निर्णय नं. ११८९ – ज्यान
निर्णय नं. ११८९ ने.का.प. २०३५ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल सम्वत् २०३५...
निर्णय नं. ११८९ ने.का.प. २०३५
फुल बेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल
सम्वत् २०३५ सालको फौ.फु.नं. १०
फैसला भएको मिति : २०३५।८।६।३ मा
निवेदक : रोल्पा जिल्ला थुम २२ खुवा मौजे गजुल गा.पं. वडा नं. ११ लङ्ग घर भई हाल प्युठान कारागारमा थुनामा रहेको प्र.पं.मु.गञ्जबहादुर थापा क्षेत्री
विरुद्ध
विपक्षी : यमबहादुरको जाहेरीले श्री ५ को सरकार
मुद्दा : ज्यान
(१) मेलामा वादविवाद उठी झगडा भई कुटपिट हुन गएकोले कुटपिट गरेको भन्ने देखिन नआई आफूलाई कुटपिट गरेको कुटाइको रिसको वेगले प्र.ले लाठी प्रहार गरेको चोटबाट मर्न गएकोलाई ज्यानसम्बन्धीको १४ नं. बमोजिम कैद वर्ष १० गर्ने गरेको इन्साफ मनासिव ठहर्ने ।
(प्रकरण नं. ३१)
निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली
विपक्षी तर्फबाट : विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल
फैसला
न्या. त्रैलोक्यराज अर्याल : प्रस्तुत मुद्दा डिभिजन बेञ्चबाट ०३३।९।३।६ मा भएको निर्णयउपर दोहर्याईपाउँ भन्ने निवेदक प्रतिवादीको श्री ५ महाराजाधिराज सरकारका जुनाफमा चढाएको निवेदनमा यसमा व्यहोरा साँचो भए ज्यान मुद्दाको मिसिल झिकी त्यस अदालतको फुल बेञ्चबाट दोहर्याई कानूनबमोजिम निर्णय गरी निवेदकलाई जनाउ दिनु भन्ने श्री ५ महाराजाधिराज सरकारबाट बक्स भई आएको हुकूम प्रमांगीबमोजिम मुद्दा दोहरी फुल बेञ्चको लगतमा दर्ता भई निर्णयार्थ पेश हुन आएको रहेछ ।
२. मुद्दाको विवरण यसप्रकार छ : ०२९ साल पुस ५ गते गजुल गौरा भन्ने ठाउँमा देवालीको मेला जात्रामा आजापूजा भइरहेको थियो । सोही गजुल गाउँको रुद्रबहादुरसमेत भई जात्रा हेर्न ऐ.८ बजेको टायममा गई ३ बजेसम्म अन्यायवाला मध्येको प्र.पं.गञ्जबहादुरले बाबु चन्द्रकान्तलाई म निर्विरोध हुने मानिसलाई डिल्लीबहादुरलाई उम्मेद्वार बनाई दुःख पुर्यायो प्र.पं.मा सफल गरिसकें । मेरो छोरा किमबहादुरलाई स्कुलको मास्टरबाट निकाला गरेकोले सो कुरामा मलाई इवी चलिरहेको छ भनी प्र.पं.गञ्जबहादुरले भनेबाट वादविवाद हुँदा बाबा चन्द्रकान्तलाई लाठी ढुड्डाले कुटपिट गरी सोही कुटपिटका चोट पिरले सोही दिनको राती ११ बजे मृत्यु भएकोले अन्यायवालाहरुलाई पक्राउ गरिपाउँ भन्नेसमेत प्रेमबहादुरको ०२९।९।६।४ को जाहेर दरखास्त ।
