निर्णय नं. ४०१९ – प्रतिषेध
निर्णय नं. ४०१९ ने.का.प. २०४६ अङ्क १२ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४६ सालको रिट नं....
निर्णय नं. ४०१९ ने.का.प. २०४६ अङ्क १२
संयुक्त इजलास
सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
सम्वत् २०४६ सालको रिट नं. ५९५
आदेश भएको मिति : २०४६।११।२२।२ मा
रिट निवेदक : चितवन जिल्ला, पदमपुर गा.पं. वडा नं. ४ बस्ने रामप्रसाद घिमिरे
विरुद्ध
विपक्षी : नेपाल बैंक लिमिटेड श्रीपुर शाखा, वीरगन्जसमेत
विषय : प्रतिषेध
(१) कर्जा लिने निवेदक हो होइन वा कुन व्यक्तिले बैंकबाट कर्जा लिएको हो र कुनले होइन भनी तथ्यको विवादमा प्रवेश गरी रिट क्षेत्रबाट तथ्यको निराकरण गर्न नमिल्ने ।
(प्रकरण नं. १०)
रिट निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री मुक्ति प्रधान
प्रत्यर्थीहरु तर्फबाट : विद्वान का.मु. सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ र विद्वान अधिवक्ता श्री प्रकाश वस्ती
आदेश
प्र.न्या. धनेन्द्रबहादुर सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ :–
२. म निवेदकले चितवन जिल्ला पदमपुर गा.पं. वडा नं. ३(क) मा कि.नं. ३९ को क्षेत्रफल १–०–९, कि.नं. ३३४ को ०–१–० जग्गा राजीनामा गरी लिई त्यहीँ बसोवास भोग चलन गरी आएको छु । मैले कुनै व्यक्ति वा श्री ५ को सरकारको स्वामित्व रहेको कुनै पनि संघ संस्थाबाट ऋण कर्जा लिएको छैन र मेरो नामबाट वाणिज्य विभाग तथा उद्योग विभागमा कुनै किसिमको प्राइभेट फर्म र कम्पनी समेत अद्यावधी दर्ता गराई व्यापार व्यवसाय संचालन गरेको छैन । प्रत्यर्थी नेपाल बैंक लिमिटेड श्रीपुर वीरगञ्ज शाखा र प्रत्यर्थी रामप्रसाद घिमिरे कम्पनीको तर्फबाट अधिकार प्राप्त रामप्रसाद घिमिरेको बीचमा कर्जा धितोको तमसुक कागज गरी लिनु दिनु गरेका रहेछन् । सो तमसुकमा निर्दिष्ट भाका भित्र प्र.रामप्रसाद घिमिरेले चुक्ता गर्न नआएकोले धितो लिलाम गर्दा उपर भएको रु. कट्टा गरी बाँकी साँवा व्याज असूल उपर गरी पाउँ भनी तमसुक गर्ने कम्पनीको नाउँमा र कम्पनीको तर्फबाट कारोवार गर्ने वी.न.पं. वडा नं. १० गहवा बस्ने रामप्रसादको नाउँमा मुद्दा दायर गर्नु पर्नेमा कम्पनीको सम्बन्धमा केही उल्लेख नगरी जि. चितवन पदमपुर पञ्चायत वडा नं. ४ बस्ने भनी ठेगाना उल्लेख गरी रामप्रसाद घिमिरेको नाउँमा प्रत्यर्थी बैंकबाट नारायणी अञ्चल अदालतमा लेनदेनमा फिराद गरी एकतर्फी कारवाही भई ना.अं.अ. बाट वादी दावी बमोजिम साँवा ब्याज भराई पाउने ठहरी २०३९।८।१४ मा फैसला भएको रहेछ । सो फैसला बमोजिम प्रत्यर्थी पर्सा जिल्ला अदालत मार्फत चितवन जि. अ.