June 26, 1978
Created by nepalarchives

निर्णय नं. ११३७ – घर बगैंचा छुट्याई उठाई चलन पाउँ

निर्णय नं. ११३७     ने.का.प. २०३५ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश सरदार श्री ईश्वरीराज मिश्र सम्वत् २०३४ सालको दे.फु.नं. ११८ फैसला भएको मिति...

निर्णय नं. ११३७     ने.का.प. २०३५

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री हेरम्बराज

माननीय न्यायाधीश सरदार श्री ईश्वरीराज मिश्र

सम्वत् २०३४ सालको दे.फु.नं. ११८

फैसला भएको मिति : २०३५।३।१२।१ मा

निवेदक : काठमाडौं न.पं. वडा नं. २४ अन्तर्गत वटुटोल बस्ने कृष्णमान श्रेष्ठ

विरुद्ध

विपक्षी : काठमाडौं नगरपञ्चायत हाल वडा नं. २४ बस्ने रुद्रमाया श्रेष्ठ

मुद्दा : घर बगैंचा छुट्याई उठाई चलन पाउँ

(१)   संयुक्त भई राजीनामा गराई लिएको घरको हकमा दुवैजनाको बराबर भाग लाग्ने ।

(प्र.नं. १०)

पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री होराप्रसाद जोशी

उल्लिखित मुद्दा :   

फैसला

            न्या. हेरम्बराज : मध्यमाञ्चल क्षेत्रीय अदालतबाट २०३४।१।२०।२ मा भएको फैसला सार्वजनिक विषयमा कानूनी त्रुटि भएकोले पुनरावेदन गर्ने अनुमति पाउँ भनी पुनरावेदक प्रतिवादी कृष्णमान श्रेष्ठले चढाएको निवेदनमा ०३४।६।१४।६ मा पुनरावेदन गर्ने अनुमती पाई यस बेञ्चसमक्ष पेश हुन आएको छ ।

            २.    मुद्दाको संक्षिप्त विवरण यसप्रकार छ : बाबु बुद्धिलालको छोरा म फिरादी र तुल्सीभक्त २ र छोरी विपक्षी रुद्रमाया र ज्ञानकुमारीसमेत २ गरी जम्मा ४ छोरा छोरी भएको बाबुआमा मरिसकेको र ज्ञानकुमारीको अघि नै विवाह भई विपक्षी रुद्रमायाको विवाह नभई बुढीकन्या हुँदा ज्ञानीसमेत सगोलमा बसिआएको र तुल्सीभक्त पनि मरिसकेकोले बुहारी चम्पा, भतिजा बाबुकाजीले रु.३,९५१।लिई मिति ०९।३।१३।५ मा अंश छोडपत्र पास गरी दिई छुट्टि बसेकोले विपक्षी दिदी जेठी भएकोले चलअचल श्रीसम्पत्ति समाली आएको, निजको चित्त नदुखोस् भन्ने अभिप्रयासले २०२६।६।१५ मा रजिष्ट्रेशन पास गराई लिएको । वटुटोलको घरसमेत विपक्षी र म समेत दुवैजनाको नाममा खरिद गरेका थियौं । त्यतिकैमा म उपर घर बगैंचा छुट्याइपाउँ भन्ने मुद्दा दायर गरी दुःख दिएकीले मुद्दा परिसकेपछि विपक्षीलाई अंश छुट्याई बसौं भन्दा आलटाल गरी अंश दिन्न भन्ने जवाफ दिएको हुँदा सबै चलअचल श्रीसम्पत्ति विपक्षीका हातमा रहेकोले विपक्षीसँग तायदाती लिई मैले पाउनुपर्ने ३ खण्डको २ खण्ड अंश पाउँ भन्ने फिराद दावा ।

