July 25, 1977
Created by nepalarchives

निर्णय नं. १०५२ – लोग्ने कायम गरी अंश माना–चामल पाउँ

निर्णय नं. १०५२     ने.का.प. २०३४ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०३३ सालको दे.वि.नं. ४१ फैसला भएको...

निर्णय नं. १०५२     ने.का.प. २०३४

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी.

माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय

सम्वत् २०३३ सालको दे.वि.नं. ४१

फैसला भएको मिति : २०३४।४।१०।२ मा

निवेदिका : ल.पु.जि. भैसेपाटी बस्ने बच्ची विष्ट क्षेत्री

विरुद्ध

विपक्षी : ऐ ऐ बस्ने कविन्द्रबहादुर विष्ट क्षेत्री समेत

विषय : लोग्ने कायम गरी अंश मानाचामल पाउँ

(१)   गुप्ताङ्गको चिन्ह भन्न सकेमा करणी भएको कायम हुने भन्न नसकेमा करणी कायम नहुने भन्नु न्यायसंगत होइन ।

(प्रकरण नं. १५)

(२)   करणीको तथ्य प्रमाणित गर्ने प्रत्यक्ष प्रमाण साधारणतः नहुने । कुनै दुईवटा युवक युवतीको विचमा राजी खुशीले भएको करणी सर्वसाधारणले देख्ने गरी भएको हुँदैन । त्यसैले यो तथ्य प्रमाणित गर्ने प्रत्यक्षदर्शी साक्षी पनि साधारणतः नपाईने । तसर्थ करणीको तय यकिन गर्न पक्षहरूको आचरण र परिस्थिति जन्य अन्य प्रमाणहरू मै भर पर्ने हुन्छ ।

            पितृत्वको कुरा सधै अनुमानमै आधारित हुने र त्यस सम्बन्धमा अन्यथा प्रमाणित नभएसम्म आमाले भनेको कुरालाई साँचो मान्नु पर्ने ।

(प्रकरण नं. १८)

निवेदिका तर्फबाट : विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल

विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री होराप्रसाद जोशी

उल्लेखित मुद्दा :    

फैसला

            न्या. विश्वनाथ उपाध्याय : २०३२।७।३।१ मा मध्यमाञ्चल क्षेत्रीय अदालतबाट भएको फैसला दोहर्‍याई पाउँ भन्ने वादी वच्ची विष्टको श्री ५ को महाराजाधिराजको हजूरमा निवेदन परेकोमा फैसला भएको यस मुद्दाको मिसिल झिकी सर्वोच्च अदालतबाट इन्साफ जाँची कानूनबमोजिम गरी छिनी दिनु निवेदिकालाई जनाउ दिनु भनी त्यहाँ पठाउनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ भनी मौसूफ सरकारको विशेष जाहेरी विभागबाट मिति २०३३।४।६।४ मा लेखी आएको हु.प्र्र.को व्यहोरा समेत पेश हुँदा यसमा बक्स भई आएको हुकुम प्रमाङ्गी बमोजिम गर्न विविधको लगतमा दर्ता गरी मिसिल झिकाई निवेदिकालाई बाटाको म्याद बाहेक ७ दिनको म्याद दिई नियमबमोजिम डिभिजन बेञ्चमा पेश गर्नु भन्ने मिति २०३३।४।१८।२ को डिभिजन बेञ्चको आदेशानुसारको मुद्दा यस बेञ्च समक्ष प्रस्तुत हुन आएको छ ।

            २.    मुद्दाको तथ्य संक्षेपमा यस प्रकार छः ल.पु.जि.सैबु भैंसेपाटी पञ्चायत वार्ड नं.४ बस्ने शेरबहादुरका छोरा ऐ बस्ने कविन्द्रबहादुर विष्टसँग बराबर आवत जावत भई विवाह नभएको दुवैको मञ्जुरीबाट २०२४ साल मार्ग महीनामा घर माइती ओल्लो पल्लो भई बीचमा पिपलको रुख र पाटीमा पहिला पटक र अनि बराबर सोही ठाउँमा कर्णी लिनु दिनु भयो, २०२४ साल फाल्गुणदेखि पर सर्न रोकीई निजका पितासँग गई भन्दा छोरा घरमा छैन भनी घरमा वस्न समेत दिएन पतिकै घर नगिच डेरा गरी बस्ने कविन्द्रबहादुरको वीर्यबाट २०२५ साल मार्ग, १ गते पुत्री पैदा भई सुत्केरी खर्च र खान लाउन समेत दिनु हवस भन्दा नदिएकोले पञ्चायतमा निवेदन दिई ससुरा शेरबहादुरलाई सम्झाउँदा नमानेबाट श्री ५ महाराजाधिराज कहाँ निवेदन दिई गाउँकै गोरे थापाको घरमा डेरा गरी रु.४००।ऋण लिएकोले सो र ०२४ साल पौष ३ गतेदेखि आजसम्मको सबै दैनिक उपभोगको सामान समेतको जम्मा रु.७९९।६३ निज पति कविन्द्रबहादुर र शेरबहादुरबाट दिलाई भराई पाउँ भन्ने बयान ।