बाट जायजात तायदात गर्न डोर खटी जाँदा सो प्रतिवादी रामप्रसाद घिमिरेको घरद्वार फेला नपरेको र वादीको दर्खास्त अनुसारको धनमाल समेत प्रतिवादीको नाउँमा नभएको भनी पदमपुर पञ्चायतबाट २०४२।७।१६ मा भई आएको मुचुल्का बमोजिम लगत कट्टा गरी तामेलीमा राखी दिने गरी पर्सा जि. अ.बाट २०४३।३।३१ गते पर्चा खडा गरी कारवाही टुड्डिएको रहेछ । त्यसपछि प्रत्यर्थी बैंकले म निवेदकका नाममा दर्ता भएको पदमपुर गा.पं. वडा नं. ३(क) कि.नं. ४२५ को ०–१८–० र कि.नं. ३३४ को ०–१–० जग्गा समेत रामप्रसाद घिमिरे कम्पनीको तर्फबाट कारोवार गरी कर्जा लिने प्र.रामप्रसाद घिमिरेको जग्गा भन्ने अनुमान गरी मलाई कुनै थाहा जानकारी नै नदिई सो मेरो स्वामित्वको २ कित्ता जग्गा लुकाई राखेको भन्ने काल्पनिक तथ्य सृजना गरी बिगो भरी भराउ गरी पाउँ भनी दर्खास्त गरेका रहेछन् । सोही आधारमा चितवन जि. अ.बाट डोर खटिई गई मलाई थाहा जानकारी नदिई स्थानीय व्यक्तिहरुलाई जम्मा गरी २०४६।३।३ मा प्रति कठ्ठा अधिकतम रु. ३५,०००।– र न्यूनतम रु. ३०,०००।– पञ्चकृति मूल्य कायम गरी लगेछन् । सो को नक्कल २०४६।३।२१ मा वारीस मार्फत सारी लिंदा थाहा पाएँ ।
३. म निवेदक २०३५ साल फाल्गुण महीनामा मात्र धादिङबाट चितवनमा बसाई सराई गरेको हुँ भने रामप्रसाद घिमिरे कम्पनीले त्यस अगावै २०३५।४।२९ मै कर्जा लिएको रहेछ । म निरक्षरी व्यक्तिले कर्जा नलिएको भन्ने कुरा सो तमसुकमा हस्ताक्षरको सहिछाप भएकोबाट पनि स्पष्ट हुन्छ । विपक्षी बैंकले ऋण दिंदा रामप्रसाद घिमिरे कम्पनीको अधिकार प्राप्त व्यक्ति भनी बीरगञ्ज न.पं. वडा नं. १० गहवा बस्ने रामप्रसाद घिमिरेलाई दिई तमसुक गरी लिएपछि निजबाटै असूल उपर गरी लिनु पर्नेमा म असम्बन्धित रामप्रसाद घिमिरेको नामको जग्गा जेथा देखाई मेरो सम्पत्ति लिलाम गर्न मिल्दैन । बिना आधार मेरो सम्पत्ति लिलाम बढाबढ गरी कर्जा असूल उपर गर्ने गरेको प्रत्यर्थी पर्सा जिल्ला अदालत र चितवन जिल्ला अदालतको काम कारवाहीबाट नेपालको संविधानको धारा १०(१), ११(२)(ङ) तथा धारा १५ समेतद्वारा प्रदत्त मौलिक हक हनन् भएकोले म निवेदकको सो २ कित्ता जग्गाबाट प्रत्यर्थी ने.बैं.लि.को बिगो भरी भराउको कारवाही नगर्नु भनी प्रत्यर्थीहरुका नाउँमा प्रतिषेधको आदेश जारी गरिपाउँ भन्ने समेतको रिटनिवेदन ।
४. यसमा के कसो भएको हो विपक्षीहरुबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नु भन्ने समेतको यस सर्वोच्च अदालत एक न्यायाधीशको इजलासबाट भएको आदेश ।