३. ०२९ साल पुस ५ गते सत्य मोहडा भन्ने ठाउँमा देवाली पूजा गर्ने सो दिन देवाली पूजा गर्न म र मेरो छोरा किमबहादुर मर्ने चन्द्रकान्तको छोरा भाइ गजुल गाउँका जवानहरु पूजा गर्न म र मेरो छोरा किमबहादुर मर्ने चन्द्रकान्तको छोरा भाइ गजुल गाउँका जवानहरुको जम्मा भिड भइरहेको ठाउँमा दरखास्तमा लेखिएका अम्बरबहादुरसमेतका ६ जवान त्यस ठाउँमा थिए, थिएनन मलाई याद भएन । बिहान ९ बजे पुगी सो पूजाको धनिका चामल उठाई बोका वलिदान गर्ने ठाउँमा बसिरहेको थिएँ । मर्ने चन्द्रकान्त कहाँ थिए मैले देखिनँ । किमबहादुरसमेतका मानिसहरुलाई पनि देखिनँ । बोका काट्ने ठाउँमा बसिरहेको थिएँ, पछाडिबाट ढुड्डा वर्षेको कहाँबाट कसले हाने भनी उठी हेर्दा मेरो टाउकोमा २।३ वटा ढुड्डाले लागी बायाँ निधारमा १।। इञ्ची जतिको चोट लागी बेहोस भई पल्टेपछि डिल्लीबहादुर समेतका मानिसले म माथि आइलागे । सूर्यबहादुरले जोगाए भन्ने कुरा घरमा आई भन्नुभएको थियो । घटनास्थलमा बेहोस भई पल्टिरहेको बेला छोरा किमबहादुरले बोकी घरमा लगेछन । चन्द्रकान्तलाई मार्न पर्ने कुनै रिसइवी थिएन । अरू कसैका घाउचोटबाट मर्न गए खुलाउन सक्दिनँ भन्नेसमेत जङ्गबहादुरको ०२९।९।९ को कागज ।
४. ०२९ साल पुस ५ गते बिहान अं.१० बजेको समयमा पुगेको हुँ म बोका काट्ने ठाउँमा छेउमा बसिरहेको थिएँ । ढुड्डाहरु बर्षेकाले आफ्नो जीउ जोगाउनको लागि कटेराभित्र पसी झगडा अलि कम भएपछि कटेराबाट बाहिर निस्की बाबु जङ्गबहादुरको टाउकोमा घाउचोट देखें । बाबु जङ्गबहादुरले मलाई कुन मानिसले हाने, मार्छु भनिरहेका थिए । मैले सम्झाइरहेको थिएँ । दरखास्तमा लेखिएका २।४ जना र यज्ञ हेर्न आउने मानिसहरुको हल्ला थियो । बाबु गञ्जबहादुरलाई घरमाथि आउन लागेको अवस्थामा भिनाजु रेगबहादुरले बाबु चन्द्रकान्त पिटेको घाउचोटले बेहोस छन भन्ने कुरा सुनेको हुँ । घरमा गएपछि राती १०।११ बजे मरे भन्ने सुनेको हुँ । बाबुको र चन्द्रकान्तको झगडा भएको कुरा आँखाले नदेखेकोले गञ्ज बहादुरले नै हानेको चोटबाट मरेको हो कि भन्ने शङ्का लग्छ भने किमबहादुरको कागज ।
५. चन्द्रकान्त बाबु गञ्जबहादुरले हानेको चोट पीरले चन्द्रकान्त मरेको हो कि भन्ने शंका लाग्छ सो वारदातमा म छैन । सहमतीहरु कसैका उपर शङ्का लाग्दैन भन्ने कृष्णबहादुर थापाको कागज ।
६. चन्द्रकान्त देवताको स्थानदेखि माथि बसेका जंगबहादुरको टाउकोमा चोट लागेपछि गञ्जबहादुर गई लाठीले चन्द्रकान्तको टाउकोमा धमाधम हानेपछि चन्द्रकान्त पल्टेकाहुन । सोही दिनको राती चन्द्रकान्त मरे भन्ने कुरा थाहा भयो । ७ जना सहमती छैनन भन्नेसमेत हिमे थापासमेत ३ जनाको कागज ।
७. अरुको उपर मुद्दा नचलाउने अभियुक्त प्र.नं. गञ्जबहादुरले चन्द्रकान्तलाई पछाडिबाट लाठीले टाउकोमा हानी सोही चोटको पीरबाट चन्द्रकान्त मरेको कुरा सिद्ध हुन आएको निजका उपर ज्यानसम्बन्धीको १३ नं. को ३ दफाबमोजिम सजायको माग दावी भएको भन्नेसमेत ०२९।९।१९ को प्रहरीको प्रतिवेदन ।
