१

वादी सिउप्रसाद अहिर कै शुरु बाँके ईलाका अदालतको १८।११।८।२ को फैसलाबमोजिम गरेको दण्ड रु. ५ नलाग्ने हुँदा १८।११।१०।४ मा तिरे बुझाएको कानूनको रीत पुर्‍याई फिर्ता दिनु भनी हालको बाँके जि.अ. लाई लेखी पठाउन का.श्रे.अ.त. मा लगत दिनु । …………… २

देहायका मानिसकै बाँके ई.अं को १८।११।८।२ को फैसलाले गर्ने गरेको देहायबमोजिम जरिवाना नलाग्ने हुँदा असुलभईसकेको भए फिर्ता बाँकी भए लगत कट्टा गरी दिनु भनी ऐ………………..३

बाँके तप्पे कारकादो रमेशपुर बस्ने मनीराम चमार के १ ऐ ऐ बस्ने सम्पति अहीर के १

वादी सिउप्रसाद अहीरक तत्कालिन जि.अ. नेपालगन्जको २०।११।२९।५ को फैसलाले गर्ने गरेको जरिवाना रु. ।५० नलाग्ने हुँदा २०।१२।३० मा बाँके ई.अ.मा बुझाएको कानूनको रीत पुर्‍याई फिर्ता दिनु भनी ऐ ऐ …४

देहायका मानिसको इन्साफ उल्टीको रेकर्ड राख्न सर्वोच्च अदालत जनरल विभागमा सूचना दिनु ५ बाँके ई.अ.का.न्या. लिलामनी अधिकारी १ जि.अ. नेपालगन्ज का.न्या. जयदेव भट्ट १ वादी सिउप्रसाद अहीरके डिभिजन बेञ्चको ०२१।११।१०।१ को फैसलाले गरेको जरिवाना रु. ।२५ नलाग्ने हुँदा असुल भएको भए फिर्ता बाँकी भए लगत कट्टा गरी दिनु भनी का.श्रे.अ.त. मा लगत दिनु ………………६

वादी सिउप्रसाद अहीरकै निज तर्फबाट रहेका विद्वान वरिष्ठ अधिवक्ताको सर्वोच्च अदालत नियमावली, ०२१ को नियम २४ बमोजिम पाउने वकिल फि.रु. ३०। प्रतिवादी बावादीनबाट भराई पाउँ भनी कोर्टफी ऐन, ०१७ को दफा १५(११) बमोजिम ५ बर्ष भित्र दर्खास्त दिएमा दस्तुर केही नलिई भराई दिनु भनी ऐ ………७

वादी सिउप्रसाद अहीरके मुद्दा दोहर्‍याउँदा २३।९।१७।१ मा सर्वोच्च अदालत नगदी बिभागमा दाखिल गरेको कोर्टफी.रु.२।५० कोर्टफी ऐन, ०१७ को दफा १९(३) र १८(४) बमोजिम प्रतिवादी बाबादिनबाट परी पाउँ भनी कोर्टफी ऐन, ०१७ को दफा १५(११) बमोजिम ५ वर्ष भित्र दर्खास्त दिएमा ऐ …………८

नियमबमोजिम मिसिल बुझाई दिनु …………………९

 

इति सम्वत् २०२५ साल जेष्ठ ११ गते रोज ६ शुभम् ।