निर्णय नं. ४००० – सवारी ज्यान
निर्णय नं. ४००० ने.का.प. २०४६ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४४ सालको फौ.पु.नं. ४४९ फैसला...
निर्णय नं. ४००० ने.का.प. २०४६ अङ्क ११
संयुक्त इजलास
माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
सम्वत् २०४४ सालको फौ.पु.नं. ४४९
फैसला भएको मिति : २०४६।९।५।४ मा
पुनरावेदक/वादी : प्रहरी प्रतिवेदनले श्री ५ को सरकार
विरुद्ध
विपक्षी/प्रतिवादी : काठमाडौं टंगाल डेरा गरी बस्ने अमृत सिंह सरदार
मुद्दा : सवारी ज्यान
§ साधक जाहेर गरे पनि पुनरावेदन परेपछि पुनरावेदन तहबाट इन्साफ जाँच हुने व्यवस्था भएको र पुनरावेदन परेकोबाट मुद्दामा कुनै असर नपर्ने भएकोले सो को आधारमा क्षेत्रीय अदालतको फैसला नमिलेको भन्न नमिल्ने ।
(प्रकरण नं. १६)
§ ठक्कर लागी सकेपछि गाडी रोकी घाइतेको उपचार तर्फ ध्यान दिनु पर्नेमा लापरवाही गरी त्यसो गरिएको देखिएन, तापनि वारदातको जाहेरी स्वयं अभियुक्त प्रतिवादीले नै दिन गएको देखिँदा यतिकैमा लापरवाहीसंग प्रतिवादीले गाडी चलाएको भन्न नमिल्ने ।
(प्रकरण नं. १७)
पुनरावेदक, वादी तर्फबाट : विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा
फैसला
न्या. त्रिलोकप्रताप राणा : मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफमा चित्त नबुझाई वादी श्री ५ को सरकारका तर्फबाट पुनरावेदन परी दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ ।
२. २०३९।९।१८ गते बिहान बानेश्वरमा ना.अं. १२३६ को भाडा ट्यांकीले सोमितबहादुरलाई ठक्कर लागी घाइते भएको हुँदा चालक अमृतसिंह सरदारलाई कारवाहीको लागि पठाएको छ भन्ने समेत व्यहोराको सदर ट्राफिक प्रहरी कार्यालयको पत्र ।
३. यस गणका नं. २२२६८२ को सैन्य सोमितबहादुरको उपचार हुँदाहुँदै २०३९।९।१९ गते १८.५५ बजे मृत्यु भएको भनी भि.अ.का ड्यूटी डा. अधिकृतबाट जानकारी पाएको हुँदा चालक उपर कारवाही गरी पाउँ भन्ने समेत व्यहोराको श्री सबुन गण महेन्द्र व्यारेक बानेश्वरको पत्र ।
४. दाहिने आँखा माथि ठोकिएको चोट देखिएको, बायाँ गोडाको तिघ्रा भाँचिएको, बायाँ हातको औंलाहरुमा घस्रिएको छाला खुइलिएको डाम देखिएको भन्ने समेत व्यहोराको सोमितबहादुरको लाश प्रकृति मुचुल्का ।
५. २०३९।९।१८ गते विहान त्रि.वि. स्थल ल्याएको पेट्रोल टैंकी अनलोड गर्न गइरहेको अवस्था नयाँ बानेश्वर मोडमा भक्तपुरबाट आएको ट्रली बस रोकेको रहेछ । सो ट्रली बसको पछाडिबाट १ जना मिलीटरी मानिस दौडिंदै मैले टैंकी रोक्न समेत नभ्याउने गरी अपर्झट तवरबाट आएकोले म अगाडि बढेर जाँदा सो मानिसले नै हाँकेको टंकीको अगाडिको वम्पटले ठक्कर खाँदा कता लडे थाहा भएन । मामुली चोट पर्यो होला भनी नरोकी गाडी त्रि.वि. स्थलमै रोकी ट्राफिक प्रहरीमा जाहेर गरेको हुँ भन्ने समेत व्यहोराको अमृत सिंह सरदारले प्रहरीमा गरेको कागज ।
६. टाउकोको चोटको कारण मृत्यु भएको देखिन्छ भन्ने समेत व्यहोराको मृतक सोमितबहादुरको लाश जाँच प्रतिवेदन ।
७. २०३९।९।१८ गते पिटी कवाज गई व्यारेक बानेश्वर जान उत्तर मोडिनासाथ ना.अं. १२३९ को भाडा ट्यांकीले दौड्न आएको टोलीलाई देख्दा देख्दै जबरजस्ती ल्याई अगाडि भएको मृतक सैन्य सोमितबहादुर राना मगरलाई उक्त ट्यांकीको अगाडिपट्टीको बम्पटले ठक्कर लागी लडी गाडीको मुनि २ पांग्राको बीच पर्न गए, म समेतको फौजले कराउँदा पनि चालकले नरोकी गाडी भगाई लग्यो निजलाई अस्पतालमा भर्ना गरेकोमा सोही चोटबाट भोलिपल्ट मृत्यु भएको हो भन्ने समेत व्यहोराको मित्रबहादुर थापा समेतले गरी दिएको सरजमीन मुचुल्का ।
