निर्णय नं. ४००८ – उत्प्रेषण
निर्णय नं. ४००८ ने.का.प. २०४६ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४६ सालको रिट नं....
निर्णय नं. ४००८ ने.का.प. २०४६ अङ्क ११
संयुक्त इजलास
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
सम्वत् २०४६ सालको रिट नं. १३५८
आदेश भएको मिति : २०४६।१०।२।२ मा
निवेदक : ल.पु.जि. गोदावरी गा.पं. वडा नं. ५ खहरे घर भई कर्मचारी संचयकोष शिक्षण तथा संघ संस्थान शाखाका सहायक (चौथो तहको कर्मचारी) मधुसुदन पौडेल
विरुद्ध
विपक्षी : कर्मचारी संचयकोष कार्यालय, सुन्धारा काठमाडौंसमेत
विषय : उत्प्रेषण
§ कर्मचारी सेवा शर्त नियमावली, २०४१ प्रकाशित भई रहेकोमा निवेदकलाई नोकरीबाट अवकाश दिंदा लोकसेवा आयोगको सामान्य सिद्धान्त मात्र लगाई बर्खास्त गरेको मिसिल संलग्न अवकाश पत्र प्रतिलिपिबाट देखिन आएको हुँदा आफ्नो नियमावली भई रहेकोमा सो उल्लेख नगरी निवेदकलाई बर्खास्त गर्ने गरिएको निर्णय र सो निर्णय उपर पुनरावेदन परी पुनरावेदन तहबाट भएको निर्णय समेत मिलेको नदेखिँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने ।
(प्रकरण नं. ७)
निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा
विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री चूडामणीराज सिंह मल्ल
अवलम्बित नजीर : देवेन्द्र ढकाल विरुद्ध नेपाल खाद्य संस्थान रिट नं. १२२८, मिति २०४६।६।९।२ मा प्रतिपादित सिद्धान्त ।
आदेश
न्या. हरगोविन्द सिंह प्रधान : नेपालको संविधान, २०१९ को धारा १६।१७ अनुसार दर्ता हुन आएको प्रस्तुत रिटनिवेदनको छोटकरी व्यहोरा यस प्रकार छ ।
२. म निवेदक प्रत्यर्थी कर्मचारी संचयकोष कार्यालयले लो.से.आ.को सामान्य सिद्धान्त, ०३५ को परिच्छेद २ को दफा ३ र ४ बमोजिम सो कार्यालयको सहायक पदमा ६ महीनाको परीक्षणकालीन नियुक्तिपत्र २०४४।१।२१ मा प्रदान गरेकोले पदीय काम कर्तव्य गरी आएको थिएँ । ६ महीनाको उक्त परीक्षणकाल समाप्त भइसकेकोमा निवेदकको काम सन्तोषजनक नदेखिएको भनी २०४४।१२।२६ गतेकोपत्रबाट अर्को एक अवधि थप गरी पुनः परीक्षण कालमा नै मेरो नोकरीलाई निरन्तरता प्रदान गरिएको थियो । पुनः थप गरिएको परीक्षणकालीन अवधिमा समेत आफ्नो काम गरी आएकोमा एकाएक प्रत्यर्थी एक नं. ले काम सन्तोषजनक नदेखिएको कारण देखाई लो.से.आ. सामान्य सिद्धान्त, २०३५ को परिच्छेद २ को दफा ४(१) बमोजिम २०४५।१।२० गतेको निर्णय अनुसार निवेदकलाई कोषको सेवाबाट हटाइएको भनी प्रत्यर्थी कर्मचारी प्रशासन विभागको नायब मुख्य अधिकृतज्यूबाट प्रेषित पत्र २०४५।१।२० गतेको पत्र मार्फत निवेदकलाई सूचित गरियो । सो निर्णयमा चित्त नबुझेको हुँदा संचालक समितिमा ऐनका म्याद भित्र पुनरावेदन गरेकोमा २०४५।१।२० गतेको निर्णय अनुसारको आदेश कायमै राखिएको भनी संचालक समितिबाट २०४५।२।२० मा भएको ठहर २०४५।११।२० मा हुलाकबाट प्राप्त गरें । एउटै परीक्षणकाल पूरा गर्नु पर्ने सहायक स्तरको कर्मचारीले सो पूरा गरी सकी अर्को पाँच महीना १५ दिन समेत व्यतित भइसकेको अवस्थामा काम सन्तोषजनक नभएको भनी अवकाश दिन कानुनतः मिल्दैन । अवकाश दिने कार्य दुराग्रही एवं पूर्वाग्रही पूर्ण रहन गएको हुँदा प्रत्यर्थीहरुले मलाई पदबाट हटाउने गरी अवकाश दिएको सम्बन्धमा गरिएको सूचना लगायत भए गरेको सम्पूर्ण कारवाही तथा आदेशहरु बदर गरी पुनः सेवामा यथावत बहाल गर्नु भन्ने परमादेशको आदेश जारी गरी पाउँ भन्ने समेत रिटनिवेदन जिकिर ।
