August 11, 1967
Created by nepalarchives

निर्णय नं. ३९२ – निखनाई पाउँ

निर्णय नं.  ३९२     ने.का.प. २०२५ फुल बेञ्च का.मु.प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट न्यायाधीश श्री हेरम्वराज न्यायाधीश श्री राजा इश्वरीजंगबहादुर सिंह २०२३ सालको दे.फु.नं. ६८ निवेदक,...

निर्णय नं.  ३९२     ने.का.प. २०२५

फुल बेञ्च

का.मु.प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट

न्यायाधीश श्री हेरम्वराज

न्यायाधीश श्री राजा इश्वरीजंगबहादुर सिंह

२०२३ सालको दे.फु.नं. ६८

निवेदक, प्रतिवादी : अष्टमाया मानन्धरनी

विरुद्ध

वादी, पुनरावेदक : न्हुछेमाया मानन्धरनी

मुद्दा : निखनाई पाउँ

(१)   थाहा पाएको कुरा एकिन गर्दा देख्न सक्ने अवस्थाको कुरो भए उसै बखत थाहा पाएको भन्नु पर्ने ।

            मेरो फुपु भएको हुँदा वादीले मलाई घर किन्ने कुरा गरी दिएको हो भनी प्रतिवादी लेखबाट सम्बन्ध चिनाजानका प्रतिवादी अष्टमायाले घर राजीनामा गराई लिए पछि वादीले देख्न सक्ने कुरामा उसबखत थाहाको पाएको थिएन भन्ने विश्वास लिनु उचित हुँदैन ।

(प्रकरण नं. १३)

(२)   थाहा पाएको मितिबाट निखनाइ पाउँ भन्ने उजुरी ३५ दिन भित्र पर्नु पर्ने । म्याद पछिको उजुरबाट दावी लाग्न नसक्ने ।

            थाहा पाएको मितिबाट उजुर गर्नें दिन ३५ दिनलाई कायम नगरी भाद्र ९ गतेको दिन कायम गरेकोले निखनाई पाउँ भन्ने वादी दावी पुग्न सक्दैन । वादीले निखनी लिन पाउने ठहराएको शुरु का.दे.इ.अ. र का.जि.अ.को सदर गरी २२।८।१७।५ को डिभिजन बेञ्चले छिनेको इन्साफ मिलेको देखिएन ।

(प्रकारण नं. १५)

निवेदक तर्फबाट : प्लीडर लवदेव भट्ट

विपक्षी तर्फबाट      : अधिवक्ता मधुप्रसाद शर्मा

फैसला

            १.     अन्यायी इन्द्रनारायण मेरो ३ पुस्ताभित्रको देवर हो । म हकवाला छँदै मलाई थाहा खवर नदिई का.ई.भिमसेन थानको ब्लक नं ७।६२८ को २ नाले ५ कवले ५ तल्ले घर मध्ये निजको आगको २ ले २।। कवल ५ तल्ले पक्की झिंगटी घर १६।११।७ गते रु. ३६०१। म अष्टमायालाई फार्छे पास गरी दिएको रहेछ । ६ महिना नाघी सकेपछि मात्र थाहा भई गुज्रेका मितिले ३५ दिन भित्र नालेस गर्नुपर्ने, गुज्रेबाट निवेदन दिई म्याद थमाई नालेस गर्न आएको छु । यसै साथ दाखेला गरेको थैली रु. ३६०१। निजलाई बुझ्न लगाई पाउँ भन्ने समेत वादी ।

            २.    घर विक्री गर्दा वादीकै सल्लाहाबाट वादीकै भान्जीलाई १६।१०।८।६ मा बिक्री गरेको वादीले थाहा पाएकैमा दुख दिन झुट्टा उजुर गरेको भन्ने समेत इन्द्रनारायणको प्रतिवादी ।

            ३.    ईन्द्रनारायणलाई ऋण लागी साहु तिर्न नसकी घर बिक्री गर्न खोजेको र वादीले सहयोग दिएकोले पास गराई लिएको घरमा कठबार लगाउन र भर्‍याङ राख्न पर्‍यो भनी वादीलाई भन्दा तारबार गरेबाट टोल संघमा दर्खास्त दिँदा संघ समेत १७।१०।७ गते सो घरमा गई कठबार लगाई दिनु पर्‍यो भनी वादीले भन्दा फार्छे गरेको मलाई थाहा थिएन । आजै थाहा भयो । म घरै निखनी लिउँला । सो भाखासम्म निखनी लिईन भने कठबार भर्‍याङ लगाउन दिनेछु भन्ने निज न्हुछेमायाको कागज भएको छ । सो कागज झिकी प्रमाण लगाई वादी दावीबाट फुर्सत पाउँ भन्ने समेत अष्टमायाको प्रतिवादी ।

