निर्णय नं. १०७३ – उत्प्रेषणको आदेश जारी गरी पाउँ
निर्णय नं. १०७३ ने.का.प. २०३४ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश सरदार श्री ईश्वरीराज मिश्र सम्वत् २०३३ सालको रिट नम्बर १७९० आदेश...
निर्णय नं. १०७३ ने.का.प. २०३४
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री हेरम्बराज
माननीय न्यायाधीश सरदार श्री ईश्वरीराज मिश्र
सम्वत् २०३३ सालको रिट नम्बर १७९०
आदेश भएको मिति : २०३४।७।१७।४ मा
निवेदक : जि.स.गा.पं. महादेवा वार्ड नं.१ बस्ने खटर यादव
विरुद्ध
विपक्षी : ऐ ऐ गा.पं. वार्ड नं.२ मौजे कजौली बस्ने मिश्री मण्डल धानुकसमेत
विषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ
(१) लुटपिट गरी लगेको हो वा होइन भनी ठहर गर्ने अख्तियार भूमि प्रशासकलाई भएको नहुँदा अधिकार क्षेत्रको उल्लंघन गरी गरेको फैसला उत्प्रेषणको आदेशद्वारा बदर हुने ।
(प्रकरण नं. १०)
निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री इच्छाहर्ष बज्राचार्य ।
विपक्षी तर्फबाट : विद्वान का.मु. सरकारी अधिवक्ता श्री प्रेमबहादुर विष्ट र विद्वान अधिवक्ता श्री बलराम काफ्ले
उल्लेखित मुद्दा :
आदेश
न्या. हेरम्बराज : विपक्षी कार्यालयको ०३२।४।८।५ को निर्णय बदर गरी पाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत प्रस्तुत रिट निवेदन पर्न आएको छ ।
२. मुद्दाको संक्षिप्त तथ्य र जिकिर यस प्रकार छ : मिश्रीको नाउँमा दर्ता भएको जि.स.गा.पं. महादेवा वार्ड नं. २ क.कि.नं.१४ को ०–१८–३ जग्गामा म मोही भई कमाई आएको ०३१ सालको धानबाली ०३१।९।८ गते विपक्षी प्रतिवादीले लुटी लगे बाली भराई पाउँ भन्ने मेरो दावी लुटेको छैन भन्ने प्रतिवादी भएकोमा वादी दावी अनुसार वादीले काटी लगेको प्रतिवादी मिश्रीलाल मण्डलबाट भराई रहन नपर्ने ठर्हछ भनी ०३२।४।८।५ मा विपक्षी कार्यालयको फैसला ।
३. आफूले हेर्न छिन्न नहुने मुद्दा हेरे छिनेको अ.बं. ३५ नं.ले बदर हुने कानूनी व्यवस्था छ । बाली लुटे भनी यो उजूर दायर गरी सकेपछि ३ महिना पछि विपक्षीले मेरो नाउँमा ०३१।१२।१५ मा कूत दिलाई मोही निष्काशन गरी पाउँ भनी उजूर पर्यो र मैले फेरी लुटपिट मुद्दा हेर्न भू.प्र.का. लाई अधिकार नहुँदा जिल्ला अदालत सप्तरीमा फिराद गरेको पनि छु यसरी अघि परेको मुद्दाहरू किनारा भैसकेपछि मात्र किनारा गर्नुपर्नेमा नगरी मि.नं.६ को पछि परेको मुद्दाबाट बाली भराई जग्गा निष्काशन गर्ने गरी विपक्षी कार्यालयबाट ०३२।४।८।५ मा गरेको फैसला अनाधिकार हुँदा उत्प्रेषणको रिटद्वारा बदर गरी पाउँ भन्नेसमेत स.अ.मा दिएको रिट निवेदन दायरै छ । लुटपिट मुद्दा हेर्ने विपक्षी कार्यालयलाई अधिकार छैन र अ.बं. ८९ नं.ऐनले पनि हेर्न नमिल्नेमा हेरिएको हुँदा संविधानको धारा १६ र ७१ बमोजिम उत्प्रेषणको आदेशद्वारा उक्त निर्णय बदर गरी पाउँ भन्ने समेत निवेदन जिकिर ।
४. विपक्षीहरूसँग लिखितजवाफ लिई पेश गर्नु भन्ने डि.बे.को २०३३।५।१०।५ को आदेश ।
५. भू.प्र.का. सप्तरीको ०३२।४।८। को निर्णय निज निवेदकले नै म उपर मोहियानी हकको जग्गाको बाली जवरजस्ती लुटपिट गरी मोहियानी बेदखली गरेकोले लुटपिटको बाली फिर्ता दिलाई मोहियानी बेदखलीमा सजाय गरी पाउँ भनी दिनु भएको भू.सं. ऐन, २०२१ को दफा ३२ अन्तर्गतको उजूरी भू.संं. नियमावली, ०२१ को नियम १२ (३) को अनुसार ग्रहण गरी निर्णय गर्न पाउने भूमि प्रशासकज्यूलाई अधिकार प्राप्त भएको हुँदा अनधिकृत छैन उजूरी रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत मिश्री मण्डल धानुकको लिखितजवाफ ।
