May 7, 1978
Created by nepalarchives

निर्णय नं. ११३८ – कुलो पानी बन्द गरी दियो

निर्णय नं. ११३८     ने.का.प. २०३५ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३३ सालको दे.फु.नं. ९४ फैसला भएको मिति...

निर्णय नं. ११३८     ने.का.प. २०३५

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री वासुदेव शर्मा

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

सम्वत् २०३३ सालको दे.फु.नं. ९४

फैसला भएको मिति : २०३५।१।२४।१ मा

वादी :       जि. भोजपुर थुमसिकतेल नामन्त गा.पं. वडा नं. १ बस्ने धर्मप्रसाद सुवेदी

विरुद्ध

विपक्षी : ऐ.ऐ. कोट पञ्चायत वडा नं. ७ आहाँले बस्ने मणिकर्ण गिरी समेत

मुद्दा : कुलो पानी बन्द गरी दियो

(१)   अञ्चल अदालतले अनधिकृत निर्णय गरेकोमा न्यायप्रशासन सुधार ऐन, ०३१ को दफा १५ को उपदफा (३) ले अधिकृत निकाय क्षेत्रीय अदालतबाटै पुनरावेदन कानूनबमोजिम निर्णय गर्नु पर्ने ।

(प्र.नं. ९)

पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल

प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री गङ्गाप्रसाद उप्रेती

फैसला

            न्या. वासुदेव शर्मा : पूर्वाञ्चल क्षेत्रीय अदालतका फैसलाउपर वादीले पुनरावेदन गर्न अनुमति प्राप्त भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकारको रहेछ ।

            २.    १९६७।१२।९ मा केशववीर शाह समेतबाट बाबु रामनाथले भोगबन्धकी लिई २००२।४।२ मा जतमानबाट राजीनामा लिएको तिल्के चउर, बाटुलेचौर, कटहरे, चुचेढुङ्गा समेतमा हलुवा खोलाबाट परापूर्वदेखि भत्केबिग्रेको बनाई भीरपहरा काटी धेरै खर्च लगाई बनाएको एकलौटी कुलो विपक्षीहरूले लान नपाउने गरी एकलौटी कायम गरिपाउँ भन्नेसमेत धर्मप्रसाद पाध्याको मिति ०३१।३।२४ को फिरादपत्र रहेछ ।

            ३.    काशी गिरी दर्ताकै बखत देखि नै हामीले कुलो खनी पानी लगाउने गरेको हो, केशवीर राईले १९७५।८।११ पुर्जीमा लेखिदिई पानी ल्याई करकले खेतसमेत रोप्ने गरेको हो, वादी मात्रको एकलौटी होइन भन्नेसमेत विष्णुलाल गिरी, शिवनारायण गिरी, टंकबहादुर श्रेष्ठ र पणिकर्ण गिरी समेत जना चारको संयुक्त प्रतिउत्तरपत्र परेको रहेछ । प्र.मध्ये नरबहादुरले सुरु म्याद गुजारी प्रतिवादी नदिई बसेको, वादी दावीको कुलो वादीकै कायम गरी टंकबहादुर, शिवनारायण, विष्णुलाल जना ३ तिनले सुरु भोजपुर जिल्ला अदालतमा ०३१।७।१६ मा मिलापत्र गरेका रहेछन।

            ४.    भइआएको नक्सा नं. ११ को करकले ४ खेतबाटै झगडा परेको कुलो बन्द गरेको हुनाले सो कुलो साबिकदेखि प्रतिवादी मनिकर्णले नै लगेको भन्ने नक्सामा जनिएको समेत हुँदा मेरो एकलौटी कुलोबाट प्रतिवादी मनिकर्णले पानी लान पाउँदैन भनी वादीले झुठ्ठा उजूर गरेको ठहर्छ भन्नेसमेत मिति ०३१।९।१६।३ को फैसला ।

