निर्णय नं. १०६५ – परमादेशयुक्त उत्प्रेषणको आदेश जारी गरी पाउँ
निर्णय नं. १०६५ ने.का.प. २०३४ डिभिजन बेञ्च माननीय न्यायाधीश सरदार श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३४ सालको रिट.नं. ६८७ निवेदक...
निर्णय नं. १०६५ ने.का.प. २०३४
डिभिजन बेञ्च
माननीय न्यायाधीश सरदार श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
सम्वत् २०३४ सालको रिट.नं. ६८७
निवेदक : ललितपुर जि.ललितपुर न.पं.वा.नं.१ कुपण्डोल बस्ने सोमध्वज विष्ट
विरुद्ध
विपक्षी : श्री बढुवासमिति मार्फत लोकसेवा आयोग बसन्तभवन विसालनगर काठमाडौं
विषय : परमादेशयुक्त उत्प्रेषणको आदेश जारी गरी पाउँ
(१) नि.से.नि ०२१ को नियम ३, ५, ४ को (घ) अनुसार ३ महिनाको अवधि खुलेको कागजको अभावमा प्रत्यर्थीले गरेको निर्णय त्रुटीयुक्त भन्नसकिने अवस्था नहुने ।
(प्रकरण नं. ११)
निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली
विपक्षी तर्फबाट : विद्वान का.मु सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल
उल्लेखित मुद्दा :
आदेश
न्या.धनेन्द्रबहादुर सिंह : मिति २०३४।३।९ को नामावली र मैले दिएको बढुवा उजूरीमा विपक्षीहरूले गरेको कारवाही निर्णय बदर गरी पाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत यो रिट निवेदन पर्न आएको छ ।
२. तथ्य यस प्रकार : लोक सेवा आयोग उजूरी एवं निरीक्षण शाखाले निवेदकलाई लेखेको ०३४।३।८ को पत्रमा राजपत्राङ्कित तृतीय श्रेणीबाट द्वितीय श्रेणी प्रशासन सेवाको मिति २०३३।१२।११ को गोरखापत्रमा प्रकाशित नामावली बारे चित्त नबुझी नि.से.नि.३.५ (९) र (१०) अनुसारको तपाईले दिनु भएको उजूरी उपर छानवीन हुँदा तपाईको दावी निम्नलिखित कारणले आधारहिन भएकोले नि.से.नि.३.५ (११) अनुसार अव हुने बढुवामा तपाईले प्राप्त गरेको मूल्य अङ्कको नियमानुसार अङ्क कट्टा गर्ने आयोगबाट निर्णय भएको व्यहोरा अवततार्थ अनुरोध गर्दछु ।
उजूरी आधारहिन हुनाको कारण : तपाईले अलेस्काको फ्लोरिडा विश्वविद्यालयबाट लिएको सन् १९७४ को तालिमको प्रमाणपत्रमा फल क्वार्टर १५ क्रेडिट आवर भन्ने मात्र उल्लेख गरी स्पष्ट अवधि नखुलेको तालिमको अवधि ३ महिना वा सो भन्दा बढी हो भन्ने कुरा नि.से.नि.३.५.४ को (घ) बमोजिम प्रमाणित नभएको र उजूरीसाथ पेश गर्नु भएको यू.एन.डी.पी. नेपालको १९७७।४।२६ को पत्रबाट अवधि खुलेको आधारमा हाल अङ्क थप दिन नमिल्ने । तपाईका उजूरी उपर सहानुभूतिपूर्वक विचार गर्दा पनि उपरोक्त कारणले गर्दा दावी अनुसार हुन नसकेको दुःख प्रकट गर्दछु भन्ने उल्लेख भएको रहेछ ।
