July 7, 1977
Created by nepalarchives

निर्णय नं. १०४३ – रेडियो लाइसेन्स किर्ते गर्यो. भन्ने

निर्णय नं. १०४३     ने.का.प. २०३४ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३१ सालको स.अ.डि.फौ.पु.नं.८७ फैसला भएको मिति :...

निर्णय नं. १०४३     ने.का.प. २०३४

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

सम्वत् २०३१ सालको स.अ.डि.फौ.पु.नं.८७

फैसला भएको मिति : २०३४।३।२३।५ मा

निवेदक : बाँके जिल्ला नेपालगञ्ज बस्ने राजकुमार क्षेत्री

विरुद्ध

विपक्षी : श्री ५ को सरकार

मुद्दा : रेडियो लाइसेन्स किर्ते गर्‍यो भन्ने

(१)   रेडियो लाइसेन्स व्यक्ति विशेषसँग रहने कागज देखिएकोले सरकारी अधिकारीबाट प्राप्त भएको भए पनि त्यसलाई सरकारी कागज भन्न नमिल्ने ।

(प्रकरण नं. २२)

निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री लबदेव भट्ट

विपक्षी तर्फबाट : विद्वान महान्यायाधीवक्ता श्री रामानन्दप्रसाद सिंह

उल्लेखित मुद्दा :    

फैसला

            न्या.सुरेन्द्रप्रसाद सिंह : सूदुर पश्चिमाञ्चल क्षेत्रीय अदालत डिभिजन बेञ्चको २०३१।३।१४।६ को फैसला उपर पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने राजकुमार क्षेत्रीको यस अदालतमा निवेदन परी न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा ५ को खण्ड (ख) अनुसार २०३१।७।१५।५ मा पुनरावेदन गर्न अनुमति पाई यस बेञ्च समक्ष पेश हुन आएको छ ।

            २.    मेरा नाउँमा लाइसेन्स भएको एस.पी.डोला रसियन ट्रान्जिष्टर खलिल खाँले बेचेको थाहा भएकोले ऐनबमोजिम सजाय गरी गराई रेडियोपाउँ भन्ने नेपालगञ्ज गगनगञ्जबस्ने भीष्म मर्दन शाहको निवेदन र कारवाही गर्न पठाई दिएको छ भने बाँके वर्दियाँ गोश्वराको पत्र ।

            ३.    ०२१ साल आश्विनमहिनामा भिष्ममर्दन शाहले बिक्री गरिदिनु भनी एस.पी.डोलारेडियो लाइसेन्ससमेत दिएको हुँदा रेशमबहादुर कामीले रेडियो खोज्दैरहेको थाहापाई भेटी रु.३४०। मा मोल गरी बलराम श्रेष्ठको दोकानमा बिक्री गरेकोहुँ । विकाता कागज लेख्न राजकुमार क्षेत्रीलाई लाइसन्ेससमेत दिएको थिएँ राजकुमारले लाइसेन्स किताप पल्टाई थपकेर गरेको थियो थपकेर गरिसकेपछि विकाता लेखी मैले सही गरी कागज र लाइसेन्स तथा रेडियो बलरामकै दोकानमा रेशमबहादुरलाई दिएको थिएँ, विकाता लेखी दिएवापत राजकुमारले मसँग रु.५०। लिएको हो भन्ने ने.गं. धोसीटोलबस्ने खलिल खाँ को प्रहरीमाभएको कागज ।

            ४.    २०४८ को एस.पी.डोला ट्रान्जिष्टार मर्मत गरी दिनुस् भनी खलिल खाँले भनेकोले मर्मत गरी मर्मत खर्च रु.३०। लिए सोही दिन दापहरमा खलिल बेच्ने मैले नचिनेको कामीले लिने गरी कागज मैरै दोकानमा लेखिएको हो, लाइसेन्स किताप उस बखत देखिन कसले किर्ते गर्‍यो जान्दिन भन्ने बलराम श्रेष्ठ र लाइसेन्स किर्ते भिष्ममर्दन खलिल र राजकुमार भई गरेको विश्वास लाग्छ भन्ने रामगोपाल बैश्य समेतको सरजमिन मुचुल्का ।

            ५.    राजकुमारले लेखेको विकातामा र लाइसेन्समा थपेको खाँ भन्ने अक्षर प्रष्ट मिलेको र अरू केरिएको वतन समेत फरक पारी बिक्री गर्ने खलिल देखिएका हुँदा किर्ते कागजको १ र ७ तथा १२ नं. बमोजिम मुद्दा चलाउने भन्ने प्रहरी प्रतिवेदन ।