५. नारायणी अञ्चल अदालतको २०३९।८।४ को फैसला अनुसार प्रतिवादीको सम्पत्तिबाट बिगो भरी भराउ गरी पाउँ भनी ने.बैं.लि. श्रीपुर वीरगञ्जको दर्खास्त परी पर्सा जिल्ला अदालतबाट मिसिल प्राप्त हुन आएको र यस चितवन जि. अ.बाट निज रामप्रसाद घिमिरेको नाउँमा जारी भएको ३५ दिने म्याद तामेल हुँदा घरद्वार पत्ता नलागेको भनी २०४६।१।१४ मा म्याद तामेल भएको । २०४६।३।२ मा पदमपुर गा.पं. वडा नं. ३(क) कि.नं. ४२५ को ज.वि. ०–१८–० र ऐ.कि.नं. ३३४ को ज.वि. ०–१–० रामप्रसाद घिमिरेको नाउँका जग्गा तायदात जायजातको मुचुल्का भई डोरबाट आएको । पर्सा जि. अ.बाट फैसला कार्यान्वयनको लागि मिसिल प्राप्त भई नियमानुसार गरिएको कार्य त्रुटिपूर्ण नहुँदा रिटनिवेदन खारेज गरी पाउँ भन्ने समेतको चितवन जिल्ला अदालतको लिखितजवाफ ।
६. गहवा वीरगञ्ज ठेगाना लेखाई रामप्रसाद घिमिरे भन्ने व्यक्तिले २०३५।४।२९ मा यस बैंकबाट रु. २७,७००।– कर्जा लिएका हुन् । व्यक्तिगत कर्जा लिंदा ल्याप्चे नलगाएको कारण रु. २०।– जरिवाना गरी निजबाट बैंकको साँवा ब्याज भरी पाउने गरी २०३९।८।१४ मा ना.अं.अ. बाट फैसला भएको हो । रामप्रसाद घिमिरे कम्पनी फर्मका तर्फबाट कर्जा लिए दिएको होइन । बैंकले फिराद दायर गर्दा नै चितवन जिल्ला पदमपुर गा.पं. वडा नं. ४ बस्ने रामप्रसाद घिमिरेको नाउँमा फिराद गरेको र सो म्याद २०३८।१२।२८ मा तामेल भई विपक्षीले म्याद गुजारी बसेका हुन् । बैंकको फिराद पत्रमा बी.न.पं. वडा नं. १० गहवामा डेरा गरी व्यवसाय गर्नु भएको बखत भनी स्पष्ट खुलाएकै छ । तहसीलका कर्मचारीले गरेको काममा अनियमितता भएमा दण्ड सजायँको ६१ नं. अनुसार उजूरी गर्न पाइने कानुनी व्यवस्था छ । रिटनिवेदन खारेज गरी पाउँ भन्ने समेतको ने.बैं.लि. श्रीपुर वीरगञ्ज शाखाको लिखितजवाफ ।
७. रिट निवेदकका विरुद्धमा नेपाल बैंक लिमिटेड श्रीपुर शाखाबाट चितवन जिल्ला पदमपुर गा.पं. वडा नं. ४ को ठेगाना देखाई फिराद दायर भएको सोही ठेगानामा निजका नाउँमा म्याद तामेल हुँदा शुरु म्याद नै गुजारी अ.बं. २०८ को कानुनी उपचार समेत समाप्त गरी रिट दिन आएको तथा बिगो भरी भराउ सम्बन्धी समस्त काम कारवाहीहरु कानुनसम्मत हुँदा रिटनिवेदन खारेज गरी पाउँ भन्ने समेतको पर्सा जिल्ला अदालतको लिखितजवाफ ।
८. नियम बमोजिम पेश हुन आएको प्रस्तुत रिटनिवेदनमा निवेदक तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री मुक्ति प्रधानले निवेदक रामप्रसाद घिमिरेले प्रत्यर्थी बैंकबाट कर्जा लिएको होइन । कर्जा नै नलिएको व्यक्तिबाट बिगो भरी भराउ हुन सक्दैन भन्ने समेतको बहस गर्नुभयो । प्रत्यर्थी चितवन जिल्ला अदालत समेतको तर्फबाट बहस गर्न खटिई आउनु भएका विद्वान का.मु. सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठले निवेदकका नाउँमा लेनदेन मुद्दा चल्दा नै म्याद तामेल हुँदा गुजारी बसेको तथा अर्कै रामप्रसाद घिमिरे छ भनी देखाउन समेत सकेको छैन भन्ने समेत र प्रत्यर्थी नेपाल बैंक लिमिटेड श्रीपुर वीरगन्ज शाखाको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री प्रकाश वस्तीले निवेदकले गहवा वीरगञ्ज डेरा गरी व्यवसाय गर्दा ऋण लिएको । निवेदक बाहेक अरु नै रामप्रसाद घिमिरेले ऋण लिएको भन्ने देखाउन नसकेको तथा रिट क्षेत्रबाट कुन रामप्रसाद घिमिरेले कर्जा लिएको हो भनी यकीन गर्न मिल्दैन भन्ने समेतको बहस गर्नुभयो।
