March 22, 1968
Created by nepalarchives

निर्णय नं. ४०५ – लेनदेन

निर्णय नं.  ४०५    ने.का.प. २०२५ फुल बेञ्च न्यायाधीश श्री वासुदेव शर्मा न्यायाधीश श्री हेरम्ब राज न्यायाधीश श्री राजा इश्वरी जङ्गबहादुर सिंह ०२४ सालको दे.फु.नं. ७९...

निर्णय नं.  ४०५    ने.का.प. २०२५

फुल बेञ्च

न्यायाधीश श्री वासुदेव शर्मा

न्यायाधीश श्री हेरम्ब राज

न्यायाधीश श्री राजा इश्वरी जङ्गबहादुर सिंह

०२४ सालको दे.फु.नं. ७९

निवेदक : कृष्णबहादुर श्रेष्ठ

विरुद्ध

विपक्षी : क.ज.प्रचण्ड शम्सेर ज.ब.रा.

मुद्दा : लेनदेन

१.    कसैले लेखेको आधारमा अरुको दावीबमोजिम रुपैया भराउन सक्ने र अंक किटान नभएको मात्र ऐनले प्रमाण लिन हुने ।

            त्यसको आधारमा वादी दावीबमोजिम रुपैया भरी पाउँन सक्ने भएमात्र ऐनले प्रमाणमा लिन मिल्ने हुनाले त्यसतर्फ हेरेमा उपरोक्त उल्लेख भएअनुसार हिसाब गरी रुपैया दिने समेत बोली परेकोबाट तत्काल प्रचलित नासो धरौटको १ नं. बमोजिम नासो धरौटको लिखत सरह मान्न नहुने र यो यति रुपैया दिउँला भन्ने अंक किटान नभएकोले ऐनबमोजिम रीत पुगेको लेनदेन व्यवहारको लिखत सरह कायम हुन पनि नसक्ने । हरहिसाब देखाई यति बाँकी हो भनी वादीले नखुलाएको र सो चिठ्ठीमा यति लिन बाँकी भन्ने नलेखिएकोले रुपैया भरी पाउन सक्ने नहुँदा सो चिठ्ठी ऐनले प्रमाण लिन मिल्ने देखिन आएन ।

(प्रकारण नं. १४)

२.    ऐनले प्रमाणमा लिन नमिलेमा सद्दे किर्ते छुट्याउन नपर्ने ।

            ऐनले प्रमाण लिन नमिल्ने भएपछि सो चिठ्ठी सद्दे किर्ते छुट्याई रहनु समेत नपर्ने हुँदा सद्दे किर्तेतर्फ विचार गरी रहनु परेन । सो चिठ्ठी सद्दे किर्तेमा सुनाउनै नपर्ने सुनाई तहकिकात गरेको समेत शुरु रा.का.दे.दो.र अपील पहिलाको सदर गरी ०२०।५।२०।१ को डिभिजन बेञ्चले छिनेको मिलेको देखिएन । वादी दावी पुग्न नसक्ने ठहराई डिभिजन बेञ्चले सदर गरेको हकमा वादीले भराई पाउँ भनी प्रमाण दिएको लिखतबाट भरी पाउन नसक्ने हुँदा इन्साफ मनासिव देखियो । झुट्टा दावी गरेमा डिभिजन बेञ्च समेतको फैसलाले लिने गरी राखेको कोर्टफीका हकमा कायमै हुन्छ ।

(प्रकरण नं. १५)

