निर्णय नं. ११९४ – उत्प्रेषणको आदेश जारी गरिपाउँ
निर्णय नं. ११९४ ने.का.प. २०३५ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल सम्वत् २०३४ सालको रिट नम्बर १०२८ आदेश भएको...
निर्णय नं. ११९४ ने.का.प. २०३५
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री वासुदेव शर्मा
माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल
सम्वत् २०३४ सालको रिट नम्बर १०२८
आदेश भएको मिति : २०३५।८।२६।२ मा
निवेदक : जिल्ला सिरहा औरही गा.पं.वार्ड नं. ४ बस्ने जैसलवती यादवनी
विरुद्ध
विपक्षी : जिल्ला कार्यालय भू.प्र.शाखा सिरहाका श्री भूमिप्रशासक सूर्यराय दनुवार
विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ
(१) भूमिसम्बन्धी (संशोधन सहित) ऐन, २०२१ को दफा २६(१) ले निर्देश गरेअनुसार मोही हुनेको पत्नी वा अन्य छोराहरु छन छैनन र जग्गाधनीले कसलाई रोज्न चाहेको छ इत्यादि ऐनले निर्देशन गरेको कार्यवाही गरी निर्णय गर्नुपर्ने ।
(प्र.नं. ८)
निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जविहारीप्रसाद सिंह
विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री केदारनाथ उपाध्याय
आदेश
न्या. वासुदेव शर्मा : नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषणको आदेश जारी गरी विपक्षी भूमिप्रशासकको ०३४।४।२१ को निर्णय बदर गराई पाउँ भन्ने कुराको माग गर्दै मिति २०३४।९।२६ मा दर्ता हुन आएको प्रस्तुत रिट निवेदनसम्बन्धी संक्षिप्त तथ्य तथा जिकिर यसप्रकारका रहेछन :
२. जैलसवती यादवनीका नाउँमा दर्ता रहेको गा.पं.औरही वार्ड नं. ४ (क) कि.नं. ४७३, २१५,४७३,२०६,२२६ का जग्गाको मोहियानी हकको प्रमाणपत्र पाउँ भन्ने विपक्षी कार्यालयमा विपक्षी सूर्यराय दनुवारको निवेदन परेकोमा निवेदकले उल्लेख जग्गाको माइ सनाखत देखि आफ्नो जोतभोगमा छ भन्नेसमेत निवेदिकाको बयान कागज भएकोमा निवेदकको बाबु असरफि सिंहको नाउँमा जोताहाको अस्थाई निस्सा पूर्जा र अनुसूचि २ नं. प्रकाशितबाट नै मोही कायम भइसकेको बाबु स्वर्गे भएको हुँदा निजको छेरा सूर्यराय दनुवारका नाउँमा मागबमोजिमको ज.ध.जैैलसवतीको दर्ताको कि.नं. ४७१ समेतको मोहियानी हकको प्रमाणपत्र बनाई दिनेसमेत ठहराई विपक्षी कार्यालयबाट ०३४।४।२१।६ मा निर्णय भएको रहेछ ।
३. विपक्षीले निवेदनपत्रमा बाबु स्वर्गीय भएको हुनाले मोही कायम गरिपाउँ भन्ने व्यहोरा दर्शाइएको छ । ऐनको दफा २५(१) अन्तर्गत मोहीको शेषपछि निजको पति पत्नी वा छोरामध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई मोही हक प्राप्त हुन्छ भनी कानूनी व्यवस्थाको प्रावधान गरिएको छ । असर्फी स्वर्गीय भएपछि निजको पत्नी जिवितै छिन जग्गाधनीले नरोजेसम्म यसले मोही हक पाउने भनी प्रशासकबाट मोही रोजी दिन अधिकार छैन । प्रशासकले आफूलाई जग्गाधनीको स्थानमा राखी अधिकृत तवरबाट मोही रोजी दिने गरी निर्णय गर्नुभएको अ.बं.३५ नं. ले प्रष्ट तथा बदरभागी छ । विपक्षी मोही भए मलाई साल साल कूत बुझाएको भरपाई ऐनको दफा ३४(२) अन्तर्गत लिएको हुनेपर्ने मलाई बुझाएको प्रमाण छैन । प्रशासकको निर्णय अ.बं.१८५।१८९ नं. अन्तर्गत बदरभागी छ ।
