December 1, 1978
Created by nepalarchives

निर्णय नं. ११८७ – जग्गाबाली लुटपिट

निर्णय नं. ११८७     ने.का.प. २०३५ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री हेरम्बराज सम्वत् २०३४ सालको...

निर्णय नं. ११८७     ने.का.प. २०३५

फुल बेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री

माननीय न्यायाधीश श्री वासुदेव शर्मा

माननीय न्यायाधीश श्री हेरम्बराज

सम्वत् २०३४ सालको दे.फु.नं. १७

फैसला भएको मिति : २०३५।८।१६।६ मा

निवेदक : वि.न.पं. वडा नं. ४ बस्ने ताराकुमारी पाण्डेको मु.स.गर्ने विश्वराज पाण्डे

विरुद्ध

विपक्षी : जि. मोरङ विराटनगर न.पं. वडा नं. १ बस्ने वीरबहादुर थापा क्षेत्री समेत

मुद्दा : जग्गाबाली लुटपिट

(१)   आफ्नो सीमानाभित्र नपरेको जग्गालाई आफ्नो हकको भनी दावी गरेको पुग्न नसक्ने ।

            जग्गामा नै हक नपुग्ने भएपछि हक नपुग्ने जग्गाको बाली लुटपिट गरेको भन्नेदावी नलाग्ने ।

(प्रकरण नं. १५)

निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी

विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल

फैसला

            न्या. वासुदेव शर्मा : प्रस्तुत मुद्दा डिभिजन बेञ्चको निर्णय दोहर्‍याई पाउँ भनी मीनराजको मुद्दा सकार गर्ने ताराकुमारी मरी मु.स.गर्ने वादी विश्वराजको निवेदनमा यसमा व्यहोरा साँचो भए वीरबहादुर थापाक्षेत्री समेतसँगको त्यस अदालतबाट ०३३।६।७।५ मा छिनिएको जग्गाबाली लुटपिट मुद्दाको मिसिल झिकी फुल बेञ्चबाट दोहर्‍याई हेरी कानूनबमोजिम गरी छिनिदिनु भन्ने श्री ५ महाराजाधिराजबाट बक्स भई आएका हुकूम प्रमांगीबमोजिम मुद्दा दोहरी निर्णयको लागि यस बेञ्चसमक्ष पेश हुन आएको रहेछ ।

            २.    मुद्दाको विवरण यसप्रकार छ : मोरङ वरियात मौजे वहेलबाठेसको मेरो नाउँ दर्ताको १८।३ जग्गाको बाली ०१४।९।२३ मा लुटपिट गरी लगेकोले दिलाइपाउँ भन्ने मीनराजको निवेदनमा ठाडै बुझिदिनु भन्ने १४।१०।१० को मो.वि.अपिलको आदेश भई मेरो फाँटको धान मन ८४।। लुटी मेरो विगाहा १८।३ र भाइ प्रयागराजको ५।।१।।४ समेतको खिचोला मेटाइपाउँ भन्नेसमेत मीनराज पाण्डेको ०१४।१०।१४ को बयान ।

            ३.    दावीको जग्गा मौडाहा कालाबजार मौजाको र ०४ सालमा रैतिहरुको नाउँमा हाल आवादी दर्ता भएको ५४ विगाहा जग्गा ०१४।१५ सालमा हामी र अरूसमतेले जिमिदार तालुकबाट रैतिबाट समेत राजीनामा गरी लिई बटैया कमाउन दिई आधा बुझाएका हुन । वादी झुठ्ठा हो भन्नेसमेत जङ्गबहादुरसमेतका प्रतिवादीहरुको बयान ।

            ४.    झगडा परेको जग्गा यो मौजाको हो भनी इन्साफ दिँदा मेठबन्दी सीमानासमेतमा इन्साफ हुन जाने र मौजाको जिमिदार पटवारीलाई झगडिया नतुल्याई मौजाको सीमानासमेतमा इन्साफ दिन नमिल्ने हुँदा खारेज हुने भन्ने तत्कालिन विराटनगर अमिनीको फैसला ।

            ५.    मीनराजको पुनरावेदन परेकोमा नाप नक्सा प्रमाणसमेत बुझी ठहरेबमोजिम गर्नु भनी सुरु अदालतमा पठाउने भन्ने ०१७।३।२१।२ को जिल्ला अदालत धरानको फैसला ।

            ६.    बहेलवाठेस मौजामा पुरानो मीनराजको गाउँमा जग्गा दर्ता देखिएकोले हाल सर्भेमा नभएको लोकुन्दा नदी पूर्व बहेलबाठेस मौजा भएकोसमेतबाट उजूर खारेज हुने भन्ने ०२०।३।३० को विराटनगर इलाका अदालतको फैसला ।

            ७.    चित्त बुझेन भन्ने मीनराजको पुनरावेदन परेकोमा इन्साफ गर्नु भन्ने कोशी अञ्चल अदालतको फैसला ।

