November 18, 1999
Created by nepalarchives

निर्णय नं. ६८९४ – अपुताली हक कायम ।

निर्णय नं. ६८९४           ने.का.प. २०५७             अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल   सम्वत २०५१ सालको...

निर्णय नं. ६८९४           ने.का.. २०५७             अङ्क ४

संयुक्त इजलास

माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा

माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल

 

सम्वत २०५१ सालको दे.पु.नं. ….२७११

फैसला मितिः २०५६।८।२।५

मुद्दाः  अपुताली हक कायम ।

पुनरावेदक/प्रतिवादीः गोरखा जिल्ला, आरु आरमाङ गा.वि.. वडा नं. ६ बस्ने बुद्धिमान गुरुङ

विरुद्ध

विपक्षी/वादीः ऐ.. बस्ने बुद्धिमाया गुरुङ

§  अपुतालीको २ नं. मा मर्नेको लोग्ने, स्वास्नी, छोरा वा छोराको छोरा भएसम्म छोरीले अपुताली पाउदैन । त्यस्ता कोही नभएको छोरीले अपुताली पाउँछ भन्‍ने उल्लेख भएको र त्यसको व्याख्या ने.का.. २०५३, नि.नं.६२६२, पृ.६९७ मा गरिए अनुसार मर्नेको भन्‍ने उल्लेख भएकोबाट मर्ने स्वयंको गर्भबाट जन्मेको छोरा भएमा मात्र छोरीको अपुताली पाउने क्रम छोरा भन्दा टाढा रहने अवस्था पर्दछ । त्यस्तो एकाउदरको छोरा नभएमा एकाउदरबाट जन्मेको छोरीले अपुताली पाउने हुन्छ । तसर्थ पुनरावेदन अदालत पोखराले वादी दावी बमोजिम मालपोत कार्यालय गोरखाको निर्णय पर्चा वदर गरी वादीको नाउँमा विवादित जग्गाको नामसारी दर्ता समेत हुने ठहर्‍याएको निर्णय मिलेकै हुँदा मनासिव ठहर्ने ।

 (प्र.नं.१४)

 

पुनरावेदक प्रतिवादी तर्फबाटः

विपक्षी वादी तर्फबाटः विद्बान अधिवक्ता  श्री श्रीहरि अर्याल

अवलम्बित नजिरः ने.का.. २०५३, नि.नं. ६२६२, पृष्ठ ६९७

 

फैसला

न्या.हरिप्रसाद शर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा ९()() अन्तर्गत यस अदालतमा दायर भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः

2.           बाबु गोरे गुरुङको २ श्रीमती मध्ये जेठी आन्तरी र कान्छी मेरी आमा आशाकन्या हुन् । जेठी आन्तरीपट्टिको छोरा सेते गुरुङ हुन् । निजको २ श्रीमती मध्ये जेठी मेरै तर्फको छोरा विपक्षी बुद्धिमान गुरुङ हुन् । आमा आशाकन्या तर्फ ३ छोरी मधये जेठी म फिरादी, माहिली आइतमाया र कान्छी विष्णुमाया हुन् । कान्छी परलोक भइसकेको माइली र म दुवै मिली आमाको लालनपालन गरिराखेका थियौं । माइलीले मेरो छोरा छोरी केही नभएको हुँदा आमाको सम्पत्ति मलाई चाहिएन, तिमी नै खानु भनी कागज गरी दिएकी थिइन् । त्यस्तैमा २०४४।५।१३ गते आमा आशाकन्याको कालगतिले परलोक भयो । किरिया विपक्षीका बाबु सेते गुरुङले नै गरेको हो । सम्पूर्ण खर्च मैले नै गरें । छोरा नभएको हुँदा आमाको अपुताली प्रचलित कानुन अनुसार छोरीले पाउने कानुनी व्यवस्था भएकोमा तत्काल नामसारी गर्न भ्याइन । पछि आमाको ज..प्र.पुर्जा विपक्षीसँग माग्दा दिउँला भनी झुलाइरहेको थियो । विपक्षीले आमाको नाउँको कि.नं. १२० र ४३४ को जग्गा नामसारी गर्न निवेदन दिएको छ भन्ने कुरा गाउँमा सुनी २०४८।५।१८ मा नामसारी पाउँ भनी निवेदन दिँदा विपक्षीले पनि नामसारीको लागि निवेदन दिइसकेको रहेछ । सो विषयमा कारवाही चलेकोमा कानुनी व्यवस्थालाई वास्तै नगरी २०४४।१२।९ मा विपक्षीको नामसारी निवेदन पर्न आएको २०४५।३।६ मा ७ दिने सूचना प्रकाशित हुँदा म्यादभित्र उजुर नआएको ऐनका म्यादभित्र निवेदन नपरी २०४८।५।१८ मा निवेदन परेको, २०४८।७।९ को सर्जमिन मुचुलका अनुसार आशाकन्या गुरुङलाई सेते गुरुङले लालनपालन गरी किरिया समेत गरेको छोरीले पालनतालन केही नगरेको र २०४७।११।१६ मा सेते गुरुङ समेत परलोक भएको भन्ने मृत्यु दर्ता प्रमाणबाट देखिन आएकोले उक्त प्रमाणको आधारमा मृतक आशाकन्याको नाउँको गोरखा आरु आरवाङ गा.वि.. वडा नं. ६ को कि.नं. १२० र ४३४ को जग्गा मृतक सेते गुरुङको छोरा बुद्धिमान गुरुङका नाउँमा नामसारी दर्ता हुने ठहर्‍याई दिए भन्ने उल्लेख गरेको पाइन्छ । सौतेनी आमालाई विपक्षीको बाबु सेते गुरुङले लालनपालन गर्नु भएको छैन । स्थलगत मुचुल्कामा उनीहरु आआफ्ना मानिस राखी सो कागज गरी पठाएका हुन् । मृतक आमाको ३ छोरीमध्ये कान्छीको मृत्यु भइसकेको माइलीले मा.पो.का.मा गई दिदीको नाममा नामसारी गरिदिनु भनी सनाखत गरिदिएकी छ । मैले मात्र एकलौटी अपुताली खान पाउने कुरामा निर्विवाद छ । तसर्थ विपक्षीलाई झिकाई निजको नाममा नामसारी हुने ठहर्‍याई भएको मालपोत कार्यालय गोरखाको मिति २०४८।११।५ गतेको कानुलाई ख्याल नगरी त्रुटिपूर्ण भएको निर्णय पर्चा वदर गरी उल्लेख कि.नं. १२० र ४३४ को जग्गा मेरा नाउँमा नामसारी दर्ता गरी मबाट रहेको कोर्ट फि समेत दिलाई पाउँ भनी ऐनका म्याद भित्रै यो फिराद गर्न आएको छु भन्ने फिराद दावी ।

3.           फिराद दावी अनुसार आशाकन्याको मृत्युपश्चात फिरादीले मेरा बाबु सेते गुरुङ छँदाछँदै अपुताली खान पाउने होइन । अपुतालीको २ नं. को परिभाषाभित्र यो फिराद पर्दैन । प्रस्तुत मुद्दाको सवुद प्रमाण र बुँदाहरुको आधारमा नै मेरो नाममा नामसारी गर्न मा.पो.का.गोरखाबाट निर्णय भएको हो । किरियातर्फ स्वयं वादीले स्वीकार गर्नु भएको छ भने पालनपोषण तर्फ पनि वादीको पहिलेको लोग्ने मरी पछि २०३० सालमा हालको लोग्ने नरबहादुरसँग पोइल गएपछि त्यस अवस्थादेखि नै गाउँबाट भागी विदेश गई छोरा पनि करिब १८ वर्षको लिएर घरमा आएका हुन् । यी वादीले आमा आशाकन्यालाई पालनपोषण गरेको होइन । पालनपोषण किरिया खर्च समेत सबै मेरा बाबु सेते गुरुङले नै गरेका हुन् । बाबु सेते गुरुङ २०४७ साल फाल्गुणमा आफ्नो कालगतिले परलोक हुनु भएको हो । म बुद्धिमान गुरुङले मेरो नाउँमा नामसारी गरी पाउँ भनी २०४४।१२।९ मा मालपोत कार्यालय गोरखामा निवेदन गरी सो निवेदनको कारवाहीको सिलसिलामा कानुन बमोजिम गर्नुपर्ने गरी मेरा नाउँमा नामसारी गर्ने निर्णय गरेको हो । यी वादीले आमा २०४४।५।१३ मा परलोक भएकोमा कानुनका म्यादभित्र निवेदन नदिई २०४८।५।१८ मा मात्र निवेदन दिएको छ भन्ने नामसारी तर्फ सूचना प्रकाशित भएकोमा सो म्यादभित्र कोही कसैको उजुर परेको छैन । तसर्थ मा.पो.का.गोरखाको मिति २०४८।११।५ को निर्णय कानुनसंगत नै भएको हुँदा उक्त निर्णय सदरै राखी विपक्षीको झुठ्ठा फिराद दावाबाट अलग फुर्सद पाउँ भन्ने प्रतिउत्तर  जिकिर ।