            ३.    वादी र म २०२६।१२।१३ सम्म सगोलमा बसेका थियौं र सगोलमा बसेको अवस्थामा आफूले काम गर्न सकेको अवस्था कपडा बुन्ने धागो बाटी कपासको बत्ती बनाई बिक्री गरी जोडेको रु.७०००।मेरो पेवाको रुपैंयाँ भएको हुँदा हामी वादी प्रतिवादी आफूआफूले जोडेको सम्पत्ति हुँदा विपक्षी कृष्णमानको रु.७०००। र मेरो ७०००।जम्मा रु.१४०००।दुवै जना मिली घर बगैंचा का.जि. कुसिकार गल्ली बस्ने आषालाल अमात्यसँग ०२६।६।१५ मा पास गरी लिई भोग गरी आएका छौं । हामी मिली बस्न नसकी मेरो हक जतिको घर बगैंचा मिति २०२६।१२।१३ गते छुट्याईदिनु, मेरो भागको कोठामा बसी आएको हुँदा बहाल पनि दिनु भनी विपक्षीलाई भन्दा सोही दिन रातको १२ बजे समयमा विपक्षी र निजको छोरा सुर्जेभक्त समेतले मलाई कुटपिट गरेको हुँदा मैले नालेश गरेको हुँदा विपक्षीलाई जरिवानासमेत भई २०२८।३।३०।४ मा फैसला भएको छ । घर बगैंचा छुट्याई नदिएको हुनाले घर बगैंचा छुट्याई चलन चलाई पाउँ भन्ने विपक्षीउपर यसै अदालतमा फिराद दायर गरी चलन चलाई दिने ठहरी ०२९।३।३१ गते फैसला भएको छ र का.जि. अ.को फैसलाउपर वा.अं.अ.मा पुनरावेदन गरेकोमा वा.अं.अ.बाट ईन्साफ सदर ठहरी ०३०।२।३२ मा फैसला भएको छ वा.अं.को फैसलाउपर विपक्षीको सर्वोच्च अदालतमा पुनरावेदन परी हाल म.क्षे.अ.मा सरी आएको छ । विपक्षीसँग ०२६।१२।१४ गते देखि अलग बस्न गएको व्यक्ति अदना आईमाइसँग अंशबण्डा गर्नुपर्ने सम्पत्ति छ भन्ने कुरा पत्यार नपर्ने र अंशबण्डा गर्नुपर्ने सम्पत्ति मेरो जिम्मा छैन । विपक्षीले फिराद दायर गर्न पर्ने कारण मेरो आर्जनबाट जोडेको घर बगैंचा बण्डा गरी अंशबण्डाका १६ नं. बमोजिम आधी अंश मात्र मलाई दिने नियतले नालेश गरेको हो । मेरो पेवाबाट जोडेको घर बगैंचा अंशबण्डा गर्नुपर्ने होइन । बाबु बाजेको पालाको सम्पत्ति विपक्षी जिम्मा नै छ भन्ने रुद्रमायाको प्रतिउत्तर ।

            ४.    यसमा अंश मुद्दा पर्न अएकोले अंश वादीले पाउने नपाउने र पाएमा के कति पाउने भन्ने तर्फको विचारलाई स्त्री अंश धनको १ नं. मा कन्या वा सधवा वा विधवा स्वास्नी मानिसले आफ्नो आर्जनको चल अचल आफ्नो खुस गर्न पाउँछन भन्ने कुरा लिखत प्रमाणबाट देखिनु पर्ने सो बाट नदेखिएको र ४ नं. मा स्वास्नी मानिसलाई माइती मावली पट्टिका नातेदारले दिएको चल अचल र त्यसबाट बढे बढाएको सम्पत्ति पेवा ठहर्छ भन्ने भएबाट उक्त परिभाषा भित्र बाहेकको प्रतिवादी देखिन आएको छ । अंशवण्डाको १८ नं. मा मानु नछुट्टि संगबसेका अंशियारहरू छन भने अंशियारहरूले कमाएको धन र लगाएको ऋणसमेत सबै अंशियारहरूको भाग लाग्छ ऐनबमोजिम गरिदिनु पर्छ । अलग नभए पनि मानु छुट्टि भिन्न बसेका वा खतिउपति आफ्नु आफ्नु गरिआउनु, हिस्सासँग मात्र राखिखानु पिउनु गरेकोमा एकै ठाउँमा भए पनि मानु छुट्टि भिन्न भएको ठहर्छ । त्यस्तो कमाएको धन लगाएको ऋण आफ्नोफ्नो हुन्छ भन्ने भएकोले र आफ्नोफ्नो हिस्सासमेत राखी खानु पिउनु गरेको भन्ने प्रतिउत्तर नभई सगोलमै भइरहेको त्यस्तोमा अंश पाउने भन्ने यस मुद्दाबाट प्रष्ट हुन्छ । अंशवण्डाको १६ नं.ले ३५ वर्ष उमेर पुगेकी विवाह नभएकी छोरीले छोरा सरह छोराले पाउने अंशको आधा अंश पाउँछ । अंश लिएपछि ऐनबमोजिम विवाह भयो वा पोइल गई भने उसले पाएको र अंशबाट ऐनबमोजिम विवाह खर्च पर सारी बाँकी ऐनले हक पुग्नेले पाउँछ भने उल्लेख भएको पाइन्छ । यो मुद्दा अंश पाउँ भन्ने हुँदा प्रतिवादी विवाह नभएकी सगोलमा बसेकी दिदी भन्ने वादीबाट देखिन आएको र अंशबण्डा भएको छैन सगोलका हुन भनी मिसिलबाट निर्विवाद सिद्ध भइरहेको र अंशवण्डाको १८ नं. बमोजिम आफ्नोफ्नो खतिउपती आफ्नोफ्नो गरी आफ्नो हिसाबसँग मात्र राखी खानु पिउनु गरेको भन्ने कुरा प्रतिवादीको जिकिर गराई देखाईबाटै देखिन आएकै ठाउँमा सगोलमा बसी आएको देखिन आएको छ र वादी प्रतिवादीहरूबाट दाखिल भएको तायदाती वादी प्रतिवादीहरू दुवै थरलाई सुनाउँदा पनि त्यसतर्फ नालिश गरेको देखिन नआएकोले उपरोक्त अंशवण्डाको १८ नं. ले ऋण धन अंश लाग्न पाउने भन्ने देखिन आएको छ । अब के कति पाउने हकमा ऐ.ऐनको दफा १६ नं. ले वादी छोरा र प्रतिवादीहरूले दिएको तायदातीको ऋण धनको २ खण्डको १ खण्ड अंशको आधा प्रतिवादीको आधा हुँदा वादीले २ भागको १ अर्थात जम्मा ४ खण्डको ३ खण्ड अंश पाउने ठहर्छ भन्ने मिति २०३२।८।५।६ को का.जि. अ.को फैसला ।

