निर्णय नं. ४०१ – करकाप
निर्णय नं. ४०१ ने.का.प. २०२५ फुल बेञ्च न्यायाधीश श्री रत्नबहादुर बिष्ट न्यायाधीश श्री हेरम्बराज न्यायाधीश श्री रंगनाथ उप्रेती २०२४ सालको दे.फु.नं. ३२ निवेदक : हरिदेव...
निर्णय नं. ४०१ ने.का.प. २०२५
फुल बेञ्च
न्यायाधीश श्री रत्नबहादुर बिष्ट
न्यायाधीश श्री हेरम्बराज
न्यायाधीश श्री रंगनाथ उप्रेती
२०२४ सालको दे.फु.नं. ३२
निवेदक : हरिदेव राउत भुमिहार समेत
विरुद्ध
प्रतिवादी : रामरतन साहु तेली
मुद्दा : करकाप
(१) आफ्नै हस्ताक्षरको सही भएको र साक्षीको बकपत्रबाट समेत जवरजस्ती कागज गराएको भन्ने नदेखिए–करकाप गरेको नठहर्ने ।
करकाप गरेको भनेको लिखितमा असामिकै हस्ताक्षरको समेत सही भएको र जग्गाको कित्ता नं. समेत खुलाई लेखेको । बजारबाट हरिदेवलाई लगेको भनी बकपत्र गरेकोमा जवरजस्तीसँग कागज गराएको थियो भनी थाहा पाउने साक्षीको बकपत्र देखिएन । आजै फैसला भएको लोचनको र हरदेवको लिखत पास मुद्दामा पेश भएको विभिन्न टाँका मसिको लिखतलाई समेत करकाप भनी उजुर गरी वादीले आफ्नो जिकीर जस्तो बखत पर्यो उस्तै गर्ने गरेको देखिएकोले समेत करकाप नठहराई सही ठर्याएको इन्साफ मनासिव छ ।
(प्रकरण नं. १६)
निवेदक तर्फबाट : अधिवक्ता लवदेव भट्ट
फैसला
१. २०१७ साल आश्विन १५ गते ६ का दिन पेठीया गर्न मटिहानी गएको प्र.रामरतनले देखी मलाई आफ्ना घर भित्र लगी कोठामा बन्द गरी आफू बाहिर गई १ घण्टा बाद आए । प्रतिवादी साथ लिई आई ५ जना प्रतिवादीको थरी भित्र पसि ४ वटा नमालुम के लेखेको नेपाली कागजमा सिर पुछारमा कागज पिच्छे २ ठाँउमा सहीछाप र दायाँ बायाँ बुढी औंलाको सहीछाप रामरतन, प्रभुलालले गराई लिई छाडिदिएको । मेरो बाजे बाबु जीवित छँदै मबाट कागज गराएको सही नहुनाले करकापबाट गराई लिएको कागज बदर गरी सजायँ गरी पाउँ भन्ने समेत वादी ।
२. वादीमा लेखेको कुरा हामीलाई थाहा छैन । कुनै कागजमा हामी साक्षी बसेको पनि छैन । वादीलाई चिने जानेको पनि छैन भन्ने समेत पुरत मियाँ, रसुल मियाँको प्रतिवादी ।
३. वादीलाई थुनी करकापबाट कागज गराई लिएको छैन । ०१६ साल आश्विन २३ गते वादीले मबाट भा.रु.१२५।– लिई ।३।। जग्गा राजीनामा गरी दिएकोमा वादीको सगोलको बाबु जयनन्दन साक्षी राखी व्यवहार भएको लिखित मसँग छ । करकापबाट गराएको छैन भन्ने समेत प्र.रामरतनको प्रतिवादी ।
४. वादीले दाबीबमोजिमको नै कुरा गरेको छैन भन्ने समेत सिताराम मैथिलको प्रतिउत्तरपत्र ।
५. वादीको दावाबमोजिम करकापबाट कागज गराएको नहुँदा वादी लेखाई झुठ्ठा हो । ०१६।६।२३ का दिन वादी र वादीको बाबु जयनन्दन समेत आई रामरतनबाट रु.१२५।– लिई जग्गा राजीनामा गरी दिएकोमा वादीको बाबुुु समेत साक्षी बसेको छ । मैले पनि सहीछाप गरेको हुँ भन्ने समेत प्रमुलालको प्रतिउत्तर ।