            ६.    भिष्ममर्दनले बिक्री गरी दिनु भनी दिनु भएकोले रेडियो मेरो साथमा थियो सोमबहादुर श्रेष्ठले रेशमबहादुरलाई लिई म कहाँ आयो र रु.३४०। मा मोल मिलाई रेडियो लिई विग्रेको बलरामको दोकानमा गई बनाई शिवबहादुरले राजकुमारलाई बोलाई ल्याई विकाता लेख्न लगायो र विकाता लेख्दा राजकुमारले लाइसेन्समा भिष्ममर्दन भन्ने केरी खलील खाँ भन्ने थपी शाहलाई पठान बनाएको हुन । सोमबहादुर सीताराम कसैलाई थाहा छैन । सल्लाह मेरो र राजकुमारकोमात्र भएको हो । कागज बलरामकै दोकानमा बाहिर खण्डमा बसी लेखेको हो भन्ने समेत निज खलिल खाँको अदालतमा भएको बयान ।

            ७.    २०२२ साल बैशाख २२ गतेमा धनी रेशमबहादुर ऋणी खलिल खाँ भएको रु.२२५।को एस. पी.डोला रेडियोको कागज मैले लेखेको हो तर लाइसेन्समा भिष्ममर्दन केरी खलिल खाँ भन्ने थपी शाहलाई पठान गरी किर्ते गरेको होइन उक्त कागज खलिलकै घरमा बसी लेखिएको लेख्दा लाइसेन्स थिएन रेडियो नं.२०४८ भनी भनेको र घरमा स्वास्नी नभएकोले भोलि दिउँला भनेकोमा रेशमबहादुरले मञ्जूर गरेकोले लेखी दिएको हुँ भन्ने राजकुमार रावलको बयान ।

            ८.    नेपालगञ्ज बजार बस्ने बलरामको दोकानमा बसी कागज लेखी रु.३४०। दिई ट्रान्जिष्टर दिएको हो राजकुरमारले लाइसेन्स हेरी लेखेको हुन् । लाइसेन्समा थपकेर देखेपछि यो लाइसेन्सले नामसारी हुन्छ हुँदैन भनी सोधे, राजकुमारले हुन्छ डराउन पर्दैन भनेको थियो, मैले अर्काको भन्ने केही शंकै नगरी लिएको हुँ निरक्षरी हुँदा थपकेर भन्ने हो थाहा थिएन भन्ने समेत रेशमबहादुर कामी समेतको बयान ।

            ९.    खलिल खाँले यस अदालतमा बयान गर्दा समेत दुवैको सल्लाहले राजकुमारले थपी सच्याई किर्ते गरेको हो भनी सावित र तारिखै गुजारी बसेकोले निज कसुरदार होइन कि भन्न विशेष विचार गरी रहन नपर्ने राजकुमार इन्कार निजको साक्षीले पनि निजले किर्ते गरेको होइन भनी बकिदिएकोले भिष्ममर्दनले पनि शंका लाग्दैन भनी बकिदिएको समेतबाट निर्दोष ठहराउन नमिल्ने के त भने तारिखै गुजारी बसेको र लाइसेन्स नभएकोमा लेख्नेमाथि पनि केश उठाउन सक्ने र जवाफदेही हुन पर्ने कुरामा नहेरी नम्बर बताई दिएकोले लेखेको भनी जिकिर लिएको कानूनी दृष्टिबाट प्रतितलायक नभएकोले लाइसेन्स हेरी लेखेको भन्न पर्ने विकाता खलिलको घरमा लेखेको भन्ने कुरा पनि बलराम र रेशमबहादुरले बलरामको दोकानमा बसी लेखेको भनेको हुँदा खलिलको घरमा बसी लेखेको भन्ने कुरा झुटो देखिएको राजकुमारले बनाएको भन्ने खलिल र दुवैको मतबाट किर्ते गरेको भन्ने रेशमबहादुर मै लाइसेन्स हेरी लेखेका होइन भन्ने कुरा झुटो देखिन आएबाट खलिल र राजकुमार भई सरकारी छाप दस्तखत भएको लाइसेन्समा भिष्ममर्दन भन्ने अक्षर केरी खलिल भन्ने थपी शाहलाई पठान गरी सच्चाई किर्तेगरेकै ठर्हछभन्ने बाँके जि.अ.को ०२५।१०।११ को फैसला ।

            १०.    बाँके जिल्ला अदालतको इन्साफमा चित्त बुझेन भन्ने समेत प्रतिवादी राजकुमार क्षेत्रीको अञ्चल अदालतमा परेको पुनरावेदन ।