4.          गोरखा जिल्लाका आदेशानुसार बुझिएका वादीका साक्षी खडकबहादुर गुरुङ, चित्रबहादुर गुरुङ, चन्द्रमान गुरुङको र प्रतिवादीको साक्षी पुड्के गुरुङ, हस्तमान गुरुङ, सुकबहादुर गुरुङ, जंगबहादुर गुरुङ, हर्कमान समेतको बकपत्र मिसिल साथ रहेछ ।

5.           छोरा छँदाछँदै अपुताली विवाहित छोरीले नपाउने हुँदा र वादीको भनाई वादीका साक्षीबाट पुष्टि नभई प्रतिवादीको भनाई प्र.साक्षी हर्कमान, जंगबहादुर, सुकबहादुर, हस्तमान, पुड्केका साथै वादीका साक्षी चित्रबहादुरबाट पुष्टि हुँदा समेत वादीको भनाइ अनुसार मालपोत कार्यालयको निर्णय वदर गरिरहन नपर्ने हुँदा वादीको नाममा नामसारी दर्ता गरी पाउँ भन्ने समेत वादी फिराद दावी पुग्न सक्दैन भन्ने २०४९।१२।२।२ गतेको गोरखा जिल्ला अदालतको   फैसला

6.           गोरखा जिल्ला अदालतको फैसलामा चित्त बुझेन । आशाकन्याका सहोदर हामी छोरीहरु हुँदाहुँदै सौतेनी छोरीले अपुताली पाउने कानुनी प्रावधान नभएको हुँदा गोरखा जिल्ला अदालतले गरेको फैसला न्यायसंगत छैन । अतः उक्त फैसला वदर गरी उचित हक इन्साफ पाउँ भन्ने समेत व्यहोराको पुनरावेदक वादी बुद्धिमाया गुरुङको मिति २०५०।२।२१ मा पुनरावेदन अदालत पोखरामा दर्ता भएको पुनरावेदन पत्र ।

7.           आशाकन्याको आफ्नै छोरा बुद्धिमायाको आमा आशाकन्याको अपुताली हक नपाउने ठहर गरेको गोरखा जिल्ला अदालतको फैसला फरक पर्ने भएबाट छलफल निमित्त अ.वं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ बमोजिम मिति २०५०।६।१२ गते पुनरावेदन अदालत पोखराबाट विपक्षी झिकाउने आदेश ।

8.          वादी मृतक आशाकन्याको छोरी हुँदा निजले मर्ने आमाको अपुताली नपाई सौतेनी तर्फको नातीले अपुताली पाउने भन्ने अपुतालीको २ नं. को कानुनी व्यवस्थाले मिल्ने देखिएन । तसर्थ वादी दावी बमोजिम विपक्षीको नाममा मृतक आशाकन्याको नामको जग्गा नामसारी हुने ठहराएको मालपोत कार्यालयको निर्णय पर्चा वदर गरी पुनरावेदिका वादीको नाममा विवादित जग्गाको नामसारी दर्ता समेत हुने ठहराउनु पर्नेमा वादी दावी पुग्न नसक्ने ठहराएको गोरखा जिल्ला अदालतको फैसला मिलेको नदेखिँदा उल्टी हुन्छ भन्ने पुनरावेदन अदालत पोखराको मिति २०५०।१२।१५।२ को फैसला ।

9.          आशाकन्या गुरुङलाई पुनरावेदक र पुनरावेदकको पिताले पालनपोषण गरेकोले अपुतालीको ११ नं. अनुसार निजको अपुताली पुनरावेदकले पाउने हो । आमा फरक भएपनि बाबुको अपुताली छोराले खान पाउने हुनाले छोराको मृत्युपछि छोराको छोरामा अपुताली हक स्वतः स्थापित हुन्छ । अपुतालीको १० नं. ले सौताको छोराले अपुताली पाउने व्यवस्था गरेको छ । आशाकन्याको मृत्यु पछि सम्पत्ति भोग गरी दर्ता नामसारी गराउन पुनरावेदकले कारवाही चलाएकोमा प्रत्यर्थीले ऐनका म्यादभित्र कुनै दावी गर्नु भएको छैन । विपक्षीको फिराद अपुतालीको २० नं. को हदम्याद नाघी परेको र नजिरको समेत त्रुटि हुँदा फिराद खारेज गर्नुपर्नेमा नगरेको पुनरावेदन अदालत पोखराको फैसला त्रुटिपूर्ण हुँदा वदर गरी फिराद खारेज गरी पाउँ भन्ने पुनरावेदन जिकिर ।