८. चन्द्रकान्तलाई लाठा ढुड्डाले हानी मैले मारेको होइन । चन्द्रकान्त जुन चोट पीरले मरे त्यसको कारण मलाई ढुड्डा लाठा प्रहार गर्ने डिल्लीबहादुरसमेतले हनाएका थिए । तिनीहरुकै ढुड्डा हनाइबाट चन्द्रकान्तलाई लाग्न गई चन्द्रकान्त घायल भई सोही पीरले मर्न गएको ठहराउँछु भन्नेसमेत गञ्जबहादुरको ०२९।९।२२ को अदालतमा भएको बयान ।
९. साक्षी झुपो थापा १ र भिमान थापा १, पं.स.परशुराम पुन १, डोटे थापा १, पहले भन्ने पहसिं समेतको ०२९।११।९ को बकपत्र ।
१०. ०२९ साल पुस ५ गतेका दिन गौरा भन्ने ठाउँको देवाली पूजाको मेला हेर्न म सो ठाउँमा गएको थिएँ । गञ्जबहादुर र चन्द्रकान्तको के विषयमा झगडा भएको हो अं.५० गज टाढाबाट देखेको थिएँ । चद्रकान्त जमिनमा लडेको र गञ्जबहादुरले लाठीले हानेको मैले देखिनँ । झगडा भएको कुरा सोही मेलामा सुनेको हुँ । गञ्जबहादुरले मुठी भएको अं.२।। हात लामो लाठी हातमा समाई हिँडेको बेलामा देखेको हुँ । म गञ्जबहादुरको हातमा अरू हतियार थिएन । चन्द्रकान्त ५ गतेकै रात अं.१०।११ बजे कुटाइको चोट पीरले मर्नुभएको भन्ने सुनेको हुँ भन्नेसमेत रुद्रबहादुर सेन ठकुरीको ०३०।१।२ को बयान ।
११. ०२९ साल पुस ५ गतेको दिन गोरा भन्ने ठाउँमा मेला हेर्न गएको थिएँ । प्र.पं.गञ्जबहादुर चन्द्रकान्त पनि सोही मेलामा नै देखेको हुँ । गञ्जबहादुरको र चन्द्रकान्तको झगडा भएको मैले देखिनँ । बोकाको बलिदान भइसकेपछि अं.३ वा ३।३० को टाइममा जान लाग्दा चन्द्रकान्त देखेको हुँ । चन्द्रकान्त पल्टेको ४ गज फरकमा गञ्जबहादुर उभिएको देखेको हुँ । गञ्जबहादुरका हातमा लाठी भएको र कुटेको देखिनसमेत बिलबहादुर थापा क्षेत्रीको ०२९।१।३० को बयान ।
१२. ०२९ साल पुस ५ गते गौरा भन्ने ठाउँमा देवाली मेला हेर्न म सो ठाउँमा गएको थिएँ । गञ्जबहादुर चन्द्रकान्त पनि सोही मेलामा देखेको हुँ । उक्त ठाउँमा गञ्जबहादुर र चन्द्रकान्तको झगडा भएको थियो । करीब ३ हात जतिको लाठीले चन्द्रकान्तको शरीरमा ३ चोट गञ्जबहादुरले प्रहार गरेपछि सो चोटको पीरले जमिनमा लडेपछि लाठी प्रहार गरेको देखिनँ । लाठीबाहेक अरू हतियार थिएन । चन्द्रकान्तलाई पछि बोकी घरमा लगेपछि चन्द्रकान्तको मृत्यु भएको हो भन्नेसमेत झुपबहादुर थापाको ०३०।१।२० को बयान ।
१३. २०२९ साल पुस ५ गते गौरा भन्ने ठाउँमा मेला हेर्न गएको थिएँ । गञ्जबहादुर र चन्द्रकान्त पनि जानुभएको थियो । करिव ५ बित्ता ३ हात लामो लाठी गञ्जबहादुरको हातमा समाई चन्द्रकान्तलाई ४ चोट हान्नुभएको सोही चोटबाट चन्द्रकान्तको मृत्यु भएको ठहराउँछु भन्नेसमेत त्रिमान थापा क्षेत्रीको बयान ।
