निर्णय नं. ३९६० – कर्तव्य ज्यान
निर्णय नं. ३९६० ने.का.प. २०४६ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०४६ सालको फौ.पु.नं. २५५, ५८३...
निर्णय नं. ३९६० ने.का.प. २०४६ अङ्क १०
संयुक्त इजलास
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
सम्वत् २०४६ सालको फौ.पु.नं. २५५, ५८३
फैसला भएको मिति : २०४६।८।१२।२ मा
पुनरावेदक/प्रतिवादी : जिल्ला बागलुङ बुंगा दोभान गा.पं. वडा नं. १ घर भई हाल बागलुङ कारागारमा थुनामा रहेका डम्बरबहादुर क्षेत्री
विरुद्ध
वादी : रुपा गिरीको जाहेरीले श्री ५ को सरकार
वादी : रुपा गिरीको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
प्रतिवादी : जिल्ला बागलुङ दोभान गा.पं. वार्ड नं. १ घर भई हाल कारागार शाखा बागलुङमा थुनामा रहेका डम्बरबहादुर खत्री क्षेत्री
मुद्दा : कर्तव्य ज्यान
§ निर्दोषिताको शंकारहित सबूद प्रमाणको अभावमा निर्दोषिताको ठहर गर्न न्यायसंगत नहुने।
(प्रकरण नं. २१)
वादी श्री ५ को सरकारतर्फबाट : विद्वान अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट
पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान वैतनिक अधिवक्ता श्री होमनाथ ढुंगाना
फैसला
न्या. सुरेन्द्रप्रसाद सिंह: पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(३) अनुसार दोहोरो पुनरावेदन परी आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य जिकिर र निर्णय यस प्रकारछ ।
२. छोरी थुमिकलालाई डम्बरबहादुरसँग विवाह गरिदिएको, निजबाट १ छोरा २ छोरी छन् । निजले कमल गिरीको छोरीलाई कान्छी स्वास्नी बनाई घरमा ल्याएछन् । २०४४।५।४ गते बिहान छोरी थुमिकला घाँस काट्न भुर्तुङ भन्ने खोलाको किनारामा गएको अवस्था डम्बरबहादुरले मारी, लास समेत बेपत्ता पारी दिएकाले कारवाई गरिपाउँ भन्ने समेत व्यहोराको रुपा गिरीको जाहेरी दर्खास्त ।
३. मृतक थुमिकलासँग बारम्बार झगडा भई रहन्थ्यो । २०४३।११।१२ गते कान्छी श्रीमती घरमा ल्याएपछि, झगडा बढ्दै गयो । जेठीलाई मार्न पाए झगडा सदा शान्त हुने विचार गरी राखेकोमा, २०४४।५।४ गते बिहान जेठी श्रीमती घाँस काट्न, तमान खोलाको छेउमा गएको मौका पारी, म पनि घाँस काट्ने निहुँले गई बोलाएँ, तिनी आइनन् । म स्वयं तिनी भएको ठाउँमा गई मुड्कीले छाती, कोखामा हानी त्यसपछि व्यहोस् भइन् र बर्कोले घाँटी कसी मारें । गहना निकाली लुकाई, बाढी आएको तमान खोलामा लास फाली घरमा आएको भन्ने व्यहोराको डम्बरबहादुरले प्रहरीमा गरेको बयान ।
४. लाश फेला नपरे पनि मृतकलाई डम्बरबहादुरले मारेकोमा विश्वास लाग्छ भन्ने समेत व्यहोराको सरजमीन मुचुल्का ।
५. प्रतिवादीले श्रीमती थुमिकलालाई मारी तमान खोलामा फाली दिएकोमा निज सावित रहेका, संकलित प्रमाणबाट पनि सो को पुष्टि हुन आएकोले निजलाई ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन ।
