November 24, 1977
Created by nepalarchives

निर्णय नं. १०८५ – लेनदेन

निर्णय नं. १०८५     ने.का.प. २०३४ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री सरदार ईश्वरीराज मिश्र माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०३४ सालको देवानी पुनरावेदन नम्बर...

निर्णय नं. १०८५     ने.का.प. २०३४

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री सरदार ईश्वरीराज मिश्र

माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय

सम्वत् २०३४ सालको देवानी पुनरावेदन नम्बर १०२

आदेश भएको मिति : २०३४।८।९ मा

निवेदक : का.जि.यट्खाबस्ने सिसनाथ झाको वा.र आफ्ना हकमासमेत रामनाथ झा

विरुद्ध

विपक्षी : भ.पु.जि. बालाखु माइतिघर बस्ने भनेकी पूर्णस्वरा वझनी

मुद्दा : लेनदेन

(१)   मञ्जुरीको लिखतको अभावमा ऋण सबै अंशियारबाट समेत भराई पाउनपर्ने भन्न  नमिल्ने ।

(प्रकरण नं. १६)

विपक्षी तर्फबाट : वैतनिक विद्वान अधिवक्ता श्री नुतनबहादुर थपलिया

उल्लेखित मुद्दा :    

फैसला

            न्या. ईश्वरीराज मिश्रउपरोक्त मुद्दा मध्यमाञ्चल क्षेत्रीय अदालतबाट २०३२।११।२६ गते सार्वजनिक महत्त्व विषयमा प्रत्यक्षतः गम्भीर कानूनी त्रुटी गरी फैसला गरेको हुँदा दोहर्‍याई पाउँ भन्ने निवेदकको निवेदनमा दोहर्‍याई दिनु भन्ने बक्स भई आएको हुकुम प्रमांगी फुल बेञ्चमा पेश हुँदा पुनरावेदनको अनुमति दिने भन्ने ०३४।४।२१।६ को आदेश ।

            २.    मुद्दाका संक्षिप्त तथ्य यस प्रकार छ : सासुको काममा मसँग सापटी लिएको रु.१७४३ को ०१८।९।७ मा ससुरा द्वारिकानाथले तमसुक गरिदिएको त्यसको १ वर्षपछि ससुरा द्वारिकानाथ पनि परलोक हुनु भएकोले खसम दिनानाथलेनै काजकृया गर्नु भएको सो कामको निमित्त सापटी लिएको समेत हुन आएको रु.१६५५। को ०२०।११।२२ मा कपाली तमसुक लेखी खसम दिनानाथले मलाई दिनु भएको थियो, मेरो दाइजोको उक्त रुपैयाँ सासु ससुराको हक खाने अन्यायवाला हुँदा जम्मा साँवा ब्याज रु.५,३४२।८९ र अन्तिम किनारा हुने दिनसम्मको साँवा ब्याज दिलाई पाउँ भन्ने समेत फिरादपत्र ।

            ३.    वादी दावा बमोजिमको साँवा ब्याज ४ खण्डको १ खण्ड तिर्नु बुझाउनु मञ्जूर छ भन्ने आर्जेस्वरीको प्रत्युत्तर ।

            ४.    वादी दावीको रुपैयाँ पिताजीले लिनु भएको भए हामी अंशियार साक्षी हुनुपर्ने सो तमसुक देख्न सुन्न पाउँ भन्ने समेत रामनाथ, विश्वनाथ समेतको प्रत्युत्तर । उपरोक्त सक्कल तमसुक वारिस समेतको रामनाथलाई सुनाउँदा साविक कागज जाँचको रीत नपुगेकोले कीर्ते हो भन्ने बयान र मैले पेश गरेको लिखितहरू सत्य साँचो हो जालसाजी कीर्ते होइन भन्ने समेत दीवा वा विकुलालको बयान ।

            ५.    रामनाथका बयान बमोजिमको रु.१७४३। तमसुक साँचो व्यहोराको कीर्ते होइन चारै जनाले बराबर तिर्नु पर्ने रु.१६५५। को कपाली तमसुक पनि म जानकार भएका अवस्थाको ऋण भएकोले सबै अंशियारहरूले तिर्नु पर्ने हो भन्ने दिनानाथको बयान ।