            ३.    मेरो छोरा कविन्द्रबहादुर भारततर्फ गएको र निजको बीर्यबाट २०२४ मार्ग १ गतेदेखि कर्णी लिनु दिनु भई गर्भ रहेको भए छोरा साथै राखी निर्णय गर्नु गराउनु पर्ने नगरी हाल छोरा नभएका बखत यो गर्भ पैदा भएको कविन्द्रबहादुरको हो वा होइन वादी र निजका आमा बाबु मेरा घरमा आएका होइनन् विवाह भएको पत्नीलाई खान लाउन दिनुपर्छ, वादी गुप्तसँग राखेको पत्नीलाई खान लाउन दिनु पर्दैन भन्ने ऐनमा व्यवस्था भएको छ वादी झुटो हो भन्ने प्र.शेरबहादुरको बयान ।

            ४.    श्री ५ को सरकार छात्रबृत्ति अन्तर्गत भारतको काश्मीर श्रीनगर रिजनल इन्जिनीयरिङ्ग कलेजमा १४ अगष्ट १९६७ तदनुसार २०२४।४।३०।२ मा भर्ना भई सोही कलेजमा बसी आएको छु । श्री जैठयु खाँले प्रमाणीत गरी दिनु भएको पत्रबाट प्रष्ट हुने भएको १ प्रति पेश गरेको छु, मैले स्वास्नी राखेको र कर्णी समेत गरेको नहुँदा उजूरबालालाई माना चामल दिनुपर्ने होइन भन्ने समेत कविन्द्रबहादुरको प्रतिवादी ।

            ५.    कविन्द्रबहादुरको वीर्यबाट छोरी १ जन्मेको हो, निज कविन्द्रबहादुरको करणी वीर्य नभएको भए यसको हो भनी लेख्न सक्नु पर्ने २०२४ देखिनै कविन्द्रबहादुरसँग करणीमा विग्री गर्भ रहेपछि ऐ फाल्गुण २५ गतेमात्र निज कविन्द्रबहादुर भारत गएको हुनाले निजको प्रतिउत्तर झु्ठ्ठा हो कविन्द्रबहादुर मेरो लोग्ने भएकोहुनाले लोग्ने कायम गरी पाउँ भन्ने समेत वादी ।

            ६.    छोरा कविन्द्रबहादुर करणी गरेको बखत भारतमा पढ्न गएको हुँदा करणी गरेको होइन वादीको बयान झुटो हो भन्ने समेत शेरबहादुरको बयान ।

