निर्णय नं. १०९३ – उत्प्रेषणको आदेश जारी गरी पाउँ
निर्णय नं. १०९३ ने.का.प. २०३४ डिभिजन बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री हेरम्बराज सम्वत् २०३४...
निर्णय नं. १०९३ ने.का.प. २०३४
डिभिजन बेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री
माननीय न्यायाधीश श्री वासुदेव शर्मा
माननीय न्यायाधीश श्री हेरम्बराज
सम्वत् २०३४ सालको रि.फु.नं. ३२
आदेश भएको मिति : २०३४।९।१२।३ मा
निवेदक : का.जि. का.न.पं. वार्ड नं. २७ नक्साल बस्ने स.ई. प्रेमराज पौडेल
विरुद्ध
विपक्षी : श्री गृह सचिव, गृह मन्त्रालयसमेत
विषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ
(१) विदा अस्वीकृत भई गयल खाली गरेको आदेश नेपाल पुलिस फोर्स नियमावली, २०१५ को परिच्छेद ९ को नियम ५ को उपनियम २ मा लेखिएबमोजिमको सजाय दिएको आदेश भन्न नमिल्ने ।
(प्रकरण नं. १०)
निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री लक्ष्मणप्रसाद सुवेदी
विपक्षी तर्फबाट : विद्वान का.मु.सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल
उल्लेखित मुद्दा :
आदेश
न्या. हेरम्बराज : प्रस्तुत रिट डिभिजन बेञ्चबाट निर्णय हुँदा सो बेञ्चका माननीय न्यायाधीशहरूको राय मैतक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३ (क) अनुसार निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको रहेछ ।
२. तथ्य यस प्रकार छ : तपाई मेची अञ्चल एस.पी. कार्यालयको दरबन्दीमा हुँदा विरामीको बहाना गरी आफ्नो कर्तव्यतिर उदासीनता हुनु भएको र सम्बन्धित अञ्चल एस.पी. कार्यालयबाट सूचना गर्दा पनि हाजिर नभएको हुनाले गयल खाली गरिएको थियो सो गयल खाली संशोधन होस भनी तपाईले दिनु भएको पुनरावेदनमा कारवाही हुँदा श्री ५ को सरकार गृह मन्त्रालयबाट मिति ०३२।३।३ मा गयल खाली गर्ने निर्णयको समर्थन गरी दिने निर्णय भएको हुँदा निर्णयानुसार सूचना गरिएको छ भन्ने व्यहोराको प्रहरी प्रधान कार्यालय नोद शाखा सव–उपशाखाको मिति ०३२।८।२६ को पत्र निवेदकलाई दिएको रहेछ ।
३. उक्त निर्णय बदर गरी पाउँ भनी निवेदक स.ई. प्रेमराज पौडेलले दिएको रिट निवेदनमा मलाई घरमा नगई नहुने ठूलो आपत परी आफ्नो पाकेको घर विदाको निमित्त लेख्दा पनि एस.पी. कार्यालयले प्र.ना. महानिरीक्षक कार्यालयमा पत्र नपठाई दिएको हुँदा पूर्व क्षेत्र प्रहरी नायव महानिरीक्षक कार्यालयमा पत्र लेखेकोमा उक्त कार्यालयले २९ सालको घर विदा दिन ३० स्वीकृत गरिदिनुभएको भनी लेखेको मैले ०३१।५।३० मा पाई छुट्टि लिएको घर विदा समाप्त भई ३१।६।३० मा हाजिर हुनु पर्नेमा सो मितिसम्म मेरो रोग निको नभएकोले जनकपुर अस्पतालको मेडिकल अधिकृतलाई जँचाई प्रमाणपत्र सहित एक महिनाको घर विदाको लागि अनुरोध गरी पठाएको म विरामी विदा वसेको भएता पनि तालिम लिन जान आउनु भनी ई.का. जनकपुरले मलाई खवर गरेको हुँदा ०३१।७।