December 21, 1989
Created by nepalarchives

निर्णय नं. ४००४ – उत्प्रेषण

निर्णय नं. ४००४     ने.का.प. २०४६                        अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४६ सालको रि.नं. ५६४ आदेश...

निर्णय नं. ४००४     ने.का.प. २०४६                        अङ्क ११

संयुक्त इजलास

माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह

माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल

सम्वत् २०४६ सालको रि.नं. ५६४

आदेश भएको मिति : २०४६।९।६।५ मा

निवेदक : जि. का. कारागार शाखा काठमाडौंमा थुनामा बस्ने इन्द्रबहादुर खड्का

विरुद्ध

विपक्षी : ललितपुर जिल्ला अदालतसमेत

विषय : उत्प्रेषण

§  डाँका गरेकोमा तेस्रो पटक देखिएकोलाई जतिसुकै पटकको भए पनि १२ वर्ष कैद गर्नु पर्ने।

(प्रकरण नं. ८)

§  कैदको सबभन्दा ठूलो हद ननाघ्ने गरी एकै वा धेरै मुद्दामा एकै वा धेरै कलममा गरी कैद ठेक्नु पर्ने ।

(प्रकरण नं. ८)

§  तेस्रो पटकसम्म डाँका गरेको ठहर भएको देखिँदा निजलाई ठूलो हदको कैद वर्ष १२ हुने तथा जरिवाना नतिरे बापतको कैद ठेक्न पर्दा ४ वर्ष कैद ठेक्न पर्ने भएबाट जम्मा कैद वर्ष १६ साथै म.क्षे.अ.बाट पुनरावेदन गरे बापत थप भएको कैद १ वर्ष ८ महीना १६ दिन समेत गर्दा जम्मा कैद वर्ष १७ वर्ष ८ महीना १६ दिन कैद लगत ठेकिनु पर्नेमा १९ वर्ष ८ महीना १६ दिन कैद ठेक्ने गरेको मिलेको नदेखिँदा कानुन बमोजिम कैद लगत सच्याउनु भनी विपक्षीको नाममा परमादेशको आदेश जारी हुने ।

(प्रकरण नं. ८)

निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री नरहरी आचार्य

विपक्षी तर्फबाट : विद्वान का.मु.सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ

आदेश

     न्या. पृथ्वीबहादुर सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ ।

      २.    चुडामणी घिमिरेको जाहेरीले वादी श्री ५ को सरकार र प्रतिवादी म निवेदक समेत भएको डाँका मुद्दामा पहिला पटक डाँका गरेको ठहर्‍याई कैद वर्ष ६ र जरिवाना रु. १,२३,४४२।५० हुने ठहर गरी मिति २०४०।२।३ मा विपक्षी ललितपुर जिल्ला अदालतले गरेको फैसला कलम एक निज चुडामणीको सहोदर माइलो छोरा तुलाप्रसाद घिमिरेको जाहेरीले वादी श्री ५ को सरकार प्रतिवादी म निवेदक समेत भएको डाँका मुद्दामा दोश्रो पटक पारी डाँका गरेको ठहर्‍याई कैद वर्ष ९ र जरिवाना रु. १२,४५०।हुने भनी सोही मितिमा ठहर गरेको कलम एक, निज चुडामणीको सहोदर जेठो छोरा चेतनाथ घिमिरेको जाहेरीले वादी श्री ५ को सरकार र प्रतिवादी म समेत भएको डाँका मुद्दामा तेस्रो पटक डाँका गरेको ठहर्‍याई कैद वर्ष १८ भन्दा बढी सजायँ गर्न नमिल्ने भई दुई कलमको कैद वर्ष १५ भइसकेको हुँदा कैद वर्ष ३ र जरिवाना रु. ६,१३३।हुने भनी सोही मितिमा विपक्षी ललितपुर जिल्ला अदालतले म उपर गरेको फैसला कलम एक । सो उपर म.क्षे.अ.मा पुनरावेदन गरेकोमा शुरु सदर गरी अ.बं. २०३ नं. ले १०% थप गरेकोमा सर्वोच्च अदालतमा पुनरावेदनको अनुमतिको लागि गएकोमा अनुमति प्राप्त हुन सकेन । यसरी एकै मिति एकै रातमा एकै समयमा एकै ठाउँमा वारदात घटेको र जाहेरवालाहरु पनि एकै घरका बाबु छोराहरु रहेको छर्लङ्ग हुँदाहुँदै छुट्टा छुट्टै पटक काम गरेको कानुनले मिल्ने नै हैन । अतः चूडामणीको जाहेरीले वादी श्री ५ को सरकार भएको पहिला पटकको कैद वर्ष ६ र जरिवाना बापत ४ वर्ष र पुनरावेदन बापत थप ७ महीना ६ दिन समेत गरी जम्मा १० वर्ष ७ महीना ६ दिन मात्र म निवेदकलाई लाग्ने भई थुनामा बसेको मिति २०३७।१२।१० गते देखि २०४८।७।१४ गते सम्मको जरिवाना समेतको कैद भुक्तान भई ऐ.१५ गते छुटी जाने स्पष्ट छ । एउटा मानिसलाई अ.बं. ४१ नं. ले पनि ठूलो हदको सजायँ मात्र हुनुपर्छ । सबै खाप्न मिल्दैन । त्यसबाट पनि तुलाप्रसादको जाहेरीको डाँका मुद्दामा भएको कैद वर्ष ९ ठूलो भएको र पुनरावेदनबाट थप कैद १० महीना ८ दिन कैद र जरिवाना बापत ४ वर्ष समेत जम्मा १३ वर्ष १० महीना ८ दिन मात्र हुनुपर्ने छर्लङ्ग छ । यसबाट म थुनामा परेको मिति २०३७।१२।१० देखि २०५१।८।१५ सम्म कैद बसी ऐ.१६ गते छुटकारा पाउनु पर्ने हो । यसको विपरीत तिनै कलमको खत खापी १८ वर्ष कैद गरी पुनरावेदन बापत थप १ वर्ष ८ महीना १६ दिन समेत जम्मा १९ वर्ष ८ महीना १६ दिन र सबै कलमको जरिवाना रु. १,५६,२३१।३५ हुने गरी थुनामा परेको उक्त मिति देखि कैद कट्टी गरी २०५७।८।२६ मा छुटी जाने भनी विपक्षीहरुले कैदको लगत ठेकी ठेकाई सो बमोजिम पुर्जी दिएको गैरकानुनी भएको हुँदा उत्प्रेषणको आदेशद्वारा बदर गरी हुनसक्ने कैदको लगत मात्र ठेक्नु भनी विपक्षीका नाममा आदेश पाउँ भन्ने समेतको रिटनिवेदन ।

      ३.    यसमा के कसो भएको हो विपक्षीबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघे पेश गर्नु भन्ने समेत यस अदालत एक न्यायाधीशको इजलासको मिति २०४६।४।१९ को आदेश ।

      ४.    निवेदकलाई यस अदालतका २०४०।२।३।३ का फैसलाले कैद वर्ष १८ र पुनरावेदन गरे बापत कैद वर्ष १।८।१६ को समेत जम्मा कैद वर्ष १९१६ सबै कलमको जरिवाना रु. १,५६,२३१।३५ हुने ठहर भएकोले सोही बमोजिम फैसला कार्यान्वयन गरी फैसला बमोजिम कैद तोकिएको हुँदा निवेदकको कुनै मौलिक हकमा आघात पारिएको छैन । यस अदालतबाट भएको फैसला म.क्षे.अ.बाट समेत सदर भई कार्यान्वयन भएको हो । सम्मानीत सर्वोच्च अदालतमा अनुमतिमा नगई रिटमा जान नमिल्ने समेत भएबाट रिटनिवेदन खारेज होस् भन्ने ललितपुर जिल्ला अदालतको लिखितजवाफ ।

      ५.    यस कार्यालयको लगत श्रेस्ता हेर्दा वादी श्री ५ को सरकार भएको पहिला, दोश्रा र तेश्रा पटके डाँका मुद्दामा पुनरावेदन गरे बापत समेत गरी कैद वर्ष १९१६ ल.पु.जि. अ.बाट ठेकिएकोले २०३७।१२।१० देखि थुनिएको २०५७।८।२६ मा छुट्ने देखिन्छ । तत्सम्बन्धमा अधिकार प्राप्त ल.पु.जि. अ.बाट कैद ठेकी पठाएको हुँदा कारागार ऐन नियमले बुझी लिई राखी दिनु पर्ने भएको हुँदा राखिएकोसम्म हो । यस कार्यालयबाट कुनै गैरकानुनी कार्य नभएकोले रिटनिवेदन खारेज होस भन्ने समेत जि. का. कारागार शाखा काठमाडौंको लिखितजवाफ ।