            ७.    यसमा वादी बच्ची विष्टले श्री ५ महाराजाधिराज सरकारको जुनाफमा चढाएको बिन्तिपत्रमा ०२४ साल मार्ग महिनामा बाबु घरमा नभएको मौका पारी प्र. कविन्द्रबहादुरसँग पहिला पटक करणी लिनु दिनु भएको भनी लेखेको र यस अदालतमा रहेको सनाखत बयानमा वादी प्रतिवादीहरूका घरको बीचमा भएको पिपलको बोट स्थानमा ०२४ साल मंसिर महीनामा पहिला पटक करणी लिनु दिनु गरेको भनी लेखाएको देखिएबाट वादीले श्री ५ महाराजाधिराज सरकारमा चढाएको बिन्तिपत्र र यस अदालतको बयानमा लेखिएको वारदातको ठाउँ फरक परेको वादीले प्रतिवादीसँग पहिलो पटक करणी गराए भनी देखाएको समयमा प्र. भारत काश्मीरमा इञ्जिनीयरिङ्ग छात्रावासमा उपस्थिति रहेको र सोबाट दिएको प्रमाणपत्रको नक्कलबाट देखिएको वादीले बयानमा र वादी पक्षका अधिवक्ताले आफ्नो बहसमा समेत मुद्दा परिसकेपछि तयार गरेको लिखतलाई प्रमाणमा लिन नमिल्ने भनी जिकिर लिएको, तर प्र.बाट पेश भएको १८ अप्रिल १९७२ को रिजनल इञ्जिनीयरिङ्ग कलेज श्रीनगर काश्मीरको प्रमाणपत्र हो । कलेजको रिकर्डबाट प्रतिवादी कविन्द्रबहादुर विष्ट कलेजको होस्टलमा उपस्थित रहेको कलेजको डीनले गरिदिएको प्रमाणपत्र देखिँदा यसरी कुनै संस्थानबाट पाएको प्रमाणपत्रलाई आफ्नो बाबुको मुद्दा परिसकेपछि तयार गरेको लिखत भन्न नमिल्ने वादी पक्षको बहसमा समेत वादीबाट जन्मेको छोरी प्र.को होइन भने कसको हो भनी प्रतिवादीले देखाउन नसकेको भन्नेतर्फ लोग्ने कायम गरी पाउँ भन्ने मुद्दा फौज्दारी हुँदा फौज्दारी मुद्दामा प्र.माथि लगाएको अभियोग शङ्का रहित तौरबाट प्रमाणित गर्ने अभिभारा वादी पक्षकै हुने, प्र.ले आफूमाथि लागेको अभियोग सफाईसम्म दिए पुग्ने वादी दावी अनुसारको कसूरदार देखाउन र प्रमाणित गर्ने अभिभारा प्र. को हुन नसक्ने, तसर्थ वादीबाट जन्मेको छोरी कसको हो भनी प्र. ले देखाउन नसकेकोले प्र.को हो भन्ने वादी दावी न्यायसंगत मान्न नमिल्ने, वादीका बकेका साक्षी मध्ये कसैले वादी र प्रतिवादीहरू ०२३ साल देखिनै सँगसँगै हिंडीडुली रहेको देखेको छु र कसैले ०२४ साल फाल्गुण चैत्र महिनादेखि वादी प्रतिवादीलाई सँगै देवस्थान आदिमा घुम्न गएको देखेको छु भनी बकपत्र गरेकोले वादीको बयान र साक्षीको बकपत्र परस्परमा मिल्न नआई बुझिएको प्र.का साक्षीहरूले प्र.कविन्द्रबहादुर ०२४ साल श्रावणमा विदेश काश्मीरमा पढ्न गइ ०२९ साल माघमा मात्र फर्केको भनी बकपत्र गरेकाले समेत बुझिएसम्मका प्रमाणबाट प्र.कविन्द्रबहादुर विष्टलाई लोग्ने कायम गरी प्रतिवादीहरूबाट माना चामल भराई पाउँ भन्ने वादीको दावी पुग्न सक्दैन भन्ने मिति २०३०।४।३२।५ को.ल.पु.जि.अ.को फैसला ।

            ८.    मिसिल सामेल रहेको सर्जमिन मुचुल्का हेर्दा पुनरावेदक बच्ची विष्ट र कविन्द्रबहादुर साथ साथमा हिडेको देखेको छु भन्नेसम्म लेखाई दिएको पाइन्छ, तर यी दुवै जनाका बीचमा लोग्ने स्वास्नीको सम्बन्ध रहेको थियो भन्ने पुष्टाई हुन आएको देखिएन, लोग्ने कायम गरी पाउँ भनी पुनरावेदकले जिकिर लिएकोमा सो को सबूद वादी पुनरावेदकले गुजार्न सक्नु पर्ने थियो वादीका साक्षीहरूका बकपत्रबाट सो कुरा स्थापित हुन सकेको पाइएन, प्रतिवादीकातर्फबाट बहस गर्ने विद्वान अधिवक्ताहरूले रिजनल कलेज काश्मीरको प्रमाणपत्रलाई मुख्य आधार बनाउनु भएको छ । वारदात भएको भनी भनिएको २०२४ साल मंसिरमा प्रतिवादी कविन्द्रबहादुर जन्मस्थलमा रहे भएको भनी प्रमाणीत हुन आएको छ । पुनरावेदक बच्ची विष्टले कविन्द्रबहादुरको गुप्ताङ्गमा कुनै चिन्ह रहे भएको भनी सबूद दिन सक्नु भएको छैन, मुद्दाको पेशीको दिन बेञ्चबाट पुनरावेदिकालाई सोधिँदा पनि कुनै विशेष चिन्ह छ भनी भन्न सक्नु भएन यस स्थितिमा सबूदको अभावमा बच्ची विष्टलाई कविन्द्रबहादुरको स्वास्नी कायम गर्न सकिएन ल.पु.जि.अ.को इन्साफ मनासिव छ भन्ने समेत म.क्षे.अ. डिभिजन बेञ्चको मिति २०३२।७।३।१ को फैसला ।

            ९.    यसमा मध्यमाञ्चल क्षेत्रीय अदालतको ललितपुर जिल्ला अदालतले गरेको सदर गरी गरेको इन्साफ मनासिव छ छैन, निर्णय दिनुपर्ने हुन आएको छ ।