            द्वारिकानाथ ऋणी भएको रु.१७४३। को साँवा ब्याज ४ जनाले रु.१६५५ को साँवा ब्याज प्र. दिनानाथले एकलौटी तिर्नु पर्ने ठहर्छ भन्नेसमेत भु.पु. जिल्ला अदालतको फैसला ।

            ६.    उक्त फैसलामा चित्त बुझेन भन्ने रामनाथ शिवनाथको र रु.१६५५। को साँवा ब्याज मैलेमात्र तिर्नु पर्ने गरेको भु.पु.जि. अदालतको फैसलामा चित्त बुझेन भन्ने समेत दिनानाथ समेतको पुनरावेदन ।

            ७.    रु.१७४३। को लिखत द्वारीकानाथले गरिदिएको लिखत कीर्ते भन्ने रामनाथ, शिवनाथको पुनरावेदनमा कीर्ते भन्ने प्रमाण पेश हुन नआएकोले यस कलममा प्रतिवादी ४ जनाले तिर्नु पर्ने ठहराएको इन्साफ शुरु अदालतको मुनासिव छ । दिनानाथको पुनरावेदनका हकमा बाबुको काजकृया हामीले गर्नु नपर्ने भन्ने लेख्न नसकेको हुनाले प्र. रामनाथ, शिवनाथ, आर्जेश्वरी र दिनानाथ समेतले तिर्न पर्ने हुँदा शुरु भ.पु.जि.अ.ले केही गल्ति ईन्साफ गरेको ठहर्छ भन्ने समेत बाग्मती अञ्चल अदालतको फैसला ।

            ८.    उक्त इन्साफमा चित्त बुझेन भन्ने शिवनाथ, रामनाथको र सद्दे व्यवहारको कागजलाई कीर्ते भनी बयान गरेको शिवनाथ रामनाथलाई सजाय गर्नुपर्नेमा अञ्चल अदालतले सजाय गरेको हुँदा चित्त बुझेन भन्ने दिनानाथ समेतको पृथकपृथक पुनरावेदन ।

            ९.    वादी दावीको लिखत जालसाजी नदेखिएकोले इन्साफ बा.अं.अ.को मनासिव कीर्ते भनी बयान गरेमा रामनाथ, शिवनाथलाई सजाय हुनुपर्ने भन्ने दिनानाथको पुनरावेदनतर्फ वादी दावीबाट मात्र सजाय हुने शुरुले अधिकारभित्र रहि सजाय नभएकोमा अ.अ.बाट केही नबोलेकोहुँदा पुनरावेदन जिकिरपुग्दैन भन्नेसमेत म.क्षे.अ.को ०३२।११।२६।३ को फैसला ।

            १०.    उपरोक्त फैसला कानूनी त्रुटी हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने रामनाथ शिवनाथको निवेदनमा दोहर्‍याई दिनु भन्ने बक्स भई आएको हुकुम प्रमांगी फुल बेञ्चमा पेश हुँदा पुनरावेदनको अनुमति दिने भन्ने ०३४।४।२१।६ को आदेश ।

            ११.    पुनरावेदकको वा.उपेन्द्रधरले प्रस्तुतमुद्दामा वादीको लोग्ने दिनानाथ पिताजी द्वारिकानाथ स्वर्ग हुनुभन्दा पहिलेनै अंशबण्डा गरी छुट्टिएको पिताजीको आमाको काजकृयागर्न पिताजीले वादीसँग कर्जा लिएको भए साक्षीमा हाम्रोसमेत मञ्जूरी सहि गराइराख्नु पर्ने सो नभएकोले सो तमसुक खास पिताजीको सही छैन किर्ते हो र २०२०।१।२२ मा हामी अंशियारसमेत साक्षी नभएको तमसुक वादीको लोग्ने ऋणी बनाएको खूद जालसाजी तमसुकलाईसमेत सवै अंशियारले तिर्नुबुझाउनुपर्ने भन्ने कानूनीत्रुटीपूर्ण अं.तथा क्षे.अ.ले गरेकोहुँदा उक्त फैसला समेत बदर गरी वादी दावीबाट छुट्कारापाउँ भन्नेसमेत आफ्नो बहस प्रस्तुत गर्नुभयो ।