            ५.    यिनै वादी प्रतिवादीको घर बगैंचा छुट्याई पाउँ भन्ने मुद्दामा समेत पुनरावेदक प्रतिवादी रुद्रमायाको पुनरावेदन जिकिरमा अंशवण्डाको १६ नं. अनुसार छोराले पाउने सरह अंश पाउनुपर्ने हो भन्ने पुनरावेदन जिकिर लिनुभएकोमा प्रस्तुत मुद्दाको फिरादपत्र मिति २०३१।२।२७ मा दायर भएको देखिएको र विवाह नभएकी छोरीले छोरा सरहकै अंश पाउने अंशवण्डाको १६ नं. मुलुकी ऐन छैठौं संशोधन २०३३ द्वारा संशोधन भएको देखिनाले वादीले अंश मुद्दा दायर गरी अदालतमा प्रवेश हुँदाको बखत प्रचलित मुलुकी ऐन अंशवण्डाको १६ नं. मा हेर्दा ३५ वर्ष उमेर पुगेकी छोरीले छोरा सरह छोराले पाउने अंशको आधी अंश पाउँछे भन्ने लेखेको देखिनाले उसबखत ऐनबमोजिम नै छोराले पाउने अंशको आधी अंश पाउछे भन्ने लेखेको देखिनाले उसबखत ऐनबमोजिम नै छोराले पाउने अंशको आधी प्रतिवादी रुद्रमायाले अंश पाउँछिन । सुरु अदालतले भाग लगाइएको हिसाब प्रष्ट नभएको देखिए पनि ऐनबमोजिम अंश पाउने ठहर्‍याई छिनेको सुरु काठमाडौं जिल्ला अदालतको इन्साफ मनासिव छ । प्रतिवादी रुद्रमायाले देखाएको ऋण रु.५०००। को हकमा रजिष्ट्रेशन पारित भएको पनि नदेखिएको हुनाले साहूले डिग्री गराइसकेको पनि नदेखिएकोले सो रु.५०००। तिर्नुपर्ने हुन्छ । ठहरेका बखत ऐनबमोजिम वादीले समेत बराबर तिर्नुपर्ने हुन्छ । हालै सो ऋण बण्डा लगाउन पर्ने देखिँदैन । त्यसतर्फ सुरुले दृष्टि नपुर्‍याएको सम्म ठहर्छ भन्ने मध्यमाञ्चल क्षेत्रीय अदालतको ०३४।१।२०।२ को फैसला ।