            १०.    निवेदिकातर्फबाट विद्वान अधिवक्ता ठाकुरप्रसाद खरेलले निवेदिका र विपक्षी कविन्द्रबहादुरका बीचमा कुनै रिसइवीको कारण छैन बाबु शेरबहादुरको बयानमा कविन्द्र २०२४।४।३० देखिनै बाहिर गएको भन्ने कुरा उल्लेखित छैन एकै गाउँघर छिमेकका व्यक्तिहरू छन् साक्षीहरूले दुवै सँगसँगै हिड्ने गरेको भनेका छन् विपक्षी बच्ची विष्टको गर्भ यो व्यक्तिको हो भनी जिकिर गर्न नसकेको र आफ्नो पत्नी नभएको भए त्यस्तो लाञ्छना लगाएकोमा आफ्नो इज्जतमा धक्का पुर्‍याई बारे प्रतिवादीले उजूर गर्नसक्नु पर्ने नगरेको समेत हुँदा बच्ची विष्टको गर्भ विपक्षी कविन्द्रकै हो भन्ने समेत आफ्नो बहस प्रस्तुत गर्नु भयो ।

            ११.    विपक्षीहरूकोतर्फबाट विद्वान अधिवक्ता होराप्रसाद जोशीले पहिलो वारदातको ठाउँको सम्बन्धमा बयान र विन्तीपत्रमा वादीको भनाई फरक छ । वादीले भनेको मंसिर महीनामा कविन्द्र काश्मीरमा छ । विद्यार्थी हितको डीनले त्यसको प्रमाणपत्र दिएको समेत हुँदा विपक्षी कविन्द्रको गर्भ ठहर्न सक्दैन । म.क्षे.अ को फैसला कायम हुन पर्छ भन्ने र विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरेले बयान र विन्तिपत्रमा करणीको वारदात फरक फरक देखाएको र सबूदको रुपमा ४ जना साक्षी र सरजमीनको भनाईमात्र भएको साक्षीको बयान र वादीको भनाई मिल्दो छैन र वादीले आफ्नो प्रमाण खम्बिर गर्न सबूद पेश गर्न समेत नसकेको हुँदा वादी दावी झुटो हो प्रतिवादीले सफाई पाउन पर्छ भन्ने समेत आफ्नो बहस प्रस्तुत गर्नु भयो ।

            १२.   यसमा प्रतिवादी कविन्द्रबहादुर विष्टसँग करणी भई छोरी जन्मेकीले स्वास्नी कायम गरी माना चामल दिलाई पाउँ भन्ने वादी बच्ची विष्टको दावी छ । वादीको करणी भएको भनेको २०२४ साल मार्ग महिनामा म गाउँघरमा नभई भारतको काश्मीर राज्य श्रीनगर रिजनल इञ्जिनियरिङ्ग कलेजमा पढ्न बसेकोले मैले स्वास्नी राखेको र करणी गरेको समेत नहुँदा वादीलाई माना चामल दिनुपर्ने होइन भन्ने प्रतिवादी कविन्द्रबहादुरको मुख्य प्रतिवादी जिकिर छ । वादीले पहिलो करणी भएको भनी अदालतमा गरेको बयानमा र श्री ५ महाराजाधिराज सरकारका जुनाफमा दिएको विन्तीपत्रमा देखाएको ठाउँ फरक परेको वादीले प्रतिवादी कविन्द्रबहादुरको गुप्ताङ्गको कुनै चिन्ह भन्न नसकेको वादीका साक्षीहरू कसैले २०२३ सालमा र कसैले २०२४ सालमा वादी र प्रतिवादी कविन्द्रबहादुरलाई सँगैसँगै हिंडडुल गरेको देखेको भनी बयान गरेबाट वादी ती साक्षीहरूको बयान परस्परमा मिल्न आएको प्रतिवादी कविन्द्रबहादुरले २०२४ साल मार्ग महिनामा आफू गाउँघरमा नभई पढ्नको लागि काश्मीर गएको भनी छात्र कल्याणका डिनको प्रमाणपत्र समेत पेश गरेको र निजका साक्षीहरूले सो कुराको पुष्टि गरी बयान गरेको भन्ने आधारहरूका तलका अदालतहरूबाट वादी दावी नपुग्ने ठहराई फैसला भएको देखिन्छ।

