November 14, 1989
Created by nepalarchives

निर्णय नं. ३९०३ – दर्ता बदर खिचोला मेटाई हक कायम गरिपाउँ

निर्णय नं. ३९०३     ने.का.प. २०४६                         अङ्क ८ पूर्ण इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल...

निर्णय नं. ३९०३     ने.का.प. २०४६                         अङ्क ८

पूर्ण इजलास

माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल

सम्वत् २०४५ सालको देवानी पूर्ण इजलास नम्बर ९३

फैसला भएको मिति : २०४६।७।२९।३ मा

संयुक्त इजलासबाट मतैक्य हुन नसकी फैसला भएको मिति : २०४५।५।५ मा

पुनरावेदक/वादी : का.न.पं. वडा नं. २७ कुसुम बियालाछीं बस्ने राममाया श्रेष्ठ

विरुद्ध

विपक्षी/प्रतिवादी : ऐ.ऐ. बस्ने माधवप्रसाद प्रधानसमेत

मुद्दा : दर्ता बदर खिचोला मेटाई हक कायम गरिपाउँ

§  घरको छानाको बलेनीको पानी पेटी भनिएको जग्गातर्फ खस्दैमा सो जग्गा वादीको भन्न नमिल्ने ।

(प्रकरण नं. १३)

पुनरावेदक/वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी

विपक्षी/प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेवप्रसाद ढुंगाना

फैसला

            न्या. त्रिलोकप्रताप राणा : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन परी सर्वोच्च अदालत संयुक्त इजलास समक्ष पेश हुँदा माननीय न्यायाधीशहरू बीच मतैक्य हुन नसकी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ :

            २.    मेरो कि.नं. ७० को उत्तरतिर १४ फिट ६ ईन्च लामो गाह्रो भई सो सँगै गाँसिएको ३ फिट चौडाई पूर्व पश्चिम मेरा घरको पेटी भएको मेरो घरको तेस्रो तल्लामा साविक देखि नै उत्तर पट्टीको गाह्रोमा गाँसिएको पाली छाना रही सो पाली छानाले भुर्इंमा ३ फिट चौडा १४ फिट ६ ईन्च लामो पेटी ढाकी आएको छ । त्यस्तो मेरो घरको उत्तर पट्टीको पेटी मेरो कि.नं. ७० मा समावेश हुनु पर्नेमा विपक्षीहरूले कि.नं. ६७ मा घुसाई नापी गराएको कुरा नापीबाट ७ दिने सूचना जारी हुँदा थाहा पाई ३ नं. नापी गोश्वारा २ नं. नापी टोलीमा निवेदन दिँदा कि.नं. ६७, ७० को घर जग्गा नाप नक्सा भए बमोजिम कायम गर्ने निर्णय गरी चित्त नबुझे उजूर गर्नु भनी सूचना दिएको हुँदा उक्त मेरो जग्गा विपक्षीको नाममा अस्थायी दर्ता भएको थाहा पाई यो फिराद गर्न आएको छु । उक्त जग्गामा विपक्षीको दर्ता बदर गरी खिचोला मेटाई हक कायम गरी मेरो नाममा दर्ता गरी पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र ।

            ३.    वादी कै कि.नं. ७० को घर मध्येबाट बेखा महर्जनसंग लिई प्रतिवादी मध्ये माधवप्रसादले पटक पटक गरी फार्छे गरी लिइराखेको दुबै लिखतमा विपक्षीको दावीको पेटी जग्गा छ भन्ने कुरा उल्लेख नभएको हुँदा दावीको पेटी विपक्षीको नभएको हुँदा सो पेटी विपक्षीको नभएको प्रष्ट छ, विपक्षीको दावीको पेटीमा जाने आउने बाटो यो ठाउँमा छ भन्न लेख्न नसकेको कि.नं. ६७ मा पहिला हाम्रो घर थियो । सो घर १९९० सालको भूकम्पले भत्की पाताल भई हाल बगैचा बनाई भोगी आएको छु । कि.नं. ६९ ढलापात सम्म साझा भन्ने कुरा लिखतहरूले देखाउँछ । फिरादीले यो यस मितिमा खिचोला गरेको भनी उल्लेख गर्र्न नसकेको र पेटी जग्गा विपक्षी कै हो भन्ने सबूद प्रमाण गुजार्न नसकेको हुँदा फिराद खारेज गरी झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको माधवप्रसाद प्रधान, केशवप्रसाद प्रधान, दामोदरप्रसाद प्रधान, हरिहरप्रसाद प्रधान, गोविन्दप्रसाद प्रधान समेतको संयुक्त प्रतिउत्तरपत्र ।