10.       यसमा २०४४।५।१३ मा आशाकन्याको मृत्यु भएकोले उक्त मितिबाट अपुताली परेको मान्नुपर्ने हुँदा अपुतालीको २० नं. ले व्यवस्था गरेको २ वर्षको हदम्याद नाघी २०४८।५।१८ मा वादीको निवेदन परेकोमा इन्साफ गरेको शुरु गोरखा जिल्ला अदालत र पुनरावेदन अदालत पोखराको निर्णय मिलेको नदेखिँदा अ.वं. २०२ नं. बमोजिम विपक्षी झिकाई नियमानुसार पेश गर्नु भन्ने यस अदालतको मिति २०५४।४।२१ को आदेश ।

11.        नियम बमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी इजलास समक्ष पेश भएको प्रस्तुत मुद्दामा विपक्षी वादीका तर्फबाट विद्वान अधिवक्ता श्री श्रीहरि अर्यालले मर्नेको लोग्ने, स्वास्नी, छोरा वा छोराको छोरा भएसम्म छोरीले अपुताली पाउँदैन । त्यस्ता कोही नभए छोरीले अपुताली पाउने व्यवस्था अपुतालीको २ नं. ले गरेको छ । पुनरावेदक मर्ने आशाकन्याको उदरको छोराको छोरा नभई सौतेनी पट्टिको नाती भएकोले आशाकन्याको अपुताली पाउन सक्दैन । ने.का.. २०५३, अंक ९, पृष्ठ ६९७, नि.नं. ६२६२ पुनरावेदक प्रतिवादी सूर्यबहादुर थापा विरुद्ध विपक्षी वादी धनकुमारी सारु मगर भएको अपुताली हक कायम मुद्दामा एकाउदरको छोरा नभएमा एकाउदरबाट जन्मेको छोरीले अपुताली पाउने सिद्धान्त प्रतिपादित भएको समेतबाट मर्ने आशाकन्याको एकाउदरको छोरी वादी बुद्धिमाया हुँदाहुँदै सौतेनी तर्फका नाती यी पुनरावेदकले अपुताली पाउन सक्दैन । तसर्थ पुनरावेदन अदालत पोखराको फैसला कानुनसम्मत हुँदा सदर गरी पाउँ भनी गर्नु भएको बहस समेत सुनी पुनरावेदन सहित मिसिल संलग्न प्रमाण कागजातहरु अध्ययन गरी निर्णयतर्फ विचार गर्दा पुनरावेदन अदालत पोखराको फैसला मिलेको छ, छैन भन्ने  सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।

12.        यसमा आमा आशाकन्याको परलोक भएपछि निजको नामको एकलौटी अपुताली खान पाउने गोरखा जिल्ला आरवाङ गा.वि.. वडा नं. ६ कि.नं. १२० र ४३४ को जग्गा मृतक आमाको सौतानी नाती बुद्धिमान गुरुङको नाममा नामसारी हुने ठहराएको मालपोत कार्यालय गोरखाको मिति २०४८।११।५ को त्रुटिपूर्ण निर्णय वदर गरी उल्लेखित कि.नं. को जग्गा मेरा नाममा नामसारी दर्ता गरी पाउँ भन्ने फिराद दावी रहेकोमा मेरो बाबु सेते गुरुङ हुँदाहुँदै विपक्षीले अपुताली खान पाउने होइन । आशाकन्यालाई पालनपोषण र किरिया समेत मेरो बाबुले गरेको हुँदा मालपोत कार्यालय गोरखामा परेको मेरो निवेदनबाट उल्लेखित दावीको जग्गा मेरा नाउँमा नामसारी गर्ने गरी भएको मालपोत कार्यालय गोरखाको निर्णय कानुनसंगत हुँदा फिराद दावीबाट फुर्सद पाउँ भन्ने प्रतिउत्तर जिकिर देखिन्छ । वादी दावी पुग्न नसक्ने ठहराई भएको शुरु गोरखा जिल्ला अदालतको फैसला उल्टी भई वादी दावी बमोजिम आशाकन्याको नामको जग्गा प्रतिवादीको नाममा नामसारी हुने ठहराएको मालपोत कार्यालयको निर्णय पर्चा वदर गरी वादीको नाममा विवादित जग्गा नामसारी दर्ता समेत हुने ठहराएको पुनरावेदन अदालत पोखराको इन्साफ प्रतिवादीको चित्त नबुझी यो पुनरावेदन परेको देखियो ।