            १३.   यस सम्बन्धमा पहिले उक्त फैसलाहरूमा उल्लेख भएका बुँदाहरू नै विचार गर्नुपर्ने हुन आउँछ । पहिलो करणी भएको ठाउँको सम्बन्धमा वादीको पटक पटकको भनाईमा एकरुपता नभई असंगति देखिएको भन्नेतर्फ उपस्थित गरिएको छ । तर वादीको पहिलो बयान र श्री ५ महाराजाधिराज सरकारका जुनाफमा निजले चढाएको विन्तीपत्रमा त्यस सम्बन्धमा उल्लेख भएका कुराहरूलाई केलाएर हेर्दा कुनै असंगति देखिदैन, वादीले श्री ५ महाराजाधिराज सरकारका जुनाफमा दिएको विन्तीपत्रमा बाबु घरमा नभएको बखत प्रतिवादी घरमा आई निजहरूको जात र उमेर मिल्ने हुनाले लोग्ने स्वास्नी भई बसौं भनी फकाएको भन्ने कुरासम्म किटानी साथ भनेको पाइन्छ, करणी पनि त्यसै बखत घरमै भयो भनी भनेको देखिन्न । घरमा कुराकानी भई करणी बाहिर हुन नसकेको कुरा होइन । त्यसमाथि पनि पहिलो करणीको ठाउँको सम्बन्धमा वादीको भनाई असंगत भएको छ भनी मानेकै खण्डमा पनि त्यसैबाट वादी र प्रतिवादीको बीचमा करणी हुँदै नभएको प्रमाणित हुन्छ भनी सम्झन मिल्दैन वादी र प्रतिवादीका बीचमा करणी भई छोरी जन्मेकी हो वा होइन भन्ने मुद्दामा ठहर गर्नुपर्ने मुख्य प्रश्न छ । यस्तो पहिलो करणी कुन ठाउँमा भएको भनी मुद्दामा निर्णय गर्नुपर्ने मूल प्रश्न नै त्यसलाई जनाए जस्तो गरी कुनै निष्कर्षमा पुग्न तर्कसंगत हुँदैन । मिसिल सम्लग्न प्रमाणहरूबाट वादी र प्रतिवादीका बीचमा करणी भई छोरी जन्मेकी हो भन्ने कुरा देखिन्छ भने पहिलो करणीको ठाउँको सम्बन्धमा वादीको भनाई जे जस्तो भए पनि त्यसले वादीको मुख्य जिकिरको औचित्यमा कुनै असर पार्न सक्दैन ।

            १४.   अब आउँछ वादीको र साक्षीहरूको भनाईमा असंगती छ भन्ने कुरा वादीका साक्षीहरू मध्ये कसैले २०२३ सालमा र कसैले २०२४ सालमा वादी र प्रतिवादी कविन्द्रबहादुरलाई साथसाथ हिंड्डुल गर्ने गरेको देखेको पनि बयान गरेबाट वादीको वादीका साक्षीहरूको कुरा परस्परमा मिल्न नआएको भन्ने भनाई छ । तर त्यो भनाई तर्कसंगत छैन । दुईजना बराबर साथ हिंड्डुल गर्ने गरेको भन्ने साक्षीहरूको बयान छ । बराबर हिंडडुल गर्ने गरेको व्यक्तिहरूलाई सबैले एउटै साल महिना मिति वा सयममा देख्नु जरुरी छैन । जसले अहिलेदेखि वादी र प्रतिवादीलाई एकसाथ हिंडडुल गर्ने गरेको देख्यो त्यो कुरा अदालतलाई भन्यो त्यसबाट साक्षीहरूको भनाईमा के असंगती भयो र ? वादीले आफ्नो बयानमा कविन्द्रबहादुरसँग बराबर आवत जावत भई २०२४ साल मार्गमा पहिलो करणी भएको भन्ने उल्लेख गरेको पाइन्छ । यसबाट २०२४ साल मार्गभन्दा पहिले देखिनै आवत जावत भएको भन्ने वादीको भनाई पनि साक्षीहरूको भनाईसँग असंगत भएको देखिन्न ।

            १५.   वादीले प्रतिवादी कविन्द्रबहादुरको गुप्ताङ्गको कुनै चिन्ह भन्न नसकेको भन्ने पनि वादीको विरुद्धमा बुँदा उल्लेख भएको छ । यो बूँदा ज्यादै अनौठो छ । करणी लिने दिने दुई जनाले एक अर्काको गुप्ताङ्गमा भएका चिन्हहरू सबै देखेको सम्मको हुनैपर्छ भन्ने तर्क कहाँसम्म युक्तिसंगत र व्यावहारिक छ ? यथार्थमा व्यावहारिकता भन्दा धेरै टाढा गएर उक्त तर्क उपस्थित गरिएको छ । गुप्ताङ्गको चिन्ह भन्न सकेमा करणी भएको कायम हुने भन्न नसकेमा करणी कायम नहुने भन्नु न्यायसंगत होइन ।