            ४.    भिम सर्वोदय संघ बुझ्दा दिएको जवाफबाट कागज भएको र थाहा पाएको समेत नदेखिँदा र निज वादीले निखन्न नपाउने अरु सबुद प्रतिवादीले दिन नसकेकोले निखन्न पाउने ठहर्छ भन्ने का.दे.ई.अ.को १७।११।१३।५ को फैसला ।

            ५.    बिक्री भएको एउटै घरमा बस्ने व्यक्तिले ६ महिनाभित्रै अघि नै ३५ दिन भित्र निखनाई माग्न आए निखन्न दिनु पर्ने अघि नै थाहा पाईसकेकोमा म्याद नाघेपछि नालेस लाग्न नसक्ने हुँदा इन्साफमा चित्त बुझेन भन्ने प्रतिवादीको पुनरावेदन ।

            ६.    निवेदनमा भाद्र ९ गतेसम्ममा नालेस गर्ने म्याद गुज्रेको भन्ने लेखिएकोबाट १६ साल माघ ७ गते राजीनामा गरेको निखन्ने ६ महिना आखिरी म्याद श्रावण ६ गतेकै दिनमा मात्र भन्न गएको रहेछ भन्ने कुरा निवेदनको लेखाईबाट सिद्ध हुन आएको । पछि दिएको निवेदनमा पनि भाद्र ९ गतेको म्याद थामी पाउँ भनी दिएकोमा मध्यमान्चल उच्च अदालतबाट म्याद थामी नालेस दर्ता गरेको देखिएकाले निखन्न पाउने ठहराएको शुरुको इन्साफ मुनासिव छ भन्ने का.जि.अ.को ०२०।१२।९।१ को फैसला ।

            ७.    निवेदनमा श्रावण ६ गते थाहा पाएको भन्ने उल्लेख नभएको समेत हुनाले इन्साफमा चित्त बुझेन भन्ने प्रतिवादीको पुनरावेदन ।

            ८.    पहिले दिएको तो.नं.५७३ को निवेदनमा थैली धरौटी राखी उजुर गर्ने कि बुझी लिन्छौं भनी प्रतिवादीलाई वादीले मौकैमा थाहा पाई भनेको देखियो । तो.नं.७१५ को निवेदनमा सो फार्छे पास गरी दिएको मलाई कुनै थाहा नभई ६ महिना नाघेपछि मात्र थाहा भएको भनी लेखेकोले, निवेदनको व्यहोरा साचो नदेखिएको र व्यहोरा साचो भए म्याद थामी दिने आदेश भएको समेत देखिँदा अ.बं.२०२ नं. बमोजिम वादीलाई छलफलमा झिकाई पेश गर्नु भन्ने डिभिजन बेञ्चको ०२२।५।११।६ को आदेश ।

            ९.    वादीले सो घर बिक्री गरेको मौकैमा थाहा पाई ६ महिना पुग्नु भन्दा अगावै नालेस उजुर गर्ने म्याद नाघी सकेको छ भन्ने कुनै प्रमाण प्राप्त भएको देखिएन । म्याद थमाउन दिएको तो.नं.५७३ को निवेदनमा ६ महिना पुग्नु भन्दा केही अघि थाहा पाए जस्तो र तो.नं.७१५ को निवेदनमा ६ महिना पछि थाहा पाएको कुरा उल्लेख भएको । तो.नं.५७३ को म्याद गुज्रेको थामी पाउभन्ने निवेदनमा भुल भन्ने कारण मनासिव नदेखिएको भनी नथामिएकोले दोस्रो निवेदन दिँदा बिरामी परी गुज्रेको भन्ने कारण खुलाउनसम्म आवश्यक भई खुलाएकोमा लिखत भएको थाहा पाएको कुरा फरक पार्नु पर्ने कारण नहुदा सो व्यहोरा झुठ्ठा देखिएको भई नथामिने भन्न नमिल्ने । थामी पाउने म्यादभित्रै निवेदन दिई ७० दिन भित्र निवेदन परेको भए थामी दिने तोक भई कानूनबमोजिम थामिएको देखिएको । सो म्याद नाघेपछि थाहा हुन गए थामी पाउने म्याद भित्र थमाई नालेस गर्न नपाउने कानूनी व्यवस्था नदेखिएको समेतबाट वादीले हक सफा गराई लिन पाउने म्याद गुज्रेको भन्न मिल्ने देखिएन । वादीले हक सफा गरी लिन पाउने ठहराएको सुरुको सदर गरेको जि.अ.काठमाडौंको इन्साफ मुनासिव छ भन्ने डिभिजन बेञ्चको ०२२।८।१७।५ को फैसला ।

