निर्णय नं. ३९६ – लेनदेन
निर्णय नं. ३९६ ने.का.प. २०२५ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री वाशुदेव शर्मा न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह न्यायाधीश...
निर्णय नं. ३९६ ने.का.प. २०२५
फुल बेञ्च
प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह
न्यायाधीश श्री नयनबहादुर खत्री
न्यायाधीश श्री वाशुदेव शर्मा
न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
न्यायाधीश श्री रंगनाथ उप्रेती
२०२३ सालको दे.फु.नं. ६६
निवेदक : कुमारराज खत्री क्षेत्री
विरुद्ध
रेस्पोण्डेण्ट : प्रेमराज शर्मा
मुद्दा : लेनदेन
(१) दण्ड सजायको २६ नं.– धन खाने १२ वर्ष देखि माथिका मानु नछुट्टी संग बसेका वा धन खाँदा संग बसेको पछि भिन्न हुनेको अंश समेतबाट भराई दिनु पर्ने ।
हालको दण्ड सजायको २६ नं. मा त्यो धन खाने १२ वर्ष देखि माथिका ऐनबमोजिम मानु नछुट्टि संगै बसेका वा त्यो धन खाँदा संगै बसेका पछि भिन्न हुनेको अंश समेतबाट भराई दिनु पर्ने व्यवस्था भएको र सो ऋण आफूले बेहोर्नु नपर्ने कानूनबमोजिमको त्यस्तो कुनै लिखत सबुद दिन वा त्यस्तो अवस्था भएको देखाउन समेत निज दुर्गाकुमारीले नसकेकीले उक्त जिकीरसम्मबाट फुर्सद पाउन नसक्ने समेत हुँदा वादी दावीको धन खाँदा लोग्ने ख.हेमराजको संगमा बसेकी अंशियार निज दुर्गाकुमारी समेतले उक्त दण्ड सजायको २६ नं. बमोजिम सो ऋण तिर्नु बेहोर्नु पर्ने प्रष्टै छ ।
फैसला
१. अन्यायीको बाबु हेमराजले मसँग ०५।८।२३ मा रु.२३०१। कर्जा लिएको ०५।१२।२९ मा रु.७००। बुझाई बाँकी रु.१६०१। मा नरराजबाट राजीनामा लिएको माटो मुरी ।२० र हेमराजबाट राजीनामा लिएको माटो मुरी ।२० निजैको खेत मुरी ।५० समेत ०६।१।१७ मा दृष्टि पास गरी दिएकोमा ०६।१२ मा रु.६००। बुझाएको । अरु नबुझाएकोले नालेस दिएको र हेमराजको पनि नालेस परेकोमा थैली कपाली ठहरी डिभिजन बेञ्चबाट १३।३।३० मा फैसला भएकोले दे.पै.को मुद्दा कपालीमा नालेस परेको बखत ठहरेबमोजिम हुने भनी ०१७।३।३२ मा म.उ.अ.बाट फैसला भएकोले साँवा रु.१००१। र को व्याज समेत दोव्वर रु. २००२। भराई पाउँ भन्ने वादी ।
२. भएको जग्गा जमिन बाबुले नै बिक्री गरी सकेको बाँकी रहेको सौतेनी आमाले लिएकोले मेरो केही नभएको र अंशियार समेतका नाउँमा नालेस गर्नुपर्ने, नगरेकोले खारेज हुने हो । ऋण तिर्न समेत मेरो मञ्जुर नहुँदा वादीबाट फुर्सद पाउँ भन्ने समेत प्रतिवादी ।