            ५.    उक्त इन्साफमा चित्त बुझेन भन्नेसमेत वादी धर्मप्रसादको सगरमाथा अञ्चल अदालत भोजपुर बेञ्चमा पुनरावेदन परेकोमा वादीको लेखाई दावी र साक्षीको बकाई एक मिलान नभई परस्पर बाझिएको समेत प्रमाणबाट सुरुको इन्साफ सदर हुने ठहर्छ भन्नेसमेत सगरमाथा अं.अ. भोजपुर बेञ्चबाट हदमुनि ठहरी ०३१।११।५ मा फैसला भएको रहेछ ।

            ६.    उक्त इन्साफउपर पुनरावेदन गर्ने अनुमति माग गरी वादी धर्मप्रसादको पूर्वाञ्चल क्षेत्रीय अदालतमा निवेदन परेकोमा सामूहिक कुलो पानी मुद्दाको पुनरावेदन क्षेत्रीय अदालतमा लाग्नेमा क्षेत्राधिकार नभएको अञ्चल अदालतले सुनी निर्णय दिएको यो प्रश्नमा सम्म पुनरावेदन गर्न अनुमति दिएको छभन्ने प्रचलित क्षेत्रीय अदालतबाट ०३२।५।२७ मा आदेश भई आखिर फैसला हेर्दा न्यायप्रशासन सुधार ऐन, ०३१ को दफा (१) खण्ड (ख) अनुसार क्षेत्रीय अदालतमा पुनरावेदन लाग्नेमा अञ्चल अदालत भो.बे.बाट मिति ०३१।११।५।२ को फैसला क्षेत्राधिकार बाहिरको भई मुलुकी ऐन अ.बं.३५ नं. ले बदर हुने हुँदा सो अञ्चल अदालतको फैसला बदर हुन्छ भनी ०३२।११।४ मा फैसला भएको रहेछ ।

            ७.    उक्त फैसला हुँदा अ.बं.१९३,१९३६ नं. १८९ नं. को त्रुटि हुनुका साथै ने.का.प.०१८ नि.नं. १२२ मा प्रकाशित सिद्धान्तको समेत प्रत्यक्षत गम्भिर कानूनी त्रुटि भएको छ । उक्त फैसलाउपर पुनरावेदनको अनुमति पाउँ भन्नेसमेत वादीको निवेदन पर्न आएकोमा जुन कानूनको उल्लेख गरी निर्णय गरेको हो सोही कानूनअनुसार क्षेत्रीय अदालतले पुनरावेदन हेरी निर्णय दिनुपर्नेमा सो नगरी पुनरावेदन किनारा गराई पाउने हकबाट समेत पक्षलाई बन्चित गरी सार्वजनिक विषयमा गम्भिर कानूनी त्रुटि गरेको देखिँदा पुनरावेदनको अनुमति दिइएको छ भन्नेसमेत डिभिजन बेञ्चको मिति ०३३।९।२।५ को आदेश ।

            ८.    उक्त आदेशानुसार पुनरावेदनको लगतमा दर्ता भई तारेखमा रहेका वादी पुनरावेदक धर्मप्रसाद पाध्याको वारेस शिवप्रसाद शर्मा र विपक्षी प्रतिवादी मनिकर्ण गिरीको वारेस शषानाथ पराजुलीलाई रोहवरवमा राखी वादी पुनरावेदक तर्फका विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेलको र प्रतिवादी मणिकर्ण तर्फका विद्वान अधिवक्ता श्री गङ्गाप्रसाद उप्रेतीको वहससमेत सुनी बुझ्दा प्रस्तुत मुद्दामा पूर्वाञ्चल क्षेत्रीय अदालतबाट भएको इन्साफ मनासिव या गल्ती के हो त्यस कुराको निर्णय दिनु परेको छ ।

