November 5, 1989
Created by nepalarchives

निर्णय नं. ३९५८ – जिउ मास्ने बेच्ने

निर्णय नं. ३९५८    ने.का.प. २०४६                        अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४४ सालको फौ.पु.नं. ५८५ फैसला...

निर्णय नं. ३९५८    ने.का.प. २०४६                        अङ्क १०

संयुक्त इजलास

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

सम्वत् २०४४ सालको फौ.पु.नं. ५८५

फैसला भएको मिति :      २०४६।७।२०।१ मा

पुनरावेदक/वादी : जामुनलालको जाहेरीले श्री ५ को सरकार

विरुद्ध

प्रतिवादी : राजविराज न.पं. वडा नं. ७ बस्ने सलिम मियासमेत

मुद्दा : जिउ मास्ने बेच्ने

§  अभियुक्तहरु उपरको आरोप, जोहरवालाको जाहेरी र बकपत्र बाहेक अन्य संकलित प्रमाणबाट पुष्टि हुन सकेको नपाइँदा केवल जाहेरी दर्खास्तकै आधारमा जिउ मास्ने बेच्ने जस्तो गम्भीर अपराधमा अभियुक्तलाई दोषी ठहर गर्न कानुनसंगत नहुने ।

(प्रकरण नं. १६)

पुनरावेदक/वादी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री सामन्त सिंह बोगटी

फैसला

            न्या. सुरेन्द्रप्रसाद सिंह: पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर न्याय प्रशासन सुधार ऐन, २०३१ को १३ (३)(ग) अनुसार पुनरावेदन परी आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य जिकिर एवं निर्णय यस प्रकार छ ।

            २.    मैले पालन पोषण गरी राखेकी मेरी बहिनी विवाहित सावित्रीदेवीलाई २०४०।४।२७ गतेका दिन विपक्षीहरुको बिक्री गर्ने उद्देश्यले भारततर्फ लिई गएकाले जिउ मास्ने बेच्ने ऐन अन्तर्गत कारवाई गरिपाउँ भन्ने समेत व्यहोराको जाहेरी दर्खास्त ।

            ३.    मैले सावित्रीलाई बिक्री गर्न लागेको होइन, छोरा शाहजांहाले निजलाई बिक्री गर्न लगेको वा यहीँ छ केही थाहा छैन भन्ने समेत व्यहोराको इब्राहिम मियाको कागज ।

            ४.    सरजमीनका ११ जना मध्ये कसैले सावित्रीलाई इब्राहिम र जमालले बसमा चढाउँदै गरेको अवस्था देखेको, कसैले बसपार्कतर्फ इब्राहिम र सावित्री, शाहजांहा जाँदै गरेको र कसैले सुनेको भन्ने समेत व्यहोराको सरजमीन मुचुल्का ।

            ५.    प्रतिवादीहरुले संकलित प्रमाणबाट जिउ मास्ने बेच्नेको महलको १ नं. को कसूर गरेको देखिँदा निजहरु उपर ऐ. को १ नं. बमोजिम कारवाई सजायँ होस् भन्ने समेत व्यहोराको अभियोग प्रतिवेदन ।

            ६.    वारदातको दिन मेरै घरमा छु । सावित्री र शाहजांहासँग सो दिन भेटघाट भएको छैन । निजहरुसँग मेरो भात भान्छा भएको छैन । सावित्रीलाई भारतमा बिक्री गर्न लागेको भन्ने आरोप झुठ्ठा हो भन्ने समेत व्यहोराको इब्राहीम मियाको अदालतमा भएको बयान ।

            ७.    जाहेरवाला र प्रतिवादी चिन्दछु । सावित्रीलाई चिनेको छैन । सावित्रीलाई भारततर्फ लगेको छैन । म भारतमा मिस्त्री काम गर्ने हुँदा मउपरको आरोप झुठ्ठा हो भन्ने समेत व्यहोराको सलिम मियाले अदालतमा गरेको बयान ।

            ८.    सावित्रीलाई म समेत भई बिक्री गर्ने उद्देश्यले भारतमा नलगेको, हाल निज कहाँ छिन जानकारी नभएको हुँदा झुठ्ठा पोल उजूरबाट सफाई पाउँ भन्ने जमालउद्दिन मियाको बयान ।

            ९.    जाहेरवालाको बहिनी सावित्रीलाई फकाई पाकिस्तानको मानिससँग भारत दिल्लीतर्फ लगेको होइन । रिसइवीको कारण म उपर झुठ्ठा उजूरी दिएका छन् भन्ने समेत व्यहोराको महमद हुसेनले अदालतमा गरेको बयान ।

