November 20, 1977
Created by nepalarchives

निर्णय नं. १०९० – उत्प्रेषणको आदेश जारी गरी पाउँ

निर्णय नं. १०९०     ने.का.प. २०३४ डिभिजन बेञ्च माननीय न्यायाधीश सरदार श्री ईश्वरीराज मिश्र माननीय न्यायाधीश श्री झपटसिंह रावल सम्वत् २०३४ सालको रिट नम्बर १७४३...

निर्णय नं. १०९०     ने.का.प. २०३४

डिभिजन बेञ्च

माननीय न्यायाधीश सरदार श्री ईश्वरीराज मिश्र

माननीय न्यायाधीश श्री झपटसिंह रावल

सम्वत् २०३४ सालको रिट नम्बर १७४३

आदेश भएको मिति : २०३४।८।५।१ मा

निवेदक : जि. सिराहा प्र.ध.गा.पं.वा.नं.३ हाल वा.नं.८ बस्ने शिवप्रसाद रौनियार

विरुद्ध

विपक्षी : भूमिप्रशासन शाखा सिराहाका का.मु.भू.प्र.श्री मुकुन्दप्रसाद शर्मासमेत

विषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ

(१)   कुनै प्रमाण वा आधार नलिई सोझै कुनै कुरा अनुमान गरी निर्णय गर्नु कानूनसंगत वा न्यायोचित नहुने ।

 (प्रकरण नं. १०)

निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री प्रभुनारायण चौधरी

विपक्षी तर्फबाट : विद्वान स.अ.श्री भैरवप्रसाद लम्साल र वि.अ.श्री नरेन्द्रकुमार प्रधान

उल्लेखित मुद्दा :    

आदेश

            न्या. ईश्वरीराज मिश्र :      विपक्षी कार्यालयको २०३४।२।३ को गैरकानूनी निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी पाउँ भनी नेपालको संविधानको धारा १६ र ७१अनुसार प्रस्तुत रिटनिवेदन पर्न आएकोछ । 

            २.    मुद्दाको तथ्य यस प्रकार छ : विपक्षी मध्येको रामचन्द्रले विपक्षी मध्येकै आफ्नो एकासगोलकै भाइ शिवप्रसादको नाममा सर्भे गराई मोहीमा सगोलको पिता लछुमन साहुको नाउँ लेखाई सर्भे गराई गराएछन् र सो जग्गा सर्भे हुँदा अघि मैले ०० सात कठ्ठा भनी गराएको जग्गा हाल सर्भेमा गा.पं. सीतापुर वार्ड नं.४ कि.नं.१७३ को ज.वि.०१० कायम भएको र ०० ठहराएको जग्गा ऐ वार्ड नं.३क. कि.नं.१३ को ०६ कायम भएको घर उक्त जग्गा उक्त मैले अद्यापी कमाई आई ज.ध. लाई बाली बुझाई आएको छु उक्त जग्गाको मोही प्रमाणपूर्जा पाउँ भनी भू्.प्र. का सिरहामा निवेदन गरेकोमा निवेदकले माग गरेको जग्गा लछुमन साहुको नाममा मोही कायम भैसकेकाले ३५ दिनभित्र मोही तेरो मेरो मा नालेश गरेको बखत कारवाही गर्ने गरी तामेलीमा राख्ने भनी ०३२।७।२४ मा निर्णय भएको र लछुमन साहु ०२९ सालमै स्वर्गे भएको निजका छोरा विपक्षी नै भएको विपक्षीहरू उपर भूमिसम्बन्धी दोश्रो संशोधन ०२५ को दफा ३१ तथा भूमिसम्बन्धी पाँचौं संशोधन नियमहरू ०२५ को दफा २५ बमोजिम यसै कार्यालयको क्षेत्रभित्रको हुँदा ३५ दिनभित्र नालेश गर्न आएको छु उक्त जग्गाको मोही लछुमन साहु भएको भए उक्त जग्गाको मोही म मानकी साहु भनी भूमिसुधार टोलीले नियम ६ बमोजिम २ नं.अनुसूची प्रकाशित भएको ३५ दिन भित्र भूमिसम्बन्धी नियम २०२१ को दफा ७ बमोजिम विपक्षीहरूले कारण सहित उजूर दिनुपर्ने दिन नसकेबाट उक्त जग्गाको मोही भन्ने नै स्वयं सिद्ध छ, विपक्षीहरूलाई झिकी भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३२ बमोजिम सजाय गरी उक्त जग्गाको मोहियानीको प्रमाणपत्र पाउँ भन्ने वादी मानकी साहु तेलीको फिराद ।