३. वादीको थैली कपाली भई डिभिजन बेञ्चबाट ०१३।३।३० मा फैसला भएको । ०१७ साल भाद्रमा मात्र यो नालेस परेकोले साहु असामीको २ नं.को म्याद १० वर्ष नाघेपछिको यो उजुर हुँदा खारेज हुने ठहरेको भन्न समेत का.दे.ई.अ.को १८।१२।७।३ को फैसला ।
४. १० वर्षसम्म असामीको मोलाहीजामा बसेको नभई ०६।१२।१६ गते रु.६००। बुझेको मितिले ऐनका म्याद भित्र दिए साँवा व्याज भराई पाउँ । नदिए जग्गा चलन चलाई पाउँ भन्ने नालेस परेको । आखिरी म.अ.बाट दृष्टिमा दावा नपुग्ने कपालीमा नालेस परेमा ठहरेबमोजिम गर्ने भनी १७।३।३२ मा फैसला भएबमोजिम कपालीमा नालेस गरेको भएपछि म्याद नाघेको भनी खारेज हुन नसक्ने हुँदा चित्त बुझेन भन्ने समेत वादीको पुनरावेदन ।
५. साँवा व्याज भराइ पाउँ भन्ने वादीको नालेस म्याद भित्र ०९।१।१६ मै परी सकेकोमा वादी उपर प्रतिवादीको बाबु ख.हेमराजले सोही वादीको लिखतमा कट्टी गरी पाउँ भनिदिएको नालेसमा रु.१६०१। को दृष्टि तमसुक मध्ये प्र.बाट आएको रु.६००। कट्टी गरी बाँकी रु.१००१। कपाली भराइ पाउँ भनी नालेस गरेको मुद्दाबाट ठहरेबमोजिम हुने भन्ने १३।३।३० मा डिभिजन बेञ्चबाट भएको फैसलामा संकेत भएको देखिनाले समेत ०९ सालमा दावी गरेको मुद्दाबाटै साँवा व्याज भराइ दिन कुनै बाधा नदेखिनेमा त्यस मुद्दाबाट कपालीमा दावी गर्नु भनी सुनाई दिनु भन्ने भए पनि लेखिएबमोजिम ०९ सालमै साँवा व्याज दावी गरी नालेस दर्ता गरी सकेकोमा म्याद नाघेको भन्न नहुने हुँदा खारेज गरेको देवानीको गल्ती र साँवा व्याज गरी जम्मा रु.२००२। वादीले प्रतिवादीबाट भराई पाउने ठहर्छ भन्ने का.जि.अ.दोश्राको २०।१।३१।३ को फैसला ।
६. सम्पत्ति खान ऋण तिर्न पनि कर नलागोस् भने पछि लेनदेन व्यवहारको २२ नं. ले ऋण तिर्न कर नलाग्ने र हद नाघे पछिको उजुर भएको समेत हुनाले खारेज हुनु पर्ने हुँदा इन्साफमा चित्त बुझेन भन्ने समेत प्रतिवादी कुमारराजको पुनरावेदन ।
७. साँवा व्याज भराई पाउँ । नतिरे लिखतको खेत भोग चलन गर्न पाउँ भनी ०९ साल बैशाखमै फिराद दायर गरेको देखिएको र सो मुद्दामा कपालीमा नालेस गरेको बखत ऐनबमोजिम हुने भनी ०१७ सालमा अन्तिम निर्णय भएबमोजिम यो नालेस दायर भएकोले म्याद नाघेको भन्न मिलेन । जायजेथा सौतेनी आमाले नै लिएको मसँग केही नभएको र अंशियार समेतका नाउँमा नालेस गर्नुपर्ने भन्ने समेत अपील जिकीरका हकमा ०९ सालको यही रुपैयाँबारे परेको मुद्दाबाट वादीको बाबु मरेकोमा हकदारको नाउँमा म्याद जाँदा यिनै वादीले मुद्दा सरकार गरेको र अंश ऋण धन केही लिन भनी बाबु मर्दा अपीलाटले कागज गरेको छु भनी भन्न नसकेको । अंश लिई दिई सकेको भन्ने जिकीर पनि नभई घरको मुख्य भई मुद्दामा सकार गरेको समेत देखाएबाट इन्साफ का.जी.अ.दो.को मुनासिव छ भन्ने डिभिजन बेञ्चको ०२१।१।१८।५ को फैसला ।
