निर्णय नं. ३९९ – हरहिसाब
निर्णय नं. ३९९ ने.का.प. २०२५ फुल बेञ्च न्यायाधीश श्री रत्नबहादुर बिष्ट न्यायाधीश श्री मीनबहादुर थापा क्षेत्री न्यायाधीश श्री बब्बरप्रसाद सिंह २०२४ सालको दे.फु.नं. ५५ पुनरावेदक...
निर्णय नं. ३९९ ने.का.प. २०२५
फुल बेञ्च
न्यायाधीश श्री रत्नबहादुर बिष्ट
न्यायाधीश श्री मीनबहादुर थापा क्षेत्री
न्यायाधीश श्री बब्बरप्रसाद सिंह
२०२४ सालको दे.फु.नं. ५५
पुनरावेदक : भगवतीप्रसाद उपाध्याय
विरुद्ध
विपक्षी : प्रतापविक्रम शाह समेत
मुद्दा : हरहिसाब
(१) कबुलियत कागज लेख्दा वतन नलेखेको, प्रतिवादीले सो कागज फलाना ठाउँमा लेखिएको भन्ने प्रमाण जनाउन नसकेको, वादीले प्रतिवादीको वतन लेखी राखेको देखिएमा कबुलियत सोहि बतन ठेगानामा लेखिएको मान्नु पर्ने ।
मजकुर साहेबको घरको पहिलो तलाको दक्षिण पट्टिको बैठकमा बसी लेखेको भन्नेसम्म लेखिएको । कहाँको घर हो ? सो प्रतिवादीहरूको वतन सो कागजमा खुलाएको नदेखिएको भए पनि प्रतिवादीहरूको जग्गा भएको मोरङ जिल्ला भई सो कागज लेखिएको हो भन्ने वादी पक्षले नै जिकीर लिन, प्रमाण दिन नसकेको र प्रस्तुत मुद्दाकै फिरादपत्रमा स्वयं वादीले नै प्रतिवादीहरूको घर का.ई.ज्ञानेश्वर लेखी राखेको समेत देखिएकोले उक्त ठेक कबुलियत प्रतिवादीहरूको का.ई.ज्ञानेश्वरकै घर बैठकमा बसी लेखिएको मान्नु पर्ने हुन आउँछ ।
(प्रकरण नं. ७)
(२) कबुलियत लेखिएको र प्रतिवादी रहे बसेको इलाका एकै देखिएमा सो इलाकाको अदालतमा मुद्दा दायर हुने नै ।
अतः उक्त ०६।४।३० को ठेक कबुलियत लेखिएको र प्रतिवादीहरू रहे बसेको ईलाका समेत काठमाडौ नै भए पछि अ.ब.२९ नं को देहाय २ दफाबमोजिम प्रस्तुत मुद्दा काठमाडौ जिल्ला अदालतबाटै हेर्नु पर्ने प्रष्टै हुँदा काठमाडौं जिल्ला अदालतबाट हेनुपर्ने भनी ०२४।५।२६।२ को डिभिजन बेञ्चको मा.न्या.श्री राजा ईश्वरी जंगबहादुर सिंहले व्यक्त गर्नु भएको रायसँग यो बेञ्च सहमत हुन्छ ।
(प्रकरण नं. ८)
पुनरावेदक तर्फबाट : अधिवक्ता श्री नन्दीकेशर
विपक्षी तर्फबाट : अधिवक्ता श्री ठाकुरप्रसाद खरेल
फैसला
१. प्रतिवादीको जग्गा जिम्दारी भएको मौजा ०६ साल देखि मैले ठेक्कामा लिएको । ठेक्का भुक्तान नहुँदै बीचमा तोडी मेरो निजी धनमाल लुटपीट गरेमा र ठेक्कातर्फको हरहिसाब बारेमा ०१० सालमा उजुर गरेकोमा शुरुबाट मैले जितेको अपीलबाट खारेज गरी दिएकोमा पनि दिलाई पाउँ भन्ने किटानी दावी नभएकोले किटानी दावी गरी नालेस गर्नु भन्ने डिभिजन बेञ्चको निर्णयबमोजिम नालेस गर्न आएको छु । बिगो रु.४३१८।४।२५ विपक्षीहरूबाट दिलाई पाउँ भन्ने समेत तत्कालीन जिल्ला अदालत धरानमा ०२०।६।६ मा दर्ता भएको फिरादपत्र ।