१४. ०२९ साल ५ पुस गते गौरा भन्ने ठाउँमा गएको थिएँ । चन्द्रकान्त गञ्जबहादुर सोही ठाउँमा जानुभएको थियो । चन्द्रकान्तलाई गञ्जबहादुरले लाठीले हानेको मैले देखेको हुँ । लाठीबाहेक अरू हतियार थिएन । चन्द्रकान्त गञ्जबहादुरको कुटाइको चोटपीरले मरेको हुन भन्नेसमेत नरबहादुर थापाको बयान ।
१५. ०२९ साल पुस ५ गतेका दिन म गौरा भन्ने ठाउँमा गएको थिएँ । चन्द्राकान्त गञ्जबहादुर पनि त्यहीं थिए । गञ्जबहादुरले चन्द्रकान्तलाई हानेको देखेको हुँ । लाठीबाहेक गञ्जबहादुरको हातमा अरू हतियार थिएन । चन्द्रकान्त गञ्जबहादुरको चोटबाट मर्नुभएको हो भन्नेसमेत छविलाल थापाको बयान ।
१६. ०२९ साल पुस ५ गतेका दिन गौरा भन्ने ठाउँमा गएको थिएँ । प्र.पं.गञ्जबहादुर र चन्द्रकान्त पनि सोही ठाउँमा हुनुहुन्थ्यो । गञ्जबहादुरका हातमा अं.४ हात लामो लाठी थियो । लाठीले चन्द्रकान्तलाई कुटपिट गरी पिटाइको चोटबाट चन्द्रकान्तको मृत्यु भएको हो भन्नेसमेत विलबहादुर सेन ठकुरीको बयान ।
१७. ०२९ साल पुस ५ गते गौरा भन्ने ठाउँमा मेला हेर्न गएको थिएँ । गञ्जबहादुर र चन्द्रकान्त पनि सोही मेलामा थिए । झगडा भएपछि गञ्जबहादुरले २ हात जति लामो लाठीले ४।५ चोट चन्द्रकान्तलाई हानेको मैले देखें । ५ गतेकै राती चन्द्रकान्तको मृत्यु भएको हो भन्नेसमेत गम्भिर थापाको बयान ।
१८. ०२९ साल पुस ५ गते गौरा भन्ने ठाउँमा मेला हेर्न गएको थिएँ । गञ्जबहादुर चन्द्रकान्तको टाउकोमा ४ चोट प्रहार गरेपछि जमिनमा लडे । सो चोट पीरले चन्द्रकान्तको मृत्यु भएको हो भन्नेसमेत दलबहादुर चन ठकुरीको बयान ।
१९. ०२९ साल पुस ५ गते गौरा भन्ने मेलामा झगडा भइरहेको मैले टाढैबाट सुनेको हुँ । गञ्जबहादुरले चन्द्रकान्तलाई ४ हात लामो लाठीले चन्द्रकान्तमाथि प्रहार गर्नुभयो । गञ्जबहादुरकै कुटाइको चोट पीरले चन्द्रकान्तको मृत्यु भएको हो भन्नेसमेत पुरुषोत्तम शर्माको बयान ।
२०. ०२९।९।५ का दिन गौरा भन्ने ठाउँमा मेला हेर्न गएको थिएँ । चन्द्रकान्त गञ्जबहादुर पनि मेलामै जानुभएको थियो । गञ्जबहादुर र चन्द्रकान्तको झगडा भएको थियो र गञ्जबहादुर हातमा भएको मुठीभरको लाठीले ४ चोट हान्दा चन्द्रकान्त जमिनमा लड्नुभयो । सो चोटको पीरबाट चन्द्रकान्तको मृत्यु भएको भन्नेसमेत नन्दलाल सुवेदिको बयन ।
२१. ०२९।९।५ का दिन गौरा भन्ने ठाउँमा चन्द्रकान्तको र गञ्जबहादुरको झगडा भएको थियो । कुनै विषयमा झगडा भएको हो मलाई थाहा थिएन । किमबहादुर दौड्दै जानुभएपछि चन्द्रकान्तलाई छुट्याइदिन्छु भनी पुजारीको हातको खुकुरी मागेको थिएँ । खुकुरी दिएनन । मन्दिरभित्र रहेको मुठीभरको लाठी हातमा समाई चन्द्रकान्तको पछाडितर्फबाट गञ्जबहादुर आई चन्द्रकान्तलाई टाउको समेतमा ४ चोट हान्नुभयो । कुटाइको पीरबाट चन्द्रकान्तको मृत्यु हुनगएको हो भन्नेसमेत जोगप्रसाद सुवेदीको बयान ।
