निर्णय नं. ४०१२ – उत्प्रेषण
निर्णय नं. ४०१२ ने.का.प. २०४६ अङ्क ११ एक न्यायाधीशको इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०४६ सालको रि.नं. १०२० आदेश भएको मिति : २०४६।१०।२९।१...
निर्णय नं. ४०१२ ने.का.प. २०४६ अङ्क ११
एक न्यायाधीशको इजलास
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
सम्वत् २०४६ सालको रि.नं. १०२०
आदेश भएको मिति : २०४६।१०।२९।१ मा
रिट निवेदक : काभ्रेपलाञ्चोक जिल्ला महेन्द्र ज्योती गा.पं. वडा नं. ७ बस्ने कविन्द्रबहादुर थापा
विरुद्ध
विपक्षी : निर्वाचन अधिकृत, का.प.जिल्ला शाखा, नेपाल परिवार नियोजन संघसमेत
विषय : उत्प्रेषण
§ निवेदक सदस्य रहेको संघ कानुनी अस्तित्व प्राप्त निकाय देखिन नआएकोले यस्ता निकायमा निहित रहेको निवेदकको हक कानुन प्रतिकूल हनन् भयो भन्न मान्न सारगर्मीत नहुने ।
(प्रकरण नं. ३)
रिट निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री विष्णुप्रसाद भट्टराई
आदेश
न्या. सुरेन्द्रप्रसाद सिंह : नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत भनी दायर हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण, तथ्य एवं निर्णय निम्नानुसार छ ।
२. म रिट निवेदक नेपाल परिवार नियोजन संघ काभ्रेशाखाको साधारण सदस्य हुँ । विधानको धारा १५(ङ) अनुसार शाखाको निर्वाचन प्रत्येक ४ वर्षको लागि हुने र धारा १४(घ) मा साधारण सभाको बैठकको सूचना २१ दिन अगावै दिनु पर्ने व्यवस्था भएको पाइन्छ धारा १६(क) मा निर्वाचन गोप्य मतदानद्वारा हुने र (ख) मा केन्द्रीय कार्य समितिले निर्वाचन अधिकृत नियुक्ति गर्न सक्ने व्यवस्था अनुसार २०४६ सालको निर्वाचन अधिकृतमा विपक्षी प्रमुख जिल्ला अधिकारीलाई नियुक्ति गरेको थियो । केन्द्रीय कार्य समितिले २०४६।२।१७ गते भित्र निर्वाचन सम्पन्न गर्नु भन्ने पत्र पठाएपछि निर्वाचन सम्पन्न गर्नु अघि साधारण सभा बोलाउनु पर्ने प्रावधान प्रतिकूल साधारण सभा बोलाइएन । मतदाता नामावली २०४६।८।३० मा प्रकाशित गरिएको भनिए तापनि शाखा कार्य समितिबाट मतदाता नामावली निर्वाचन अधिकृतलाई २०४६।९।१० गते मात्र उपलब्ध गराइएको देखिन्छ । यसै गरी २०४६।९।१ मा नामावलीमा दावी विरोध र ऐ.२ गते अन्तिम नामावली प्रकाशन भन्ने समेतका कुराहरु गलत र झुठ्ठो भएको भन्ने प्रष्ट छ । कथित निर्विरोध निर्वाचनद्वारा निर्वाचित भएको कार्य समिति केवल १० जनाको मात्र छ भने विधानतः सभापति र १० जना सदस्य र एकजना युवा सदस्य निर्वाचित हुनुपर्ने व्यवस्था छ । अतः उल्लेख गरिए अनुसार अवैधानिक र गैरकानुनी तवरले मिति २०४६।९।१७ मा भएको भनिएको ने.प.नि.सं. काभ्रेशाखाको निर्वाचन र त्यस सम्बन्धमा भएका अवैधानिक काम कारवाही उत्प्रेषणको आदेशद्वारा बदर गरी विधान बमोजिम पुनः निर्वाचन सम्पन्न गराउनु भनी विपक्षीहरुका नाउँमा परमादेश समेत जारी गरी पाउँ भन्ने समेत व्यहोराको रिटनिवेदन ।
३. नियम बमोजिम पेश हुन आएकोमा रिट निवेदक तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री विष्णु प्रसाद भट्टराईले प्रस्तुत गर्नु भएको बहस जिकिर समेत सुनी निवेदक माग बमोजिम विपक्षीहरुबाट लिखितजवाफ मगाउनु पर्ने हो होइन भनी हेरिंदा, निवेदक नेपाल परिवार नियोजन संघ काभ्रेशाखाको साधारण सदस्यको रुपमा रहेको, सो शाखाको मिति २०४६।९।१७ को निर्वाचन संघको विधान अनुकूल नभएकोले सो निर्वाचन बदर गरी पाउन प्रस्तुत रिटनिवेदन परी आएको पाइन्छ । निवेदक सदस्य रहेको संघ कानुनी अस्तित्व प्राप्त निकाय देखिन नआएकोले यस्तो निकायमा निहित रहेको निवेदकको हक कानुन प्रतिकूल हनन् भयो भन्ने मान्न सारगर्भीत नहुँदा, निवेदक माग बमोजिम विपक्षीहरुबाट लिखितजवाफ माग गर्ने देखादेखी त्रुटि नहुँदा जवाफ मगाउन आदेश जारी गर्न मिलेन । रिटनिवेदन खारेज हुने ठहर्छ । फाइल बुझाई दिनु ।
इति सम्वत् २०४६ साल माघ २९ गते रोज १ शुभम् ।