May 24, 1968
Created by nepalarchives

निर्णय नं. ४११ – ज्यान

निर्णय नं.  ४११     ने.का.प. २०२५ फुल बेञ्च न्यायाधीश श्री रत्नबहादुर बिष्ट न्यायाधीश श्री मीनबहादुर थापा न्यायाधीश श्री लोकराज जोशी २०२४ सालको दे.फु.नं. १६ निवेदक      :...

निर्णय नं.  ४११     ने.का.प. २०२५

फुल बेञ्च

न्यायाधीश श्री रत्नबहादुर बिष्ट

न्यायाधीश श्री मीनबहादुर थापा

न्यायाधीश श्री लोकराज जोशी

२०२४ सालको दे.फु.नं. १६

निवेदक      : तौलिहवा कारागरामा थुनिएको हनिफ चुरिहार

विरुद्ध

विपक्षी : देवी दत्त काहारको जाहेरीले श्री ५ को सरकार

मुद्दा : ज्यान

१.    जानिफकार भई आफ्नो उमेर लेखाएको देखाएको भए र कम्ति यति नै वर्षको उमेर भन्ने कुराको अकाट्य प्रमाण गुजार्न नसकेमा र डाक्टर जाँचबाट समेत वर्ष १६ वर्ष देखि माथि १८ वर्ष देखि मुनि भनी अनुमान गरेमा पहिले अनभिज्ञ अवस्थाको बयानको उमेरको उमेर कायम गर्न नमिल्ने ।

            चोरी मुद्दामा निज हनिफले १२।१२।२४ मा बयान गर्दा ११ वर्ष लेखिएको देखिएको । त्यस हिसाबबाट १७।७।९ गते वारदात र १७।७।१५ मा बयान गर्दाको अवस्था १५ वर्ष करिब ७ महिनाको मात्र देखिन आउने भन्ने मुख्य आधार लिएको समेत देखिन आयो । जुत्ताचोरी मुद्दामा १२।१२।२४ गते बयान गर्दाको मितिमा ठिक ११ वर्ष नै पुगेको थियो भन्ने कुराको अकाट््य सबुद प्रमाण कुनै नभएको समेत हुँदा निज हनिफ आफैले यो मुद्दामा बयान गर्दा आफ्नो उमेर १९ वर्ष लेखाई राखेको यस्तो कुरामा जानकार भईसकेपछि आफू १९ वर्षको भएँ भनी लेखाएको उमेरलाई कायम नमानी अनभिज्ञ बालक अवस्थामा ११ वर्षको भएँ भनी लेखाएको उमेरलाई कायम मान्न नमिल्ने र १९।१।२५ मा डाक्टर जाँच गराउँदा १६ वर्ष देखि माथि १८ वर्ष देखि मुनि हुनु पर्छ भनी लेखी दिएको कुरा पनि अनुमानिकसम्म भई किटानी नभएको समेत हुँदा निज हनिफ १६ वर्ष नपुगेको पुरा सजाय नहुने भन्न मिल्ने देखिन आएन ।

(प्रकरण नं १४)

निवेदक तर्फबाट : अधिवक्ता इन्छाहर्ष र वतैनिक अधिवक्ता दिनानाथ झा

फैसला

      १.     ०१७ साल कार्तिक ८ गते राती मेरो घर नजिक कुवामा झ्याम्म गरेको आवाज सुनी हेर्न जाँदा पानी भित्र एक वित्ता जति सेतो कागज हो वा कपडा हो देखिएको । पानी भित्र गायव भयो । कुवाको पूर्वपट्टि छालाको चट्टी देखि मानिसै मरेको भनी शंका लागि थानामा जाहेर गर्न म समेत सबै जाँदा बाटामा सडक अगाडिलाल महमतकी स्वास्नी हाजजितले  भक्ततीन उठ् तिउनाई हल्ला होत हैभनी उठाउँदा नउठि र कुवामा देखिएको जुत्ता भगतीले पनि त्यस्तै लाउने हुँदा किन नउठेकी भनी निजको घरमा जाँदा फाटकको जन्जीर समेत खुल्ला रहेछ । भित्र जाँदा निज नदेखिएकोले जाहेर गर्न आएको छु । निज आत्माहत्या गरी मरेकी हुन वा कसैले कर्तव्य गरी मारी फालेको के हो ? छुट्याई ऐनबमोजिम होस भन्ने देवदत्तको जाहेरी दर्खास्त र बयान ।