३. यसमा के कसो भएको हो ? माग बमोजिमको आदेश किन जारी गर्नु नपर्ने हो ? विपक्षीबाट लिखितजवाफ मगाउनु भन्ने समेत २०४६।१।२६ मा एक न्यायाधीशको इजलासको आदेश ।
४. रिट निवेदकलाई कोषको सहायक पदमा ६ महीनाको परीक्षणकालमा २०४४।१।२१ मा नियुक्ति गरिएकोमा निजको काम सन्तोषजनक नभए पनि निजको क्षमता सुध्रन सक्दछ कि भन्ने लागि नियुक्ति दिने अधिकारीले सामान्य सिद्धान्तको परिच्छेद २ को दफा ४ को उपदफा (१) को प्रतिबन्धात्मक वाक्यांशको अधिकार प्रयोग गरी ६ महीनाको अर्को एक अवधिको लागि परीक्षणकाल थप गर्ने निर्णय गरे अनुसार कर्मचारी प्रशासन विभागले निवेदकलाई २०४४।१२।१६ मा पत्र दिइएकोमा निजको काम सन्तोषजनक नभएको र सो अवधि थप भएको समेत उल्लेख छ सो थप अवधिमा समेत निवेदकको काम सन्तोषजनक नदेखिएकोले सो थप अवधि भित्रै अर्थात २०४५।१।२० मा नियुक्तिको अधिकारीले सामान्य सिद्धान्तको परिच्छेद २ दफा ४ को उपदफा (१) को अधिकार प्रयोग गरी हटाउने निर्णय गरेका, कर्मचारी प्रशासन विभागको सोही मितिको पत्रबाट निवेदकलाई जानकारी गराइएको थियो । सो निर्णय उपर निवेदकको पुनरावेदन पर्दा २०४५।१।२० को निर्णय कायमै राखी सञ्चालक समितिबाट २०४५।८।२९ मा निर्णय भएको कर्मचारी प्रशासन विभागले २०४५।११।१५ को पत्रद्वारा निवेदकलाई जानकारी गराएको थियो । यस प्रकार सामान्य सिद्धान्तको व्यवस्था बमोजिम थप गरिएको परीक्षणकालको अवधि भित्र नै सामान्य सिद्धान्तमा उल्लेखित कार्य सम्पादन सन्तोषजनक नभएको आधारमा अधिकार प्राप्त अधिकारीले निर्णय गरी हटाएकोमा कुनै कानुनी त्रुटी भएको छैन । साथै यसरी परीक्षणकालको अवधि थप्दा वा थपिएको अवधि भित्र हटाउँदा कसैको कुनै दुराशय वा पूर्वाग्रह छैन । निवेदकको काम सन्तोषजनक नभएकै कारणले मात्र पहिले परीक्षणकालको अवधि थप गरिएको हो र पछि सो अवधि भित्र हटाइएको हो । निवेदकलाई नियुक्ति पत्रमा नै खुलाइए बमोजिम काम सन्तोषजनक नभएको कारण र आधारमा परीक्षणकाल थप गरिएको र सोही कारण रहँदा थप परीक्षणकालमा हटाइएको हो । तसर्थ निवेदकले शर्त पूरा गरेको छैन । प्रतिवाद गर्न नपाई प्राकृतिक न्यायका सिद्धान्त विपरीत भएको भन्ने जिकिर वा हकमा सामान्य सिद्धान्तको परिच्छेद ११ को दफा ८ खण्ड (ख) को उपखण्ड (१) ले पनि सफाईको मौका दिनु आवश्यक छैन । त्यसमा पनि सामान्य सिद्धान्तको परिच्छेद २ को दफा ४ को उपदफा (१) बमोजिम हटाउँदा विभागीय कारवाही हुने होइन । तसर्थ निवेदकको कुनै हक हितमा आघात परेको वा अपहरण भएको नहुँदा निवेदन खारेज गरी पाउँ भन्ने कर्मचारी संचयकोषको लिखितजवाफ ।
५. नियम बमोजिम पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत रिटनिवेदनमा निवेदक तर्फबाट बहसको लागि उपस्थित विद्वान अधिवक्ता श्री शम्भु थापाले मेरो पक्षलाई ६ महीनाको परीक्षणकाल नै पर्याप्त छ त्यसमा पुनः थप गर्नु पर्ने होइन । यदि थप गर्नु पर्ने नै भए पनि ६ महीना पुगेको मितिबाट थप गर्नु पर्नेमा सो नगरी परीक्षणकाल बढाउने अवधि छ भन्दैमा जहिलेसुकै पनि परीक्षणकाल थप गर्न पाउने अधिकार विपक्षीलाई छैन । त्यसमा पनि विपक्षी कार्यालयको आफ्नो छुट्टै नियमावली भएको भए पछि लो.से.