निर्णय नं. ११३२ – उत्प्रेषणको आदेश जारी गरिपाउँ
निर्णय नं. ११३२ ने.का.प. २०३५ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री सरदार ईश्वरीराज मिश्र सम्वत् २०३३ सालको रिट नम्बर १३१२ आदेश...
निर्णय नं. ११३२ ने.का.प. २०३५
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री सरदार ईश्वरीराज मिश्र
सम्वत् २०३३ सालको रिट नम्बर १३१२
आदेश भएको मिति : २०३५।२।२६।५ मा
निवेदक : अं. नारायणी नं. पं.वीरगञ्ज वडा नं. ६ बस्ने पार्वतीदेवी रौनियार
विरुद्ध
विपक्षी : जि. बारा गा.पं.भतौडा वडा नं. ९ बस्ने गडर राउत कुर्मीसमेत
विषयः उत्प्रेषणको आदेश जारी गरिपाउँ
(१) कुनै मुद्दामा विभिन्न प्रतिवादी भएकोमा एउटा प्रतिवादसँग मिलापत्र हुँदैमा अर्को प्रतिवादीको हकमासमेत सो मुद्दाको अन्तिम टुंगो लागेको भन्न नमिल्ने ।
(प्र. नं. ११¬)
निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्रीकृष्णप्रसाद घिमिरे
विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री दिनेशमान प्रधान र विद्वान का.मु.वरिष्ठ सरकारी अधिवक्ता श्री केदारनाथ उपाध्याय
उल्लिखित मुद्दा :
आदेश
न्या. धनेन्द्रबहादुर सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेरण वा जुन उपयुक्त हुन्छ आज्ञा आदेश वा जारी गरी ०३०।३।१५ को मिलापत्र र सो पछि भएको दर्ता निर्णयसमेत बदर गरिपाउँ भन्नेसमेत ०३३।८।१५ मा रिट निवेदन दर्ता भएको रहेछ ।
२. संक्षिप्त तथ्य यसप्रकार छ : वीरगञ्ज प.पं.वार्ड नं. ६ बस्ने गोपीकृष्ण रौनियारका नामको मतौडा गा.पं.वार्ड नं. ९ को कि.नं. १३ को जग्गा बिगाहा १।१७।० मध्ये उत्तरतर्फ आधी जग्गा बिगाहा ०।१८।१० मैले जोती आएकोले मोही कायम गरिपाउँ भन्ने वादी गुदर राउत सो जग्गा वादीले जोतेको हैन मैले जोतेको भन्नेसमेत प्रतिवादी अविलअहमद भएकोमा वादी दावीको जग्गा ०।१८।१० वादी गुदरको नाममा मोही कायम गरी वादी दावीको बिगो छाडी, प्रत्यर्थीहरू गुदर राउत कुर्मी र अलि अहमद मिया अञ्सारीको बीच प्रत्यर्थी भूमिप्रशासन कार्यालय बाराबाट मिति ०३०।३।१।१४ मा मिलापत्र भएको रहेछ ।
३. रिट निवेदन जिकिर यसप्रकार छ : भू.सं.ऐन, २०२१ को दफा २६क. ले मोहीबाट कूत लिन पाउने, दफा २६ क. ले मोहियानी हक खरिद वा दानदातव्य वा अरू किसिमले हक छाडी लिन पाउने छैन भन्ने प्रतिबन्ध लगाएको छ । दफा २५ (४) (क) जग्गावालाबाट कमाउन लिएको जग्गा कसैलाई कमाउन दिएको भए निजको सबै अधिकार समाप्त हुने, मोहियानी हक कसैलाई दिन लिन नहुने स्पष्ट व्यवस्था छ । निवेदिकाको जि. बारा गा.पं.