July 22, 1977
Created by nepalarchives

निर्णय नं. १०४९ – आयकर (२०२८)

निर्णय नं. १०४९     ने.का.प. २०३४ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०३३ को दे.पु.नं.८४।९७ आदेश भएको मिति...

निर्णय नं. १०४९     ने.का.प. २०३४

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी.

माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय

सम्वत् २०३३ को दे.पु.नं.८४।९७

आदेश भएको मिति : २०३४।४।७।६ मा

पुनरावेदक : भक्तपुर स्थित नर्वदुर्गा चित्र मन्दिरका प्रो. दैवज्ञराज विजुक्षे

विरुद्ध

पुनरावेदक : कर कार्यालय बाग्मती अञ्चल काठमाडौं

मुद्दा : आयकर (२०२८)

(१)   म्याद नघाई परेको निवेदनको आधारमा पुनरावेदन दर्ता भएको देखिएबाट सो पुनरावेदनबाट इन्साफ दिन नमिल्ने ।

 (प्रकरण नं. १५)

पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री शुशिलकुमार सिन्हा

विपक्षी तर्फबाट : विद्वान का.मु. सरकारी अधिवक्ता श्री प्रेमबहादुर विष्ट

उल्लेखित मुद्दा :    

फैसला

            न्या.विश्वनाथ उपाध्याय सरकारी कार्यालयमा दाखिल भएको रकम आयमा कटाईमात्र आयकर निर्धारण गर्नुपर्ने सो गरेको देखिएन । तसर्थ, उक्त डिष्ट्रीब्यूटर कर दाखिल गरेको रकम रु.११०२२।७० खर्च मिन्हा दिनुपर्ने ठर्हछ भन्ने समेतको मध्यमाञ्चल क्षेत्रीय अदालतबाट भएको फैसला उपर प्रतिवादी प्रो.दैवज्ञरत्न विजुक्षे र वादी कर कार्यालय बाग्मती अञ्चलको निवेदन परी पुनरावेदनको अुनमति भई पुनरावेदन सरह बेञ्च समक्ष पेश हुन आएको छ ।

            २.    प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य विवरण यस प्रकार छ : करदाता नवदुर्गा चित्र मन्दिरका प्रो. दैवज्ञरत्न विजुक्षेलाई २०२८ साल बैशाख देखि ऐ.चैत्र मसान्त सम्मको विवरण माग गरेकोमा आय रु.२५।०८२।०१ हुने भनी बारुलात दाखिल भएको । करदाताका २०२८ साल बैशाख देखि ऐ.मसान्त सम्मको जम्मा आय रु.७९।३५१।४१ हुने भनी क. ले पर्चा पेश गरे अनुसारको रकमलाई नै खूद आय कायम गरी त्यसको कर रु.२५,५४३।२८ लाग्ने ठहराई क.का.वा.अं.बाट २०२९।१२।२७ मा निर्णय भएको रहेछ ।

            ३.    कर कार्यालयको आयकर ऐन, २०१९ को दफा १८ को विरुद्ध गरेको निर्णय बदर गरी दाखिल गरेको विवरण तथा नाफा नोक्सानीको हिसाब समेत जाँच गरी हेरी कानूनबमोजिम कर निर्धारण गरी पाउँ भन्ने समेत व्यहोराको कर दाता दैबज्ञरत्नको राजश्व न्यायाधीकरणमा दिएको पुनरावेदन ।