            ३.    यसमा जग्गाा धनिया रामचन्द्रको नाउँमा नापी भएको भनी देखाएको छ, तर सो नभई साविकमा पनि उक्त जग्गा पिता लछुमन साहुको दर्ता रही निजैले कमाई आएको पछि ७ नं. को मोहियानीको अस्थायी निस्सा पिताले नै पाउनु भए अनुसार सर्भे नापी हुँदा पनि निजकै नाउँमा लेखिएको निज लछुमन साहु स्वर्गीय भएपछिमात्र शिवप्रसाद साहुको नाममा नामसारी हुन आई मैले नै आफैले जोतकोद गरी आएको हुँ भन्ने प्रतिवादीहरूको संयुक्त प्रतिउत्तरपत्र भएकोमा जग्गा नापी हुँदा बाबु वा भाइको रिस्ता पर्ने लछुमन साहु र शिवप्रसाद साहुको नाममा नापी हुँदैमा मोहीको हक बञ्चित नहुने हुँदा उक्त जग्गाको मोहियानी प्रमाण पूर्जा वादी मानकी साहु तेलीका नाउँमा बनाई दिने ठर्हछ भन्ने समेत जिल्ला कार्यालय भूमिप्रशासन शाखा सिरहाबाट २०३४।२।३।२ मा निर्णय भएको रहेछ ।

            ४.    उपयुक्त निर्णय बदर गरी पाउँ भनी प्रस्तुत रिट निवेदनमा लिएको मुख्य जिकिर यस प्रकार छ : लछुमन साहु ०२९ सालमा परलोक भएकोले निजको नाउँको जग्गा समेत अपुताली खाने छोरा म शिवप्रसाद साहुको नाउँमा दर्ता सरी आएको र सो जग्गाको स्वर्गीय पिता नै भएकोले मैले समेत आफै जोत अवाद गरी आएको हो उक्त जग्गाको जग्गाधनी र मोही म आफै भएको कुरा लछुमन साहुका नाउँको अनुसूची १, २ र ४ बाट नै प्रमाणित छ । प्रशासकले प्रवृत्त धारणबाट न्यायिक मनको अभावमा मेरो कुनै प्रमाण नबुझी गैरकानूनी हचुवा निर्णय गरेको छ । एकाको नाउँको अनुसूची २ को आधारमा अर्काको नाउँको जग्गामा विपक्षलाई मोही कायम गरेको र अनुसूची १, २ र ४ को प्रमाण नलिई हचुवा निर्णय भएकोले प्रमाण ऐन, २०३१ को दफा ३ को र भू. सम्बन्धी ऐन, ०२१ को दफा २५(१) को ठाडै उल्लघंन भएकोले उक्त निर्णय बदर गरी पाउँ भन्ने समेत उल्लेख छ ।

            ५.    विपक्षीहरूबाट लिखितजवाफ झिकाई पेश गर्नु भन्ने समेत डिभिजन बेञ्चको ०३४।३।२।५ को आदेश भूमिसम्बन्धी ऐन, ०२१ संशोधित सहितको दफा २ को उपदफा क. ख. र ग. को परिभाषाभित्र आफ्नो जग्गा आफैले कमाउने व्यक्ति मोही नभई अरू जग्गावालाको जग्गा कुनै शर्तमा कमाउन पाई सो जग्गामा आफ्नो वा आफ्ना परिवारको श्रमले खेती गर्ने किसान सम्झनु पर्छ भन्ने प्रष्ट उल्लेख भएको जग्गाको मोहियानी निस्सा मोही मानकी साहुले प्राप्त गरिसकेकोले निजलाई मोहियानीको प्रमाणपत्र बनाई दिएको छ, मोहीको नाममा २ नं. अनुसूची प्रकाशित भइसकेको र जोताहा अस्थायी निस्सा पाइसकेको मोही जग्गा कमाएको प्रमाणित हुने भनी फु. ३७।२९५ फु. ०२७।०३१ फु. ०२७।२३९ रिट ३३३ हरिनारायण जि.भू.सु.अ. महोत्तरी समेत भएकोमा सिद्धान्त कायम भइसकेको र लगत प्रकाशित भएको ३५ दिनभित्र स्थानीय पञ्चायतमा कारण सहित उजूरी दिन सक्ने छ भनी भूमिसम्बन्धी नियम ७ मा प्रष्ट उल्लेख भएको २ नं. अनुसूची प्रकाशित भएको र जग्गा नापजाँच हुँदा परिवारको अन्य व्यक्तिको नाममा नापी हुँदैमा मोही हक परिवर्तन हुने व्यवस्था नभएकोले प्रस्तुत रिट निवेदन खारेज हुनुपर्छ भन्ने समेत जिल्ला कार्यालय भूमिप्रशासन शाखा सिरहाको लिखितजवाफ ।