३. प्रस्तुत रिट निवेदनमा लिएका मुख्य जिकिरहरू यस प्रकार छन् : लोक सेवा आयोग पदोन्नति शाखाको सूचना नं.४।०३२।३३ मा उल्लेखित नेपाल प्रशासन सेवा राजपत्राङ्कित द्वितीय श्रेणीको ७५ रिक्त पदमा बढुवाको लागि नियमानुसार मैले पनि फर्म भरेकोमा मिति २०३३।१२।११।५ को गोरखापत्रमा लोक सेवा आयोग पदोन्नती शाखाको सूचना नं. ४।०३२।३३ मा उल्लेखित नेपाल प्रकाशन सेवा राजपत्राङ्कित द्वितीय श्रेणीको रिक्त पद ७५ (पचहत्तर)मा नि.से.नि. बमोजिम तपसीलका उम्मेदवारहरूलाई बढुवाको लागि सिफारिश गर्ने मिति २०३३।१२।१०।४ मा बसेको बढुवा समितिले निर्णय गरेको हुँदा नि.से.नि.परिच्छेद ३ को नियम ५।९। र ।१ को प्रयोजनको लागि यो सूचना प्रकाशित गरिएको छ भनी तपसील खण्डका ७५ जनाको नाम उल्लेख गरिएको उक्त सूचनामा सिफारिश भएका उम्मेदवार मध्ये सबै भन्दा कम अङ्क प्राप्त गरी पचहत्तरौं क्रममा परेको उम्मेदवार श्री हेममेहर श्रेष्ठले प्राप्त गरेको जम्मा अङ्क २७०.५० भएको भन्ने समेत व्यहोराको सूचना प्रकाशित गरियो । सो मिति २०३३।१२।११ को गोरखापत्रमा प्रकाशित भएको नामावली सूचनामा प्रकाशित बढुवा भएको सबभन्दा कम अङ्क प्राप्त गर्ने उम्मेदवार भन्दा कानून मेरो अङ्क बढी भएकोले चित्त नबुझी आफूले बढुवा पाउनु पर्ने प्रष्ट आधारहरू समेत खुलाई लोक सेवा आयोगमा म्याद भित्रै उजूरी निवेदन दिएकोमा विपक्षी लोकसेवा आयोगको उजूरी एवं निरीक्षण शाखाको मिति २०३४।३।८।४ को पत्रबाट मेरो उजूरी आधारहिन भएको भनी बढुवा उजूरी उपरको कारवाहीको जनाउ मिति २०३४।४।७ मा प्राप्त भयो । मिति २०३३।१२।११।५ को गोरखापत्रमा विपक्षी लोक सेवा आयोगबाट प्रकाशित गरिएको नामावलीमा सबभन्दा कम अङ्क (२७०.५०) प्राप्त गर्ने हेममेहर श्रेष्ठले बढुवा पाएको र मेरो २८६ अङ्क हुँदाहुँदै मलाई बढुवा नदिईएकोले म्याद भित्रै निजामती सेवा नियमावली, २०२१ को परिच्छेद ३ को नियम ५।९।।१० बमोजिम उजूर दिँदा आफूलाई नि.से.नि. बमोजिम विभिन्न योग्यतामा प्राप्त हुने अङ्क स्पष्ट रुपले खुलाई जम्मा हुन आएको २८६ अङ्क देखाई बढुवाको लागि उजूर दावी गरेको थिएं, सो मेरो उजूर दावीमा देखाइएको २८६ अङ्क मध्ये फ्लोरिडा विश्वविद्यालयबाट प्राप्त बैदेशिक तालिम वापत नि.से.नि. ३.५।४।घ। अनुसार पाउने अङ्क २० बाहेक मैले आफ्नो उजूरी निवेदनमा दावी गरेको अरू अङ्कको सम्बन्धमा कुनै आपत्ति उठाइएको छैन । फ्लोरिडा विश्वविद्यालयबाट मैले प्राप्त गरेको बैदेशिक तालिम वापतको अङ्क दिन नमिल्ने भनी गरिएको बढुवा उजूरी उपरको कारवाहीबाट नि.से.नि. ३.५।४।घ। को प्रत्यक्ष कानूनी त्रुटी भएको छ । प्रमाणपत्रमा उल्लेखित “फाल क्वार्टर” भन्ने शब्दको अर्थबाट उजूरी हेर्ने निकायले अवधि नखुलेको जस्तो देखेको भए मौकैमा मसँग स्पष्टिकरण लिनु पर्ने त्यसरी मलाई बुझ्दै नबुझी बाध्यात्मक कानूनी व्यवस्था बमोजिम मैले पाउने अङ्क कट्टा गरिएबाट प्राकृतिक न्याय सिद्धान्त समेत विपरित विपक्षी लोक सेवा आयोगबाट कारवाही भई मिति २०३४।३।९ मा संशोधित नामावली प्रकाशित गरिएको स्पष्ट छ । फ्लोरिडा विश्वविद्यालयबाट मैले प्राप्त गरेको उक्त प्रमाणपत्रको कानूनी मूल्य र सोबाट सृजित कानूनी हक र दायित्व समाप्त गर्न सेवा आयोग सक्षम पनि छैन ।