२. डिभिजन बेञ्चको ०२०।३।१८ को फैसलाको आधारले यस अदालतमा दायर भएकोमा सो फैसलामा उल्लेख भएको धरान जिल्ला अदालतबाट हेर्ने भन्ने वाक्यलाई मिलेको देखिएन भनी फुल बेञ्चबाट निर्णय भएको देखिनाले यो मुद्दा यस अदालतबाट कारवाही र तहकिकात गर्न नपर्ने हुँदा प्रतिवादीका नाउँमा म्याद तामेल गर्न समेत नपरी खारेज गरी दिने ठहर्छ भन्ने समेत कोशी अञ्चल अदालतको ०२२।८।२५।६ को फैसला ।
३. अ.बं.२९ नं.अनुसार गर्न पर्नेमा प्रतिवादी नपर्दै खारेज गरी दिएकोले चित्त बुझेन भन्ने समेत वादीको पुनरावेदन ।
४. यिनै वादी प्रतिवादीहरूको बुझबुझारथ मुद्दामा भएको डिभिजन बेञ्चको फैसलाबमोजिम धरान जिल्ला अदालतमा फिराद दर्ता भएको देखिएको र पछी उक्त मुद्धा दोहोरिदा फुल बेञ्चबाट भएको फैसलाबमोजिम यो मुद्दा सो अदालतले हेर्न नमिल्ने भए पनि अ.बं.२९ नं.२ दफाअनुसार जुन जिल्ला अदालतले हेर्न पाउने हो, उसै अदालतमा मिसिल पठाई दिनु पर्नेमा फिरादै खारेज गर्ने गरेको कोशी अं.अ.को फैसला मिलेको नदेखिँदा अ.बं.२०२ नं. बमोजिम प्र्रतिवादीलाई छलफलमा झिकाई पेश गर्नु भने ०२४।१।१२।३ को डिभिजन बेञ्चको आदेश ।
५. अ.बं.३९ बमोजिम जुन जिल्ला अदालतले हेर्न पाउने हो, उसै अदालतमा मिसिल पठाईदिनु पर्नेमा खारेज गर्ने गरेको कोशी अं.अ.को इन्साफ मिलेको देखिएन । वादीले प्रतिवादीहरूलाई गरी दिएको ०६।४।३० को ठेक्का कबुलियत हेर्दा, मजकुर साहेबका घरको पहिला तलाको दक्षिण पट्टिको बैठकमा बसी लेखेको भन्नेसम्म लेखिएको । जिल्ला खुलाएको र सो लिखतमा प्रतिवादीहरूको वतन खुलेको समेत नदेखिएको । अरु कागज प्रमाणबाट प्रतिवादी रहे बसेको काठमाडौ जिल्ला ज्ञानेश्वर देखिए पनि लिखत काठमाडौंमा नै भएको भन्न नमिल्ने र उक्त कबुलियतबाट जग्गा मोरङ जिल्लाको देखिएकोले जग्गा भएको ठाउँ मोरङ जिल्लामा पनि लिखत हुनसक्ने र यस अघिको मुद्दा पनि विराटनगर जि.अ.बाट कारवाही किनार भएको देखिएको हुनाले अ.बं.२९ नं.२ दफाबमोजिम प्रस्तुत मुद्दा मोरङ जि.अ.बाट हेर्नुपर्ने ठहर्छ । का.जि.अ.बाट हेर्नुपर्ने ठहराउनु भएको सहयोगी मा.न्या.श्री राजा ईश्वरी जंगबहादुर सिंहज्यूको रायमा सहमत नहुँदा नियमबमोजिम फुल बेञ्चमा पेश गर्नु भन्ने मा.न्या.श्री नयनबहादुरको राय र अरु कुरामा सहयोगी न्यायाधीशज्यूको रायमा सहमत भएको र मुद्दा कुन जि.अ.बाट हेर्नुपर्ने हो भन्ने हकलाई ०६।४।३ को कबुलियत नक्कल हेर्दा, प्रतिवादीको वतन नलेखिएको भए पनि वादीले फिरादपत्रमा प्रतिवादीको घर काठमाडौं जिल्ला ज्ञानेश्वर भनी लेखेको र सो कुरालाई प्रतिवादीहरूले पनि स्वीकारै गरेको देखिएको । उक्त कबुलियतमा मुकाम मजकुर साहेवका घरको पहिला तलाको दक्षिण पट्टिको बैठकमा बसी लेखेको भन्ने देखिएबाट काठमाडौ जिल्लामा लिखत भएको र प्रतिवादीहरू पनि सोही जिल्लामा रहे बसेको देखिएकोले अ.