July 4, 1977
Created by nepalarchives

निर्णय नं. १०४२ – अंश

निर्णय नं. १०४२     ने.का.प. २०३४ डिभिजन बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३३ सालको स.अ.डि.दे.नं. ५४ फैसला...

निर्णय नं. १०४२     ने.का.प. २०३४

डिभिजन बेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

सम्वत् २०३३ सालको स.अ.डि.दे.नं. ५४

फैसला भएको मिति : २०३४।३।२०।२मा

निवेदक : काठमाडौं जिल्ला नघल ववादो बस्ने शिवलाल कायस्त

विरुद्ध

विपक्षी : ऐ ऐ बस्ने शम्भुलाल कायस्त समेत

मुद्दा : अंश

(१)   घर जग्गाको नापसमेत खुलाई प्रत्येक भागको रु.४०००। (चार हजार) उल्लेख गरी गोल हाली बण्डापत्र खडा गरेकोमा अंश भाग घटी बढी भयो भनी उजूर गर्ने कुरा अंशबण्डाको ३२ नं.को दायराभित्र पर्न नआउने ।

(प्रकरण नं. १२)

निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री लबदेव भट्ट

विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली

उल्लेखित मुद्दा :    

फैसला

            न्या.सुरेन्द्रप्रसाद सिंह : सौतेनी आमा चम्पाको र विपक्षी म समेतको घर जग्गाको गोला नराखी ०२८।२।१२ मा बण्डापत्र पास भएकै कुनकुन जग्गा कसकसलाई पर्‍यो भनी दाजुसँग बण्डापत्र हेर्न माग्दा हामीलाई आएको १ प्रति वकिल कहाँ छ भनी जवाफ दिएकोले नक्कल सारी हेर्दा खेतको हकमा परिणत गर्न काम बाँकी भनी बण्डा गरी नदिएको र घर जग्गाको हकमा दाजुको भागमा घर जग्गा लम्बाई फुट २२३।४ चौडाई फूट १२३।९ र मेरो भागमा घर जग्गाको लम्बाई फूट १३०।९ चौडाई फुट ७४।३ र दाजुको भागमा नयाँ २ तले मेरो भागमा पुरानो १ तलेमात्र भएकोले अंशबण्डाको ३२ नं.बमोजिम घटी बढी भएको अंशबण्डा बदर गरी कान्छी आमाबाट तायदाती लिई ३ खण्डको १ खण्ड अंश दिलाई पाउँ भन्ने समेत फिरादपत्र ।

            २.    आफ्नोआफ्नो भागमा परेको बण्डा गरेबमोजिम पास गरेको हो घटीबढी पारी बण्डापत्र पास गरेको होइन घटीबढी भएको भए कान्छी आमाको पनि उजूर हुनुपर्ने मेरो भागमा परेको १ तले झिँगटी छानाभएका १ तले टहरामा मैले ९।१०हजार खर्च गरी पसल र ड्राइंगरुम बनाएको रीसबाट नालेसगरेको हो भन्नेसमेत व्यहोराको शम्भुलालको प्रतिउत्तर ।

            ३.    बण्डापत्र शम्भुलाल र शिवलाल मिली गरेको हो घर जग्गा बढी छ गोलाहाली गरेको पनि होइन मेरो अंश रामलालबाट २ छोरी जाय जन्म भएकोमा कान्छी वाक्के नफूटेको विवाह हुन नसकेको हुँदा त्यस्तोले छोरीले पाएको अंशको आधा पाउने हुँदा निज २ जनाको १।१ भाग समेत ४ भाग गरी बण्डा हुन पर्ने जग्गा परिणत गर्न बाँकी छ भनी बण्डै नगरिएको हुँदा पास भएको बण्डापत्रमा मेरो मञ्जूर छैन भन्ने समेत चम्पाको प्रतिउत्तर ।