आ. संस्थान सम्बन्धी सामान्य सिद्धान्त लगाएर मेरो पक्षलाई हटाउने गरी गरेको निर्णय त्रुटिपूर्ण र पूर्वाग्रही भएको हुँदा सो निर्णयपत्र बदर गरी नोकरी थामी दिने आदेश पाउँ भन्ने समेत जिकिर लिई गर्नु भएको बहस जिकिर र विपक्षी तर्फबाट बहसको लागि उपस्थित विद्वान अधिवक्ता श्री चुडामणिराज सिंह मल्लले निवेदकले काम सन्तोषजनक नगरेमा अर्को एक अवधि थप गर्नु नियुक्ति दिने अधिकारीले सक्ने व्यवस्था भई रहेको सोही अनुसार एक अवधि थप गरिएको र सो अवधिमा पनि आफ्नो बानी नसुधारेको हुँदा परीक्षणकालमा निष्काशन गरिएको हो । नियमावलीमा बर्खास्त सम्बन्धमा उल्लेख नगरेको हुँदा सामान्य सिद्धान्त बमोजिम निष्काशन दिइएको हो । परीक्षणकालको अवधिमा नै उसको चित्त नबुझेको भए मौकैमा उजूर गर्नु पर्ने विलम्ब गरी रिटनिवेदन गर्न आएको हुँदा रिटनिवेदन खारेज गरी पाउँ भन्ने समेत गर्नु भएको बहस जिकिर सुनियो ।
६. निवेदन माग दावी अनुसारको रिटनिवेदन जारी गर्नुपर्ने हो होइन ? निर्णय दिनु परेको छ ।
७. निर्णयतर्फ विचार गर्दा यसमा कर्मचारी संचयकोष कर्मचारी सेवा शर्त नियमावली, २०४१ को परिच्छेद २.१ मा कर्मचारीको नियुक्ति बढुवा र विभागीय कारवाही गर्दा सामान्य सिद्धान्तमा उल्लेख भएकोमा सो बमोजिम हुनेछ भन्ने उल्लेख भएको र लो.से.आ.बाट प्रकाशित संस्थामा नियुक्ति बढुवा र विभागीय कारवाही सम्बन्धी सामान्य सिद्धान्त, २०३५ को परिच्छेद २.४(१) मा परीक्षणकाल सम्बन्धमा सहायक स्तरका कर्मचारीहरुको सम्बन्धमा भने ६ महीनाको परीक्षणकाल पर्याप्त हुनेछ । कर्मचारीको कार्य सम्पादन सन्तोषजनक नभएमा सो अवधिमा नियुक्ति दिने अधिकारीले हटाउन सक्नेछ । तर निज कर्मचारीको परीक्षणकाल अर्को एक अवधिसम्म थप गरेमा निजको क्षमता सुध्रन सक्दछ भन्ने लागेमा नियुक्तिका अधिकारीले कारण जनाई एक अवधिसम्म परीक्षणकाल थप गर्न सक्नेछ भन्ने व्यवस्था गरेको पाइन्छ । निवेदकलाई २०४४।१।२१ मा शुरु नियुक्ति दिएको निजको परीक्षणकाल २०४४।७।२० मा समाप्त भइसकेपछि २०४४।१२।१६ मा अर्को एक अवधि थप गरेको कार्य संस्थानमा नियुक्ति बढुवा र विभागीय कारवाही सम्बन्धी सामान्य सिद्धान्त, २०३५ को परिच्छेद २ को दफा ४.१ बमोजिम गरेको देखिएन । निवेदकलाई २०४५।१।२० मा बर्खास्त गर्दा लोक सेवा आयोगको सामान्य सिद्धान्त, २०३५ को परिच्छेद २ को दफा ४(१) बमोजिम २०४५।१।२१ देखि तपाईलाई कोषको सेवाबाट हटाइएको भनी निवेदकलाई पत्र दिइएको पाइन्छ । संस्थानको आफ्नै छुट्टै नियमावलीको व्यवस्था भएकोमा लो.से.आ. सामान्य सिद्धान्त लागू नहुने भनी निवेदक देवेन्द्र ढकाल विरुद्ध नेपाल खाद्य संस्थान भएको रि.नं. १२२८ को रिटनिवेदनमा मिति २०४६।६।९।२ मा यसै अदालतबाट सिद्धान्त समेत प्रतिपादन भइसकेको कर्मचारी संचयकोषको कर्मचारी सेवा शर्त नियमावली, २०४१ प्रकाशित भई रहेकोमा निवेदकलाई नोकरीबाट अवकाश दिँदा लोक सेवा आयोगको सामान्य सिद्धान्त मात्र लगाई बर्खास्त गरेको मिसिल संलग्न अवकाश पत्र प्रतिलिपिबाट देखिन आएको हुँदा आफ्नो नियमावली भई रहेकोमा सो उल्लेख नगरी निवेदकलाई बर्खास्त गर्ने गरिएको मिति २०४५।१।२० को निर्णय र सो निर्णय उपर पुनरावेदन परी पुनरावेदन तहबाट २०४५।२।२० मा भएको निर्णय समेत मिलेको नदेखिँदा उत्प्रेषणको आदेशद्वारा बदर गरी दिएको छ । निवेदकलाई आफ्नो पदमा पुनः स्थापना गरी दिनु भनी विपक्षी कार्यालयका नाउँमा परमादेश जारी गरी दिएको छ । फाइल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. महेशरामभक्त माथेमा
इति सम्वत् २०४६ साल माघ २ गते रोज २ शुभम् ।