१५ मा पूर्व क्षेत्र प्रहरी नायव महानिरीक्षक कार्यालयमा हाजिर भई उक्त तालिम ०२१ सालमा नै लिइसकेको अनुरोध गरेको उक्त तालिम लिन नपरेकोले मलाई मेची अं.एस.पी. कार्यालयमा हाजिर हुन पठाएको छ काम गराउनु भनी पत्रसाथ पठाएको ०३१।७।१८ मा उक्त कार्यालयमा हाजिर हुन जाँदा ३१।६।२९ देखि ०३१।७।१५ सम्ममा गयल खाली गरी सकेको छ भनी हाजिर हुन दिइएन, गृह मन्त्रालयमा बारम्बार निवेदन गर्दा प्रतिलिपि दिनु भन्ने भएका आदेशानुसार ०३२।८।२६ मा मलाई जनाउ दिएको हुँदा वास्तविक कुरा बोध हुन आयो, चिकित्सकको प्रमाणपत्र पठाउँदा पठाउँदै कुनै वास्ता नगरी प्रहरी फोर्स नियमावली, २०१५ को परिच्छेद ७ बमोजिम नियम ६ को उल्लंघन गरी १६ दिन गैर खाली गरिएको मैले गरेको दोषमा कुनै सजाय गरी सेवाबाट अन्त गर्ने भए मलाई कारण सहितको सूचना दिनुपर्ने मैले स्पष्टीकरण दिने अवसर पाउनु पर्ने सो अनुसार दिएको छैन, मैले स्पष्टीकरण नै पेश गर्न नपाई गयल खाली गराएको र मेरो निवेदनलाई पुनरावेदन संज्ञा दिई पुनरावेदन भनी सुनी गयल खाली गराएकोलाई सदर भनी गृह सचिवले गरेको निर्णय त्रुटीपूर्ण निर्णय भएकोले विपक्षको उक्त अनाधिकार निर्णय बदर गरी पाउँ भन्ने समेत मुख्य निवेदन जिकिर लिएको रहेछ ।
४. यस कार्यालयको दरवन्दी स.ई. प्रेमराज ०३१।५।३१ गते यस कार्यालयमा आई घर विदा माग गरेकोमा विदा रोका भएको छ भनी सुनाउँदा सोही दिन फर्की विरामीको वहाना गरी सर्टिफिकेट गराई हुलाकबाट पठाएकाले सोही दिन व्यहोरा उल्लेख गरी विदा स्वीकृत नहुने भनी पत्र लेखी निज स.ई. प्रेमराजको नामको पत्रबन्दी बुझाउन पठाउँदा घरमा फेला नपरेका भन्ने उल्लेख भई पत्र फिर्ता भएको र प्रहरी अधिकृत विशेष तालिममा निजलाई मनोनित गरिएको हुँदा निजलाई खोज तलास गरी ठेकिएको ठाउँ दरबन्दीमा हाजिर हुन पठाई जाहेर गर्नु भन्ने पु.क्षे.डी.आई.जी.पी.का. विराटनगरको मेसेस जनकपुर अञ्चल एस.पी. कार्यालयलाई दिई यस कार्यालयलाई बोधार्थ प्राप्त भएको सो बारेको केही सूचना नआएको निज पनि हाजिर हुन नआएकोले प्रहरी नियमावली, २०१५ संशोधन सहितको परिच्छेद ७ को नियम १ को उपनियम (२) अनुसार यस कार्यालयको मिति ०३१।७।१३।३ को पर्चा अनुसार स.इ. प्रेमराज पौडेलको किताबमा ग.खा.जनाउन ०३१।७।१४ मा निजमती किताबखानामा लेखिएको, स्वीकृती बेगर आफ्ना खुसीले विरामीको बहाना गरी बिदामा बसी गैर हाजिर भएको प्रहरी नियमावली अनुसार ग.खा. गरेको यस कार्यालयबाट भएको निर्णय उपर गृह मन्त्रालयमा पुनरावेदन लाग्नेमा पुनरावेदन तहबाट नगई दिनु भएको रिट निवेदन खारेज होस् भन्ने समेत विपक्षी मेची अञ्चल प्रहरी उपरीक्षक कार्यालय चन्द्रगढीको लिखितजवाफ रहेछ ।