            ४.    यसमा करअधिकृतद्वारा पुनरावेदकको आर्थिकवर्ष २०२८ साल बैशाख देखि ऐ चैत्र मसान्त सम्मको खर्च देखाएको रकम मध्ये मिति २०२९।१२।२७ को कर निर्धारण आदेशानुसार मिन्हा नगरेको निम्न खर्चहरू (१) पुरस्कार खर्च रु.८०३।५१ मिन्हा नगरेको हकमा गत साल सो खर्चहरू मिन्हा गरेको देखिऐकोले यसमा मिन्हा हुन (२) विल्डिङ्ग मर्मत गरी माग गरेको रु.१३,९५८।६७ मध्ये रु.११,००। मिन्हा नगरेको हकमा विल्डिङ्ग मर्मत गरिएको छैन भनी कर अधिकृतले प्रमाणित गर्न नसकेकोले करदाताले मागे मध्ये आधा रु.६,९७६,३३ मिन्हा हुने (३) पूजा खर्च माग गरेको रु.१,२७३। मध्ये मिन्हा नगरेको रु.५४३।९५ का हकमा गत सालमा पूजा खर्च रु.९१६।५८ मिन्हा गरेको यस सालमा रु.७२९ मात्र मिन्हा गरेको देखिएकोले मागबमोजिम मिन्हा हुने विज्ञापन खर्च माग गरे मध्ये रु.४५५।३ मिन्हा हुने । (४) धारा खर्च भनी रु.११३८।२८ मध्ये मिन्हा नगरेको रु.१०७१।१७ को हकमा गत साल रु.३,२४०।९४ मिन्हा गरेकोमा यस साल विना कारण मिन्हा नगरेकोले मागबमोजिम मिन्हा हुने ठर्हछ भन्ने समेत व्यहोराको राजश्व न्यायाधीकरणको फैसला ।

            ५.    यस कर कार्यालय वा.अं.को २०२९।१२।२७ को कर निर्धारण आदेश रा.न्या.काठमाडौंले केही बदर गरेको चित्त नबुझेको हुनाले सो मितिको कर निर्धारण आदेश सदर गरी पाउँ भन्ने समेतको क.का.वा.अं को पुनरावेदन जिकिर ।

            ६.    मेरो मागबमोजिम मिन्हा दिनुपर्ने रकम मिन्हा दिनु नभई अन्दाजीमा जोडी आयकर लगाउने ०३१।९।११ को फैसला विल्कुल गैरकानूनी हुँदा मिन्हा नभएका कानून अनुकूलको उपरोक्त रकमहरू मिन्हा गरी हक इन्साफ पाउँ भन्ने समेतको नवदुर्गा चित्र मन्दिरका प्रो. दैवज्ञरत्नको पुनरावेदन जिकिर ।

            ७.    मिन्हा दिइनु नपर्ने रकम मिन्हा दिई कानूनी त्रुटी गरी रा.न्या.काठमाडौंले फैसला गरेको पुनरावेदनको अनुमित दिइएको छ भन्ने समेत व्यहोराको म.क्षे.अ.को आदेश ।

            ८.    यसमा राजश्व न्यायाधीकरणबाट उक्त चित्र मन्दिरको कुल आम्दानी रु. ७३।३५१।४१ कायम गरी कर कायम गरेको देखिन्छ । फिल्मको लाग्ने डिष्ट्रिब्यूटर कर नबदुर्गा चित्र मन्दिरले तिरी कर कार्यालयबाट रसिद लिएको देखिएकोले त्यस्तो सरकारी कार्यालयमा दाखिल भएको रकम आयमा कटाईमात्र आयकर निर्धारण गर्नुपर्ने सो गरेको देखिएन, तसर्थ उक्त डिष्ट्रिव्यूटर कर दाखिल गरेको रकम रु.११,०२२।७० खर्च मिन्हा दिनुपर्ने ठर्हछ, अरू दुवै पक्ष पुनरावेदनको जिकिर पुग्न सक्दैन । उक्त रकम मिन्हा दिई कर निर्धारण गर्नु भन्ने समेत म.क्षे.अ.को डिभिजन बेञ्चको मिति २०३३।३।२९।२ को फैसला ।

            ९.    उक्त इन्साफमा चित्त बुझेन म.क्षे.अ.को उक्त मिति २०३३।३।२९।२ को फैसलामा प्रत्यक्षतः सार्वजनिक महत्त्वको कानूनी त्रुटी भएकोले पुनरावेदनको अनुमति प्रदान गरी मिनाहा नपाएको ओभरटायम पारिश्रमिकको रकम र व्यापारसँग सम्बन्धित विजुलीको सामान खर्चको रकमसमेत ऐनकानूनबमोजिम मिनाहा दिनेगरी फैसला गरिपाउँ भन्नेसमेत प्रतिवादी निवेदक दैवज्ञरत्न विजुक्षेको मिति २०३३।४।२९।६ को निवेदन । यसमा यिनै निवेदक र विपक्षी भएको नि.नं. ४९२ को निवेदनमा पुनरावेदनको अनुमति दिइएकोले प्रस्तुत निवेदनमा यसै अनुमति प्रदानगरिएकोछ । नियमबमोजिम गर्नु भन्ने समेत डि.बे. को मिति २०३३।७।१९।५ को आदेश ।

