November 17, 1977
Created by nepalarchives

निर्णय नं. ११०३ – उत्प्रेषणको आदेश जारी गरी पाउँ

निर्णय नं. ११०३     ने.का.प. २०३४ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री झपटसिंह रावल सम्वत् २०३४ सालको रिट नम्बर ६७१ आदेश...

निर्णय नं. ११०३     ने.का.प. २०३४

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री वासुदेव शर्मा

माननीय न्यायाधीश श्री झपटसिंह रावल

सम्वत् २०३४ सालको रिट नम्बर ६७१

आदेश भएको मिति : २०३४।८।२।५ मा

निवेदक : जिल्ला सिराहा प्रगन्ना पकरिया गा.पं.वार्ड नं.१ बस्ने विष्णु प्रजापती

विरुद्ध

विपक्षी : जिल्ला कार्यालय भूमिप्रशासन शाखा सिराहासमेत

विषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ

(१)   वादी प्रतिवादीमा मुख नमिलेको भए पछि अदालती बन्दोबस्तको १८४ (क) बमोजिम सबूद प्रमाण बुझी सबूद प्रमाण आधारमा ठहर निर्णय दिनुपर्ने ।

(प्रकरण नं. ८)   

निवेदक तर्फबाट : विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री प्रमोद विजयी

उल्लेखित मुद्दा :    

आदेश

            न्या. वासुदेव शर्मा : नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषणको वा अन्य उपयुक्त आज्ञा आदेश पूर्जी जारी गरी विपक्षी भूमिप्रशासन शाखा कार्यालय सिराहा २०३४।२।२ को निर्णय बदर गरी पाउँ भनी रिट निवेदन मिति ०३४।४।५ मा दर्ता भएको रहेछ ।

            २.    संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार छ : बाली भराई जग्गाबाट निष्काशन गरी पाउँ भन्ने वादी जग्गाधनीले कूत अघि बुझी रसिद नदिई मोही हकबाट बञ्चित गर्ने बाली भराई जग्गा निष्काशन गरी पाउँ भनी झुटो उजूर दिएको हो भन्ने समेत प्रतिवादी भएकोमा प्रतिवादी मोहीले वादी जग्गाधनीलाई बाली बुझाएको ठर्हछ भन्ने समेत विपक्षी भूमिप्रशासन शाखाबाट निर्णय गरेको रहेछ ।

            ३.    भू.सं.ऐन नियमबाट भूमिसुधारका अधिकारीले गरेको निर्णय अन्तिम हुनेछ भनी लेखिएकोले समेत पुनरावेदन दिन नपाउने हुँदा विना कानूनको आधार बेगर कुनैको सम्पत्ति हक दायित्व गर्ने गरी भएको निर्णय फैसलाहरू बदर गराउने अन्य उपायको बाटो नहुँदा नेपालको संविधानको धारा ७१ बमोजिम असाधारण अधिकार गुहार्न आएको छु ।

            ४.    विपक्षीहरूद्वारा लिखितजवाफ मगाई पेश गर्नु भन्ने डिभिजन बेञ्चको मिति २०३४।४।६।५ को आदेशानुसार प्राप्त हुन आएको लिखितजवाफ निम्न प्रकार छन् :

            ५.    भूमी प्रशासन कानूनको परिधि भित्र रही पूर्ण रुपले कानूनी मनको प्रयोग गरी न्यायिक दृष्टिकोण अपनाई गर्नु भएको निर्णय पूर्णतया कानूनी र वैध भएको हुनाले निवेदकको रिट जारी हुनुपर्ने होइन, रिट निवेदनपत्र खारेज गरी पाउँ भन्ने समेत ईसुफ मिया ।

            ६.    २०३२सालको बाली जग्गाधनीले बुझेकै देखिएकोले रिटनिवेदनपत्र खारेज गरिदिनु हुन सम्मानित अदालतसमक्ष अनुरोध गरेकोछु भन्नेसमेत जि.का.भूमिप्रशासन शाखा सिराहा ।

            ७.    तारिखमा रहेका निवेदक विष्णु प्रजापतिको वारेस ब्रह्मारत्न प्रजापतिलाई रोहवरमा राखी निवेदकको जिकिर र मिसिल समेत हेरी विपक्षी भूमिप्रशासन शाखा सिराहातर्फबाट खटिई उपस्थित हुनु भएका विद्वान सरकारी अधिवक्ता प्रमोद विजयीको बहस सुनी बुझ्दा निवेदकका मागबमोजिमको आदेश जारी हुने नहुने के रहेछ निर्णय दिनु परेको छ ।

            ८.    यसमा बाली कूत नबुझाएकोले कूत भराई जग्गाबाट निष्काशन गरी पाउँ भन्ने रिट निवेदकको वादी दावी र कूत बाली बुझाइसकेको छु । जग्गाधनीले रसिद दिएन भन्ने विपक्षी मोहीको प्रतिवाद भई वादी प्रतिवादीमा मुख नमिलेको भएपछि अदालती बन्दोबस्तको १८४(क) बमोजिम सबूद प्रमाण बुझी सबूद प्रमाणको आधारमा ठहर निर्णय दिनुपर्नेमा विपक्षी प्रशासकले मोहीले कूत बाली बुझाइसकेको ठर्हछ भनी ०३४।२।२ मा फैसला गरेको छ । सबूद प्रमाण नबुझी विना आधार निर्णय दिएको देखिएकोले विपक्षी प्रशासकको निर्णयमा उक्त कानूनको त्रुटि देखिएकोले उत्प्रेषणको आदेशद्वारा बदर गरिदिएको छ । अब कानूनबमोजिम निर्णय गर्नु भनी विपक्षी प्रशासकको नाममा परमादेशको आदेशसमेत दिने ठर्हछ । जानकारी निमित्त यो आदेशको प्रतिलिपि विपक्षीको कार्यालयमा पठाउन म.न्या.को कार्यालयमा पठाई नियमबमोजिम फाईल बुझाइदिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. झपटसिंह रावल

 

इति सम्वत् २०३४ साल मार्ग २ गते रोज ५ शुभम् ।