            १६.    प्रतिवादी कविन्द्रबहादुरले २०२४ मार्ग महीनामा काश्मीरमा थिएँ भन्ने प्रतिवाद जिकिर लिई त्यसको पुष्टिको लागि काश्मीरको छात्र कल्याणका डिन जेड खान भन्ने व्यक्तिको ता.१८ जुलाई १९७२ को प्रमाणपत्र पेश गरेको पाइन्छ । सो पत्रमा प्रतिवादी कविन्द्रबहादुर श्रीनगर रिजनल इञ्जिीनियरीङ्ग कलेजमा १४ अगष्ट (१९६७ (तदनुसार) मिति २०२४।४।३०) देखि भर्ना भई १९७२ सम्म लगातार त्यंही रहेको व्यहोरा उल्लेख भएको छ ।

            १७.   प्रतिवादीका साक्षी शम्भुबहादुर, विष्णुबहादुर र वासुदेवले २०२४ साल श्रावणमा प्रतिवादी पढ्नको लागि काश्मीर गएको २०२९ सालमा मात्र फर्कि आएको भनी बयान गरेकाछन् । उक्त प्रमाणपत्र र साक्षीहरूको बयानबाट प्रतिवादीको भनाईको पुष्टी भएको सम्झी जिल्ला अदालत र मध्यमाञ्चल क्षेत्रीय अदालतबाट प्रतिवादी कविन्द्रबहादुर २०२४ मार्गमा गाउँ घरमा नभएको ठहराई फैसला भएको देखिन आउँछ । तर, २०२४ साल मार्ग महिनामा प्रतिवादी कविन्द्रबहादुर गाउँघरमै थियो निज र वादी बच्ची विष्टसँगसँगै हिंडडुल गर्ने गरेको सँगसँगै देवस्थलमा जाने गरेको देखेको हो भन्ने कृष्णबहादुर, गंगाबहादुर, अर्जुनबहादुर, कमनसिंह समेतका साक्षीहरूको किटानी बयानबाट प्रतिवादीको उक्त जिकिरको खण्डन भएको देखिन्छ । प्रतिवादी कविन्द्रबहादुरको बाबु प्रतिवादी शेरबहादुरले अदालत समक्ष २०२६।१।४ मा गरेको बयानमा सो कुरा भन्न नसकी ०२४ मार्ग १ गतदेखि करणी लिनु दिनु भई गर्भ रहेको भए छोरा कविन्द्रबहादुर साथ रहेकै बखत निर्णय गर्नु गराउनु पर्ने भनी बयान गरेको देखिएबाट २०२४ साल मार्गमा प्रतिवादी कविन्द्रबहादुर गाउँ घरमै रहेको तथ्यको पुष्टि हुन आउँछ । सो मार्ग महिनामा प्रतिवादी कविन्द्रबहादुर गाउँ घरमै नभएको भए सो कुरा प्रतिवादी शेरबहादुरले आफ्नो पहिलो बयान मै भनी प्रतिवाद गर्नसक्नु पर्नेमा नभनी उल्टो छोरा भएकै बखत निर्णय गर्न गराउनु सक्नु पर्ने भनी उक्त मार्ग महिनामा कविन्द्रबहादुर गाउँ घरमै रहेको तथ्यलाई पुष्टि गरी बयान गर्नुपर्ने कारण केही देखिन्न । निजको उक्त बयानबाट पछिमात्र बाबु छोराले सरसल्लाह गरी माथि उल्लेखीत छात्र कल्याणका डिन भनेको प्रमाणपत्र हातपारी फाल्गुण, १८ गतेको बयानमा प्रतिवादी शेरबहादुरले छोरा कविन्द्रबहादुरको प्रतिउत्तरकै मिलानको प्रतिवाद जिकिर लिने प्रयास गरेकोमात्र देखिन आउँछ । वस्तुतः प्रतिवादीकातर्फबाट प्रस्तुत गरिएको उक्त प्रमाणपत्र प्रमाणको रुपमा ग्राह् हुन सक्ने पनि देखिन्न । उक्त प्रमाणपत्र दिने व्यक्ति यथार्थमा डिन हुन वा होइनन् निजले सो प्रमाण दिएको हो वा होइन त्यस्तो प्रमाण दिने अधिकार निजलाई छ वा छैन भन्ने कुराहरू यकिन नगरी त्यसलाई सोझै प्रमाणको रुपमा ग्रहण गर्न मिल्दैन । त्यसमाथि पनि सो प्रमाणपत्रमा उल्लेखित तथ्यको सम्बन्धमा प्रमाण दिने डिन भनिएको व्यक्तिले अदालत समक्ष साक्षीको रुपमा बयान गरी वादीले निजसँग जिरह गर्ने मौका पाएसम्म सो तथ्य साँचो हो भनी एकाएक निष्कर्षमा पुग्न हुँदैन । यस स्थितिमा उक्त प्रमाणपत्रलाई ललितपुर जिल्ला अदालत र मध्यमाञ्चल क्षेत्रीय अदालतले प्रमाणिक महत्त्व दिएको मनासिव देखिदैन । जहाँसम्म माथि उल्लेखित शम्भुबहादुर समेतका केही साक्षीहरूको बयानको सम्बन्ध छ, नेपालबाट छिमेकी मुलुक भारतको काश्मीर राज्यमा पढ्न गएको कविन्द्रबहादुर एकै पटक पढाई समाप्त गरेर ५, ६ वर्ष पछिमात्र गाउँ घरमा फर्केको भन्ने निजहरूको भनाईमा सहजै विश्वास गर्न सकिन्न । छिमेकी मुलुकमा पढ्न गएका छात्र छात्राहरूको लामो विदाहरूमा साधारणतः घर आउने गरेकै देखिन्छ । प्रतिवादी कविन्द्रबहादर अपवादको रुपमा ५,६ वर्षसम्म लगातार काश्मीरमा बस्ने सो अवधिमा एक पटक पनि आफ्नो गाउँ घरमा नआउने असाधारण कारण के परेको थियो त्यो कतैबाट खुल्दैन, तसर्थ माथि उल्लेखित कुराहरूबाट २०२४ साल मार्ग महिनामा प्रतिवाद कविन्दं्रबहादुर गाउँ घरमा थिएनन् भन्ने तथ्य प्रमाणित हुँदैन बरु उक्त मार्ग महीनामा निज गाउँ घरमै थियो भन्ने तथ्यको पुष्टि हुन्छ ।