            ४.    बण्डापत्रको घर जग्गाको मोल विगो बराबर कायम गरी गोला हालिदिएको बण्डापत्रबाट देखिएकोले र आफूले पाएको घरमा झ्याल ढोका हाली मर्मत गरको कुरा प्रतिवादीबाट देखिएको घर जग्गाको स्थिति सबै बराबर हुनाले घटी बढी अंश पर्‍यो भन्ने वादीको जिकिर पुग्न सक्दैन भन्ने का.जि.अ.को फैसला ।

            ५.    का.जि.अ.को फैसलामा चित्त बुझेन भन्ने समेत व्यहोराको पुनरावेदन ।

            ६.    वादी र विपक्षसमेत रजिष्ट्रेशन पारित गर्ने कार्यालयमा उपस्थिति भई गोलाबण्डा गरी खुशीबाट सहिछाप गरी पासभएको बण्डापत्रमा वण्डा चित्त बुझेन भनी दावी लिएको दावी नपुग्ने ठहराएको शुरुको इन्साफ मनासिव छ भन्ने वाग्मती अञ्चल अदालतको फैसला ।

            ७.    वाग्मती अञ्चल अदालतको इन्साफमा चित्त बुझेन पुनरावेदन दिने अनुमति पाउँ भनी शिवलाल कायस्तको निवेदन परेकोमा बण्डापत्रबाट घरको हिस्सा भाग घटी बढी भएको हुँदा पुनरावेदन दिने अनुमति दिएको छ भनी मध्यमाञ्चल क्षेत्रीय अदालतबाट ०३१।७।२२।५ मा आदेश भएको र तीनै भागको मोल प्रत्येक भागको रु.४०००।(चार हजार)को दरले लेखी बण्डापत्र गरेका छन् घर जग्गाको मूल्य कायम हुँदा अगाडि पछाडि कुन घर जग्गा कस्तो अवस्थाको छ । अवस्थानुसार थोरै नापको घरजग्गाको बढी मोले कायम हुन सक्ने भएकोले नापबाट भाग हिस्सा तुलना गर्न मिल्ने देखिएन, मोल बिगाहाबाटै भाग हिस्सा घटी बढी के छ भनी विचार गर्नुपर्ने भएबाट सबै अंशियारको बण्डामा परेको घर र घरबारी जग्गाको मोल विगो रु.४०००। का दरले कायम गरी बण्डा उठेको देखिएकोले घटिबढी परेको भन्ने देखिएन, शुरु जिल्ला अदालतले सदर गरी बाग्मती अञ्चल अदालतबाट गरेको इन्साफ मनासिव छ भन्ने मध्यमाञ्चल क्षेत्रिय अदालतको फैसला ।

            ८.    ऐनमा उल्लेख नभएको मूल्य बराबर भएको सम्पत्ति घटीबढी भएको भन्नहुँदैन भनी अंश बण्डाको ३२ नं. को गलत अर्थ गरी मुलुकी ऐन अंशबण्डाको १,२ तथा ३२ नं.को छर्लङ्ग देखिनै प्रत्यक्षतःगम्भीर कानून त्रुटी गरी म.क्षे.अ.को फैसला भएको हुँदा पुनरावेदन दिने अनुमति पाउँ भनी शिवलाले दिएको निवेदनमा मुलुकी ऐन अंशबण्डाको ३२ नं.बमोजिम अंशमा चित्त नबुझ्नेले ३ महिना भित्र नालेस गर्न पाउने व्यवस्था भएको र सो अनुसार नालेस परेमा सोही नम्बर अनुसार घटी बढी नगरी बण्डा गरी दिनुपर्ने देखिन आउँछ । सो बमोजिम वादीको फिराद परेकोमा बण्डागरी दिनुपर्नेमा नगरेको क्षेत्रीय अदालतको फैसला सार्वजनिक महत्त्वको विषयमा प्रत्यक्षतः गम्भीर कानूनी त्रुटी देखिएकोले पनुरावेदन दिने अनुमति दिएको छ भन्ने स.अ.डिभिजन बेञ्चको ०३३।३।२९।२ को आदेश रहेछ ।