            ४.    फिराद जिकिर अनुसार वादीले नक्सामा पेटी देखाउन नसकेको तथा दावीको पेटी र फिराद जिकिर अनुसारको वादी घरको उत्तर पूर्वको डुढ नक्सा समेतबाट नदेखिएको यस्तो स्थितिमा बिना प्रमाण दावी बमोजिम दावीको पेटी रहेको ठहर गर्न नमिल्ने हुँदा फिराद दावी नपुग्ने ठहर्छ भन्ने समेत व्यहोराको काठमाडौं जिल्ला अदालतको फैसला ।

            ५.    उक्त इन्साफमा चित्त बुझेन भन्ने समेतको वादी राममायाको बागमती अञ्चल अदालतमा परेको पुनरावेदनपत्र ।

            ६.    वादीको पहिलो दोस्रो तेस्रो तलामा खुल्ला झ्याल समेत रहेको देखिएकोबाट वादीको घरको उत्तरमा जग्गा छैन भन्न मिल्ने नदेखिंदा वादीको घरको पूर्व सीमानासम्म कि.नं. ६७ घुसेको देखिएकोले त्यति हदसम्म दर्ता बदर हुन पर्नेमा वादी दावी नपुग्ने ठहर्‍याएको इन्साफ नमिल्ने हुँदा बदर भई पेटी कि.नं. ६७ बाट कट्टा हुने गरी दर्ता बदर भई वादीको हक कायम भई वादीको नाममा दर्ता हुने र त्यति जग्गामा प्रतिवादीले खिचोला गरेको ठहर्छ भन्ने समेतको बागमती अञ्चल अदालतको फैसला ।

            ७.    उक्त फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भन्ने समेतको माधवप्रसाद समेतको निवेदन परी मध्यमाञ्चल क्षेत्रीय अदालतबाट पुनरावेदनको अनुमति प्राप्त गरेको ।

            ८.    शुरु इन्साफ सदर ठहर्छ । बागमती अञ्चल अदालतले गरेको इन्साफ नमिली उल्टी हुने ठहर्छ भन्ने समेतको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला ।

            ९.    मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति पाउँ भनी वादी राममायाको यस अदालतमा निवेदन परी संयुक्त इजलास समक्ष पेश हुँदा वादीको घरको उत्तरतर्फ खुल्ला झ्याल देखिएकोमा वादी दावी नपुग्ने ठहर्‍याएको फैसलामा अ.बं. १८४(क) १८५ र प्रमाण ऐन, २०३१ को दफा ५४ को त्रुटि हुँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेतको आदेश भई पुनरावेदनको लगतमा दर्ता भएको रहेछ ।

            १०.   निर्णयार्थ सर्वोच्च अदालत संयुक्त इजलास समक्ष पेश हुँदा यस्मा मेरो कि.नं. ७० को उत्तर पट्टीको गाह्रो जोडिएको पेटी विपक्षीको कि.नं. ६७ मा घुस्न गएकोले विपक्षीको कि.नं. ६७ मा घुसेको मेरो पेटी जतिको दर्ता बदर गरी खिचोला मेटाई हक कायम गराई पाउँ भन्ने समेतको वादी दावी र वादीको दावी बमोजिम मेरो कि.नं. ६७ मा निजको पेटी जग्गा घुसेको छैन हैन भन्ने समेतको प्रतिउत्तर जिकिर देखिन आएको छ । वादी दावी बमोजिम प्रतिवादीको कि.नं. ६७ मा वादीको पेटी जग्गा घुसेको नघुसेको के रहेछ भनी विचार गर्नुपर्ने हुन आयो । विवादित जग्गाको सम्बन्धमा मिति २०४०।५।२८।३ मा भएको नक्सा हेर्दा न.नं. १ विपक्षी माधवप्रसादको बगैंचा देखिन आउँछ । न.नं. २ मा प्रतिवादीहरूको घर भएको पाइन्छ । सो घरको पश्चिम पट्टी न.नं. ४ वादी राममायाको घर रहेको छ । सोही न.नं. २ को प्रतिवादीको घरको उत्तर पश्चिमतर्फ र न.नं. ४ को वादीको घरको पूर्व उत्तरतर्फ न.नं. ३ को सागाल रहेकोमा विवाद छैन । उक्त न.नं. ३ को सागालको पश्चिमतर्फ र न.नं. ४ को घरको उत्तर पट्टी वादीले आफ्नो पेटी भएको दावी गरेको देखिन्छ । उक्त ठाउँमा पेटी नभएको भन्ने प्रतिवादीको भनाई रहेको छ । वादीको घरको उत्तर पट्टी पहिलो, दोस्रो, तेस्रो तला समेतमा खुला झ्याल रहेको भन्ने कुरा उक्त मिति ०४०।५।२८ मा भएको नक्साबाट देखिन आउँछ । आफ्नो घरमा उत्तरतर्फ पेटीसम्म पनि नभएको भए त्यसरी खुला झ्याल राख्न मिल्ने हुँदैनथ्यो । खुला झ्याल भएबाट पनि वादीको घरको उत्तर पट्टिको पेटी रहेको कुरा पुष्टि हुन आउँछ । हाल सो पेटी पुरिएको भन्ने वादीको शुरु दावी नै भएको हुँदा सो पेटी हालदेखि नै पर्छ भन्न सकिएन । पुरिनु नासिनु असम्भव हो भन्न पनि मिल्दैन । नापीमा कि.नं. ८७ मा घुसेको भन्ने कुरा उठाई समयमै नापीमा वादीले उजूर गरेकै देखिन्छ । तसर्थ वादी दावी बमोजिम ३ फिट चौडाई १४ फिट ६ ईन्च लम्बाईको वादीको पेटी भएको जग्गासम्म प्रतिवादीले दर्ता गरी खिचोला गरेको देखिएकोले सो हदसम्म दर्ता बदर भई वादीको हक कायम हुने ठहर्छ मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ उल्टी हुने ठहर्छ भन्ने समेत सर्वोच्च अदालत संयुक्त इजलासका माननीय न्यायाधीश श्री पृथ्वीबहादुरको सिंहको राय ।