९. प्रस्तुत रिटनिवेदनमा निवेदकका माग बमोजिमको आदेश जारी हुने हो होइन सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।
१०. यसमा निर्णयतर्फ हेर्दा वीरगन्ज नगरपञ्चायत वडा नं. १० गहवा स्थित रामप्रसाद घिमिरे कम्पनीका अधिकार प्राप्त व्यक्ति रामप्रसाद घिमिरेले विपक्षी ने.बैं.लि. श्रीपुर शाखा वीरगञ्जबाट कर्जा लिएको विषयमा नारायणी अञ्चल अदालतको फैसला बमोजिम चितवन जिल्ला पदमपुर गा.पं. वडा नं. ४ बस्ने निवेदक रामप्रसाद घिमिरेका नामको जग्गा लिलाम गरी बिगो भरी भराउ गर्ने भनी प्रत्यर्थी चितवन जिल्ला अदालत समेतले प्रारम्भ गरेको कारवाही रोकी निवेदकको सम्पत्ति लिलाम गर्ने काम कारवाही नगर्नु भनी प्रतिषेधको आदेश जारी गरी पाउँ भन्ने मुख्य रिटनिवेदन जिकिर रहेको पाइन्छ । रामप्रसाद घिमिरेले प्रत्यर्थी नेपाल बैंक लिमिटेड श्रीपुर शाखाबाट २०३५।४।२९ मा कर्जा लिएको भन्ने कुरामा विवाद देखिँदैन । प्रत्यर्थी बैंकले लेनदेन मुद्दामा फिराद गर्दा वीरगञ्ज न.पं. वडा नं. १० डेरा गरी व्यवसाय चलाई बसेको बखत ऋण लिएको भनी चितवन जिल्ला पदमपुर गा.पं. वडा नं. ४ बस्ने रामप्रसाद घिमिरेलाई विपक्षी बनाएको देखिन्छ । तर सो ऋण लिने व्यक्ति निवेदक रामप्रसाद घिमिरे होइन भन्ने रिट निवेदकको मुख्य कथन रहेको देखिन्छ । नारायणी अञ्चल अदालतमा लेनदेन मुद्दा पर्दा निवेदकको चितवन पदमपुर गा.पं. वडा नं. ४ बस्ने रामप्रसाद घिमिरे भन्ने नाममा म्याद तामेल भएको भन्ने देखिन्छ । ऋण लिने रामप्रसाद घिमिरे म होइन भनी नारायणी अञ्चल अदालत तथा बिगो भरी भराउ गर्ने चितवन जिल्ला अदालतमा निवेदक भनी गएको देखिएन । त्यस प्रकारको उजुरी परेको भए जिल्ला अदालतबाट कानुन बमोजिम हुने नै थियो । रिटनिवेदन तथा लिखितजवाफबाट लिलामको कारवाही चलेको तर लिलाम भइसकेको भन्ने देखिँदैन । प्रत्यर्थी बैंकबाट कर्जा लिने रामप्रसाद घिमिरे निवेदक हो होइन वा कुन व्यक्तिले बैंकबाट कर्जा लिएको हो र कुनले होइन भनी तथ्यको विवादमा प्रवेश गरी रिट क्षेत्रबाट तथ्यको निराकरण गर्न मिल्दैन । तसर्थ यसमा निवेदकका माग बमोजिमको आदेश जारी गर्न मिलेन । प्रस्तुत रिटनिवेदन खारेज हुने ठहर्छ । फाइल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. प्रचण्डराज अनिल
इति सम्वत् २०४६ साल फाल्गुण २२ गते रोज २ शुभम् ।