      २.    लासजाँच मुचुल्काबाट भक्तीन ठकुरानीको लास हो भन्ने देखिएको र कर्तव्यबाट मारी कुवामा फ्याँकेको शंका लाग्छ भन्ने समेत सरजमिन मुचुल्का भएको ।

      ३.    म १ विद्रा १ रामचन्द्र पाण्डे १ बबर काहार १ सुर्जे बाहुन १ राम लखन १ वासुदेव समेत भक्तीनको घरमा डाका गर्न जाने सल्लाह भई ०१७ साल कार्तिक ९ गते राती गएको । म १ रामचन्द्र १ सडकमा पुगी ढोका घचघच्याउँदा लागेको रहेनछ । विद्रा १ सुर्जे १ वासुदेव १ बदर १ समेत ४ जना भित्र बसे हामी दुईजना मानिस हेर्न बाहिर बस्यौं र भित्र जानेहरूले निज भक्ततीनलाई विद्राले हात, सुर्जेले गोडा, बासुदेब बंदरले छाती पक्री जोडसँग दावी निज मरे पछि निजको सिरान निर सेफको साँचो रहेछ । वासुदेवले झिकी सेफ खोली सुन चाँदी नगदी समेत झिकी कपडामा पोको पारी हल्ला बन्द भए पछि बण्डा गरौंला भनी रामचन्द्रले लिलास वासुदेवले बोके वन्दरले निज ठकुराकै गाग्रो डोरी चट्टि जुत्ता पक्री वासुदेवसँगै गई इनार भित्र रसी गाग्रो खसाली चट्टि बाहिर पट्टि राखी मर्नेलाई खसाली आएको हो भन्ने समेत हनिफको बयान ।

      ४.    हामीहरूले कसुर गरेको छैनौं । झुठ्ठा पोल गरेको हो भन्ने समेत वासुदेव दुवै रामचन्द्र पाण्डे विद्रा अहीर वन्दर काहारा लखन सुनार समेतको ईन्कारी बयान ।

      ५.    हनिफ सावित भएको र वासुदेवको हकमा निजको कमिजमा रगत लागेको जाँचबाट ठहरेको । लास बोकेर लाने भनी हनिफले भनेको लास बोक्दा लासको मुखबाट रगत झरी लागेको सिद्ध भएको समेत हुँदा हनिफ र वासुदेव भई मारी डाका गरेको ठहर्छ । दुवैलाई दामल गर्ने । रामचन्द्र समेत ५ जनाको हकमा साक्षी सरजमिन धेरैले सफाई दिई बकेकोबाट कसुर गरेको ठहर्दैन भन्ने समेत तौलिहवा ईलाका अदालतको २०।१।२०।६ को जाहेरी फैसला ।

      ६.    सो इन्साफमा चित्त बुझेन भन्ने समेत हनिफ, वासुदेवहरूको पुनरावेदन ।

      ७.    हनिफको हकमा अदालतमा समेत सावित भई बयान गरेको र म बाहीर मात्र बसेको भन्ने हकमा वासुदेव एक जनाले मात्र मार्न फाल्न नसक्ने हुँदा सो जिकीर पुग्न नसक्ने र वासुदेवको हकमा पनि निजले लगाएको कमिजमा खूनको दाग लागेको जस्तो देखिएको । सनाखत गराउँदा पान खाँदा लागेको दाग वा अरु कुनै कुराको खूनको छिटा हो भन्न सक्दैन भनेको । डाक्टरलाई जचाउँदा रगतकै दाग भनी लेखी दिएको समेत हुँदा निजहरू दुईजनाको हकमा कसुर ठहर्‍याएको र अरुलाई सफाई दिने गरेको समेत इन्साफ शुरुको मुनासिव छ भन्ने जिल्ला अदालत तौलिहवाको २०।६।३१।५ को जाहेरी फैसला ।