२२. ०२९।९।५ गतेका दिन गौराभन्ने ठाउँमा गञ्जबहादुर र चन्द्रकान्तलाई ४ चोट लाठीले हान्नु भयो । सोही चोटपीरले चन्द्रकान्तको मृत्यु भएको हो भन्नेसमेत नन्दलाल सुवेदीको बयान ।
२३. ०२९।९।५ गतेका दिन गौरा भन्ने ठाउँमा चन्द्रकान्त गञ्जबहादुर थिए । सो ठाउँबाट म ३० गज टाढा थिएँ । मुठीभरको ५ वित्ता लामो लाठीले चन्द्रकान्तलाई ४ चोट हान्दा चन्द्रकान्त जमिनमा लडे सोही चोट पीरबाट चन्द्रकान्तको मृत्यु भएको हो भन्नेसमेत वेदराज सुवेदीको बयान ।
२४. ०२९।९।५ गतेका दिन गौरा भन्ने ठाउँमा मसमेत चन्द्रकान्त गञ्जबहादुर समेतका मानिसहरु त्यहीँ थियौं । प्र.पं.गञ्जबहादुरले चन्द्रकान्तलाई मार्छु भनी लाठीले हानेको थिए । गञ्जबहादुरको पिटाइको चोटको पीरले चन्द्रकान्त आफ्नै घरमा मृत्यु भएको हो भन्नेसमेत रुद्रबहादुरको बयान ।
२५. ०२९ साल पुस ५ गतेका दिन गौरा भन्ने ठाउँमा देवाली पूजा हुने ठूलो मेला लागेको हुनाले रुद्रबहादुरसमतेका मानिस मेला हेर्न गएका रहेछन । प्र.पं.गञ्जबहादुर भेट भयो । गञ्जबहादुरसमेतका ८ जना मानिसले लाठा ढुड्डाले हानी चोट पुर्याई ०२९।९।५ गतेको राती ११ बजे चन्द्रकान्तको मृत्यु भएको हो भन्नेसमेत भीमकान्तको बयान ।
२६. बुझिएका किमबहादुरसमेतका मानिसले प्रहरीमा र यस अदालतसमेतका कागज बयान समतेबाट चुनाउसम्बन्धी रिसइवीबाट प्र.पं.गञ्जबहादुरले लाठीले कुटपिट गरी सोही कुटपिटकै चोटले गञ्जबहादुरले चन्द्रकान्तलाई ज्यान मारेको देखिन ठहर्न आएकाले प्रतिवेदन दावीबमोजिम चन्द्रकान्तलाई गञ्जबहादुरले ज्यान मारेको ठहर्छ भन्नेसमेत सुरु रोल्पा जिल्ला अदालतको जाहेरी फैसला रहेछ ।
२७. गञ्जबहादुरको बाबुसँग समेत धेरै वर्ष अगाडिदेखि कहिले तालुकदारी सम्बन्धमा कहिले अन्य मुद्दाको सम्बन्धमा र बराबर प्रधानपञ्चको चुनावमा समेत अदालत परिरहेकोमा झन ०२९।९।५ का दिन पछाडिबाट ढुड्डा बर्साई चन्द्रकान्तका तर्फबाट पहिले चोट छाडेपछि रिसले लाठी चार पाँच चोटी गञ्जबहादुरले चन्द्रकान्तलाई हानेको र हान्नुभन्दा पहिले मार्छु भनेको नमारी छोड्दिन भनी रिसले मर्नेसम्मको कडा चोट पारी हानेको समेत सरजमिनहरुको लेखाई देखिनाले सो चोटपीरबाट उसै दिन चन्द्रकान्त मरेको देखिएपछि अभियुक्त गञ्जबहादुरले रिसइवीबाटै हानेको चोटबाट मरेको हो भन्ने कुरा सन्देहजनक देखिन आएन । यसमा ज्यानसम्बन्धी १३ नं. मा ज्यान मार्ने गैर कुरा गर्दा उसबखत ऐनका म्यादभित्र ज्यान मारेमा सो ज्यान मार्नेलाई देहायबमोजिम सजाय गर्नुपर्छ भन्ने र देहायको ३ दफामा लाठा ढुड्डाले कुटी हानी ज्यान मारेमा त्यसलाई सर्वस्वसहित जन्मकैद हुने व्यवस्था गरेको देखिनाले निज अभियुक्त गञ्जबहादुरले रिसइवीले नै हानेमारेको ठहर्याई ऐनबमोजिम सर्वश्वसहित जन्मकैद गर्ने गरी छिनेको रोल्पा जिल्ला अदालतको इन्साफ मनासिव देखिन्छ भन्नेसमेत सुदुर पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला ।