४. रिट निवेदन खारेज गरी पाउँ भनी विपक्षी लोक सेवा आयोगको लिखितजवाफमा लिएको जिकिर यस प्रकार छ : रिटनिवेदक श्री सोमध्वज विष्टले नि.से.नि ३.३ (६) अनुसारको आयोगको पदोन्नति शाखाको सूचना नं.४।०३२।३३ मा दिनु भएको दरखास्त साथ पेश गर्नु भएको फ्लोरिडा विश्वविद्यालयको प्रमाणपत्रमा अवधि नखुली केवल फल क्वार्टर १९७४, १५ क्रेडिट मात्र उल्लेख भई अवधि नखुलेको हुँदा नि.से.नि. बमोजिम तालिमको अङ्क दिन नमिल्ने स्पष्ट छ । निजले दिनु भएको नि.से.नि. ३.५ (९) (१०) अनुसारको उजूरीसाथ पेश गर्नु भएको यू.एन.डि.पी. नेपालको पत्रबाट अवधि खुले तापनि आयोगको पदोन्नति शाखाका सूचना नं.४।०३२।३३ मा उल्लेखित दरखास्त दिने अन्तिम मिति ०३३ श्रावण मसान्त भित्र पेश गर्नुपर्नेमा दरखास्त दिने अन्तिम म्याद नघाई पुनरावेदन तहमा आएर मात्र पेशगरेको थप सबुृदको आधारमा अङ्क दिने हो भने सबै उम्मेदवारहरूको कुन मिति सम्मको कुन हद सम्मको अङ्क दिने हो अनिश्चित हुने भएकोले बढुवाको निमित्त प्रकाशित सूचनामा तोकेको मिति सम्मको नै मूल्याङ्कन गर्ने र सो मिति पछिको कुनै पनि आधारको मूल्याङ्कन नगर्ने गरी आएकोहुँदा रिटनिवेदकको म्यादपछिको मिति (२०३४।१।१४) यू.एन. डि.पी.को पत्रको आधारमा अङ्क दिन नमिल्ने भएकोले नै निजको उजूरी आधारहीन ठहराई आयोगले निजको अव हुने बढुवामा प्राप्त गरेको कूल अङ्कमा नियमानुसारको अङ्क काट्ने गरी नि.से.नि. ३.५. (११) अनुसार निर्णय गरेकोले निवेदन खारेज हुन अनुरोध गरिन्छ ।
५. रिट निवेदन खारेज गरी पाउँ भनी विपक्षी बढुवा समितिको लिखितजवाफमा लिएका जिकिर यस प्रकार छन् : कानूनबमोजिम स्पष्ट अवधि खुलेको प्रमाणपत्र नभएकोमा नि.से.नि.अनुसार तालिम वापत अङ्क नपाइने भएकोले रिट निवेदकलाई बढुवा समितिले सो तालिम वापत अङ्क नदिइएको हुँदा निजलाई संविधान वा अन्य कानूनद्वारा प्रदत्त कुनै पनि हकमा बढुवा समितिले आघात पुर्याइएको नहुँदा निजको रिट निवेदन खारेज हुन सविनय अनुरोध गरिन्छ ।
६. निवेदकका मागबमोजिम आदेश जारी गर्नुपर्ने नपर्ने के हो सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।
७. निवेदक तर्फबाट रहनुभएको विद्वान व.अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवालीले प्रस्तुत भएका प्रमाणपत्र र सबूदलाई आत्मनिष्ट आधारमा निष्कृय गर्न विपक्षीलाई अधिकार छैन भनी र विपक्षीतर्फको विद्वान का.मु.सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्सालले अवधि खुलेको प्रमाणपत्र दरखास्त साथ पेश गर्नुपर्ने जानकारी गराउँदा गराउँदै पनि रिट निवेदकले त्यस्तो अवधि खुलेको पत्र पेश गर्नु भएको थिएन भन्न समेत बहस प्रस्तुत गर्नु भएको छ ।
८. यसमा फ्लोरिडा विश्वविद्यालयबाट प्राप्त गरेको वैदेशिक तालिम वापतको अङ्क दिन नमिल्ने भनी गरिएको बढुवा उजूरी उपरको कारवाहीबाट नि.से.नि. ३,५,४(घ) को प्रत्यक्ष कानूनी त्रुटी भएको छ, तसर्थ ०३४।३।९ को प्रकाशित नामावली र निवेदकले दिएको बढुवा उजूरीमा विपक्षीहरूले गरेको गैरकानूनी कारवाही निर्णय बदर गरी कानूनबमोजिम निवेदकको बढुवाको कारवाही निर्णय गरी दिनु भन्ने परमादेशको आदेश जारी गरी पाउँ भन्ने निवेदकको मुख्य जिकिर देखिन्छ । प्रत्यर्थीहरूको लिखितजवाफमा निवेदकले पेश गरेको फ्लोरिडा विश्वविद्यालयको प्रमाणपत्रमा अवधि नखुलेको उक्त तालिम ३ महिना अवधिको हो भन्ने खुल्दैन, आयोगको सूचना बमोजिम अन्तिम म्यादसम्म अवधि खुलेको पत्र पेश गर्न सकेको छैन, अविधि नखुलेको तालिमको प्रमाणपत्रको अङ्क नपाउने जानकारी हुँदाहुँदै पनि निवेदकले तालिमको अङ्क पाइनभन्नु कानूनसंगत होइनभन्ने उल्लेख गरेकोछ ।