      ८.    दर्खास्तवालाले पनि म उपर शंका नगरेको । सरजमिनका ७९ जनाले पनि म समेतलाई सफाई दिएकोमा अरु ५ जनालाई सफाई दिन मलाई दामल गर्ने गरेको हुँदा इन्साफमा चित्त बुझेन भन्ने समेत वासुदेवको पुनरावेदन ।

      ९.    हनिफको हकमा सो वारदातको जाहेरी पनि निजले नगरेको । मारिएको प्रकृतिबाट हतियार कुनै कुनै हुनै पर्ने । वारदातमा घाँटी गोडा थिची मारेको देखेको थिएँ भनी बयान गरेको । ठटेर्नीसँग घर जोडिएको निजले ठटेर्नीलाई कर्तव्य गरी मारेकैले सो अपराधमा निज उपर दोष लाग्ला की भनी लास दवाउने कारण निजैलाई पर्न जाने हुनाले ज्यान मारेको र लास दवाएकोमा ठीक ठहर्‍याई जिल्ला अदालतले जाहेर गरेको मुनासिवै छ । सजायको हकमा तत्कालिन प्रचलित कानूनले अंश सर्वस्व गरी दामल गर्ने ठहर्‍याएकोमा केही फौजदारी मुद्दा खारेज गर्ने र दण्ड सजाय मिनाहा दिने ऐन, ०२० अनुसार हाल प्रचलित ज्यानसम्बन्धीको १३ नं. ले सर्वस्व सहित जन्म कैदको सजाय हुन्छ । वासुदेवको हकमा भक्तीनको ज्यान मारेको भनी दामल गर्ने ठहर्‍याई जि.अ. समेतले जाहेर गरेको निजले लगाएको कमिजमा रगतको दाग भएको ठटेर्नीको लास निजैले बोकी कुवामा फ्याँकेको भनी साविति हनिफले बयान गरेको । कमिजमा लागेको रगतको दाग यस्तो रगत भनी भन्न नसकेको समेतबाट निजले ज्यान मारेको ठहराई इलाका अदालत जिल्ला अदालतले जाहेर गरेको मुनासिवै छ । निज वासुदेवले नै ज्यान मारेकोमा प्रत्यक्ष देख्ने साक्षी पनि कोही नभएको । निजले ठटेर्नीको घाँटी थिचेको भनी पोल गर्ने हनिफले बाटोमा बसी घरभित्रको वारदात देखेको भनी बयान गरेको । निजको कमिजमा भएको रगतको दागबाट मर्र्र्र्नेको मुखमा रहेको फिंज सहितको रगत लागेको देखिने । त्यसबाट लास बोकेकोसम्म प्रमाणित हुन सक्नेलाई, प्रयोग गरेको कुनै साधन र वस्तु, निजको साथमा थियो भनेर पनि कसैबाट प्रमाण नआएको, कसुर मानी सावित नभएको समेतबाट हनिफसँग सरिक भई कुवामा लास बोकी फ्याँकेकोसम्म पूर्णतया देखिएको छ । निज वासुदेव दुवैलाई ऐनबमोजिमकै पूरा सजाय गर्दा चर्को सजाय पर्ने महसुस भएकोले ज्यान सम्बन्धीको १३ नं. ले सर्वस्वसहित जन्मकैद गर्न मनासिव नहुँदा अ.ब. १८८ नं. को अधिकार प्रयोग गरी निज र वासुदेव दुवैलाई सर्वस्व गरी थुनिएको मिति देखि १० वर्ष कैदको सजाय हुने ठहर्छ भन्ने समेत डिभिजन बेञ्चको ०२१।९।३०।४ को फैसला ।