२८. पुनरावेदक गञ्जबहादुर आफूले चोट छाडेमा इन्कार गर्छन् तापनि आफूलाई कुटाई हुँदा गञ्जबहादुरलाई रिस उठ्नु स्वाभाविकै अवस्था पर्न आउँछ र वारदात देख्ने सरजमिनका मानिसको लेखाइबाट गञ्जबहादुरले नै लाठीले चन्द्रकान्तलाई कुटेको र सो कुटाई चोटबाट चन्द्रकान्त ढिस्काबाट लडी तल खसेको समेत देखिएकोले पुनरावेदकले चोट नछाडेको भन्न मिलेन पुनरावेदककै चोटबाट चन्द्रकान्तको मृत्यु भएको ठहराएको इन्साफ क्षे.अ.को मनासिव छ । सजायका हकमा ज्यान मार्ने मनसायबाट वारदात भएको नभई जात्रामेलामा झगडा कुटपिट हुँदा लागेको चोटबाट मर्ने चन्द्रकान्त ढिस्कोबाट लडी तल खसी सोही चोटपीरबाट मरेको हुँदा वारदातको अवस्थाले ज्यानसम्बन्धीको १४ नं. बमोजिम सजाय हुन उपयुक्त ठहरिएकोले ज्यानसम्बन्धीको १३ को दफा ३ बमोजिम सर्वश्वसहित जन्मकैदको सजाय गर्ने गरेको सुरुको सदर गरेको सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिलेको देखिएन । थुनिएको मितिदेखि कैद कट्टा हुने गरी गञ्जबहादुरलाई ज्यानसम्बन्धीको १४ नं. बमोजिम कैद वर्ष १० हुने भन्ने मिति ०३३।९।३।६ को डिभिजन बेञ्चको फैसला ।
२९. निवेदक प्रतिवादी तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवालीले मर्ने चन्द्रकान्तको छोराहरु उपर निवेदकले दिएको कुटपिट मुद्दाबाट पनि चन्द्रकान्तको तर्फबाट भीडबाट भएको ढुड्डाको बौछारको चोटबाट भीरको डिलमा बसेको चन्द्रकान्तलाई लागी मरेको भन्ने देखिन्छ । लास प्रकृतिमा उल्लिखित घा चोट पनि लाठीको चोट नभई ढुड्डाको चोट दखिनाले समेत निवेदक प्रतिवादी निर्दोष छ । सफाई हुनुपर्ने भन्नेसमेत र विपक्षी वादी तर्फबाट खटि आउनुभएको विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्सालले व्यहोरा साँचो भए मुद्दा दोहर्याइदिनु भन्ने हुकूम प्रमांगी बक्स भइआएको छ । निवेदकले मुद्दाको तथ्य लुकाई फरक पारी निवेदन दिएको व्यहोरा झुठ्ठा हुँदा खारेज हुनुपर्छ र गञ्जबहादुर पनि वारदातमा सामेल भएकै देखिने लास प्रकृति मुचुल्काबाट ४ इञ्ची लामो टाउकोमा घा चोट देखिएकै हुँदा गञ्जबहादुरले लाठीबाट हानेको चोटले मरेको भन्ने देखिएकोले डिभिजन बेञ्चको इन्साफ सदर हुनुपर्छ भन्नेसमेत वहस प्रस्तुत गर्नुभएको छ ।