४. विपक्षीहरुद्वारा लिखितजवाफ मागाई आएपछि पेश गर्नुपर्ने समेत डिभिजन बेञ्चका ०३४।१०।३ का आदेशानुसार प्राप्त हुन आएका विपक्षीहरुको लिखितजवाफमा लिएका जिकिर यसप्रकार रहेछन :
५. बाबु मरी हक खाने म मात्र हुँ भनी निवेदन पर्दा ज.ध.ले असर्फी स्वर्गीय भएपछि विधवा पत्नी जीवित छ भन्ने व्यहोरा आफ्नो बयानमा देखाउनु नभएको र मिसिलबाट असर्फीको पत्नी छ भनी प्रदर्शित नभएको र मोही निवेदक मात्र हकदार भएको दावी ज.ध.ले स्वीकारै गरेकोले मोही प्रमाणपत्र बनाई दिएकोले रिट निवेदन खारेज हुन अनुरोध गर्दछु भन्नेसमेत भूमिप्रशासन शाखा सिरहा ।
६. भूमिप्रशासन शाखाको ०३४।४।२१ को आदेश पर्चा बदर गर्न ०३४ साल पौषमा निवेदक आएको सो बीचमा मुख्य बाली रोपी सकेर सो समयपछि मात्र निवेदक आएको देखिन आयो विलम्ब गरी आएको हुनाले मागअनुसारको आदेश जारी गर्न मिल्दैन । ०३३ सालको रिट नं. १२७७ मु.उत्प्रेषण च्यान्टीदेवी श्रेष्ठसमेत विरुद्ध प्रभु यादवसमेत नि.मिति ०३४।९।५।३ को प्रतिपादित सिद्धान्तको प्रतिकूलको रिट निवेदन हुँदा खारेज हुनुपर्दछ भन्नेसमेत सूर्यराय दनुवार ।
७. तारेखमा रहेका निवेदिका जैलसवती यादवनीको वारेस दिनेश्वरप्रसाद सिंहलाई रोहवरमा राखी विपक्षी सूर्यराय दनुवारको वारेस सुदर्शन उपाध्यायलाई मुद्दा पेश हुँदा बेञ्चबाट निजको नाम उच्चारण गरी पुकारा गर्न लगाउँदा बेञ्चसमक्ष हाजिर हुन नआएकोले निवेदिकातर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जविहारीप्रसाद सिंहको र विपक्षी भूमिप्रशासन शाखा सिरहाका तर्फबाट वहस निमित्त खटिनु भएका विद्वान सरकारी अधिवक्ता श्री केदारनाथ उपाध्याय तथा विपक्षी सूर्यराय दनुवारतर्फका विद्वान अधिवक्ता श्री केदारचरण राय समेतको वहस सुनी बुझ्दा प्रस्तुत मुद्दामा निवेदकका मागबमोजिमको आदेश जारी हुने नहुने के हो निर्णय दिनु परेको छ ।
८. यसमा विपक्षी सूर्यराय दनुवारले बाबु असर्फीको मृत्युपछि मोहियानीमा दावा गरी विपक्षी भूमिप्रशासन शाखामा निवेदन गरेकोमा विपक्षी भूमिप्रशासकले निज सूर्यराय दनुवारले मोहियानी हकको प्रमाणपत्र पाउने भनी निर्णय गरेको छ । त्यस्तो विपक्षी सूर्यराय दनुवारको दावी उजूर परेकोमा भूमिप्रशासकले भूमिसम्बन्धी (संशोधन सहित) ऐन, २०२१ को दफा २६ (१) ले निर्देश गरे अनुसारको मोही हुनेको पत्नी वा अन्य छोराहरु छन छैनन र जग्गाधनीले कसलाई रोज्न चाहेको छ इत्यादि ऐनले निर्देशन गरेको कार्यवाही गरी निर्णय गर्नुपर्नेमा सो ऐन अनुसार कार्यवाही नगरी गरेको विपक्षी भूमिप्रशासकको मिति २०३४।४।२१ को निर्णय उपरोक्त भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ (१) को विपरित हुन गई त्रुटिपूर्ण देखिएकोले उक्त निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिदिने ठहर्छ । अब कानूनबमोजिम गरी निर्णय गर्नू भनी विपक्षी भूमिप्रशासन शाखा सिरहाका नाउँमा परमादेशको आदेशसमेत दिने ठहर्छ । जानकारी निमित्त यो आदेशको प्रतिलिपि एक विपक्षी कार्यालयमा पठाउन महान्यायधीवक्ताको कार्यालयमा पठाई नियमबमोजिम गरी फायल बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. त्रैलोक्यराज अर्याल ।
इति सम्वत् २०३५ साल मार्ग २६ गते रोज २ शुभम् ।