June 20, 1977
Created by nepalarchives

निर्णय नं. १०६० – उत्प्रेषणको आदेश जारी गरी पाउँ

निर्णय नं. १०६०     ने.का.प. २०३४ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०३२ सालको रिट नं. १४२६ आदेश भएको...

निर्णय नं. १०६०     ने.का.प. २०३४

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री हेरम्बराज

माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय

सम्वत् २०३२ सालको रिट नं. १४२६

आदेश भएको मिति : २०३४।३।६।२ मा

निवेदक : पश्चिम १ नं. नुवाकोट जिल्ला त्रिशुली गङ्गामाई आ.गा.पं. वार्ड नं.७ त्रिशुली बजार बस्ने ज्ञानकाजी अमात्य

विरुद्ध

विपक्षी : जि.भू. सुधार का.प. १ नं. नु. जिल्ला का.का.मु.शा.अ. नविनकुमार समेत

विषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ

(१)   भूमिसम्बन्धि ऐन, २०२१ को दफा २५ को उपदफा ५ को खण्ड (क) को व्यवस्था अनुसार मोहियानी हकै नलाग्ने जग्गाको सम्बन्धमा अनुसूची २ बमोजिम लगत प्रकाशन गर्ने र त्यसको आधारमा मोही कायम गर्ने कुरा कानुनसंगत नदेखिने ।

(प्रकरण नं. ९)

निवेदक तर्फबाट : विद्वान अधिवक्ता बसन्तराम भण्डारी

विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेवप्रसाद ढुड्डाना

उल्लेखित मुद्दा :    

आदेश

            न्या. हेरम्बराज : प्रत्यर्थी का.मु. शाखा अधिकृतको २०३२।८।४।५ को निर्णय बदर गरी पाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत यो रिट निवेदन पर्न आएको छ ।

            २.    संक्षिप्त तथ्य यस प्रकार छ : २ तले थोत्रो घर खरको छाना भएको ४ रोपनि जुगेटारको घरबारी र लखनटार खेत ५ रोपनि समेत २०१०।२०११ सालमा प्रेमनाथ पाध्या अधिकारीसँग विपक्षीले लिई सकेपछि म घरबास नभएको मानिसलाई खेतको कूत मुरी १०। र बारीमा लगाएको बाली कोदो मकै अधिया तिर्नु, भत्केको घर बनाई घर बास गरी बस्नु, भनी निज विपक्षीले भनेबाट ऋणधन गरी उक्त घर पुनः खडा गरी अहिलेसम्म घरबार गरी भूमिसुधार फारामहरू भरी मोहियानी हक समेत प्राप्त गरी सकेपछि विपक्षीले ०३२।२।२५ मा हटक गर्न आएकोले भूमिसम्बन्धी ऐन नियमबमोजिम सजाय गरी पाउँ भन्ने समेत वादी माहिला डंगोलको फिराद परेकोमा विपक्षी वादीलाई मोहियानी समेतमा कमाउन दिएको छैन । कबुलियतको दोहरी र आयस्ता बुझी बुझाएको रसिदको अभावमा मोही हुँ भन्न कदापि मिल्दैन । भूमिसम्बन्धी नियमको दफा ३, , ५ बमोजिम अनुसूची १ नं. बमोजिमको ढाँचामा फाराम भरेको छु भन्न सकेको छैन, सो दफा (१) नं.को रीत पुगी दफा ६ बमोजिम तयारी लगत प्रकाशन भएपछि नियमको दफा ९(१) बमोजिम सो प्रकाशन लगतमा उजूर गर्ने म्याद गुज्री उजूर नलाग्ने भई सकेपछि ऐनको उपदफा (२) बमोजिम ४नं.को अस्थाई निस्सा दिनुपर्ने व्यवस्था छ, तदनुसार विपक्षीले सो नियमबमोजिम फाराम समेत भर्नु भएको छैन । लगत प्रकाशन गरी उजूर गर्ने म्याद दिई सोम्याद समाप्त भई उजूर नलाग्ने भए पछि मात्र ४ नं.को जो.अ.नि. दिनुपर्ने नदिएको हुँदा प्रकाशन लगत र प्राप्त गरेको जो.अ.नि.समेत स्वतःनै गैरकानूनी प्रयास विहिन एवं निष्कृय हुँदा प्रमाणमा समेत लिन मिल्दैन, फिराद खारेज गरिपाउँ भन्नेसमेत ज्ञानकाजी अमात्यको प्रत्यूत्तर भएकोमा ०३२।८।४।५ मा जि.भू.सु. का नुवाकोट शाखा अधिकृतबाट वादीले कानूनबमोजिम आफूले प्राप्त गरेको जो.अ.नि. को नक्कल र सो जग्गाको नियमबमोजिम बुझाउनुपर्ने वचत बुझाई प्राप्तगरेको १० नं. अनुसूची रसिदको नक्कल पेशगरेको र प्रतिवादीले वादी लाई सो जग्गाहरू मोहियानीमा कमाउन दिएको छैन भन्नेसम्म जिकिर लिएको देखिन्छ । यदि निज प्रतिवादीले वादीलाई मोहियानीमा कमाउन नदिएको भए वादी माहिला डंगोलले अनुसूची १ नं. को फाराम भरी अनुसूची नं.२ को फाराम प्रकाशित भइसकेपछि भूमिसम्बन्धी नियम ७(१) बमोजिम उजूर गर्नुपर्नेमा भएको सो गरेकोसमेत नदेखिएको र मोहीको हैसियत ले बुझाउनुपर्ने अनिवार्य वचत बुझाएको अनुसूची नं. १० को रसिदसमेत वादीबाट पेश हुन आएको । वादीको दावी अनुसारको उक्त जग्गाहरू वादीलाई मोहियानीमा कमाउन नदिएको भए सो जग्गाहरू आफैले कमाइआएको वा आफूले नकमाई अरू कसैलाई कमाउन दिएको छ भन्नेसमेतको व्यहोरा कतैबाट झल्किन नआएको । केवल वादीलाई सोजग्गा मोहियानी मा कमाउन दिएको छैन भन्नेमात्र देखिन आएको हुँदा वादीले जो.अ.नि.प्राप्तगरी जग्गा जोती कमाइआएको देखिनाले भूमिसम्बन्धि ऐन, ०२१ संशोधित ऐनसमेतको दफा ३१ (क) (१) ले दिएको अधिकार प्रयोग गरी सोही ऐनको दफा २५ (१) बमोजिम वादी कै मोहियानी कायम हुने ठर्हछभन्ने समेत निर्णय भएको रहेछ ।