            १०.    सो उपर चित्त बुझेन । दोहर्‍याई पाउँ भन्ने प्रतिवादी अष्टमायाँको निवेदनपत्र व्यहोरा श्री ५ महाराजाधिराजका हजुरमा जाहेर हुँदा व्यहोरा साँचो भए एकपटक रुल नियम बमोजिमको फुल बेञ्चबाट इन्साफ जाँची कानूनबमोजिम गर्नु गराउनु भनी त्यहाँ पठाउन हुकुम बक्सेको छ भनी मौसूफका विशेष जाहेरी विभाग राजदरवारबाट लेखी आएको ०२३।१०।५।४ को हुकुम प्रमांगी ।

      ११.    व्यहोरा साँचो भए बक्स भई आएका हुकुम प्रमांगीबमोजिम गर्ना निमित्त नियमबमोजिम लगतमा दर्ता गरी मिसिल झिकाई दुवै पक्ष राखी फुल बेञ्चमा पेश गर्नु भन्ने माननीय श्री प्रधान न्यायाधीश ज्यूबाट भएको ०२३।१०।९।१ को आदेश ।

      १२.   यसमा तारेखमा रहेका दुवै पक्ष रोहवरमा रही २४।४।१३।६ मा पेश भई निवेदक, प्रतिवादी तर्फबाट विद्वान प्लीडर श्री लवदेव भट्टले र वादी न्हुछेमायाँ तर्फबाट विद्वान अधिवक्ता श्री मधुप्रसाद शर्माले गर्नु भएको बहस समेत सुनी आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा प्रतिवादीले राजीनामा फार्छे गरेको मिति १६ साल माघ ७ गते हो भन्ने कुरा निर्विवाद भएको छ । त्यस मितिबाट निखनी लिने म्याद गुज्रेको थामी पाउँ भनी १७ साल आश्विन २२ गते वादीले निवेदनपत्र दिई म्याद थामी फिरादपत्र दर्ता भएको देखिन्छ । तत्कालिन साहु असामीका ९ नं. मा थाहा पाएको मिति देखी त्यो पनि ६ महिनाभित्रैमा हुनु पर्ने र यसबाट ३५ दिन भित्र नालेस लाग्न सक्ने व्यवस्था देखिएको छ । यस मुद्दामा थाहा पाएको मिति कुन हो भन्ने नै मुख्य निर्णय गर्नु परेको छ ।

      १३.   निजको र मेरो भाग कठबार समेत नलगाई खानसम्म भिन्दाभिन्दै गरी एउटै बाटो भर्‍याङ्ग गरी चलाई बसी आएको भनी फिरादपत्रमा लेखिएकोबाट एउटै भर्‍याङ्गबाट हिड्ने गरकोमा हाल राजीनामा गराई लिनेले चलन गरेपछि वादीले थाहा पाउने सम्भव भएको र मेरो फुपु भएको हुँदा वादीले मलाई घर किन्ने कुरा गरी दिएको हो भनी प्रतिवादी लेखबाट सम्बन्ध चिनाजानीका प्रतिवादी अष्टमायाले घर राजीनामा गराई लिए पछि वादीले देख्नसक्ने कुरामा उस बखतमै थाहा पाएको थिएन भन्ने विश्वास लिनु उचित हुँदैन ।

      १४.   वादीले दर्ता गरेको तो.नं.५६३ को १७ साल भाद्रको निवेदनपत्रमा ६ महिना भित्र धरौटी राखी उजुर गर्ने होकि घरायसबाट बुझी लिन्छौ भन्दा हुन्छ बुझि लिन्छु भनी आनेताने गरी ६ महिना म्याद गुजारी दिएकाले ३५ दिन भित्र अर्थात यही गएको भाद्र ९ गते भित्र नालेस गर्नुपर्ने भन्ने समेत बोली लेखेको र ६ महिना नाघे पछि मात्र थाहा भएकोले सो ६ महिनाका ३५ दिन  भित्र निखनाई पाउन नालेस गर्नुपर्ने भन्ने समेतको बोली तो.नं.७१५ को निवेदन र फिरादपत्रमा लेखिएकोबाट यो दिन थाहा पाएको भन्ने कुरामा नै वादीको परस्पर बिरोधी कुरा हुनाले आफ्नो प्रमाण कम्ती हुने कुरा लेखिएकोबाट देखिएको कुरा यस्तो छ कि ६ महिना नाघी थाहा पाएको भन्ने वादीले झुट्टा कुरा लेखेको छ ।