            १०.    मिसिल संलग्न प्रमाणबाट प्रतिवादीहरुले आरोपित कसूरबाट सफाई पाउने ठहर्छ भन्ने समेत व्यहोराको सप्तरी जिल्ला अदालतको फैसला ।

            ११.    सावित्रीलाई प्रतिवादीहरुले बिक्री गर्ने उद्देश्यबाट भारततर्फ लगेको भन्ने संकलित सबूद प्रमाणबाट पृष्टि भइरहेको अवस्थामा आरोपित कसूरबाट सफाई दिने ठहराएको जि. अ.को फैसला त्रुटिपूर्ण हुँदा बदर गरी दावी बमोजिम सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारतर्फबाट पू.क्षे.अ.मा परेको पुनरावेदन ।

            १२.   आरोपित कसूरमा प्रतिवादीहरु इन्कार रहेका सावित्रीलाई प्रतिवादीहरुले भारतमा लगी बिक्री गर्ने कार्य गरेको भन्ने सबूद प्रमाण मिसिल संलग्न नदेखिएको शंकरहित सबूद प्रमाणको अभावमा कसूर प्रमाणित गर्न मिल्ने नहुँदा सफाई दिने गरी गरेको जिल्ला अदालतको फैसला मनासिब ठहर्छ भन्ने समेत व्यहोराको क्षेत्रीय अदालतको फैसला ।

            १३.   त्रुटिपूर्ण जि. अ.को फैसलालाई सदर गरेको क्षेत्रीय अदालतको फैसला बदर गरी दावी बमोजिम सजायँ गरिपाउँ भनी पर्न आएको पुनरावेदनमा विपक्षीहरुलाई झिकाई पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालतको आदेश ।

            १४.   नियम बमोजिम पेश भई आएकोमा पुनरावेदक वादी श्री ५ को सरकारतर्फबाट उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री सामन्त सिंह बोगटीले प्रस्तुत गर्नु भएको बहस जिकिर समेत सुनियो ।

            १५.   पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिले नमिलेको के रहेछ हेरी निर्णय दिनु पर्ने हुन आयो ।

            १६.    निर्णयतर्फ हेर्दा, जाहेरवालाको बहिनी सावित्रीदेवीलाई प्रतिवादीहरुले भारतमा लगी बिक्री गर्ने उद्देश्यले भगाई लगेकोले जिउ मास्ने बेच्ने ऐन अन्तर्गत कारवाई गरिपाउँ भन्ने जाहेरी दरखास्तबाट उठान भएको प्रस्तुत मुद्दामा प्रतिवादीले बिक्री गर्न भगाई लगेको भनेको सावित्रीदेवीको विवाह भइसकेको देखिन्छ । पीडित मानिएको सावित्रीदेवी जाहेरवालाकै घरमा रहे बसेकी भनिएको छ सो पुष्टि हुनसकेको पनि देखिँदैन । सावित्रीदेवीलाई भगाई लगेको भन्ने पुनरावेदन जिकिर सरजमीन लगायत स्वयं जाहेरवालाकै बयानबाट समेत शंकारहित रुपले प्रमाणित हुनसकेको पाइदैन । अभियुक्तहरु आरोपित कसूर उपर अधिकारप्राप्त अधिकारी र अदालत समक्ष समेत इन्कार रहेको पाइन्छ । इन्कारी मात्र कसूर प्रमाणित नहुने प्रमाण मान्न सकिन्न अन्य संकलित प्रमाणबाट आरोपित कसूर पुष्टि हुन्छ भने । तर प्रस्तुत मुद्दामा अभियुक्तहरु उपरको आरोप, जाहेरवालाको जाहेरी र बकपत्र बाहेक अरु संकलित प्रमाणबाट पुष्टि हुन सकेको नपाउँदा केवल जाहेरी दर्खास्तकै आधारमा जिउ मास्ने बेच्ने जस्तो गम्भीर अपराधमा अभियुक्तलाई दोषी ठहर गर्न कानुनसंगत हुँदैन । अतः अभियुक्तहरुले सावित्रीदेवीलाई भारतमा बिक्री गर्ने उदेश्यले भगाई लगेको भन्ने शंकारहित सबूद प्रमाणको अभावमा, सफाई दिने ठहराएको शुरु जिल्ला अदालतको फैसलालाई सदर गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको निर्णय मिलेकै देखिँदा मनासिब ठहर्छ । श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. महेशरामभक्त माथेमा

 

इति सम्वत् २०४६ साल कार्तिक २० गते रोज १ शुभम् ।