९. निवेदकले दाखिल गरेको फ्लोरिडा विश्वविद्यालयको प्रमाणपत्र हेर्दा (During the fall 1974 quarter) डियूरिङ्ग दिई फल क्वाटर १९७४ भन्ने लेखेको पाइन्छ । सो वाक्यांशले ३ महिनाको अवधि जनाउँछ जनाउँदैन भन्ने सम्बन्धमा “डियुरिङ्ग” शब्दको अर्थ हेर्नु पर्ने हुन्छ शब्दकोषमा “डियुरिङ्ग” को मतलब जबसम्म वीचमा भित्रमा भरी भन्नेछ, यसबाट डियुरिङ्ग दिई फल क्वाटर भन्नाले फल क्वाटरको अवधि भरी भन्ने मात्र अर्थ हुन नसकी फल क्वाटरको बीचमा या भरिमा भन्ने पनि अर्थ हुन सक्ने भएकोले उक्त वाक्यांशबाट निवेदन जिकिर बमोजिम ३ महिनाको प्रष्ट गर्छ भन्ने सकिने अवस्था छैन ।
१०. विद्वान सरकारी अधिवक्ताले बेञ्च समक्ष देखाउनु भएको ०३३।२।२७ को गो.प.मा नेपाल लोक सेवा आयोग पदोन्नति शाखाको ४।०३२।३३ को सूचनामा वैयक्तिक विवरण फा.नं.४ मा उल्लेख गरे बमोजिम बैदेशिक तालिम र देश भित्र लिएको सैद्धान्तिक तालिमको शिक्षण वा प्रशिक्षण संस्थाबाट लिएको तालिम पूरा गरेको रीतपूर्वक प्रमाणपत्रको प्रतिलिपि र बैदेशिक तालिमको हकमा प्रमाणपत्रमा तालिमको अवधि नखुलेको भए नि.से.नि. ३,५(४) को खण्ड (घ) अनुसार लेखि आएको पत्र वा प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्ने भन्ने छ सो बमोजिम मौकामा सो अवधि किटिएको कुरा पेश नगरी उजूरीको तहमा मात्र पेश गरेकोबाट पछि दिएको सबूदको आधारमा अङ्क कायम गर्न नमिल्ने भनी निर्णय गरेको त्रुटी हो भन्न सकिने अवस्था छैन ।
११. नि.से.नि. ०२१ को नियम ३,५,४को (घ) मा वैदेशिक तालिम लिइसकेका कर्मचारीहरूको हकमा प्रमाणपत्र श्रेणी नखोलिएको भएको उपरोक्त प्रत्येक मुष्ट औसत अङ्क २० दिइनेछ । तर,संस्थागत प्रमाणपत्रप्राप्त नगरेकोलाई र तीनमहिना कमअवधिको तालिमप्राप्त गरेको लाई कुनै अङ्क दिइनेछैन । बैदेशिक तालिमको हकमा प्रमाणपत्रमा तालिमको अवधि नखुले को भए त्यस्तो तालिमको अवधि ३ महीना वा सोभन्दा बढी हो भन्नेकुरा पुष्टि हुने गरी तालिम प्रवन्धगर्ने संस्था वा तालिम दिने संस्था वा त्यस्तो तालिममापठाउने सम्बन्धित मन्त्रालय वा विभागले पत्रलेखिदिएमा वा प्रमाणपत्रदिएमा त्यसकोआधारमा प्राप्त तालिमको प्रमाणपत्रवापत अङ्क दिइनेछ भन्ने उल्लेख भएकोपाइन्छ । उक्त कानूनी व्यवस्थाअनुसार ३ महिनाको अवधिखुलेको कागजको अभावमा प्रत्यर्थीले गरेको निर्णय त्रुटीयुक्त छ भन्नसकिने अवस्था नहुँदा प्रस्तुत रिटनिवेदन खारेज हुनेठर्हछ । मिसिल नियमबमोजिम गरी बुझाइदिनु ।
म सहमत छु ।
न्या. सुरेन्द्रप्रसाद सिंह
इति सम्वत् २०३४ साल आश्विन, १३ गते रोज ५ शुभम् ।