६. रिट निवेदनमा धानदाइँ भैसेकेको भनी दावी आफैं स्वीकार गर्नु हुन्छ र बोझा लग्यो भनी दावी लिनु भएका र टोली प्रतिवेदन समेतमा रिट निवेदनको विपक्षी मिश्री मण्डलले बाली लुटी नलगेको भन्ने भएको हुँदा रिटनिवेदनको दावी सरासर झुटो देखिन्छ र मोहीसमेत खिचोला गर्यो भनी जिकिरलिएको हुँदा यस कार्यालयको क्षेत्राधिकारभित्र परी मोही वेदखली नभएको ठहराई मिति ०३२।४।८।५मा निर्णय भएकोरहेछ । भू.सं.ऐन, ०२१ (संशोधन) मा भएको अवस्थाअनुसार अधिकारप्राप्त अधिकारीबाट भएको निर्णय कानूनसंगत छ । उक्त निर्णयले निवेदकको कुनै कानून तथा संविधानको हकको हनन् भएकोछैन, अतः रिटनिवेदन खारेज गरी पाउँ भन्ने समेत भूमिप्रशासन शाखा राजविराज सप्तरीको लिखितजवाफ ।
७. निवेदकतर्फका विद्वान अधिवक्ता इच्छाहर्ष बज्राचार्यले बाली लुटपिट मुद्दा हेर्न विपक्षी भूमिप्रशासन कार्यालयलाई अधिकार नभएकोमा अनाधिकार निर्णय गरेको र विलम्बको सिद्धान्त समेत यस्तो अवस्थामा लाग्न नसक्ने हुँदा समेत विपक्षी कार्यालयको निर्णय बदर होस् भन्ने समेत आफ्नो बहस समेत प्रस्तुत गर्नु भयो ।
८. विपक्षी भूमिप्रशासन कार्यालय सप्तरीतर्फबाट खटिई उपस्थित रहनु भएको विद्वान का.मु. सरकारी अधिवक्ता श्री प्रेमबहादुर विष्ट र विपक्षी मिश्री मण्डल धानुकतर्फका विद्वान अधिवक्ता श्री बलराम काफ्लेले मोही बाली लगी मोही बेदखली गर्यो भन्ने विषयमा भूमि प्रशासकलाई मुद्दा हेर्न अधिकार छ र ०३२।४।८ गते बेदखली गर्यो भन्ने मुद्दामा निर्णय भएको र नक्कल ०३२।४।१९ मा सारेको ०३३ साल आषाढमा मात्र अनुचित विलम्ब गरी रिटनिवेदन गर्न आएकोसमेत हुँदा रिटनिवेदन खारेजहोस भन्नेसमेत बहस प्रस्तुत गर्नुभयो ।
९. यसमा निवेदकको मागबमोजिम रिट जारी गर्नुपर्ने नपर्ने के हो ? सोको निर्णय दिनुपर्ने हुन आएको छ ।
१०. प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी विद्वान अधिवक्ताहरूको बहस समेत सुनी निर्णयतर्फ विचार गर्दा यसमा जग्गाधनी मिश्री मण्डल धानुकको मोही खटर यादव भई कमाई आएको कि.नं.१४ को ०–१८–३ जग्गाको ०३१ सालको बालीको धान बोझ बाली लुटपिट गरी लगेकोले बिगो भराई मोही बेदखलीबाट रोकी पाउँ भन्ने खटर यादवले मुद्दा चलाएकोमा धानबाली वादीले नै काटी लगेको भनी प्रष्ट देखाएकोले प्रतिवादीबाट बाली भराइरहनु नपर्ने ठर्हछ । बेदखली गर्यो भन्ने प्रश्नै उठ्दैन भन्ने ठहर गरी ०३३।४।८ गते भूमिप्रशासन कार्यालय सप्तरीबाट निर्णय भएको देखिन्छ । प्रतिवादीले लुटपिट गरी लगेको हो वा होइन भनी ठहर गर्ने अख्तियार भूमि प्रशासकलाई भएको नहुँदा अधिकार क्षेत्रको उल्लघंन गरी गरेको उक्त फैसला उत्प्रेषणको आदेशद्वारा बदर हुने ठर्हछ । बेदखल गर्यो भन्ने समेत निवेदकको माग देखिएकोले त्यसतर्फ कानूनबमोजिम कारवाही किनारा गर्नु भनी भू.प्र.सप्तरीको नाउँमा परमादेशसमेत जारी हुने ठर्हछ । यसको एकप्रति नक्कल विपक्षी भू.प्र.का.पठाउन म.न्या.कार्यालयमा पठाई मिसिल नियमबमोजिम गरी बुझाइदिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. ईश्वरीराज मिश्र
इति सम्वत् २०३४ साल कार्तिक १७ गते रोज ४ शुभम् ।