६. लिखत मैले सुनें । सो ले त मेरो नालेस मध्येको मलाई करकापसँग गराए मध्येको कागज हो । सो कागजमा अघिल्लो मिति पारी लेखाएको व्यहोराको कागज बनाई पेश गरेको हो । बाबु जयनन्दनको सहीछाप किर्ते हो भन्ने समेत हरिदेवको बयान ।
७. खुशीराजीले गरेको लिखत हो । जयनन्दनको सहीछाप किर्ते होईन भन्ने समेत रामरतनको बयान ।
८. सक्कल लिखत देखें । मेरो नाउँ लेखेको ठाउँमा लागेको सहीछाप मेरो होईन । किर्ते हो । मेरो बाबु जीवितै हुँदा बाबुबाजे छँदै मेरो छोराले व्यवहार गर्न हकै नपुग्ने भन्ने समेत जयनन्दनको बयान ।
९. राजीखुशीले हरिदेवले सहीछाप गरेको हो । निजको बाबुको सहीछाप पनि मेरै सामुन्ने गरेको साँचो हो भन्ने समेत जितनको बयान ।
१०. साहुकै घरमा बसी हरिदेव ऋणीमा र बाबु फडके साक्षी बसी भा.रु.१२५।– लेनदेन भई राजीनामा लेखिएको हुन् । करकाप किर्ते भन्ने झुट्टा हो भन्ने समेत प्रभुलालको बयान ।
११. ०१६।६।२३।६ को भा.रु.१२५।– को लिखत करकापसँग गराएको हो भन्ने बयान गरेको देखिएको । सो लिखत बाबु जयनन्दन साक्षी बसेको भई बाबु जयनन्दन बुझेमा मेरो सहीछाप किर्ते हो भन्ने बयान गरेको । सही भिडाउँदा मिल्न आएको समेत देखिएको । साक्षी मिसिल परिबन्दबाट समेत जयनन्दनको सहीछाप किर्ते नभई सद्दे भएकोले किर्ते भन्ने जयनन्दाको र करकाप भन्ने वादीको दावी झुट्टा ठहर्छ भन्ने समेत जलेश्वर इलाका अदालतको ०१८।८।२६।२ को फैसला ।
१२. जयनन्दनको सही किर्ते नठहरिएको र कागज करकाप नठहराएकोमा चित्त बुझेन भन्ने समेत जयनन्दन हरिदेवको पुनरावेदन ।
१३. रामरतन साहुले यस मुद्दामा पेश गरको भा.रु.१२५।– को लिखत वादीको बाबुको जयनन्दन साक्षी बसी सहीछाप गरेको देखिएको । सो सहीछापलाई किर्ते भने पनि सो सहीछाप भिडाउँदा मिल्दो जुल्दो नै देखिएकोले सो लिखतको हकमा करकाप नठहर्ने । अब लोचन साहुले पास मुद्दामा पेश गरेका भा.रु.५०१।– को लिखतको हकमा दुवै लिखतमा एउटै जग्गा राजीनामा लेखिएको अघिको भा.रु.१२५।– को लिखतमा असामी हरिदेवको उमेर १५ वर्ष लेखी बाबु साक्षी बसेको ०१७ सालको भा.रु.५०१।– को राजीनामा हरिदेव उमेर २२ लेखिएको देखिएको । सो राजीनामा सही साँचो व्यवहारको भए घरमा वादीको बाबु छँदै बाबुको नाउँबाट आफ्ना नाउँमा दर्ता सरेको जग्गा बाबुको मञ्जुर बेगर जानी जानी दोहरा पारी खुशी राजीसँग लिखत गरी दियो होला भन्ने कुरा पत्यार नदेखिएकोले समेत प्रमाणबाट रामरतनले आफ्नो लिखत कपाली भईसकेकोले सो जग्गै हात पार्नालाई थैलीको अंक समेत बढी राखी लोचन साहु खडा गरी सिताराम पुरन रसुल रामरतन समेत भई हरिदेवबाट ०१७।१।५।१ को राजीनामा करकापबाट सहीछाप गराई लिएको ठहर्छ भन्ने समेत महोत्तरी जिल्ला अदालत ०२०।६।१७।१ को फैसला ।