६. २०४४।५।४ गते श्रीमती थुमिकलासँग घाँस काट्न गएको, घरायसी झगडाको विषयमा निजलाई सम्झाउँदा मलाई २।३ पटक मुड्कीले हानी मलाई रिस उठ्यो, मैले कुटपिट गर्दा निजको मृत्यु भयो । गहना झिकें र लुकाएँ । लासलाई तमान खोलामा फाली दिएँ । मार्नमा कसैको सहमती छैन भन्ने समेत व्यहोराको डम्बरबहादुरले अदालतमा गरेको बयान ।
७. प्रतिवादीले मृतक थुमिकलालाई २ पटक हिर्काउँदा मृत्यु भएकोमा प्रतिवादी सावित रहेका, अरु षड्यन्त्र गरी मार्नु पर्ने कारणहरु उल्लेख नरहेको देखिँदा ज्यानसम्बन्धीको १४ नं. अनुसार कैद वर्ष १० को सजायँ हुन्छ भन्ने समेत व्यहोराको जिल्ला अदालतको फैसला ।
८. वादी दावी बमोजिम सजायँ नगरी गरेको शुरु जिल्ला अदालतको फैसला मिलेको नहुँदा दावी बमोजिम सजायँ गरिपाउँ भनी वादी श्री ५ को सरकारको तर्फबाट धवलागिरी अञ्चल अदालतमा परेको पुनरावेदन ।
९. सबूद प्रमाणको अभावमा ज्यानसम्बन्धीको १४ नं. बमोजिम सजायँ गर्ने गरेको जिल्ला अदालतको फैसला बदर गरी अभियोगबाट फुर्सद पाउँ भनी प्रतिवादी डम्बरबहादुरबाट परेको पुनरावेदन ।
१०. आपसमा भनाभन हुँदा उठेको रिस थाम्न नसकी साधारण तरिकाले हान्दा ज्यान मरेको देखिँदा, जिल्ला अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने समेत व्यहोराको धवलागिरी अञ्चल अदालतको फैसला ।
११. दावी बमोजिम सजायँ नगरेको त्रुटिपूर्ण फैसलालाई सदर गरेको अञ्चल अदालतको फैसला बदर गरी प्रतिवेदन दावी बमोजिम सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारतर्फबाट क्षेत्रीय अदालतमा परेको पुनरावेदन ।
१२. सबूद प्रमाण बुझी शुरु अदालतको फैसला बदर गरी सफाई पाउँ भनी प्रतिवादीको तर्फबाट परेको पुनरावेदन ।
१३. संकलित सबूद प्रमाणबाट प्रतिवादीलाई ज्यानसम्बन्धीको १४ नं. बमोजिम सजायँ गर्ने गरेको जिल्ला अदालतको फैसलालाई सदर गरेको अञ्चल अदालतको इन्साफ मनासिब ठहर्छ । वादी श्री ५ को सरकार, प्रतिवादी डम्बरबहादुर दुबै पक्षको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत व्यहोराको पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला ।
१४. मृतकको मृत्यु कर्तव्यबाट गरे गराएकोमा प्रतिवादी सावित रहे नभएको अवस्थामा नै दावी बमोजिम सजायँ नगर्ने गरेको अदालतका फैसलालाई सदर गरेको क्षेत्रीय अदालतको फैसला न्यायसंगत नहुँदा बदर गरी दावी बमोजिम सजायँ गरिपाउँ भनी वादी श्री ५ को सरकारतर्फबाट परी आएको पुनरावेदन संकलित प्रमाणको मूल्यांकन नगरी सजायँ गर्ने गरेको, अदालतको इन्साफलाई सदर गरेको, क्षेत्रीय अदालतको फैसलालाई बदर गरी, अभियोगबाट सफाई पाउँ भन्ने समेत व्यहोराको, प्रतिवादी तर्फबाट पर्न आएको पुनरावेदन ।
