निर्णय नं. ३९८५ – नाता कायम गरी पाउँ
निर्णय नं. ३९८५ ने.का.प. २०४६ अङ्क ११ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान...
निर्णय नं. ३९८५ ने.का.प. २०४६ अङ्क ११
पूर्ण इजलास
सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
सम्वत् २०४५ सालको फौ.पू.इ.नं. २२
फैसला भएको मिति : २०४६।११।११।५ मा
डि.बे. फैसला मिति : २०४२।१२।२४
निवेदक/वादी : जि. सुर्खेत मालारानी गा.पं. वडा नं. ४ बस्ने खेमकुमारी शर्मा
विरुद्ध
विपक्षी/प्रतिवादी : जि. बाँके नेपालगंज वडा नं. २ बस्ने प्रद्युम्नराज शर्मा
मुद्दा : नाता कायम गरी पाउँ
§ प्रेम विवाह गरी लोग्ने स्वास्नी भई नबसेको भए त्यसरी आफ्नो चरित्रको हत्या हुने गरी वादीसंग प्रेम विवाह गरेको मेरो लोग्ने हो निजको करणी वीर्यबाट छोरी जन्मेकी भन्नु नपर्ने ।
(प्रकरण नं. १४)
फैसला
प्र.न्या. धनेन्द्रबहादुर सिंह : श्री ५ महाराजाधिराजका हजूरमा सर्वोच्च अदालत संयुक्त इजलासको २०४२।१२।२४ को निर्णय दोहराई पाउँ भनी वादी खेमकुमारी शर्माको हकमा ओमकार मान श्रेष्ठले न्यायिक समिति मार्फत चढाई पठाएको निवेदनपत्रहरु र यसबारे न्यायिक समितिद्वारा चढाई पठाएको २०४४।७।२४ को पत्र तथा पत्रसाथ संलग्न पर्चा समेतको व्यहोरा जाहेर हुँदा त्यस अदालतको संयुक्त इजलासबाट निर्णय भएको सो मुद्दा मौसूफ सरकारबाट नेपालको संविधानको धारा ७२(ख) बमोजिम दोहराई हेरी कानुन बमोजिम गर्न हुकुम बक्सेको छ भनी मौसूफ सरकारका प्रमुख सचिवालय राजदरवारबाट मिति २०४४।७।३० मा लेखी आए अनुसार पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ :–
२. २०२४ सालमा विवाहित लोग्ने डब्बलबहादुरसंग सम्बन्ध विच्छेद भएपछि २०२५ सालमा मेरो र विपक्षीको प्रेम विवाह भएको र म बाट कुनै सन्तान उत्पत्ति नभएको हुँदा विपक्षीले मेरो मञ्जूरी साथ २०२९ सालमा दोस्रो विवाह गर्नु भएपछि कान्छी श्रीमतीबाट १ छोरा १ छोरी र म बाट ०३३ सालमा १ छोरी लालकुमारी जन्मेकी प्रतिवादीले सौतालाई घरमा राख्ने र निजको नोकरी वन विभाग कार्यालयमा हुँदा मलाई आफूले नोकरी गर्ने ठाउँमा साथै लगी जाने गर्दथ्यो । प्र.को काठमाडौंमा सरुवा भएपछि मलाई मेरो माइती घरमा छोडी जानु भएको त्यसपछि मेरो खोज खबर केही नगरी वास्तै नराखेकोमा पछि निजको सरुवा दैलेख जिल्लामा भएको थाहा पाई जाँदा तिमी मेरी श्रीमती र तिमीबाट जन्मेकी छोरी लालकुमारी समेतसंग मेरो कुनै सम्बन्ध छैन जे मन लाग्छ गर भनी वास्तै नराखी जवाफ दिई २०३८ साल पौष २३ गते घरबाट निकाला गरी दिएकोले म फिरादीको प्रतिवादीसंग लोग्ने स्वास्नी र छोरी लालकुमारीको बाबु नाता कायम गरी पाउँ भन्ने समेत वादी खेमकुमारी शर्माको फिराद ।
३. वादीसंग मेरो प्रेम विवाह भएको होइन वादी दावी झुठ्ठा हो वादीसंग मेरो चिनाजानी छैन वादी मेरी श्रीमती र निजबाट जन्मेकी छोरी समेत मेरो होइन भन्ने समेत प्र.प्रद्युम्नराज शर्माको प्रतिउत्तर ।