      १०.    सो उपर चित्त बुझन । दोहर्‍याई पाउँ भन्ने हनिफ वासुदेव दुवैको निवेदन परेकोमा न्यायीक समितिबाट यसमा वासुदेवका हकमा सर्वोच्च अदालतले जन्मभर कैदको सजाय गर्दा चर्को पर्ने भनी अ.बं. १८८ नं. बमोजिम घटी सजाय गरेको देखिएको । कसुरको अवस्था विचार गर्दा त्यसभन्दा पनि घटी सजाय हुने वा सफाई पाउन सक्ने अवस्था केही नदेखिएको र हनिफ चुरिहारको हकमा निजैको पोलावटका आधारमा वासुदेवलाई सजाय भएको देखिएको र निजले मार्ने भनेका अरुहरूलाई पोलेकोमा सबुद पुग्न नआई पोलिएका ब्यक्ति वन्दर काहार समेतले सफाई पाएको । निज हनिफको बयानमा अरु भित्र पसे । हामी ३ जना ढोकै सामुन्ने अरु कोही मानिस आउला भनी हेरी बसेका थियौं भन्ने लेखिएको र डाक्टर जचाउँदा १८ वर्ष मुनिको भनी लेखेको भन्ने कुरा र चोरी मुद्दाको १२।१२।२४ को बयानमा ११ वर्षको लेखिएको भन्ने कुरा तौलिहवा ईलाका अदालतको फैसलाबाट देखिने । ११।१२।२४ मा ११ वर्ष लेखिएको हिसाबबाट १७।१२।२३ मा १६ वर्ष पुग्ने । सो भन्दा अगावै ०१७।७।९ को वारदात र १७।७।१५ मा बयान गर्दाका अवस्था १६ वर्ष नपुगी १५ वर्ष करीव ७ महिनाको मात्र देखिन आउनेमा उमेर पुगेको ठहराई सर्वोच्च अदालतले पूरा सजाय गर्ने गरेको देखिएकोले स.अ. को २१।९।३० को निर्णय मिलेको देखिएन । दोहर्‍याउने आदेश बक्सनु पर्ने भनी समितिबाट सिफारीस गरेको व्यहोरा जाहेर हुँदा श्री ५ महाराजाधिराजबाट नेपालको संविधानको धारा ७२ को (ख) अनुसार उक्त मुद्दा दोहर्‍याई दिनु भन्ने हुकुम बक्सेको छ भनी मौसुफका प्रमुख सचीवालयबाट लेखी आएको ०२४।६।२।२ को हुकुम प्रमांगी ।

      ११.    बक्स भई आएका हु.प्र. बमोजिम गर्ना निमित्त नियमको रीत पुर्‍याई लगतमा दर्ता गरी निवेदकको निवेदनमा तौलिहवा जेलमा थुनिएको भन्ने उल्लेख भएकोले विपक्षी समेतलाई राखी फुल बेञ्चमा पेश गर्नु र त्यसको अन्तिम निर्णय भएपछि त्यस्तो निर्णयको २ दुई प्रतिलिपि जाहेर गर्न श्री ५ महाराजाधिराजका प्रमुख सचीवालय राजदरवारमा जनरल विभाग मार्फत पठाई दिनु भन्ने माननीय का.मु. प्रधान न्यायाधीश ज्यूबाट भएको ०२४।६।५।५ को  आदेश ।

      १२.   यसमा निवेदक हनिफ चुरिहार तौलिहवा कारागरामा थुनामा रहेको भन्ने देखिएको र जाहेरवाला देवीदत्त कहार जनाएको म्यादमा हाजिर हुन नआएकाले पक्षहरू उपस्थित नरही २०२५।१।२८।६ मा पेश भई निवेदक हनिफको तर्फबाट बहस गर्न उपस्थित हुनु भएको विद्वान अभिवक्ता श्री इच्छा हर्षले र विद्वान वैतनिक अभिवक्ता श्री दिनानाथ झाले गर्नु भएको बहस समेत सुनी आज निर्णय सुनाउने दिन तोकिएको प्रस्तुत मुद्दामा निवेदक वासुदेवको हकमा निजले सफाई पाउन सक्ने सबुद प्रमाण केही नदेखिएकाले निजलाई कसुरदार ठहएको मिलेकै देखिन आयो ।