३०. यसमा निर्णयतर्फ विचार गर्दा प्र.गञ्जबहादुरले मर्ने चन्द्रकान्तलाई लाठीले प्रहार गरेको चोटले मर्न गएको ठहराई डिभिजन बेञ्चबाट निर्णय भएको उपर मुद्दा दोहर्याइपाउँ भन्ने निवेदक प्रतिवादी गञ्जबहादुरको निवेदनमा बक्स भई आएको हुकूम प्रमांगीबमोजिम मुद्दा दोहोरिएको प्रस्तुत मुद्दामा म निर्विरोध हुने मानिसलाई डिल्लीबहादुर उम्मेद्वार बनाई दुःख पुर्यायो । प्र.पं.म सफल गरिसकें छोरा किमबहादुरलाई मास्टरबाट निकाला गरेकोले मलाई इवी चलिरहेको छ भन्ने गञ्जबहादुरले भनेबाट वादविवाद हुँदा बाबा चन्द्रकान्तलाई लाठी ढुड्डाले कुटपिट गरी सोही चोटपीरले मृत्यू भएको भन्ने मर्नेको छोरा यमबहादुरको जाहेरीमा उल्लेख भएको । चन्द्रकान्तलाई लाठी ढुड्डाले हानी मैले मारेको होइन । मलाई ढुड्डा लाठा प्रहार गर्ने डिल्लीबहादुर समेतले हनाएको थियो । तिनीहरुकै ढुड्डा हनाइबाट चन्द्रकान्तलाई लाग्न गई घायल भई सोही पीरले मर्न गएको भन्नेसमेत प्र.गञ्जबहादुरको अदालतमा बयान भएको र बुझिएका सरजमिनबाट समेत मर्ने चन्द्रकान्त र निवेदक प्र.गञ्जबहादुर समतेको मेलामा झगडा, कुटपिट भएको भन्ने देखिन आएको छ । अब चन्द्रकान्त कसको चोटबाट मर्न गएको रहेछ भन्नेसमेत इन्द्रलाल सुवेदी १, जोगप्रसाद सुवेदी १, नन्दलाल सुवेदी १, पुरुषोत्तम शर्मा १, दलबहादुर चन १, गम्भिर थापा १, छविलाल थापा १, नरबहादुर थापा १, त्रिमान थापा १, झुपबहादुर थापा १, वेदराज सुवेदी १, समेत ११ जनाको एक मिलानको किटानी बयान भएबाट मर्ने चन्द्रकान्तलाई निवेदक प्रतिवादी गञ्जबहादुरले प्रहार गरेको भन्ने प्रष्ट देखिन आएको छ । लास प्रकृति मुचुल्काबाट पनि मर्ने चन्द्रकान्तको टाउको पछाडि टाउकोमा डेढ इञ्ची लम्बाई आधा इञ्ची चौंडाई घाउ भएको सो घाउनेर टाउकोको हङ्गी फुटेको गहिराई आधा इञ्ची भएको भन्ने उल्लेख भएको अरू लाठीको प्रकृतिमा मिलान हुनेजस्ता विभिन्न घा चोट पनि भएको देखिएको समेतबाट निवेदक प्रतिवादी गञ्जबहादुरले लाठी प्रहार गरेको चोटबाट नै निज चन्द्रकान्त मर्न गएको देखिन्छ ।
३१. निवेदक गञ्जबहादुरले चोट छाडी चन्द्रकान्त मर्न गएकोमा इन्कार गरे तापनि मेलामा झगडा भई प्र.गञ्जबहादुरलाई पनि कुटपिट गरेको निजले कुटपिटमा उजूर गरेको प्रमाण मिसिलबाट देखिन्छ । त्यसरी मेलामा वादविवाद उठी झगडा भई कुटपिट हुन गएकोले ज्यान मार्ने मनसायले कुटपिट गरेको भन्ने देखिन नआई आफूलाई कुटपिट गरेको कुटाइको रिसको वेगले प्र.गञ्जबहादुले लाठीले प्रहार गरेको चोटबाट चन्द्रकान्त मर्न गएको ठहराई निवेदक प्र.गञ्जबहादुरलाई ज्यानसम्बन्धीको १४ नं. बमोजिम कैद वर्ष १० दश गर्ने ठहराएको डिभिजन बेञ्चको ०३३।९।३।६ को इन्साफ मनासिव ठहर्छ । यो मुद्दा किनारा भएको जनाउ थुनामा रहेको निवेदक प्र.गञ्जबहादुरलाई पठाइदिने र जानकारी निमित्त यो निर्णयको प्रतिलिपि म.न्या. को कार्यालयमा पठाई नियमबमोजिम बुझाइदिनु ।
हामीहरुको सहमति छ ।
प्र.न्या. नयनबहादुर खत्री,
न्या. सुरेन्द्रप्रसाद सिंह
इति सम्वत् २०३५ साल मार्ग ६ गते रोज ३ शुभम् ।