            ११.    वादी दावीको रेडियो लाइसेन्स प्र. खलिल खाँले नै केरी थप्न लगाई किर्ते गरेको प्र. राजकुमारले किर्ते गरेको ठहर्दैन, यस्तो व्यक्ति विशेषसँग रहन गरेको रेडियो लाइसेन्समा किर्ते गर्नेलाई किर्ते कागजको १२ नं.बमोजिम थप सजाय गर्न नहुने हुँदा सो १२ नं. अनुसारको थप कैद गर्ने गरी र प्र.राजकुमारले पनि किर्ते गरेकोठर्हछ भनी शुरु जि.अ.ले केही गल्ती इन्साफ गरेको ठर्हछ भन्ने समेत भेरी अं.अ.को ०२६।१०।१६।५ को फैसला ।

            १२.   किर्ते कागजको १२ नं. बमोजिम थप सजाय गर्न नमिल्ने भन्ने अञ्चल अदालतको व्याख्या कानूनसंगत भएन, हदमुनीको फैसला उपर पुनरावेदन दिने अनुमति पाउँ भन्ने वादी पक्षबाट महान्यायाधीवक्ताको निवेदन परेकोमा उक्त १२ नं.बमोजिम थप सजाय हुन पर्ने नपर्ने भन्ने समेत कुरामा जटिल कानूनी प्रश्न समावेश भएको देखिनाले पुनरावेदन दिने विशेष अनुमति दिएकोछ भन्ने सम्माननीय प्रधान न्यायाधीशको ०२७।३।१४।१ को आदेश ।

            १३.   अञ्चल अदालतको फैसला बदर गरी अभियुक्तलाई कानूनबमोजिम सजाय होस भन्ने श्री ५ को सरकारकोतर्फबाट महान्यायाधीवक्ताकोतर्फबाट परेको पुनरावेदन ।

            १४.   रेडियो लाइसेन्स सरकारी कागज हो भन्ने समर्थित हुन आएपछि र सो कुराको निर्णयले अभियुक्तहरूलाई सजायमा घटी बढी देखिन आएकोले भेरी अञ्चल अदालतबाट भएका निर्णय मिलेको भन्नु भएन र किर्ते कागजको १२ नं.अन्तर्गत प्र. खलिल खाँ पठान र प्र.राजकुमार क्षेत्री सजायको भागी भएको देखिन आयो । अञ्चल अदालतको राय मिलेको नदेखिनाले सजायको हकमा प्रतिवादीहरूलाई जनहीको हिसाबले सजाय गर्ने कानूनमा किटानी व्यवस्था भएको नदेखिनाले प्र. खलिल खाँ प्र. राजकुमारलाई दामासाहिले सजाय हुन्छ । अरू कुरामा शुरु जिल्ला अदालतको निर्णय मुनासिव छ भन्ने समेत सदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला ।

            १५.   क्षेत्रीय अदालतको फैसला उपर चित्त बुझेन पुनरावेदन दिने अनुमति पाउँ भन्ने राजकुमारको निवेदन ।

            १६.    किर्ते कागजको १२ नं.ले सरकारी छाप वा सरकारी कर्मचारीको छाप दस्तखत किर्ते गरेको वा त्यस्तो छाप दस्तखत भएको सरकारी कागज किर्ते गरेमामात्र थप सजाय लाग्ने व्यवस्था भएको छ सो बाहेक अरू व्यवस्थामा सो थप सजाय लगाउँदा प्रत्यक्षतः गम्भीर कानूनी त्रुटी हुन जाने देखिएकोले निवेदकलाई पुनरावेदन दिने अनुमति दिएको छ भन्ने स.अ. डिभिजन बेञ्चको ०३१।७।१५ को आदेश ।

            १७.   सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला परस्परमा बाझिएको देखिनाले छलफल निमित्त अ.बं.२०२ नं. बमोजिम प्रतिवादीहरूलाई झिकाई नियमबमोजिम पेश गर्नु भन्ने २०३२।४।१।५ को डिभिजन बेञ्चको आदेश ।

            १८.   निवेदकतर्फबाट रहनुभएको विद्वान अधिवक्ता श्री लबदेव भट्टले किर्तेकागजको १२ नं. प्रयोग गरी गलत व्याख्या गरी गरेको निर्णय बदर हुनुपर्छ भन्नेसमेत बहसप्रस्तुत गर्नुभयो ।

            १९.    वादी श्री ५ को सरकारकातर्फबाट विद्वान महान्यायाधीवक्ता श्री रामानन्दप्रसाद सिंहले किर्ते कागजको १२ नं. प्रयोग गरी गरेको निर्णय कानूनअनुरुप नै भएकोले क्षेत्रीय अदालतको इन्साफ कायमै रहनै पर्ने भन्ने समेत बहस प्रस्तुत गर्नु भयो ।

            २०.   प्रतिवादी खलिल खाँले क्षेत्रीय अदालत उपर पुनरावेदन नगरी चित्त बुझाई बसेकोले निजको हकमा विचार गरी रहन परेन, पुनरावेदक राजकुमार क्षेत्रीको हकमा निर्णयतर्फ विचार गर्दा मुख्यतः देहायका दुई प्रश्न समावेश भएको देखिन्छ ।