१५. नियम बमोजिम पेश हुन आएकोमा वादी श्री ५ को सरकारतर्फबाट उपस्थित विद्वान अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्टले, मृतक थुमिकलालाई प्रतिवादीले कर्तव्य गरी मारेकोमा विवाद छैन, थुमिकलाको मृत्यु भएपछि खोलामा लगी फालेको हुँदा लाश जाँच हुन नसके तापनि, निजको अधिकारप्राप्त अधिकारी समक्षको साविती बयान समेतबाट र घरको परिस्थितिबाट, थुमिकलालाई मार्ने पूर्व मनसाय प्रतिवादीको थिएन भन्न सकिने स्थिति छैन । घरमा मृतक जेठी श्रीमती रहँदैको अवस्थामा, कान्छी श्रीमती ल्याएर सिर्जना भएको झगडा निराकरणको लागि मृतकलाई घाँस काट्ने बहानामा जंगलमा लगी मारी लाश खोलामा फाली दिने प्रतिवादीलाई ज्यानसम्बन्धीको १४ नं. बमोजिम सजायँ गरेको फैसला मिलेको नहुँदा बदर गरी, अभियोग प्रतिवेदन दावी बमोजिम सजायँ गरिपाउँ भनी बहस प्रस्तुत गर्नु भएको भने पुनरावेदक प्रतिवादी तर्फबाट उपस्थित विद्वान वैतनिक अधिवक्ता श्री होमनाथ ढुंगानाले आफ्नो बहसको क्रममा मृतक थुमिकला र मेरो पक्ष प्रतिवादी, डम्बरबहादुर बीच लोग्ने स्वास्नीको सम्बन्ध रहेको, श्रीमतीको दैनिक पारिवारिक स्थितिलाई बिखण्डित हुने किसिमको गाली गलोज गर्ने प्रबृत्ति र व्यवहारले समाजमा समेत नराम्रो प्रभाव पर्दै आएको, निजको त्यस किसिमको व्यवहारलाई सुधार गर्न भगिरथ प्रयत्न गर्दा पनि, कुनै सुधार नहुँदा, तत्काल उठेको रिसबाट हातले मुक्काले कुटपिट गर्दा मृतक थुमिकलाको मृत्यु हुन गएको छ । यसै अवस्थामा प्रतिवादीलाई दिएको सजायँ न्यायसंगत मान्न सकिन्न । सफाई पाउनु पर्दछ भनी प्रस्तुत गर्नु भएको जिकिर समेत सुनियो।
१६. प.क्षे.अ.को फैसला मनासिब बेमनासिब के रहेछ हेरी, निर्णय दिन पर्ने हुन आयो ।
१७. निर्णयतर्फ हेर्दा, यसमा मृतक थुमिकलाको मृत्यु निजका पति, प्रतिवादी डम्बरबहादुरको कर्तव्यबाट भएको देखिन्छ । मृतक थुमिकला मेरी जेठी श्रीमती हुन् मैले कान्छी श्रीमती ल्याउनु भन्दा पूर्व नै निजले मलाई गाली गलोज गर्ने, पारिवारिक स्थितिमा सदैब मनमुटाबको स्थिति सिर्जना गरिरहने गर्दथिन । निजको बानी व्यवहारमा सुधार ल्याउन सम्झाउँदा बुझाउँदा पनि आफ्नो व्यवहारमा परिवर्तन ल्याइनन् । कान्छी श्रीमती ल्याएपछि निजको त्यस किसिमको व्यवहारले चरम सिमा लिएको कारण निज घाँस काट्न गएको अवस्थामा, सम्झाउँदा बुझाउँदा मलाई हिर्काइन तत्काल रिस उठेको कारण मैले शरीरमा हिर्काउँदा लडिन र सोही रिसमा पुनः लात मुक्का हान्दा मरेकी हुँदा, लाशलाई खोलामा फाली दिएको कुरामा प्रतिवादी अदालतमा समेत सहमत रहेछन् ।
१८. प्रतिवादीको साविती बयान समेतको आधारमा निज उपर ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम सजायँ गरिपाउँ भनी अभियोग प्रतिवेदन दावी रहेको पाइयो ।