८. सोउपर चित्त बुझेन । दोहर्याई पाउँ भन्ने प्र.कुमारराजको निवेदन परेकोमा न्यायीक समितिबाट यसमा प्रतिवादी कुमारराज सरहकै अंशकी धनी ख.हेमराजकी श्रीमती दुर्गादेवी देखिन आएको । डं.स.२६ नं मा त्यो धन खाँदा संगै बस्ने सवै अंशियारबाट असुलउपर गर्नुपर्ने व्यवस्था भए अनुसार ख.हेमराजले लिएको कर्जामा दुर्गाकुमारी उपर पनि उत्तरदायित्व पर्न आउनेमा त्यसतर्फ कानूनबमोजिम सबै कुरा हेरी बुझी सर्वोच्च अदालतबाट निर्क्यौल भएको देखिएन । ०९ सालको यही रुपैया बारेको मुद्दामा बाबु मर्दा कुमारराजले सकार गर्नु स्वभाविकै हो । सोकुराले उक्त डं.स.को २६ नं मा उल्लेखित दुर्गाकुमारी माथि पर्न आउने । दायित्व निष्क्रिय हुन्छ भन्न नमिल्ने समेतको प्रमाण परिवन्दबाट दुर्गाकुमारीतर्फ केही नबोली दावीको रुपैयाँ प्र.कुमारराजबाट मात्र भरी पाउने ठहराएको सर्वोच्च अदालतको निर्णय मिलेको नदेखिँदा दोहर्याउन आदेश बक्सनु पर्ने भनी सिफारिस गरेको जाहेर हुँदा नेपालको संविधानको धारा ७२ को (ख) अनुसार उक्त मुद्दा दोहर्याइ दिनु भन्ने हुकुम बक्सेको छ भनी मौसुफको प्रमुख सचीवालयबाट लेखी आएको २३।६।१०।६ को हुकुम प्रमांगी ।
९. बक्स भई आएको हु.प्र.बमोजिम गर्न निमित्त नियमको रीत पुर्याई लगतमा दर्ता गरी मिसील झिकाई दुवै पक्ष राखी फुल बेञ्चमा पेश गर्न र त्यसको अन्तिम निर्णय भएपछि त्यस्तो निर्णयको २ प्रतिलिपी जाहेर गर्न श्री ५ महाराजधिराजका प्रमुख सचीवालय राजदरवारमा रजिष्ट्रार अफिसमार्फत पठाइ दिनु भन्ने माननीय श्री प्र.न्या.ज्यूबाट भएको ०२३।३।१३।२ को आदेश ।
१०. का.दे.ई.अ. बाट पेटबोलीबाट बुझ्नु पर्ने भनी जारी गरेको दुर्गाकुमारीको नाउँको म्याद तत्कालीन अ.बं.१३६ नं. बमोजिम नभई बेरीतसँग तामेल गरेको देखिएकोले अर्को म्याद जारी गरी हाल प्रचलीत अ.बं.११० नं.को रीतपूर्वक तामेल गराई र दुर्गाकुमारीले प्रतिवादी कुमारराज र निजकी आमा सन्तकुमारी समेत उपर १३।१२।३० मा धादिङ अदालतमा दिएको अंश मुद्दा मुलतवी राख्न अ.त.बाट १४।९।१८।४ मा लेखी पठाएको देखिएकोले मुलतवी जागी किनारा भईसकेको भए सो मिसिलै र किनारा भएको छैन भने त्यसमा वादी प्रतिवादी दावी जिकीर के कस्तो छ ? हाल के कारवाई भईराखेको छ ? जवाफ पठाउनु भनी धादिङ जि.अ.लाई पठाई झिकाई पेश गर्नु भन्ने ०२४।४।६।६ को फुल बेञ्चबाट भएको आदेश ।