            ६.    उक्त फैसलामा सार्वजनिक विषयमा प्रत्यक्ष गम्भिर कानूनी त्रुटि भएकोले पुनरावेदन गर्ने अनुमति पाउँ भनी चढाएको निवेदनमा पुनरावेदन गर्ने अनुमति पाई पुनरावेदनमा दिएको मुख्य जिकिर यसप्रकार छ : उक्त घर बगैंचा छुट्ट्याई उठाई चलन पाउँ भन्ने मुद्दासँग सम्बन्धित घर बगैंचा अंश मुद्दामा वादीप्रतिवादी दुवैतर्फबाट तायदाती फाँटमा दिएको हुँदा सो घर बगैंचाको तिन खण्डको दुई खण्ड निवेदकले र तिन खण्डको एक खण्ड विपक्षीले अंश मुद्दाका फैसलाअनुसार पाउने र सोही घर बगैंचा प्रस्तुत घर बगैंचाको छुट्ट्याई उठाई चलन पाउँ भन्ने मुद्दाको फैसलाअनुसार निवेदकले र विपक्षीले आधाआधा पाउने भई एकै दिनमा एकै डिभिजन बेञ्चबाट भए गरेको दुई मुद्दामा फैसला आपसमा बाझिई भएको प्रष्ट छ । निवेदक र विपक्षीले आधा खरिद गरेको भन्ने ०२६।६।१४।४ को लिखत कहिं पनि उल्लेखसम्म पनि भएको छैन । अविवाहिता स्वास्नी मानिसको पेवा हुनै नसक्ने अवस्था स्त्री अंश धनको ४ नम्बरमा भए गरेको व्यवस्थाले प्रष्ट गरेको छ । अंशवण्डाको १८ नं. अनुसार अंशियारहरूको नाममा खरिद भए गरेको सम्पत्ति सगोलको हुने र तत्काल प्रचलित अंशवण्डाको १६ नम्बरमा ३५ वर्ष उमेर पुगेकी विवाह नभएकी छोरीले छोराले पाउने अंशको आधी पाउने व्यवस्था भए गरेको हुँदा म.क्षेत्रीय अदालतबाट २०३४।१।२०।२ मा भएको फैसला स्त्री अंश धनको ४ नम्बर तथा अंशवण्डाको तत्काल प्रचलित १६ नम्बर र १८ नम्बर विपरित हुन गएको छ भन्नेसमेत उल्लेख छ ।

            ७.    न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा ५ को खण्ड (ख) अनुसार पुनरावेदनको अनुमति दिएको छ भन्ने स.अ.डिभिजन बेञ्चको ०३४।६।१४।६ को आदेश ।

८.    पुनरावेदक तर्फबाट रहनु भएको विद्वान अधिवक्ता श्री होराप्रसाद जोशीले बगैंचा छुट्याई चलन पाउँ भन्ने मुृद्दाको फैसला अनुसार पुनरावेदकले र विपक्षीले आधाआधा पाउने भई एकै दिनमा एकै बेञ्चबाट भए गरेको दुई मुद्दाका फैसला आपसमा बाझिन गएको प्रष्ट छ । उक्त फैसला स्त्री अंश धनको ४ नं. तथा अंशवण्डाको तत्काल प्रचलित १६ नं. र १ नं. विपरित भएकोले उक्त फैसला बदर हुनुपर्ने भन्नेसमेत आफ्नो वहस प्रस्तुत गर्नुभयो ।

            ९.    मध्यमाञ्चल क्षेत्रीय अदालतबाट २०३४।१।२०।२ मा गरेको फैसला ठीक बेठीक के रहेछ त्यस कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।

            १०.    प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी विद्वान अधिवक्ता श्री हरिप्रसाद र विपक्षी रुद्रमाया श्रेष्ठको वा.भिमबहादुरले गर्नुभएको वहससमेत सुनी पुनरावेदक कृष्णमाया श्रेष्ठ र विपक्षीको वा.भिमबहादुर समेतलाई रोहवरमा राखी निर्णयतर्फ विचार गर्दा यसमा ३५ वर्षको उमेरसम्म विवाह नगरी बसेकी कन्यालाई भाइले पाउने अंशको तत्काल प्रचलित अंशवण्डाको १६ नं. ले आधा अंश पाउने भनी फैसला गरेको हकमा त्यस्ती कन्या नै बसेवापत भाइले दिनुपर्ने अंश कन्याले पाउने भएको रहेछ । वादी प्रतिवादी दुवैजना संयुक्त भई राजीनामा गराई लिएको घरका हकमा दुवैजनाको बरावर भाग लाग्ने हुँदा सो बमोजिम गर्ने गरी मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ मनासिव ठहर्छ । कोर्टफी रही पुनरावेदन परेकोले केही गरिरहन परेन । नियमबमोजिम गरी मिसिल बुझाइदिनू ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. ईश्वरीराज मिश्र

 

इति सम्वत् २०३५ साल आषाढ १२ गते रोज १ शुभम् ।