१९. यसमा मृतक थुमिकलाको लाश फेला पर्न सकेको छैन । मृतकलाई मार्नु पर्ने कुनै उद्देश्य थिएन । निजको व्यवहारमा सुधार ल्याउन सम्झाएको, बुझाएको सम्म हो भनी प्रतिवादीको बयानमा उल्लेख भएको पाइन्छ । प्रतिवादीको साविती बयानबाट समेत मृतकलाई मार्नु पर्ने उद्देश्य खुल्न आएको देखिँदैन । सो कुराको पुष्टि वादी श्री ५ को सरकारबाट समेत हुन सकेको छैन । प्रतिवादी डम्बरबहादुरले आफ्नी श्रीमती थुमिकलालाई मार्नु पर्ने पूर्व योजना या मनसाय रहे भएको र वारदात हुँदा हातहतियारको प्रयोग भएको भन्ने कुरा मिसिल संलग्न प्रमाण कागज र प्रतिवादीको साविती बयान समेतबाट शंकारहित रुपले प्रमाणित हुन सकेको देखिएन । यसबाट प्रतिवादीको मृतक थुमिकलालाई मार्नु पर्ने मनसाय र इवी रहेको भएको भन्न मिलेन । साथै वारदात स्थलमा प्रतिवादीले मृतकलाई लात मुक्काले हानेको भन्ने कुरा प्रतिवादीकै बयानबाट देखिँदा मृतकलाई प्रतिवादीले लुकी चोरी हानेको र सोही कारण मृत्यु भएको स्थिति अवस्था पनि देखिँदैन ।
२०. अतः घरयसी कलहको कारण आफ्नो श्रीमतीलाई सम्झाउँदा बुझाउँदा श्रीमतीले प्रतिकार गरेको, उसै मौकामा प्रतिवादीलाई उठेको रिस थाम्न नसकी लात मुक्का हान्दा सोही चोटको पीरले मृतक थुमिकलाको मृत्यु हुन गएको देखिँदा वादी दावी बमोजिम ज्यानसम्बन्धीको १३(३) नं. बमोजिमको अवस्था प्रस्तुत वारदातमा देखिन नआउँदा ज्यानसम्बन्धीको १४ नं. बमोजिम प्रतिवादीलाई कैद वर्ष (१०) दश गर्ने गरेको धवलागिरी अञ्चल अदालतको इन्साफलाई सदर गरेको पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला न्यायसंगत नै देखिँदा इन्साफ मनासिब ठहर्छ । पुनरावेदक वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन ।
२१. जहाँसम्म प्रतिवादी पुनरावेदकको पुनरावेदन जिकिर सम्बन्धमा हेर्दा, मृतक थुमिकला र यी प्रतिवादी बीच एकापसमा आन्तरिक कलह हुने गर्दै आएको, आफ्नी श्रीमतीको सोही बानी व्यवहारलाई सुधार गर्न यी प्रतिवादीले वारदातको अवस्थामा समेत सोही घरायसी व्यवहारलाई पुनरोक्ती गर्दै झगडा गरेको र तत्काल श्रीमती थुमिकलाको व्यवहारबाट रिस उठी, थुमिकलालाई लात मुक्का हानी मारी, लाश खोलामा फालेकोमा प्रतिवादी सावित छन् । आफ्नो वारदातमा संलग्नता नरहेको नभएको आफूले वारदात नगरे नगराएको भन्ने प्रतिवादी जिकिर समेत देखिँदैन । प्रतिवादीको निर्दोषिताको शंकारहित सबूद प्रमाणको अभावमा निर्दोषिताको ठहर गर्न न्यायसंगत हुने नहुँदा ज्यानसम्बन्धीको महलको १४ नं. बमोजिम कैद वर्ष (१०) दशको सजायँ गर्ने गरेको पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ । पुनरावेदन जिकिर पुग्न सक्दैन । अरुमा तपसील बमोजिम गर्नु ।
तपसील
पुनरावेदक प्रतिवादी डम्बरबहादुर क्षेत्री के इन्साफ खण्डमा लेखिए बमोजिम पुनरावेदन जिकिर पुग्न नसक्ने ठहरेकाले अ.बं. २०३ नं. ले शुरुले गर्ने गरेको कैद सजायँको ५ प्रतिशतले थप कैद महिना ६ हुन्छ । प्रतिवादी थुनामा रहेको देखिँदा का.जि. अ. मार्फत सम्बन्धित जिल्ला अदालतमा लगत दिनु…१
मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा मेरो सहमति छ ।
न्या. बब्बरप्रसाद सिंह
इति सम्वत् २०४६ साल मार्ग १२ गते रोज २ शुभम् ।