            ११.   यस्मा मिति २०४०।५।२८ गतेको नक्साको न.नं. ४ को वादीको घरको उत्तर पट्टी वादीको पेटी रहे नरहेको कुरामा नै विचार गर्नुपर्ने हुन आएको छ । उक्त घरको उत्तरतर्फ पेटी रहेको नक्साबाट देखिँदैन । नापीको समयमा प्रतिवादीहरूकै कि.नं. ६७ मा समावेश भएर नापी भएको छ । त्यसरी नापीमा प्रतिवादीको जग्गामा समावेश हुनपर्ने कुनै कारण नै छैन । जबकी वादीको घर वादीकै नाममा नापी दर्ता समेत भएको देखिन्छ । विवादित जग्गाको ईटा पन्छाई हेर्दा समेत पेटी नभएको भनी मिति २०३९।११।१२ मा बागमती अञ्चल अदालतबाट गराइएको मुचुल्काबाट देखिन्छ । वादीको घरको पहिलो तलामा रहेको झ्याल न.नं. ३ को साझा सागालको साँधमा परेको र दोस्रो तलामा रहेको झ्याल भनिएको विवादित जग्गा माथि परे पनि त्यस्मा चौकोस रहेको नदेखिँदा झ्याल रहेको मान्न मिलेन । साझा सागालमा पेटी हुँदैमा वादीको घरको उत्तरतर्फ पेटी हुनै पर्छ भन्ने केही छैन । तसर्थ वादी दावी बमोजिम वादीको पेटी रहेको देखिने यकीन सबूदको अभाव हुँदा वादी दावी पुग्न नसक्ने ठहर्‍याएको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब देखिँदा सदर हुने ठहर्छ भन्ने माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंहको राय भएको सर्वोच्च अदालत संयुक्त इजलासको मिति २०४५।५।५ गतेको फैसला ।

            १२.   नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले वादीको घरको गाह्रोसंगै उत्तरतर्फ उत्तर दक्षिण ३ फिट चौडा पूर्व पश्चिम १४को पेटी रहेको सो पेटी छानाले ढाकेको मेरो पेटी जग्गा प्रतिवादीहरूले आफ्नो कि.नं. ६७ मा घुसाई नाप नक्सा गराए सो पेटीको दर्ता बदर गरिपाउँ भन्ने वादीले दावी लिएको छ । पेटीलाई बलेनीले ढाकेको छ । उत्तरतर्फ पूर्व कुनामा रहेको सागाल ढलापात साझा भन्नेमा विवाद छैन । प्रतिवादीको पूर्वतर्फको घर वादीकै अंशियार मध्येकै बिक्री गरेको घर हो । त्यस्मा उत्तरतर्फ पेटी देखी राखेको छ । यसबाट समेत उत्तरतर्फ वादीको घरमा पेटी रहेको कुरा पुष्टि छ । वादीको उत्तरतर्फ झ्यालहरू समेत भएकोबाट विवादको पेटी वादीको भन्ने प्रष्ट छ । तसर्थ दर्ता बदर गरी खिचोला ठहर्‍याएको सर्वोच्च अदालत संयुक्त इजलासको माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंहको राय सदर हुनुपर्दछ भन्ने समेत र विपक्षी तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता । श्री वासुदेवप्रसाद ढुंगानाले वादीको घरको उत्तरतर्फ पेटी छैन । वादीको घरसम्म प्रतिवादीहरूको जग्गा हो, सो कुरा नक्साबाट देखी राखेको छ । कि.नं. ६९ को सागाल वादी समेतको साझा हो । सो सागालतर्फ वादीको झ्याल रहेको छ । वादीको घरबाट उत्तरतर्फ जाने निकास बाटो नै छैन । वादीको घरको माथिल्लो तल्लाको झ्याल भनेको त्यस्मा चौकोस खापा केही छैन । त्यसलाई झ्याल भन्न मिल्दैन । पेटीको प्रमाण वादीले दिन सकेको छैन । तसर्थ वादी दावी नपुग्ने ठहराएको माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंहको राय सदर हुनुपर्दछ भन्ने बहस गर्नु भयो ।