      ६.    नियम बमोजिम पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत रिटनिवेदनको फाइल संलग्न कागजात हेरी रिट निवेदकका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री नरहरि आचार्य तथा विपक्षी तर्फबाट खटिई उपस्थित हुनु भएका विद्वान का.मु. सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठले प्रस्तुत गर्नु भएको बहस जिकिर समेत सुनियो ।

      ७.    अब यसमा रिट निवेदकको माग बमोजिम आदेश जारी गर्न मिल्ने नमिल्ने के रहेछ सो को निर्णय दिनु परेको छ ।

      ८.    निर्णयतर्फ विचार गर्दा यसमा विपक्षी ल.पु.जि. अ.ले म निवेदकलाई तेश्रो पटकसम्म डाँका गरेको ठहर गरी कैद वर्ष १८ र पुनरावेदन गरे बापत म.क्षे.अ.ले थप कैद वर्ष ११६ समेत कैद वर्ष १९१६ साथै सबै कलमको जरिवाना रु. १,५६,२३१।३५ हुने ठहर गरी सोही बमोजिमको कैद लगत ठेके ठेकाएको त्रुटिपूर्ण छ भन्ने मुख्य निवेदन जिकिर देखिन्छ । रिट निवेदकलाई चूडामणि घिमिरेको जाहेरीले वादी श्री ५ को सरकार प्रतिवादी रिट निवेदक समेत भएको डाँका मुद्दामा पहिला पटक डाँका गरेको तुलाप्रसाद घिमिरेको जाहेरीले वादी श्री ५ को सरकार र प्रतिवादी यी रिट निवेदक समेत भएको डाँका मुद्दामा दोश्रो पटक डाँका गरेको र चेतनाथ घिमिरेको जाहेरीले वादी श्री ५ को सरकार र प्रतिवादी यी रिट निवेदक समेत भएको डाँका मुद्दामा तेश्रो पटक डाँका वारदात गरेको ठहर गरी जम्मा कैद वर्ष १८ र जम्मा जरिवाना रु. १,४२,०२५।५० हुने ठहर गरे उपर म.क्षे.अ.ले पुनरावेदन तहबाट शुरु सदर गरी अ.बं. २०३ नं. बमोजिम १०% प्रतिशत थप समेत गरी जम्मा कैद वर्ष १९ वर्ष ८ महीना १६ दिन र जम्मा जरिवाना रु. १,५६,२३१।३५ को लगत राख्ने गरेको देखिन्छ । मुलुकी ऐन चोरीको १४ नं. मा डाँका गरेकोमा तेश्रो पटक देखिएकोलाई जतिसुकै पटकको भए पनि १२ वर्ष कैद गर्नुपर्छ भन्ने र द.सं. को ४१ नं. मा कैदको सबभन्दा ठूलो हद ननाघ्ने गरी एकै वा धेरै मुद्दामा एकै वा धेरै कलममा गरी कैद ठेक्नु पर्ने व्यवस्था रहेको पाइन्छ । त्यस्तै द.सं. को ३८ नं. मा कैद वा जरिवाना दुवै सजायँ भएकोमा जरिवाना नतिरे बापतको कैद ठेक्न पर्दा चार वर्ष भन्दा बढी अवधिको कैद ठेक्न हुँदैन भन्ने व्यवस्था रहेको देखिन्छ । अतः रिट निवेदकले तेश्रो पटकसम्म डाँका गरेको ठहर भएको देखिँदा निजलाई ठूलो हदको कैद वर्ष १२ हुने तथा जरिवाना नतिरे बापतको कैद ठेक्न पर्दा ४ वर्ष कैद ठेक्न पर्ने भएबाट जम्मा कैद वर्ष १६ साथै म.क्षे.अ.बाट पुनरावेदन गरे बापत थप भएको कैद १ वर्ष ८ महीना १६ दिन समेत गर्दा जम्मा कैद १७ वर्ष ८ महीना १६ दिन कैद लगत ठेकिनु पर्नेमा १९ वर्ष ८ महीना १६ दिन कैद ठेक्ने गरेको मिलेको नदेखिँदा कानुन बमोजिम कैद लगत सच्याउनु भनी विपक्षीका नाममा परमादेशको आदेश जारी हुने ठहर्छ । विपक्षीको जानकारीको लागि आदेशको प्रतिलिपि म.न्या. का. मार्फत पठाई फाइल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. प्रचण्डराज अनिल

 

इति सम्वत् २०४६ साल पौष ६ गते रोज ५ शुभम् ।