            ८.    वादी दावीबमोजिमको जग्गा खिचोला गरी धान मन ५८ प्र.वादी जङ्गबहादुरले लुटेको ठहर्छ । जङ्गबहादुरलाई जग्गातर्फ रु.१। लुटपिटतर्फ रु.१६४।३७ समेत र वीरबहादुर, बुद्धिबहादुर, अम्बरबहादुर, रुद्रबहादुरसमेतलाई रु.१। का दरले जरिवाना हुन्छ भन्ने मोरङ जिल्ला अदालतको ०२६।१०।५ को फैसला ।

            ९.    चित्तबुझेन भन्ने जङ्गबहादुरसमेतको पुनरावेदन परेकोमा निवेदनमा जग्गाको दावा नभएको र लेख्नेको सही नपरेको निवेदनबाट भएको आदेशमा जग्गातर्फ उजुरै नपरेको निवेदनमा लेखिएबाहेक कुरामा बयानमा पुर्‍याई ठाडो कारवाई गरेको सुरुको फैसला बदर हुने जग्गा तर्फको निर्णय बेगर बालीतर्फको खारेजहुने भन्ने को.अं.अ.को ०२८।५।१८।६ को फैसला ।

            १०.    चित्त बुझेन भन्ने ताराकुमारीको पुनरावेदन परेकोमा वादीले दिएको निवेदन तत्कालिन मोरङ गोश्वारामा परेको भए पनि कार्यक्षेत्र बाहिरको विषय भनी चलानीसाथ मोरङ विराटनगर अपिलमा गएको तत्कालिन मोरङ विराटनगर अपिलबाट बुझ्ने व्यहोराको आदेश तोक भई सोबमोजिम वादीको बयान लिई मुद्दा सुरु भएको हुँदा जग्गा खिचोलातर्फको वादी मौकैदेखि परेको देखिन आयो भन्दै वादी दावीको जग्गा वादीको ठहराई छिनेको मोरङ जि. अ.को इन्साफ मनासिव ठहर्ने, जग्गातर्फ उजूर नपरेको, निवेदनमा लेखिएबाहेकका कुरा बयानमा घुसाई ठाडो कारवाई चलाएको हुँदा तहकिकात गर्न नपरी खारेज हुन्छ भनी गरेको कोशी अं.अ.को फैसला बदर हुने ठहर्छ भन्ने पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला ।

            ११.    पुनरावेदनको अनुमति पाउँ भन्ने प्रतिवादीको निवेदन परी अनुमति भई डिभिजन बेञ्चबाट निर्णय हुँदा गोश्वारामा निवेदन दर्ता भई कारवाई चली पछि गोश्वाराको पत्रबमोजिम मो.वि.अपिलमा गई सो मो.वि.अपिलले विराटनगर अमिनीका नाउँमा ठाडै बुझी ऐनसवाल बमोजिम गर्नु भन्नेसमेत तोक आदेश दिएकोबाट सोही निवेदनको आधारमा यो मुद्दा चल्दै आएको देखिन्छ । अदालतमा नै उजूर परी यो कारवाही चलेको नभई गोश्वारामा दिएको निवेदनको आधारमा चलेको देखिएकोले निवेदक मुनिलाल गोल्छा विपक्षी थनचन्द्र राईसमेत भएको दे.फु.नं. ७९ को जिरायत जग्गा मुद्दामा ०३०।५।२६ मा फुल बेञ्चले प्रतिपादित गरेको सिद्धान्तबमोजिम रीतपूर्वक अदालतमा फिराद नगरेकोले खारेज गर्नुपर्ने, पूर्वाञ्चल क्षेत्रीय अदालतले इन्साफ गरेको मिलेन । सो बदर हुने ठहर्छ । खारेज गर्ने गरेको कोशी अं.अ.को मनासिव छ भन्ने ०३३।६।७।५ को डिभिजन बेञ्चको फैसला ।

            १२.   निवेदक वादी तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारीले जग्गाको बाली काटी गाडामा राखेको बाली लुटे भन्ने दावी भएकोले जग्गाको हक बेहकको प्रश्न भएको छ । ९७ सालको सनदले अपिलले ठाडो बुझ्ने आदेश दिने व्यवस्था छ । सोअनुसार अपिल अदालतले तोक लागी हेरिएकोले खारेज हुन नसक्नेमा खारेज गरेको डिभिजन बेञ्चको मिलेको छैन भन्नेसमेत र विपक्षी प्रतिवादी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेलले ९७ सालको सनदको व्यवस्थाअनुसार अमिनीले हेर्नुपर्नेमा गोश्वाराले तोक लगाई पठाउनुपर्नेमा नभई अपिल अदालतमा पठाएकोमा अपिल अड्डाले तोक लागी अमिनीले हेरेको नमिलेको र ६ साल कार्तिक १७ गतेको सनदले विन्तीपत्र लेख्नेको सही हुनुपर्ने नभएको र मुद्दा गर्ने मीनराज मरी निजबाट बकस पाउनेले सकार गर्नुपर्ने नगरेको विश्वराजले सकार गरेकोमा कारवाई हुनु नपर्नेसमेत हुँदा खारेज गरेको सदर हुनुपर्छ भन्नेसमेत वहस प्रस्तुत गर्नुभएको छ ।