            ३.    उक्त निर्णय बदर गरी पाउँ भनी यस रिट निवेदनमा लिएको मुख्य जिकिरहरू यस प्रकार छन् :घरबारी २०१८ सालमा खरीद गरी लिएको हुँदा २०१०।२०११ सालमा विपक्षीले बनाएको भन्ने कुरा असत्य हो भनी प्रतिवाद गरी २०१८।१।२२।५ को प्रमाणको कागज पेश गरेकोमा सो हेर्दै नहेरी भूमिसम्बन्धी ऐनको दफा २५ (५) (क) अनुरुप मोहियानी ठहर्न लाग्न नसक्ने कुरामा घरको स्वामित्वमा समेत आघात पुग्ने गरी निर्णय गर्नु अधिकार क्षेत्रको अभावमा र न्यायिक मनको अभावमा निर्णय भएको भन्ने कुरा प्रष्ट छ । घरको हक बेहकको विषयमाथि प्रतिकूल असर पर्ने गरी निर्णय गर्ने अधिकार विपक्षीलाई छैन, तसर्थ ०३२।८।४ को निर्णय पर्चा अ.बं.३५ नं.ले स्वतः बदर भागी छ । भूमिसम्बन्धी नियम ३, , ५ र नियम ६ अनुसार तयारी लगतको प्रकाशन गरी नियम ७ बमोजिम उजूर गर्न म्याद पाउनु पर्ने प्रस्तुत विषयमा अनुसूची २ नं. बमोजिम लगत खडा गरी वार्डको यथासंभव सबै व्यक्तिलाई एकत्रित गरी सुनाउन पर्नेमा अझसम्म सुनाएको नहुँदा नियम ७ अनुसार उजूर गर्ने म्याद अझै बाँकी हुँदा र नियम ९ बमोजिम मात्र मोहियानीको निस्सा दिनुपर्नेमा सो प्रतिकूल दिइएको भएपछि त्यस्तोले कानूनी मान्यता प्राप्त गर्न सक्दैन, फ्नोकार्यालयले गरेको कार्य कानूनबमोजिम नभएपछि कानूनबमोजिम गराउन लगाउनको बदला त्यस्तोलाई मान्यता दिई निर्णय पर्चा गर्नु कानूनको बिलकुलै प्रतिकूल छ ।