१४. जयनन्दनको अक्षर मिलाई लिखतमा लेखेको सद्दे ठहराई रु.१२५।– को लिखत सद्दे ठहर्छ भन्ने फैसला अनुचितै ठहरेकोले जि.अ.को फैसला गल्ती ठहरिने भन्ने समेत हरिदेव, जयनन्दनको पुनरावेदन । करकाप गरेको ठहर्छ भनी विलकुल मिसिलबाट बाहिरको निराधार विचार बूँदाहरू लेखी इन्साफ गर्नु भएकोले जि.अ.को इन्साफ उल्टाई सफाई पाउँ भन्ने समेत रामरतनको पुनरावेदन ।
१५. प्रतिवादी तर्फबाट पेश भएको भा.रु.१२५।– को राजीनामामा वादीको बाबु जयनन्दन समेत साक्षी बसेको र लिखतका अरु साक्षी जितन ठाकुर र प्रभुलालले समेत उक्त राजीनामा सद्दे हो भनेको र वादीका बाबु जयनन्दनको सहीछाप निजले गरेको ०१८।५।१८।१ को बयानमा लेखेको हस्ताक्षरको सहीछापसँग मिल्न आएकोले समेत सो कागज समेत करकाप गरेको भनेको दिन करकापसँग गराएको नदेखिएकोले सो कागजतर्फ करकाप नठहराएकोसम्म शुरुको सदर गरेको जि.अ.महोत्तरीको इन्साफ मनासिव ठहर्छ । भा.रु.५०१।। को लिखत सम्बन्धमा मुद्दा पर्ने अगावै गरेको यस मुद्दाको वादी प्रतिवादी र बयानमा समेत उल्लेख नभएको उक्त ५०१।– को लिखत विषय यस मुद्दाको फैसलामा ठहर गरी त्यस लिखतका सम्बन्धमा करकाप गर्ने भनेका रसुल मियाँ र धुरन मियाँलाई सजाय समेत गरेको लिखत पास मुद्दामा लेख्नु ठहर गर्नुपर्ने कुरा यस मुद्दामा लेखेको ठहराएको जिल्ला अदालतले नमिलाएका समेत ठहर्छ भन्ने डिभिजन बेञ्चको ०२१।४।२२ को फैसला ।
१६. यसमा दुवै पक्षको वारेस रोहवरमा राखी ०२४।७।२८ मा पेश भई निवेदन तर्फबाट रहनु भएको विद्वान अभिवक्ता लवदेव भट्टको बहस सुनी निर्णय सुनाउने आजको तारेख तोकिएको प्रस्तुत मुद्दामा करकाप गरेको भनेको लिखतमा असामीकै हस्ताक्षरको समेत सही भएको र जग्गाको कित्ता नं. समेत खुलाई लेखेको । बजारबाट हरिदेवलाई लगेको भनी बकपत्र गरेकोमा जबरजस्तीसँग कागज गराएको थियो भनी थाहा पाउने साक्षीको बकपत्र देखिएन । आजै फैसला भएको लोचनको र हरिदेवको लिखत पास मुद्दामा पेश भएको विभिन्न टाँका मसीको लिखतलाई समेत करकाप भनी उजुर गरी वादीले आफ्नो जिकीर जस्तो बखत पर्यो, उस्तै गर्ने गरेको देखिएकोले समेत करकाप नठहराई सद्दे ठहर्याएको इन्साफ मनासीव छ । श्री ५ महाराजाधिराज सरकारका जूनाफमा जाहेर गर्न यो निर्णयको २ प्रतिलिपि जनरल विभागमा पठाई नियमबमोजिम मिसिल बुझाइदिनु ।
इति सम्वत् २०२४ साल मार्ग ५ गते रोज ३ शुभम् ।