११. ०२४।४।६।६ को बेञ्चका आदेशबमोजिम झिकाइएकी दुर्गाकुमारीको वा.ध्रुवप्रसादको बयान गराउन अर्को पेशीको तारेख तोकी पेश गर्नु भन्ने ०२४।९।११।३ को फुल बेञ्चको आदेश ।
१२. साहु छ भन्ने कुरा पनि थाहा छैन । साहु भए पनि कुमारराजले तिर्नुपर्ने दुर्गाकुमारीले अंश पाएकी पनि छैन । हेमराज १३ सालमा परलोक हुनुभएको हो । परलोक हुनुभन्दा २।३ वर्ष अघि लोग्नेले घोक्र्याई निकाल्ने गरेकोले माइती घरमा बसेकी हुन । लोग्नेको सम्पत्ति छोरा कुमारराज जिम्मा नै छ । अंशियार दुर्गाकुमारी १, शन्तकुमारी १, छोरा कुमारराज १, समेत ३ जना छन् भन्नेसमेत दुर्गाकुमारीको वा.ध्रुवप्रसादको ०२४।९।२५।३ को बयान ।
१३. यसमा तारिखमा रहेका निवेदक, प्रतिवादी कुमारराजको वा.शन्तकुमारी वादीको वा.नरराज हाल पेटबोलीबाट बुझिएकी दुर्गाकुमारीको वा.ध्रुवप्रसाद रोहवरमा रही ०२४।१०।२।३ मा पेस भई निज वारेसहरूको बहस जिकीर समेत सुनी आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा बाबु ख.हेमराजले ०६।१।१७ मा कर्जा लिएको भन्ने वादी दावीको रुपैयाँ सौतेनी जेठी आमा दुर्गाकुमारी समेत भएकी र ऐनले सबै अंशियारबाट भराइ लिनु पर्ने हुँदा मैले मात्र तिर्नु नपर्ने भन्ने समेत निवेदक, प्रतिवादी कुमारराजको जिकीर भएकोले दुर्गाकुमारी समेतले सो ऋण तिर्नु व्यहोर्नुपर्ने हो होइन ? भन्नेतर्फ नै मुख्य विचार गर्नुपर्ने हुन आएको छ ।
१४. यस प्रसङ्गमा हेर्दा, २४।४।६।६ को फुल बेञ्चका आदेशबमोजिम पेटवोलीबाट झिकाएकी निज दुर्गाकुमारीको वा.धुवप्रसादले २४।९।२५।३ मा गरेको बयानमा लोग्ने ख.हेमराज ०१३ सालमा परलोक हुनुभन्दा २।३ वर्ष अघि घोक्र्याइ निकाल्ने गरेकाले माइत गई बसेकी हुँ । अंशियार जेठी म दुर्गाकुमारी १ कान्छी शन्तकुमारी १ छोरा कुमार राज १ समेत ३ जना छौं भन्ने लेखाएको समेतबाट वादी दावीको धन खाँदाको अवस्था २००६ सालका हकमा निज दुर्गाकुमारी समेत लोग्ने ख.हेमराजकै संगमा बसेकी अंशियार भन्ने देखिन आयो ।
१५. साहु छ भन्ने कुरा पनि थाहा छैन । साहु भए पनि कुमारराजले तिर्नु पर्ने अंश पाएकी पनि छैन । लोग्नेको सम्पŒिा कुमारराज जिम्मा नै छ भन्ने निज दुर्गाकुमारीको बयान जिकीर भए पनि यस्तो दुनिँयाको बिगो भराउने सम्बन्धमा हालको दण्ड सजायको २६ नं. मा त्यो धन खाने १२ वर्षदेखि माथिका ऐनबमोजिम मानु नछुट्टी संगबसेको वा त्यो धन खाँदा संग बसेको पछि भिन्न हुनेको अंश समेतबाट भराइ दिनुपर्ने व्यवस्था भएको र सो ऋण आफूले बेहोर्न कानूनबमोजिमको त्यसको कुनै लिखत सबुद दिन वा त्यस्तो अवस्था भएको देखाउन समेत निज दुर्गाकुमारीले नसकेकीले उक्त जिकीरसम्मबाट फुर्सद पाउन नसक्ने समेत हुँदा वादीको धन खाँदा लोग्ने ख.हेमराजको संगमा बसेकी अंशियार निज दुर्गाकुमारी समेतले उक्त दण्ड सजायको २६ नं. बमोजिम सो ऋण तिर्नु व्यहोर्नु पर्ने प्रष्टै छ ।