            ५.    प्रत्यर्थी जिल्ला भूमिसुधार कार्यालय नुवाकोटको लिखित जावफमा उल्लेखित घरबारी तथा जग्गाहरूमा वादी माहिला डङ्गोललाई कमाउन नदिएको भए निजले १ नं. अनुसूची मोहीको लगतमा निजलाई जग्गाधनी देखाउन नपर्ने सो अनुसार २ नं. अनुसूची २०२२।१२।३ र २०२२।१२।४ मा प्रकाशित भएपछि नियम बमेजिम निज वादीले निवेदकलाई जग्गाधनी देखाएपछि निजलाई मोहियानीमा कमाउन नदिएको भनी प्रतिवादी साथ म्याद भित्र उजूर गर्नुपर्ने सो गरेको समेत नदेखिएपछि नियमबमोजिमको जो.अ.नि. दिइएपछि र २०३२ सालमा मोहियानी सम्बन्धी मुद्दा पर्न आएपछि मात्र वादीले पाएको जो.अ.नि.गैरकानूनी र कानूनको रीत नपुर्‍याई दिइएको हो भन्नु बिलकुल बेमनासिव छ । वादी माहिला डंङ्गोलले भू.सं. ऐन नियमबमोजिम प्राप्त गरेको मोहियानी हकलाई ऐन नियमबमोजिम सुरक्षित गरी निर्णय गरेकोले रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत उल्लेख गरेको रहेछ ।

            ६.    प्रत्यर्थी माहिला डङ्गोलको लिखितजवाफमा जो.अ.नि. प्राप्त गरिसकेको मोहीको सम्बन्धमा मोहीकै मोहियानीसम्बन्धी निर्णय गर्नुपर्दा घरसम्बन्धी कुरा निर्णय गर्नुपर्ने आवश्यक नभएको र शाखाअधिकृतले गरेको निर्णयमा उक्त कुरा उल्लेख गरेको पनि छैन, यसकारण शाखाअधिकृतको फैसला कानूनअनुकूल छ, प्रतिकुल छैन भन्नेसमेत उल्लेख गरेको रहेछ ।

            ७.    निवेदकतर्फका विद्वान अधिवक्ता श्री वसन्तराम भण्डारीले अनुसूची २ नं.लगत प्रकाशित छैन, दफा ३४ बमोमिजको कबुलियत र रसिद छैन, घरबारीको जग्गामा मोही नलाग्ने भन्ने भूमिसम्बन्धी ऐनको दफा २५ ले व्यवस्था गरेकोमा सो घरबारीको जग्गामा समेत विपक्षीलाई मोही ठहर गर्ने गरेको शाखा अधिकृतको निर्णय बदर हुनु पर्दछ भन्ने समेत र विपक्षीतर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेवप्रसाद ढुङ्गानाले २०३१ साल अघिदेखि कमाई आएकोले कबुलियत र रसिदको आवश्यक छैन । २ नं. अनुसूची प्रकाशित भइसकेको छ र अस्थायी निस्सा बुझिलिएकोबाट नै लगत प्रकाशन भइसकेको छ । त्यसकारण शाखा अधिकृतले भूमिसम्बन्धी ऐन नियमको परिधी भित्र रहेर नै मेरो पक्षलाई मोही कायम गरेको निर्णय बदर हुनु हुँदैन भन्ने समेत बहस प्रस्तुत गर्नु भएको छ ।

            ८.    निवेदकको मागबमोजिमको आदेश जारी गर्नुपर्ने नपर्ने के हो ? सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।

            ९.    यसमा प्रत्यर्थी माहिला डङ्गोलको जोताहा अस्थायी निस्सामा विवादग्रस्त जग्गामध्ये घरबारीको जग्गासमेत परेको देखिन्छ । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५ को उपदफा (५) को खण्ड (क) मा घरबारीको जग्गामा मोहियानी हक नलाग्ने व्यवस्था भएको पाइन्छ, उक्त कानूनी व्यवस्थाअनुसार मोहियानी हकै नलाग्ने जग्गाको सम्बन्धमा अनुसूची २ बमोजिमको लगत प्रकाशित गर्न र त्यसको आधारमा मोही कायम गर्ने कुरा कानूनसंगत देखिन्न । तसर्थ, घरबारीको जग्गाको प्रत्यर्थी माहिला डङ्गोलको मोहियानी कायम गर्ने गरी प्रत्यर्थी शाखाअधिकृतले गरेको निर्णयसम्म कानूनको दृष्टिमा त्रुटीपूर्ण देखिँदा उत्प्रेषणको आदेशद्वारा बदर गरिएको छ । यो आदेशको प्रतिलिपि प्रत्यर्थीकहाँ पठाउन महान्यायाधीवक्ताको कार्यालयमा पठाई नियमानुसार गरी फाइल बुझाइदिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. विश्वनाथ उपाध्याय

 

इति सम्वत् २०३४ साल आषाढ ६ गते रोज २ शुभम् ।