५. गयल खाली गरेकोले नोकरी थामी पाउँ भनी गृह मन्त्रीज्यू समक्ष दिनु भएको निवदेनमा जे भएको वा बुझी कारवाही गरी दिनु भन्ने तोक लागी आएकोले बुझ्दा मेची जस्तो समस्यायुक्त ठाउँमा पठाईएका निवेदकलाई एस.पी.ले झिलेझिलेमा पोष्ट कम्पाउण्डरमा खटाएका पोष्टबाट झिक्न आवश्यक परी वदली पठाउँदा एस.पी.का.मा नगै विरामी भएका ०३१।५।३० मा एक महिनामा हेल्थ पोष्टबाट सर्टिफिकेट पठाएका यसपछि बराबर ०३१।७।१२ तक विरामीकै वहाना गरी सर्टिफिकेट पठाउँदै गरेकाले हाजिर हुन सूचना पठाउँदा पनि हाजिर नभई डुली हिंड्नु कर्तव्यहिनता सबैभन्दा ठूलो मान्नु पर्ने भएबाट वास्तवमा विरामी भएका नभई बहाना गरेको ठहराई प्रहरी विभागका लागि आवश्यक नठानेबाट गयल खाली गरेको हुनाले यसबाट केही गरी राख्न नपर्ने देखिएको भनी प्रहरी महानिरीक्षकबाट लेखी आएकोले उक्त नोकरीबाट हटाएको समर्थन भएको हो निवेदनलाई पुनरावेदन मानी निर्णय भएको छैन रिट निवेदन खारेज होस भन्ने विपक्षी गृह पञ्चायत मन्त्रालयका लिखितजवाफ रहेछ ।
६. विरामीको बहाना गरी आफ्नो कर्तव्यमा अडिक रही विदा स्वीकृत नगराई गयल रहन प्रहरी कर्मचारीलाई प्रहरी नियमावली अनुसार ग.ख. गर्ने उपरोक्त निर्णय मनासिवै देखिएकोले रिट निवेदन खारेज हुने ठर्हछ भन्ने मा.न्या.श्री प्रकाशबहादुर के.सी.को राय र तत्काल प्रचलित नेपाल पुलिस फोर्स नियमावली ०१५ को परिच्छेद ९ को नियम ५ को उपनियम (२) मा अख्तियारवालाले ग्याजिटेडको कुनै पुलिस कर्मचारीलाई खोस्ने वा दर्जा घटाउने सजायको आदेश दिनु भन्दा अघि कारवाही गर्न लागेको कारण उल्लेख गरी सो कर्मचारीलाई सूचना दिई निजलाई आफ्नो सफाई पेश गर्न मौका दिनु पर्छ यस्तो सूचना दिँदा लगाइएको आरोप स्पष्ट रुपले किटिएको हुनु पर्दछ र प्रत्येक आरोप कुन कुरा र कारणमा आधारीत छ सो समेत खुलाउनु पर्दछ त्यसपछि निज कर्मचारीसँग निजको सफाइको बारेमा एउटा लिखित बयान गरिनेछ जो तर्क अख्तियारवालाद्वारा तोकिएको मनासिव माफिकको अवधि भित्र पेश गर्नु पर्दछ भन्ने लेखिएको र ऐ परिच्छेदको नियम ६ (२) मा अपील सुन्ने अधिकारी छेउ ३५ दिन भित्र अपील दिने कुरा समेत आदेशपत्रमा उल्लेख गर्नुपर्ने र उपनियम (३) मा सजायको आदेशको १ प्रति सम्बन्धित पुलिस कर्मचारीलाई विना दस्तुर दिनुपर्ने व्यवस्था गरेको देखिन आयो, निवेदकले विदा अस्वीकृत भएको थाहा पाएको ठोस प्रमाण विपक्षी तर्फबाट पुर्याउनु सकेको देखिएन, उपरोक्त नियमानुसार खोस्ने आदेश दिनु भन्दा अघि कारवाही गर्न लागेको सूचना दिनुपर्ने देखिन्छ, डाक्टरको सर्टिफिकेट हाली विदाको स्वीकृति माग्दामाग्दै विदा स्वीकृत नभएको कुराको सूचना नदिई १६ दिने गयल खाली गर्नु र खोस्नुमा फरक देखिदैंन, उपरोक्त नियमको विरुद्ध हुनुको साथै पक्षलाई आफ्नो सफाई दिने अवसर नदिई जागिरबाट झिक्नु प्राकृतिक न्याय सिद्धान्त विरुद्ध देखिन आएको छ नियमबमोजिम पुनरावेदनको म्याद दिएको पनि देखिएन । उपरोक्त नियमहरूको त्रुटी गरी गयल खाली गर्ने गरेका ०३१।७।१३ को पर्चा र पुनरावेदन नै नपरेकोमा निवेदकको निवेदनलाई पुनरावेदनको संज्ञा दिई गयल खाली गरी पदबाट हटाएको पर्चालाई गृह मन्त्रालयबाट ०३२।३।३१ मा समर्थन गरेको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठर्हछ भन्ने मा.न्या.स.श्री ईश्वरीराज मिश्रको राय भै ०३४।३।३० मा डिभिजन बेञ्चबाट निर्णय भएको रहेछ ।
