November 2, 1977
Created by nepalarchives

निर्णय नं. १०७० – उत्प्रेषण लगायत अन्य उपयुक्त आज्ञा आदेश जारी गरी पाउँ

निर्णय नं. १०७०     ने.का.प. २०३४ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश सरदार श्री ईश्वरीराज मिश्र सम्वत् २०३२ सालको रिट नम्बर १६१९ आदेश...

निर्णय नं. १०७०     ने.का.प. २०३४

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री हेरम्बराज

माननीय न्यायाधीश सरदार श्री ईश्वरीराज मिश्र

सम्वत् २०३२ सालको रिट नम्बर १६१९

आदेश भएको मिति : २०३४।७।१७।४ मा

निवेदक : जि.स.गा.पं. महादेवा वार्ड नं.१ बस्ने खटर यादव

विरुद्ध

विपक्षी : ऐ.ऐ.गा.पं.वा.नं.मौजे कजौली बस्ने मिश्री मण्डल धानुक समेत

विषय : उत्प्रेषण लगायत अन्य उपयुक्त आज्ञा आदेश जारी गरी पाउँ

(१)   अदालतमा परेको मुद्दाको फैसलालाई नपर्खी भूमि प्रशासकबाट बाली भराई मोही निष्कासन गर्ने ठहराएको फैसला उत्प्रेषणको आदेशद्वारा बदर हुने ।

 (प्रकरण नं. ११)

निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री इच्छाहर्ष

उल्लेखित मुद्दा :    

आदेश

            न्या. हेरम्बराज : विपक्षी कार्यालयको मिति ०३२।४।८।५ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी पाउँ भनी नेपालको संविधानको धारा १६ र ७१ बमोजिम प्रस्तुत रिट निवेदन पर्न आएको छ ।

            २.    मुद्दाको संक्षिप्त तथ्य तथा निवेदन यस प्रकार छ : जि.स.प्र.पं. मध्ये वा पञ्चायत वार्ड नं.२(क) कि.नं.१४ को ०१८३ अठार कठ्ठा तीन धूर जग्गा प्रतिवादी खटर यादबले मोही भई कमाई आएकोमा म्याद भित्र कूत नबुझाई धरौट समेत नराखेकोले ठहरेको कूत धान मन १३२४०८ को प्रति मन १ को रु ६१।५० ले हुने रु ८३७।५० भराई उपरोक्त जग्गाबाट मोही हकबाट निष्कासन समेत गरी पाउँ भन्ने समेत उजूरी ।

            ३.    वादी दावी अनुसार बुझ्न प्रतिवादी खटर यादवका नाउँमा ७ दिने समाह्वान जारी गर्दा निज प्रतिवादीले बुझी नलिएको भनी मिति २०३२।११।५ मा समाह्वान तामेली भई नआएको।

            ४.    प्रतिवादीले म्याद गुजारी थाम्ने थमाउने हद म्याद समेत गुजारी बसेको र यही वादी प्रतिवादी भएको मि.नं.२४८ को मिसिलबाट वादी खटर यादवले नै उपरोक्त जग्गाको बाली खाएको ठहरी आई यस कार्यालयबाट निर्णय भएकोले यस मुद्दाको प्रतिवादी खटर यादवले वादी दावी स्वीकार गरी बाली नबुझाई बसेको प्रष्ट छ । अतः कूत बाली नबुझाउने प्रतिवादी खटरबाट भू.सं. ऐन, २०२१ को संशोधन सहितको दफा २९ को उपदफा (१) बमोजिम वादी दावी अनुसारको कूतको रु.८३७।५० वादीले भरी पाउने र सोही दफाको उपदफा (१) बमोजिम निज प्रतिवादी मोहीहरू समेतबाट निष्कासन हुने ठहराई मिति ०३२।४।८।५ मा भूमिप्रशासन कार्यालय सप्तरीबाट भएको निर्णय ।

            ५.    २०३१ सालको धानबाली म नभएको मौका पारी वादी समेत भई २०३१।९।२८ मा लुटपिट गरी लगी मोहियानी हकमा समेत बेदखली गर्‍यो भनी विपक्षी भू.प्र. कार्यालयमा मि.नं.२४८ मा मुद्दा दायर गराएको । लुटपिट मुद्दा किनारा गर्ने अधिकार भूमी प्रशासकलाई नहुँदा लुटपिट गरेको बिगो भराई पाउँ भनी म्याद भित्र २०३१।११।२९ मा जिल्ला अदालत सप्तरीमा मैले फिराद गरेको । त्यसको केहीपछि सोही सालको बाली दिलाई पाउँ भनी विपक्षी वादीले मेरो नाउँमा विपक्षी भू.प्र. कार्यालयमा फिराद दिएको छ । एउटै कुरामा ०३१ सालको बालीमा विपक्षीको भूमिप्रशासनमा र सो भन्दा अगाडि मैले प्रशासनमा र जिल्ला र जिल्ला अदालत सप्तरीमा फिराद गरी सकेपछि अ.बं. ८९ नं.ले पहिलो दायर गरेको मुद्दा कायम गरी पछि परेको मुद्दा वातिल गर्नुपर्नेमा नगरी सो पछि परेको मुद्दामा सो कानून विपरित गैरकानूनी फैसला गर्ने विपक्षी कार्यालयलाई अधिकार नभएको र यो मुद्दा किनारा नहुँदा मैले म्याद समेत नपाएको र अ.बं. ११० नं.को विपरित गरी बेरीतसँग तामेल गरी ल्याएको बेरीतको म्यादको आधारमा फैसला गरिएको विलकुल कानून विपरित हुँदा भूमि प्रशासकको उपरोक्त निर्णय बदर होस् भन्ने समेत निवेदकको निवेदनमा उल्लेख छ ।