            १३.   यसमा निर्णयतर्फ विचार गर्दा विपक्ष जङ्गबहादुरसमेतका नाउँमा पूरा बाली दिलाइपाउँ भनी मीनराज पाण्डेले ०१ साल पुस २२ गते तत्कालिन विराटनगर गोश्वारामा चढाएको विन्तिपत्र चलानीसाथ मोरङ विराटनगर अपिलमा आई उक्त अपिल अड्डाले ठाडै बुझी ऐन सबालबमोजिम गर्नु भनी तोक लगाएअनुसार तत्कालिन विरानगर अमिनीमा मीनराज पाण्डेको सबूदसमेतलाई खुलाई ०१४।१०।२१ गते बयान गरेको भई सुरुमा अधिकार भएको विराटनगर अमिनीमा यो मुद्दा दायर भएको देखिएकोले अधिकारक्षेत्र बारे कुनै तर्क गरिरहनु आवश्यक हुँदैन।

            १४.   वादी मीनराजले भाइ प्रयागराजको हकमा पनि उजूरी निवेदनमा नलेखी वारेसनामा बेगर बयान गरेको त्यसतर्फ निवेदन परेकै नदेखिएको र प्रयागराजको वारेस मञ्जुरी नभएकोले कदमाहा तर्फ यस उजूरीबाट किनारा गर्न नमिल्ने हुँदा ऐनबमोजिम नालेस गर्नुपर्छ भनी सो कदमाहालाई यसबाट किनारा नभएको व्यहोरा सुनाइदिनु भनी कोशी अञ्चल अ.बाट ०२३।२।१२।४ मा फैसला भएको रहेछ । सो फैसलाउपर पुनरावेदन परेको नभई सोही फैसलाबमोजिम जिल्ला अदालतमा मिसिल गएको हुँदा कदमाहातर्फको बाली नपाउने भन्ने बोली राखी मोरङ जिल्ला अदालत विराटनगरबाट फैसला भएको देखिएको हुँदा कदमाहाको जग्गामा नै उजूर नलाग्ने भएपछि त्यसको बालीमा ठहर गर्नुपर्ने प्रयोजन दखिएन ।

            १५.   हुन त जङ्गबहादुरले जग्गामा हक पुगेकोले बाली खाएको हो भनी सावित भएको छ । तापनि बाली विषयमा किनारा गर्नुपर्दा जग्गा विषयमा किनारा गर्नुपर्ने भएको हुँदा मीनराजले आफ्नो दर्ताको भनी दावी गरेको २००४ सालका तोकसदर मो.वि.मालका पूर्जीबमोजिम सुवेदार रत्नबहादुरका घरले उत्तर जङ्गलले पूर्व लोहन्द्रा दिपछिम मोतिपुर चिनामारिसे दक्षिणको विगाहा १८।३ दावी गरेकोमा वादीको बहेलवाठेस मौजा लोहन्द्रा नदीदेखि पूर्वतर्फ रहेको यस भएको मेठबन्दी नक्कलहरुबाट देखिएको वादीले नै झगडा परेको जग्गाको कोशी अञ्चल अदालतबाट भएको नक्सा भनी पेश गरेको नक्सा नक्कलबाट पनि लोहन्द्रा नदी पश्चिममा झगडा परेको जग्गा र सो लोहन्द्रा नदी पूर्वमा वादीको बहेलवाई मौजा देखिएकोले समेत आफ्ना सीमानाभित्र नपरेको जग्गालाई आफ्नो हकको भनी वादीले दावी गरेको वादी दावी पुग्न सक्दैन । जग्गामा नै वादीको हक नपुग्ने भएपछि हक नपुग्ने जग्गाको बाली लुटपिट गरे भन्ने वादी दावी नपुग्नेसमेत ठहर्छ । सोबमोजिम निर्णय गर्नुपर्नेमा नगरी वादी दावी खारेज गर्ने गरेको सम्म डिभिजन बेञ्चको ०३३।६।७।५ को इन्साफ मिलेको देखिएन । तपसीलको कलममा तपसीलबमोजिम गरी मिसिल नियमबमोजिम बुझाइदिनु ।

 

तपसील

वादी मीनराजको जग्गातर्फ विगो नखोली मुद्दा दायर गरेको हुँदा तत्कालिन ज.मि.को २७ नं. ले रु.१। मीनराजको हाल मु.स.गर्ने विश्वराजलाई लाग्छ । वारेस हुँदा कानूनबमोजिम असुल गर्नु भनी कानूनबमोजिम लगत दिने ….१

मुद्दा दोहर्‍याएबापतमा लाग्ने कोर्टफी निवेदक वादीबाट दाखिल भएकोले केही गर्नु परेन……………………….२

 

हामीहरुको सहमति छ ।

 

प्र.न्या. नयनबहादुर खत्री,

न्या. हेरम्बराज

 

इति सम्वत् २०३५ साल मार्ग १६ गते रोज ६ शुभम् ।