            ९.    पुनरावेदक प्रतिवादी शिवलाल कायस्तकोतर्फबाट विद्वान अधिवक्ता श्री लबदेव भट्टले वादी र प्रतिवादीका वीच ०२८।२।१२।४ मा खडा भएको बण्डापत्रमा वादीलाई कम पारी ऐन विरुद्ध बण्डापत्र पाश गरेकोले अंशबण्डाको ३२ नं.अनुसार उक्त बण्डापत्र बदर गरी पुनः तायदाती लिई बण्डा गरिनु पर्ने भन्ने समेत बहस प्रस्तुत गर्नु भयो ।

            १०.    प्रतिवादी शम्भुलाल कायस्तकोतर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवालीले वादी र प्रतिवादी दुवै थरैको मञ्जूरबाट मोल विगो बराबर पर्ने गरी गोला हाली बण्डापत्र गरेकोमा चित्त बुझेन भन्न नमिल्ने भन्ने समेत बहस प्रस्तुत गर्नु भयो ।

            ११.    यसमा यिनै वादी प्रतिवादीसमेतका बीचमा २०२८।२।१२।४ मा बण्डापत्र पास गरकोमा सो बण्डापत्रमा घटी बढी परेबाट चित्त बुझेन भनी अंशबण्डाको महलको ३२ नं.को आधार मा प्रस्तुत फिरादपत्र परेकोमा वादी दावी पुग्न नसक्ने ठहराई मध्यमाञ्चल क्षेत्रीय अदालत डिभिजन बेञ्चबाट ०३२।५।१८।४ मा फैसला गरे उपर वादीले पुनरावेदन गर्ने अनुमति प्राप्त गरी प्रस्तुत मुद्दा निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको देखिन्छ ।

            १२.   २०२८।२।१२।४ मा रजिष्ट्रेशन पास भएको बण्डापत्र लिखत हेर्दा नगद धन र भाडा वर्तन घरसारमै बण्डा गरी लिई दिइसकेको जग्गातर्फ पनि परिणत गर्ने काम बाँकी नै हुनाले सो बाहेक गरी निम्नलिखित बमोजिमको परिणत गर्न नपर्ने जग्गा घरको मोल रु.१२०००। बाह«हजार जाने घरजग्गा गोला हाली अंशबण्डा गरी लियौं दियौं भनी तपसीलमा प्रत्येकको भागको रु.४०००। चारहजार उल्लेखगरी बण्डापत्र लिखतपास गराएको रहेछ । प्र. शम्भु लालको भन्दा वादी शिवलालको भागमा घरजग्गा घटी भएको उक्त बण्डापत्रमा उल्लेखित नापबाटै देखिएबाट सो बण्डापत्र बदर गरिनुपर्छ भन्नेसमेत वादीतर्फको जिकिर भएको हकमा घर जग्गाको नाप घटीबढी भएमा पनि कुनै ठाउँको बढी मोल र कुनै ठाउँको घटी मोल जाने स्वभाविकै नै हुनाले घटीबढी घर जग्गालाई मोलको हिसाबबाट बराबर पार्ने हो । सोही आधारमा वादी प्रतिवादीका बीचमा घरजग्गाको नापसमेत खुलाई प्रत्येक का भागको रु.४०००। चारहजार उल्लेख गरी गोला हाली बण्डापत्र खडा गरेकोमा अंश भाग घटीबढी भयो भनी उजूर गर्ने कुरा अंशबण्डाको ३२ नं.को दायराभित्र पर्नआउँदैन, तसर्थ घटीबढी भयोभन्ने वादी पुनरावेदकको जिकिर पुग्न नसक्ने ठहराई शुरु अदालतबाट गरेको इन्साफ सदर गरी म.क्षे.अदालतबाट ०३२।५।१८।४ मा गरेको इन्साफ मनासिव ठर्हछ । मनासिव इन्साफ उपर पुनरावेदन गरेमा सजाय गर्नुपर्छ कि भन्नलाई कोर्ट फी       लागी पुनरावेदन दर्ताभएको देखिनाले केही गर्नु परेन मिसिल नियमबमोजिम बुझाई दिनु ।

 

म सहमत छु ।

 

प्र.न्या. नयनबहादुर

 

इति सम्वत् २०३४ साल आषाढ २० गते रोज २ शुभम् ।