४. वादी प्रतिवादीको २०२५ सालमा प्रेम विवाह भएको हो वादीले मञ्जूरीबाट प्रतिवादीले २०२९ सालमा दोश्रो विवाह गरेको हुन् । २०३३ सालमा प्रतिवादीकै करणी वीर्यबाट वादीबाट १ छोरी जन्मेकी भन्ने समेत वादीका साक्षीहरुको एकै मिलानको बकपत्र ।
५. २०२५ साल देखि २०२८ सालसम्म म र लोग्ने प्र.प्रद्युम्नराज निज बहाल रहेको रुकुम जिल्ला अन्तर्गतको रेन्ज कार्यालय नुवाकोटमा बसेपछि मलाई लोग्नेले माइतीमा छोड्नु भयो । २०३३ साल पौष महीना देखि ऐ.चैत्र महीनासम्म दाङ अमल्ले रेन्ज कार्यालयमा बसेका छौं भन्ने समेत वादी खेमकुमारीले गरेको बयान ।
६. वादी तथा प्र.को छोरी लालकुमारीको र प्र.प्रद्युम्नराजको रगत जाँचको राय प्रतिवेदनबाट वादी प्र.बाट निजबाट जन्मेकी छोरीको समेत रगतको ग्रुप मिल्न आएको र वादीले अनावश्यक दावी गर्नुपर्ने अवस्था समेत नदेखिँदा वादीबाट जन्मेकी छोरी प्र.को र वादी प्रतिवादीको पत्नी नाता कायम हुने ठहर्छ भन्ने समेत शुरु बाँके जि. अ.को फैसला ।
७. वादीलाई मेरी स्वास्नी निजबाट जन्मेकी र छोरी समेत ठहर्याएको शुरु बाँके जिल्ला अदालतको फैसला गल्ती हुँदा उक्त फैसला उल्टी गरी दावीबाट फुर्सद पाउँ भन्ने समेत प्र. को पुनरावेदन जिकिर ।
८. लोग्ने डबलबहादुरसंग ०२४ सालमा सम्बन्ध विच्छेद भएपछि २०२५ सालमा प्र.संग प्रेम विवाह भएको भन्ने वादीले फिरादपत्रमा दावी लिएकोमा पुनरावेदनसाथ पेश गरेको सल्यान जिल्ला अदालतको फैसलाको फोटोकपी हेर्दा २०२६ साल वैशाख २३ गतेमा सल्यान जि. अ. बाट वादी डबलबहादुरको लोग्ने स्वास्नीको सम्बन्ध विच्छेद हुने ठहरी फैसला भएको देखिन आएको र वादीको कुरा मिल्न नआएको हुँदा पुनरावेदनको अनुमति दिएको छ भन्ने म.प.क्षे.अ.को फैसला ।
९. प्र.प्रद्युम्नराजले वादी मेरी स्वास्नी नभई फलानाकी स्वास्नी हो निजबाट जन्मेकी छोरी पनि फलानोकै हो भनी पुष्टि गर्न नसकेको रगत जाँचबाट समेत मिल्न आएको र वादीका साक्षीहरुले प्रष्ट रुपमा बकी लेखाई दिएको समेत कारणले शुरु बाँके जिल्ला अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने म.प.क्षे.अ. को फैसला ।
१०. सो फैसलामा कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत प्रतिवादीको निवेदन परेकोमा आवश्यक प्रमाण नबुझी प्रमाण ऐनको दफा ५४ विपरीत म.प.क्षे.अ. बाट भएको निर्णयमा कानुनी त्रुटि भएकोले पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत सर्वोच्च अदालत डिभिजनबेञ्चको मिति २०४१।१०।१० को आदेश ।