            ६.    विपक्षीहरूबाट लिखितजवाफ लिई पेश गर्नु भन्ने समेत सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति ०३३।१।२९।३ को आदेश ।

            ७.    मिसिल सम्लग्न कागजात हेर्दा थाम्ने थमाउने म्याद समेत गुजारी विपक्षीको दावीलाई स्वीकार गरी चित्त बुझाई बसेको र यसै जग्गाको बाली लुटी मोही खिचोला गर्‍यो भन्ने निवेदकको उजूरी परी यस कार्यालयबाट धान बाली शान्ति सुरक्षा गर्न खटी गएको टोली समेत बुझ्दा निवेदकको विपक्षीले बाली लुटी मोही समेत खिचोला नगरी निवेदकले नै बाली लगेको भनी प्रतिवेदन दिएको, निवेदकले बाली बुझाएको नहेरी निवेदकको दावी बमोजिम ०३१ सालको कूत वापत हुने रु.८३७।५० रिट निवेदकबाट भराई मोहियानी हकबाट समेत निष्काशन हुने ठहराई ०३२।४।८।५ मा भएको निर्णय कानूनसंगत छ । अधिकार प्राप्त अधिकारीबाट भएको निर्णय कानूनसंगत हुँदा रिट निवेदन नै खारेज हुनुपर्छ भन्ने समेत भूमिप्रशासन शाखा राजविराज सप्तरीको लिखितजवाफ ।

            ८.    रीतपूर्वक तामेल भएको म्यादमा उपस्थित भई प्रतिवादी नगरी दावी स्वीकार गरी बसेको र बेरीतसँग म्याद तामेल भएको भन्ने झुटो हो म्याद बेरीतको भए अ.बं २०८ नं. बमोजिम गर्नुपर्ने अन्य उपचारको व्यवस्था भएकोले रिट जारी गर्न नमिल्ने भनी स.अ.फुल बेञ्चबाट निवेदक मुलन राउत अहिर विरुद्ध जुनवती मियाँ धोवी भएको ०३० सालको रि.फू.नं ३५ को मुद्दामा ०३१।४।२५ मा सिद्धान्त प्रतिपादित भइसकेको र भूमिसम्बन्धी ऐन, २०२१ को दफा २९ (क) अनुरुप भएको निर्णय बदर हुन सक्दैन, प्रस्तुत रिट निवेदन नै खारेज हुनुपर्छ भन्ने समेत मिश्री मण्डल धानुकको लिखितजवाफ ।

            ९.    निवेदक तर्फबाट रहनु भएको विद्वान अधिवक्ता श्री इन्छाहर्षले वेरीतको म्याद कायम गरी भूमि प्रशासकले निर्णय गरेको छ बाली लुटपिट मुद्दा हेर्ने अधिकार भू.प्र. लाई अधिकार नभएको भू.सं. ऐन, २०२१ को दफा २६ (८) ले विपक्षी मिश्रीलालले निवेदकको पहिलेको जग्गाधनीको जग्गा किनेकोले मोहीलाई सूचना गर्नुपर्ने सो कुनै नगरेको समेत कारणबाट प्रशासकको निर्णय कानूनी त्रुटी हुँदा बदर हुनुपर्छ भन्नेसमेत आफ्नो बहस प्रस्तुत गर्नुभयो ।

            १०.    यसमा निवेदकको मागबमोजिम आदेश जारी गर्नुपर्ने नपर्ने के रहेछ ? सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।

            ११.    प्रस्तुत मुद्दामा मिसिल अध्ययन गरी विद्वान अधिवक्ताको बहससमेत सुनी निर्णय तर्फ विचार गर्दा यसमा मोही खटर यादवसँग कित्ता नं.१४क.०१८३ जग्गाको कूत बाँकी राखेको भराई मोही हकबाट निष्काशन गरी पाउँ भन्ने मिश्री मण्डल धानुकको वादी निवेदन परेकोमा उक्त बारे निज मिश्री मण्डल धानुकले नै लुटपिट गरी लगेको हो भनी स.जं.अ. राजविराजमा २०३१।१।२९।५ मा लुटपिट मुद्दा दायर गरेको छु भनी खटर यादवले ०३२।४।२।६ मा खटर यादवले मिश्री मण्डल धानुक उपर धान बोझा लुटी लग्यो भनी उजूर गरेको मिसिलमा कागज गरेको देखिन्छ यदि जग्गाधनीले नै धान बोझा उठाई लुटी लगेकोमा मोहीको निष्काशन हुने कसूर देखिन्छ देखिदैन भनी उक्त लुटपिट मुद्दाको फैसलाबाट मात्र थाहा हुन सक्ने हुनाले अदालतमा परेको मुद्दाको फैसलालाई नपर्खी भूमि प्रशासकबाट बाली भराई मोही निष्काशन गर्ने ठहराएको प्रस्तुत फैसला उत्प्रेषणको आदेशद्वारा बदर हुने ठर्हछ । अब यसमा कानूनबमोजिम कारवाही किनारा गर्न भनी भू.प्र. सप्तरीको नाउँमा परमादेशसमेत जारी गरिगरिएकोछ । यसको एकप्रति नक्कल विपक्षीकहाँ पठाउन महान्यायाधीवक्ताको कार्यालयमा पठाई फाईल नियमबमोजिम गरी बुझाइदिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. इश्वरीराज मिश्र

 

इति सम्वत् २०३४ साल कार्तिक १७ गते रोज ४ शुभम् ।