            १३.   आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा निर्णयतर्फ हेर्दा मेरो कि.नं. ७० को घरको उत्तरतर्फ गाह्रोसंग जोडिएको ३ फिट चौडा १४लम्बाईको मेरो पेटी प्रतिवादीहरूले कि.नं. ६७ मा घुसाई नापी गराएकोले दर्ता बदर गरी खिचोला मेटाई मेरा नाममा दर्ता गरी हक कायम गरिपाउँ भन्ने मुख्य वादीको दावी देखिन्छ । बागमती अञ्चल अदालत मार्फत भएको मिति २०४०।५।२८ गतेको नक्सा हेर्दा न.नं. २ प्रतिवादीको घर र न.नं. ४ वादीको घर न.नं. ३ सागाल भन्ने देखिएको पाइन्छ । वादीको घरको उत्तर पट्टी दावी गरेको पेटीतर्फ आवत जावत गर्ने निकास बाटो तथा गाह्रोमा ढोका रहे भएको नक्साबाट देखिँदैन । सो पेटीमा मैले माटो ढुंगा थुपारेको छु भन्ने वादीको फिराद लेख देखिन्छ । तर सो पेटीतर्फ जाने वादीको घरमा ढोका नैै छैन । भने माटो ढुंगा थुपारेको भन्ने वादीको कुरा प्रतितलायकको देखिन्न । पेटी रहे भएको चिन्ह पनि नक्साबाट देखिँदैन । विवादको पेटी छ छैन भनी खनी हेर्दा सो ठाउँमा पेटी नदेखिएको र नरहेको कुरा बागमती अञ्चल अदालतबाट भएको मिति २०३९।११।१२ को मुचुल्काबाट देखिन्छ । उत्तरतर्फ झ्याल रहेको भन्ने भनाई तर्फ न.नं. ३ को सागाल वादी प्रतिवादीहरूको साझा भन्ने कुरामा विवाद देखिन्न । वादीको घरको उत्तरतर्फ पहिलो तल्लाको झ्याल साझा सागालतर्फ रहेको पाइन्छ । वादीले पेटी भनी दावी गरेतर्फ रहेको पाइन्न । त्यसदेखि माथिल्लो तल्लाको झ्याल भनेको तर त्यस्मा चौकोस खापा रहेको भन्ने नक्साबाट देखिन्न । त्यस्तोलाई झ्याल मान्ने स्थिति रहेन वादीले पूर्व पश्चिम लम्बाई १४को पेटी भनी दावी गरेकोमा नक्साबाट विवादको पेटी ९मात्र देखिन्छ । यसबाट पनि वादी दावी साँचो रहेछ भन्न मिलेन । घरको छानाको बलेनीको पानी पेटी भनिएको जग्गातर्फ सो जग्गा खस्दैमा वादीको भन्न मिल्दैन । उक्त तर्कलाई मान्ने हो भने साझा सागालतर्फ पनि सो बलेनीको पानी खस्दछ । यसबाट साझा सागाल वादीको एकलौटी भन्न मिल्दैन । वादीले पेटी भनी दावी गरेको जग्गा वादीको हकको भन्ने तथ्ययुक्त सबूद प्रमाण वादीले दिनसकेको छैन । यस स्थितिमा वादी दावी बमोजिम प्रतिवादीहरूले आफ्नो जग्गामा नापी गराएको भन्न सकिने अवस्था रहेन । तसर्थ वादी दावी पुग्न नसक्ने ठहराएको मध्यमाञ्चल क्षेत्रीय अदालतलको इन्साफ मनासिब ठहराएको सर्वोच्च अदालत संयुक्त इजलासका माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंहको राय मनासिब ठहर्छ । कोर्टफी लागी दायर भएको हुँदा केही गर्नु परेन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा हामी सहमत छौ ।

 

न्या. गजेन्द्रकेशरी बास्तोला,

न्या. प्रचण्डराज अनिल

 

इति सम्वत् २०४६ साल कार्तिक २९ गते रोज ३ शुभम् ।