            राजकुमारले नै रेडियो लाइसेन्समा खलिल खाँ भन्ने थपेको छ कि छैन १

            किर्ते कागजको १२ नं. अनुसार यसमा सजाय हुन सक्छ कि सक्दैन २

            २१.   पहिलोप्रश्नको हकमा विचारगर्दा रेशमबहादुर रेडियो लिनेभएको राजकुमारले नै बिक्रीनामाको कागज लेखेको कुरा पसलेले पनि भनेको खलिल खाँले पनि सो कुरा स्वीकार गरेको र ०२२।१।२२।६ को लिखतमा लेखिएको खलिल खाँ र अड्डाको रोहवरमा लेखिएको खलिल खाँको लिपिहरू राजकुमारकै लेखाइको लिपिसँग मिलेको भनी विशेषज्ञको राय भएकोमाथि उल्लेख भएका सबूद प्रमाणबाट राजकुमारले नै रेडियो लाइसेन्समा खलिल खाँ भन्ने थपेको देखिन आउँछ, सो सबुत प्रमाणलाई विशेषज्ञको रायले पनि पुष्ट््याई गरेको देखिन्छ । पक्षविपक्षबाट विशेषज्ञको रायलाई खण्डनमण्डन गर्ने तर्कबितर्कसमेत पेश भएको तर, सो विशेषज्ञको रायलाई मान्नु नपर्ने कुनै ठोस तर्कयुक्त आधार प्रस्तुत हुन सकेन । यी सब कुराको विचारबाट रेडियो लाइसेन्समा राजकुमारले नै थपेको कुरा प्रष्ट हुनआउँछ तसर्थ, सु.प.क्षे.अ.ले पुनरावेदकले किर्ते गरेको ठहराई इन्साफ गरेको मुनासिव ठर्हछ ।

            २२.   (२) अब दोश्रो प्रश्नको हकमा विचार गर्दा व्यक्ति विशेषसँग रहने रेडियो लाइसेन्सलाई सरकारी कागजको संज्ञा दिन मिल्दैन । किर्ते कागजको १२ नं.मा उल्लेख भएबमोजिम सरकारी कागज किर्ते गर्नेलाई मात्र सो किर्तेकागजको १२ नं.बमोजिम सजाय हुनुपर्ने भनी पुनरावेदकतर्फको बहस जिकिर भएको र सरकारी अधिकारी (क्तबतभ ब्गतजयचष्तथ) बाट भएको कागजलाई सरकारी कागज नै भन्नु पर्ने भनी विपक्षीतर्फको जिकिर भएकोतर्फ विचार गर्दा किर्तेकाजको १२ नं.मा उल्लेख भएबमोजिम सरकारी कागज किर्ते गर्नेलाई मात्र उक्त १२ नं.बमोजिम थप सजायको व्यवस्था भएको उल्लेखित रेडियो लाइसेन्स व्यक्ति विशेषसँग रहने कागज देखिएकोले सरकारी अधिकारीबाट प्राप्त भएको भए पनि त्यसलाई सरकारी कागज भन्न नमिल्ने देखिनाले किर्ते कागजको १२ नं. अनुसार सु.प.क्षे.अदालतले थप सजाय गरेको बदर हुने ठर्हछ । तपसीलका कलममा तपसीलबमोजिम गर्नु ।

 

तपसील

पुनरावेदन बाँके जिल्ला, नेपालगञ्ज गगनगञ्ज बस्ने प्र. राजकुमार क्षेत्रीकेमाथि इन्साफ खण्डमा लेखिएबमोजिम भएकोले सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको ०३१।३।१४ को फैसलाले कैद वर्ष ।६ महिना गर्ने गरेकामा सो बमोजिम उक्त कैद गर्न पर्दैन व्यहोेरा जनाई उक्त कैदको लगत काटी दिनु भनी सूचना गर्दा लगत दिनु………..१

ऐ.ऐ. के पुनरावेदन गरेवापतमाथि इन्साफ खण्डमा लेखिएबमोजिम भएकोले सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको उक्त मितिको फैसालले गर्ने गरेको जरिवाना रु.१७०।को सय कडा १०। ले मोरु. १७। जरिवाना हुने वारेस हुँदा असुल उपर गरी कानूनबमोजिम गर्नु भनी ऐ………….. २

मिसिल बमोजिम बुझाइ दिनु …………….३

 

उक्त रायमा म सहमत छु ।

 

न्या. प्रकाशबहादुर

 

इति सम्वत् २०३४ साल आषाढ २३ गते रोज ५ शुभम् ।