१६. अब क–कस्ले के–कति भाग तिर्नु–बेहोर्नुपर्ने हो ? भन्नेतर्फ हेरेमा निज दुर्गाकुमारी १ शन्तकुमारी १ निजका छोरा प्र.कुमारराज १ समेत जम्मा ३ अंशियार भएका देखिन आएको र शन्तकुमारीको हकमा नबुझिएकी भए पनि यसै मुद्दामा प्रतिवादी कुमारराजको वारेस भई तारेखमा रहेकी निजलाई कुमारराजले गरी दिएको ०२३।१२।६।१ को वारेसनामा र निज शन्तकुमारीको सोही मितिको सकारनामा समेतमा निज सन्तकुमारी कुमारराजको एकाघरकी आमा भन्ने लेखिएको र एकाघरको जानकार छोरा कुमारराजको नाउँमा नालेस परेको यो मुद्दा भएकोले ३ भागको १ भाग निज दुर्गाकुमारीले र प्र.कुमारराज पक्ष निज र निजकी आमा शन्तकुमार समेतको गरी २ भाग प्रतिवादी कुमारराजले तिर्नु बेहोर्नु पर्ने देखिन्छ ।
१७. तसर्थ, उपरोक्त उल्लेख भएबमोजिमका कारणहरूबाट वादी–दावीका साँवा व्याज समेत गरी जम्मा रु.२००२।– मध्ये ३ भागको १ भाग रु.६६७।३३ दुर्गाकुमारीबाट र प्र. कुमार राज पट्टि निज र निजकी आमा सन्तकुमारी समेतको गरी २ भाग रु.१३३४।६७ प्रतिवादी कुमारराजबाट वादीले भरी पाउने ठहर्छ । प्रतिवादी कुमारराजबाट मात्र भराउने गरेकोसम्म ०२१।१।१८।५ को डिभिजन बेञ्चको इन्साफ मिलेको देखिएन, अरु तपसील बमोजिम गर्नु ।
तपसील
वादी प्रेमराज शर्माको तत्कालीन का.जि.अ.दो को २०।१।३१।३ को फैसला का.दे.त.को सोही मितिको लगतबमोजिम प्रतिवादी कुमारराजबाट भराई दिने गरेको बिगो रु.२००२। को लगत काटी दिनु भनी का.श्रे.अ.त.मा लगत दिनु ………………….१
वादी प्रेमराज शर्माके साँवा व्याज समेत गरी जम्मा रु.२००२। देहायका मानिसबाट देहायबमोजिम भराई पाउँ भनी डं.स.को ४२ नं. बमोजिम ३ वर्ष भित्र दर्खास्त दिन आएमा कोर्टफी ऐन १७ को दफा १३ बमोजिम सयकडा २।५० दस्तुर लिई ऐनबमोजिम भराइदिनु भनी ऐ ऐ ………………२
दुर्गाकुमारी खत्रिनीबाट ३ भागको १ भाग रु.६६७।३३ प्रतिवादी कुमारराज खत्रीबाट निज र निजकी आमा सन्तकुमारी समेतको गरी २ भाग रु.१३३।४।६७ वादी प्रेमराज के का.जी.अ.दो.को २०।१।२१।३ को फैसलाबमोजिम निजलाई प्रतिवादी कुमारराजबाट भराई दिने गरेको शुरु पुनरावेदन गर्दा समेतको कोर्टफी रु.११०।११ मध्ये ३ भागको २ भाग रु.७३।४१ मात्र निजबाट भरी पाउँने हुँदा त्यतिमात्रको लगत कायम राखी बाँकी रु.३६।७० को लगत कट्टा गरी दिनु भनी ऐ……………..३