११. वादीको २०२५ सालमा प्रतिवादीसंग दोस्रो विवाह भएको भन्ने निजको पहिलो पति डम्बरबहादुरसंग सम्बन्ध विच्छेद हुनुभन्दा अगाडि नै विवाह भएको भन्ने भनाई पत्यारलायक देखिँदैन । अतः सल्यान जि. अ. बाट २०२६ सालमा भएको सम्बन्ध विच्छेदको फैसलाद्वारा नै खण्डित भइसकेको प्रस्तुत मुद्दामा लोग्ने स्वास्नीको नाता कायम हुने ठहराएको बाँके जि. अ. को फैसला सदर गरेको मध्यपश्चिमाञ्च क्षेत्रीय अदालतको इन्साफ उल्टी हुने ठहर्छ भन्ने समेत सर्वोच्च अदालत डिभिजनबेञ्चको मिति २०४२।१२।२४ को फैसला ।
१२. श्री ५ महाराजाधिराज सरकारबाट नेपालको संविधानको धारा ७२(ख) बमोजिम दोहोराई हेरी कानुन बमोजिम गर्न हुकुम बक्सेको छ भनी मौसूफ सरकारका प्रमुख सचिवालय राजदवारको मिति २०४४।७।३० को पत्रसाथ प्राप्त मुद्दा दोहराउन जाहेर गरेको न्यायिक समिति राजदवारको २०४४।७।९ को पर्चाको प्रतिलिपिमा वादीले प्रतिवादीसंग प्रेम विवाह भएको भनी दावी लिएकी छन् । लोग्ने स्वास्नीको २ नं. मा अर्कासित करणी गराएको ठहरेमा वा पोइल गएमा लोग्ने स्वास्नीको सम्बन्ध स्वतः विच्छेद हुन्छ भन्ने व्यवस्था भएको देखिन्छ । वादीको डम्बरबहादुरको बीच सम्बन्ध विच्छेद गर्न अदालतमा नालिश परिसकेको कुरा मिसिल संलग्न प्रमाणबाट देखिन्छ । वादीले प्रतिवादीसित पोइल गएकी भन्ने कुरा वादीले व्यक्त गरेकी र लोग्नेसंगको सम्बन्ध विच्छेद मुद्दाको फैसला नहुँदै प्रतिवादीसंग पोइल गएको मान्न नसकिने भन्ने सर्वोच्च अदालत संयुक्त इजलासको तर्क मनासिब र व्यावहारिक देखिँदैन । सर्वोच्च अदालतबाट प्रतिपादित ने.का.प. २०४१ को पृ. ४२४ र २०४२ को पृ. २६२ तथा ने.का.प., २०३० को पृष्ठ २४३ र २०३९ को पृष्ठ १५४३ समेतका विभिन्न नजीर प्रस्तुत मुद्दामा उपयुक्त हुनसक्ने देखिन्छ । वादीका साक्षीहरुले किटानी रुपमा वादी प्रतिवादी लोग्ने स्वास्नी भई संगै बसेको कुरा बकी दिएकोबाट वादी प्रतिवादीको बीच लोग्ने स्वास्नी र छोरी लालकुमारी र प्रतिवादी बीच बाबु छोरी नाता कायम हुन नसक्ने भन्न मिल्ने देखिँदैन । शुरु र क्षेत्रीय अदालतको फैसला उल्टाई गरेको सर्वोच्च अदालत संयुक्त इजलासको फैसला लोग्ने स्वास्नीको २ नं. , सर्वोच्च अदालतबाट स्थापित विभिन्न नजीरहरु, प्रमाण ऐनको दफा ३४, ५४ समेतको प्रतिकूल भई मिलेको देखिएन भन्ने उल्लेख भएको रहेछ ।
१३. नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा सर्वोच्च अदालत संयुक्त इजलासको इन्साफ मिलेको छ छैन ? सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।
१४. यसमा निर्णतर्फ हेर्दा विपक्षीसंग २०२५ सालमा प्रेम विवाह भएको मेरो मञ्जूरीबाट २०२९ सालमा दोस्रो विवाह गर्नु भएपछि म बाट २०३३ सालमा १ छोरी लालकुमारी जन्मेकी प्र. को नोकरी वन कार्यालयमा भई काठमाडौं सरुवा भएपछि मेरो माइतीमा छाडी जानु भएपछि जाँदा तिमी मेरी श्रीमती र जन्मेका छोरीसंग मेरो कुनै सम्बन्ध छैन भनी २०३८।९।