            १८.   अब वादीको भनाई बमोजिम निजको र प्रतिवादी कविन्द्रबहादुरको बीचमा करणी भएको हो वा होइन भन्ने प्रश्न विचारणीय हुन आउँछ । करणीको तथ्य प्रमाणीत गर्ने प्रत्यक्ष प्रमाण साधारणतः हुँदैन । कुनै दुईटा युवक र युवतीको बीचमा राजीखुसीले भएको करणी सर्वसाधारणले देख्ने गरी भएको हुँदैन, त्यसैले त्यो तथ्य प्रमाणीत गर्ने प्रत्यक्षदर्शी साक्षी पनि साधारणतः पाइदैन । तसर्थ करणीको तथ्य यकिन गर्न पक्षहरूको आचरण र परिस्थिति जन्य अन्य प्रमाणहरूमै भर पर्ने हुन्छ । यस दृष्टिकोणबाट प्रस्तुत मुद्दामा विचार गर्दा वादी बच्ची विष्ट र प्रतिवादी कविन्द्रबहादुर एउटै गाउँ घर छिमेकका व्यक्तिहरू हुनाले एक अर्कासँग चिनजान र सहजसँग सम्र्पक स्थापित हुन सक्ने अवस्थामा रहेका देखिन्छन् । साक्षीहरूको बयानबाट निजहरूका बीचमा निकट सम्पर्क रहेको पनि देखिन आउँछ । दुईजना सँगसँगै हिंडडुल गर्ने गरेको सँगसँगै देवस्थानमा जाने गरेका देखेका हौं भन्ने कृष्णबहादुर, गंगाबहादुर, अर्जनबहादुर र कमानसिंहको भनाई छ । कुनै नाता सम्बन्धमा नभएका विवाहको उमेर पुगेका युवक युवती यसरी बराबर सँगसँगै हिंडडुल गर्ने कुरा हाम्रो गाउँ घरमा साधारण रुपमा चलिआएको कुरा होइन । गाउँघरको सामाजिक मूल्यको प्रतिकूल बराबर सँगसँगै हिंडडुल गर्ने देवस्थल जाने वादी र प्रतिवादी कविन्द्रबहादुरको आचरणबाट निजहरू एक अर्काप्रति आर्कर्षित भएको देखिन आउँछ । एक अर्काप्रति आकर्षित भई लामो समयसम्म एक अर्काको सम्पर्कमा रहेका वादी र प्रतिवादी कविन्दबहादुरको बीचमा अवस्था र परिस्थित अनुकूल करणी हुनु कुनै अस्वाभाविक कुरा होइन । करणी लिनु दिनु नभई वादीले प्रतिवादी कविन्दबहादुरसँग करणी भई छोरी जन्मी भनी भन्नु पर्ने कुनै कारण देखिदैन । हाम्रो समाजमा कुनै स्वास्नी मानिसले कुनै लोग्ने मानिससँग करणी भयो भनी भन्दै हिंड्ने कुरा साधारणतः पाइँदैन । कुनै स्वास्नी मानिसले कुने लोग्ने मानिससँग करणी भयो भनी भनेका या त त्यो कुरा साँचो हुन्छ वा त्यो स्वास्नी मानिस नै चरित्रहिन भई कुनै कलुषित स्वार्थको लागि त्यस्तो कुरा भनेकी हुन्छे । प्रस्तुत मुद्दामा वादी बच्ची विष्टको प्रतिवादी कविन्द्रबहादुर विष्टलाई फसाउने कुनै कलुषित उद्देश्य थियो भन्ने कुरा कतैबाट देखिन्न । वादी खराब आचरणको स्वास्नी मानिस हो भन्ने पनि कसैको भनाई छैन । वादी र प्रतिवादी कविन्द्रबहादुरको उमेर निजहरू एकअर्काको सम्पर्कमा आउन सक्ने सम्भाव्यता, निजहरूलाई साथसाथ हिंडडुल गर्ने गरेका हौं भन्ने साक्षीहरूको बयान, वादीले प्रतिवादी उपर झुटो पोल गर्न पर्ने प्रयोजनको अभाव र वादीको चरित्रमा कसैले पनि शंङ्का नउठाएको तथ्य इत्यादी कुराहरूको समष्टिगत रुपमा विचार गर्दा प्रतिवादी कविन्द्रबहादुरसँग करणी लिनु दिनु भयो भन्ने वादीको भनाई साँचो देखिन आउँछ । वादी र प्रतिवादी कविन्द्रबहादुरका विचमा बराबर करणी भएको भन्ने देखिन आएपछि वादीको गर्भबाट २०२५ साल मार्गमा जन्मेकी छोरी प्रतिवादी कविन्द्रबहादुरकै करणी बीर्यबाट जन्मेकी हो भन्ने सम्झनु पर्ने हुन्छ । पितृत्वको कुरा सधैं अनुमानमै आधारीत हुने र त्यस सम्बन्धमा अन्यथा प्रमाणित नभएसम्म आमाले भनेको कुरालाई नै साँचो मान्नु पर्ने हुँदा त्यस सम्बन्धमा वादी बच्ची विष्टले भनेको कुरालाई माथि उल्लिखित कुराहरूको सन्दर्भमा साँचो नै मान्नु पर्ने देखिन आयो । लोग्ने स्वास्नीको रुपमा रहने बस्ने मनसायले प्रतिवादी कविन्द्रबहादुर र वादीको बीचमा बराबर करणी लिनु दिनु भई छोरी समेत जन्मेकी देखिनाले वादी बच्ची विष्ट प्रतिवादी कविन्द्रबहादुर विष्टकी स्वास्नी कायम हुने र वादी दावी बमोजिम वादीले माना चामल दिलाई भराई पाउने ठर्हछ । यस सम्बन्धमा ललितपुर जिल्ला अदालतको फैसला सदर गरी मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको फैसला नमिलेको देखिनाले सो फैसलाहरू बदर गरिएको छ । तपसील बमोजिम गरी नियमबमोजिम मिसिल बुझाइदिनु ।