            १०.    मध्यमाञ्चल क्षेत्रीय अदालतको उक्त २०३३।३।२९।२ को फैसलामा फिल्मको लाग्ने डिष्ट्रिव्यूटर कर नवदुर्गा चित्र मन्दिरले तिरेको भन्ने उल्लेख छ, तर आर्थिक ऐन, २०२८ अनुसार उक्त कर सो नवदुर्गा चित्र मन्दिरलाई लाग्ने कर नै होइन । यो त विदेश स्थित फिल्म डिष्ट्रिब्यूटरहरूलाई निजहरूले पाउने कुल रकमको ४० प्रतिशत कर लिने व्यवस्था भए अनुसार निजहरूबाट लिनु पर्ने व्यवस्था भएकोमा विपक्षी नबदुर्गा चित्र मन्दिरबाट उनीहरूकोतर्फबाट दाखिल भएकोमात्र हो । अतः यस्तो रकमलाई खर्च मान्नै नमिल्नेमा खर्च मानी मिन्हा दिनु प्रत्यक्षतः कानूनी त्रुटी देखिएको समेत हुँदा पुनरावेदनको अनुमति प्रदान गरी यस विषयमा ०२९।१२।२७ मा यस कार्यालयबाट भएको कर निर्धारण ।

            ११.    आर्थिक ऐन, ०२८ ले आर्थिक ऐन, ०२७ लाई अंगालेको र ०२७ ले आर्थिक ऐन, ०२६ लाई अंगालेको देखिन्छ । आर्थिक ऐन, ०२५ को दफा ११ (१) मा आर्थिक वर्ष ०२५।०२६मा अनुसूची ७ (क) बमोजिम आयकर लगाउने र असूल उपर गरिनेछ भनी देहाय (२) मा उल्लेख भए अनुसार विदेशस्थित फिल्म वितरकहरूलाई निजहरूले नेपाल स्थिति सिनेमा हल बाजाहरूबाट खूद पाउने रकममा मात्र ४०। प्रतिशतका दरले कर लगाउने र असूल उपर गरिनेछ भनी उल्लेख भएको देखिनाले विदेश स्थिति फिल्म वितरकहरूले तिर्नु बुझाउनु पर्ने करको रकम सिनेमा हलले आफ्नो आयको विवरणमा खर्च भनी देखाउन मिल्ने नदेखिनाले सो खर्चलाई मिन्हा दिने मान्यता दिई म.क्षे.अ.बाट गरेको फैसला प्रत्यक्ष कानूनी त्रुटीपूर्ण भएको र यो कुरा सबै सिनेमा हललाई लागू हुने सार्वजनिक महत्त्वको विषय भएकोले न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा ५ को खण्ड (ख) बमोजिम पुनरावेदनको अनुमति दिइएको छ नियमबमोजिम गर्नु भन्ने समेत डिभिजन बेञ्चको मिति २०३३।९।९।५ को आदेश ।