            ६.    विपक्षी मध्येका रामचन्द्रले विपक्षी मध्येकै आफ्ना एक सगोलको भाइ शिवप्रसादको नाउँमा सर्भेनापी गराई मोहीमा सगोलका पिता लक्ष्मण शाहको नाममा सर्भे गराएछन् सो जग्गाको सर्भे हुनुअघि ज.वि.०० कठ्ठा भनी ४ नं.अनुसूची गराएको हालसर्भेमा सीतापुर गा.पं. वा.नं.४ कि.नं.१७३ को ज.वि.०१० कायम भएको र ००जग्गा ऐ वा.नं.३क. कि. नं.१३९ को ज.वि.०१० कायम भएछ । उक्तजग्गा मैले अघिदेखि अद्यापी कमाई आएकोछु र ज.ध.लाई सालसालै बाली बुझाइआएको छु । प्रशासकको आफ्नो अधिकार क्षेत्रभित्र रही सबूदप्रमाणको आधारमा गरेको निर्णयले निवेदकको कुनै हक हनन् नभएकोले प्रस्तुत रिट निवेदन नै खारेज गरी पाउँ भन्ने समेत मानकी साहू तेलीको लिखितजवाफ ।

            ७.    निवेदक तर्फबाट खटी उपस्थित विद्वान अधिवक्ता प्रभुनारायण चौधरीले रामचन्द्रलाई जग्गाधनी देखाई प्रकाशन गराईएको अनुसूची र लक्ष्मणको नामको जग्गामा मोही ठहराएको भूमि प्रशासकको निर्णय कानूनी त्रुटीपूर्ण हुँदा उक्त निर्णय बदर होस् भन्ने समेत आफ्नो बहस प्रस्तुत भयो ।

            ८.    विपक्षी भूमि प्रशासकतर्फबाट खटी उपस्थित विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्सालले रिट निवेदकले पाएको जग्गाधनी प्रमाणपूर्जामा विवादको कित्तामा मोही लक्ष्मण लेखिएको छ । लक्ष्मण मोही भएकोमा निवेदकलाई असर पर्ने अवस्था छैन र शिवप्रसादको मोही हक नहुँदा मोही सम्बन्धी हक प्रचलन निवेदकलाई हुन नसक्ने हुँदा रिट निवेदन खारेज हुनुपर्छ भन्ने आफ्नो बहस प्रस्तुत गर्नु भयो ।

            ९.    विपक्षी मानकी साहुको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री नरेन्द्रकुमार प्रधानले अधिकार प्राप्त अधिकारीले निर्णय गरेको कानून संंगत नै हुँदा रिट निवेदन खारेज होस् भने आफ्नो बहस प्रस्तुत गर्नु भयो ।

            १०.    यसमा भूमिसम्बन्धी नियमको अनुसूची २ नं.बमोजिमको लगतप्रकाशनमा रामचन्द्र साहु जग्गावाला र प्रत्यर्थी मानकी साहु मोही उल्लेख भएकोमा प्रत्यर्थी भूमि प्रशासकले आफ्नो निर्णयमा रामचन्द्र साहुको नाममा २ नं.अनुसूची प्रकाशित भएको र पछि जग्गा नापी हुँदा बाबु वा भाइको रिस्ता पर्ने लक्ष्मण साहु र शिवप्रसाद साहुको नाममा नापी हुँदैमा मोहीको हक वञ्चित नहुने भन्ने उल्लेख गर्दै प्रत्यर्थी मानकी साहूलाई लक्ष्मण साहूको नामका विवादग्रस्त जग्गाको मोही कायम गरी निर्णय गरेको पाइन्छ । विवादग्रस्त जग्गा नापी हुँदामात्र र म चन्द्रको नामबाट लक्ष्मण साहूको नाममा दर्ता भएको भन्ने कुरा कुनै प्रमाणको आधारमा उल्लेख गरेको नभई भूमि प्रशासकले आफ्नो निर्णयमा सोझै सो कुरा उल्लेख गरेको छ । यसरी कुनै प्रमाण वा आधार नलिई सोझै कुनै कुरा अनुमान गरी निर्णय गर्नु कानूनसंगत वा न्यायोचित होइन । तसर्थ, उक्त विवादग्रस्त निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी कानूनबमोजिम पुनः कारवाही गर्नु भन्ने परमादेश जारी गरिएको छ । यसको १ प्रतिलिपि विपक्षी भूमिप्रशासक कहाँ पठाउन महान्यायाधीवक्ताको कार्यालयमा पठाई नियमबमोजिम मिसिल बुझाइदिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. झपटसिंह रावल

 

 

इति सम्वत् २०३४ साल मार्ग ५ गते रोज १ शुभम् ।