निवेदक, वादी तर्फबाट : अधिवक्ता श्री कृष्णप्रसाद धिमिरे

प्रतिवादी तर्फबाट : अधिवक्ता श्री दिनेशमान प्रधान

फैसला

      १.     बज्यै मोहनमाया प्रतिवादी कहाँ धाई बस्नु भएकोमा नाबालक कोही नहुँदा मलाई टोल छिमेकीले हेरचाह गर्ने गरी घरमा भएको सुनचाँदी समेत जोख तौल गरी सुन तोला २८८।८ र चाँदी तोला ९० समेत बज्यैले दरवार लगेको । सो माल जनरल साहेबलाई चाहिएछ र लिई हस्ताक्षरले टिपोट गरी दिएको रहेछ । सो टिपोट बज्यैले २००० सालमा अन्त्य समयमा दिनु भएको । हिफाजत पुर्‍याउन नसक्दा हराए तापनि जनरल साहेबलाई भनेको थिइन । ०३ सालमा घर बिक्री गरी मोरु.६०१।पनि जनरल साहेब कहाँ रहेको र मलाई सुन्दरीजलमा जागिर गराई दिनु भएको । खान नपुग्ने भएकोले १७ गते भित्र पाउँ भनी निवेदन पठाएकोमा तिम्रो माल मासिएको छ । १/१।। वर्षभित्रमा दिउँला भनी चिठ्ठी लेखी पहुँच दिनु भएकोमा बेइमानी गर्ने नियत गर्नु भएकोले नालेस गर्न आएको छु । मालै वा माल दिन सक्नु हुन्न भने सुन चाँदी हिरा समेतको जम्मा बिगो ४७३८८।९० मलाई दिलाई भराई सजाय गरी पाउँ भन्ने समेत वादी ।

      २.    वादीको बज्यै बुबु धाई बस्नु भएको वादी नाबालकमै आमा बाबु मरी टुहुरो भई खाने बस्ने छैन भनी रुँदा महिनाको चामल पाथी ।६ नगदी रु. ३। समेत दिई आएको ०९ सालमा म रीटायर भएकोले सिधा दिन सक्दिन भनी रोकी दिएको । जनसेवामा सिनेमा हेरी मोटरमा बस्न लाग्दा कुटी बेइजती गरेकाले उजुर परी सजाय पाईसकेको । मेरो हस्ताबाट लेखेको टिप्पण हराएको भन्ने कुरै पत्यारै नपर्ने । सिदा भत्ता बन्द गरी दिएको कारणबाट डरत्रास देखाई लिने खाने उद्देश्य लिई नक्कली लिखत खडा गरी झुट्टा दावी गरेको हो । सक्कलै लिखत हेर्न, देख्न, सुन्न पाएमा किर्ते जालसाज के रहेछ ? बयान गर्ने छु भन्ने समेत प्रतिवादी ।

      ३.    वादीले पेश गरेको चिठ्ठी भनेको कागज प्रतिवादीलाई सुनाउँदा सहीछाप मेरो हस्ताक्षर नभएकाले नक्करा जालसाजी किर्ते हो भन्ने समेत प्रचण्ड शम्शेरको वा.चेलेन्द्रबहादुर शाहीको र सद्दे साँचो हो भन्ने समेत वादीको वा.भक्तमानको बयान ।

      ४.    वादी प्रतिवादीहरूको काठमाडौं मेजिष्ट्रेटमा परेको कुटपिट बेइजती मुद्दाको छिनुवा मिसिलमा रहेको प्रतिवादीको बयानमा र तारेख भरपाईमा रहेको हस्ताक्षर भिडाउँदा पुरापुर भिडिन नआई अक्षरको टाँका र डिकाचको र प्र.को अक्षर रुप एकै देखिन नआएकोले बिगो भराई पाउँ भन्ने वादी दावा पुग्ने सक्तैन । कागज जालसाज किर्ते ठहर्छ भन्ने समेत ०१२।६।२८ को रा.का.देवानी अदालतको फैसला ।

      ५.    इन्साफमा चित्त बुझेन भन्ने समेत वादीको पुनरावेदन परेकोमा इन्साफ शुरुको मुनासिव छ भन्ने समेत अपील पहिलाको ०१४।१०।२३।४ को फैसला ।

      ६.    सो इन्साफमा चित्त बुझेन भन्ने समेत वादीको पुनरावेदन ।

      ७.    प्रतिवादी समेत राखी छलफल गर्नुपर्ने हुँदा प्रतिवादी झिकाई आएपछि पेश गर्नु भन्ने समेत ०१९।११।२८।३ को डिभिजन बेञ्चको आदेश ।