            १२.   विपक्षी वादी पूर्णस्वरीतर्फको वैतनिक विद्वान अधिवक्ता श्री नूतनबहादुर थपलियाले मेरो पक्ष वादीसँग प्र.समेतको सासु मर्दा निजको लोग्ने अर्थात पुनरावेदकसमेतको बाबु द्वारीका नाथले रु.१७४३। कर्जा खाई तमसुक गरिदिएको उक्त तमसुक रुपैयाँ शुरु अञ्चल क्षेत्रीयले स्वीकार गरिसकेको हुँदा सो तमसुक कीर्ते भन्ने विपक्षीको जिकिर युक्तीसंगत नभएको तथा पुनरावेदकको पिताजी स्वर्ग भएको अवस्थामा काजकृया गर्न वादीसँग रुपैयाँ कर्जा खाएमा दिनानाथले कर्जाको तमसुक गरी दिएकै र सो कागजमा पुनरावेदक साक्षी छैन त्यसैकारण तिर्नपर्ने भन्ने जिकिर लिनु भएको छ, पिताजी भनेको द्वारीकानाथ परलोक हुँदा सबै अंशियार भई काजकृया गरेको हैन भन्ने लिखत सकेको नभएपछि र सगोलैबाट काजकृया गरेको ठहराई दिनानाथले गर्नु भएको रु.१६५५। को तमसुक बमोजिमको साँवा ब्याज सबै अंशियारले तिर्नु बुझाउनु पर्ने ठहर गरी अं.अ.तथा क्षेत्रीय अदालतले समेत इन्साफ अञ्चल अदालतको सदर भइसकेको हुँदा उक्त रु.१६५५। को साँवा ब्याज हामीले तिर्नु बुझाउनु पर्ने हैन भन्ने पुनरावेदन जिकिर निरर्थक छ भन्ने समेत आफ्नो बहस प्रस्तुत गर्ने भयो ।

            १३.   उपस्थित दिनानाथले आमा स्वर्गे हुँदा बाबु द्वारीकानाथले कर्जा लिनु भएको र बाबु स्वर्गे हुँदा काजकृया निमित्त मैले कर्जा लिएका सबै अंशियार भई काजकृया गरेको हुँ यदि हैन भने बाबुका काजकृया पुनरावेदकहरूले आफु आफूले गरेको खर्च लगाएको हुँ भनी प्रमाण पुर्‍याउनु पर्ने भन्ने समेत आफ्ना बहस प्रस्तुत गर्नु भयो ।

            १४    नियमबमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक रामनाथ समेत र विपक्ष वादी तथा छलफलमा उपस्थित दिनानाथ समेतलाई रोहवरमा राखी दुवै पक्षले गर्नु भएको बहस समेत सुनी विचार गरी हेर्दा मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ ठिक बेठिक के रहेछ ? भन्ने विषयमा निर्णय दिनुपर्ने देखियो ।

            १५.   निर्णयतर्फ हेर्दा वादीको ससुरा द्वारीकानाथले गरिदिएको रु.१७४३ को मिति २०१८।९।१७ को लिखत यति कारणबाट कीर्ते गरेको हो भन्ने बयान गरे बमोजिमको सबूद पुग्न नसकेकोले उक्त कलमको हकमा ऐनबमोजिम साँवा ब्याज भराउने गरेको शुरुको सदर गरी बाग्मती अञ्चल अदालत र म.क्षेत्रीय अदालतले गरेको इन्साफ मुनासिबै छ ।