      १३.   निवेदक हनिफको हकमा विचार गर्दा निज हनिफ आफू समेत वारदात गर्न गएमा सावित भई वासुदेव समेतलाई पोल गरी बयान गरेकोबाट वारदातमा गएको भन्ने कुरा सिद्ध भएकै छ । आफू केही मानिस आउलान् भनी हेरी बाहिरै बसेको भन्ने निजको भनाई भएकाले भक्तीन ठकुरा ठटेर्नीलाई मारेको ठाउँमा निज सरिक थिएन कि भन्ने शंका गर्न निजले पोल गरेका अरु अभियुक्त मध्ये वासुदेव बाहेक अरु सबैले सफाई पाएका र लास जाँच मुचुल्का पोष्टमार्टम समेतबाट घाँटी थिची मारिएको देखिने । भक्तीन ठकुर ठटेर्र्नीलाई वासुदेव १ जनाले मात्र त्यस किसिमसँग घाँटी अठ्याई मार्न सक्ने अवस्था नदेखिएको समेत हुँदा आफू भित्र नगई बाहिरै बसेको भन्ने निज हनिफको बयान जिकीर समर्थित हुन आउँदैन । निज हनिफ समेत भई भक्तीन ठकुर ठटेर्र्नीलाई घाँटी थिची कर्तव्य गरी मारेको ठहराएको शुरुको सदर गरी तौलिहवा जिल्ला अदालतबाट फैसला भएकोमा उस बखत निज हनिफले पुनरावेदन नै नगरी चित्त बुझाई बसेको समेत हुँदा निज हनिफ समेत भई भक्तीन ठकुर ठटेर्र्नीको ज्यान मार्ने कसुर गरेको रहेछ भन्ने प्रष्ट हुन्छ ।

      १४.   निज हनिफ वारदात र बयान गर्दाको अवस्था १६ वर्ष पुगेको नदेखिएकोले पूरा सजाय नहुने भन्ने जुन तर्क उठाईएको छ, त्यसतर्फ भजिबुलाको सँगको जुत्ता चोरी मुद्दामा निज हनिफले ०१२।१२।२४ मा बयान गर्दा ११ बर्ष लेखेको देखिएको । त्यस हिसाबबाट ०१७।७।९ गते वारदात र ०१७।७।१५ मा बयान गर्दाको अवस्था १५ वर्ष करीब ७ महिनाको मात्र देखिन आउने भन्ने मुख्य आधार लिएको समेत देखिन आयो । जुत्ता चोरी मुद्दामा ०१२।१२।२४ गते बयान गर्दाको मितिमा ठिक ११ वर्ष नै पुगेको थियो भन्ने कुराको अकाट््य सबुद प्रमाण कुनै नभएको समेत हुँदा निज हनिफ आफैले यो मुद्दामा बयान गर्दा आफ्नो उमेर १९ वर्ष लेखाई राखेको । यस्तो कुरामा जनाकारी भईसकेपछि अफू १९ वर्षको भएँ भनी लेखाएको उमेरलाई कायम नमानी अनभिज्ञता बालक अवस्थामा ११ वर्षको भएँ पनि लेखाएको उमेरलाई कायम मान्न नमिल्ने र ०१९।१।२५ मा डाक्टर जाँच गराउँदा १६ वर्ष देखि माथि १८ वर्ष देखि मुनी हुनु पर्छ भनी लेखी दिएको कुरा पनि अनुमानिकसम्म भई किटान नभएको समेत हुँदा निज हनिफ १६ वर्ष नपुगेको पूरा सजाय नहुने भन्न मिल्ने देखिन आएन ।

      १५.   तसर्थ, उपरोक्त उल्लेखित कारणहरूबाट हामीहरूले कसुर नगरेको भन्ने समेत निवेदन जिकीर पुग्न सक्दैन । कसुर ठहराई हनिफको हकमा हालको ज्यानसम्बन्धीको १३ नं. बमोजिम सर्वस्व सहित जन्म कैदको सजाय गर्ने समेत गरी ०२१।९।३।४ को डिभिजन बेञ्चले छिनेको मनासिवै ठहर्छ । सर्वस्व सहित जन्म कैदको सजाय पाउने ठहरेको कुरामा निवेदक हनिफलाई इन्साफ दोहर्‍याएमा अरु सजाय गर्नु परेन । निजलाई मुद्दा छिनिएको जनाउ दिई, नियमबमोजिम मिसिल बुझाई दिनु ।

 

इति सम्वत् २०२५ साल जेष्ठ ११ गते रोज ६ शुभम् ।