२३ गते घरबाट निकाला गरी दिएकोले प्रतिवादीसंग लोग्ने स्वास्नी र छोरी लालकुमारीको बाबु नाता कायम गरी पाउँ भनी वादीले दावी लिएको देखिन्छ । प्रतिवादीले वादीसंग मेरो चिनाजानी छैन । वादी मेरो श्रीमती र निजबाट जन्मेकी छोरी समेत मेरो होइन भनी इन्कार रहेको पाइन्छ । बुझिएको वादीका साक्षी प्रेमबहादुर हमाल, फतबहादुर गुरुङ र रुकमणी थापाले वादी प्रतिवादीको प्रेम विवाह २०२५ सालमा भएको हो प्र. कै करणीबाट छोरी पनि जन्मेको हो । वादी प्रतिवादीको लोग्ने स्वास्नी नाता पर्दछ भनी किटानीसाथ बकपत्र गरी दिएको पाइन्छ । यसबाट वादीको दावीको पुष्टि भएको देखिन्छ । प्रतिवादीको साक्षीहरुले वादी प्रतिवादीको विवाह भएको होइन भनेको छ । तर प्रेम विवाह भएको होइन भन्न सकेको छैन । वादीका छोरी लालकुमारी र प्रतिवादीको रगत जाँच हुँदा दुवैको रगत “ओ” ग्रुप भन्ने नेपाल रेडक्रस सोसाइटीको रगत जाँच फारामबाट देखिन्छ । वादीले प्रतिवादीसंग प्रेम विवाह गरी लोग्ने स्वास्नी भई नबसेको भए त्यसरी आफ्नो चरित्रको हत्या हुने गरी वादीसंग प्रेम विवाह गरेको मेरो लोग्ने हो । निजको करणी वीर्यबाट छोरी जन्मेकी भन्नु पर्ने थिएन । साथै यिनै निवेदक वादी खेमकुमारीले २०४६।१।२८ को निवेदन साथ हुलाकद्वारा पठाएको अंश बापत विपक्षीबाट पाई भोग गरेको भनेको जग्गाको ज.ध.प्र.पूर्जा र नागरिकताको प्रमाणपत्र समेतमा पतिको नाम प्रद्युम्नराज शर्मा भन्ने उल्लेख भएको तथा २०४६।११।४ को दर्खास्त साथ पेश गरेको अंश बण्डाको लिखतको नक्कल हेर्दा प्रद्युम्नराज शर्माले खेमकुमारी शर्मालाई जेठी श्रीमती भन्ने उल्लेख भई अंश बापत घर जग्गा दिएको मालपोत कार्यालय सुर्खेतबाट २०४५।१२।६ मा रजिष्ट्रेशन पास भएको भन्ने पेश भएको फोटोकपीबाट देखिन्छ । उपर्युक्त साक्षीहरुको बकाई, रगत जाँच प्रतिवेदन र पेश भएको अंशबण्डाको लिखत, नागरिकता प्रमाणपत्र समेतको प्रमाणहरुबाट वादी खेमकुमारी प्रतिवादीको स्वास्नी र छोरी लालकुमारी पनि प्रतिवादीकै करणी वीर्यबाट जन्मेको भन्ने देखिन आयो । यस स्थितिमा वादी खेमकुमारीको अगाडिको लोग्ने डबलबहादुरसंग सम्बन्ध विच्छेद मुद्दा परी सो मुद्दा मिति २०२६।१।२३ मा सल्यान जिल्ला अदालतबाट सम्बन्ध विच्छेद हुने ठहरी फैसला भएको भन्ने कारणले मात्र वादी खेमकुमारीलाई प्रतिवादीको स्वास्नी होइन भनी नाता कायम नहुने भन्न मिलेन । तसर्थ वादी खेमकुमारीलाई प्रतिवादी प्रद्युम्नराज शर्माको स्वास्नी नाता कायम हुने ठहराएको बाँके जिल्ला अदालतको इन्साफ सदर गरेको मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ ।
१५. सर्वोच्च अदालत डिभिजनबेञ्चको मिति २०४२।१२।२४ को फैसला मिलेको देखिएन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा हामीहरु सहमत छौं ।
न्या. प्रचण्डराज अनिल,
न्या. हिरण्येश्वरमान प्रधान
इति सम्वत् २०४६ साल फाल्गुण ११ गते रोज ५ शुभम् ।