      ८.    ज.प्रचन्ड शम्शेर ज.ब.रा.ले वादीलाई लेखेको भनेको ०१०।१।१५ को चिठ्ठी वादीले कुन किसिमबाट हुलाकबाट वा.ज.प्रचण्ड शम्शेरको कुनै मानिस मार्फत प्राप्त गरेको हो ? त्यो स्पष्ट खुल्न नआएको । वादीले ज.प्रचण्ड शम्शेरलाई लेखेको ०१०।१।१० को चिठ्ठीमा वादीको गरगहना सबैको विवरण समेत खोली त्यस्तो सम्पत्ति भएको र हुनसक्ने भन्ने प्रमाण समेतको उल्लेख गरी लेखेको पाइन्छ । कानूनी कदम उठाउने मनसाय राखी प्रमाण सहितको सूचना जस्तो उक्त चिठ्ठीमा आफ्नो दावाको मूल आधार बज्यैले अन्त्य अवस्थामा दिएको भनेको ज.प्रचण्ड शम्शेरले गरी दिएको टिप्पणको उल्लेखसम्म पनि नहुनु आश्चर्यजनक छ । टिपन हराएको कारणले उक्त चिठ्ठीमा नलेखिएको भनौं भने टिप्पण हराएको कुरा त वादी बाहेक अरुलाई थाहा हुने कुरा नभएको । त्यस्तो बलियो प्रमाण हुँदा हुदै त्यस्तो उल्लेखसम्म भएको नदेखिएकोले वादीको दावामा केही तथ्य भएको नदेखिने । उक्त ज.प्रचण्डको ०१०।१।१५ को चिठ्ठी (जुन चिठ्ठीको आधारमा वादीको फिराद परेको छ) मा परेको ज.प्रचण्ड शम्शेरको सहीछाप मलाई प्रतिवादी तर्फबाट जालसाजी किर्तेको संज्ञा दिएकोले सद्दे किर्ते रहेछ भनी आदेशबमोजिम कुमारी चोक उपत्यका पहिलाबाट झिकाई आएको ०६।१०।१२।४ मा र ०६।११।६ मा सुन्दरीजल मेगचिनगद्धी अड्डाका नाउँमा घोडालाई लगाउने नाहारी र तोपका पुर्जाहरू र घोडाको नाल समेत जरुरी तयार गर्ने विषयमा भएको दस्तखत कागजमा गरेको प्रतिवादीको हस्ताक्षरको सही र वादीले पेश गरेको चिठ्ठीको प्रचण्ड भन्ने हस्ताक्षर भिडाउँदा कुमारीचोकबाट आएको कागजको प्रचण्ड भन्ने दस्तखतमा डिको दिएको नदेखिएको । प्रस्तुत मुद्दामा वादीले पेश गरेको चिठ्ठीको प्रचण्ड भन्ने तीनै अक्षरहरूमा एकै डिका दिएको प्रचण्ड भन्ने दस्तखत मन्तिरको धर्कोहरू भिड्दा पनि कुमारीचोकबाट आएको दस्तखतमा बायाँ किनार पट्टिको डिक मुन्तिरको घुमाउने धर्को वादीले पेश गरेको चिठ्ठीको धर्को भन्दा केही बढ्ता गोलाकारको रूपमा घुसेको देखिने । चिठ्ठीको धर्कोभन्दा केही बढ्ता गोलाकारको रूपमा घुसेको देखिने चिठ्ठीको धर्को केही साँघुरिएको देखिने र कुटपिट मुद्दामा प्रतिवादीले गरेको हस्ताक्षरको सही र वादीले पेश गरेको चिठ्ठीको प्रचण्ड भन्ने अक्षरहरू भिडाई हेर्दा, पनि कुटपिट मुद्दामा परेको सहिका प्रत्येक अक्षरहरूमा छुट्टाछुट्टै डिको दिएको चिठ्ठीमा भएको प्रचण्ड भन्ने अक्षरमा भने एउटै डिको दिएको देखिएकोले समेत किर्ते ठहराएको र त्यसैको एकमात्र आधारमा वादीले दावी लिएको समेत पुग्न नसक्ने ठहराएको शुरुको सदर गरेको अपील पहिलाको इन्सफ मनासिव छ । सजायका हकमा किर्तेतर्फको प्रस्तुत मुद्दा किर्ते कागजको १ को परिभाषा भित्र पर्ने भई किर्ते ठडहरेपछि किर्ते कागजका ७ नं. बमोजिम सजाय हुनेमा किर्ते कागजका १३ नं.लगाई जालसाजी ठहरेमा हुने सजाय गरेकोसम्म मनासिव नदेखिएको भन्ने डिभिजन बेञ्चको २०।४।२७।१ को फैसला