            ९.    यसमा न्यायप्रशासन सुधार ऐन, ०३१ को दफा १३ को उपदफा (१) को खण्ड (ख) मा उल्लेख भएबमोजिम सामूहिक कुलो पानी सम्बन्धी मुद्दामा सुरु भोजपुर जिल्लाअदालतको फैसलाउपर क्षेत्रीयअदालतमा पुनरावेदन लाग्ने व्यवस्था भएकोमा तदनुसार प्रस्तुत मुद्दाको पुनरावेदन सगरमाथा अञ्चल अदालत भोजपुर बेञ्चले हेरी गरेको फैसलालाई क्षेत्राधिकार बाहिरको हेरी किनारा गरेको भनी अ.बं.३५ नं. अनुसार बदरसम्म हुने ठहराई पूर्वाञ्चल क्षेत्रीय अदालतले अधिकारबारे प्रश्न उठाई निर्णय गरेको देखिन्छ । अब सो वादीको पुनरावेदनमा कुन अदालतबाट कार्यवाही किनारा गर्नुपर्ने हो भन्ने मूल प्रश्नको हकमा विचार गर्दा, माथि व्यक्त गरिएअनुसार सगरमाथा अञ्चल अदालत भोजपुर बेञ्चले सो पुनरावेदनमा निर्णय गर्नुपर्ने भई क्षेत्रीय अदालतबाट यसमा निर्णय गर्नु पर्ने नपर्ने के हो ? भन्ने सम्बन्धमा विचार गर्दा, अञ्चल अदालतले क्षेत्राधिकार बाहिरको हेरी छिनेको सम्ममा पूर्वाञ्चल क्षेत्रीय अदालतबाट पुनरावेदनको अनुमति दिएको कुरामा मात्र सीमित रही क्षेत्रीय अदालतले निर्णय गर्नुपर्ने हो कि भन्नेलाई न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १५ को उपदफा (३) मा उल्लेख भएको प्रश्न वा आधारसँग सम्बन्धित कुरामै मात्र सीमित रही निर्णय गरेको छ भन्ने उल्लेख भएअनुसार वादी धर्मप्रसादको परेको पुनरावेदनको निर्णय गर्नुपर्ने व्यवस्था भएको र अञ्चल अदालतले क्षेत्राधिकार बाहिरको पुनरावेदन हेरेको भनी बदर भएमा सो पुनरावेदनमा कुन अदालतबाट हेरी निर्णय गर्नुपर्ने हो सोही प्रश्न अधिकारसँग सम्बन्धित देखिन आएकोले अञ्चलअदालतले अनधिकृत निर्णय गरेकोमा उपरोक्त न्यायप्रशासन सुधार ऐनले अधिकृत निकाय क्षेत्रीयअदालतबाटै सो पुनरावेदनको कानूनबमोजिम निर्णय गर्नुपर्नेमा सोअनुसार निर्णय नबोली केवल क्षेत्राधिकार बाहिरको हेरी छिनेको अञ्चल अदालतको निर्णय बदरसम्म भन्नु त्रुटिपूर्ण हुन गएको छ । उपरोक्त पूर्वाञ्चल क्षेत्रीय अदालतबाट भएको मिति २०३२।११।४ को निर्णयलाई कायम राख्न मिल्दैन । तसर्थ वादी धर्मप्रसादको उपरोक्त पुनरावेदन त्यस अदालतबाटै हेरी कानूनबमोजिम कार्यवाही किनारा गर्नु भनी तारेखमा रहेका पक्षहरूलाई पूर्वाञ्चल क्षेत्रीय अदालतमा हाजिर हुन जाने गरी तारेख तोकी सुरु मिसिलसमेत पूर्वाञ्चल क्षेत्रीय अदालतमा पठाई नियमबमोजिम गरी रेकर्ड मिसिल बुझाइ दिनू।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. सुरेन्द्रप्रसाद सिंह

 

इति सम्वत् २०३५ साल बैशाख २४ गते रोज १ शुभम् ।