October 6, 1977
Created by nepalarchives

निर्णय नं. १०८८ – उत्प्रेषणको आदेश जारी गरी पाउँ

निर्णय नं. १०८८     ने.का.प. २०३४ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०३३ सालको रिट नम्बर १०२५ आदेश...

निर्णय नं. १०८८     ने.का.प. २०३४

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री वासुदेव शर्मा

माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय

सम्वत् २०३३ सालको रिट नम्बर १०२५

आदेश भएको मिति : २०३४।६।२०।५ मा

निवेदक : का.जि.का.न.पं.वार्ड नं.२० अन्तर्गत पकनाजोल बस्ने प्रो.नरेन्द्रराज भट्टराई

विरुद्ध

विपक्षी : जिल्ला भूमिसुधार कार्यालय नुवाकोट समेत

विषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ

(१)   निर्णयमा बिगोको अंक नखुलेकोले वादीले कति भरी पाउने हो, त्यो यकिन भएन, तसर्थ हचुवा किसिमबाट निर्णय भएको देखिँदा दण्ड सजायको ४२ नं.को त्रुटी भएको ।     

 (प्रकरण नं. ९)

निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री झुलेन्द्रप्रसाद छत्कुली

विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री होराप्रसाद जोशी

उल्लेखित मुद्दा :    

आदेश

            न्या. वासुदेव शर्मानेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा आदेश पूर्जी जारी गरी विपक्षी भूमिसुधार अधिकारीको निर्णय बदर गरी पाउँ भनी रिट निवेदन मिति ०३३।४।११।२ मा दर्ता भएको रहेछ ।

            २.    संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार छ : धरौट समेत नराखेकोले दिए धानै र नदिए धान मुरी १ को मो.रु.६५ को जम्मा रु.७३४।विपक्षबाट दिलाई भराई जग्गाबाट निष्काशन गरी पाउँ भन्ने निवेदन । नगद बुझाउँन हामी मञ्जुर छौं धान ११।६ को रु.१ का धान पाथी ३। तीनका दरले हुने जम्मा रु.७५।३३ बुझाउन पाउँ भन्ने समेत प्रतिवादी भएकोमा मोहीको हकमा यथावत राख्ने र वादीले भरी पाउने बालीको हकमा डं.स. को ४२ का म्याद भित्र भरी भराउने गरी पाउँ भनी दरखास्त दिएमा भरी भराउँ हुने समेत ठर्हछ भन्ने समेत विपक्षी कार्यालयबाट निर्णय भएको रहेछ ।

            ३.    विपक्षी नं.२ ले निर्णय गर्दा आधार लिएको २०२७ सालको निर्णय बदर गरी पाउँ भनी आजै निवेदन दिएको छु । विपक्षी नं.२ को निर्णय गर्न पाउने क्षेत्राधिकार विशेष भूमिसम्बन्धी ऐन, ०२१ (यसपछि ऐन भनी संबोधन गरिन्छ) को दफा २९ (१) हो जसको आधारमा मोहियानी हकबाट निष्काशन हुने हो वा हैन भनी निर्णय दिन सक्ने कुरा हो । अन्यथा अथवा निष्काशन नहुने भनी निर्णय दिएको अवस्थामा ऐनको दफा २९ (३) अनुसार बालीभराउने भनी निर्णय दिनमिल्दैन उपरोक्त उल्लेख गरिएअनुसार समेतको दफा (१)र२९(३)को परस्परविरोध हुनेगरी गरिएको विपक्षी नं.२को निर्णय कानूनी त्रुटीपूर्ण छ ।

            ४.    विपक्षीहरूद्वारा लिखितजवाफ मगाई पेश गर्नु भन्ने डिभिजन बेञ्चको मिति ०३३।६।७।५ को आदेशानुसार प्राप्त हुन आएको लिखितजवाफ निम्न प्रकार छन् :

            ५.    धरौटसम्म पनि नराखेको देखिँदा दं.स. को ४२ नं. बमोजिम विगो भरी भराउँ गर्न पाउने गरी निर्णय दिएको हुँदा निवेदकको रिट निवदेन पत्र खारेज गरी पाउँ भन्ने समेत जि.भू.सु. कार्यालय नुवाकोट ।

            ६.    निवेदकको निवदेन पत्रबाट उत्प्रेषणको आदेश जारी गर्न गराउन नमिल्ने भएकोले रिट निवेदन पत्र खारेज गरी पाउँ भन्ने समेत विष्णुप्रसाद गजुरेल ।

            ७.    तारखेमा रहेका निवेदक प्रो नरेन्द्रराज भट्टराईको वारिस देवीभक्त र विपक्षी गङ्गादेवीको वारिस बलरामलाई रोहवरमा राखी निवेदक नरेन्द्रराजतर्फको विद्वान अधिवक्ता श्री झुलेन्द्रप्रसाद छत्कुली र विपक्षी गङ्गादेवीतर्फका विद्वान अधिवक्ता श्री होराप्रसाद जोशीको बहस समेत सुनी प्राप्त भएको मिसिल समेत अध्ययन गरी हेर्दा निवेदककामाग बमोजिमको आदेश जारी हुने नहुने के रहेछ निर्णय दिनु परेको छ ।

            ८.    यसमा २०२९ सालको बाली नदिएकोले मोही निष्काशन गरी पाउँ भन्ने वादी भएकोमा मोहीको हकमा यथावत कायम हुने ठहरी वादीले भरी पाउने बाली र आयस्ताको हकमा दं.स. को ४२ नं.को म्याद भित्र दरखास्त परेमा भरी पाउने ठर्हछ भन्ने समेत विपक्षी कार्यालयले निर्णय गरेको देखिन्छ ।

            ९.    उक्त निर्णयमा बिगोको अङ्क नखुलेखकोले वादीले कति भरी पाउने हो त्यो यकिन भएन हचुवा किसिमबाट त्यस्तो निर्णय भएको देखिँदा उक्त निर्णयमा दण्डसजायको ४२ नं.को त्रुटी भएको देखिन्छ । तसर्थ उत्प्रेषणको आदेशद्वारा बदर गरिदिएकोछ । अब कानून बमोजिम निर्णय गर्नुभनी विपक्षी भूमिसुधारकार्यालय नुवाकोटको नाउँमा परमादेशको आदेशसमेत दिनेठर्हछ । जानकारीको निमित्त यो आदेशको प्रतिलिपि विपक्षी कार्यालयमा पठाउन म.न्या.को कार्यालयमा पठाई नियमबमोजिम फाइल बुझाइदिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. विश्वनाथ उपाध्याय

 

इति सम्वत् २०३४ साल आश्विन २० गते रोज ५ शुभम् ।