बं.२९ नं २ दफाअनुसार काठमाडौ जि.अ.बाट हेर्नुपर्ने देखिन्छ । यसै सम्बधको एउटा मुद्दा स.अ.मा दायर भईरहेको र प्रस्तुत मुुद्दा जि.अ.मा पठाउँदा झगडियाहरूलाई असुविधा देखिएको र न्याय (विविध व्यवस्था) ऐन, २०१८ को दफा ५ को (क) बमोजिम अञ्चल अदालतबाट हेराउँदा पक्षहरूलाई सुविधा हुने पनि देखिन आउँछ । का.जी.अ.बाट हेर्न नमिल्ने भन्ने कुरामा सहयोगी मा.न्या.श्री.नयनबहादुरज्यूसँग राय सहमत नहुँदा नियमबमोजिम फुल बेञ्चमा पेश गर्नु भन्ने मा.न्या.राजा इश्वरी जंगबहादुर सिंहज्यूको राय भएको ०२४।५।२६।३ को डिभिजन बेञ्चको फैसला ।
६. यसमा तारेखमा रहेका दुवै पक्षका वारेस रोहवरमा रही पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी तर्फबाट विद्वान अधिवक्ता श्री नन्दकेशरले र प्रतिवादी तर्फबाट विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेलले गर्नु भएको बहस समेत सुनियो । यो मुद्दा मोरङ जिल्ला अदालत वा काठमाडौं जिल्ला अदालत कहाँबाट हेरिने हो ? भन्नेसम्म कुरा ०२४।५।२६।३ को डिभिजन बेञ्चका माननीय न्यायाधीशहरूको राय सहमत हुन नसकी बेञ्चमा पेश हुन आएको देखिएकोले त्यतिसम्म कुराको यस बेञ्चबाट निर्णय दिनु पर्ने भएको छ ।
७. मिसिल सामेल पेश भईराखेको वादीले प्रतिवादीहरूलाई गरी दिएको भन्ने ०६।४।३० को ठेक्का कबुलियत नक्कल हेर्दा, मजबुर साहेवको घरको पहिला तलाको दक्षिण पट्टिको बैठकमा बसी लेखेको भन्नेसम्म लेखिएको । कहाँको घर हो ? सो प्रतिवादीहरूको वतन सो कागजमा खुलाएको नदेखिएको भए पनि प्रतिवादीहरूको जग्गा भएको मोरङ जिल्ला भई सो कागज लेखिएको हो भन्ने वादी पक्षले नै जिकीर लिन, प्रमाण दिन नसकेका र प्रस्तुत मुद्दाकै फिरादपत्रमा स्वयं वादीले नै प्रतिवादीहरूको घर का.ई.ज्ञानेश्वर लेखी राखेको समेत देखिएको । उक्त ठेक कबुलियत प्रतिवादीहरूको का.ई.ज्ञानेश्वरकै घर बैठकमा बसी लेखिएको मान्नु पर्ने हुन आउँछ ।
८. अतः उक्त ०६।४।३० को ठेक कबुलियत लेखिएको र प्रतिवादीहरू रहे बसेको ईलाका समेत काठमाडौं नै भए पछि अ.बं.२९ नं.को देहाय २ दफाबमोजिम प्रस्तुत मुद्दा काठमाडौं जिल्ला अदालतबाटै हेर्नु पर्ने प्रष्टै हुँदा काठमाडौं जिल्ला अदालतबाट हेर्नु पर्ने भनी ०२४।५।२६।२ को डिभिजन बेञ्चको मा.न्या.श्री राजा ईश्वरी जंगबहादुर सिंहले व्यक्त गर्नु भएको रायसँग यो बेञ्च सहमत हुन्छ । पक्षलाई काठमाडौं जिल्ला अदालतमा हाजिर हुन जानु भन्ने तारेख तोकी कानूनबमोजिम कारवाही किनारा गर्न शुरु मिसिल उक्त काठमाडौं जिल्ला अदालतमा पठाई नियमबमोजिम रेकर्ड मिसिल बुझाई दिनु ।
ईति सम्वत् २०२४ साल मार्ग १८ गते रोज ३ शुभम् ।