      ९.    सो उपर चित्त बुझेन । दोहर्‍याई पाउँ भन्ने वादीको निवेदन परेकोमा न्यायीक समितिबाट यसमा चिठ्ठी किर्ते र नासो धरौट लिएको नठराएको सर्वोच्च अदालतको निर्णय मिलेकै देखिन्छ । दण्ड सजायतर्फ वादी दावीको बिगोमा कानूनबमोजिम लाग्ने कोर्टफीको अतिरिक्त किर्तेतर्फ पनि वादी दावीको बिगोबाट सजाय गरेको देखियो । वादीले उल्लेखित चिठ्ठीलाई आधार लिई उजुर गरेको देखिंदा सद्दे ठहरेको भए सो चिठ्ठीमा लेखिएका सर्तअनुसार किर्ते कागजको ७ नं. ले सोही लिखतका बोली सर्तबाट ठहरेको बिगो कायम गरी सोही बिगोबाट किर्तेतर्फ सजाय हुने देखिएको र सो चिठ्ठीमा सुनका गहनाहरू र हिरा थान ३ चाँदीको करुवा १ मेरो जिम्मा धरौट रहेको ठिक हो । तर सुनको गहनाहरू हाम्रो माल बनाउँदा परेकोले त्यस्तो सोध भर्ना उहिलेको भाउले तोला १ को मोरु.५०। का दरले १८८।८ तोला आठ मासाको लाग्ने रुपैया र तपाईले घरको मोरु.२४००। मध्ये कति लिनु भो कति बाँकी छ ? सो समेत हिसाब गरी १।१।। बर्ष भित्र अवश्यै दिनेछु भन्ने समेत उल्लेख भएकोले सोअनुसार सुनको बिगो सो चिठ्ठी रहेको शर्तअनुसार तोला १ कं रु.५० ले रु.१४४४० र सो चिठ्ठी चाँदी र हिराको दर नखुलेकोले वादी दावीबमोजिम हिरा र चाँदीको रु.१२०२।५० र घरको २४००। समेत जम्मा रु.१८०४२।५० सो चिठ्ठीको बिगो मान्नु पर्ने हुन आएकोले सोही आधारमा किर्ते कागजको ७ नं.का ऐनबमोजिम काम भई नसकेको कुरामा बिगोको आधी रु.९०२२।२५ सजाय हुनुपर्नेमा वादी दावीको बिगोमा लाग्ने कोर्टफीको अतिरिक्त किर्तेतर्फ पनि वादी दावीबमोजिमको बिगो मोरु.४७३८८।९० को वादी रु.२३६९४।४५ सजाय गर्ने गरेको सर्वोच्च अदालतले निर्णय मिलेको देखिएन । दोहर्‍याउन आदेश बक्सनु पर्ने भनी समितिबाट सिफारिश गरेको जाहेर हुँदा श्री ५ महाराजधिराजबाट नेपालको संविधानको धारा ७२ को (ख) अनुसार उक्त मुद्दा दोहर्‍याई दिनु भन्ने हुकुम बक्सेको छ भन्ने मौसुफको प्रमुख सचीवालयबाट लेखी आएको ०२३।९।७।५ को हुकुम प्रमांगी ।