ऐ.ऐ.कै निजले शुरु र पुनरावेदन गर्दा समेत राखेको कोर्टफी रु. ११०।११ मध्ये ३ भागको २ भाग रु.७३।४१ प्रतिवादी कुमारराजबाट भरी पाउँने ठहरेको कटाई बाँकी रु.३६ ७० को हकमा दुर्गाकुमारीबाट भराई पाउँ भनी कोर्टफी.ऐन, ०१७ को दफा १५(११) बमोजिम ५ वर्ष भित्र दर्खास्त दिएमा दस्तुर केही नली भराई दिनु भनी ऐ ……………..४
ऐ ऐ के निजलाई का.जि.अ.दो.को २०।१।३१।३ को फैसलाबमोजिम प्रतिवादी कुमारराजबाट भराई दिने गरेको कोटीफि रु.११०।११ प्रतिवादी कुरमारराजबाट भराई पाउँ भन्ने दर्खास्त परेमा २०।९।२५।५ मा निज कुमारराजबाट सर्वोच्च अदालतमा नगदी विभागमा दाखेल भई धरौटीमा रहेको रु. ११०।११ बाट निज वादी प्रेमराजलाई भराई दिनु भनी डिभिजन बेञ्चको ०२१।६।५।१ को आदेशबमोजिम २१।६।१५।४ मा का.दे.त.मा लगत दिएकोमा उक्त का.जि.अ.दो.को २०।१।३१।३ को फैसलाबमोजिम कोर्टफी रु. ११०।११ मध्ये रु. ७३।४१ मात्र प्रतिवादी कुमारराजबाट भरी पाउँने ठहरेको हुँदा सो ७३।४१ भराई पाउँ भन्ने वादी प्रेमराजको दर्खास्त परेमा निज कुमारराजबाट २०।९।२५।५ मा सर्वोच्च अदालत नगदी विभागमा दाखेल भएको धरौटी रु. ११०।११ मध्येबाट भराई दिने गरी सो ७३।४१ मात्रको लगत कायम राखी बाँकी धरौट रु. ३६।७० को हकमा प्रतिवादी कुमारराजले कोर्टफी ऐन, ०१७ को दफा १७ बमोजिम ३ वर्ष भित्र फिर्ता लिन आएमा निज कुमारराजलाई नै कानूनको रीत पुर्याई फिर्ता दिनु भनी ऐ ………………….५
प्रतिवादी कुमारराज खत्री के शुरु कोर्टफी रु. १००।१० को सयकडा १० को हिसाबले का.जि.अ.दो.उपर पुनरावेदन गर्दा २०।९।२५।५ मा रु. १०।१ र मुद्दा दोहोर्याउँदा २३।१२।६।१ मा रु.१०।१ समेत जम्मा कोर्टफी रु. २०।२ सर्वोच्च अदालतमा दाखेल गरेकोमा हाल निजको हकमा लाग्ने ठहरेको शुरु कोर्टफी रु.७३।४१ को सयकडा १० ले पुनरावेदन गर्दा रु. ७।३४ र मुद्दा दोहर्याउँदा रु. ७।३४ समेत जम्मा रु. १४।६८ मात्र निजलाई लाग्ने देखिएको हुँदा सो कटाउँदा दुवै कलमको गरी बढी हुन आएको जम्मा रु.५।३४ को हकमा कोर्टफी ऐन १७ को दफा १८(४) र ऐ १९(३) समेतबमोजिम दुर्गाकुमारीबाट भराई पाउँ भनी सो ऐनको दफा १५(११) बमोजिम ५ वर्ष भित्र दर्खास्त दिन आएमा दस्तुर केही नलिई भराई दिने भनी ऐ …………..६
पछि बुझिएको समेतबाट केही उल्टी भएकोले इन्साफ केही उल्टीमा केही गर्नु पर्दैन …………७
नियमबमोजिम मिसील बुझाई दिनु …………..८
इति सम्वत् २०२४ साल माघ १२ गते रोज ६ शुभम् ।