13.        यसमा प्रस्तुत मुद्दा आशाकन्या गुरुङको स्वर्गवास भएपछि निजका नाउँको जग्गा नामसारी गरी पाउँ भनी प्रतिवादी बुद्धिमानले मालपोत कार्यालय गोरखामा दिएको निवेदनमा निजको बाबु सेते गुरुङ बृद्ध भएकोले आफ्नै नाममा नामसारी गराउन गएको देखिन्छ । नामसारी गर्ने कुरामा जग्गा पजनीको ३ नं. ले जहिलेसुकै दाखेल खारेज गर्न सकिने कानुनी व्यवस्था रहेको छ, सो सम्बन्धमा वादी बुद्धिमायाले नामसारी रोक्का गरी पाउँ भनी वारेस रन बहादुर गुरुङमार्फत् निवेदन दिई सनाखत गरेको र निजको बहिनी आइतमायाले बुद्धिमायाको नाममा नामसारी गर्न मन्जुरी छ भनी सनाखत समेत गरेको तथा बुद्धिमायाको नाता र नागरिकताको प्रमाणपत्र समेत बुझी २०४८।११।५ मा प्रतिवादीको नाउँमा नामसारी गर्ने ठहराई निर्णय गरी ३५ दिनभित्र अदालतमा उजुर गर्नु भनी म्याद दिई प्रस्तुत मुद्दाको फिराद परेको हुँदा सो नामसारी गर्ने निर्णय वदर गराई माग्न प्रस्तुत फिराद परेको देखियो । तसर्थ यस्तो नामसारी सम्बन्धमा जग्गा पजनीको ३ नं. बमोजिम कुनै म्याद नभएकोले म्याद नाघी फिराद परेको मान्न मिलेन ।

14.       साथै प्राप्त मिसिलबाट वादी मर्ने आशाकन्या गुरुङको छोरी भएकोमा र प्रतिवादी बुद्धिमान मर्नेको सौता अन्तरीको छोरा सेते गुरुङको छोरा भएकाले सौतानी नाती अर्थात वादीको दाजु सेते गुरुङको छोरा भदा नाताको देखिन्छ । प्रतिवादी बुद्धिमान गुरुङले आफ्नो बाबु सेते गुरुङ जीवित छँदा छदै आफूले मर्नेको अपुताली पाउन नसक्ने हकदार नै नभै सकेको स्थितिमा नामसारी गराउन निवेदन दिएको छ । अपुतालीको २ नं. मा मर्नेको लोग्ने, स्वास्नी, छोरा वा छोराको छोरा भएसम्म छोरीले अपुताली पाउदैन । त्यस्ता कोही नभएको छोरीले अपुताली पाउँछ भन्‍ने उल्लेख भएको र त्यसको व्याख्या ने.का.. २०५३, नि.नं.६२६२, पृ.६९७ मा गरिए अनुसार मर्नेको भन्‍ने उल्लेख भएकोबाट मर्ने स्वयंको गर्भबाट जन्मेको छोरा भएमा मात्र छोरीको अपुताली पाउने क्रम छोरा भन्दा टाढा रहने अवस्था पर्दछ । त्यस्तो एकाउदरको छोरा नभएमा एकाउदरबाट जन्मेको छोरीले अपुताली पाउने हुन्छ । तसर्थ पुनरावेदन अदालत पोखराले वादी दावी बमोजिम मालपोत कार्यालय गोरखाको निर्णय पर्चा वदर गरी वादीको नाउँमा विवादित जग्गाको नामसारी दर्ता समेत हुने ठहर्‍याएको निर्णय मिलेकै हुँदा मनासिव ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.भैरवप्रसाद लम्साल

 

इति सम्वत २०५६ साल मंसिर २ गते रोज ५ शुभम………………