      १०.    बक्स भई आएको हुकुम प्रमांगीबमोजिम गर्ना निमित्त कानूनको रीत पुर्‍याई लगतमा दर्ता गरी मिसिल दुवै पक्ष राखी फुल बेञ्चमा पेश गर्नु र त्यसको अन्तिम निर्णय भएपछि निर्णयको २ दुई प्रतिलिपि जाहेर गर्न श्री ५ महाराजधिराजका प्रमुख सचीवालय राजदरवारमा रजिष्ट्रार अफिस मार्फत पठाई दिनु भन्ने माननीय का.मु.प्रधान न्यायाधीशज्यूबाट भएको ०२३।९।१४।५ को आदेश ।

      ११.    चिठ्ठी किर्ते र नासो धरौट लिएको नठहराएको सर्वोच्च अदालतको निर्णय मिलेकै देखिन्छ । दण्ड सजायतर्फ वादी दावीको बिगोमा कानूनबमोजिम लाग्ने कोर्टफीको अतिरिक्त किर्तेतर्फ पनि वादी दावीको बिगोबाट सजाय गरेको देखियो । वादीले उल्लेखित चिठ्ठीलाई आधार लिई उजुर गरेको देखिँदा सद्दे ठहरेको भए किर्ते कागजका ७ नं. ले सोहि लिखतका बोली शर्तबाट ठहरेको बिगो कायम गरी सोहि बिगोबाट काम भई नसकेको हुँदा रु.९०२२।२५ सजाय हुन पर्नेमा वादी दाबीबमोजिमको बिगोका आधारमा रु.२३९९४।४५ सजाय गर्ने गरेको सर्वोच्च अदालतको निर्णय मिलेको देखिएन । दोहर्‍याउने आदेश बक्सनु पर्ने भनी समितिबाट जाहेर गरेको जाहेर हुँदा श्री ५ महाराजाधिराजबाट नेपालको संविधानको धारा ७२ को (ख) अनुसार उक्त मुद्दा दोहर्‍याई दिनु भन्ने हुकुम बक्सेको छ भनी मौसुफका प्रमुख सचीवालयबाट लेखी आएकोमा यस्तो मुद्दाको आंसिक रूपमा दोहर्‍याई हेर्ने वा सम्पूर्ण मुद्दा नै दोहर्‍याई हेर्ने के स्थिति भईरहेको छ ? सो सम्बन्धमा भएको फुल बेञ्चको केही निर्र्णयहरू हेर्नु आवश्यक परेकोले सो सड्ढलन गरी साथै पेश गर्नु भन्ने फुल बेञ्चबाट भएको ०२४।७।१४।३ को आदेश ।

      १२.   यसमा तारेखमा रहेका दुवै पक्षका वारेस रोहवरमा रही ०२४।११।२५।५।६ मा पेश भई निवेदक, वादी तर्फबाट विद्वान अधिवक्ता श्री कृष्णप्रसाद धिमिरेले र प्रतिवादी तर्फबाट विद्वान अधिवक्ता श्री दिनेशमान प्रधानले गर्नु भएको बहस समेत सुनी आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा मेरो बज्यैसँग लिएको सुन समेतको, प्रतिवादीले आफ्नै हस्ताक्षरले लेखी दिएको रिपोट बज्यैले मलाई दिनु भएको हराए तापनि उहाँले ०१०।१।१५ मा आफ्नै दस्तखत गरी पठाउनु भएको चिठ्ठी म सँग महजुदैछ भनी मुख्यतः सो चिठ्ठी कै आधारमा वादीले प्रतिवादी सँग रु.४७३८८।९० भराई पाउँ भन्ने दावा लिएको रहेछ ।

      १३.   प्रमाण पेश भईराखेको सो १०।१।१५।२ को चिठ्ठी हेर्दा, सुनको गहनाहरू र हिरा थान ३ चाँदीको करुवा १ समेत मेरो जिम्मा धरौटी रहेको ठिक हो । तर सो सुनको गहनाहरू हाम्रो माल बनाएँदा परेकोले त्यसको सोध भर्ना उहिलेको भाउले तोला १ को मोरु ५० का दरले २८८ तोला ८ मासाको लाग्ने रुपैयाँ र तपाईंको घरको मोरु २४०० मध्ये कति लिनु भयो ? कति बाँकी छ ? सो समेत हिसाब गरी ११।। वर्ष भित्र अवश्यै दिनेछु भन्ने समेत व्यहोरा लेखिएको देखिन आयो ।