            १६.    वादीको लोग्ने दिनानाथले गरिदिएको रु.१६५५। मिति ०२०।११।२२ को तमसुकको हकमा विचार गरी हेर्दा तत्काल प्रचलित लोग्ने स्वास्नीको ५ नं.ऐनमा स्वास्नीको दाइजो पेवा मास्दा अंश नभई एकाघरसँग बसेको अरू अंशियारहरू समेत रहेछन् भने अंशको हकदार सोह् बर्ष नाघेको सबैको मञ्जुरीको लिखत भएमात्र सो मासेको दाइजो पेवा लेनदेन व्यवहारको महलबमोजिमको सबै अंशियारहरूको गोश्वरा धनबाट भर्ना हुनसक्छ । लेखिए बामेजिम रीतनपुर्‍याई मासिदिएकोमा अरू अंशियारहरूको मञ्जुरनभएकोमा अरू अंशियार हरूले व्यहोर्नु र गोश्वराबाट भर्ना हुनसक्दैन भन्ने कानूनी व्यवस्थाभएको देखिएकाले वादी दावीको उक्त ०२०।११।२२ को लिखतमा पुनरावेदक प्र.हरूको मञ्जुरीको लिखतको अभाव मा सो ऋण सबै अंशियार प्र.पुनरावेदकहरूबाटसमेत भराईपाउन पर्ने भन्ननमिल्ने हुँदा यस कलममा प्र.दिनानाथले मात्र तिराउने गरेको शुरु भ.पु.जि.अ.को इन्साफ मनासिव हुँदा बाग्मती अं.अ.तथा म.क्षे.अदालतको इन्साफ गल्ति ठर्हछ । अरू तपसील बमोजिम गर्नु ।

 

तपसील

देहायका कलममा देहाय बमोजिमको लगत कायम हुने हुँदा भक्तपुर जिल्ला अदालतको २०२६।१२।१०।२ को फैसला र ०२६।१२।१६।१ को लगत तथा बाग्मती अञ्चल अदालतको २०३०।१२।१५ को फैसला तथा का.जि.अ.त.को ०३१।५।७।६ को लगत बमोजिम कायम गर्न नमिल्ने हुँदा ऐनबमोजिम लगत काटी दिनु………..१

वादी पूर्णस्वरी वझेनीकेमाथि ठहर खण्डमा लेखिएबमोजिम मिति २०१८।९।१७ को कपाली तमसुकको रु.१७४३ को साँवाँ ब्याज पाउने ठहराएको शुरु भ.पु.जि.अ. को सदर गरी बा.अ.अ.तथा म.क्षे.अदालतको इन्साफ मनासिव भएकोले बा.अ.अ.ले उक्त साँवाब्याज रु.१७४३।को १० वर्षको ब्याज साँवा बराबर रु.१८४३। समेत दुवै कलमको साँवा ब्याज रु.३४८६। को कोर्टफी ऐनबमोजिम लाग्ने कोर्टफी १४९।४४ र अन्य दस्तुर रु.३।४०समेत जम्मा कोर्टफीसमेत रु.३६३८।८४देहायका प्र.जना ४बाट वादीले भरी पाउने हुँदा प्र.हरुबाट ऐनकानूनबमोजिम भराइपाउँ भनी वादीको कोर्टफी ऐन,२०१७ को दफा १५को उपदफा ११ को म्याद ३ वर्षभित्र वादीको दरखास्त परेमा वादीले शुरुमा दावी लिएको रु.१७३४। र १६५५समेतको रु.१३३।७२मात्र कोर्टफी दाखिल गरेको यस कलमतर्फ चाहिने कोर्टफी रु.१४९।४४ मा नपुग कोर्टफी रु.५८।१२ प्र.देहायका मानिसबाट भराएकाबखत वादीबाट असुल गर्ने गरी विगोतर्फ कोर्टफी ऐन,०१७ को दफा १३बमोजिम सयकडा २।५० ले दस्तुर लिई कोर्टफी केही नलिई ऐन कानूनबमोजिम भरीभराउ गरीदिनु भनी भ.पु.जि.अ.लाई लेखीपठाउन का.जि.अ.त.मा लगत दिनु……………….२