७. निवेदक तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री लक्ष्मणप्रसाद सुवेदीले निवेदकले घर विदा बसेकोमा विरामी भई रिपोर्ट दिएकोमा विदा स्वीकृत नभएको भए सोको सूचना दिनुपर्नेमा दिएको छैन, विदा अस्वीकृत गरी गयल खाली गरी नोकरीबाट हटाउन पुलिस फोर्स नियमावलीको परिच्छेद ९ का नियम (५) को उपनियम (२) ले सफाइको मौका दिनुपर्ने नदिई नोकरीबाट हटाउने गरेको प्राकृतिक न्याय सिद्धान्त विपरित छ । हटाउने गरेको निर्णय बदर हुनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नु भयो ।
८. विपक्षी गृह मन्त्रालयतर्फबाट खटिनु भएको विद्वान का.मु. सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्सालले विदा स्वीकृत नभएमा स्वतः गयल हाजिर हुन जाने र यस अवस्थामा हटाउन सक्ने अधिकार छ भने सो अधिकार प्रयोग गरी हटाएको कानून विपरित छ भन्न मिल्ने स्थिति देखिदैंन, रिट निवेदन खारेज हुनुपर्छ भन्ने बहस नोट पेश गर्नु भएको छ ।
यसमा निर्णय तर्फ विचार गर्दा मेरो ३० दिन घर विदा स्वीकृत भई ०३१।५।३० मा पाई छुट्टी लिएको घर विदा समाप्त भई ०३१।६।३०।४ मा हाजिर हुनु पर्नेमा मेरो रोग निको नभएको हुँदा जानकी अस्पताल जनकपुरधामको मेडिकल अधिकृतले बनाई दिएको प्रमाणपत्र सहित १ महिनाको घर विदाको लागि अनुरोध गरी पठाएको थिएँ मैले विदाको दरखास्त र चिकित्सकको प्रमाणपत्र पठाउँदा पठाउँदै मलाई गयल खाली गर्नुपर्ने कारणका सूचना नै नदिई मैले आफ्नो स्पष्टीकरण नै पेश गर्न नपाई मलाई गयल खाली गराएको र त्यस उपर मेरो परेको निवेदनलाई पुनरावेदनको संज्ञा दिई पुनरावेदन भनी सुनी गयल खाली गरेकोलाई सदर भनी गृह सचिवज्यूले गर्नु भएको निर्णय त्रुटीपूर्ण भएको छ, विपक्षीको अनाधिकार निर्णय बदर गरी मेरो हक अधिकार प्रचलन गरी पाउँ भन्ने मुख्य मुखे निवेदकले जिकिर लिएको रहेछ ।
९. निवेदकलाई गयल खाली गर्नेगरेका सम्बन्धित मिसिल हेर्दा ०३१।५।३१ गते यस कार्यालयमा आई घर विदा माग गरेकामा विदा रोकिएको छ भनी सुनाउँदा सो दिन फर्की झिलझिले गई विरामीको बहाना गरी सर्टिफिकेट गराई हुलाकबाट रजिष्टरी गरी पठाएको प्रतिवेदन यस कार्यालयमा प्राप्त भएकोले झुटो प्रतिवेदन पठाएकोले विदा स्वीकृत नहुने भनी पत्र लेखी पठाउँदा फेला नपरेको भनी बन्दी खाम फिर्ता आएको निज स.ई. प्रेमराजको विदा स्वीकृतनभएको सूचना छिटो प्राप्तगराउनकोलागि निजको इलाका पर्ने २ प्रहरी कार्यालयमा लेखी पठाउँदा पनि फेला नपरेको भनी फिर्ता आएको र निज पनि हाजिर हुन नआएकोले प्रहरीनियमावली को परिच्छेद ७ को नियम १ को उपनियम (२) अनुसार गयल खालीको जनाउ निजामति किताबखानालाई दिनेगरी ०३१।७।१३।३ मा मेची अञ्चल एस.पी. कार्यालय चन्द्रगढीबाट पर्चा भएको र नोकरी थामी पाउन अनुरोध गर्दछु भनी प्रेमराजले गृह मन्त्री समक्ष दिएको निवेदनमा के भएको हो बुझी कारवाही गरी दिने भनी तोक लागेकोमा निजलाई थाम्दा प्रहरीको नैतिकतामा असर पर्ने हुँदा गयल खाली गर्ने निर्णयको समर्थन गर्ने गरी सदर भन्ने ०३२।३।२१ मा गृह मन्त्रालयबाट निर्णय भएको समेत देखिन्छ ।