 

तपसील

निवेदिका बच्ची विष्टके निजले निवेदन दिई बयानगर्दा राखेको कोर्टफी रु.३९।९८ र अं.अ.मा पुनरावेदनगर्दा राखेको कोर्टफी रु.६।१७समेत जम्मारु.४६।१५ प्र.कविन्द्रबहादुर विष्ट क्षेत्रीबाट भराइपाउँ भनी प्र.को जायजात देखाई कोर्टफी ऐन,२०१७को दफा १५को म्याद ३वर्षभित्र निवेदिकाको दरखास्तपरे दस्तूर केही नलिई प्र.बाट निवेदिकालाई भराईदिनु भनी ल.जिल्लाअदालतलाई सूचना गर्न का.जि.अ.मा लगत दिनु…………………………१

निवेदिका बच्ची विष्टको माथि इन्साफ खण्डमा लेखिएबमोजिम निज प्रतिवादी कविन्द्रको स्वास्नी ठहरेकोले प्रतिवादीहरूबाट माना चामलको विगो रु.७९९।६२ भरी पाउने ठहरेकोले भरी पाउँ भनी प्रतिवादीको जायजात देखाई ऐनका म्याद भित्र दरखास्त परे सो रकम निवेदिकालाई भराई दिनु भनी कानूनबमोजिम लगत दिने………२

 

उक्त रायमा म सहमत छु ।

 

न्या. प्रकाशबहादुर के.सी.

 

इति सम्वत् २०३४ साल श्रावण १० गते रोज २ शुभम् ।