प्रतिवादी दिनानाथ झा.भ.पु. ईताछेवाट रु.विगो रु.आठसय एकहत्तर रुपैयाँ पचास पैसा ८७१।५० र कोर्टफी र अरू दस्तुरसमेत रु. ३८।२१ ऐ आर्जेश्वरी वझेनी का.जि.यट्खा महादेव पछाडिको विगो रु     ८७१।५०कोर्टफी अन्य दस्तुर रु ३८।२१ ऐ शिवनाथ झा.का.जि.यट्खाबाट विगो रु. ८७१।५० कोर्टफी र अन्य दस्तुर रु ३८।२१ ऐ रामनाथ झा ऐ ऐ विगो रु ८७१।५० कोर्टफी र अन्य दस्तुर ३८।२१ देहायका प्रतिवादीहरूके निजहरूले शुरु अदालत उपर अं.अ.मा पुनरावेदन गर्दा वा.अं. अदालतमा ०२७।१।१३।१ मा र २०२७।११।१४।२ मा का.क्षे.तहसिलमा दाखिल गरेको क्रमशः धरौटी कोर्टफी रु.७३।१४ र १२।८ समेत जम्मा रु.८५।२२ मध्यमाञ्चल क्षेत्रीय अदालतमा मिति ०३२।८।६।३ मा र ०३२।४।२।६ मा क्रमश धरौटी कोर्टफी रु ११८।५६ र २२।०३ समेत जम्मा रु.१४०।५९ औ सर्वोच्च अदालतमा पुनरावेदन गर्दा ०३४।४।२८।६मा दाखिल गरेको धरौटी कोर्टफी रु.२१।७८ समेत उपरोक्त सबै कलमहरूको दाखिल गरेको धरौटी कोर्टफी रु.२४७।५९ मा उपरोक्त दफा १ को देहाय बमोजिम निज जना २ बाट लाग्ने कोर्टफी र अन्य दस्तुर समेत जम्मा ७६।४२ उपरोक्त दफा १ को भरी भराउको लागि कटाई बाँकी रु.१७१।१७ पैसा फिर्ता पाउँ भनी ऐनबमोजिम दर्खास्त दिन आएमा ऐन नियमबमोजिमको रीत पुर्‍याई फिर्ता गरी दिनु भनी का.जि.अ.त.मा लगत दिनु…………….३

रामनाथ झालाई रु.८५।५९ शिवनाथ झालाई १७१।१७ वादी पुर्णेस्वरी वझेनी केमाथि ठहर खण्डमा लेखिएबमोजिम मिति २०२०।१२।२२ का कपाली तमसुकको रु.१६५५। को हकमा प्र. दिनानाथ झाले मात्र वादीलाई तिर्नु बुझाउनु पर्ने इन्साफ शुरु अदालतको मनासिव भएकोले तमसुक भएको मितिदेखि वा.अं. अदालतका फैसला बमोजिम २०३०।११।२१ गते तक जम्मा वर्ष १० को साँवा रु.१६५५ ऐनबमोजिम साँवा बराबर ब्याज रु.१६५५ समेत जम्मा रु.३३१०। र त्यसमा लाग्ने कोर्टफी रु १४२।४० समेत जम्मा रु ३४५२।१२ पैसा प्रतिवादी दिनानाथ झाबाट मात्र भरी पाउँ भनी बालीको दरखास्त परेका बखत कोर्टफी ऐन दफा १३ बमोजिम विगो भराएतर्फ सयकडा २।५० का दरले विगो भरी भराउको दस्तुर लिई र कोर्टफीतर्फ केही नलिई प्रतिवादी दिनानाथबाट वादी पूर्णेस्वरी वझेनीलाई भरी भराउ गरी यसतर्फ छुट कोर्टफी २।२३ वादीबाट असूल गरिदिनु भनी भ.पु. जिल्ला अदालतलाई लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु………….४

नियमबमोजिम गरी मिसिल बुझाइदिनु………………५

 

उक्त रायमा म सहमत छु ।

 

न्या. विश्वनाथ उपाध्याय

 

 

इति सम्वत् २०३४ साल मार्ग ९ गते रोज ५ शुभम् ।