      १५.   तसर्थ, उपरोक्त उल्लेख भएबमोजिम थाहा पाएको मितिबाट उजुर गर्ने दिन ३५ लाई कायम नगरी भाद्र ९ गतेको दिन कायम गरेकोले निखनाई पाउँ भन्ने वादी दावी पुग्न सक्दैन । वादीले निखनी लिन पाउने ठहराएको शुरु का.दे.ई.अ.र का.जि.अ.को सदर गरी २२।८।१७।५ को डिभिजन बेञ्चले छिनेको इन्साफ मिलेको देखिएन । अरु तपसीलबमोजिम गर्नु ।

 

तपसील

वादी न्हुच्छे माया मानन्धरनीके शुरुको दे.ई.अ.को १७।११।१३।६ को फैसलाबमोजिम प्रतिवादी ईन्द्रनारायण मानन्धरबाट भराई दिने गरेको देहायबमोजिम रु. ।६३ भराउनु नपर्ने हुँदा कानूनको रीत पुर्‍याई लगत कट्टा गरी दिनु भनी का.श्रे.अ.त.मा दिनु ……………………१

ऐ ऐ के शुरु का.दे.ई.अ.को १७।११।१३।६ को फैसलाबमोजिम प्रतिवादी अष्टमाया मानन्धरनीबाट भराई दिने गरेको कोर्टफी रु. ९०।३ र अरु दस्तूर रु.।६२ समेत रु.९०।६५ निज अष्टमायाले का.दे.त.मा १८।२।१६।२ मा बुझाई सकेको सो रुपैयाँ का.जि.अ.को २०।१०।९।१ को फैसलाले निज वादी न्हुछेमायाँलाई भराई दिने गरी का.श्रे.अ.त.मा २१।१०।६।३ मा लगत दिएकोमा सो अनुसार गर्नु पर्दैन । सो रुपैया कोर्टफी ऐनको दफा १७(१) बमोजिम ३ वर्ष भित्र निज अष्टमानले लिन आएमा अडैको आम्दानीबाट प्रतिवादी अष्टमायालाई नै कानूनबमोजिम फिर्ता दिनु भनी ऐ ……………………२

 प्रतिवादी अष्टमाया मानन्धरनी के निजले राखेको देहायबमोजिम कोर्टफी कोर्ट ऐन, ०१७ को दफा १८(४) र दफा १९(३) बमोजिन वादी न्हुछेमायाबाट भरी पाउने हुँदा सो रुपैंया भराई पाउँ भनी सोही ऐनको दफा १५(११) बमोजिम ५ वर्ष भित्र दर्खास्त दिएमा दस्तूर केही नलिई भराई दिनू भनी ऐ ऐ …………………..३

सुरु उपर गरेको १८।२।१५।१ को पुनरावेदमा टाँसेको कोर्टफी टिकटको रु. ९ का.जि.अ.उपर गरेको २१।१।२।५ को पुनरावेदनमा टाँसेको ऐ ऐ को ए ४।५० मुद्दा रिभिजन गराउँदा २३।१२।१४।२ मा सर्वोच्च अदालत नगदी बिभागमा दाखेल गरेको कोर्टफी रु.।।। १६।४१ वादी न्हुछेमाया के डिभिजन बेञ्चको २२।८।१७।५ को फैसलाबमोजिम प्रतिवादी अष्टमायाबाट भराई दिने गरेको वकिलफी रु. २५। भरी नपाउने हुँदा कानूनको रीत पुर्‍याई लगत कट्टा गरी दिनु भनी ऐ …………………….४

प्रतिवादी अष्टमाया मानन्धरनी के निजबाट रहेको विद्वान ल्पीडरको सर्वोच्च अदालत नियमावली, ०२१ को नियम २४ बमोजिम पाउँने वकिल फि रु.१५ वादी न्हुछेमायाँबाट भराई पाउँ भनी कोर्टफी ऐन १७ को दफा १५(११) बमोजिम ५ वर्ष भित्र दर्खास्त दिएमा दस्तूर केही नलिई भराई दिनु भनी ऐ ……………………..५

वादी न्हुछेमाया के निजले का.दे.त.मा ०१७।६।२६।३ मा धरौट राखेको रु.३६०१। निखन्न नपाउने ठहरेकोले वादीले नै फिर्ता पाउने हुँदा ३ वर्ष भित्र फिर्ता लिन आएमा कानूनबमोजिम निज वादी न्हुछेमायालाई नै फिर्ता दिनु भनी ऐ……………………६

देहायको मानिसको इन्साफ उल्टीको रेकर्ड राख्न सर्वोच्च अदालत जनरल विभागमा सूचना दिनु ………..७

का.जि.अ.का न्या.हरिबहादुर श्रेष्ठ १ का.दे.ई.अ.का.न्या.मन हर्ष भण्डारी १

नियमबमोजिम मिसिल बुझाई दिनु …………………… ८

 

इति सम्वत् २०२४ साल श्रावण २७ गते रोज ६ शुभम् ।