८. भवितव्यबाट दुर्घटना पर्न गएको भन्न नमिली चालकले असावधानीपूर्वक बढी रफ्तारमा चलाएको र ब्रेक पनि प्रयोग नगरेको परिणाम स्वरुप सोमितबहादुरको मृत्यु भएकाले मारे भन्ने सम्मको इवी अखच नभए पनि यसरी सवारी हाँकेमा मानिस मर्न सक्छ भन्ने जानी जानी गम्भीर लापरवाही गरी गाडी हाँकेबाट दुर्घटना भई मानिसको मृत्यु भएकोले चालक अमृत सिंहलाई सवारी ऐन, २०२० को दफा ५१(१)(क) र मुलुकी ऐन ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम सजायँ हुन र सवारी ऐनको दफा ५४(१)(क) र मुलुकी ऐन ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम सजायँ हुन र सवारी ऐनको दफा ५४(१)(क) अनुसार मृतकको हकदारलाई कृया खर्च तथा क्षतिपूर्ति समेत भराई पाउँ भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन ।
९. २०३९।९।१८ गते विहान तेल अनलोड गर्न टंकी हाँक्दै त्रि.वि. स्थल जाँदा बानेश्वर निर ट्रली बस रोकी राखेको थियो । सो ट्रली बस पछाडिबाट मृतक दौडदै उत्तरतर्फ आउँदा मैले हाँकेको टंकी नजिकै पुग्दा रोक्न नभ्याउँदा निजलाई ठक्कर लाग्न गएको हो । त्यस ठाउँबाट ट्रक नरोकी नजिकै त्रि.विमानस्थल ग्यारेजमा लगी बग्गीखानामा म आफैंले जाहेर गरेको हो । मैले जानाजान ठक्कर दिएको होइन भन्ने समेत व्यहोराको प्र.अमृत सिंह सरदारले अदालतमा गरेको बयान ।
१०. जाहेरी सरजमीन तथा अभियुक्तको बयान समेतबाट लापरवाही गरी गाडी हाँकी सोमितबहादुरलाई ठक्कर लागी निज मरेमा शंका रहेन । मर्ने व्यक्तिसंग चालकको रिसइवी भएको वा मार्ने नियत भएको देखिन नआएकोले ज्यानसम्बन्धीको १३(३) को अभियोग कायम गर्न मिलेन । भवितव्य परी मरेको देखिँदा ज्यानसम्बन्धीको ६ नं. ले प्रतिवादीलाई रु. ५००।– जरिवाना हुने तथा सवारी ऐनको दफा ४६ ले ५००।– र दफा ५१ ले २०००।– जरिवाना हुने तथा दफा ५४ ले कृया खर्च रु. २०००।– तथा मर्नेको हकवालालाई क्षतिपूर्ति रु. ६०००।– समेत प्रतिवादीले भरी दिनु पर्ने ठहर्छ भन्ने समेत व्यहोराको काठमाडौं जिल्ला अदालतबाट २०४०।२।२३ मा भएको फैसला ।
११. शुरु जिल्ला अदालतबाट ज्यानसम्बन्धीको १३(३) को अभियोग कायम नगरी दिएको हदसम्मको फैसला बदर गरी प्रतिवादीलाई दावी अनुसार सजायँ हुन अनुरोध छ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारतर्फबाट मध्यमाञ्चल क्षेत्रीय अदालतमा पर्न आएको पुनरावेदनपत्र ।
१२. ब्रेक लगाउँदा लगाउँदै ठक्कर खाएको भन्ने बयानबाट देखिएको र गाडी जाँच हुँदा ब्रेक ठीक रहेको पनि देखिएको छ । विपक्ष अमृतको मर्ने सोमितबहादुर राना मगरलाई जानी जानी मार्नु पर्ने अवस्था मिसिलबाट खुल्दैन । यस अवस्थामा ज्यानसम्बन्धीको १३(३) बमोजिम नै सजायँ हुनुपर्छ भन्ने श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । काठमाडौं जिल्ला अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतबाट मिति २०४३।४।१६ मा भएको फैसला ।
१३. ज्यानसम्बन्धीको १३(३) को दावी भएपछि बढी सजायँ भएको वा माग दावी नपुग्ने भएपछि जि. अ.बाट जाहेरी फैसला हुनु पर्नेमा सो भएको छैन । सामुन्नेमा आइरहेको ट्रलीलाई सवारी चालकले देख्दा देख्दै जबरजस्ती सवारी अघि बढाई सोमितबहादुरलाई ठक्कर दिई लतारेको देखिन्छ । यसरी लापरवाही र हेलचेक्रयाई गरी गाडी हाँकेको अवस्थामा सवारी ऐन अन्तर्गत मात्र कसूर कायम गरी ज्यानसम्बन्धीको महलको १३(३) को अभियोग कायम गर्न मिलेन भन्ने फैसला न्यायसंगत छैन । मध्यमाञ्चल क्षेत्रीय अदालतबाट आत्मनिष्ट बयानको आधारमा, सजायँ नगरी गरेको फैसला ज्यानसम्बन्धीको १३(३) को अभियोग कायम नगरिएको हदसम्म बदर गरी प्रहरी प्रतिवेदन माग दावी अनुसार सजायँ हुन अनुरोध छ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारका तर्फबाट यस अदालतमा पर्न आएको निवेदन ।