मतौडा वडा नं. ९ को कि.नं.१३ को जग्गा विगाहा १।१७।० छ, सो जग्गासमेतको मोही विपक्षी अलिअहमद अंसारी भएको सो जग्गासमेतको ०३२ सालको बालीमा नालेस गरेकोमा बारा जि. अ.ले ०३३।६।६ मा जग्गा विगाहा १।१७।० मध्ये ०।१८।१० को मात्र बाली भराउने गरी फैसला गर्नुभयो र ०३३।७।१६ मा नक्कल सारी हेर्दा मैले अघि जग्गा जोती आएको भनी प्रतिवादी फिराई मिलापत्र पेश गरेको छ, सो हेर्दा गुदरले आधा जग्गा मोही भई जोत्न पाउने गरी ०३०।३।१४ मा मिलापत्र गरेका रहेछन्, यो कुरा कतैबाट खबर र भूमिप्रशासनबाट मलाई बुझ्ने काम पनि भएन, सो मिलापत्रको आधारमा गुदरलाई मोही कायम गरेको भू.सं.ऐनको दफा २५ विपरित छ । सो मिलापत्र र सो पछि भएको दर्ता निर्णयसमेत बदर गरिपाउँ भन्नेसमेत निवेदन जिकिर ।
४. विपक्षीहरूबाट लिखितजवाफ लिई पेश गर्नु भन्नेसमेत सर्वोच्च अदालत डिभिजन बेञ्चको ०३३।८।१६ को आदेशानुसार प्राप्त प्रत्यर्थीहरूको लिखितजवाफ निम्नप्रकार छ :
५. सो कि.नं. १३ जग्गा विगाहा ०।१८।१० मैले ०२५ सालदेखि जोती कमाई आएको मोहीको प्रमाणपत्र पाएको छु । मैले जोती आएदेखिको कूतबाली बुझाई आएको छु । नबुझाएको भए उजूर हुनुपर्ने, जोताहा अस्थाई निस्सा विवरणको अवस्था २ नं. अनुसूची लगत प्रकाशन भएको म्यादभित्र विपक्षीको उजूर नपरेको मिलापत्र बदर गरिपाउँ भनी जिल्ला अदालतमा नालेश गर्न पाउने कानूनीबाटो भएकोले समेत रिट निवेदन लाग्ने कुरा छैन खारेज गरिपाउँ भन्ने ०३४।३।१६ को गुदर राउत कुर्मी ।
६. मागबमोजिमको मिसिल यसैसाथ छ तामेली भरपाई पठाउन कागज फेला नपरेकोले बारा जि. अ.बाट आएको पत्र ०३३।९।८ मा यस कार्यालयमा दर्ता भएको देखिँदा सोही मितिमा नै रिट निवेदनको प्रतिलिपि बुझेको मानी कारवाई गरी दिनुहुन अनुरोध छ भन्नेसमेत प.सं.२४ ता.फ.च.नं. ३६५ मिति ०३४।५।२३ को भूमिप्रशासन शाखा बारा ।
७. प्रत्यर्थी अलिअहमद अंसारीका नामको सूचना निजले ०३४।३।८ मा बुझी लिई तामेल भएकोमा लिखितजवाफ नदिई म्याद गुजारी बसेको रहेछ ।
८. प्रस्तुत निवेदनमा निवेदकका मागअनुसारको आदेश जारी हुने हो होइन सो कुराको निर्णय दिनुपर्ने हुन आयो ।
९. निवेदकतर्फका विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरेले मोही कायम गरिपाउँ भन्ने उजूर परेकोमा जग्गाधनी निवेदकलाई बुझ्दै नबुझी मोही–मोहीको बीच मिलापत्र गरेको बदर हुनुपर्ने भन्नेसमेत र प्रत्यर्थी गुदर राउत कुर्मीका विद्वान वरिष्ठ अधिवक्ता श्री दिनेशमान प्रधानले सो जग्गा ०२५ सालदेखि कमाई जोतिआएको मोहीले कानूनबमोजिम भएको मिलापत्र बदर गराउन अदालतमा नालेश गर्नुपर्ने रिट निवेदन गर्न नपाउने हुँदा रिट निवेदन खारेज हुनुपर्ने भन्नेसमेत र भूमिप्रशासन तर्फबाट वहस गर्न खटिनु भएको विद्वान का.मु.वरिष्ठ सरकारी अधिवक्ता श्री केदारनाथ उपाध्यायले मिलापत्र कानूनी छ र विलम्ब गरी रिट परेको हुदाँ रिट खारेज हुनुपर्ने भन्ने वहस प्रस्तुत गर्नुभयो ।