१० निवेदकले विदाको प्रतिवेदन दिँदा दिँदै गयल खाली गर्नुपर्ने कारणको सूचना नै नदिई मैले आफ्नो स्पष्टीकरण पेश गर्न नपाई गयल खाली गरेको भन्ने जिकिर लिएको छ । नेपाल पुलिसफोर्स नियमावली,२०१५ को परिच्छेद ९को नियम १ मा नोकरी बर्खास्तगर्ने समेतको सजायहरूको व्यवस्था भई सोही परिच्छेदको नियम ५को उपनियम (२) मा अख्तियार वालाले गजेटेड पदको कुनै पुलिसकर्मचारीलाई खोस्ने वा दर्जाघटाउने सजायको आदेश दिनुभन्दा अघि र नन्गजेटेड पदको कुनै पुलिस कर्मचारीलाई सस्पेण्ड गर्ने खोस्ने वा दर्जा घटाउने सजायको आदेश दिनु भन्दा अघि कारवाही गर्न लागिएको कारणको उल्लेख गरी सो कर्मचारीलाई सूचना दिई निजलाई आफ्नो सफाई पेश गर्ने मौका दिनु पर्छ…भन्ने उल्लेखभएबाट उपरोक्त नियमले उक्त सजायको आदेश दिँदा कर्मचारीलाई सफाई पेश गर्ने मौका दिनुपर्ने त प्रष्टछ, तर प्रस्तुतमुद्दामा निवेदकलाई सो नियमअनुसारका सजायको आदेशदिएको नभई निवेदकले माग गरेको विदा अस्वीकृत भई गयल खाली गरी दिने आदेश दिएको र त्यसलाई गृहमन्त्रालयले समर्थन गरी सदरगरेको देखिएकोले त्यस्ता विदा अस्वीकृत भई गयल खाली गर्नेगरेको आदेश उपरोक्त नियममा लेखिएबमोजिमको सजाय दिएको आदेश भन्नमिल्ने नदेखिएकोले निवेदकलाई आफ्नोसफाइको पेशगर्ने मौका दिनुपर्ने नदिएको भन्ने निवेदकतर्फका विद्वान अधिवक्ताको बहससँग यो बेञ्च सहमत हुन सकेन ।
११. नेपाल पुलिस फोर्स नियमावली, २०१५ को परिच्छेद ७ को नियम १ को उपनियम (१) मा यस नियमावली बमोजिम विदा नलिई कुनै पनि पुलिस कर्मचारी आफ्नो डयूटीबाट गैर हाजिर हुन पाउने छैन भनी उपनियम (२) मा उपनियम (१) उल्लंघन गरी गैर हाजिर हुने पुलिसकर्मचारी श्री ५ को सरकारको नोकरीबाट हटाइन सकिनेछ भन्ने नियम २को उप नियम(१)मा कुनै पुलिसकर्मचारीले हककोरुपमा विदादावी गर्नपाउने छैनभन्ने उपनियम (२) मा कामको अनुकूल हेरी विदादिने अधिकारीले आफ्ना तजविजबाट विदादिन अथवा नदिन पनि सक्दछ भन्नेसमेतको व्यवस्थाभएको देखिएकोले निवेदकले मागगरेको विदा अख्तियार वालाले अस्वीकृत गर्नसक्ने पनि देखिएकैछ । यसको अतिरिक्त उक्त नियमावली परिच्छेद ७ को नियम ४ को उपनियम (३)मा भैपरीआउने विदा घरविदा विरामीविदासँग मिलाई लिन पाइनेछैन भन्नेउल्लेख भएबाट यस्तो स्थितिमा घरविदाबाट विरामीभएको भनी माग गरेका निवेदकको विदा अस्वीकृत गरी गयल खाली गरीदिने गरेको निर्णय कानूनीत्रुटीपूर्ण भन्न मिल्नेदेखिएन । विदा लिने कुरा कर्मचारीले हकको रुपमा दावी गर्न नपाउने उक्त नियममा व्यवस्था भएकोले निवेदकको हक प्रचलन गर्नमिलेन खारेज गर्ने गरेकोमा मा.न्या.श्री प्रकाशबहादुर के.सी. को राय मनासिव ठर्हछ । मिसिल नियमबमोजिम बुझाइदिनु ।
हामीहरूको सहमती छ ।
प्र.न्या. नयनबहादुर खत्री,
न्या. वासुदेव शर्मा
इति सम्वत् २०३४ साल पौष १२ गते रोज ३ शुभम् ।