      १४.   सो चिठ्ठी प्रतिवादीले लेखी पठाएको सद्दे नै भएको खण्डमा पनि त्यसको आधारमा वादी दावीबमोजिम रुपैया भरी पाउन सक्ने भए मात्र ऐनले प्रमाणमा लिन मिल्ने हुनाले त्यसतर्फ हेरेमा उपरोक्त उल्लेख भएअनुसार हिसाब गरी रुपैयाँ दिने बोली समेत बोली परेकोबाट तत्काल प्रचलित नासो धरौटको १ नं. बमोजिम नासो धरौटको लिखत सरह मान्न नहुने र यो यति रुपैयाँ दिउँला भन्ने अङ्क किटान नभएकोले ऐनबमोजिम रीत पुगेको लेनदेन व्यवहारको लिखत सरह कायम हुन पनि नसक्ने । हरहिसाब देखाई यति बाँकी हो भनी वादीले नखुलाएको र सो चिठ्ठीमा यति लिन बाँकी भन्ने नलेखिएकोले रुपैयाँ भरी पाउन सक्ने नहुँदा सो चिठ्ठी ऐनले प्रमाण लिन मिल्ने देखिन आएन ।

      १५.   अतः उपरोक्त उल्लेख भएबमोजिम ऐनले प्रमाणमा लिन नमिल्ने भएपछि सो चिठ्ठी सद्दे किर्ते छुट्याई रहनु समेत नपर्ने हुँदा सद्दे किर्तेतर्फ विचार गरी रहनु परेन । सो चिठ्ठी सद्दे किर्तेमा सुनाउनै नपर्ने सुनाई तहकिकात गरेको समेत शुरु रा.का.दे.दो.र अपील पहिलाको सदर गरी ०२०।५।२०।१ को डिभिजन बेञ्चले छिनेको मिलेको देखिएन । वादी दावी पुग्न नसक्ने ठहराइ डिभिजन बेञ्चले सदर गरेको हकमा वादीले भराई पाउँ भनी प्रमाण दिएको लिखतबाट भरी पाउन नसक्ने हुँदा इन्साफ मुनासिव देखियो । झुठ्ठा दावी गरेमा डिभिजन बेञ्च समेतको फैसलाले लिनेगरी राखेको कोर्टफीका हकमा कायमै हुन्छ । अरु तपसीलबमोजिम गर्नु ।

 

तपसील

वादी कृष्णबहादुर श्रेष्ठके ०२०।४।२७।१ को डिभिजन बेञ्चका फैसलाले लाग्ने ठहराएको जम्मा रु. २९२१७।२२ मध्ये किर्तेतर्फ गर्ने गरेको शुरु र पुनरावेदन गरे वापत समेतको जम्मा दण्ड रु.२७२४८।६१ नलाग्ने हुँदा कानूनको रीत पुर्‍याई लगत कट्टा गरी दिनु भनी का.श्रे.अ.त.मा लगत दिनु …………………१

ऐ ऐ के मुद्दा दोहर्‍याएमा शुरु कोर्टफी रु. १७२१।४० को कोर्टफी ऐन १७ दफा १९ (२) बमोजिम सयकडा १० ले रु. १७२।१४ कोर्टफी लाग्छ वारेस हुँदा असुल गर्न का.श्रे.अ.त.मा लगत दिनु ……………………२

रा.का.दे.दो.को.हा.ना.सु.गुणनाथ पाध्या अपील पहिलाका का.मु.हा.अ.ख.राम गोपाल श्रेष्ठ हाल नोकरीमा बहाल नहुँदा केही उल्टीमा केही गर्नु परेन ……………………३

नियमबमोजिम मिसिल बुझाई दिनु ……………………४

 

इति सम्वत् २०२४ साल चैत्र ९ गते रोज ६ शुभम् ।