            १२.   पुनरावेदन प्रो.दैवज्ञरत्न बिजुक्षेतर्फबाट वि.अधिवक्ता श्री सुसिलकुमार सिन्हाले नेपाल आय कर ऐन,२०१९ को दफा (२) (ग)मा पारिश्रमिक भन्नाले भत्ता र अन्य सुविधा समेत लाई जनाउँछ, ऐ ऐनको दफा १८ (ङ)ले पारिश्रमिक खर्च कटाई बाँकीलाईमात्र खुद आय मानी करनिर्धारण गर्नुपर्छ भन्नेसमेत स्पष्ट हुँदाहुँदै पनि यसप्रकार कर्मचारीलाई कानून बमोजिम ओभरटाइम भत्ता दिनुपर्ने रकम र विजुली सामान खर्च अमान्य भएकोमा सार्वजनिकरुपमा असरपर्ने समेत प्रत्यक्ष कानूनीत्रुटी भएकोले अनुमतिप्रदान गरी मिन्हा नपाएको खर्चको रकमसमेत कानूनबमोजिम मिन्हा दिने फैसला गरिपाउँ र करकार्यालय बा.अं.को नियमबमोजिम फैसलाभएको ३५ दिनपछि पुनरावेदन गर्नुपर्नेमा ५ महिना पछिमात्र म्याद नाघी पुनरावेदन परेकोले खारेज गरिपाउँ भन्नेसमेत आफ्नो बहससमेत प्रस्तुत गर्नुभयो ।

            १३.   विपक्षी पुनरावेदक कर कार्यालयको तर्फबाट का.मु. सरकारी अधिवक्ता श्री प्रेमबहादुर विष्टले थाहा पाएको ३५ दिन भित्र पुनरावेदन दिएकोले म्याद भित्रै हुने र म.क्षे.अ.को फैसलामा फिल्मको लाग्ने डिष्ट्रिब्यूटर कर नवदुर्गा चित्र मन्दिरले तिरेको भन्ने उल्ल्ेख भएको आर्थिक ऐन, २०२८ अनुसार उक्त कर नवदुर्गा चित्र मन्दिरलाई लाग्ने नभई विदेशस्थिति फिल्म डिष्ट्रिब्युटरलाई निजहरूले पाउने ४०। प्रतिशत कर लिने व्यवस्था भएकोले यस्तो रकमलाई खर्च मान्न नमिल्ने समेत भएको हुँदा म.क्षे.अ. को फैसला बदर होस् भन्ने समेत आफ्नो बहस प्रस्तुत गर्नुभयो ।

            १४.   यसमा म.क्षे.अदालतको फैसला मनासिव छ छैन सोको निर्णय दिनुपर्ने हुन आएको छ ।

            १५.   यसमा स.अ.नियमावली,२०२१ बमोजिम क्षे.अदालतले फैसला गरेको मिति २०३३।३।२९ ले ३५ दिनभित्र पुनरावेदनको अनुमतिको लागि निवेदन दिनुपर्नेमा श्री ५ को सरकार बाग्मती अञ्चल करकार्यालयले क्षे.अ.बाट फैसलाभएको मितिले ३५दिनको म्यादनघाई २०३३।८।२३ मा मात्र पुनरावेदनको अनुमतिको लागि निवेदन दिएको र सो निवेदनको आधारमा पुनरावेदनको अनुमति पाई प्रस्तुत पुनरावेदन नं.९७ मा दर्ता हुनआएको देखिन्छ, यसरी म्यादनघाई परेको निवेदनको आधारमा पुनरावेदन दर्ताभएको देखिएबाट सो पुनरावेदनबाट इन्साफ दिन नमिल्ने हुँदा खारेज हुनेठर्हछ । पुनरावेदन नं.८४ को हकमा यिनै निवेदक र विपक्षी भएको नि.नं.४९२ (दे.पु.नं. ८३) को निवेदनमा पुनरावेदनको अनुमति प्रदान गरिएकोले यसमा पनि अनुमति दिइएको छ भन्ने उल्लेख भई मिति २०३३।७।१९ मा डि.बे.बाट पुनरावेदनको अनुमति पाएको देखिन्छ । आजै यसबेञ्चबाट क्षेत्रीयअदालतको फैसलामा कुनै कानूनी त्रुटी नदेखिएको भनी पुनरावेदन नं.८३ खारेज हुने ठहराई फैसला भएको र प्रस्तुत मुद्दामा पनि क्षेत्रीयअदालतको फैसलामा कुनैगम्भीर कानूनीत्रुटी नदेखिएको ले प्रस्तुतपुनरावेदन नं.८४ पनि खारेज हुनेठर्हछ । नियमबमोजिम गरी मिसिल बुझाइदिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. प्रकाशबहादुर

 

 

इति सम्वत् २०३४ साल श्रावण ७ गते रोज ६ शुभम् ।