१०. यसमा निर्णयतर्फ हेर्दा का.मु.वरिष्ठ सरकारी अधिवक्ताले बेञ्चसमक्ष प्रस्तुत गर्नु भएको मिसिलबाट जग्गाधनी गोपीकृष्ण रौनियारलाई प्रतिवादी बनाई मोही कायम गरिपाउँ भनी प्रत्यर्थी गुदर राउतको निवेदन दावी परेको देखिन्छ । मोही अलिअहमदले आधा जग्गा जोत्न नसकी छाडिदिएकोले मैले जोती आएको मोही कायम गरिपाउँ भन्ने निवेदन दिएकोमा यस कार्यालयबाट कारवाही चलिरहेकै छ । विपक्षहरूले लगाई राखेको उखु ०२९।१२।१६ मा टेक्टरबाट जोती नोक्सान टण्टा गरी दिए क्षतिपूर्ति दिलाई मोही हक सुरक्षित गरी टण्टा छोडाइपाउँ भन्ने संयुक्त निवेदन परी सो दुई पक्षको बीच जग्गा विगाहा १।१७।० मध्ये उत्तरतर्फ ज.विगाहा ०।१८।१० गुदरका नाममा मोही कायम गरी विगो दावी छाडी ०३०।३।१४ मा मिलापत्र भएको र सो मिलापत्रबमोजिम मोही दर्ता गरेको देखियो ।
११. कुनै मुद्दामा विभिन्न प्रतिवादी भएकोमा एउटा प्रतिवादीसँग मिलापत्र हुँदैमा अर्को प्रतिवादीको हकमासमेत सो मुद्दाको अन्तिम टुंगो लागेको भन्न मिल्दैन, मिलापत्र नहुनेको हकमा कानूनबमोजिम निर्णय गर्नुपर्ने हुन्छ । सोबमोजिम निर्णय भएपछि मात्र सो मुद्दाको अन्तिम टुंगो लागेको हुन्छ, तर यसमा प्रतिवादी बनाइएका गोपीकृष्ण रौनीयारसँग मिलापत्र भएको वा निजको हकमा सो मुद्दाको कानूनबमोजिम निर्णय भएको देखिएन मुद्दामा अन्तिम निर्णय गरी सकेपछि मात्र सो विवादको निपटारा भएको हुन्छ र त्यसबाट कसको हक कायम हुन आउँछ हेरी सोबमोजिम गर्नुपर्ने हुन्छ । प्रस्तुत मुद्दामा प्रतिवादी बनाइएका निवेदिकाका पति गोपीकृष्ण रौनियारका हकमा कानूनबमोजिम कुनै निर्णय नै नगरी निजको हकमा असर पर्ने गरी अरू व्यक्तिहरूको बीच भएको मिलापत्रको आधारमा निवेदिकाको जग्गामा मोही कायम गरेको त्रुटिपूर्ण हुँदा सो मोही कायम गरेको उत्प्रेषणको आदेशले बदर हुने ठहर्छ । प्रत्यर्थी गुदरले दिएको मिति २०२९।९।११ को उजूरीमा कानून बमोजिम निर्णय गर्नु भनी यो आदेश जारी गरिएको छ । यो आदेशको प्रतिलिपि प्रत्यर्थी कहाँ पठाउन महान्यायाधीवक्ताको कार्यालयमा पठाई मिसिल नियमबमोजिम बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. इश्वरीराज मिश्र ।
इति सम्वत् २०३५ साल जेष्ठ २६ गते रोज ५ शुभम्