१४. नियम बमोजिम निर्णयार्थ पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीका तर्फबाट उपस्थित विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्माले प्रतिवादीले शहरी क्षेत्रमा लापरवाही तवरले हाँकेको गाडीबाट मानिस मर्न गएको देखिन्छ । लापरवाही तवरले सवारी चलाउँदा हुनसक्ने परिणाम प्रतिवादीलाई थाहा नहुने होइन । यस स्थितिमा सवारी ऐन बमोजिम कसूर कायम गरेको फैसला त्रुटिपूर्ण छ । साथै जिल्ला अदालतले यस्तो दावी भएको मुद्दामा साधक जाहेर गर्नु पर्ने हो । प्रहरी प्रतिवेदन माग दावी अनुसार प्रतिवादीलाई सजायँ हुन विपक्षी झिकाइनु पर्छ भन्ने बहस प्रस्तुत गर्नुभयो ।
१५. प्रस्तुत मुद्दामा विद्वान मुख्य न्यायाधिवक्ताको बहस जिकिर समेतलाई मध्यनजर राखी क्षेत्रीय अदालतबाट भएको इन्साफ मनासिब बेमनासिब के रहेछ हेरी निर्णय दिनु पर्ने हुन आयो ।
१६. यसमा निर्णयतर्फ विचार गर्दा, सर्वप्रथम जिल्ला अदालतमा ज्यानसम्बन्धीको १३(३) नं. को माग दावी गरी मुद्दा दायर भएकोमा घटी सजाय भएको वा सो माग दावी नपुग्ने भनिए पछि जिल्ला अदालतबाट जाहेरी फैसला हुनुपर्ने सो नभएको भन्ने जिकिर लिइएको देखिन्छ । सो सन्दर्भमा साधक जाहेर गरे पनि पुनरावेदन परेपछि पुनरावदेन तहबाट इन्साफ जाँच हुने व्यवस्था भएको र पुनरावेदन परेकोबाट मुद्दामा कुनै असर नपर्ने भएकोले सो को आधारमा क्षेत्रीय अदालतको फैसला नमिलेको भन्न मिल्दैन ।
१७. अब जहाँसम्म दावी बमोजिम सजायँ हुनुपर्ने भन्ने पुनरावेदन जिकिर छ, वारदातस्थल भनी देखाइएको ठाउँ सीमित गतिले सवारी चलाउने भन्ने स्थान देखिएन । मृतक सोमितबहादुर अड्याई राखेको ट्रली बसको पछाडिबाट बाटो काटी बानेश्वर ब्यारेकतर्फ दौडी आएको र प्रतिवादी अमृत सिंह सरदारले हाँकी ल्याएको टंकीको बिलकुल नजिक भई ब्रेक हान्दा पनि नभ्याई गाडी रोक्ने स्थिति नभएको र मृतकलाई ठक्कर लागेको भन्ने देखिन्छ । मर्नेसंग अभियुक्तको कुनै रिसइवी नभएको र मारौं भन्ने नियतले गाडीले ठक्कर दिएको पनि देखिँदैन । अपर्झट गाडी अघिल्तिर दौडी आएको मानिसलाई गाडी रोक्न नसकेको देखिँदा मानिस मर्न सक्छ भनी सोच्न सकिने अवस्था समेत देखिँदैन । ठक्कर लागी सकेपछि गाडी रोकी घाइतेको उपचारतर्फ ध्यान दिनु पर्नेमा, लापरवाही गरी त्यसो गरेको देखिएन । तापनि वारदातको जाहेरी स्वयं अभियुक्त प्रतिवादी अमृत सिंह सरदारले नै दिन गएको देखिन्छ । यतिकैबाट लापरवाहीसंग प्रतिवादीले गाडी चलाएको भन्न मिलेन ।
१८. यसर्थ ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम सजायँ हुनु पर्नेसम्मको वारदात प्रतिवादीबाट भए गरेको नदेखिँदा प्रहरी प्रतिवेदन माग दावी बमोजिम सजायँ हुनुपर्छ भन्ने विद्वान मुख्य न्यायाधिवक्ताको बहस जिकिरसंग सहमत हुन सकिएन ।
१९. अतः ज्यानसम्बन्धी महलको ६ नम्बर, सवारी ऐन, २०२० बमोजिम समेत जरिवाना र क्षतिपूर्ति समेत भराउने दिलाउने गरेको शुरु जिल्ला अदालतको इन्साफ सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेकै देखिँदा मनासिब ठहर्छ । वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. हिरण्येश्वरमान प्रधान
इति सम्वत् २०४६ साल पौष ५ गते रोज ४ शुभम् ।